गएकाे साता दर्जन बढी पुस्तकहरूले नेपाली साहित्य बजारमा आफ्नो उपस्थिति जनाए । कविता, कथा, मुक्तक, उपन्यास र गैरआख्यानका पुस्तकहरू गरेर दर्जन बढी कृतिहरू विमोचित भयाे । त्यसका साथै, केही पुस्तकहरू डिजिटल रूपमा पनि प्रकाशनमा आए । यो साता हामीले “साताका पुस्तक”मा छाेटो परिचयसहित फरक-फरक विधा र स्वादका पाँच पुस्तक समेटेका छाैँ ।
१. पिँजडाको मान्छे – सरला गौतम
सरला गौतमको निबन्धहरूको सङ्कलन हो, ‘पिँजडाको मान्छे’ । सङ्कलित निबन्धहरूले आधुनिक मनुष्यको एकाकिपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन् । पुस्तक निर्माणको मनोवैज्ञानिक विचरण बारे प्रष्ट्याउँदै लेखक गौतम भन्छिन्, ‘महामारीले संसारलाई दुईवटा फरक धारमा विभाजन गरिदियो- कोविडभन्दा पहिलो र कोविडभन्दा पछिल्लो धार । महामारी पछिको संसार आफ्नै समस्याको भारी बोकेर आएको छ; साथै यसले नसुल्झेका पुराना मुद्दाहरूलाई अझै चर्काएको पनि छ । यो अन्तरालमा पितृसत्ता, पर्यावरण्, कृषि, समानताका मुद्धाहरुलाई नियाल्ने नयाँ आयाम खुलेका छन । विराटतम् स्वतन्त्रताको खोजीमा सहर पसेको मान्छे कस्ता अदृश्य पिँजराहरूको जञ्जालमा फँस्दैगएको छ, त्यही प्रकृयाहरूको चिन्तनको उपज हो यो पुस्तक ।’
सङ्कलित निबन्धहरूमा सुपरिचित गद्य-शैली झल्किएको छ जसले गौतमलाई नेपाली पत्रपत्रिकामा उल्लेखनीय स्तम्भकारको रूपमा स्थापित गराउन मद्दत गरेको छ । समाचारपत्रमा पूर्व-प्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन् ।‘पिँजडाको मान्छे‘ नेपाली बजारका निम्ति थुप्रै डट कम (www.thuprai.com) ले रु. १०० मा उपलब्ध गराउने छ।
२. राजनेता सुवर्ण शमशेर – रामचन्द्र घिमिरे
रामचन्द्र घिमिरेको लेखन तथा साहित्यपोस्टको सम्पादनमा प्रकाशनमा आएको प्रजातन्त्रिक योद्धा सुवर्ण शमशेरको जीवनी हो, राजनेता सुवर्ण शमशेर । सुवर्ण शमशेरले जीवन पर्यन्त निष्ठा र आस्थाको राजनीति गरे । उनी शक्तिको लोभमा कहिल्यै परेनन् । राजा त्रिभुवन शाहले दिन चाहेको प्रधानमन्त्रीको पदसमेत उनले लिएनन् । साथै, उनले सधैँ विपि कोइरालालाई आफ्नो नेता माने, र विपिको पछि रहेर काम गरे ।
निष्ठा र आस्थाको राजनीतिमा अटल विश्वास राख्ने सुवर्ण शमशेरले आफ्नो सम्पूर्ण सम्पत्ती नेपाल देश, जनता र पार्टी सञ्चालनका लागि प्रयोग गरे । हालको शीतल निवास र नेपाल राष्ट्र बैङ्क भएको भवनलगायत त्यसबेला सुवर्णको सम्पत्ती थियो । आफैँले बनाएको कानुनअन्तर्गत आफ्नो व्यक्तिगत हजारौँ विगाह जमिनलगायतका सम्पत्तीको ठूलो हिस्सा राज्यलाई बुझाए । सुन्दर नेपाल, आर्थिकरूपमा समृद्ध देश, राजनीतिमा स्वस्थ लोकतान्त्रिक अभ्यास, स्वस्थ राजनीतिक प्रतिस्पर्धा, देशको सेवामा समर्पित जनता बनाउने चाहना सुवर्ण शमशेरको थियो । आफ्नो यो सपना पूरा गराउन उनी आजीवन प्रयत्नशील रहे । यी र यस्तै कुराहरू लेखक घिमिरेले पुस्तकमा समेटेका छन् ।
सुवर्ण शमशेर नेपालको प्रजातान्त्रिक आन्दोलनका एक नायक भए पनि छायामा परेका पात्र हुन् । यो कृतिले उनको व्यक्तित्व तथा योगदानलाई उच्च सम्मान गर्नुका साथै पुस्तकको रूपमा अभिलेखीकरणसमेत गरेको छ । यो पुस्तक, सुवर्ण शमशेरका बारे मात्र नभएर समग्र प्रजातान्त्रिक आन्दोलनको सुरूवात, विकास, आरोहअवरोह तथा नेपाली काङ्ग्रेसको इतिहास बुझ्नका लागि अनिवार्य बनेको छ ।
३. मोम्चो – वसन्त पराजुली
पत्रकार वसन्त पराजुलीको नवीनतम् कथासङ्ग्रह हो, मोम्चो । ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको मोम्चो दोस्रो कृति हो ।
मोम्चो चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । कथाकार पराजुलीले मोम्चोमा नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठाएका छन् । यस कृतिमा ११ वटा कथाहरू रहेका छन् । सङ्ग्रहको शीर्षकथा मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित छ । नेपालको अल्पसङ्खकमा गनिने जाति चेपाङलाई बुझ्न र उनीहरूको सामाजिक र आर्थिक अवस्थाबारे बुझ्न यो कथासङ्ग्रह महत्त्वपूर्ण बन्न सक्छ ।
४. जनताको बहुदलीय जनवाद; फरक बहस – घनेन्द्र ओझा
स्रष्टा, पत्रकार एवं राजनीतिक विश्लेषक घनेन्द्र ओझाको नयाँ पुस्तक ‘जनताको बहुदलीय जनवाद; फरक बहस’ बजारमा आएको छ । चितवनमा देशकाे ठूलाे कम्युनिस्ट पार्टी एमालेको महाधिवेशन चलिरहेको अवस्थामै यस पुस्तक बजारमा आएको थियो ।
ओझाले यस पुस्तकमा नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनले पारित गरेर अपनाएको मार्गदर्शन ‘जबज’माथि आलोचनात्मक टिप्पणी गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनका आरोह-अवरोहदेखि जबजको तीन दशकको अभ्यासमा देखिएका कमिकमजोरीबारे पुस्तकमा विस्तारमा विश्लेषण गरिएको छ । तीनवटा खण्ड रहेको पुस्तकमा जबजको पूर्ण दस्ताबेज पनि समावेश छ ।
इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य २९९ रुपैयाँ छ ।
५. द सेकेण्ड गड – नारायण निरौला
सिद्धार्थ वनस्थली इन्स्टिच्युट, पनौतीका प्रधानाध्यापक नारायण निरौलाको पहिलो उपन्यास हो, द सेकेण्ड गड । आख्यानकार निरौलाले यस कथासङ्ग्रहमा एक फरक संसारको कल्पना गरेर कथानक बुनेका छन् । कथानक काल्पानिक लागे तापनि कृतिले मानवीय स्वाभाव, समाज र मनोविज्ञानलाई समेट्ने कोसिस गरेको छ ।
विज्ञानमा आधारित यस पुस्तकलाई विएन पुस्तक संसारले बजारमा ल्याएको हो । १२८ पृष्ठको यो उपन्यासको बजार मूल्य २७५ रूपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।