“बा तपाईँलाई त सबैले यसको दिमाग खुस्केको छ भन्छन् ! यो दिमाग खुस्किनु भनेको के हो ?”, कान्छो छोरा समीपको यस्तो प्रश्नले रामे शब्दविहीन भयो ।

अरूले अरूलाई खिज्याउँछन्, लाटाले बाउलाई खिज्याउँछ भनेजस्तो ! अलिअलि झपारेजस्तो गऱ्यो । छोरो त्यहाँबाट गयो, “गएँ बाबा म लुकामारी खेल्न । भुटुटुटु …. आयो रेल गाडी छुक..छुक…छुक ।”

तर आफ्नो छोराको प्रश्नले रामे कत्ति पनि अचम्मित भएन । दुई दशक हुन लाग्यो उसले यही प्रश्न सुन्दै आएको छ । मुसुक्क नुस्कुराउँदै शब्दविहीन भएर टार्दै आएको छ ।

उसलाई सधैँ डर थियो, आफ्नै सन्तानले कुनै दिन यस्ता प्रश्नहरू अवश्य गर्नेछन् । तब म के जवाफ दिउँला ?

आज त टऱ्यो, फेरि भोलि … ।

ठुलो छोरा अलि बुझ्ने भएको छ । उसलाई थाहा छ, बाबासँग यस्ता प्रश्नहरू सोध्नु हुँदैन । कान्छोले त भर्खर पाँच वसन्त पूरा गरेको छ । उसलाई के थाहा ?

उसलाई के थाहा, कोसँग कस्तो कुरा गर्ने? कसरी बोल्ने? के प्रश्न गर्नुहुन्छ? कस्ता प्रश्न गर्नु हुँदैन? उसलाई सम्झाउने, बुझाउने कसले ?

माधव काफ्ले

ऊ टोलाउन थाल्छ । समीप अझै पनि आँगनमा छुकछुक रेलगाडी कुदाउँदै थियो । काल्पनिक !

उसलाई थाहा छैन, रेलगाडी कसरी कुदाउने? रेलगाडी कस्तो हुन्छ? कत्रो हुन्छ? उसलाई कसैले नभनेसम्म त थाहा हुँदैन नि!

ऊ भर्खर उम्रिँदै गरेको टुसा हो । जिन्दगीका बारेमा उसलाई थाहा छैन । यो समाजमा भोग्नुपर्ने सास्ती, चुनौतीका बारेमा उसलाई थाहा छैन । ऊ ठुलो भएर मृत्युसँग आत्मसात् नगरुन्जेल समाजले ऊसँग केकस्ता प्रश्नहरू गरिरहन्छ ?

मृत्युपश्चात् पनि समाजले प्रश्न गरिरहन्छ । सुन्नका लागि हामी जीवित रहँदैनौँ ।

उसलाई जिन्दगी भनेको के हो? थाहा छैन । उसको संसार भनेकै यही घरआँगन हो । यहाँ उसले जे देखिरहेको छ, भोगिरहेको छ त्यही नै जिन्दगी हो ।

…………

सोमबार । रामे विद्यालय जानका लागि नित्यकर्म सकेर तयार हुँदै थियो । खाना खाइसकेर आफ्नो औषधि खानै लाग्दा समीपले पुनः ऊछेवैमा आएर प्रश्न गऱ्यो ।

“बाबा यो दिमाग खुस्केको मान्छेले खाने औषधि हो ?”, ऊ झसङ्ग भयो । हिजो जसोतसो मिलाएँ, आज के भनूँ?

यो उत्तरको खोजीमा ऊ आफ्नो आतीतमा पुग्यो । त्यो अतीत जसलाई बिर्सिनका लागि ऊ हरदम प्रयास गरिरहेछ, लडिरहेछ आफ्ना सोच अनि भावनाहरूसँग ।

विद्यालयबाट घर फर्किँदा उसले झोलामा कापीकिताबसँगै थुप्रै प्रशंसा बोकेर आउँथ्यो । गाउँमा अरू छोराहरूका लागि ऊ उदाहरण थियो ।

उसलाई अझै याद छ । एसएलसीमा फर्स्ट डिभिजनमा पास भएपछि हर्क काकाले आफ्नी छोरीको हात उसको हातमा दिनका लागि तयार भएका थिए । उमेर पुगेको छैन, मलाई अझै धेरै पढ्नु छ केही गर्नु छ भनेर टारिदिएको थियो ।
तिनै काका अहिले उसलाई देखेपछि तर्केर हिँड्छन् ।

उसको पढाइका निमित्त बाले परदेशमा आधा जिन्दगी कटाए ।
तर छोरा ठुलो मान्छे बनेको हेर्ने “बा” को सपना सपना नै रह्यो ।

गाउँमा एसएलसी सकेपछि अन्य कुनै विकल्प थिएन । कलेज थिएन । पाल्पा पुगेर उसले आफ्नो स्नातक तह पूरा गऱ्यो । सडक थिएन । दुई-तीन दिन पैदल हिँड्नुपर्थ्यो तर ऊ कहिल्यै थाकेन । ऊ हिँडिरह्यो आफ्ना सपनाहरूले देखाएको मार्गमा ।
पाल्पा भन्दा पनि काठमाडौँ गयो भने उसका सपना पूरा गर्न सजिलो हुन्छ भन्ने कुराले ऊ लोभियो । चार-पाँच दिन हिँडेर बुटवल पुग्नुपर्ने । घरबाट कता हो कता?

धेरै टाढा । निस्कियो ऊ सपनाको पोको लिएर अन्जान गन्तव्यतिर ।

बाटामा नुन बोक्न आएका भरियाहरूसँगै बाटो छिचोल्दै गयो । पहिलोपटक ऊ बुटवल पुग्दै थियो । औलो लाग्ने डरले खासै कोही तराई झर्दैनथे । झाडी फाडेर बस्ती बसाउने क्रम भर्खर सुरु हुँदै थियो । केही व्यापारीहरू थिए जो घ्युसँग नुन, चिनी साट्थे । नौलो ठाउँ, नौलो परिवेश ।

उसको मन झनै लोभियो । काठमाडौँ झन् कस्तो होला?

उसको मनमा उत्साह थपियो । त्यहाबाट बस चढेर निस्कियो ऊ काठमाडौँको यात्रामा ।

केही बेरको समतल भूबनोट पछि पुनः डाँडाकाँडा र हरियाली देखिन लाग्यो । झ्यालको सिसा उघारेर ऊ नियाल्दै थियो । आँखा थाके होलान् तर मन थाकेन । जीवनमा पहिलोपटक मोटर चढ्दाको उसको अनुभव अचम्मको थियो । भारी बोकेर उकालोओरालो गरेको मान्छे । आज मोटरमा चड्यो घुरुरुरु.. लैजान्छ गन्तव्यमा ।

कति सजिलो !

“म ठुलो मान्छे बनेपछि गाउँमा पनि मोटर लैजान पहल गर्छु ।” मनमनै सोच्यो । बस साझ पर्नै लाग्दा बुटवलबाट हिँडेको थियो । अर्को दिन दिउँसो एक बजेतिर बसपार्कमा लगेर छोडिदियो । यहासम्मको उसको सहयात्री बिर्खे भयो । दुवै जनाको लक्ष एउटै छ । गन्तव्य एउटै ।

गाउँ पनि एउटै हो । नजिकैका छिमेकी ।

रामे विद्यालयमा फर्स्ट आउदा बिर्खे सेकेन्ड हुन्थ्यो । उनीहरूबिच पढाइको प्रतिस्पर्धा भए पनि एकाअर्काका मिल्ने साथी थिए ।

बिर्खेका मामा पर्ने एक जना काठमाडौँमै थिए । रमेश खनाल ।

उनको ठेगना पहिल्याउँदै उनीहरू बसपार्कबाट बाहिरिए ।

साँच्चिकै रमाइलो र सुन्दर थियो काठमाडौँ ।

त्यहाँको परिदृश्यले दुवै जना मोहित भए । अन्ततः घर भेटियो । सानो कोठा, पुरानो स्टोभ र एउटा खाट । घर थिएन, घरभित्रको एउटा कोठा उनको थियो । त्यो पनि भाडामा ।

शनिबारको दिन । उनको छुट्टी थियो र त कोठामा भेटिए । अन्य दिनमा भएको भए उनी आउने बेलासम्म बाहिरै प्रतीक्षा गर्नुपर्थ्यो ।

भान्जालाई देखेपछि उनी खुसी थिए तर मामाघर जाँदाको जस्तो अनुभूति पटक्कै भएन । यहाँ मामाका पनि आफ्नै कथा थिए आफ्नै व्यथा । मामाघरमा भएको भए भान्जा आएको खुसीमा खसी नै काट्दा हुन् । यहाँ मुसुरोको दाल र मन्सुली चामलको भातले छाक टाऱ्यो । यहाँ यो पनि धेरै थियो । अन्जान सहर सायद महिनौँ भोकै प्यासै भए पनि हालखबर सोध्ने कोही थिएन ।

घरतिरको हालखबर सोध्दासोध्दै साँझ पर्न आटेको थियो ।

खाना खाएको पनि एक दुई घण्टा मात्र भएको थियो । मामाले सुत्ने तरखर गर्न लागे । रामे र बिर्खेका लागि भुईँमा बिस्तरा लगाइदिए । खाटमा तीन जना अटाउने कुरै थिएन । यो सँगै सबै जना आफ्नो बिस्तरामा पल्टिए ।

नयाँ ठाउँ नौलो परिवेशले उसका सपनाहरूलाई पनि आफूसँगै हिँडाउन सिकायो । परिवारबाट टाढा रहेर परिवारकै खुसीका लागि परदेश बसेको जस्तै आभास हुन्थ्यो उसलाई ।

तर त्यो एक्लोपनले कहिल्यै ऊ विचलित भएन । आफूलाई सम्हाल्दै लग्यो एक अपरिचित ठाउँमा परिचित गन्तव्यतिर ।
गाउँमा सधैँ प्रथम हुने मान्छे यहाँ त्यही स्थानलाई कायम राख्नु एक ठुलो चुनौती थियो । देशका विभिन्न विद्यालयका होनहार विद्यार्थीले भरिएको त्रिभुवन विश्वविद्यालयमा आफ्नो एक पहिचान बनाउने कसरत गर्दा गर्दै ऊ उतै हराउँदै थियो । पढ्दापढ्दै ऊ आफूलाई बिर्सन्थ्यो तर आफ्ना सपनाहरू कहिल्यै बिर्सिएन ।

पढ्दापढ्दै राति अबेर हुन्थ्यो, उसले पत्तै पाउँदैन थियो ।

बिहान समयमा ब्युँझिन नसक्दा कहिले भोकै दगुर्थ्यो त कहिले पाक्न नपाएको भात थालमा हालेर फु..फु.. गर्दै सक्काउँथ्यो । कलेज नगएको दिन उसलाई के पुगे नपुगेजस्तो आभास हुन्थ्यो । मेहनत र लगनशीलताले ऊ सबैको प्यारो भयो ।
जति चतुर ऊ पढाइमा थियो त्यति नै समाजका तिता यथार्थहरूबाट अपरिचित हुँदै गयो ।

“कति पढ्छस्? कहिलेकाहीँ त आराम पनि गर्नुपर्छ ।”

बिर्खेको कुरा सुनेपछि रामेले भन्यो, “रुखको काम कार्वनडाइअक्साइड लिएर अक्सिजन हामीलाई दिने हो, ऊ त सधैँ आफ्नो कार्य गरिरहन्छ । कहिल्यै थाके भन्दैन, एकदिन रुख थाकेँ भनेर आराम गऱ्यो भने हामीलाई अक्सिजन कसले दिन्छ ? सूर्यले एक दिन आराम गरेर हामीलाई प्रकाश नदिए पनि त हुन्छ नि ! कुनै दिन नदी बग्न छोडेर स्थिर भए हुने ! किन हुँदैन ? पढ्नु मेरो कर्म र धर्म दुवै क्षेत्रभित्र पर्ने कुरा हो । खान छोडिदिन्छु तर म आफ्नो धर्मकर्म गरिरहन्छु । घरबाट यति टाढा आएको पढ्नलाई त हो नि !”

उसको जवाफले बिर्खे चुप भयो । केही बेरको शान्तिपछि बिर्खेले भन्यो, “हजुर तपाईँ पढ्नुस्, धेरै पढ्नुस् महोदय म सुतेँ ।”

यति भनेर बिर्खे बिस्तरामा पल्टियो । रामे उहीँ पुस्तकको संसारमा हराइरह्यो ।

“नमस्कार सर ।”, तिर्खेको आवाजले ऊ झस्कियो, “हँ नमस्कार ।” जवाफी नमस्कार फर्काउँदै स्कुलको गेटभित्र पस्यो ।

गेटभित्र पस्दै गर्दा विद्यार्थीहरू आपसमा खासखुस गर्दै हाँसिरहेका थिए । सायद मलाई हेरेर हासेका होलान् । यही सोच उसको मनमस्तिष्कमा आयो तर केही बोलेन । सात कक्षाको सबैभन्दा कमजोर विद्यार्थी हो तिर्खे । ऊ कमजोर छ भन्ने विषयलाई लिएर अन्य शिक्षकले उसलाई केरकार र हेपाह प्रवृत्ति देखाउँछन् ।

रामेलाई दिनमा सबैभन्दा धेरै नमस्कार टक्राउने विद्यार्थी पनि उहीँ हो । त्यसैले पनि ऊ तिर्खेलाई मायाँ गर्छ । अरू विषयमा कम नम्बर आए पनि उसको विषयमा राम्रै छ ।

तिर्खे मात्र हैन विद्यालयमा विज्ञानमा राम्रो नम्बर ल्याउनेहरू प्रशस्त छन् । केरकार नगरी शान्त वातावरणमा पढाउँछ । कुनै विद्यार्थीलाई पिटेको छैन अझैसम्म । ऊसँग कुनै विद्यार्थी डराउँदैनन् तर पनि कक्षामा ऊ पस्नेबित्तिकै सबै विद्यार्थी आफैँ चुप हुन्छन् र पढ्न थाल्छन् । उसको यो विशेषताले सबै दङ्ग छन् ।

मुसुक्क मुस्कुराउँदै ऊ अफिसभित्र पस्यो । हेडसर आफ्नो कुर्चीमा विराजमान छन् । नमस्कार टक्रायो । बेवास्ताको भावमा नमस्कार फर्काए ।

आफ्नो लकरबाट डस्टर र चक निकाल्दै अफिसबाट बाहिर निस्किँदै थियो, “एकछिन पर्ख कुरा गर्नु छ ।”
हेडसरको कुराले ऊ टक्क अडियो र पछाडि फर्कियो । “हजुर !”

“विद्यालयमा विज्ञान विषयका लागि सरकारी कोटा आउँदै छ । सायद अब तपाईँ नरहन सक्नुहुन्छ । निजीस्रोत कमजोर हुँदै गएका कारण स्टाफको तनखा दिन पनि धौधौ परिरहेको छ ।”, हेडसरले सबै कुरा बेलीबिस्तार लगाए । रामे अभिएर सुन्यो मात्र केही बोलेन ।

सरकारी कोटाका लागि लडूँ भने उसको उमेरले रोक्ने छ । नभए उसको रोग अन्य ठाउँमा पनि कारण बनिसकेको छ । बोल्नका लागि ऊसँग शब्द नै छैनन् । उदास भाव लिएर त्यहाँबाट निस्कियो ।

समाजको अगाडि प्रश्न तेर्स्याउने आधारहरू थुप्रै छन् ऊसँग । ऊ चाहँदैन, उसका प्रश्नहरूले समाज विचलित होस् । थुप्रै प्रश्नहरू पहिल्यै तेर्स्याएको थियो उसले । जवाफ पाएन । पायो त केवल पागलपनको उपनाम मात्र ।

पढाइको प्रेसर र चिन्ताले ऊ डिप्रेसनको सिकार बन्दै गएको थियो । त्यो समयमा उपयुक्त उपचार सम्भव थिएन ।
पढाइ बिचमै छोडेर गाउँ फर्कियो । गाउँमा अन्धविश्वासको पर्खाल थियो । ऊ त्यो पर्खाल भत्काउन असमर्थ भयो ।
उसको रोगको नाममा निर्दोष जनावरहरू आफ्नो बलि चढाउन बाध्य भए ।

उसको भित्री रोग कसले बुझोस् ? रोग पनि थिएन सायद ! सामान्य समस्या हुँदो हो ।

एक दिन उसकै काकाले उसको घरको आँगनमा बसेर बासँग कुरा गरिरहेको सुन्यो, “केटो बौलाहा भयो, ठाउँमा लगेर औषधि गर्नुपर्छ ।”

त्यस दिनदेखि उसको मनमा एउटा प्रश्न उब्जियो । के म बौलाह हुँ ? जवाफ, म बौलाह हैनँ ।

तर उसले कसलाई सुनाउने ? आखिर सुन्न तयार को छ ?

बिस्तारै यो कुरा पूरै गाउँमा फैलियो । उसले समाजलाई नियाल्न मात्र सक्यो । फलस्वरूप उसको नामभन्दा पहिला उपनाम आयो “बौलाहा” ।

हिजो कहाँ थिएँ ? आज कहाँ छु ?

सपनाहरू त उति बेला नै बगाएर आएको हुँ, बागमतीमा । बगाउन छोडेका सपनाहरू दफन हुँदै छन् आफ्नै गाउँमा । यता ऊ पागलपनको बोझ लिएर बाँच्दै थियो, उसको सहपाठी बिर्खे स्कलरसिपमा अमेरिका पुगेछ ।

त्यो दिनपछि धेरै भयो आफ्नो सहपाठीलाई भेट्न पाएको छैन । आखिर धेरै पढेर के हुँदो रहेछ र? सँगै बिर्खे र आफ्नो तुलना गऱ्यो । अनि ती हेडमास्टर पनि । उनले बाह्र कक्षा पास गरेका छन् तर पनि हेडमास्टर छन् ।

“मसँग उनीसँगभन्दा धेरै मार्कसिट छन् जसमा रहेका प्राप्ताङ्कले मलाई गिज्याइरहेका छन् । म गिज्जिरहेको छु । म शिक्षक हुँ ! तर मेरा छोराछोरीले भविष्यमा पढ्ने वातावरण पाउँछन् कि नाइँ थाहा छैन !”, ऊ दैनिक यस्तै सोचहरूको भुमरीभित्र हराइरहन्छ तर मुहारमा मुस्कान हराउँदैन ।

उसलाई थाहा छ समाजले मलाई तिरस्कारको भाव देखाइरहेछ । तर ऊ समाजलाई प्रेम गर्छ । सबैले उसलाई सम्झिन छोडिसके तर उसलाई सबैको सम्झना आउँछ । कलेज पढ्दा कुन साथी कस्तो थियो भन्ने कुरा उसलाई अझै याद छ । बेला-बेला सम्पर्क गर्ने प्रयास पनि गर्छ तर अहिले सायद सम्भव छैन । सम्भव भए पनि उनीहरू सम्पर्कमा आउन चाहँदैन् ।

स्कुल छुट्टी हुने समय भएछ । ऊ हतार-हतार घरतिर लाग्यो । सानो छोरा खेल्न गएको रहेछ । ऊ ढुक्कसँग घरभित्र पस्यो । तर राति औषधि खाने समयमा कान्छो छोरा उसका अगाडि आएर केही सोध्न चाहन्थ्यो । उसले सोध्नुभन्दा पहिल्यै रामेले भन्यो, “बाबु, म समाजको तितो यथार्थ हुँ । यही तितो यथार्थलाई पचाउने औषधि हो यो । मान्छेको दिमाग कहिल्यै खुस्किँदैन ! समाजले खुस्काउँछ । कोही पागल हुँदैन, समाजले पागल बनाउँछ ।”

उसको जवाफ त्यो सानो बालकले बुझ्न सकेन र बाहिर निस्कियो । सधैँझैँ औषधिको सहारा लिएर ऊ बिस्तरामा पल्टियो ।
भुसुक्क निदायो ।

सायद ऊ पागल होला ! उसलाई थाहा छ, समाजले उसलाई स्विकार्न डराइरहेको छ । तर पनि ऊ समाजलाई प्रेम गर्छ ।

उसका कोही आफ्ना हुन सकेनन् । भविष्यमा सायद सन्तान पनि आफ्ना नहोलान् । तर पनि उसले सबैलाई आफ्नो सम्झिन्छ ।

उसलाई डर छ । कहीँ भोलिको समयमा पनि आफ्नै सन्तानले उसलाई प्रश्न गर्लान्! बाबा तपाईँ पागल हो? ऊ आफूलाई पागल मान्दैन । पागल त यो समाज हो । जसले रामेजस्तै कैयौँलाई पागल हुन बाध्य बनाउँछ ।

पागललाई कसैले आफ्नो मान्दैनन् तर पागलले सबैलाई आफ्नै हुन भन्ने ठान्छ । आफ्नो मस्तिष्क आफूसँगै रहँदा सबैतिर प्रेमको बिउ छर्छ । सम्भावनाका बाटाहरू देखाउँछ । समाजाका पाटाहरूको समीक्षा गर्छ । तर मस्तिष्क ऊसँग नहुँदा, ऊ पुनः उहीँ अवस्थामा फर्किन्छ अनि समाजले उसलाई भन्छ- “पागल” ।

“म पागल हैन !”, ऊ चिच्याउँदै उठ्यो । मध्यरातको समय, सबै मस्त निद्रामा लिप्त थिए । उसको आवाज यतै कतै हरायो, जसरी हराउँछ फोहोरको थुप्रो अगाडि उभिएर सगरमाथा ।

आखिर को हो ? जसले सपनीमा आएर उसलाई यी सबै कुरा सुनाएर गयो । पक्कै पनि यो उसको कुनै क्षण हुन सक्छ, जसलाई उसले महसुस गर्न सकेको थिएन । कुनै दिन ।