हालै नेटफ्लिक्समा निर्मल पुर्जाको अद्भुत हिमालयात्राका बारेमा बनाइएको डकुमेन्ट्रीको प्रदर्शनी शुरू भएको छ । सानैदेखि हिम्मतिला निर्मलले कसरी यो असम्भव यात्रालाइ सम्भव गराउँछन् भन्ने बारेमा बनाइएको छ ।
उनलाइ चिन्नेहरूको टिप्पणी शुरूमै डकुमेन्ट्रीमा हेर्न पाइन्छ । एक जनाले भन्छन्, ‘निर्मल धेरै बोलक्कड छ । प्रायः हिमाल चढ्नेहरू कम बोल्छन् । ऊ भने बढी नै बोल्छ तर बोलेअनुसार गर्छ पनि ।’
यात्रा गर्दैगर्दा ग्लेसियर झरेको देख्दा आङ नै सिरिङ्ग हुन्छ । शुरूमै यात्राका क्रममा एक जनाले भन्छन्, नयाँ हिमपात भएपछि हिमपहिरो झर्न थाल्छ । यो चाहिँ गाह्रो हुन्छ।’
यात्राकै क्रममा साथीहरू बिरामी पर्छन्, उद्धारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने हुन्छ । अन्नपूर्ण बेसक्याम्पबाट साथीलाइ सिधै अस्पताल लगेको दृश्य मुटु नै चिस्याउने किसिमको छ ।
यो यात्रा सकिएपछि उनी चितवनस्थित गाउँ जान्छन्, जहाँ उनकी बिरामी आमा उनैको बाटो हेरिरहेकी हुन्छिन् ।
निर्मलका दाइ कमल पुर्जा भाइको यस किसिमको कामबाट दङ्ग त छन् तर सेनाको जागिरे भाइले जागिरै छाडेर यो काम गरेको रूचाउँदैनन् । उनी घरमा एक्लो कमाउने व्यक्ति भएकाले उनको जागिरको निकै ठूलो महत्त्व छ भनी बुझाउन खोज्छन् तर आफ्नो मनले ठानेपछि गर्ने मनशाय निर्मलले कहिल्यै त्याग्दैनन् ।
डकुमेन्ट्रीले निर्मलको कथासँगै गोर्खाभर्तीका कुरा पनि देखाउँछ । कसरी नेपालमा गोर्खा भर्ती शुरू भयो र जागिरको अन्य बाटो नहुनेका लागि एउटा अवसर कसरी खुल्यो भन्ने जनाउँदै डकुमेन्ट्रीले उनको जागिरले आमाको साताको दुइ पटक अस्पताल लैजानुपर्ने र त्यसका लागि कमाउनुपर्ने बाध्यताका पाटा खुल्छ ।
दसैँमा आमाले तिमीजस्तो ठूलो मान्छे संसारमै छैन, स्याब्बास छोरा भन्दै आशीष दिएको दृश्यले मन तम्तम्याइलो हुन्छ ।
सन् २००८ मा उनलाइ प्रोजेक्ट इम्पोसिबलको सोच आउँछ । ६ वर्ष ब्रिटिस गोर्खामा काम गरेपछि उनी स्पेसल फोर्समा काम गर्छन् । चुनौती लिन रूचाउने उनले यो कठिन जागिर छान्छन् ।
जे गरे पनि आफूलाइ नियन्त्रणमा राख्नुपर्छ भन्ने उनले यहीँ बुझ्छन् ।
[embedyt] https://www.youtube.com/watch?v=LvfN5_6zI8E[/embedyt]
२०११ मा अफगानिस्तानमा उनलाइ गोली लाग्छ । उनलाइ कुनै स्नाइपरले हानेको गोली बन्दुकमा लाग्छ । एक रत्तिले उनी बाँच्छन् ।
जीवन यत्ति नै रहेछ भन्ने बुझेपछि उनी पहिलो पटक २०१२ मा हिमाल चढ्न आउँछन् । त्यसपछि उनी लगातार हिमालप्रति आकर्षित भइरहे ।
उनकी पत्नी सुचीलाइ धेरैले सोध्छन्, ‘तिमीले यस्तो मान्छेलाइ कसरी झेल्छौ ?’ सुचीको उत्तर छ, ‘जीवनका बारेमा उनी स्पष्ट छन् । उनले जीवनमा के खोजेको हो, त्यो थाहा छ । म त्यसको अवरोध बन्न चाहन्नँ ।’
कन्चनजंगामा एकै दिनमा बेसक्याम्पबाट सिधै समिट गर्नु पूरै बौलाहापन हो भन्छन् केहीले । तर उनी मान्दैनन् ।
कन्चनजंगामा एक जना मानिसको अक्सिजन सकिन्छ । अब ती व्यक्तिलाइ बचाउनु उनी आफ्नो धर्म ठान्छन् । भन्छन्, ‘सेनामा कहिले पनि कुनै पनि व्यक्तिलाइ त्यत्तिकै मर्नका लागि छाडिदैन। त्यो धर्म होइन ।’
तर उनकै अँगालोमा सम्हाल्दासम्हाल्दै ती व्यक्तिको निधन भएपछि उनले अकस्मात पत्नीलाइ सम्झन्छन् । उनले त्यहीँबाट सुचीलाइ फोन गर्छन् । निर्मलको फोन आउँदा त सुची त झसङ्ग नै हुन्छिन्, कतै केही नराम्रो पो भयो कि ?
कन्चनजंगामा अक्सिजन सकिएको थियो, बिस्तारै तल झर्दै गर्दा उनले तन्द्रामा ठूलो दानव देखेजस्तो लाग्छ । तर ऊ पनि एउटा क्लाइम्बर नै हुन्छ । बाटो बिराएर हराएको उसलाइ तल झार्नु उनले आफ्नो कर्तव्य ठान्छन् । यसरी आफैँ अप्ठेरोमा पर्दा पनि आफ्नो कर्तव्य नभुल्ने उनको बानी यहाँ झल्किन्छ ।
जीवनमा पहिलो पटक आफ्नो योजनामा प्रश्न गर्न थाल्छन् ? तर उनी मानसिक रूपमा यति शसक्त छन् कि उनी चुनौती बिना बस्नै सक्दैनन् ।
सबैभन्दा दिमाग चकराउने चाहिँ उनले एकै झमटमा सगरमाथा, मकालु र लोत्सेको चढाइ गर्ने योजना सुनाउँदा यिनको दिमाग खुस्क्यो कि क्या हो भन्ने लागिरहन्छ ।
सगरमाथाको यात्राका क्रममा ३०० जनाको लागेको लामो भिडको भाइरल तस्बिर उनैले खिचेका थिए । आफू ओर्लंदै गर्दा सगरमाथा चुम्ने रहर पाल्ने रहरेको भिड देख्दा उदेकै लाग्छ ।
उनले डकुमेन्ट्रीमा पटक पटक सगरमाथा या कुनै पनि अप्ठेरा हिमाल चढ्दा मेरा शेर्पाले सहयोग गरे भन्ने मात्रै सुन्ने गरेकामा उनलाइ दुःख लाग्छ । ती प्रत्येक शेर्पाका नाउँ छन्, तिनको नामले पुकारिनुपर्ने र तिनको योगदानको समुचित सम्मान हुनुपर्ने उनले पटक पटक टिप्पणी गर्छन् ।
संसारकै खतरनाक हिमालमध्ये ‘के २’ मानिन्छ । उनले एउटै सिजनमा ‘के २’ सँगै अन्य हिमाल पनि चढ्ने योजनाका साथ पाकिस्तान छिर्छन् । त्यहाँ ‘के २’ चढ्न नसकेर हैरान भएका अन्य आरोहीहरूलाइ समेत प्रेरित गरेर उनले चढाउँछन् ।
मनास्लु हिमाल चढिसकेपछि उनलाइ लाग्छ, यो मेरो अन्तिम हिमाल चढाइ हुनसक्छ । किनभने अर्को चाहिँ चीनमा पर्छ, जसको अनुमति नपाइन पनि सक्छ ।
हुन पनि सबैभन्दा अप्ठेरो चाहिँ चीनतर्फको शिसापाङ्गमाको चढाइ थियो । उनले नेपाल सरकारसँगै संसारभरिका हिमालप्रेमीसँग अनुरोध गर्दै चीनसँग अनुमतिको प्रयास गरिदिन आह्वान गर्छन् । नभन्दै चीनले अनुमति दिन्छ र उनको अन्तिम हिमालयात्रा सकिन्छ ।
जब निर्मल र उनको टोली १४ टाकुरा चढिसिध्याउँछन्, दर्शकको छाति पनि ढक्क फुल्छ । उनीसँगै आफूलाइ त्यत्रो हिमाल आरोहण गराएकामा हामी दर्शकलाइ पनि आनन्द लाग्छ ।
सबैभन्दा ठूलो कुरा, एउटा मानिसले आँट्यो भने जे पनि सम्भव छ भन्ने बुझाउन डकुमेन्ट्री सफल छ, उनको जीवन सफल छ, उनको आँट सफल छ ।
डकुमेन्ट्री हेर्दै गर्दा निर्मलकी आमालाइ के भयो होला भन्ने लाग्छ र अन्त्यमा थाहा हुन्छ, सन् २०२० मा उहाँको देहान्त भएछ ।
दर्शकलाइ अझ बढी चाहिँ उनकी पत्नीको भनाइ, उनको खुसी, पति सकुशल फर्कंदाको हर्ष हेर्न मन लाग्छ । अन्यथा, डकुमेन्ट्रीले जे उत्साह भर्न खोजेको हो, त्यसमा सफल देखिएको छ । यसका लागि निर्देशक टर्किल जोन्स सफल छन् ।
[embedyt] https://www.youtube.com/watch?v=8QH5hBOoz08[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।