१९

आफ्नो सीटबांट जुरुक्क उठेर ऊ सरासर झ्यालनेरै रहेको सीटमा बस्न पुग्यो ।
“माफ गर्नुस्‌ !”-उसले भन्यो र झ्यालतर्फ हेर्न लाग्यो । झण्डै तीन मिनेटसम्म नै चूपचाप उ झ्यालबाट बाहिरतिर हेरिरह्यो । त्यसपछि उसले लामो सुस्केरा हाल्यो र फर्केर फेरि मेरै सामुन्नेको सीटमा बस्यो । उसको मुखाकृति अर्कै भैसकेको थियो, आँखामा दयनीय भाव झल्किरहेको थियो र ओठमा एउटा अनौठो किसिमको मुस्कुराहट देखिन्थ्यो ।- “म अलि थाकेको अनुभव गर्दैछु, परन्तु आफ्नो रामकहानी पूरै बताउनेछु । अझै समय प्रशस्तै बाँकी छ, अझै मिर्मिरे उज्यालो भैसकेको छैन ।”-अनि उसले एउटा चुरोट सल्कायो र चुरोटको सर्को तान्दै उसले भन्ने क्रम जारी राख्यो ।-“हो, उसले बच्चा जन्माउनुपर्ने झन्झटबाट छुट्कारा पाइसकेपछि उसको जिउ पनि लागेर आयो र ऊ मोटीघाटी देखिन थाली । बच्चाहरूको कारणले गर्दा जुन रोगले सताउनेगरेको थियो त्यो पूरै नै समाप्त भइसकेको थिएन, तर निकै हदसम्म कम भने निश्चय नै भएको थियो । उसको अवस्था त्यस व्यक्तिको जस्तो लाग्दथ्यो जो नशाको लागूबाट मुक्त हुँदैगइरहेको हुन्थ्यो । जुन संसारको बारेमा पहिले उसलाई रत्तिभर पनि कुनै बोध मात्र नभएको होइन, अझ जसको ठीक-ठीक मूल्यांकन नै उसले गर्न सकेकी थिइन र जहाँ उसलाई बाँच्न समेत महाभारत परिरहेको थियो त्यहाँ चारैतिर अब उसले यस्तो खुशियाली अनुभव गर्न लागेकी थिई जसको बारेमा उसलाई पहिले पटक्कै थाहा थिएन । ‘समय त बित्दैगइरहेको छ । त्यो अब फर्केर आउने होइन ! अहिले मौका गुम्यो भने सदाको लागि गुम्यो !’-यस्तो नै मेरी पत्नी विचार गर्दी हो अथवा अनुभव समेत गर्दी हो भन्ने मलाई लाग्छ् । यसबाहेक अर्को विचार र भावना त उसको मनमा उब्जनै पनि त सक्तैनथ्यो । जुन किसिमको उसले शिक्षादीक्षा पाएकी थिई त्यसअनुसार त उसको दृष्टिमा संसारमा एउटै मात्र कुराको खास महत्व थियो र त्यो हो -प्रेम । उसले केही न केही निश्चय नै प्राप्त पन गरी, परन्तु जुन कुरा पाउने उसले आशा राखेकी थिई अथवा जुन कुराको उसलाई आश्वासन दिइएको थियो त्यसको दाँजोमा यो एकदमै नगण्य थियो । यसको उल्टो अझ उसले त निराशा र दु:ख नै कता हो कता बढ्ता पाएकी थिई । उसले यस्तो पीर पनि खप्नुपरेको थियो जसको त उसले कहिल्यै कल्पना समेत गरेकी थिइन । त्यो थियो- बालबच्चाहरूको पीर । यसै पीरले गर्दा ऊ फतक्क गलेकी थिई । पछि तिनै दयालु डाक्टरहरूको कृपाले गर्दा उसले गर्भधारणबाट नै मुक्ति पाउन सकिन्छ भन्ने कुरा पनि चाल पाई । प्रेमलाई नै उसले जीवनको लक्ष्य मान्दैआएकी थिई र त्यसैलाई प्राप्त गर्न ऊ फेरि तरुनी बन्न पुगेकी थिई । तर अब ईर्षालु, रिसाहा र कलंकित पतिको प्रेम चाहिँ उसको आराध्य वस्तु थिएन । ऊ त अब अरु नै किसिमको कुनै नयाँ र स्वच्छ प्रेमको सपना देख्नेगर्थी । जे होस्‌, म चाहिं कम्तीमा पनि यस्तो विचार गर्थे । अनि उसले यताउता पल्याकपुलुक हेर्न पनि शुरु गरिहाली, मानौं ऊ कसैको चिरप्रतीक्षामा होस्‌ ! यो देखेर म एकदमै व्याकुल हुन पुगें । अन्य कुनै व्यक्तिहरूको माध्यमबाट मसँग कुरा गर्ने त उसको बानी जस्तै नै भैसकेको थियो । भनाइको मतलब के भने उसको कुराकानी त कुनै अर्कै व्यक्तिसँग हुन्थ्यो तर कुरा चाहिँ मलाई सुनाउनेगर्थी । यस प्रकार उसले कैयौं पल्ट ठट्टैठट्टामा बडो निर्भिकताका साथ के पनि सुनाउनेगरेकी थिई भने बालबच्चाहरूप्रतिको मायामोह त धोका मात्रै हो र जवानी रहुञ्जेल र जीवनको सुखभोग गर्ने क्षमता रहुञ्जेल बालबच्चाको स्याहारसुसारमा आफूलाई घोट्नु ठूलो गल्ती हो । एक घडीअगाडि मात्रै आफूले यसको एकदमै उल्टो कुरा भनेको समेत त्यतिखेर उ भुसुक्कै बिर्सिदिनेगर्थी । बिस्तार-बिस्तार उसले बालबच्चाहरूतर्फ पनि कम ध्यान दिँदैलगी । जति ध्यान दिनेगर्थी त्यसमा पनि पहिलेको जस्तो उत्साह देखिँदैनथ्यो । उसले ज्यादाभन्दा ज्यादा समय आफ्नो श्रृङ्गारपटार र वेशभूषामा लगाउन थालेकी थिई, यद्यपि ऊ यसलाई लुकाउने प्रयत्न गर्थी । उसले आफ्नो सुखसुविधामा पनि ध्यान दिन थाली र यसको साथै आत्म-विकास पनि गर्न थाली । पेनोबाजा बजाउन त कुन जमानामा नै उसले छोडिसकेकी थिई, तर फेरि उसले यसमा सोख देखाउन लागी । यसैबाट त त्यो सारा घटना शुरु भयो ।”-

थकित तर चञ्चल आँखाले फेरि झ्यालतर्फ, उसले पुलुक्क हेर्यो । किन्तु तुरुन्त नै उसले आफूलाई काबूमा राख्यो । आफूमाथि नियन्त्रण राख्न नै उसलाई खूब बल गर्नुपरिरहेछ
भन्ने प्रतीत हुन्थ्यो ।

“हो, हो ! त्यो मान्छे त्यहाँ आइपुग्यो ।”-यति भन्दै ऊ टक्क रोकियो । त्यही अनौठो आवाज दुई-तीनपल्ट उसको मुखबाट फेरि निस्कियो ।

त्यस मान्छेको नाउँ उच्चारण गर्नु, त्यसको सम्झना गर्नु वा त्यसको चर्चा गर्नु- उसलाई ज्यादै असहनीय भैरहेको छ भन्ने स्पष्ट नै देखिरहेको थिएँ। तर आफ्नो मन काबूमा राखेर ऊ भन्दैगइरहेको थियो । उसको स्वरमा निकै दृढता झल्कन्थ्यो, मानौं ऊ सबै तगारो र पर्खालहरू अत्काइदिन चाहन्थ्यो !

“मेरो दृष्टिमा र मेरो विचारमा पनि त्यो मान्छे ज्यादै नीच लाग्यो मलाई ! मेरो जीवनमा उसको व्यवहार नीच हुनाले मात्रै होइन, बरु वास्तवमा नै ऊ अधम मान्छे थियो । त्यस मान्छेको नीचता पनि पटक्कै देख्न नसक्नु नै मेरी पत्नीको कामान्धताको प्रमाण हो । क्थंकदाचित्‌ : उसको ठाउँमा अरु कुनै मान्छे हुँदो हो तापनि यो घटना घट्ने नै थियो ।”-ऊ फेरि चूप लाग्यो ।- “हो, ऊ संगीतज्ञ थियो र बेला पनि बजाउँथ्यो । हुन त ऊ पेशागत संगीतज्ञ निश्चय नै थिएन । साँच्चै भन्ने हो भने ऊ आधा संगीतज्ञ थियो भने आधा चाहिं सामाजिक मान्छे थियो ।”

उसको बाबु एक बिर्तावाल थियो जो मेरा पिताजीको छिमेकी थियो । उसको बाबुको सारा धनसम्पत्तिको पखेटा हालेपछि सबभन्दा कान्छो चाहिं छोरोबाहेक अरु दुवै छोराहरूको बन्दोबस्त मिलिहाल्यो । कान्छोचाहिंलाई उसकी धर्ममाताकहाँ पेरिसमा पठाइयो । त्यहाँ नै उसलाई एक संगीत-महाविद्यालयमा भर्ना गरियो, किनभने संगीतप्रति उसमा रुचि थियो । त्यहीबाट उ बेलाबादक बन्यो र संगीत कार्यक्रमहरूमा भाग पनि लिन लाग्यो । एक मान्छेको नाताले त ऊ …” – सम्भवतः त्यस मान्छेको सम्बन्धमा ऊ कुनै खराब कुरा भन्न चाहन्थ्यो, तर वीचैमा उसले आफूलाई रोक्यो र तुरुन्त अगाडि थप्यो, – “जे होस्‌, त्यहाँ ऊ कुन किसिमको जीवन बिताउँथ्यो भन्ने त मलाई थाहा छैन । मलाई जे जति थाहा छ त्यो के त भने त्यसै वर्ष ऊ रूस फर्कियो र मकहाँ आइपुग्यो ।

उसका आँखा बदामबान्कीका थिए र ती जहिले पनि सजल रहन्थे । राता ओंठहरू जहिले पनि मुस्कुराइरहेका देखिन्थे । उसको जुँगा बटारिएको थियो भने कपाल चाहि नयाँ फेशनअनुसार तलासिएको थियो । मुखाकृति चिटिक्क परेको थियो, तर त्यसमा अश्लीलता झल्कन्थ्यो । यस्तो अनुहारलाई आइमाईहरू अक्सर ‘राम्रै’ भन्छन्‌ । जिउ पातलो भए पनि कुरूप चाहिँ थिएन र तिघ्रा चाहिं खूबै मोटा थिए, जस्तो कि आइमाईहरूको हुन्छ वा जस्तो कि हाटेन्टाहरूको हुन्छ । भनिन्छ, यी हाटेन्टाहरू पनि संगीतमा खूबै अभिरुचि राख्छन्‌ रे ! अलिकती पनि मौका पाइयो कि त हेलमेल बढाउन अग्रसर भइहाल्थ्यो ऊ, परन्तु अनुभूतिशील स्वभावको भएको हुँदा अलिकति मात्रै पनि कसैमा उपेक्षाभाव देखियो कि त ऊ पछि हटिहाल्थ्यो र बडो टाठबाठका साथ रहन्थ्यो । उसको जुत्ता पेरिसमा प्रचलित खास रङ्गको हुन्थ्यो र त्यसमा टाँक समेत लगाइएको हुन्थ्यो । उसका टाईहरू ज्यादै भड्किलो रङ्गका हुन्थे, ठीक त्यस्तै जस्तो कि प्रायशः बाहिरतिरबाट आउनेहरू पेरिसवासीहरूको देखासिकी गरेर लगाउन थाल्छन्‌ । उसको अन्न पहिरन पनि त्यस्तै किसिमको थियो जस्तो आइमाईहरूलाई खूब नौलो र मौलिक लाग्छ र यसैले गर्दा ज्यादै मन पनि पर्नेगर्छ । उसको हँसिलो मुखमा जहिले पनि एक किसिमको बनावटी मुस्कान जडिराखेको जस्तो देखिन्थ्यो । बोल्नु परि नै हालेछ भने चाहिं ऊ संकेतको भाषामा बोल्थ्यो । ऊ टुक्राटुक्री अपूर्ण वाक्यहरूको प्रयोग गर्थ्यो र यस्तो भान पार्न खोज्थ्यो, मानौं जो उसको कुरा सुन्दैछ उसलाई उसको अभिप्राय थाहा छ र स्वयं उसले नै वाक्य पनि पूरा गर्न सकिहाल्छ !

जे भयो सो सब उसैको कारणले गर्दा र उसको संगीतको कारणले गर्दा नै भयो । अदालतमा चाहिँ जे भयो सो ईर्ष्याको कारणले गर्दा नै भयो भन्ने प्रमाणित गर्ने कोशिश गरिएको थियो । तर यो सही होइन अर्थात्‌ हुँदै होइन भनेर त ठोकुवा गर्न नसकिएला तापनि यति त निश्चय नै भन्न सकिन्छ कि सिर्फ इर्ष्या मात्रै यसको कारण थिएन । अदालतले त के फैसला गरिदियो भने पतिको नाताले मप्रति अन्याय हुन गएको थियो र आफ्नो इज्जतको रक्षा गर्न नै (उनीहरुले थपशब्दको प्रयोग गरेका थिए) मैले आफ्नी पत्नीको हत्या गरिदिएँ । यसरी मलाई निरपराध घोषित गरियो । अदालतमा मैले सारा कुरा खुलस्त पार्ने प्रयत्न गरको थिएँ, तर आफ्नी पत्नीको जित बचाउन नै म यसो गर्दैछु भन्ने पो त उनीहरूले ठाने ।

त्यस संगीतज्ञसँग मेरो पत्नीको जे जस्तो सम्बन्ध रहेको होस्‌ त्यसको मेरो निम्ति महत्व थिएन, न त मेरी पत्नीको निम्ति नै महत्व थियो । कुनै कुराको महत्व थियो भने त्यसैको मात्र थियो जसबारे मैले तपाईंलाई बताइसकेको छु । त्यो हो – मेरो पाशविकता । मूल कारण के थियो भने हाम्रो बीचमा त्यो भयङ्कर भाँजो उत्पन्न भैसकेको थियो जसको बारेमा पनि मैले तपाईंलाई बताइसकेको छु । आपसी द्रेषले गर्दा हाम्रो बीचमा कतिसम्म चर्काचर्की परिसकेको थियो भने सानोतिनो कुराले पनि हामीलाई उत्तेजित गराइहाल्थ्यो र हाम्रो बीचमा रडाको मच्चिइहाल्थ्यो । हाम्रो झगडाले डरलाग्दो रुप लिन्थ्यो । त्यो कलह कुन कारणले गर्दा अझ भयङ्कर प्रतीत हुन थाल्थ्यो भने, पाशविक कामुकतापछि यस्तो घम्साघम्सी पर्दथ्यो र फेरि पाशव्रिक कामुकताको लहर चल्थ्यो । यो क्रम निरन्तर जारी रहन्थ्यो ।

कथंकदाचित्‌ हाम्रो जीवनमा त्यो मान्छे नआइदिएको भए उसको ठाउँमा अरु नै कोही हुन सक्थ्यो । यसै गरी ईष्याको निहुँ नहुँदौ हो त अरु नै कुनै निहुँ पनि भेट्टाइँदो हो । म कुन करामा विशेष जोड दिन चाहन्छु भने मेरो जस्तै जीवन बिताउने व्यक्तिहरू कि त एकदमै दुराचारी हुनेछन्‌, कि त आफ्नी पत्नीलाई त्यागिदिनेछुन्‌, कि त आत्महत्या गरेर मर्नेछन्‌, कित मैले जस्तै पत्नीहत्या गर्न पुग्नेछन्‌ । यसको अपवाद कोही निस्कि नै हालेछ भने पनि त्यो विरलाकोटिको हुन पुग्नेछ । जुन किसिमबाट मैले कामकुरोको अन्त्य गरिदिएँ त्यसभन्दा पहिले मैले नै कतिपल्ट हो कतिपल्ट आत्महत्या गर्ने तारतम्य मिलाइसकेको थिएँ । मेरी पत्नीले पनि विष खाएर मर्ने प्रयत्न नगरेकी होइन ।”