रवि सुवेदी

यो मन भमरा जस्तै छ
जता-जता नौलानौला वनकुसुम
छन् त्यतै त्यतै जान्छ

जाईलाई देखेर
पहेँलपुर हुने इच्छा गर्छ
लालीगुराँसलाई देखेर
रक्ताम्य हुने इच्छा गर्छ

सयपत्रीलाई देखेर
पत्रैपत्र फिँजाएर सानी नानी झैँ
घाँगर लगाउन चाहन्छ
गोदावरीलाई देखेर
बत्तीस दन्त देखाएर हाँस्ने इच्छा गर्छ

स्वागतद्वारका फूललाई देखेर
त्यहीँ बसी सबैलाई स्वागत गर्ने इच्छा गर्छ
गुनकेशरीलाई देखेर
गुनकेशरी हुने इच्छा गर्छ
सुनकेसरीलाई देखेर
सुनकेसरी हुने इच्छा गर्छ

मलाई चाहिँ
यो राष्ट्रको एक मुठी माटो उचालेर
एउटा सुन्दर फूलझैँ मुसुक्क मुस्काउने मन छ।