हीरा छेत्री भारतीय नेपाली साहित्यमा सर्वपरिचित छन् । विशेष गरी भारतीय नेपाली पत्रपत्रिकाको खोज र सङ्ग्रहकर्ताका रूपमा उनलाई चिनिन्छ । यसबाहेक उनी बेजोड व्यङ्ग्य लेखक हुन् । ‘छुल्याहाको गन्थन’ शृङ्खला लेखनमा उनको अलग्गै परिचय छ । भाषासाहित्यलाई अत्यधिक मायाँ गर्ने हीरा छेत्री एक कुशल वैयाकरण पनि हुन् । पुस्तक अनि पत्रपत्रिकाको सम्पादन मात्र होइन भाषिक शुद्धताको अभियानमा वैज्ञानिक तर्क राख्छन्, शिविर लगाउँछन्, प्रशिक्षण दिन्छन् र अनलाइन टिप्सहरू बाँड्छन् । अर्कातिर सङ्गीतप्रेम उनको डिएनएमै छ । उमेरमा साङ्गीतिक कार्यक्रम लिएर अनेक ठाउँ पुगेका छन् । आज पनि मज्जाले गिटार बजाउँछन्, गीत गुनगुनाउँछन् र आफ्नो साङ्गीतिक तिर्सना मेट्छन् । यति मात्र कहाँ हो र उनी कुनै पनि कार्यक्रम भाँती पुऱ्याएर सञ्चालन गर्ने एक कुशल उद्घोषक पनि हुन् ।

उनी संस्मरण लेखनमा पनि निरन्तर लागिपरेका छन् । यस पटक डेढ दर्जनजति संस्मरणका ठेली लिएर कृति नै प्रकाशन गर्ने उपक्रममा छन् जसको पाण्डुलिपिको फाइल मसम्म भूमिकाका निम्ति आइपुगेको छ । चुनिएर सङ्ग्रहमा स्थान पाउने भाग्यमानी संस्मरणहरूलाई अध्ययन गरेर हेर्दा संस्मरणलेखनमा पनि पारसमणि प्रधान, लैनसिंह बाङ्देल, सलोन कार्थक, जगत् छेत्री, रामलाल अधिकारी, बद्रीनारायण प्रधान, राजनारायण प्रधान, महानन्द पौड्याल, माटिल्डा राई, शान्ति छेत्री, सानु लामा, मोहन ठकुरी आदिले खनिराखेका निसंस्मरणको घडेरीमा हीरा छेत्रीको नाम पनि अब सगर्व उल्लिखित हुने स्पष्ट छ । सङ्ग्रहमा समाविष्ट संस्मरण सन् १९७९ लिखित ‘कहाँ हराए सेन्डु मामा?’ देखिको कालक्रमलाई नियाल्दा उनले यस दिशामा मात्रै चार दशकभन्दा धेर समय समर्पित गरेका पाउछौँ । विभिन्न कालखण्डमा सिर्जना गरिएका यी संस्मरणहरूमा हामी विषयगत वैभिन्यता, तात्कालीन चरित्र, सङ्घटना, ऐतिहासिकता, सामाजिक स्वरूप आदिको रोचक तथ्य र वस्तुगत विवृत्ति कुँदिएका पाउछौँ । यी संस्मरणहरूमा प्रवेश गर्नअघि संस्मरणबारे अलिकति केलाउने प्रयास गरौँ । यसैको आधारमा हीरा छेत्रीका संस्मरणहरू सैद्धान्तिक धरातलमा के, कति र कसरी उभिएका छन् ? जोखी हेर्ने प्रयास पनि गरौँ ।

हीरा छेत्री

आख्यानेतर एक गद्य उपविधा हो स्मृतिलेखन वा संस्मरण । निबन्धात्मक अनि निजात्मक स्वरूपको हुनाले यसलाई निसंस्मरण भनियो । साहित्यमा यसले अलग र एक स्थापित विधाको रूप पाउन निकै समय लागेको पाइन्छ । यसैले यो साहित्यको निकै नवीन र कान्छो विधाको रूपमा स्वीकृत छ । संस्मरणलेखन साहित्यमा कविता, कथा, समालोचना अनि नाटकजस्ता विधागत स्वरूप केलाउँदा यो निबन्धकै धेर नजिक भेटिन्छ । यसैले यसलाई धेरैले निबन्धै मान्ने गरेको पनि पाइन्छ । यस विधाका नजिकका अन्य विधाहरूमा जीवनी, आत्मकथा, नियात्रा, दैनिकीलेखन, शब्दचित्र, पत्रसाहित्य आदि हुन् । यता आएर यसले तर बिस्तारै आफ्नो अलग पहिचान र स्वरूप निर्माण गरिसकेका पाउछौँ । (राजेन्द्र सुवेदी- स्रष्टा सृष्टि : द्रष्टा दृष्टि-पृ २६) भारतीय नेपाली साहित्यमा हेर्दा विशुद्ध निसंस्मरणलेखन थोरै देखिन्छ । नियात्रालाई अलग्याएर हेऱ्यौँ भने त झन् निसंस्मरणको मात्रा थोरै मात्र हामीसित उपलब्ध छन् ।

‘संस्मरण शब्द संस्कृतको ‘स्मृ’ धातुमा ‘सम्’ उपसर्ग र ‘अन्’ प्रत्यय लागेर व्युत्पन्न भएको हो’ । यसको अभिधात्मक अर्थ हुन्छ सम्यक स्मृति वा स्मरण गर्नु, सम्झनामा ल्याउनु वा स्मृतिमा दोऱ्याउनु । साहित्यमा तर यो अलिक लाक्षणिक स्वरूपमा व्यक्त हुन्छ । जब कुनै प्रकारको मीठो सम्झना बारम्बार दोहोरिन्छ अनि ती मधुर स्मृतिलाई कलात्मक ढङ्गमा भाषिक संरचनामार्फत अभिव्यक्त गरिन्छ तब त्यो संस्मरण हुन्छ । अध्येता केशवप्रसाद उपाध्याय भन्छन्- “कुनै घटना, कुनै स्थान, कुनै महत्त्वपूर्ण अनुभव तथा कुनै यात्रा आदिबारे आत्मकपरक शैलीमा लेखिने सङ्क्षिप्त आकारप्रकारको रचनालाई संस्मरण भनिन्छ ।” (साहित्य प्रकाश) यसबाट स्पष्ट हुन्छ कि साहित्यमा संस्मरणलेखनको छुट्टै महत्त्व र परिचय स्थापित छ ।

जय ‘क्याक्टस’ (भारत)

मनोविज्ञानमा ‘स्मृति’ महत्त्वपूर्ण अवयव हो । विद्वान्‌हरू जनाउँछन् कि मानिसको व्यक्तित्व निर्माणक्रममा स्मृतिले महत्त्वपूर्ण भूमिका खेल्दछ । यसले मानसिक विकासमा ठुलो योगदान दिन्छ । एउटा स्वस्थ शरीरको संरचना तयार गर्न यो स्मृतिले गतिलै योगदान दिन्छ । स्मृतिशक्ति क्षीण रहेका मानिसलाई पूर्ण स्वस्थ मान्न सकिन्न । विशेष संज्ञानात्मक विकास (cognitive development) ले नै मानिसको चिन्तन, धारणा र त्यस अनुरूपको कर्मलाई प्रभावित गर्दछ । यसैले साहित्यमा यो स्मृतिलेखन वा संस्मरण मनोवैज्ञानिक अध्ययनको विषय पनि हो । यसमा लेखकको मनोविज्ञान मात्र होइन तर लिखित पात्रपात्राको मनोविज्ञान समेत अध्ययन गर्न सकिन्छ । यसैबाट समाजको, राष्ट्रको भनौँ वैश्विक चिन्तन र कर्मलाई आकलन गर्न सकिन्छ । सर्जक हीरा छेत्रीका संस्मरणलेखनमा यसको विलक्षणता र सर्वोपरिता स्पष्ट देखिन्छ ।

साहित्यमा संस्मरणका प्रवृत्तिहरू धेरै छन् । विज्ञहरूले दर्साएका प्रवृत्तिहरूमध्ये यहाँ केही विशेषको उल्लेख र परिचर्चा गरिएका छन् अनि ती प्रवृत्तिहरू कसरी सर्जक हीरा छेत्रीका संस्मरणलेखनमा प्रयुक्त छन् त्यसलाई पनि पर्गेल्ने काम यहाँ भएको छ । यसबाटै यस कृतिको मूल्यनकार्य पनि हुने विश्वास गरिएको छ । यसले पाठकलाई सर्जकको संस्मरणको संसार विचरण गर्न पनि मदत गर्नेछ । सबैभन्दा धेर यसबाट सङ्कलित संस्मरण पठनको एउटा संस्कृतिको विकास होला भन्ने आशा पनि गरिएको छ ।

निजात्मकता / आत्मपरकता – निजात्मकता वा आत्मपरकता संस्मरणलेखनको सबैभन्दा मुख्य अवयव हो । हरेक संस्मरण वैयक्तिक अर्थात्‌ आत्मपरक हुन्छ । सर्जकले संस्मरणमा कुनै पनि व्यक्तिचित्र कोर्दा होस् या सङ्घटनाको विवरण दिँदा होस् त्यसमा लेखकको प्रत्यक्ष अनुभव र अनुभूति मिसिएकै हुन्छ । ती अनुभव-अनुभूति त्यसैले नितान्त मौलिक हुन्छ भलै त्यसमा केही कल्पनाको मरमसला र भाषिक चमत्कार मुछिएको होस् । संस्मरणमा यसैले व्यक्तिगत कुरो लेखिँदा सर्जक धेरै होसियार हुनुपर्दछ । अतिशयोक्तिले सिर्जनामा अविश्वसनीयता जन्माउने सम्भावना हुन्छ भने यथार्थको नाममा विवरण दिने क्रममा फेरि त्यो झिँजोलाग्दो गन्थन मात्र बनिने सम्भावना पनि हुन्छ । यसैले संस्मरणलेखनमा निजात्मक अभिव्यक्ति धेरै चुनौतीपूर्ण हुन्छ किनभने यसले इमानदारीको पनि अपेक्षा गर्छ । वरिष्ठ लेखिका पारिजात भन्छिन्- ‘संस्मरण लेख्नु भनेको आफैसँग इमानदार हुनु हो अर्थात्‌ मनका स्वीकारोक्तिहरूसँग साक्षी हुनु हो’ (पारिजातका सङ्कलित रचनाहरू) ।

सर्जक हीरा क्षेत्रीका संस्मरणहरू सबैले यो निजात्मकता र आत्मपरकताको धर्मलाई निष्ठासित निर्वाह गरेका पाइन्छन् । पाठकलाई कतै पनि ‘अतिशयोक्ति’ र गन्थन’ को बोध हुँदैन । सबै संस्मरणमा लेखकीय इमानदारी देखिन्छ । कुशल निबन्धकारी दर्साउँदै वैयक्तिक अनुभव-अनुभूतिलाई पनि साधारणीकरण (Generalise) गरी पाठकलाई आफ्नै संवेगसित प्रवाहित गराउने क्षमता उनको लेखनीमा देखिन्छ । यसलाई सर्जक छेत्रीको सबल पक्ष मान्न सकिन्छ । संस्मरणका हरेक चरित्र र सङ्घटनासित टाँसिएको ‘म’ हामी पाठकलाई आफैँ हुँ भन्ने बोध दिन्छ । जस्तो कि :-

‘कुमुदिनी पढ्न थालेपछि मेरो पढाइ अलि सुध्रेको हो । त्यसअघि ११ माइलको निम्न बुनियादी पाठशालामा पढुन्जेल आफू पास भएको घटना थाहा छैन । प्रत्येक ठुलो इक्जाममा म दुई या तीन मार्क्सले फेल हुन्थेँ अनि आमाले इस्कुस र फर्सीको मुन्टा बोकेर सरको घर गई, बिन्तीभाउ गरेर मलाई पास गराइमाग्नुहुन्थ्यो । कहिलेकाहीँ त लाग्छ सरले इस्कुसको मुन्टा पाइन्छ भनेरै पो फेल गराइरहेका हुन्थे कि मलाई ?’ (कहाँ हराए सेन्डु मामा?)

तथ्यपरकता – संस्मरणलाई चाहिने अर्को मुख्य अवयव हो तथ्यपरकता । संस्मरणलेखनमा विश्वसनीयता हुनु अत्यावश्यक हुन्छ अनि त्यो विश्वसनीयता जन्मन्छ यथार्थ वर्णन अनि तथ्यपरक प्रस्तुतिले । कल्पना र भावनाको बकम्फुसे उडानले संस्मरणको उचाइ पुग्न सकिन्न । संस्मरणमा समाविष्ट साल-संवत्, चरित्र, स्थान अनि घटनाहरू सबै यथार्थसित जोडिएका हुनाले यसमा सर्जक अधिक सचेत र सजग हुनुपर्छ । यसको विवरण दिँदा कुनै बेला यसले नकारात्मक अर्थ सिर्जना गरे वा कसैले मानहानि भएको बोध गरे त्यो खतरापूर्ण हुन्छ । यसैले यो निकै संवेदनशील विषय हुन जान्छ ।

यथार्थ र तथ्यलाई फेरि सपाट ढङ्गले मात्र प्रस्तुत गर्दा त्यो इतिहासजस्तो नीरस र खल्लो हुने सम्भावना पनि छ । चाखलाग्दो बनाउन त्यसमा चाहिँदो मिठास थप्न जरुरी छ । यसैले लेखिएका सबै संस्मरण पठनीय पनि हुन्नन् । यसमा सर्जक हीरा छेत्री धेरै सचेत देखिन्छन् । ठिक्क मात्रामा चरित्र वा घटनालाई वर्णन गर्ने शैली उनको राजनारायण प्रधानको जस्तै टेसिलो छ । यसैले पाठकले यी निसंस्मरण कृतिलाई पठन गर्न थालेपछि अन्त्यसम्म पुग्न आतुर रहनेछन् । जस्तो कि :-

‘कुनै पनि स्थानको विकासलाई बोक्छ त्यहाँको यातायात सेवाले । सिक्किम राज्यमा सरकारी यातायात सेवाको नाउँ हो एसएनटी । एसएनटी- को स्थापना सार्वभौम सिक्किममा सन् १९४४ तिर भएको हो तर यसको नाउँ थियो सिक्किम स्टेट ट्रान्सपोर्ट । त्यसपछि १९५५ मा यो सिक्किम नेसनलाइज्ड ट्रान्सपोर्ट भएको हो भनिन्छ । भारतमा विलय भएपछि पनि एसएनटीको आफ्नो अस्तित्व यथावत् छ अनि अन्य राज्यको तुलनामा यहाँ यो सेवा सरकारी आधिपत्यमै अद्यावधि सञ्चालित छ । सिक्किम राज्यमा यात्री सेवा अर्थात्‌ बस सेवा केवल एसएनटीले मात्रै सञ्चालन गदर्छ । आज पनि निजी यात्री बस सेवाहरू पाइन्नन् । सानु हिमाली राज्य सिक्किममा एक ठाउँदेखि अर्को ठाउँ सरसामान ओसारपसार गर्ने मालवाहक ट्रकहरू पनि एसएनटीकै धेर छन् । एसएनटीले गधाले जस्तो सरसामान लादेको त्यतिखेरको दृश्य देखेर मानिसहरूले यसको पुरा नाउँ हँस्यौली गर्दै ‘सक्की नसक्की तान’ पनि भन्थे ।’ (सिरानीमा बसको सिट)

पश्चकालिकता – संस्मरण भनेकै विगतका घटनाहरूका इतिवृत्त हो । यसैले यसमा विगतका समय वा काललाई पक्रिएर हेरिने अनि त्यसलाई वर्तमानमा अनुलेखन गरिने हुनाले यसमा पश्चकालिकता भेटिन्छ । यो पनि संस्मरणको अर्को मुख्य प्रवृत्ति हो । इतिहासले नटिपेका बुँदाहरूलाई समेत समेट्ने हुनाले संस्मरणमा ऐतिहासिकताको आधिक्य पाइन्छ । संस्मरण किन पढ्नु भनेर सोधिए यही ‘ऐतिहासिकता वा विगतलाई बुझ्नु नै संस्मरण पढ्नु’ भनेर जानकारहरू बताउँछन् । विगतको वर्णन मात्र होइन तर संस्मरणमा ती कालसित जोडिएका चरित्र, घटना, परिस्थिति आदिको मूल्याङ्कन समेत गरिएको हुन्छ । यसैले संस्मरणमा यो पश्चकालिकता स्वाभाविक प्रक्रिया समेत बनेर रहेको हुन्छ । सर्जक हीरा छेत्रीका संस्मरणलेखनमा यो पश्चकालिकता स्वाभाविक प्रक्रिया छ । यसमा ऐतिहासिकताका बुँदाहरू समेटिएका छन् । जस्तो कि :-

‘अर्कातिर कालेबुङको स्थिति असाधारण थियो । साँझ परेपछि सिआरपीको रेड सुरु हुन्थ्यो र गाउँघरका केटाहरू सबै पोका पत्यौरा कुम्ल्याएर जङ्गल वा बस्ती पस्थे । यसैले आफ्नो घर समयमै पुगेर डुङ्ग्रातिर झर्नुपर्ने स्थिति थियो । भर्खरै हडताल खोलिएको थियो । हिउँदोको महिना थियो । साँझ पर्ने तरखरमा घामको ब्याट्री पनि डाउन हुन लागेको थियो ।’ (सपेराको ढाकीमा के हुन्छ ? )

‘कालेबुङबाट पत्रपत्रिका निकाल्न सकिँदैन थियो त्यो समय । यसैले गान्तोकबाट मैले एक-दुई अङ्क छपाएँ (चरित्रको) । त्यतिखेर सहदेव साथी पनि गान्तोक आउँथे, मसित बस्थे । प्रेसको काम गरिराखेर फर्किन्थे । आएपछि नफर्किनू भन्थेँ म किनभने कालेबुङको हालत ठिक थिएन । सुरक्षा बलले जवान केटाहरू देखी नसहने । जिन्सको पतलुङ लगाएको छ भने त आतङ्कवादी भइहाल्ने । घरभित्र पसेर केटाहरूलाई धुलाइ दिने, केटीहरूलाई बलजफती गर्ने इत्यादि घटनाहरू बताइरहने काम त छैन तर यो संस्मरणलाई अलिकति रोचकता दिनका लागि यति कुरा भनिराख्न आवश्यक छ जस्तो लाग्यो ।’ (चिया त खाएर जानू नि..)

विषय केन्द्रीयता – संस्मरणमा विषय चयन सर्जकको आआफ्नै हुन सक्छ । विषय बनेर व्यक्तिचरित्र, घटना, यात्रा अनि कुनै विशेष कालखण्ड संस्मरणमा आउन सक्छ । मूल विषयवस्तुलाई पृष्ठभूमिमै राखेर सर्जकले अन्यान्य सन्दर्भहरू जोड्न सक्छन् तर विषयदेखि विमुख हुन थाले वा अनावश्यक सन्दर्भ र गफहरूले निबन्धलाई तन्काउने प्रयास गरे सिर्जनाको रोचकता र सौन्दर्यमा खलल पुग्न सक्छ । यसैले संस्मरणमा विषय केन्द्रीयता अर्को मुख्य अवयव वा प्रवृत्ति हो । यसले पाठको सङ्क्षिप्ततालाई पनि निर्वाह गर्छ । विषयको केन्द्रीयतालाई महत्त्व नदिने संस्मरण लेखकहरूलाई सफल मान्न सकिन्न । किनभने यस्ता संस्मरणमा यथार्थभन्दा धेर तनन गफको थुप्रो मात्र हुन्छ ।

विषयको केन्द्रीयता लिएर सर्जक हीरा छेत्री धेरै सजग देखिन्छन् । उनले संस्मरणमा मूल विषयलाई केन्द्रमा राखी अन्य सन्दर्भलाई रोचकता र कौतुहलता थप्न सम्पूरकका निम्ति मात्र उठान गर्ने सक्दो प्रयास गरेका छन् । यद्दपि कुनै-कुनै स्थानमा त्यो केही विस्तृत र डिटेलमा जाँदा विषयदेखि भागेका जस्ता पनि देखिन्छन् । ‘सिरानीमा बसको सिट’, ‘५०१ को इनाम’, ‘भाइलाई नचिन्ने को छ र?’ जस्ता संस्मरण उदाहरणका रूपमा लिन सकिन्छ । अन्य संस्मरणमा तर उनी विषय केन्द्रीयताको परिवृत्तभित्रै रहेका छन् । यसैले सङ्क्षिप्तमा विषय र विचार पस्कन सफल बनेका छन् ।

आख्यानात्मकता – गैरआख्यानात्मक विधा रहे पनि संस्मरणमा आख्यानात्मकता विद्यमान रहेको हुन्छ । यो संस्मरणलेखनको शैल्पिक प्रवृत्ति हो । यसले संस्मरणमा रोचकता, सौन्दर्य अनि कौतुहलता थप्ने कार्य गर्छ । सिङ्गो संस्मरण आख्यानात्मक नहुन सक्छ तर त्यसमा मसिना आख्यानहरूका योगले त्यो आख्यानात्मक बन्छ । अहिलेको उत्तरआधुनिक लेखनमा चर्चामा आइरहने सूक्ष्माख्यान ‘माइक्रो न्यारेटिभ्स’ संस्मरणलेखनमा अधिक प्रयोग भएको पाइन्छ । यसले विषयलाई संवेगात्मक बनाउने कार्य गर्दछ र पाठ अधिक प्रभावकारी हुन्छ ।

सर्जक हीरा छेत्रीका संस्मरणमा यस्ता सूक्ष्माख्यानहरू भरमार भेटिन्छन् । यसैले यी संस्मरणहरू रोचक अनि हृदयस्पर्शी बन्न पुगेका छन् । प्रत्येक संस्मरणमा यस्ता एकाध आख्यान जोडिएर आउँदा पाठकलाई ‘कथै पढिरहेको छु कि’ भन्ने बोध गराउँदछ । व्यक्ति होस् या घटना जसको वृत्ति वा प्रकृति चिनाउन यस्ता आख्यानांश जरुरी हुन्छ । सर्जक हीरा छेत्रीले आफ्ना संस्मरणलाई संवादात्मक बनाउने जुन पद्धतिको सहयोग लिएका छन् त्यसले रचनाको आख्यानात्मकतालाई सबलतासाथ निर्वाह गरेको छ । जस्तो कि :-

‘मलाई रम्फु झर्नुपर्ने भयो दिदीकहाँ केही कामविशेषले । शनिबारको दिन थियो झरेँ । त्यहीँ छिमेकी नवीन गुरुङ दाजुसँग चिनाजान भयो । दाजुको भर्खरै शाही भुटान लट्रीको सान्त्वना पुरस्कार परेको रहेछ र विदेश घुम्ने औसर पाउनुभएको रहेछ तर विदेश जानलाई चाहिएको पाकेटखर्च चैँ आफैँ बेहोर्नुपर्ने हुनाले आफूसित भएका इलेक्ट्रोनिक सरसामानहरू कम दाममा चिनाजानाहरूलाई बिक्री गर्दै रहेछन् । यौटा टिभी पनि रहेछ रङ्गीन ठुलो ओनिडा । दिदीले कालेबुङ घरमा लैजाने मन बनाउनुभएको रहेछ । त्यो अवलोकन गर्नलाई दाजुको घरमा गएँ म पनि । दाम मिलाएर हामीले त्यसलाई कालेबुङ पुऱ्याउने भयौँ । बातचित भएपछि दाजुले मलाई “गान्तोक कैले फिर्ने?” सोध्नुभयो । मैले भोलि भनेर जवाफ दिएपछि “मेरो यौटा सानु काम गरिदिनुहोस् न” भन्नुभयो । ‘ (फिलाको मासु र गान्धीमार्गमा छुरी)

चिन्तनशीलता – चिन्तन वा विचार कुनै पनि सिर्जनाको मेरुदण्ड हो । संस्मरणमा पनि चिन्तन वा विचारले मुख्य भूमिका खेलेको हुन्छ । हरेक संस्मरणको निचोडमा जुन धारणा पाठकको मनमस्तिष्कमा निर्माण हुन्छ त्यो नै यसको विचारशक्ति हो । विचार तर त्यो कलात्मक अभिव्यक्तिसित आएको हुनुपर्छ । सोझो र सपाट विचारको वर्णन उपदेशात्मक हुन्छ तर संस्मरणमा त्यो अप्रत्यक्ष र लाक्षणिक स्वरूपमा आएको हुन्छ । सरल वाक्यमा जीवन र जगत्‌लाई केलाउने दर्शनका गम्भीर दृष्टिकोण संस्मरणमा समाहित बनेका छन् भने त्यसले हरेक वर्ग अनि स्तरका पाठकलाई संस्मरणभित्र प्रविष्ट गराउन सक्छन् ।

यस कृतिमा समाहित केही संस्मरणहरूमा यस्ता दर्शन र चिन्तनका गम्भीर भावधारका वाक्यहरू समाहित रहेका पाउँछौँ । यसले पाठभित्रैबाट जीवन अनि जगत्‌लाई हेर्ने केही नयाँ दृष्टि दिने गरेको छ जस्तो कि :-

‘सतर्कता र सुरक्षाको कुरामा चालकहरू जति तैनाथ र होसियार कुनै पेसाका व्यक्ति हुँदैनन् ।’- सपेराको ढाकीमा के हुन्छ?

‘मान्छेले जिन्दगीमा एक छटाङ्क सुख पायो भने पाँच छटाङ्क दुक्ख बिर्सिँदो रहेछ ।’ – चिया त खाएर जानू नि ।

‘कुनै पनि मान्छेले आफ्नो काम गर्छ त त्यसमा उसको स्वार्थ के छ त्यो हेरेर मात्र ।’- ५०१ को इनाम

‘यदि कुनै सामान बिक्री गर्दा नाफा छैन भने कसले किन बेपार गर्थ्यो होला? समाजसेवाका लागि त दोकान खोल्दैन ।’- बर्थडे बम्ब ।

‘परिचय वा चिनारी भन्ने आजको दुनियाँमा सबैभन्दा भावनात्मक मुद्दा बनेको छ । मान्छे चाहन्छ उसलाई यो रूपमा चिनियोस् आफ्नो परिचय यसरी दिइयोस् ।’ – भाइलाई नचिन्ने को छ र?

‘आफूले नगरेको कर्मको फल लिनु हुँदैन भन्ने कुरो त्यो आधा स्कुल पढेको गोआको एउटा झोपडपट्टीमा बस्ने जेरमले मलाई सिकाइरहेको थियो ।’ – सहस्राब्दीको उपहार गोआका जेरम । आदि ।

स्थानीयताको चित्रण – संस्मरणमा परिवेश निर्माण महत्त्वपूर्ण कुरो हो यसका निम्ति समय अनि स्थिति अनुरूपको स्थानको वर्णन वा चित्रण गरिएको हुन्छ । कुनै पनि स्थानको परिचय वा चित्रण गर्दा त्यहाँका भौगोलिक अनि प्राकृतिक पर्यावरण, सामाजिक-सांस्कृतिक, भाषिक अनि स्थानिक रङ्गलाई तथ्यपरक ढङ्गले समाविष्ट गरेको हुनुपर्दछ । यसले संस्मरणमा जीवन्तता मात्र होइन तर विश्वसनीयता पनि जन्माउँछ । सुन्दर संस्मरणमा यसको राम्रो तालमेल हुन्छ । विशेष कुनै यात्रा संस्मरणमा यसले महत्त्वपूर्ण भूमिका खेल्दछ ।

सर्जक हीरा छेत्रीले आफ्ना संस्मरणमा यस कुरोलाई गम्भीरतासित प्रयोग गरेका छन् । चाहे गान्तोक होस् या सिक्किमको कुनै पुरानो ग्रामीण परिवेश, कालेबुङ बजार होस् या सुदुरवर्ती कुनै गाउँ, मुम्बई महानगरीको व्यस्तता होस् या गोआको समुद्री शान्त परिवेश संस्मरणमा त्यहाँको स्थानीयताको गन्ध र स्वाद पाठकले सस्मरणभित्र मनग्गे पाउँछन् । यसैले पनि सर्जक छेत्रीका संस्मरणहरू ग्राह्य र सम्प्रेषणीय बनेका पाइन्छन् ।

चरित्रचित्रण/जीवनीपरकता – संस्मरणमा पाइने अर्को मुख्य तत्त्व हो चरित्रचित्रण । संस्मरणमा जोडिएर आउने व्यक्तिविशेषको जीवनीलाई अनि उनको जीवनचरित्रलाई दर्साउन सर्जकले विशेष कौशल लिएको हुन्छ । आत्मकथा वा जीवनी लेखनमा झैँ यो तर विस्तृत र बहुमुखी हुँदैन । सङ्क्षेपमा एकै पात्रपात्रा केन्द्रित यो विशेष घटना, समय र स्थान सापेक्ष मात्र हुन्छ ।  थोरैमा धेरै चिन्न सकिने गरी लेखकले चरित्र वा जीवनी रोचक ढङ्गमा पस्केको हुन्छ । सर्जक हीरा छेत्री यस दिशामा साह्रै पोख्त र पारङ्गत देखिन्छन् । सर्जक छेत्रीकै जीवनीका अंश लगायत सेन्डु मामा, भगीरथ रावत, सीके श्रेष्ठ, पारसमणि प्रधान, गुमानसिंह चामलिङ, गोआका जेरम, लेखककै मित्र विजय छेत्री आदिले हामी पाठकको हृदयमा गहिरो छाप छोड्दछन् । यसबाहेक संस्मरणको गतिशीलतामा जोडिन आएका धेरै व्यक्तिहरू छन् जसले औपन्यासिक गौण पात्रपात्राझैँ आफ्नो चहकिलो उपस्थिति दिएर अल्पिन्छन् । सपेराको ढाकीमा के हुन्छ? भित्रका चालक, सपेरा, एक वृद्ध महिला, भगीरथ रावत दाजु र मेरो गुप्त चिठीको राजेन दाजु, चिया त खाएर जानू नि कि चिया पकाइदिने दिदी, डकार्न नपाएका भतेरका दृष्टिहीन कृष्ण दाजु, तीनपल्ट इक्को भएको ध्वनि थुतुनो…. का मङ्गले दाजु, आङालाई माया गर्ने पोचोका आङा आदिले पनि हामी पाठकको हृदयमा ठाउँ बनाउन सफल बन्नुमा सर्जक छेत्रीको चित्रणकलाकै करामत हो भनी मान्न सकिन्छ ।

हास्यात्मकता – अनिवार्य नहोला तर संस्मरणलाई उच्चाटलाग्दो वर्णन र व्याख्यादेखि मुक्त पार्न हास्य तत्त्व पनि आवश्यक हुँदो रहेछ । सबैका संस्मरणमा यो हास्यरस पाउन सकिन्न । यदि संस्मरण गम्भीर र कुनै दुःखद सङ्घटना र स्थितिसित सम्बन्धित छ भने यसको अपेक्षा राख्नै पनि मूर्खता हुन्छ तर आवश्यक ठाउँमा यदि हास्यपूर्ण स्थितिको विवरण समाविष्ट भए संस्मरण रोचक र पठनीय हुँदो रहेछ भन्ने सत्य हामीले राजनारायण प्रधान अनि रामलाल अधिकारीका संस्मरण पढेर थाहा पाएका छौँ । उद्धरण दिइरहँदा लेख लामो होला यसैले यस कृतिमा समाहित ‘फिलाको मासु र गान्धीमार्गमा छुरी’, ‘सपेराको ढाकमा के हुन्छ?’, ‘हाँसेरै भुँडी फाट्यो’, ‘तीनपल्ट इको भएको ध्वनि थुतुनो३’, ‘बिहेघरमा शौचालय नेभेट्दा, ‘पानी त पहाडकै मिट्ठो’ र ‘शशि कपुर भिलेन’ मा दर्साइएका घटना र चरित्रमा मनग्गे हाँस्य तत्त्व रहेको पाउन सकिन्छ ।

भाषाशैली – संस्मरणलेखन पनि लिखित एक गद्य संरचना हो । यसमा सर्जकको अनुभव-अनुभूतिगत संवेदनालाई सरस अनि सरल अभिव्यञ्जनाको आवश्यकता पर्दछ । संस्मरणको मूल बिम्बलाई प्रकाशमा ल्याउन कलात्मक भाषाले महत्त्वपूर्ण भूमिका खेल्दछ । संस्मरणमा प्रयुक्त भाषाबाटै सर्जकको साहित्यिक सिर्जनात्मक व्यक्तित्त्वको उद्घाटन हुन्छ । संस्मरणकारको अनुभति, विषयवस्तु, पात्र, परिवेश, सन्दर्भ अनुरूपको भाषिक प्रयोगले संस्मरणलाई सरल, सुबोध र रोचक बनाउँछ । विभिन्न शैलीमध्ये संस्मरणमा विवरणात्मक, विश्लेषणात्मक, वर्णनात्मक अनि संवादात्मक शैलीको विशेष प्रयोग भएका हुन्छन् ।

सामान्यतः स्तरीय अनि मानक भाषा प्रयोग गरी संस्मरण लेखिन्छ । लोकलवज, कूटमिश्रित भाषा अनि स्थानीय जनबोली पनि आजको संस्मरणमा घुलिएको पाइन्छ । सर्जक हीरा छेत्री पनि भाषिक प्रयोगमा सचेत छन् । उनले सक्दो सरल र सरस भाषा प्रयोग गरी संस्मरण तयार गर्ने गरेका छन् । आवश्यकता अनुरूप जनबोली र लोकलवज पनि समावेश गरेका छन् । यसबाहेक उनले अङ्ग्रेजी, हिन्दी, फारसी शब्दहरूलाई पनि ज्ञातअज्ञात संस्मरणमा समेटेका छन् । कति संस्मरणको शीर्षकनै अङ्ग्रेजीमा राखिएको छ । सायद यसद्वारा पाठकमा उत्सुकता सिर्जना गर्नु मात्र लेखकको उद्देश्य हुनसक्छ । सर्जक हीरा छेत्रीको भाषिक स्वरूपमै पाठक लट्ठ पर्ने निश्चित छ ।

पुछारमा,

संस्मरणलेखनमा प्रायोगिक दृष्टिले सर्जक हीरा छेत्री सफल देखिन्छन् । हरेक समय र घटनाको टिपोट र डायरी राख्ने उनको बानीले संस्मरणमा विश्वसनीयता अनि जीवन्तता आएको छ । यी संस्मरणले धेरै थोक समेटेको छ । हाम्रो सामाजिकस्तर, चिन्तनस्तर अनि दैनिक जीवनवृत्ति मात्र होइन भाषासाहित्य, सङ्गीत, राजनीति अनि अर्थनैतिक अवस्थालाई पनि धेरै खुलस्त पारेको छ । परोक्षप्रत्यक्ष यसले सर्जक हीरा छेत्रीको बाल्यसंसार, युवा कालका सक्रियता र सजगतालाई परिचित तुल्याएको छ । यसको दोस्रो खण्ड आउँदा परिपक्व र प्रबुद्ध हीरालाई पनि चिन्न पाइएला । अहिलेलाई शुभकामना ।