अघिल्ला प्रसंगहरुमा श्रीकृष्णले सनातन धर्मको आधारस्तम्भ वणर्ाश्रम व्यवस्थाको सटीक व्याख्या गरेका थिए । त्यसै क्रममा उनले पूर्वजन्मार्जित संस्कारजन्य त्रिगुण (सत्व, रज, तम) अनि कर्मका आधारमा निर्मित भएका चार प्रकारका वणर् (ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र) अनि स्वधर्मको परिपालनाका लागि उमेरअनुसारका कर्तव्य निर्दिष्ट गरिएका चार आश्रम (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास)का बारेमा व्याख्या गरेका थिए ।

अग्निलाई धूँवाले ढाकेझैं सबै किसिमका कर्महरु केही न केही मात्रामा दोषयुक्त नै हुने गर्दछन् । त्यसैकारण आफूले संस्कारका रुपमा जन्मँदै ल्याएको ‘सहज कर्म’लाई जतिसुकै दोषयुक्त नै भएतापनि त्याग्न भने नहुने सल्लाह दिन्छन् श्रीकृष्ण ः

“सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत् ।
सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृताः” ।।भ.गी.१८(४८)।।

यस कुरालाई अझै जोड दिएर अर्जुनलाई श्रीकृष्ण अगाडि भन्दछन् ः

“मोहग्रस्त भएर अनि अहंकारवश अहिले युद्धबाट पलायन हुन खोजे तापनि तिम्रो संस्कारले नै निर्माण गरेको स्वभावजन्य राजसिक गुण अनि क्षत्रियवणर्का कारण युद्ध गर्नु तिम्रो स्वधर्म नै हो । यसबाट तिमी विमुख हुन सक्दै सक्दैनौ (पाउँदै पाउँदैनौ) ।” ।।भ.गी.१८(५९)।।

अर्थात्, “आफ्नो संस्कारगत रुपमा प्राप्त स्वभाविक कर्महरुद्वारा बाँधिएका तिमीले अन्ततः युद्ध त गर्नैपर्दछ ।”

“स्वभावजनेन कौन्तेय निबद्धः स्वेन कर्मणा ।
कर्तुं नेच्छसि यन्मोहात्करिष्यस्यवशोऽपि तत् ” ।।भ.गी.१८(६०)।।

डा. अजय रिसाल

संस्कारका रुपमा निर्माण भएको गुण अनि वणर्का आधारमा आफूले परिपालन गर्नुपर्ने आफ्नो कर्मलाई नै ‘सहज कर्म’ भनिएको हो गीतामा । कर्तृत्वपन अनि भोक्तृत्वपनको अभिमानलाई त्यागेर आफ्नो सहज कर्ममा तल्लीन रहने व्यक्तिले नै अन्ततः आत्मसंयमता प्राप्त गर्दछ । त्यस्तो कर्मले नै नैष्कम्र्य सिद्धि पाउँदछ । सन्न्यासप्राप्ति अनि आत्म-साक्षात्कारका लागि त्यस्तै व्यक्ति नै अधिकारी हुन्छ । सन्न्यासी बन्न जङ्गल नै जानुपर्ने होइन ।।भ.गी.१८(४९)।।

नैष्कम्र्यसिद्धि प्राप्त गरेका व्यक्तिले ब्रह्मसाक्षात्कार पाउने मार्गका बारेमा थप व्याख्या गर्दछन् श्रीकृष्ण । त्यसका लागि आवश्यक गुणहरु हुन्ः विशुद्ध बुद्धि, धृति, आत्मसंयम, रागद्वेषादि विषयहरुको परित्याग, एकान्तप्रेम, मिताहार, ध्यानाभ्यास, वाणी, मन एवं कर्मको संयम, अहंकार, कामना, अभिमान एवं क्रोधको परित्याग, आवश्यकताभन्दा बढी संग्रह नगर्ने प्रवृत्ति, प्रसन्न मन, अनि परमात्म-भक्ति ।।भ.गी.१८(५०-५८)।।

अतः आफ्नो संस्कारजन्य गुण, आफ्नो गुणअनुरुपको वणर्, अनि तदनुरुपको स्वधर्मबाट उन्मुक्ति त कदापि पाउँदैन मानिसले । जन्म-जन्मान्तरका बासना अनि संचित कर्महरुकै कारण सिर्जित यी गुणदोषहरुको प्रभावबाट मुक्तिका लागि त आत्मसाक्षात्कार नै चाहिन्छ । फेरि आत्मसाक्षात्कारका लागि ॅसन्न्यास’को जरुरत पर्दछ । अघि नै भनिसकियो, सन्न्यासका लागि आफ्नो कर्तव्यबाट पलायन भई समाजलाई त्यागेर जंगल जानुभन्दा आफ्नो संस्कारअनुरुपको सहज कर्मको परिपालन नै उपयुक्त अनि आवश्यक देखिन्छ ।

त्यस्ता संस्कारजन्य कर्महरुको गुणदोषको प्रभावबाट अविचलित रही अन्ततः मोक्षमार्गको नै चाहना राख्ने मानिसले भने कर्तृत्व अनि भोक्तृत्वको अभिमानलाई पूणर्तया परित्याग गरी प्राणीमात्रको ह्रदयमा चैतन्य परमात्मा स्वरुपमा बिराजमान ईश्वरकै शरणमा जानुपर्ने मत छ श्रीकृष्णको । त्यही ईश्वरकै प्रसादले नै मात्र अर्जुनलाई परमशान्ति प्राप्त हुने धारणा राख्दछन् श्रीकृष्ण । यस प्रकरणको उपसंहार गर्दै श्रीकृष्ण भन्दछन् ः

“मेरो प्रिय सखा या शिष्यका रुपमा तिमी अर्जुनले मबाट प्राप्त गरेको यो अति गुह्यतम परमज्ञानलाई चिन्तनमनन गरेर यसप्रकार वणर्ित कर्मयोगमय जीवनपद्धति अवलम्बन गर्ने या नगर्ने निणर्य लिने जिम्मा स्वयं तिमी अर्जुनको नै हो ।” ।।भ.गी.१८(६१-६४)।।

उपरोक्त उपदेशलाई अझै स्पष्ट पादैं श्रीकृष्ण भन्दछन् ः

“मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे” ।।भ.गी.१८(६५)।।

अर्थात्, हे मेरा प्रिय अर्जुन ! तिमी ईश्वरका रुपमा मेरो प्राप्तिका लागि आफ्नो मनद्वारा सङ्कल्प गर । निश्चयात्मक रुपमा मेरो भक्त बन । मद्वारा नै व्याप्त यो जगतको निःस्वार्थ सेवा गरेर प्रेमपूर्वक मेरो पूजा गर । कर्तृत्व अनि भोक्तृत्वको अहंकारलाई त्यागेर मलाई नै नमस्कार गर ।

यसरी ईश्वरार्पण बुद्धिद्वारा कर्मयोगको साधना गर्ने व्यक्तिले कदापि दुःख नपाउने सत्य वचन उद्घाटित गर्दै श्रीकृष्ण अगाडि भन्दछन् ः

“सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः” ।।भ.गी.१८(६६)।।

वस्तुको वस्तुत्व अर्थात् अस्तित्व सिद्ध गर्ने गुणलाई नै उसको वास्तविक धर्म मानिएको छ । यस मानेमा मनुष्यको मनुष्यत्व सिद्ध गर्ने वास्तविक धर्म चैतन्यस्वरुप आत्मतत्व नै हो । तर आत्मसाक्षात्कारको मार्गमा पुग्नुभन्दा अगाडि मानिसले आफ्ना शरीरका अवयवहरु (रंग,रुप,सौन्दर्य,बनावट), मनका भावनाहरु, कामनाहरु, बुद्धिका विचारहरु, संस्कारजनित गुणदोष आदिलाई नै धर्म मानेर विह्वल अनि भ्रमित भइरहेको हुन्छ । अतः श्रीकृष्ण ईश्वरका रुपमा अर्जुनरुपी सबै मनुष्यहरुलाई आह्वान गर्दछन्ः

“शरीर, मन, बुद्धि आदि जडउपाधि जनित अज्ञानका कारण धर्मका रुपमा मानिएका सबै भ्रमहरु त्यागेर आफ्नो
परमात्माको अंशका रुपमा रहेको चैतन्य आत्मास्वरुप आफ्नो अस्तित्वको कारक परमधर्मको पहिचान गर्नका लागि परमात्मारुपी मेरो शरणमा आओ । म तिमीहरुलाई मनका विक्षेपरुपी सबै पापहरुबाट मुक्त गरिदिन्छु । तिमीहरुले कुनै प्रकारको शोक गर्नुपर्दैन ।”

यो श्रीमद्भगवद्गीतामा उल्लिखित श्रीकृष्णको महावाणीहरुमध्येको सर्वोत्कृष्ट वचन हो । यो श्लोकलाई अभैm गहिरिएर विश्लेषण गर्दा यसमा ध्यानयोग साधनाका चरणहरुलाई सुस्पष्ट पार्न नै खोजिएको देखिन्छ ।

१. ज्ञानपूर्वक ध्यानद्वारा शरीर, मन, बुद्धि आदि जडउपाधि जनित सबै भ्रमकारी धर्महरुको परित्याग ।
२. ईश्वरस्वरुप चैतन्य आत्मा अर्थात् मनुष्यको वास्तविक धर्मको पहिचान गरी त्यसैको साक्षात्कार ।
३. चिन्ता या शोकबाट निवृत्ति ।
४. अन्ततः मनको विक्षेपरुपी सबै पापहरुबाट मुक्ति ।

यी सबै उपदेश अनि व्याख्यानहरु भनौं या मनोविमर्शका विम्बहरु श्रृंखलाबद्धरुपमा प्रस्तुत गरिसकेपछि एउटा कुशल मनोचिकित्सकले आफ्ना विषादग्रस्त मनोरोगीलाई प्रश्न गरेझैं श्रीकृष्ण अर्जुनलाई प्रश्न गर्दछन् ः

“कच्चिदेतच्छ्रुतं पार्थ त्वयैकाग्रेण चेतसा ।
कच्चिदज्ञानसंमोहः प्रनष्टस्ते धनंजय” ।।भ.गी.१८(७२।।

अर्थात्, हे अर्जुन ! के तिमीले मेरा वचनहरु राम्ररी एकाग्रचित्त भएर सुन्यौ ? बुझ्यौ ? के अब तिम्रा मोहजनित विषादहरु पूणर्तया नष्ट भए ?

यो प्रश्न सुन्नासाथ एउटा कुशल चिकित्सकको उपचारका प्रभावले आफ्नो व्याधि नाश हुने दिशातर्फ लागेको कुरा बुझेको बिरामीले झैं प्रसन्न चित्तका साथ अर्जुन उत्तर दिन्छन् ः

“नष्टो मोहः स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत ।
स्थितोऽस्मि गतसन्देहः करिष्ये वचनं तव” ।।भ.गी.१८(७३।।

अर्थात्, हे कृष्ण ! हजूरको कृपाले मेरो मोह हटेको छ, मलाई स्मृतिरुपी ज्ञान प्राप्त भएको छ । म संशयरहित अनि विषादविहीन भइसकें । अब म हजूरको आज्ञापालन गर्दछु । यानिकि, अब म मेरो स्वधर्म पालन गर्दछु । यो धर्मयुद्धमा अब म प्रवृत्त भएँ ।

गीताको अन्तिम श्लोकमा संजयले भनेझैं जब आफ्नो स्वधर्म अनि कर्तव्योन्मुख धनुर्धारी अर्जुनरुपी जीवले श्रीकृष्णरुपी चैतन्यस्वरुप परमात्माको साथ पाउँछ, त्यहाँ विजय अवश्यंभावी छ ।

“यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः ।
तत्र श्रीर्विजयो भूतिध्र्रुवा नीतिर्मतिर्मम” ।।भ.गी.१८(७८।।

यसरी श्रीकृष्णोपचारको प्रभावले अर्जुनरोगरुपी विषादग्रस्त मनोरोगी आफ्नो कर्तव्यकर्ममा तल्लीन बन्न सफल भएको छ । अनि जीवभित्र निरन्तर रुपमा नै चलिरहने सत्य-असत्य, सुनीति-कुनीति, न्याय-अन्याय, धर्म-अधर्मबीचको युद्धमा सत्य, न्याय, नीति र धर्मले जितेरै छोड्नेछ ।

।।अस्तु।।