
२०३१ साल कार्तिक २१ गते बिहान म दाजु बाबुराम अधिकारीको घरको चोटामा थिएँ । त्यही आँगनको बाटो हेर्दै दुई जना प्रहरी तेर्सिए । मेरो मनमा शङ्का पस्यो । कतै मलाई नै गिरफ्तार गर्न त होइन ? खुला झ्यालबाट मुन्टो छिराएर हेरेको मात्र थिएँ अचानक सुनेँ, “यी क्या त शेषनाथजी यहीँ हुनुहुँदो रहेछ ।” सहसा ध्यान त्यतै गयो । त्यहीँ पनि दुई जना प्रहरी तैनाथ रहेछन् । मैले उम्किने उपाय सोचेँ तर केही सिप लागेन । प्रहरी चोटाको ढोकामा पुगिहाले ।
एउटा प्रहरीले भन्यो, “तपाईँलाई डी.एस.पी. सापले बोलाउनुभएको छ, यहीँ बजारमा ।” मैले उत्तरमा “हुन्छ म घर गएर कपडा लगाएर आउँछु” भनेँ । यो कपडा पनि के कम छ र ? तपाईँ यस्तै लवाइमा बजार निस्किनै रहनुहुन्छ । डी.एस.पी. साहेबको नछोडी ल्याउनू भन्ने आदेश छ भन्दै मेरो पाखुरा समाउन अगाडि बढ्यो । परिस्थितिवश मेरो मस्तिष्कमा गहिरो चोट लाग्यो । मैले तत्काल स्वीकृतिसूचक गतिविधि गरेँ । अनि अघिपछि प्रहरी लगाएर हिँडेँ । बजार निस्किएपछि मैले देखेँ, प्रहरीहरूको निकै सरगर्मी रहेछ । इन्स्पेक्टर बर्दीमा भए पनि डी.एस.पी. भने सादा पोसाकमा थियो । हेर्दाहेर्दै बर्दी र सादा पोसाकमा छापछापती देखिए । मलाई पक्रेर लाने प्रहरीले सगर्व बुट बजार्दै मेरो परिचय दियो । डी.एस.पी. खप्पिस रहेछ, बडो आदरभाव देखाउँदै मलाई चिया पसलमा पुर्यायो ।
चियासँग उसले मेरो कुराको चुस्की लिन सुरु गर्दै भन्यो, “यहाँसँग केही जानकारी लिऊँ भनेर दुःख दिएको हुँ, माइन्ड नगर्नु होला ।”
सहज उत्तर दिएँ “किन गर्ने र !”
कुरा अगाडि बढाउँदै सोध्यो, “एकनाथ भाटलाई चिन्नुहुन्छ ?”
“को एकनाथ ? …”
“के त नि तपाईँकै साथी एकनाथ, चिन्नु भएन ?”
कुराले डल्याउँदै गरेको प्रश्नलाई अलि पर धकेल्ने निर्बल प्रयास गर्दै मैले भनेँ, “को त्यो कालो कालो केटो हो ?”
“ऊ कहाँ मेरो साथी हो र ?”
“नभए पनि घर त यतै होइन र ?”
“पिठुवा पञ्चायतमा पर्छ । निकै माथि जानुपर्छ ।”
“मोटर जाला नि ?”

शेषनाथ अधिकारी
“आधा बाटोसम्म त जान्छ । त्यसपछि घोल छ । मोटर मात्र होइन आफैँ जाँदा पनि बुट खोल्नैपर्छ । घुँडासम्म आउने ढाप छ ……” बाटाको अवस्थालाई अतिरञ्जित गर्दै एकनाथको सङ्कटलाई सार्ने कोसिस गरेँ ।
डी.एस.पी. को बुद्धिमा त मैले जालो पारेँ जस्तो थियो तर सँगै उभिएको प्रहरीले नपत्याएको मैले चाल पाएँ ।
मेरो साथमा दाजु बाबुराम पनि हुनुहुन्थ्यो । कुरो बुझेर उहाँ उठ्नुभयो र घर जान्छु भन्दै हिँड्नुभयो । भाइलाई अचानक छाडेर जाने दाजुको केही रहस्य हुन सक्छ भन्ने लागेर होला उहाँको पछाडि एउटा प्रहरी लाग्यो । प्रहरीले आफ्नो पिछा गरेको देखी घरबाट भाइ एकराजलाई घटना सुनाई एकनाथ भाटलाई भगाउन तत्काल पठाउनुभएछ । बिचरो प्रहरी दाजुको लाचार छाया बनेर पछ्याइरह्यो रे ।
भाइ एकराज हस्याङफस्याङ गर्दै छोटो बाटो भएर एकनाथको घर पुग्यो । प्रहरी पनि साइकलबाट जाँदै थियो । फलतः एकनाथ भाट भाग्न सफल भए र प्रहरी समात्न असफल भयो ।
एकनाथ भाट हातबाट फुत्किएको निराशाजनक रिपोट पाएपछि डी.एस.पी. मतिर केन्द्रित भयो । भैरहेको सन्दर्भ असन्दर्भका कुरा चटक्क छाडेर उसले भन्यो, “एकपल्ट घरतिर पुगौँ है, यहाँलाई पनि त कपडा लगाउनै छ ।” खोरमा परेकाको मञ्जुरी नामञ्जुरीको सवालै भएन ।
स्थानीय पञ्च भलादमीको ठुलो लस्कर मेरो घरतिर लाग्यो ।
अघि-अघि पनि घरमा बारम्बार प्रहरी आउने र लैजाने गरेको घटनाले श्रीमती अभ्यस्तजस्तै थिइन् तापनि यसपटक असामान्य मानिन् र मुख मलिनो बनाएन् ।
प्रहरीले घर घेरेर तलासी लिन थाल्यो । चोटाकोठा, बाक्सा, अन्तरछिन्तर कतै केही बाँकी नराखी सियो खोजाइ सुरु भयो । गोठ, कटेरो, केराका गाँजहरू सब चाहारेर अन्तमा परालको कुन्यूसमेत भत्ल्याङभुत्लुङ पार्दै केही खोजिरहेका थिए । मानौं यिनीहरूको अमूल्य हार यतै कतै हराएको छ । मैले यस प्रकारको गतिविधिलाई प्रहरीहरूको भेषमा उग्र बाँदरहरूको बथान महसुस गरेँ ।
आखिर खन्यो पाहाड निस्क्यो मुसो भनेझैँ बम र बन्दुकको खोजाइमा नेपालको नक्सा पो फेला पऱ्यो । नक्सामा ठाउँ-ठाउँमा मैले ससानो सङ्केत गरेको थिएँ, मेरो आफ्नै स्मृतिका लागि । यसैलाई नै रहस्यको पोको सम्झेर सर्जमिन मुजुल्का भयो, नक्सा कब्जामा पऱ्यो ।
यी कसरतहरूपश्चात् मलाई माझमा राखेर प्रहरी र पञ्चभलादमीहरूको लस्कर मेरो घरबाट प्रस्थान गर्यो ।
त्यतिखेर एउटा सानो घटना मेरो मस्तिष्कमा कहिल्यै नमेटिने गरी घट्यो । तीन वर्षकी कान्छी छोरी शर्मिला म हिँड्ने बेलामा मेरो घुँडासम्म उभिएर रोइन् बुबा-बुबा भनेर । मन थाम्न सकिनँ, काखमा लिएँ । वात्सल्य मुस्लियो । मायाँ ओइरिएर आयो तर प्रहरीको कर्कश आवाज सुन्नासाथ सश्नेह आमालाई दिएँ । छोरीलाई सश्नेह छातीमा च्यापेर प्रेमले पग्लिएको सजल नयनले मलाई मेरी प्रियतमाले (कहिले आउने ?) प्रश्नसूचक भावमा बिदा गरिन् ।
अपत्यारिलो शब्द फुस्कियो, “चाँडै नै आउँछु ।”
घरबाट निस्कँदा मैले एउटा ब्याग लिएको थिएँ । त्यसमा एक जोर कपडा र चादर थियो । मलाई एउटा कुराको अभाव खड्क्यो र जाँदा बाटैमा दाजुको घरमा प्रहरीलाई एकैछिन भन्दै भित्र पसेँ र एउटा मोटो तन्ना ब्यागमा राखेर तत्काल निस्केँ । ब्याग पुटुक्क परेको थियो ।
मलाई हेटौँडा लैजानु रहेछ । जिल्ला शिक्षा अधिकारीको सेतो जिपमा राखियो र भनियो वीरगन्ज जाऔँ । यहाँलाई अञ्चलाधीशज्यूले बोलाउनुभएको छ ।
मजुवैमा पुगेपछि जिप बिग्रियो । पछिपछि प्रहरी जत्था बोकेर आइरहेको ट्रकमा मलाई सारियो र दुवै प्रहरी अफिसर मेरो दायाँबायाँ बसे ।
लोथर खोला तरेर जङ्गल प्रवेश गर्नासाथ चीलले चल्ला झम्टेझैँ इन्सपेक्टरले अचानक मेरो ब्याग च्याप्पै समात्यो र झोलाको बकाइदा तलासी लियो । हात हतियार केही छ कि भन्ने आशङ्काबाट सन्तुष्ट भएपछि अर्थात् ब्यागमा कुनै सामान नभेटेपछि बडो सानका साथ डी.एस.पी. गर्ज्यो, बुझ्नुभो अधिकारीजी, अब तपाईँ हाम्रो मुठीमा हुनुहुन्छ, मुठीमा । अब तपाईँका साथी, सहयोगी, पेस्तोल आदि तपाईँसँग छैनन् । अब तपाईँलाई जोगाउने यहाँ कुनै तागत छैन । भन्नोस् राजा र व्यवस्था खतम गर्न के के षड्यन्त्र छ ? कहाँ छन् बम र बन्दुकहरू ? तपाईँ अब हाम्रो मुठीको झिँगा हो, बुझ्नुभो ? मारे पनि छाडे पनि हाम्रै हात हो ।
अचानक डी.एस.पी.को यसअघिको चिप्ला कुरा र कृत्रिम शालीनताको पर्दफास भयो । उसले आफ्नो सक्कली चेहरा देखायो ।
चड्कने परेजस्ता शब्दहरूले मेरो मनमस्तिष्कमा निकै चाप बढ्यो तर पनि कुनै असर नपरेको छाँटकाँट झिकी बलपूर्वक हँसिलो अनुहार बनाउँदै मैले भनेँ, “यहाँहरूको कुरा सुनेर म त छक्क परेँ । मलाई के थाहा कि बम र बन्दुक कहाँ छ । पञ्चायत व्यवस्था खतम गर्न के-के भइरहेछ ? बाहुनले च्याउ खाओस् न स्वाद पाओस् ।”
“हामीलाई सबै थाहा छ, तपाईँ के गर्दै हुनुहुन्छ ? भन्नोस् विश्वेश्वरकहाँ किन जानुभएको थियो ? त्यहाँबाट के-के लिएर आउनुभएको थियो ?”
“विश्वेश्वरकहाँ म गएको पनि छैन र केही ल्याएको पनि छैन, अलि उदास स्वरमा मैले प्रत्युत्तर गरेँ ।”
“त्यसो भए गिरिजासँग भेटेको पनि होइन । रक्सौलको टुरिस्ट होटलमा बसेको र शिव कङ्गाललाई सामान बुझेको भरपाइ गरिदिएको पनि होइन ? अनि एकनाथ भाट, गोविन्द रावल र तपाईँ मिलेर बम ल्याएको पनि होइन ? वा, अधिकारीजी वा !”
म सँगसँगै ऊ आफैँ रहेको र सारा काम आफ्नो अगाडि नै भएजस्तै विश्वासिलो पाराले उसले मलाई झम्ट्यो । मलाई पनि उसले सम्पूर्ण कुरा थाहा पाएको जानकारी भयो ।
इन्सपेक्टर अरू केही थप्ने चेष्टा गर्दै थियो । डी.एस.पी.ले भन्यो, “छोड्नुस् इन्सपेक्टर साहेब, भरे कोलमा हालेर पेलेपछि तेल बनेर निस्कन्छ सबै कुरा । त्यसै कहाँ ओकल्छ यसले । यो त त्यस ग्याङको नेता हो ।”
साँच्चै नै त्यसपछि उनीहरू आफ्नै सफलताका स्वाद लिँदै कुरा गर्न थाले । यिनीहरूको धम्क्याइले मैले पनि परिस्थिति बुझ्ने मौका पाएँ र भावी सङ्कटको सामना कसरी गर्ने मनमनै पूरै तयारीमा लागेँ ।
बुद्धिको तराजुमा भावी बयानको नापतौल गर्दागर्दै हेटौँडा इन्सपेक्टर कार्यालयमा पुगेर ट्रकभित्र पस्यो । बडो फुर्तीका साथ सबै प्रहरी उत्रे र मलाई घेरेर भित्र लगे । इन्सपेक्टरले कडाइका साथ भित्र थुनेर राख्ने आदेश दियो । प्रहरीले साग्ला बजाउँदै हतकडी ल्याए । दुवै हातमा ताल्चा मारी खोरको ढोकाको छडमा बस्न, सुत्न कत्ति नमिल्ने गरी यातनापूर्वक थुनामा राखियो ।
बन्धनमा रहँदा सुत्न, बस्न पशुहरूले पनि पाउने अधिकारबाट मलाई वञ्चित गरियो । निकै रातिसम्म म त्यसै बाँधिएर उभिएँ । तबसम्म उभिएँ जबसम्म मैले शरीरको बोझलाई थाम्दै थिएँ । अति भयो । गोडा लग-लग कामेपछि सेन्ट्रीलाई विनम्रतापूर्वक बस्न हुने गरी साङ्लो खोलिदिन आग्रह गरे । उसको दया पलायो । मलाई बस्न हुने गरी खुकुलो पारिदियो ।
मलाई राखिएको कोठाको एउटा छेउमा तीनओटा मूर्तिहरू टक्र्याकटुक्रुक बसेका थिए । तीमध्ये एक जनालाई देख्नेबित्तिकै म झस्केँ । मेरो सबुत प्रमाण फेला पारिसकेछ भन्ने आशङ्का लाग्यो । ती व्यक्ति थिए ट्याक्टरका खलाँसी गोविन्द रावल ।
वास्तवमा बम र हल्का हातहतियारहरू उनकै मदतले ट्याक्टरको स्टुल बक्समा राखेर रक्सौलको सीमा पार गराइन्थ्यो । यसरी नै केही ग्रिनेट बमहरू काठमाडौँ भित्रिसकेका थिए । माथवरसिंह बस्नेत र जानकीप्रसाद कुइँकेलहरूसँग उपत्यकामा बरामद भएका बमहरू पनि त्यसैमध्येका थिए ।
शरीरमा केही सजिलो महसुस भएपछि ती तीन जनामध्ये एक जनालाई यहाँको घर कहाँ पर्छ भनेर मौनता भङ्ग गरेँ । उनले यही हेटौँडामा नै हो भनेर मात्र के भनेका थिए सेन्ट्री प्रहरी गर्ज्यो, “कुरा नगर् डन्डा खालास् ।” हामी तैँ चुप मै चुप भयौँ । उकुसमुकुस र सन्त्रासको लामो रात पार भयो तर हाम्रो बयान र खानाको कुनै वास्ता भएन । जे होस् सम्भाव्य यातनाबाट त्यो रात मुक्ति मिल्यो ।
बिहानको मिर्मिरे उज्यालो भएपछि हाम्रो कोठा खुल्यो । तीन जनामध्ये रेवतीरमण सुवेदी र मलाई एउटै हतकडीमा जोल्ठ्याइयो । त्यस्तै गोविन्द रावल र गङ्गाप्रसाद पोख्रेल एउटै साङ्लाले जेलिए । हामी चार जना दुई जोला बन्यौँ ।
रेवतीरमण सुवेदी १६/१७ वर्षका विद्यार्थी थिए । उनी बनारसमा भोजपुरबाट पढ्न गएका रहेछन् । गङ्गाप्रसाद पोखरेल हेटौँडामा ठेलागाडामा फलफूल बिक्री गरी जीविका चलाउँथे । दुवै जनालाई प्रहरीले डोऱ्याएर बाहिर निकाल्यो । कार्यालयअगाडि चुलिने गरी दाउरा लोड गरेको फूल बडी ट्रक ठडिएको रहेछ । त्यही दाउरामाथि हामीलाई चढाइयो र हतकडीको साङ्लाले एङ्गलमा बलियोसित बाँधियो । ट्रकको अगाडिको सिटमा प्रहरी अफिसरहरू शोभायमान भए । हाम्रो सुरक्षा गर्न १५/१६ जना राइफलधारीहरू हामीसँगै बसे । हेटौँडा बजार हुँदै ट्रक काठमाडौँतिर दौड्यो ।
महाभिरमा पुगेपछि होटलअगाडि गाडी रोकियो । बडो खुसी लाग्यो । पेटभरि खान पाउँदा अगिल्लो दिनदेखिको चर्को भोक चटक्कै सीताराम भयो ।
यातनापूर्ण आठ-दस धण्टाको यात्राले पीडित हुँदै काठमाडौँ पुगियो । सदर डी.एस.पी. कार्यालय हनुमान् ढोकाअगाडि ट्रक रोकियो । अपमानपूर्ण तौरतरिकाबाट हामी ओरालियौँ र थुनामा राखियौँ ।
तत्कालीन कानुनअनुसार राजकाज मुद्दाको न्यायाधीश अञ्चलाधीश हुन्थ्यो । हाम्रो अञ्चल नारायणी हुँदाहुँदै काठमाडौँ ल्याउनुको अर्थ के रहेछ भने गिरफ्तार गर्ने प्रहरी फोर्स केन्द्रबाटै आएको रहेछ ।
काठमाडौँमा माथवरसिंह बस्नेत (सम्पादक पुनर्जागरण), जानकी कुइँकेलहरू गिरफ्तार भैसकेका रहेछन् । उनीहरूसँग पनि बम बरामद भएको रहेछ । साथै रेवतीरमण सुवेदी (पत्रकार जनमञ्च) पनि पक्राउमा परिसकेका थिए । प्रहरीका अनेकौँ उपायद्वारा हेटौँडामा बम भएको कुरा काठमाडौँमा नै पत्ता लागेको रहेछ । हामी बनारस गएको, फर्कँदा रक्सौलको टुरिस्ट होटलमा बसेको, शिव कङ्गालसँग भएगरेका र जननेता विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालासँग भेटेका कुराहरू चाहिँ बोर्डरबाटै प्रशासनलाई तत्काल खबर भएको रहेछ ।
हनुमान् ढोकास्थित डी.एस.पी. कार्यालयको बन्दीखानामा हामी चारै जनालाई एउटै ठाउँमा राखिएन । अलग-अलग कोठामा राखेर अमानवीय यातना दिन सुरु गरियो । तीन दिनसम्म त खान पनि दिएन । बयान लिने क्रम चालु थियो । भित्र कोठामा राखिएको हुँदा एकअर्कालाई कोसँग कसरी बयान लिइँदै छ र कस्तो बयान गरियो थाहा हुँदैनथ्यो ।
पक्राउमा परी घरबाट आउँदा बाटामा डी.एस.पी. को छेडखानले बयानका लागि म निकै सोचविचार गर्दै थिएँ । पञ्चायत व्यवस्था तानाशाही भएको आफूलाई संवैधानिक राजतन्त्र अन्तर्गतको संसदीय व्यवस्थामा विश्वास रहेको, वी.पी. कहाँ जाने आउने गरेको तर कुनै पनि हिंसात्मक गतिविधिमा आफू संलग्न नरहेको कुरामा अड्डी लिएँ । मेरै घर वा मबाट सोझै कुनै अवैध सामान बरामद नभएकाले मलाई केही आधार मिलेको थियो । यस्तो खालको इन्कारी बयानले परिणामतः मैले निकै अमानवीय र असहनीय यातना भोग्नुपऱ्यो । हरेक दिन राति दस-घार बजेतिर यातनास्थल लगिन्थ्यो । प्रहरीलाई निद्रा र थकाइ नलागेसम्म मेरो धुलाइ कायम रहन्थ्यो । कोर्रा, करेन्ट र छडीको मार पचाउन नसकेर गोडाले टेक्नै छाडेको थियो । हिरासतको अन्ततिर त मलाई घिसारेर बयान गर्ने ठाउँमा लगिन्थ्यो । सायद मनोवैज्ञानिक कारणले होला बयान लिने कोठामा सारै डरलाग्दो महसुस हुन्थ्यो । झ्यालढोका पूरै बन्द गरेर मात्र यातना सुरु हुने गर्दथ्यो ।
मलाई राखिएको कोठा सदा उदाङ्गै रहन्थ्यो । त्यसको झ्यालढोकाको खापा थिएन, खालि फलामे छड मात्र थिए । काठमाडौँमा कार्तिक मङ्सिरतिर नै निकै चिसो हुने बढिसक्ने हुँदा म जाडाले डल्लिसकेको थिएँ ।
एकदिन मसँगैको कोठामा दुई जना चोरीको अभियोगमा थुनिए । उनीहरूलाई असईले दुईओटा कम्मल ल्याएर दियो । मैले परिणामको यादै नगरी कम्मल दिनुहोस् न भनिहालेँ । असईले झोक्किएर भन्यो, तँलाई कम्मल ! कम्मलको त के कुरा कोठामा पानी भरिदिन्छु पानी ! म तत्क्षण चुप लागेँ ।
मलाई राखिएको कोठाका बारेमा पछि मैले थाहा पाएँ । नाली रहेछन् शौचालयको सतहभन्दा पनि अग्लो । पानी भरिदिए पोखरी बन्ने । मलाई दिँदै आएको यातना सम्झँदा प्रहरीको धम्की कार्यान्वयन नहोला भन्न सकिँदैनथ्यो ।
कोठामा पानी त भरिएन तर अर्को उपाय निकालिएछ । घरबाट लगिएको तन्ना, चादर, लगाउने कपडा सबै अपहरण गरियो । यसपछि चिसो सिमेन्टमा डामिनेसिवाय मसँग अर्को विकल्प रहेन । फलामे डन्डीबाट कुहिरो र यदाकदा सिर्सिरे बतास चल्दा मुटुले नै ठाउँ छोड्लाजस्तो हुन्थ्यो । यसरी गन्जीको भरमा १७ दिनसम्म राखियो । शरीरको बाहिरी भाग स्पर्शशून्यजस्तो भयो तर छालाभित्रको असहनीय पीडाले म तड्पिन्थें । हातगोडा पूरै ककर्किए । बस्ने एउटै तरिका थियो, कुक्रुक्क, टुक्रुक्क घुँडामा चिउँडो जोडेर । त्यसमा थप दैनिक यातना छँदै थियो ।
मलाई लाग्छ, मानिस सजिलै मर्दो रहेनछ । यो यातनाको चस्को पसेर होला अचेल जाडो याम सुरु हुनुअघि नै अब जाडो आउँदै छ भन्ने नजानिँदो त्रास बढ्छ ।
लीला, ठगी, गोकर्णहरूलाई जेलबाट थुतेर गोली हानी मारेको प्रसङ्ग सुनाउँदै भन्थे, “तँ पनि त्यसरी नै मार्नुपर्ने होस्, बाँच्ने इच्छा भए सही सत्य भन् । ध्वंसात्मक गतिविधिमा लागेकाहरूका बारेमा सोधेका कुराहरू सबै बताए ज्यान बच्छ, कैदको सङ्कट झेल्नु पनि पर्दैन ।” यसरी धम्क्याउने क्रममा १२/१ बजे मध्यरातमा पटक-पटक रिभल्वार छातीमा ताकिन्थ्यो ।
एकदिन भिसा केसमा एउटा अस्ट्रेलियाली थुनामा पऱ्यो । उसलाई मेरो खोरको पूर्वपट्टिको कोठामा राखियो । उसले मलाई निकै ठुलो मदत गऱ्यो । उसकी श्रीमतीले उसलाई थर्मसमा चिया, कफी र खानेकुरा ल्याइदिन्थी । ऊ त्यो बाँडेर खान चाहन्थ्यो । प्रहरीलाई त्यो सह्य थिएन । लुकाई छिपाई चिया, कफी मलाई पनि पिलाउँथ्यो । उसले हाम्रो ढोका कुर्ने सेन्ट्रीलाई अलि अनुकूल बनाएको थियो । विदशी भएको र सङ्गीन केस पनि नभएर होला उसको ढोका प्रायः खुल्ला रहन्थ्यो । एउटा विदेशीको दयाभावले बरु केही राहत मिल्यो । उसलाई उसकी पत्नीले बदाम ल्याइदिइन् । उसले मलाई एक अँजुली बदाम दियो, दाँतको सहायताले छोडाएर खाएँ । पैताला चिसोले कटकट खाइरहेको थियो । मैले त्यही बदामको खोस्टाको आसन बनाएँ । म चुरोट खान्थेँ । यसमा पनि उसको ठुलो मदत थियो । चुरोटको बट्टा र बदामको खोस्टा पैतालामुनि च्यापेर बस्दा निकै आनन्द मिल्थ्यो तर त्यो पनि तानाशाही राजाका प्रहरीलाई सह्य भएनछ । मेरो न्यानो ओछ्याउने बदामको खोस्टा र चुरोटको बट्टा सोरसार पारेर फ्याँक्न लगाइयो । मैले करोडौँको सम्पत्ति लुटिएको महसुस गरेँ । मैले हप्काइ खाएँ । मलाई यो घटनाले खासै दुःख लागेन किनकि यस अवस्थाको आकलन मैले मनमनै गरिसकेको थिएँ । बरु यस घटनाले त मभित्र जनताको स्वतन्त्रता लुट्ने तानाशाहहरूको घिनलाग्दो चरित्रमाथि अझै घृणा जागेर आयो । मलाई लाग्यो, तानाशाही हत्केलाले स्वतन्त्रताको उज्यालो कतिन्जेल छेकिएला र ?
अस्ट्रेलियालीले मौका छोपी मेरो मुद्दाका बारेमा सोध्ने गर्दथ्यो र म उसलाई सबै बताउँथेँ । हामी सशस्त्र सङ्घर्ष किन गर्न चाहन्थ्यौँ ? नेपालको शासनप्रणाली कस्तो थियो ? आदि सारसङ्क्षेपमा मैले उसको ६/७ दिनको हिरासत कालमा सबै बताएँ । मैले उसलाई एउटा विदेशी भएको र विदेशीले के-के न गर्लान् भनेर आफ्नो देशका कुरा भनिरहेको थिइनँ । ऊ अलि बेग्लै थियो, स्वतन्त्रताका सम्बन्धमा ऊ उदार थियो र नेपालको व्यवस्थाका बारेमा जान्न उत्सुक पनि थियो । यसैले मैले थोरैमा भए पनि उसको जिज्ञासा मेटाएँ ।
उसले भनेको थियो, म छुटेर गएपछि यी सबै कुरा प्रकाशित गर्नेछु । मेरो आफ्नै पत्रिका निस्कन्छ । उसले आफ्नो क्यामराले मेरो २/३ प्रति फोटो पनि खिच्यो । उसले आफू छुट्ने कुरा मलाई चार-पाँच घण्टाअगाडि नै बताएको थियो । ऊ छुटेर जाँदा भावविभोर भएँ । जाने बेलामा प्रहरीको आँखा छलेर उसले गुटुमुटु पारेको कागज मतिर फ्याँक्यो र भन्यो, म पनि बेखर्ची छु । अरूले नदेख्ने गरी कागज खोलेर हेरेँ सय रुपियाको नोट रहेछ । विनायाचना यत्रो विवेक त्यो विदेशीको तर आफ्नाले भने …… ।
घरबाट निस्कँदा मसँग पैँतिस रुपियाँ थियो । चुरोट खाने आदत त छँदै थियो त्यसमा पनि चिन्ताको आगाले चुरोट बढी सल्काउँदो रहेछ । मेरो पैँतिस रुपियाँ धेरै पहिले नै खरानी भइसकेको थियो । एक सयको विदशी सहयोगले ममा लाखौँको खुसी सञ्चरित भयो ।
चौबिस दिनको असहनीय पीडा, अमानवीय दुर्व्यवहार र अकथनीय यातनापश्चात् हामी चारै जनालाई खोरबाट झिकियो । पशुलाई डोऱ्याएझैँ हनुमान् ढोकाबाट नयाँ सडक हुँदै सेन्टर जेलअगाडि पुर्याइयो र खाली ट्रकको पछाडि सशस्त्र प्रहरीको घेरामा हामीलाई अज्ञात स्थलतिर चलान गरियो । रात परेपछि हेटौँडा इन्सपेक्टर कार्यालयमा पो ल्याइयो ।
काठमाडौँको डी.एस.पी. खोरमा हुँदा बाँच्ने आशा अत्यन्त क्षीण थियो । आज हो कि भोलि …. मृत्युको प्रतीक्षा मात्र ……. । भोलिपल्टदेखि हेटौँडामा वकिल राखेर बयान लिन थालियो । फेरि उही क्रम दोहोरियो । फरक यत्ति थियो काठमाडौँको ज्यान खाने जाडो यहाँ थिएन, मेरो तन्ना, च्यादर मसँगै थियो । म यहाँ छु भनेर घरमा खबर पुऱ्याउने मेरो तीव्र इच्छा थियो । यसका लागि प्रयास काठमाडौँमा पनि नगरेको होइन तर सम्भव भएन । प्रहरीको खप्की मात्र खाएँ ।
घरमा भने पूरै आतङ्क मच्चिएको रहेछ । फलानालाई मार्यो ….. भन्ने हल्ला यत्र तत्र सर्वत्र फिँजिएको रहेछ । हल्लाको देश नेपालमा मेरो जरो पुगेसम्म पूरै हल्लिएछ । जे होस् हेटौँडाबाट एउटा हवलदारको सहयोगबाट घरमा खबर पुगेछ । दाजु बाबुराम भेट्न आइपुग्नुभयो । दाजुको ढिपीले मात्र करिभ तीन सय मिटर टाढाबाट देखादेख गर्न दियो तर बोल्न पाइएन । कता-कता ममा आत्मबल भरिएको आभास हुन थाल्यो ।
विदेशीले दिएको पैसाले एउटा प्रहरीद्वारा कागज र कलम मगाएको थिएँ । हिरासतको अमानवीय व्यवहार र हामीलाई लगाएको अभियोग मुताबिक मुद्दा नचलाई यातना मात्र दिइएकाले कानुनअनुसार हामीसँग व्यवहार गरियोस् भन्ने माग राखी पौष १ गतेदेखि आमरण अनसन गर्ने धम्की दिँदै हामी चारै जनाले एउटा संयुक्त निवेदन दियौँ । त्यो निवेदनको झटारोले निकै असर परेछ । पौष १ गते बिहानै सहअञ्चलाधीश सम्झाउन आइपुगे र दुई-तीन दिनभित्रै सरजमिन गराई मुद्दा अदालतमा पेस गर्ने, कुनै पनि यातना नदिने, खानेबस्ने कुरामा दृष्टि पुऱ्याउने वचन दिए । हाम्रो पनि बाध्यता छँदै थियो । खालि मौकाको झटारो मात्र हानेका थियौँ । उनैको कुरा मानेर अनसन गरेनौँ ।
सहअञ्चलाधीशले भनेकै दिनदेखि सरजमिन हुने भयो । हामी चारै जनालाई फलामे दाम्लाले घिच्याउँदै बम बरामद भएको गङ्गा बाजे बसेको घरआँगनमा लगियो । आँगन वरिपरि निकै खुला ठाउँ रहेछ । चारैतिर टिनका कुर्चीमा एकपक्षीय आग्रह बोकेर बसेका भद्रभलादमीहरू, सहअञ्चलाधीश, एस.पी. आदि प्रमुख व्यक्तिलहरू विराजमान थिए । गाउँलेहरूको ठुलो भिड बनेको रहेछ । हामी त्यहाँ पुग्दा खालान् जस्ता आँखाले उपस्थित जनसमूहले हेऱ्यो । उनीहरूका बीच भुईँमा हामीलाई बसालियो । सरजमिन सुरु भयो ।
सरकारी वकिलले ३६ नम्बरको ग्रिनेट (बम) हातमा लिएर भने, “यही हो गङ्गा बाजेकहाँ फेला परेको बम ।” गङ्गा बाजेका घरका ४ ओटा ग्रिनेट मलाई गिरफ्तार गर्नु एक दिनअगाडि बरामद भएको थियो । बम र वकिलका कुरा सुनेर त्यहाँका भद्रभलादमीहरू जुरुक्कै उचालिए । कानुनी कुरा, सामाजिक मर्यादा सबै बिर्सिए । एक जनाले पूरै उत्तेजनामा भन्यो, “यस्ता अपराधीलाई त फाँसी नै दिनुपर्छ । यो बम पड्कियो भने वरपरका सय डेढ सय मानिस एकै ठाउँमा सखाप हुन सक्छन् ।” उसका भनाइले उपस्थित जनसमूह झस्कियो । अलग्गै राखिएको डिटोनेटर जतनसँग झिकेर वकिलले थपे, “यो यहाँ फिट गरेपछि यसरी पिन राखिन्छ । यो पिन झिकेर फ्याँकिदियो भने पाँचै सेकेन्डमा भयङ्कर विस्फोट हुन्छ । पड्केपछि यही डल्लो फुटेर टुक्रा टुक्रा भई गोलीको काम गर्दछ । … अब भन्नुहोस् यो कस्तो हतियार रहेछ र यिनीहरू कति खतरनाक मान्छे रहेछन् ?”
मलाई खसखस लाग्यो । यसैले विनम्र स्वरमा भनेँ, “हामीलाई चिन्नुहुन्छ या हुन्न । हाम्रो चालचलन गतिविधि कस्तो थियो ?” ……. यति मात्र के भनेको थिएँ त्यहाँको भलादमी जत्था पूरै खनियो । यी नेता यहीँ रहेछ । यस्ता अपराधीलाई त मार्नैपर्छ । समूह स्वर घन्कियो, मार्नैपर्छ, मार्नैपर्छ …… । श्री ५ महाराजाधिराजको शुभ राज्याभिषेक बिथोल्न बम ल्याएका हुन् आदि आदि ….. ।
सरजमिन भयो । हामीहरूलाई कागजमा सही गराइयो । त्यस सरजमिन कागतमा के लेखिएको थियो मैले पढ्न पाइनँ । भोलिपल्ट राजकाज मुद्दा हेर्ने अदालत अञ्चलाधीशको कार्यालय वीरगन्ज पुर्याइयो र बयान लिइयो । बयान सकिएपछि पुर्पक्षका लागि थुनमा राख्ने आदेश पुर्जी मिल्यो । हामी बिरगन्ज जेल चलान भयौँ । डेढ महिनाभन्दा बढी हिरासतको नारकीय यातनाबाट मुक्ति मिल्यो र हाम्रो जेल जीवनको अध्याय प्रारम्भ भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
