डा. कुसुमाकर शर्मा गौतम
मैले नारायण गोपाललाई भेटेको मेरो स्कुले जीवनमा हो। मैले उनलाई भेटेको उनका गीत मार्फत हो। यो भेट मेरो अन्तस्करणमा उनको स्वरले बास गरेपछि भएको हो, एक आपसमा सम्मुख भएर होइन। मलाई ‘चिनेको’ शब्द कता कता टाढाको जस्तो लागेर ‘भेटेको’ भन्ने शब्द प्रयोग गर्न मन लाग्यो। यो भेटको शुरुवात त्यतिखेरको उनको गीत ‘म त लाली गुराँस भए छु, मनैभरि फुलिदिन्छु, वनैभरि फुलिदिन्छु…’ भन्नेबाट हो। यो गीत त्यतिखेर रेडियो नेपालले सधैँ बजाउँथ्यो।
[embedyt] https://www.youtube.com/watch?v=OMQh-lQyAGc[/embedyt]
हाम्रो घरमा दुई ब्यान्डको न्यासनल पानासोनिक रेडियो थियो। जुन हाम्रो टोलकै रेडियो थियो। टोलभरिका बुढापाका समाचार सुन्न हाम्रो रेडियो वरिपरि झुम्मिन्थे। समाचार प्रसारण हुनेबाहेक अरु समयमा रेडियोमाथिको हक हामी बच्चाहरूको हुन्थ्यो। गीतहरू सुन्न रेडियो नेपाल मात्रै एउटा माध्यम थियो त्यतिबेला।
हामी बच्चाहरूले उच्च शिक्षाका लागि गाउँ छोडेपछि त्यो रेडियो जेई (आमा) को जीवनसाथी बन्यो। रेडियोबाट निस्किने आवाज जेईको शरीरमा जीवन्तता छउन्जेल जेईकाे साथी बन्यो। जेईको स्वास्थ्यमा खराबीले बास गर्यो। उहाँको उपचारका निम्ति रुकुमकोट छोड्नु पर्यो। सोही समय पश्चात मात्रै त्यो रेडियोले मुक्ति पायो। मुक्ति पाउनुअघि रेडियो खोलेर हेर्दा ब्याट्रीको पेटबाट आन्द्राभुँडी समेत बाहिर निस्किसकेको थियो। तैपनि आवाज आउन छोडेको थिएन। त्यो रेडियोलाई छोड्नु पर्दा आमालगायत हामी सबैका आँखा भरिएका थिए। किनकि हामी छोराछोरीको अनुपस्थितिमा त्यो रेडियो नै जेईको सुखदुःखको साथी थियो।
रेडियोमा गीत बजेपछि दिदी, दाइ र मेरो बीचमा कसले तुरुन्तै त्यो गीतको भाका टिप्न सक्छ भनी प्रतिस्पर्धा चल्थ्यो। लोकगीतको भाका त तुरुन्तै समातिन्थ्यो। तर आधुनिक गीतको भाका समात्न गाह्रो हुन्थ्यो। त्यति खेरको नारायण गोपालको ‘म त लाली गुराँस…’ भन्ने गीतको भाका टिप्न करिब एक हप्ता लाग्यो हामीलाई। मलाई अझै सम्झना छ दिदी र दाइभन्दा मैले चाँडै भाका टिपेको थिएँ।
नारायण गोपालको स्वरले दिलमा स्थान लिएपछि अर्को स्वरले त्यो स्थानलाई अलिकति हल्लाउन पनि सकेन। अवश्य ! अरु स्वरले नारायण गोपालले बनाएको त्यो स्थान वरिपरि सहबास पक्कै गरेका छन्। दिलमा छाप लागेपछि त्यो नमेटिने रहेछ। त्यसपछि नारायण गोपालका गीतहरू खोजीखोजी सुन्न थालेँ। गाउँबाट काठमाण्डु पढ्न गएको बेला होस् या इन्डियाको पढाइको बेलामा होस्, नारायण गोपालका गीत खोजीखोजी सुन्न थालेँ। मलाई याद छ, इन्डिया पढ्दा उडिसाको भुवनेश्वर शहर घुम्न गएको बेलामा मित्र पूर्ण चन्द्रलाल राजभण्डारीले नारायण गोपालको गीतको क्यासेट बजाउनु भयो। सँगै गएका अरु साथीहरू भुवनेश्वर शहर घुम्न जानुभयो तर म नारायण गोपालका गीतहरू सुनेर बसेँ पूर्णको कोठामा।
सौभाग्य पनि भन्नु पर्छ मेरी श्रीमती पनि नारायण गोपालकी चहिती मात्रै हैन, उनका गीतहरूमा आफ्ना भावनाहरू देख्छिन्। उनको सबै भन्दा मनपर्ने गीत ‘अल्झेछ क्यारे पछ्यौरी …’ हो। यो गीत गाउन समुद्रको गहिराई छुनुपर्छ अनि हिमालयको टुप्पोमा उक्लिन पर्छ। चरणको बीचमा सुर लिन धेरै रियाजको जरुरी छ। यो गीतका शब्द र संगीत सिधै मुटु छेड्ने छन्। मन भित्रका तारहरूलाई झङ्कृत गर्छन्। यो गीत आफ्नोे जमानामा निकै प्रख्यात थियो। यो गीत मात्रै नभएर अरु सबै गीतहरूले मुटुको स्पन्दनलाई अँठ्याउँछन्।
[embedyt] https://www.youtube.com/watch?v=52Xq1AtfPWE[/embedyt]
गीत संगीतको आत्मिक सम्बन्धबाहेक नारायण गोपालको स्मृति मेरो पहिलो स्थायी सरकारी जागीरसँग सम्बन्धित छ। त्यसैले यो स्मृति अमर बनेको छ। इन्डियाबाट इन्जिनियरिङ गरेर फर्केपछि मैले अस्थायी जागीरबाट सरकारी जागीर शुरु गरेँ। करिब छ महिनापछि स्थायीका लागि लोकसेवाको जाँच दिएँ र लिखितमा पनि पास भएँ। अबको पालो मौखिक जाँचको थियो। लिखित जाँचका लागि त किताब पढ्ने, पुराना प्रश्नपत्रहरूका उत्तर घोक्ने, वा सामूहिक छलफलमार्फत तयारी गर्न सकिन्छ। तर मौखिक जाँचको लागि के पढ्ने? कस्ता कस्ता प्रश्न सोध्ने हुन्? यसले धेरै चिन्ता दिने रहेछ। म पनि त्यही नियतिबाट गुज्रिएँ।
त्यसबेलाको मौखिक जाँचको तयारीको अवस्था सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ। मौखिक जाँचको सूचना लोकसेवा आयोगको कार्यालयको सूचनापाटीमा मात्र टाँसिन्थ्यो। त्यसका निम्ति लोकसेवाको कार्यालय कमलपोखरीमा धाउनु पर्थ्यो। दुई अरु मन्त्रालयहरू समेत गरेर करिब दुईसय इन्जिनियरहरूको दरबन्दीको लिखितको परिणाम उस्तैउस्तै समयमा निस्केको थियो। त्यही भएर प्रत्येक दिन दस बजेदेखि नै लोकसेवाको कार्यालयमा इन्जिनियरहरूको मेला लाग्थ्यो, आफ्नो मौखिक जाँचको समयतालिका थाहा पाउन।
एक दिन हाम्रो मौखिक जाँचको तालिका १२ बजेतिर मात्रै टाँसियो। सूचना पढेर थाहा भयो, मेरो पालो त त्यसै दिनको डेढ बजे रहेछ । एक हिसाबले मौखिक अन्तर्वार्ता चाँडै सकिने भयो भनेर उत्साहित थिएँ तर शुरुमै भएकाले के के प्रश्न सोधिने हो भनेर बेचैन थिएँ।
लोकसेवाको कार्यालयको दोस्रो तल्लाको कोठामा मेरो मौखिक जाँच हुने तोकिएको थियो। म जाँच हुने कक्षामा छिरेँ। मेरो मौखिक जाँच लिन लोकसेवाकै अध्यक्ष, विषयका विशेषज्ञ, र अर्को एक जना पनि तयार थिए। विषयका विशेषज्ञले सोधेका प्रश्नहरूका उत्तर दिइसकेपछि अध्यक्षले सोध्नु भयो, ‘भाइको घर कहाँ हो?’ यस्तो प्रश्नले म असमन्जसमा परेँ।
इन्जिनियरको जागीरको अन्तर्वार्तामा घर कता, कहाँ भन्ने प्रश्नको के उत्तर दिने? तैपनि सम्हालिएर ‘रुकुम’ भन्ने उत्तर दिएँ। त्यसपछि रुकुमसम्बन्धी दुईचारवटा प्रश्नहरू सोधिए। मैले आफ्नो गच्छेअनुसार उत्तर दिएँ।
उहाँले एउटा अनौठो प्रश्न सोध्नु भयो। ‘भाइलाई मन पर्ने गायक कुन हो?’
यो प्रश्नले झन् चकित परेँ। म कहाँ छु र के विषयको अन्तर्वार्ता दिँदैछु भन्ने कुरामा नै शङ्का लाग्न थाल्यो। तर प्रश्न मेरो दिलको करिब भएकोले तुरुन्तै ‘नारायण गोपाल’ भनेँ।
फेरि प्रश्न तेर्सियो, ‘नारायण गोपालको कुन कुन गीत मन पर्छ?’
मेरो जवाफ थियो, ‘सबै’।
‘नारायण गोपालबाहेक अर्को कुनै गायक?’
म झसङ्ग भएँ। ‘अरु गायकका गीत पनि सुन्छु तर नारायण गोपालको गीत भेट्टाए पछि उनकै सुन्छु।’
‘आजकालका नयाँ पिढीलाई नारायण गोपाल नै किन मन पर्छ?’
यो मौका हातबाट निस्किन दिने पक्षमा म थिएन। ‘मैले नारायण गाेपालका गीतहरू बच्चैदेखि सुनेको हुँ । बच्चाछँदा गीतका बोलले के भन्छ भन्ने थाहा हुन्नथ्यो तर नारायण गोपालको स्वरले जादू गरेजस्तै खिँचेर तान्थ्यो। बुझ्ने भएपछि उनका गीतका शब्द गहकिला र संगीत उच्चकोटिको लाग्यो। यही भएर स्वर, संगीत, र गीतका शब्दले गर्दा नयाँ पिँढीले नारायण गोपाललाई मन पराउँछन्’ भन्ने उत्तर दिँदा उहाँको अनुहारमा सन्तोषको भाव देखेँ।
मेरो मौखिक जाँचको धेरै समय प्राविधिक विषयमा भन्दा पनि गैर प्राविधिक विषयमा सकिएको थियो। लोक सेवाको मौखिक जाँचमा नारायण गोपालको चर्चाले धेरै समय लेला भन्ने कसले अनुमान लगाउन सक्छ र? सबै परीक्षार्थीहरुको मौखिक जाँच सकिएपछि परिणाम निस्कियो। मैले आफ्नो नाम उत्तीर्णको सूचीमा देखेपछि सबैभन्दा पहिला नारायण गोपाललाई धन्यवाद दिएँ। अनि भगवानलाई धन्यवाद दिएँ। कसलाई थाहा थियो कि त्यसको ठीक एक वर्षपछि २०४७ साल मङ्सिर १९ गते नारायण गोपालजस्तो नेपाली दियोले यो धरती छोड्छ र हाम्रो स्मृतिमा मात्र बस्नेछ भन्ने ?
रुकुमकोट, रुकुम
हालः क्यानाडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।