१७

“यसरी हाम्रो जीवन बितिरहेको थियो । हाम्रो आपसी बैमनस्य झन्‌ झन् चर्किदैगइरहेको थियो । अन्त्यमा स्थिति कहाँसम्म पुग्यो भने मतभेदको कारणले गर्दा कलह उत्पन हुने नभई कलहको कारणले गर्दा नै बरु मतभेद उत्पन्न हुन लागिसकेको थियो । उसले जेसुकै भने तापनि म त्यसको विरोध गर्न लागिहाल्थेँ र पनि ठीक यस्तै गर्थी ।

बिहे भएको चौथो वर्षमा हामी दुवै नै स्वतन्त्र रुपमा कुन निष्कर्षमा पुगिसकेका थियौं भने हामी न एक दोस्रोलाई बुझ्न सक्छौँ, न त एक अर्कासित सहमत नै हुन सक्छौं । अनि, हामीले सम्झौता गर्ने प्रयास नै गर्न छोडिदियौं । सानोतिनो कुरामा पनि, खास गरेर ती कुराहरूमा जसको सम्बन्ध केटाकेटीहरूसँग हुन्थ्यो, हामी आ-आफ्नो कुरामा अड्डी लिएर बस्नेगर्थ्यौँ। अहिले जब म त्यस बेलाको सम्झना गरेर सोच्न थाल्छु त मलाई के लाग्छ भने जुन कुराको लिंडेढिपी लिनेगर्थें त्यो मेरो लागि यति प्रिय त निश्चय नै पनि थिएन कि त्यसलाई त्याग नै गर्न नसकियोस्‌ । परन्तु उसको विचार मेरो विचारसँग बाझ्दथ्यो । यसैउसले गर्दा आफ्नो विचार त्यागिदिनुको अर्थ नै उसको सामू घुँडा टेक्नु सरह हुन जान्थ्यो । यस्तो कुरा मबाट किमार्थ हुन सक्दैनथ्यो, न त उसबाट नै यो सम्भव थियो । जे जसो उ गर्छे सो ठीक छ भन्ने सके ऊ सोच्ने गर्दी हो । आफ्नो बारेमा मलाई पनि कुन कुरामा पक्का विश्वास थियो भने जे जसो म गर्दैछु सो नै ठीक छ । जतिखेर हामी एकान्तमा बसिरहेका हुन्थ्यौं त्यस बेला कि त हामी एकदमै मौन रहन्थ्यौं, नत्रभने यस्तो कुराकानी मात्र गर्थ्यौं जुन मूक पशुहरू पनि सके आपसमा गर्दा होलान्‌: “कति बज्यो हँ ? सुत्ने बेला भयो क्या र ! आज दिउँसो के खाने बन्दोबस्त छ? कतै जानु छ कि ? अखबारमा कुनै ताजा खबर छ कि ? माशाको घाँटी दुखिरहेको छ, डाक्टर त बोलाउनैपर्ला !” कथंकदाचित्‌ हाम्रो कुराकानीको मेसो यस्तै नगण्य विषयको घेराबाट अलिकति पनि बाहिरतिर पुग्यो कि त फेरि रडाको पच्चिन बेर लाग्दैनथ्यो । हामी उत्तेजित भैहाल्थ्यौं र कफी टेबलपोश, घोडागाडी, ताश खेल्दाखेरि चालिने कुनै चाल इत्यादि जस्ता कुनै पनि सानोतिनो कुरालाई लिएर समेत आपसमा गालीगलौज गर्न लागिहाल्थ्यौं, यद्यपि यी तुच्छ कुराहरूको न उसको निम्ति, न त मेरै निम्ति नै कूनै खास महत्व हुन्थ्यो । जहाँसम्म मेरो प्रश्न छ, म के भन्न सक्छु भने कति हो कतिपल्ट उसप्रति मेरो घृणा भकभक उम्लेर पोखिनै आँटिसकेको थियो । कहाँसम्म भने कहिलेकाही उसले कपमा चिया हालिरहेको, खुट्टा हल्लाइरहेको,चम्चा मुखतर्फ लगिरहेको वा चियाको चस्को लिइरहेको देख्दा नै घृणाले मेरो कन्सिरीका रौं समेत तातेर आउँथे, मानौं ऊ जे जसो गर्छे सो सब नै कुनै ठूलो अपराध होस्‌ । घृणाको यस्तो लहर एकदमै नियमित र अनिवार्य रुपमा त्यस समयावधिको लगत्तैपछि चल्नेगर्थ्यो जसलाई हामी प्रेमको लहर भन्छौं । हुन त ती दिनहरूमा मलाई यस तथ्यको अत्तोपत्तो नै थिएन । प्रेमको समयावधि बितेर गएपछि घृणाको समयावधि शुरु हुन्थ्यो र प्रेमको लहर गहिरोसित चलेको छ भने चाहिं घृणाको समयावधि पनि असाध्य नै लामो हुन जान्थ्यो । प्रेम र घृणा त एउटै पाशविक भावनाका दुई पक्ष हुन्‌ भन्ने त्यतिखेर हामीलाई थाहापत्तो नै थिएन । वास्तविक स्थिति यस्तो छ भन्ने क्थंकदाचित्‌ त्यति बेला हामीले थाहा पाइहाल्दा हौं त हाम्रो जीवन नै दु:स्वप्न बन्न पुग्नेथियो । परन्तु स्थितिको यथार्थ रुप हाम्रो दृष्टिगोचरमा पर्दैपरेन । यसैमा त मनुष्यको मुक्ति र दण्ड दुवै कुरा निहित छन्‌ । कुनै मान्छेको जीवनयापनको तौरतरीका जतिसुकै गलत किन नहोस्‌, उसले त्यसप्रति आँखा चिम्लिदिन सक्छ र आफ्नो दयनीय स्थितिलाई देख्न समेत देख्दैन । हामीले पनि यस्तै गर्यौँ । घरको कामधन्दामा नै ऊ आफूलाई भुलाएर राख्नेगर्थी, त्यसैको भारमा ऊ अल्झिरहेकी थिई र उसलाई सास फेर्न समेत फुर्सद रहँदैनथ्यो । ऊ कोठा मिलाउँथी, आफ्नो श्रृगारपटारमा लाग्थी, बालबच्चाहरूलाई लुगासुगा लगाइदिन्थी, पढ्थी र पढाउँथी, बच्चाहरूको सन्चोबिसन्चोको रेखदेख गर्थी ! मेरो चाहि आफ्नै लत्तो थियो- जागीर, शिकार र ताश ! हामी दुवै जहिले पनि कुनै न कुनै काममा व्यस्त रहन्थ्यौं । जति बढ्ता हामी व्यस्त रहन्थ्यौं त्यत्तिकै ज्यादा हामी एक अर्काप्रति असहय बन्दैगइरहेका छौं भन्ने हामी अनुभव गर्यौं । म मनमनै उसलाई भन्नेगर्थे: ‘अहिले तँ मुख बिगार्दैछेस्‌ ! राति त्यो उपद्रव, नमच्चाउँदी होस्‌ त म मजाले सुत्न त पाउनेथिएँ! रातभरि जाग्राम बसियो, अब चाहिँ सम्मेलनमा जानुछ !” ऊ चाहिं मनमनै भन्ने मात्र होइन, बरु डाँको छोडेर गर्जन्थी: “तिमीलाई त केर ? आफूले भने बच्चालाई फकाउनु-फुलाउनुपर्दा रातभरि पटक्कै सुत्न पाइएको होइन !”

यसरी हाम्रो जिन्दगी बित्दैगइरहेको थियो र अन्यौलको कूहिरो टन्न लागिरहेको हुँदा हामी आफ्नो वास्तविक स्थितिलाई देख्दा पनि देखिरहेका थिएनौं । कथंकदाचित्‌ त्यो घटना नघटेको हुँदो हो त म बुढेसकालसम्म नै र अन्तिम सास फेर्दासम्म नै पनि के विचार गर्दो हुँ भने मैले एउटा राम्रै जीवन व्यतीत गरेको छु, यद्यपि यसलाई असाध्य राम्रो भन्न सकिदैन तापनि निकै हदसम्म राम्रै जीवन बितेको छ जस्तो अरु सब व्यक्तिहरूको छ । आफू कस्तो दुर्भाग्य र घृणित झूठको खाल्डोमा जाकिन पुगेको रहेछु भन्नै समेत मलाई कहिल्यै होश आउने थिएन ।

हाम्रो स्थिति ती दुई घनघोर शत्रुहरूको जस्तै थियो जसलाई एकै ठाउँमा एउटै सिक्रीले बाँधेर राखिएको थियो र जो एक अर्काको जीवनलाई विषाक्त बनाइरहेका भए तापनि यस कुराको चाल समेत पाउँदैनथे । संसारका सयकडा उनान्सय दम्पतिहरू मैले जस्तै गरी यस प्रकारको नारकीय जीवन बिताउँछन्‌ र यो अनिवार्य समेत छ भन्ने पनि त्यतिखेर मलाई बोध थिएन । त्यसताका म न आफ्नो स्थितिलाई नै राम्ररी बुझ्न सक्थें, न त अरुकै स्थितिलाई मैले बुझेको थिएँ ।”

जीवन सही तरीकाले बितिरहेको होस्‌ या गलत तरीकाले, तर त्यसमा कैयौपल्ट अनायास नै एकैचोटि यस्ता घटनाहरू घट्ने गर्छन्‌ । जसले गर्दा मान्छेहरू बिखलबन्दमा पर्न जान्छन्‌ । जब आमाबाबुको आपसी विद्वेष चरम सीमामा पुगिरहेको हुन्छ ठीक त्यति बेला नै केटाकेटीहरूको पढाइको समस्या उठिदिन्छ र त्यस परिवारले कुनै शहरमा गएर बस्नुपर्ने हुन्छ ।

ऊ चुप लाग्यो । दुईपल्ट फेरि उसको मुखबाट त्यही अनौठो आवाज निस्कियो जुन अहिले चाहिं सुँक्क सुँक्क नै बलजफ्ती रोक्ने प्रयास गरेको जस्तो लाग्न थालेको थियो ।

हाम्रो रेलगाडी पनि कुनै स्टेशननेर पुग्नै आँटेको थियो ।
“कति बज्यो हँ ?”-उसले सोध्यो ।

मैले घडी हेरेँ । दुई बज्नै आँटेको थियो ।

“तपाईं थाक्नु भएन के ?”-उसले फेरि प्रश्न गर्यो ।

“अहँ , थाक्या छैन ! बरु तपाईं पो त थाक्नुभो होला !”

“मलाई यहाँ उकुसमुकुस लाग्न थालेको छ । म यसो डुलेर आउँछु । अलिकति पानी पनि खानैपर्ला !”

अनि ढलमलिंदै उसले डब्बा पार गर्यो । म एक्लै बसिरहेको थिएँ र उसको कथनमा घोरिएर विचार गरिरहेको थिएँ । म आफ्नो विचारमा कतिसम्म तल्लीन हुन पुगेको रहेछु भने अर्को ढोकाबाट उ फर्केर भित्र पसिसकेको समेत मैले चाल पाउन सकिनँ ।