श्रीमान्,
एउटा सामाजिक उद्यमीबाट व्यापारिक उद्यमी हुनु नै मेरो अपत्यारिलो सफलताको कथाको अन्तिम भाग हो | यो गर्न भने सजिलो थिएन |
मैले एकपछि अर्को गरेर बैङ्लोरका प्रविधि हस्तान्तरण व्यवसायमा संलग्न सबै अधिकारीहरूसँग कुराकानी गरेँ ! के यिनीहरूलाई साँझ आफ्ना कर्मचारी ओसार्न ट्याक्सी चाहिएको छ त ? के यिनीहरूलाई राति आफ्ना कामदारहरूलाई घरघरै पुर्याइदिन ट्याक्सी चाहिएको छ त ? तिनीहरू सबैले के भने होला तपाईंले यसै बुझिहाल्नुभयो ।
एकजना महिलाले ममाथि दया देखाउँदै भनिन्, “तपाईं ढिलो हुनुभयो । बैङ्लोरमा हरेक व्यवसायीहरूको आफ्ना कामदारलाई ल्याउने र लैजाने ट्याक्सीसेवा छ । म क्षमा चाहन्छु ।”
यो मैले धनबादमा काम सुरू गर्दा जस्तै भयो । म निरास भएँ । म दिनभर ओछ्यानमै पल्टेर बसेँ ।
मैले मनमनै सोचेँ, “मेरो ठाउँमा अशोकजी भए के गर्थे होलान् ?”
यौटा कुराले मेरो दिमागमा छोयो । म एक्लो थिइनँ ! मलाई साथ दिने अरू कोही थियो ! मलाई साथ दिने अरू हजारौँ थिए !
साथी तपाईंले बैङ्लोर भ्रमण गर्नुभयो र ब्रिगेड रोड जानुभो भने हातमा लौरो हल्लाउँदै मोटा, भुँडेहरूले तरकारीवालालाई हैरान पार्दै लौरोले घोचेर पैसा माग्दै गरेको देख्नुहुने छ । हो त मैले पुलिसकै कुरा गरेको हो ।
भोलिपल्ट मैले एउटा स्थानीय दोभासेलाई पैसा तिरेँ र उसलाई लिएर नजिकैको प्रहरी चौकीमा गएँ । तपाईंलाई थाहै होला कि हाम्रो देशमा उत्तर भारत र दक्षिण भारतका मानिसहरू फरक फरक भाषा बोल्छन् । मेरो हातमा त्यही रातो झोला थियो । मैले आफू ठूलै व्यापारी भएको अभिनय गरेँ र पुलिसले देखोस् भनी ठानेर झोला खुब हल्लाइरहे । अनि भर्खरै छपाएको भिजिटिङ कार्ड दिएँ । अनि मैले त्यहाँको सबैभन्दा ठूलो मान्छे, इन्स्पेक्टरलाई भेट्नका लागि ढिपी कसे ! अन्तिममा उनीहरूले मलाई अफिसभित्र जान दिए । जे भयो त्यो त्यही रातो झोलाको कमाल थियो ।
खाकीको पोसाकमा टल्किने ब्याज र निधारमा रातो तिलक लगाएको त्यो ठूलो मान्छे विशाल डेस्कमा बसेको थियो । उसको पछिल्तिर भित्तामा तीनवटा भगवान्का फोटाहरू थिए, तर मैले खोजेको चाहिँ थिएन ।
धन्य भगवान् | त्यहाँ कुनापट्टि यौटा फोटो गान्धीको पनि रहेछ ।
मुसुक्क हाँसेर नमस्ते गर्दै मैले रातो झोला उसलाई दिएँ । उसले बडो सवधानीपूर्वक खोल्यो ।
दोभासेमार्फत मैले भनें, “हजूर, तपाईंप्रति कृतज्ञ हुँदै मैले एउटा सानो उपहार टक्राएको छु ।”
बडो आश्वर्य ! तपाईंले नगद देखाउनुभयो भने तपाईंको भाषा सबैले बुझ्छन् ।
एक आँखा चिम्लेर झोलाभित्र चियाउँदै इन्स्पेक्टरले हिन्दीमा सोध्यो, “कृतज्ञता केको लागि ?”
“तपाईंले मलाई जुन सहयोग गर्न जाँदै हुनुहुन्छ, त्यसकै लागि” मैले भनेँ ।
उसले दस हजार रूपियाँ गन्यो र मेरो कुरा सुन्यो अनि बीस हजार माग गर्यो । मैले अलिकति थपिदिएँ । ऊ खुसी भयो । महासय, म नढाँटीकन बोल्दै छु | त्यति लामो समयसम्म मैले ऊसँग सौदावाजी गरिरहँदा त्यो मेरो फोटो भएको पोस्टर त्यहीँ भित्तामा थियो । त्यही मेरो सानो मैलो फोटो भएको ‘वान्टेड’ लेखेको पोस्टर ।
दुई दिनपछि मेरो प्रस्ताव लत्याएकी त्यो राम्री महिलालाई इन्टरनेटमा भेट र उनकै शब्दमा दुखदायी कथा सुनें । उनको ट्याक्सी सेवा सङ्कटमा परेछ । पुलिसले छापा मार्दा धेरैजसो ड्राइभरको चालक अनुमति पत्र नभएको फेला पारेछ ।
“मेडम, माफ गर्नुहोला । म तपाईंलाई मात्र सहानुभूति प्रकट गर्न सक्छु ।” मैले भनेँ ।
बरू तपाईंलाई चाहियो भने म मेरो कम्पनी नै दिनसक्छु । ह्वाइट टाइगर ड्राइभर्स”
“तपाईंका सबै ड्राइभरहरूको अनुमति पत्र छ ?”
“किन नहुनु । तपाईं पुलिसलाई बोलाएर जाँच गराउन सक्नुहुन्छ ।”
उनले मैले भनेजस्तै गरिछन् र मलाई फेरि बोलाइन् ! म ठान्छु कि पुलिसले पक्कै पनि मेरो बारेमा उनीसँग राम्रो कुरा गरेको हुनुपर्छ र यसरी मैले काम सुरू गर्ने मौका पाएँ जसलाई अङ्ग्रेजीमा ‘स्टार्ट अप” भनिन्छ !
सुरूमा मैले पनि गाडी चलाएँ, तर पछि छोडिदिएँ । मलाई गाडी चलाउन आनन्द आउँथ्यो भन्ने कुरा म कहिल्यै पनि सोच्दिनँ, कुरा बुझ्नुभो ? योभन्दा कुरा गरेर बस्न बढी रमाइलो हुन्छ । अहिले त्यो सुरूवात यौटा ठूलो व्यवसाय भएर फस्टाएको छ | हामीसँग अहिले छब्बीसवटा गाडी छ र तीन सिफूटमा काम गर्ने सोह्र जना ड्राइभर छन् । ”
हो यो साँचो कुरा हो | कुरा के भने अर्काको केही लाख रूपियाँ पैसा र धेरै मेहनत मिसायो भने यहाँ पत्याउनै नसकिने काम गर्न सकिन्छ । अहिले मेरो घरजग्गा र बैङ्कको सेयर जोड्ने हो भने त्यो मैलै अशोकजीसँग सापट लिएको भन्दा पन्ध्र गुना बढी छ | तपाई मेरो वेभसाइटमा गएर हेर्न सक्नुहुन्छ । मेरो लक्ष्य हेर्नुस् : ‘बी ड्रइभ टेक्नोलोजी फरवार्ड’ । त्यो पनि अङ्ग्रेजीमा । मेरो गाडीहरूलो समूहको फोटो हेर्नुस् । गर्मी महिनाका लागि ए.सी. जडान गरेको नयाँ, टल्किने छब्बीसवटा टोयाटा क्वालिस गाडी सबै प्रसिद्ध प्रविधि कम्पनीहरूसँग अनुबन्धित छन् । तपाईंलाई मेरो एसयुमीहरू मनपर्यो र तपाईंका कल सेन्टरमा काम गर्ने केटा वा केटी कामदारलाई सानदार तिरकाले घर पुर्याइदिन पर्यो भने कन्ट्याक्ट अशोक शर्मा नाउ / लेखेको ठाउँमा क्लिक गर्नुस् ।
हो त अशोक ! म आजकल आफूले आफैँलाई अशोक भन्छु | बैङ्लोरमा बसाइ भएको उत्तर भारतको उद्यमी अशोक शर्मा ।
अहिले तपाईं मेरो छेउमा यो झालरबत्तीमुनि बस्नुभएको भए म मेरो व्यवसायको सफलताको सबै रहस्य देखाइदिन्थे । तपाईं मेरो त्यो चाँदी रङ्गको म्याकिनतोस ल्यापटपमा मेरा एसयुमीहरूको फोटो, मेरा ड्राइभरहरू, मेरो ग्यारेज, मेरा मिस्त्रीहरू र मैले किनेर :राखेका पुलिसहरू सबै देख्न सक्नुहुन्थ्यो |
ती सबै अहिले म मुन्ना भन्ने व्यक्तिका हुन् जसको भाग्यमा त हलुवाइ हुन लेखेको थियो !
तपाईंले मेरा ती सोह्रैजना केटाहरूको फोटो पनि देख्नुहुने छ:| म कुनै दिन मालिकको ड्राइभर थिएँ, तर आज ड्राइभरहरूको मालिक भएको छु । म-उनीहरूसँग कहिले पनि नोकरको व्यवहार गर्दिनँ । म कहिल्यै पनि उनीहरूलाई चड्काउने वा धम्काउने वा उडाउने गर्दिनँ । न म उनीहरूलाई कहिल्यै मेरो परिवार भनेर अपमान नै गर्छु । म मालिक हुँ र उनीहरू मेरा कामदार हुन् । कुरा यति हो । म उनीहरूलाई सम्झौतापत्रमा सही गर्न लगाउँछु र म पनि गर्छु । अन्नि हामी दुवैले त्यसलाई सम्मान गर्नुपर्छ । कुरा यति हो । तिनीहरूले म कसरी बोल्छु, कसरी लुगा लगाउँछु, कसरी सरसामान सफा राख्छु भन्ने देखेर सिके भने तिनीहरू जीवनमा धेरै सफल हुनेछन् । सिकेनन् भने जीवनभरि ड्राइभर नै रहनेछन् | सिक्ने नसिक्ने त्यो उनीहरूको कुरा हो । काम सकिएपछि म उनीहरूलाई तुरून्तै बाहिर पठाइदिन्छु । कफी अनि गफगाफ त कुरै छैन | सेतो बाघले साथी बनाउँदैन । साथी बनाउनु खतरा मोल्नु हो ।
मेरो आश्चर्यजनक सफलताको कथाको बाबजुद म आफूले जीवनमा साँचो शिक्षा पाएको ठाउँबाट सम्पर्कविहीन हुन चाहन्न । मेरो त्यो ठाउँ सडक र सडकपेटी नै हुन् ।
म बैङ्लोरमा कि बिहान सबेरै या साँझ सडकको आवाज सुन्दै हिँड्छु ।
एक दिन साँझ जब म रेल स्टेसनको नजिकै थिएँ, एउटा पर्खालको अगाडि करिब एक दर्जन जति मजदुरहरू मसिनो स्वरमा बोलेर बसिरहेको देखेँ । तिनीहरू त्यहाँका स्थानीयहरू थिए । उनीहरू बडो अचम्मको भाषा बोल्दै थिए | मेरा लागि उनीहरू के भन्दै थिए बुझ्न कुनै जरूरी थिएन । त्यही सहरमा कैयौं मानिस ओईइरिएका थिए । तिनीहरू पछि छुटेका मध्यकै थिए ।
तिनीहरू पर्खालमा लेखेको केही चिज पढ्दै थिए । के लेखेको रहेछ मलार्इ मन थियो, तर उनीहरू बोल्न छाडेर पर्खाल अगाडि घुरूप्प जम्मा भए । उनीहरू के पढिरहेका थिए त्यो हेर्नलाई मैले ‘यहाँबाट भाग नत्र पुलिस बोलाइदिन्छु’ भनेर धम्क्याउनै पर्यो ।
पर्खालमा एकोजोडी हातले हत्कडी चुँडाउँदै गरेको चिन्ह अङ्कित स्टेन्सिलको छाप थियो र लेखिएको थियो : महान् समाजवादी नेता बैङ्लोर आउँदै हुनुहुन्छ।
लगभग दुई हप्तामा नेता बैङ्लोर आयो । ठूलो च्याली निकालियो र उसले डरलाग्दो भाषण गर्यो । भाषणमा डढेलो लगाउने र रगतको खोलो बगाइदिने र यो देशलाई धनीहरूको राजबाट मुक्त गराउने अनि पृथ्वीको तापक्रम बढेको हुनाले अब आउने दस वर्षसम्म पनि गरिबहरूलाई शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने जस्ता कुरा थिए । म भीडको पछाडि उभिएर सुनें । भाषणको अन्तिममा मान्छेले जोडले ताली पड्काए । मैले सोचेँ कि यो सहरमा धेरै मानिसहरू रिसले आगो भएर बसेका छन् ।
बैङ्लोरमा वा भारतको कुनै पनि सानो वा ठूलो सहरमा कान खोलेर चनाखो भएर बस्नुभयो भने तपाईंले यस्तै मान्छेलाई उक्साउने कुरा, अनावश्यक हल्ला कडा विद्रोहका कुरा धेरै सुन्न सक्नुहुन्छ । मानिसहरू राति बत्तीको पोलमुनि बस्छन् पढ्छन् । मानिसहरू भीड घुरूप्प जम्मा हुन्छन, चोरऔँला माथि उठाउँदै तात्तातो बहस गरिरहन्छन् । के कुनै रात यी सबै एक ढिक्का होलान् त ? के यिनीहरूले कुखुराको खोरलाई तहसनहस पार्न सक्लान् त ?
हा-हा-हा- ”
सायद एकसय वर्षमा एक पटक मात्र गरिब मुक्तिको आन्दोलन हुन्छ | मैले यो कुरा चिया पसलमा चिल्लो समोसा पोको पारेर दिनलाई राखेको एउटा पुरानो किताबमा पढेको थिएँ । त्यो पानामा आजसम्मको संसारको इतिहासमा आफ्ना मालिकलाई सिध्याएर दासहरूलाई मुक्ति दिन सफल क्रान्ति गरेका चारजना व्यक्तिहरूको नाम लेखिएको थियो | तिनीहरू हुन-
अलेकज्यान्डर द ग्रेट
अमेरिकाका अब्राहम लिङ्कन
तपाईंको देशका माओ
र यौटा चौथो मानिस । मलाई अहिले सम्झना छैन, सायद त्यो हिटलर नै हुनुपर्छ, तर मलाई लाग्दैन कि अब छिट्टै यो सूचीमा पाँचौँ नाम थपिने छ ।
के भारतमा क्रान्ति होला त ?
हुँदैन श्रीमान् । यो कहिल्यै पनि हुँदैन । यो देशका जनता आजसम्म पनि आफ्नो स्वतन्त्रताको लडाइँ बाहिर कतै जङ्गलबाट या हिमालबाट, चाइनाबाट र पाकिस्तानबाट आओस् भनेर कुरेर बसेका छन् । यस्तो कहिल्यै पनि सम्भव छैन । प्रत्येक व्यक्तिले आफ्नो काशी आफैँ बनाउनु पर्छ ।
भारतका युवाहरू हो तिम्रो क्रान्तिको किताब तिम्रै पेटभित्रको कालो ओडारमा बसेको छ । त्यसलाई हगेर बाहिर निकाल अनि पढ ।
त्यसो गर्न छाडेर उनीहरू अझै पनि रङ्गीन टिभीको अगाडि बस्छन् र क्रिकेट र स्याम्पुको विज्ञापन हेर्छन् ।
महाशय, स्याम्पुको विज्ञापनको बारेमा कुरा गर्दा मैले यो भन्नै पर्छ कि त्यो सुनौलो रङको कपाल सम्झिँदा मलाई अझै पनि दिक्क लाग्छ । महिलाले कपालको रङ त्यस्तो राख्नु स्वास्थ्यवर्धक हो जस्तो लाग्दैन मलाई त | तपाईंले बैङ्लोर सहरभरि देख्नुहुने ती गोरा महिलाका ‘ठूला पोस्टरहरू वा टिभी विज्ञापनको त मलाई पत्यारै लाग्दैन । पाँच तारे होटेलमा बिताएको समयदेखि त म यस्ता कुरामा आफ्नै अनुभवको सहारा लिन्छु | (कुरा सही हो श्रीमान् जियाबाओ, म आजकल रेडलाइट’ क्षेत्रमा जादिनँ । पिँजडामा बसेका आइमाईलाई किनबेच गरेर जनावर जस्तो व्यवहार गर्नु राम्रो होइन । म पाँचतारे होटेलमा उपलब्ध हुने केटीहरू मात्रै किन्ने गर्छु |)
मेरो अनुभवमा भारतीय केटीहरू सबैभन्दा उत्तम छन् । (ठीक छ ल सर्वोत्तम नभए पनि उत्तम छन् । श्रीमान् जियाबाओ, म तपाईंलाई भन्छु कि बैङ्लोरमा तपाईंले देख्ने दृश्यहरूमा सबैभन्दा मनमोहक दृश्य चाहिँ अँध्यारो टेम्पुको छतमुनिबाट तपाईंलाई चियाउने एक जोडी नेपाली केटीहरूका चम्किला आँखाहरू नै हुनेछन् |)
तपाईंले बैङ्लोर सहरमा त्यस्ता सुनौला कपाल भएका केटीहरू, विदेशीहरू देखेपछि बुझ्नुहुनेछ कि आजकल बैङ्लोर यस्ता मानिसले भरिएको छ | वास्तवमा ती सुनौला कपाल भएका विदेशीहरू देख्दा म के कुरामा विश्वस्त छु भने अब गोराहरूको जमाना गएछ | तिनीहरू सबै साह्रै दुब्ला रोगी जस्ता देखिन्छन् । राम्रो पेट भएका तपाईंले एकजना पनि देख्नुहुन्न । यसको दोष त म अमेरिकाको राष्ट्रपतिलाई दिन्छु । उनले आफ्नो देशमा समलिङ्गी जोडीलाई कानुनी मान्यता दिएर आइमाईसँग बिहे गर्नु साटो पुरूषले पुरूषैसँग बिहे गर्न थाले ।
मैले यो रेडियोमा सुनेको खबर हो | यसले पुरूष गोराहरूको सङ्ख्यामा ह्रास ल्याएको छ । अनि गोराहरू मोबाइल फोनको अति बढी प्रयोग गर्छन, अनि त्यसले उनीहरूको दिमाग नराम्रोसँग बिगार्दै छ । यो थाहा भएकै तथ्य हो । मोबाइल फोनले दिमागको क्यान्सर निम्त्याउँछ र.पुरूषत्वमा कमी ल्याउँछ । जापानीहरूले गोराहरूको दिमाग र अण्डकोष एकैचोटि खत्तम पार्ने हेतुले नै मोबाइल फोनको आविष्कार गरेका हुन् । मैले यो कुरा एक रात बस स्ट्यान्डमा सुनेको हो । त्यति बेलासम्म त मलाई मेरो नोकियाप्रति ठूलै गर्व थियो । कल सेन्टरमा काम गर्ने सबै केटीहरूलाई मोबाइल देखाउँथे, ती केटीहरू जसलाई मैले कुनै दिन ठोक्ने आशा राखेको थिएँ, तर मैले मोबाइल उति नै खेर फालिदिएँ | अब तपाईले मलाई प्रत्येक पटक फोन गर्दा ल्यान्डलाइनबाट गर्नुपर्छ । यसले मेरो व्यवसायमा त घाटा पारेको छ तर व्यवसायभन्दा दिमाग ठूलो कुरा हो । श्रीमान्, सोच्न सक्ने मान्छेसँग दिमागभन्दाबाहेक यो संसारमा अरू केही पनि हुँदैन ।
गोराहरू त मेरो यही जुनीमा मासिन्छन् । काला र राता मानिस पनि छन् , तर तिनीहरू के गर्न जाँदै छन् भन्ने थाहा छैन । रेडियोले पनि कहिल्यै तिनिहरूको बारेमा केही भन्दैन । मेरो सोझो भविष्यवाणी के छ भने अब आउने बीस वर्षमा हामि पहेँला र खैरा मानिसहरूले नै पिरामिडको शिखरमा हुन छौँ र संसारमा राज गर्ने छौँ ।
र भगवान्ले सबैलार्इ बचाउन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।