डा. सनतकुमार वस्ती

‘हट चेयर’ – हवाईसेवामा ३३ वर्ष, यसै वर्ष प्रकाशित कृति हो ।

प्रथमतः ‘हट चेयर’ भनेको के ? नाम सुन्दा अङ्ग्रेजी भाषाको किताब जस्तो सुनिन्छ तर पुस्तक पल्टाउँदा थाहा हुन्छ नेपाली भाषाकै हो । त्यसो भए यसलाई नेपाली भाषामा के भन्ने ? तातो कुर्सी ? तातो त तातो, कति तातो ? मन तातो कि भतभती पोल्ने तातो? मन तातो भए त त्यस्तो कुर्सीमा बस्दा जाडाको बेला न्यानो नै होला, रमाइलै होला तर औधी तातो, उल्का तातो भए त कसरी बस्ने ? तातो तावामा बसेजस्तो नै हुन्न होला र ?

वास्तवमा यसरी नेपाली भाषामा लेखिएका कृतिहरूको शीर्षक भाषान्तरमा राख्ने प्रचलन, सोख, सनक वा बाध्यता आजभोलि यत्रतत्र सर्वत्र नै विद्यमान छ । विधा साहित्य होस् कि साहित्येतर, जतासुकै छ्यापछ्यापती यस्ता शीर्षक देखिन थालेका छन् । कोही लेख्छन् कर्णाली ब्लुज, के भनेको हो ? कोही लेख्छन् पल्पसा क्याफे र मदन पुरस्कारै पड्काइदिन्छन् । ए, यो पो रहेछ काइदा ! भनेर त्यसैको पछि लागेर कोही लेखिदिन्छन् जुकरबर्ग क्याफे । यति मात्र हो र ! काठमाडौँलाई पनि बाँकी राख्दैनन् र लेखिदिन्छन् काठमाडौँ सेल्फी, काठमाडौँ मोन्ताज । यस्ता शीर्षकले के भन्न खोजेको हो सायद लेखक बढी र पाठक कम मात्र बुझ्छन् होला । सायद नेपाली भाषालाई विश्वस्तरीय छवि दिने मिठो सपना देख्छन् होला लेखकहरू ।

डा. सनतकुमार वस्ती

संस्कृत व्याकरणमा एउटा उखान छ : झोऽन्तस्य झोऽन्त एवार्थ । अर्थात् झोन्त को अर्थ झोन्तै हो । त्यसै गरी यहाँ पनि भन्नुपर्ला, हट सिट भनेको हट सिटै हो । त्यसो त लेखकले अन्त्यमा तातो कुर्सीको यथार्थ शीर्षकमा २५१ पृष्ठमा यसको खुलासा यसरी गरेका छन् : राप र ताप, तनाव र जटिलताको भरिएको अप्ठ्यारो पद नै ‘हट चेयर’ हो ।

यसका लेखक त्रिरत्न मानन्धर, झट्ट सुन्दा त्रिभुवन विश्वविद्यालयमा लामो समय प्रध्यापन गरेका सुप्रसिद्ध प्रोफेसरको स्मृति आउँछ मनमा तर उनी प्रचीन काठमाडौँको केन्द्र असनबजार, त्यहाँबाट रानीपोखरीतिर जाने बाटो कमलाक्षी, हो त्यहीँका रैथाने बासिन्दा हुन् । अर्थात् स्थानीय माटाको सुगन्ध, पानीको स्वाद र आबोहवाको महकमा रङमगिएर हुर्किएका, स्थानीय कला संस्कृति र जात्रा नाच आदिको अभिन्न अङ्ग भई फस्टाएको जीवनशैलीका जीवन्त रूप रहेछन् त्रिरत्न मानन्धर ।

बाल्यकालमा अनपढ कान्छाका रूपमा नामुद, राजधानीमा जन्मिएर, नौ वर्षको उमेरसम्म पनि निरक्षर भट्टाचार्य, स्थानीय बोलीमा  तः धि ध्वँ, अर्थात् लाठे स्याल भनेर जिस्क्याइएका तिनै त्रिरत्न पछि पढेर, लेखेर, ठुलो मान्छे भएर नेपाल उड्डयन प्राधिकरणको महानिर्देशकजस्तो गुरुगम्भीर पदका जिम्मेदार र अत्यन्त कुशल पदाधिकारी कसरी बने ? भन्ने विषयको रोचक जीवनगाथा या संस्मरणात्मक कृति हो ‘हट चेयर’ ।

किताब पढेपछि एउटा प्रश्न उठ्दछ : ‘हट चेयर’ कुन विधाको कृति हो ? हेर्दा, पढ्दा, पल्टाउँदै जाँदा यसका विविध आयाम देखा पर्दै जान्छन् । यो कतै जीवनीजस्तो, कतै रोचक कथासङ्ग्रहजस्तो, कतै प्राविधिक विषयको निर्देशिकाजस्तो, कतै महानिर्देशकको अनुभवको सङ्ग्रहजस्तो, खै के जस्तो के जस्तो ! हाम्रा आख्यानपुरुष ध्रुवचन्द्र गौतमले पाए सहजै यसलाई अनुभवन्यास भनिदिन्थे होला ।

जे होस्, किताब विभिन्न विषयका उपशीर्षकहरूमा आबद्ध अनुभव र घटना-परिघटनाहरूको प्रस्तुति हो । नेपालको हवाईसेवाका क्षेत्रमा लेखकले बिताएका ३३ वर्ष अर्थात् १२ हजार ४५ दिनका अनुभवहरूको फेहरिस्त हो । यहाँ तिता मिठा पिरा अमिला टर्रा विविध आनुभूतिक स्वाद भएका रोचक वृत्तान्तहरू पढ्न पाइन्छ । जम्मा २५७ पृष्ठभित्र ११ शीर्षक र तिनमा अनेक उपशीर्षकहरूमा छरिएको लेखकीय अनुभव र अनुभूति पढिरहँदा पाठक एक भिन्न ग्रहमा घुमिरहेको महसुस गर्दछ ।

लेखकको भाषा सरल प्राञ्जल एवम् प्रवाहशील समेत रहेको पाइन्छ । पढिरहँदा लाग्दछ एउटा बिलकुल भिन्न संसारमा जीवन बिताएर फर्किएको कुनै अनुभवी मानिससँग एउटा अनौठो संसारमा विचरण गरिरहेको छु । रहस्य रोमाञ्च र अद्भुत घटना र परिदृश्यहरूले भरिएको यस्तो कृति तैयार गर्ने लेखकलाई हृदयतः अभिनन्दन गर्न मन लाग्छ, किनभने हवाई यातायातको प्राविधिक पक्षमा यति रोचक शैलीमा जानकारी दिने सायद यो नेपाली भाषाको पहिलो नै किताब हो ।

नेपालको हवाई यातायातमा केकस्ता समस्या थिए र छन् भन्ने सूचनाका साथ यसको समाधानका लागि केकस्तो व्यवस्था गर्नु अपेक्षित छ भन्ने पक्ष समेत खुलाइएको यो किताब सामान्य पाठकका लागि रोचक, रोमाञ्चक नवीन विषयको ज्ञानवर्द्धक पाठ्यसामग्री बन्न सक्छ भने सम्बन्धित पक्षका लागि एक अत्यन्त उपयोगी र कार्यान्वयनमूलक ग्रन्थ पनि बन्न सक्ने देखिन्छ ।

सारै मसिना अक्षर, आकर्षक किताबी साजसज्जाको कमी र प्राविधिक पद-पदावलीको बोझचाहिँ यस पुस्तकका नकारात्मक पक्ष हुन् भन्ने अनुभव हुन्छ ।

तर, यति सुन्दर अनुभवन्यासलाई पाठकका समक्ष प्रस्तुत गर्ने लेखक त्रिरत्न मानन्धरलाई हार्दिक साधुवाद भन्नुपर्छ ।

हालसालै रिडर्स हब, कौशलटार, भक्तपुरमा सम्पन्न सिर्जना र अनुभूति शीर्षकको कार्यक्रममा लेखकद्वारा दिइएको मन्तव्यका आधारमा यो टेबुल गफ/पुस्तक चर्चा प्रस्तुत गरिएको छ ।