साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा : अकथ्य

रासा

एउटा घर । चिटिक्क परेको । भुईँतल्ले तर एक्लो । एकान्तमा अवस्थित । बस्तीदेखि पर । ठुलो प्रवेशद्वार । सामान्य बगैँचा पनि । वरिपरि पर्खालद्वारा घेरिएको । घरमा जम्माजम्मी चार कोठाहरू छन् । एक बैठक, दुई शयनकक्ष, तीन भान्सा र चार पुस्तकालय । शौचालय र स्नानागार अलग्गै ।
*

सम्बन्धित पोस्टहरु

लघुकथा : स्वप्न-सम्भव

तीन लघुकथा श्रृंखला २३

रासा

फगत एक मनुवा बस्छन् यो घरमा । पेसाले अङ्ग्रेजी साहित्यका प्राध्यापक, रुचिले साहित्यकार । हाल अवकाशप्राप्त । अरू कोही छैनन् । अथवा, कोही बस्दैनन् यहाँ । उनकी श्रीमती थिइन् विमान परिचारिका, अन्त कतै उडिन् । एउटी छोरी पनि थिइन्, बिहेपछि देखा परिनन् ।
*
अचेल ढिलै उठ्छन् । उनी उठ्दा घाम छिप्पिसकेको हुन्छ । उठेर कोठाबाट बाहिरिन्छन् । शौचादि कर्म गर्छन् । स्नानपश्चात् कोठामा फर्किन्छन् । कपडा फेर्छन् र डुल्न निस्कन्छन् ।
*
हिँडेर पर मन्दिरसम्म पुग्छन् तर मन्दिर घुम्दैनन् । प्राङ्गणबाटै फिर्छन् । छेउको चियापसलमा पस्छन् । मेचमा बस्छन् । एक कप कालो चिया अर्डर गर्छन् । चिया नआउन्जेल त्यत्तिकै बसिरहन्छन् । कोहीसित बोल्दैनन् । पछि चिया पिइसकेर उठ्छन् र पैसा तिरेर सरासर बाटो लाग्छन् ।
*
बाटामा आवश्यक खानेपिउने कुराहरू खरिद गर्छन् । अनि, घरतिरै सोझिन्छन् ।
*
उनी बिहानभरि पढेर बस्छन् । उनको पुस्तकालयमा विभिन्न भाषामा लिखित-प्रकाशित विविध विषयका पुस्तकहरू सङ्कलित छन् । अधिकांश अङ्ग्रेजी भाषाका साहित्यिक किताबहरू छन् । पढेर कत्ति पनि थाक्दैनन् ।
*
उनी देहान्तबाट पढाइको सिलसिलामा काठमाडौँ झरेका हुन् । पढ्दापढ्दै, काम गर्दागर्दै एक टुक्रा घडेरी किने, र पछि घर बनाएर बसे यहीँ ।
*
प्रायः कच्याङकुचुङ खान्छन् । कहिलेकाहीँ खाना पनि आफैँ पकाएर खान्छन् । अल्छी लाग्दा नजिकैको होटलबाट मगाएर खान्छन् । खाइसकेपछि केही क्षण आराम गर्छन् ।
*
दिनभरि केही न केही लेखेर बस्छन् । अक्सर नेपाली र अङ्ग्रेजी भाषामा कविता लेख्छन् । अन्य लेखहरू पनि लेख्छन् । उनका चार कवितासङ्ग्रह र तीन अनुदित कृतिहरू छापिएका छन् ।
*
उनी साँझपख डुल्न निस्कन्छन् । कहिले कता, कहिले कता । धेरैजसो पुस्तकपसलतिर चहार्छन् । रुचिकर पुस्तक किनिहाल्छन्, पैसाको पर्वाह गर्दैनन् । पढ्न नसके, नभ्याए पनि किनेर ल्याउँछन् । भव्य छ उनको पुस्तकालय ।
*
राति हल्काफुल्का खान्छन् । दूध एक कप अनिवार्य चाहिन्छ । अबेरसम्म अध्ययन गरिरहन्छन् । कति बेला सुत्छन्, कुनै ठेगान हुँदैन ।
*
अक्सर पुराना मित्रहरू ( विशेष गरी विश्वविद्यालयमा सँगै पढेका र पढाएका ), साहित्यकारहरू तथा पत्रकारहरू उनलाई भेट्न र भलाकुसारी गर्न आइरहन्छन् । यस्ता भेटघाट र भलाकुसारीबाट उनी सदा आह्लादित हुन्छन् र सन्तुष्ट पनि ।
*
उनको घरमा यदाकदा, भनौँ हप्ताको एक-दुईपटक, एउटी महिला आइरहन्छिन् । घरायसी कामहरू (जस्तै: भाँडाकुँडा माझ्ने, लुगाफाटो धुने, शौचालय सफा गर्ने आदि) गरेर जान्छिन् । महिनावारी पारिश्रमिक पाउने गरी ।
*
यस्तै छ दिनचर्या । यसरी नै चलिरहेको छ एकल जिन्दगी । उनको जिजीविषा यथावत् छ ।
**
एक बिहान । घाम कलिलै छ । घरेलु कामदार महिला त्यहाँ आइपुगेकी मात्र हुन्छिन्, अचानक चिच्याएर बाहिर निस्किन्छिन् – गुहार…गुहार ..लौ….न…उहाँ सरलाई के भयो !
वरपरका मान्छेहरू ओइरिन्छन्, जम्मा हुन्छन् । घरभित्र पस्छन् सबै ।
त्यहाँ बैठकको सोफामा उनी निस्लोट पल्टिएका देखिन्छन् । मृत्युवरण गरिसकेका उनको ठिक सामुन्ने टेबुलमा सिल्भिया प्लाथको कविता सञ्चयन ‘एरियल’ अवस्थित छ । सँगै, ‘डेथ’ शीर्षकमा लेखिएको अपूर्ण अङ्ग्रेजी कविताको पाना पनि छ ।
*
समयान्तरमा अन्य मान्छेहरू पनि एकत्रित हुन्छन् । वडा कार्यालय, प्रहरी र छरछिमेकका मानिसहरू सम्पूर्ण मिलेर आफन्तलाई सूचना दिने, शवलाई व्यवस्थित गर्ने, पोस्टमार्टम गराउने र दाहसंस्कारका लागि घाटतर्फ लग्ने कुरामा सहमति जनाउँछन् ।
*
शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । अद्यापि आफन्तजन कोही पनि आइपुगेका छैनन् । मसानजस्तो छ घर ।

प्रतिक्रिया
Loading...