साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कार्टुन र चित्रकलामा जमेका राजेश

राजेश मानन्धर सानोमा फुटबलका अत्यन्त राम्रा खेलाडी थिए । घरका दाजुहरू पनि निकै राम्रो फुटबल खेल्थे।

घरका सबै दाजुभाइहरू फुटबलको पछिलाग्दा घरव्यवहार चौपट भैसकेका थिए।

व्यावहारिक कारणले उनी फुटबलका खेलाडी त बनेनन् तर राम्रो कलाकार भने बने । फुटबल छोडेपछि उनी पढाइमा लागे। उनी बिहान कलेज जान्थे भने दिउँसो आफ्नै साइकल पसल रुँगेर बस्थे। पछि घरमा थाहै नदिई ललितकला क्याम्पसमा चित्र र सङ्गीत विषय पढ्न थाले। शुरुमा राजेशलाई चित्रकलाको ज्ञान भने उनकै दाजु गौतम मानन्धरले दिएका थिए। दाजुले स्केच प्राक्टिस गराउनेदेखि घरबाहिर ‘यथास्थान’ पेन्टिङ गर्न लान्थे ।

bahulako diary small and inside post

ललितकला क्याम्पसमा बिएफए पढ्दा उनी कलामा पारङ्गत भैसकेका थिए।

सुरुमा उनले भीख माग्नेहरूको विषयमा सिल्सिलेवार चित्र सिर्जना गरे। माग्नेहरूको विषयमा चित्र बनाउन नै उनले किन रोजे भन्ने रोचक प्रसङ्ग जोडिएको छ ।

राजेश दिनभर पसलमा बस्थे । उनको घर पशुपति नजिकै भएकाले दिनहुँ जोगीहरू माग्न आउँथे। दिनमै ५०/६० जना भिक्षा माग्न आउँथे। “म पसलमा उनLह?को रहन, सहन र क्रियाकलाप नजिकबाट नियाल्थेँ,” उनी सम्झन्छन्, ”कति चैँ दुःखै पाएर माग्न आउँथे, कतिले भने मागेरै घर र जमिन जोडिसकेका थिए ।”

माग्नेहरूको विविधरुप देखेर उनी अचम्म पर्थे।

२०४५, ४६ र २००५ मा उने यही सिरिजमै चित्रकला प्रदर्शनी गरे। उनको पहिलो चित्रकला प्रदर्शनीमा २२ ओटा चित्र बिक्री भएका थिए ।

चित्रकलामा एमएफए गरेका राजेश ललितकला छँदा राम्रा विद्यार्थी भने हैनन। ”तीन पटक त म रेष्टिकेटमै परेँ,” उनी भन्छन्, ”अरु विषय सन्तोषजनक भएता पनि मेरो ड्रइङ निकै कमजोर थियो ।”

बिएफए पढ्दै गर्दा केही साथीहरूसँगै राजेशले एनिमेसन पनि सिकेका थिए। केही समयपछि यही समूहले एउटा एनजिओमा काम गरे । सर्टफिल्म बनाउने, ग्राफिक डिजाइन र विज्ञापनका सामग्री उत्पादन गर्ने काममा यो समूह निकै जमेको थियो उतिबेला।

यही समूहले पछि मुम्बईमा ६ महिना ग्राफिक ट्रेनिङ गर्ने अवसर पायो तर तीन महिना बित्न नपाउँदै उनी मुम्बईबाट नेपाल फर्कन बाध्य भए । मुम्बईमा भएको हिन्दु र मुस्लिम दङ्गाले उनीहरूको तालिमलाई प्रभावित पारेकाले बीचैमा छोड्नु परेको थियो । उतिबेला राजेश लामो कपाल र दाह्री पाल्थे। यही लामो कपाल र दाह्रीका कारण प्रहरीले उनलाई निकै सोधिखोजी गरे। पछि प्रहरीले उनलाई कपाल र दाह्री काट्न बाध्य पारे । यसलाई उनी जीवनकै एक अविस्मरणीय क्षण मान्छन् ।

नेपाल फर्किएपछि उनले यही समूहमा रहेर केही समय एनिमेसनको काम गरे र छाडे। एनिमेसन छाडेपछि भने उनले पत्रपत्रिकामा कार्टुन बनाउन शुरु गरे।

उनक पहिलो कार्टुन २०४४ सालमा भाँडभैलो गाईजात्रा अंकमा छापिएको थियो । पहिलो कार्टुन भाँडभैलोमा छापिदा उनी खुसीले उफ्रेका थिए ।
त्यसपछि फाट्टफुट्ट कार्टुन कोर्ने गरेका राजेशले २०४६ सालदेखि जनमत साप्ताहिकमा व्यावसायिक रुपमा कार्टुन कोरे । त्यसबापत उनले प्रति कार्टुन ५० रूपैयाँ पाउँथे। हरेक हप्ता उनको एउटा कार्टुन छापिन्थ्यो तर सम्पादकले नछापिदेला कि भन्ने भयले उनले हप्ताको ७ ओटा कार्टुन बनाएर पठाउँथे ।

पछि उनले कान्तिपुर दैनिक शुरु भएपछि सुरुकै दिनदेखि कार्टुन र इलुस्ट्रेसन कोरे। त्यतिबेला कान्तिपुरको भित्री पेजमा ”छिसिक्क” भन्ने कमिक स्तम्भ थियो। त्यसैका लागि उनले कार्टुन र इलुस्ट्रेसन बनाउँथे। ५ वर्ष लगातार काम गरेपछि उनले कान्तिपुर छोडे र लोकपत्र साप्ताहिकमा फ्रन्ट पेजमा कार्टुनिष्ट भएर काम गरे । २०५६ सालमा पुन: कान्तिपुर पब्लिकेसनमा कमब्याक भएर कान्तिपुर साप्ताहिकमा काम गरे।
पछि कुरा नमिलेपछि कान्तिपुर साप्ताहिक पनि छोडे।

त्यसयता उनले राष्ट्रिय दैनिक अन्नपुर्णपोष्ट, गोरखा पत्र र राइजिङ नेपाल लगायत दर्जनौँ साप्ताहिकमा काम गरे । उनको कार्टुन कलाको यात्रा अझै निरन्तर जारी छ।

तपाईले बुझ्नु भएको कार्टुन के हो भन्ने सवालमा उनी भन्छन्, ”कार्टुन त व्यंग्यमार्फत बिग्रिएको सामाजलाई सुधार्ने सशक्त माध्यम हो। कार्टुनले समाज, व्यक्ति र देशलाई सहीमार्गमा हिड्न प्रेरित गर्छ ।”

राजेशका कार्टुनहरू सामाजिक र राजनैतिक चेतले भरिपूर्ण छन् । देशलाई बिगार्ने नेता र समाजलाई बिगार्ने व्यक्तिविरुद्ध उनका व्यंग्यात्मक कार्टुन प्रहार हुन्छ। क्यारिकेचरसहित बनाइने व्यंग्यचित्रले सम्बन्धित व्यक्ति र क्षेत्रलाई तुरुन्तै आफ्ना गल्ती महसुस गराउन बाध्य हुन्छ।

कार्टुन र कलासृजनाका अलावा राजेश कलाका शिक्षक पनि हुन्। यसअघि दर्जनौँ स्कुलमा कला पढाएका राजेश १५ वर्षदेखि बुढानीलकण्ठ स्कुलमा कला विषय पढाउँछन्। ६ पटक एकलकला प्रदर्शनी, दर्जनौँ पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनीमा सहभागी भएका राजेश कलाकै सिलसिलामा जापान, कोरिया, बाङ्लादेश, इन्डोनेसिया, चीन र इन्डिया भ्रमण गरेका छन्।

 

प्रतिक्रिया
Loading...