ओशोको आत्मकथाः स्वर्णिम बालापनः
मनु सबैभन्दा घृणित पात्र
सत्र १९
ओ.के. । मैले केही चाँडै नै ओ.के. भनेँ किनभने मलाई तिमीहरुको चासो थियो । कम्तीमा शुरुमा त चिन्ता नगर । शुरुमा त मलाई आफ्ना कुरा भन्न देओ । तिमीहरुलाई चिन्तित देखेर मैले ओ.के. भन्नै प-यो । तर वास्तवमा त्यो ओ.के. हुने छैन ।
हजुरबुवाको मृत्युपछि मैले हजुरआमाबाट टाढिनु प-यो । म मेरा बुवाको गाउँ फर्कनु प-यो । म फर्कन त चाहन्न थिएँ तर अरुका चिन्तालाई उपेक्षा गर्न पनि सक्तिनँ थिए । जसरी मैले शुरुमै तिमीहरुका चिन्तालाई लिएर ओ.के. भनेँ ठीक त्यसरी नै मैले मेरा आमाबुवाको मृत हजुरबुवाको घर पठाउन तयार नहुँदा मैले ओ.के. भनेको थिएँ । हजुरआमा मसँग जान तयार हुनुहुन्थेन । म त जम्मा सात वर्षको बच्चो थिएँ । घर जानुमा मैले कुनै भविष्य देखिरहेको थिइनँ ।
पटक-पटक म कल्पनामा आफूलाई त्यो पुरानो घर फर्किरहेको देख्छु, गोरुगाढामा एक्लै… भूरा गोरुहरुसँग कुरा गरिरहेको… । कम्तीमा उसले त गोरुको भए पनि साथ पाउँथ्यो । म गोरुगाढाभित्र एक्लै बसेर भविष्यका बारेमा सोचिरहेको हुँदो हुँ । म त्यहाँ के गरुँला ? मेरा घोडा त मावलैमा छन् । तर मावलाका घोडालाई कसले खुवाउला ? मलाई कसले खुवाउला ? म त एक कप चिया पनि बनाउन सक्तिनँ ।
एक दिन गुडियाले छुट्टी लिई । चेतनाले उसको जिम्मेवारी लिइरहेकी थिई, मेरो हेरचाह गरिरहेकी थिई । म जब बिहान उठ्छु, उसलाई चियाका लागि घण्टी थिच्छु । चेतनाले चियाको कप ल्याएर मेरो ओछ्यान छेउमा राखिदिएकी छ र मेरा लागि तौली र टुस ब्रेस आदि तयार गर्न बाथरुम गएकी छ । तिमीहरुलाई थाहा छ, यस बीचमा, दस वर्षमा आफ्नो काम गर्दैथिएँ । पहिलो पटक मानिसले ससाना काम पनि सिक्नुपर्छ भन्ने मैले बुझेँ । मैले कपलाई जमिनबाट उठाउने प्रयास गरेँ र त्यो झ-यो !
चेतना दौडँदै आई र थोरै डराई । मैले भनेँ, ‘चिन्ता नगर । मेरो जिम्मेवारी थियो । मैले यस्तो गर्नु हुन्थेन । मैले यी दस वर्षमा कप उठाउने कामै गरिनँ, आवश्यकै परेन । दस वर्षदेखि मलाई गुडियाले बिगारिरहेकी थिई । अब एक दिनमा तिमीले मलाई सुधार्न त सक्दिनौ नि !’
कयौँ वर्षसम्म मलाई बिगारियो, म यसलाई बिगार्नु नै भन्छु किनभने उनीहरुले मलाई कहिल्यै केही गर्नै दिएनन् । मेरी हजुरआमा त गुडियाभन्दा पनि बढी हुनुहुन्थ्यो । उहाँले त मेरो दाँत पनि माझिदिनु हुनुहुन्थ्यो । म उहाँलाई भन्थेँ, ‘नानी, म आफ्नो दाँत आफैँ सफा गर्न सक्छु क्या !’
उहाँ भन्नुहुन्थ्यो, ‘चुप लाग मेरो राजा, मैले काम गरिरहेका बेला कसैले रोकेको मन पर्दैन । तिमी बीचमा बोल्ने नगर ।’
म टाउको हल्लाउँदै भन्थेँ, ‘तपाईंलाई मैले आफ्नो काम आफैँ गर्न सक्छु पनि भन्न नसक्नु ?’
‘स्वयं हुनुबाहेक, आफ्नो शैलीले बाँच्नु बाहेक मैले कहिल्यै केही गर्नुपर्ने आवश्यकता नै परेन । सारा शैतानी, बदमासी यसको मूल कारण थियो । बालबालिकासँग ज्यादै ऊर्जा हुन्छ । जब उसलाई केही गराइँदैन, उसले त्यो ऊर्जालाई कहीँ न कहीँ त खर्च गर्छ नै । गलत होस् या सही, त्यसको मतलब हुँदैन । ऊर्जा खर्चने कुरा मात्र हुन्छ र त्यसका लागि बदमासी सबैभन्दा राम्रो उपाय हो । त्यसैले मैले वरपरका सबैका साथ गर्नुसम्म बदमासी गरेँ ।
म डाक्टरहरुले बोक्नेजस्तो सुटकेस बोक्थेँ । मैले एक पटक डाक्टर हिँडिरहेको देखेँ । मैले हजुरआमालाई सोधेँ, ‘त्यो मान्छेले बोकेकोजस्तो चिज मैले नपाउञ्जेलसम्म म भातै खान्नँ ।’
खान्नँ भन्ने कुरा कहाँबाट सिकेँ ! हजुरबुवाले चौमासमा, खासगरी जैनहरुले मान्ने चाडका बेला उपवास बसेको देखेको थिएँ । रुढिवादी मानिसहरु त्यो बेला दस दिनसम्म खाँदैनन् । त्यसैले मैले भनेँ, ‘जबसम्म त्यो सुटकेस पाउँदिनँ, म खाना खान्नँ ।’
हजुरआमाले के गर्नुभयो थाहा छ ? त्यसैले त म उहाँलाई अहिलेसम्म सबैभन्दा बढी प्रेम गर्छु । उहाँले भूरालाई भन्नुभयो, ‘जा, बन्दुक लिएर त्यो डाक्टरलाई खेदा र उसको सुटकेस उठाएर ल्या । आवश्यक प-यो भने गोली चलाए पनि हुन्छ ! चिन्ता नगर, अदालतमा बचाउने जिम्मा मेरो भयो ।’
भूरा बन्दुक लिएर दौडियो । के हुँदोरहेछ भनेर हेर्न म उसको पछिपछि दौडिएँ । भूराको हातमा बन्दुक देखेर डाक्टरलाई लाग्यो, कुनै अंग्रेज आइरहेको होला । त्यो बेला बन्दुक बोकेको अंग्रेज देखेर सबै डराउँथे । डाक्टर पनि स्वाभाविक रुपमा डरायो र हावा चलेको रुखका पातजस्तै लुगलुग काँप्न थाल्यो । भुराले डाक्टरलाई भन्यो, ‘डराउनु पर्दैन । त्यो सुटकेस दिएर गए हुन्छ । मलाई अरु केही चाहिन्न ।’ डाक्टरले काँप्दै भुरालाई त्यो ब्याग दियो ।
देवराज, तिमी डाक्टरहरु यो ब्यागलाई के भन्छौ ? यसलाई सुटकेस भनिन्छ कि अरु नै केही नाउँ छ ? देवगीत, यसलाई के भन्छौ ?
‘शायद यसलाई भिजिटिङ ब्याग भनिन्छ ।’
भिजिटिङ ब्याग ? यो ब्यागजस्तो त देखिँदैन । देवराज, तिमीले कुनै नाम भन्न सक्छौ ? भिजिटिङ ब्यागभन्दा राम्रो नाम छैन ?’
‘खासगरी ग्ल्याडस्टोन ब्याग भनिन्थ्यो । त्यो कालो ब्याग हुन्थ्यो ।’
अनि, त्यो ग्ल्याडस्टोन ब्याग भन्या के हो ? अच्छा, म त्यसैका बारेमा सोचिरहेको थिएँ । शायद मलाई याद आइरहेको थिएन । तर यो ब्यागका लागि मलाई भिजिटिङ शब्द मन पर्दैन । म त यसलाई डाक्टरको सुटकेस नै भन्छु । हुन त यो सुटकेस होइन भन्ने मलाई थाहा छ । खैर, केही छैन । मेरो भन्नुको अर्थ के हो भन्ने बुझिसक्यौ होला ।
त्यो डाक्टर कामेको देखेर मैले बुझेँ, सारा शिक्षा निरर्थक छ । यदि यसले तिमीलाई निर्भय बनाउन सक्तैन भने यसको के काम ? दालरोटी कमाउनका लागि तिमी काँप्छौ । उसो भए तिमी त काँप्दै गरेको दालरोटीको बोरा पो भयौ । यसले मलाई अचानक डा. इचलिङको स्मरण गरायो । मैले सुनेको छु, यो गसिप नै होला र मलाई गोस्पलभन्दा बढी गोसिल्स, गसिपमा रुचि छ । गोस्पल पनि त गफै हो ! गोस्पललाई नूनखोर्सानी मिसाएर सही ढंगले भनिएन । मैले सुनेको छु, यसरी नै बुद्धको गोस्पल शुरु हुन्छ, मेरो अर्थ, बुद्धको गफ शुरु हुन्छ । मैले सुनेको छु… यो कति राम्रो विन्यास (आइडम) छ, मैले सुनेको छु, डाक्टर इचलिङकी प्रेमिका… म त उसलाई इकलिङ नै भन्न चाहन्छु तर मैले सुनेको छु, उसको नाम इकलिङ होइन बरु इचलिङ नै हो रे !
म त्यो मानिसलाई जान्दिनँ । मैले त म-यो भन्ने ठानेको थिएँ किनभने मैले उसलाई संन्यास दिएर शून्यो नाम राखिदिएको थिएँ । शून्योलाई के भयो, मलाई थाहा छैन र डाक्टर इचलिङ कसरी पुनर्जीवित भयो ? तर यदि जिसस हुन सक्छन् भने इचलिङ किन हुँदैन ? खैर, ऊ अहिले पनि त्यहाँ छ । ऊ बच्यो कि पुनर्जीवित भयो, यसले के फरक पर्छ र ? गसिप के भने, उसकी प्रेमिका अर्को संन्यासीसँग भागी र उसले त्यो नयाँ मानिसलाई प्रेम गर्थ थाली । जब उनीहरु फर्किए, डाक्टर इचलिङलाई लभ अट्याक भयो । मलाई बडो आश्चर्य भयो, यो कसरी भयो ? किनभने लभ अट्याकका लागि पहिले हृदय हुनु जरुरी छ । हर्ट अट्याक, लभ अट्याक होइन । हर्ट अट्याक त शारीरिक र लभ अट्याक मनोवैज्ञानिक हो, हृदयको गहिरो भागमा । तर पहिले तिमीसँग हृदय त हुनुप-यो नि !
अब डाक्टर इचलिङलाई हर्ट अट्याक या लभ अट्याक हुनु असम्भव छ । उनले मसँग सोध्नुप-र्यो । म डाक्टर त होइन तर जसरी बुद्ध वैद्य थिए त्यसरी नै म पनि वैद्य हुँ । बुद्ध आफूलाई दार्शनिक होइन, वैद्य भन्ने गर्थे ।
विचरा डाक्टर इचलिङ, केही गलत थिएन । जब कुनै ठाउँमा केही पनि छैन भने गलत कसरी हुनसक्छ ? उसको शरीर बिल्कुल ठीक छ । उसको समस्या मनोवैज्ञानिक हो । उसकी प्रेमिका अब अरु नै कसैकी प्रेमिका भई । त्यसैले पीडा हुन्छ नै । तर कहाँ ?
कसैलाई पनि थाहा छैन, पीडा कहाँ हुन्छ । कलेजोमा ? छातीमा ? डाक्टर इचलिङ त छातीमा पीडा भइरहेको भन्थे । डाक्टर इचलिङ, यो पीडा तिम्रो छातीमा होइन, तिम्रो मनमा छ, तिम्रो ईर्ष्यामा छ । र, ईर्ष्याको केन्द्र छातीमा हुँदैन । सत्य त सबैको केन्द्र मनमा हुन्छ ।
तिमी बि.एफ. स्किनर अथवा पावलफको अनुयायी हौ भने… पावलफ जो स्किनरका हजुबाउ या शायद कुप्रा बाउ थियो र जो फ्रायडको समकालीन र उसको सबैभन्दा ठूलो विरोधी पनि थियो… त्यो बेला मन उपयुक्त शब्द थिएन, त्यो बेला तपाईं मस्तिष्क भन्न सक्नुहुन्छ । तर मस्तिष्क मनको शरीर हो । एउटा यन्त्र, जसको माध्यमले मनले काम गर्छ । यसलाई चाहे मन भन, चाहे मस्तिष्क भन, केही फरक पर्दैन । महत्त्वपूर्ण त सबैको केन्द्र मनमा छ ।
डाक्टर इचलिङ… म उसलाई शून्यो भन्न सक्दिनँ किनभने मद्रासमा उसको अफिसबाहिर जुन बोर्ड लगाएको छ, त्यसमा लेखिएको छः डा. इचलिङको अफिस । यदि उसलाई फोन गरियो भने उसको सहायकले भन्नेछः, ‘डा. इचलिङलाई अहिले भेट्न सकिन्न, उहाँ मिटिङमा हुनुहुन्छ ।’ म त उसलाई शून्यो त्यही बेला भन्नेछु, जब त्यो बोर्ड गायब हुन्छ । जब उसको मूर्ख सहायकले, ‘यो इचलिङ को हो म चिन्दिनँ । मैले उसको नाम पनि सुनेको छैन । अँ उहाँ कुनै बेला यहीँ हुनुहुन्थ्यो । त्यसपछि उहाँ भारत जानुभयो र त्यहीँ मर्नुभयो । उहाँको ठाउँमा शून्यो नामक व्यक्ति आउनु भएको छ ।’
त्यो बेला मात्र म उसलाई शून्यो भन्नेछु, जब त्यो बोर्ड जमिनमा गाडेर त्यसमाथि हाम्फालेर ऊ पनि गायब हुनेछ ।
तर यो कथा या गसिप तिमीहरुलाई सुनाउनका लागि भनिएको हो । पहिले सबै कुरा मनमा हुन्छ, त्यसपछि शरीरमा आउँछ। शरीर मनको विस्तार हो, पदार्थका रुपमा । मस्तिष्क, त्यो विस्तारको शुरुवात हो र शरीर त्यसको पूर्ण प्रकटीकरण हो । तर बिउ त मनमा हुन्छ । मनमा यो शरीरको बिउ मात्र हुँदैन, यसमा जे पनि बन्ने सम्भावना हुन्छ । यसको सम्भावना असीम हुन्छ, असीम छ । मनुष्यताका सारा विगत यसमा अटेको हुन्छ र मनुष्यताको विगत मात्र होइन बरु पूर्व मनुष्यताको पनि अटाएको हुन्छ ।
कुनै बालक आमाको गर्भमा हुँदा उसले एक प्रकारले तीस लाख वर्षको विकासक्रमलाई पार गर्छ । यति तीव्रताले ऊ पार गर्छ कि कुनै फिल्म त्यति तीव्रताका साथ चलायो भने, मात्र केही झल्को देखिन्छ । नौ महिनामा बच्चा निश्चित रुपले जीवनको शुरुवात र त्यसपछिका सबै क्रम हुँदै गुज्रन्छ । शुरुमा–– र म बाइबलबाट उद्धृत गरिरहेको छैन, म त हरेक बच्चाको जीवनको तथ्यलाई भनिरहेको छु–– शुरुमा हरेक बच्चा माछा हुन्छ, ठीक त्यस्तै जसरी समस्त जीवन समुद्रमा शुरु भएको थियो । अहिले पनि मानिसको शरीरमा त्यति नै नुन छ, जति समुद्रको पानीमा हुन्छ । मनुष्यको मनले यो नाटक पटक पटक खेल्छः जन्मको नाटक, माछादेखि अन्तिम स्वासका लागि तडपिरहेको वृद्ध मानिससम्म ।
म गाउँ फर्कन चाहन्थेँ तर जे गुमाइएको थियो, त्यसलाई पुनः पाउनु असम्भव थियो । त्यसैबेलादेखि मैले बुझेँ, जहाँ दोहो-याएर नजानु नै राम्रो हो । त्यसपछि म कयौँ ठाउँ गएँ तर दोहो-याएर कहीँ पनि गइनँ । एक पटक जब कुनै ठाउँ छाडेँ भने म त्यसलाई सधैँका लागि छाड्छु । बालापनको यो घटनाले मेरो जीवनको एउटा विशेष ढाँचा तयार पा-यो । म जान चाहन्थेँ तर जानका लागि कुनै सहारा पाइरहेको थिइनँ । मेरी हजुरआमाले स्पष्ट भन्नुभयो, ‘म त्यो गाउँ फर्केर जान सक्तिनँ । मेरा पति नै त्यहाँ छैनन् भने म त्यहाँ गएर के गरुँली ? म त उनका कारण त्यहाँ गएकी थिएँ, गाउँका कारण होइन । मैले यदि कहीँ जानु नै छ भने बरु खजुराहो जानेछु ।’
तर त्यो पनि सम्भव थिएन किनभने उहाँका मातापिता बितिसक्नु भएको थियो । पछि मैले त्यो घरलाई पनि देखिनँ, जहाँ उहाँ जन्मनु भएको थियो । त्यो खण्डहर भइसकेको थियो । फर्केर जाने कुनै सम्भावना नै थिएन । केवल भूरा मात्र यस्तो मानिस थियो, जो फर्कनका लागि तयार हुनसक्थ्यो तर ऊ पनि आफ्नो मालिकको मृत्युको चौबीस घण्टापछि नै म-यो ।
यति कम समयमा यी दुई मृत्युका लागि कोही पनि तयार थिएनन्, खासगरी जसलाई यी दुवै ज्यादै प्रिय लाग्थे ।
भूरा मेरा हजुरबुवाको आज्ञाकारी नोकर भए पनि ऊ मेरा लागि त साथी थियो । हामी प्रायः सँगै बस्थ्यौँ, खेतमा, जंगलमा, खोलामा सबैतिर । भूरा त मेरो छायाँजस्तै थियो कहिले पनि कुनै कुरामा मलाई रोक्दैनथ्यो र सहयोग गर्न सधैँ तयार रहन्थ्यो । यति ठूलो हृदय बोकेको थियो । त्यति गरिब हुँदा पनि ऊ यति धनी थियो ।
उसले कहिले पनि मलाई आफ्नो घर बोलाएन । एक पटक मैले उसलाई सोधेँ, ‘भूरा, तिमी मलाई आफ्नो घर किन लैजान्नौ ?’
‘म यति गरिब छु कि चाहेर पनि घर बोलाउन सक्तिनँ । मेरो गरिबी बाधा बनेर उभिन्छ । म आफ्नो त्यो भद्दा र फोहोर घर तिमीलाई देखाउन चाहन्नँ । यो जीवनमा त म तिमीलाई कहिल्यै घर बोलाउन सक्तिनँ । त्यसैले मैले यसका बारेमा सोच्न पनि छाडिसकेँ,’ भुराले भनेको थियो ।
ऊ ज्यादै गरिब थियो । त्यो गाउँ दुई भागमा थियो । एउटा उच्च जातिका लागि र अर्को गरिबका लागि । गरिबको चाहिँ नदीपारि थियो । भूरा पनि त्यहीँ बस्थ्यो । हुन त मैले कयौँ पटक उसको घर जाने प्रयास गरेँ तर सफल हुन सकिनँ । किनभने भूरा मेरो छायाँजस्तै सधैँ सँगै हुन्थ्यो । उसको घरतिर हिँड्नेबित्तिकै उसले मलाई रोक्थ्यो । मेरो घेडा पनि उसैले भनेको मान्थ्यो । जब मैले उसको घरतिर जाने प्रयास गरेँ, भुरो भन्थ्यो, ‘नजाऊ !’ घोडाले उसको कुरा बुझ्थ्यो किनभने उसैले त त्यो घोडालाई हुर्काएको थियो ! उसको आदेश मान्थ्यो र रोकिन्थ्यो घोडा । घोडा भूराको घर त के, त्यो गाउँको गरिब बस्तीतिर पनि हेर्दैनथ्यो । मैले त अर्कै पाटोबाट देखेको थिएँ, त्यो ठाउँबाट जहाँ उच्च जातिमा जन्मिएका, समृद्ध र धनी व्राह्मण र जैन आदि बस्थे । भूरा त बिचरो शुद्र थियो । शुद्रको अर्थ होः जो जन्मले नै अशुद्ध छन् । उसलाई कसैगरी शुद्ध गर्न सकिन्न ।
यो मनुको कृपा हो । त्यसैले त मलाई उसप्रति यति घृणा छ र मैले सधैँ उसलाई निन्दा गर्छु । म चाहन्छु, यो मनु नामक व्यक्तिका बारेमा सारा संसारले थाहा पाओस् किनभने जबसम्म हामी यस्ता मानिसका बारेमा थाहा पाउँदैनौँ, हामी उनीहरुबाट मुक्त हुन सक्तैनौँ । उनीहरुले कुनै न कुनै प्रकारले हामीलाई प्रभावित तुल्याइरहन्छन् । अमेरिकासम्म पनि । यदि तिमी निग्रो हौ भने भने तिमी शुद्र हो, तिमी निगर हौ भने अछुत हौ ।
चाहे निग्रो को हो भन्नेबारे सेतो छाला भएको व्यक्ति होस् या कालो, दुवैले मनुको विषाक्त फिलोसफीबारे जानकार हुनुपर्छ । मनुले अति सूक्ष्म ढङ्गले दुवै महायुद्धलाई प्रभावित गरेको छ । र, शायद तेस्रो र अन्तिम महायुद्धको कारण पनि उही नै हुनेछः साँच्चै ऊ निकै प्रभावशाली मानिस हो ।
डेल कारनेगीको पुस्तक ‘हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल’ लेख्नुभन्दा पहिले मनुलाई यो कुरा थाहा थियो । हामीले डेल कारनेगीका कति साथी थिए र उसले कति मानिसहरुलाई प्रभावित ग-यो भन्ने जान्ने प्रयास गर्नुपर्छ । यी सबै मानिस अरुलाई प्रभावित गर्ने विज्ञानबाट अञ्जान थिए । उनीहरुलाई जान्ने आवश्यकता पनि थिएन किनभने यो त उनीहरुको स्वाभाविक विशेषता थियो ।
मेरो विचारमा मनुष्यतालाई मनुले सर्वाधिक प्रभावित गरेको छ । आज पनि ऊ, चाहे तिमीलाई उसको नाउँ थाहा होस् या नहोस्, प्रभावित गरिरहेकै छ । गोरो छाला या कालो छाला हुनुका कारण अथवा पुरुष स्त्री हुनुका कारण यदि तिमीले आफूलाई उच्च र श्रेष्ठ मान्छौ भने यसको अर्थ, कुनै न कुनै प्रकारले मनुले तिमीलाई प्रभावित गरिरहेकै छ । मनुलाई तुरुन्तै त्याग्नुपर्छ ।
म त अरु नै केही भन्न चाहन्थेँ तर गलत कदमका साथ मैले शुरु गरिदिएँ । मेरी हजुरआमा सधैँ भन्नुहुन्थ्यो, ओछ्यानभन्दा बाहिर निस्कँदा पहिले आफ्ना दायाँ गोडा तल राख्नू । तिमीहरु छक्क पर्लाऊ, आज मैले उनको यो सल्लाह मानिनँ र सबै कुरा गलत भइरहेको छ । मैले गलत ‘ओके’ भनेँ र जब शुरुमा नै तिमी ओके छैनौ भने पछि सबै कुरा गडबड हुन्छ ।
उसो भए मेरो सही कुरा गर्ने समय अझै पनि छ त ?
छ भने फेरि शुरु गरौँ ।
म गाउँ जान चाहन्थेँ तर अरु कोही जान तयार थिएन । हजुरबा–हजुरआमा, भूरा बिना म त्यहाँ एक्लै कसरी बस्न सक्थेँ । अँहँ, यो सम्भव थिएन । त्यसैले मैले बेमनले भनेँ, ‘ठीक छ, म मेरा पिताकै गाउँमा बस्छु ।’ स्वाभावतः मेरी आमा हजुरआमासँग नबसी म उहाँसँगै बसौँ भन्ने चाहनुहुन्थ्यो । हजुरआमा त पहिलेदेखि नै त्यो गाउँमा बसे पनि अलग्गै बस्छु भन्नु भएको थियो । नदी नजिकै एउटा ठूलो सुन्दर ठाउँमा एउटा सानो घर उहाँका लागि खोजियो ।
मेरी आमाले उहाँसँगै बसूँ भनी मलाई आग्रह गर्नुभयो किनभने सात वर्षदेखि म परिवारमा थिइनँ । मेरो परिवार कुनै सानोतिनो थिएन । यो त निकै ठूलो थियो । कयौँ प्रकारका मानिस थिए त्यहाँः मेरा काकाहरु, काकीहरु, तिनका सन्तान, मेरा काकाका नातेदारहरु आदि आदि ।
भारतको परिवार पश्चिमका जस्तो हुँदैनन् । पश्चिममा त परिवारको एउटै इकाई हुन्छ, पति, पत्नी र तिनको एक या दुई या तीन सन्तान । बढीभन्दा बढी भए परिवारमा जम्मा पाँच सदस्य हुन्छन् । भारतमा त पाँचको संख्या सुनेर हाँस्छन् । भारतमा परिवारमा सयौँ सदस्य हुन्छन् । पाहुना आए भने जाने कुनै ठेगान हुँदैन । जबसम्म उनीहरुलाई कसैले जाने समय भयो भन्दैनन्, किनभने सत्य नै के भने ऊ कसको पाहुना हो भन्ने कसैलाई पनि थाहा हुँदैन । पिता सोच्छ, शायद यो मेरी पत्नीको आफन्त हो । त्यसैले चुप बस्नु नै ठीक हुन्छ । आमा सोच्छे, शायद यो मेरा श्रीमान्को पहाडतिरका कोही होलान् । भारत यस्तो देश हो, जहाँ तिमी कसैको आफन्त नभएको घरमा पनि छिर्न सक्छौ । तिमीले सबैको मुख बन्द गर्न सक्यौ भने त्यहाँ वर्षौंसम्म बस्न सक्छौ । तिमीलाई कसैले पनि घर जाऊ भन्ने छैन किनभने हरेक सदस्य कसैले बोलाएर आएको होला भन्ने ठान्छ । तिम्रो काम भनेको चुप लाग्नु र मुस्कुराउनु मात्र हुन्छ ।
मेरा पिताको परिवार निकै ठूलो थियो । मैले आफ्ना घरतिरको हजुरबुवालाई कहिल्यै मन पराइनँ । उहाँ मेरो मावली हजुरबा भन्दा फरक हुनुहुन्थ्यो । उहाँ ज्यादै बेचैन, अशान्त, झगडालु र हरकोहीसँग बाझ्न तयार हुनुहुन्थ्यो, हरसमय ! शायदै उहाँ झगडा नगरी रहन सक्नु हुन्थेन । तर अनौठो त, केही मानिसहरु उहाँलाई समेत प्रेम गर्थे ।
मेरा पिताको सानो कपडाको दोकान थियो । म कहिलेकाहीँ त्यहाँ बसेर मान्छे के गर्छन् भनी हेर्थें । उनीहरुको व्यवहार हेर्नु मलाई बडो मज्जा आउँथ्यो । सबैभन्दा रोचक कुरा चाहिँ, केही मानिस आएर मेरा बालाई सोध्थे, ‘बाबा कहाँ हुनुहुन्छ ? हामीलाई त उहाँसँगै कारोबार गर्नुछ ।’
यो सुन्दा म छक्क पर्थें किनभने मेरा पिता ज्यादै सिधा, सरल र इमानदार हुनुहुन्थ्यो । जब कसैलाई कुनै कपडा देखाउनुहुन्थ्यो, ‘जति नाफा दिनुछ, दिनुस् । म त तपाईंहरलाई नै जिम्मा दिन्छु । लागतको मूल्य त म कम गर्न सक्तिनँ, त्योभन्दा बढी कति दिने, त्यो तपाईंकै जिम्मा भयो ।’ उहाँ ग्राहकसँग भन्नुहुन्थ्यो, ‘मेरो लागत बीस रुपैयाँ हो । तपाईंले एक दुई रुपैयाँ बढी दिन सक्नुहुन्छ । दुई रुपैयाँको अर्थ, दस प्रतिशत फाइदा । मेरा लागि त्यति पर्याप्त छ ।’ तर विचित्र, मानिस आउनेबित्तिकै सोध्थे, ‘बाबा कहाँ हुनुहुन्छ ? उहाँ बिना धन्दा गर्न मज्जा नै आउँदैन ।’
मलाई त उनीहरुको कुरामा विश्वासै लाग्दैनथयो तर पछि मैले यसको कारण बुझेँ । कारण थियोः मोल–भाउको रस ! एक एक पैसाका लागि घण्टौँ गरिने खिँचातानी, बहस बुवासँग हुन्थेन । हजुरबुवा चाहिँ बीस रुपैयाँको कपडाका लागि पचास रुपैयाँ मोल लगाउनु हुन्थ्यो । त्यसपछि घण्टौँसम्म ग्राहकसँग उहाँको मोलभाउको चक्कर शुरु हुन्थ्यो । यसमा दुवै पक्षलाई मज्जा आउँथ्यो । अन्त्यमा दुवै समूह तीस रुपैयाँमा सहमत हुन्थे । यो सबै देखेर म हाँस्थेँ र ग्राहक गएपछि बाबा (हजुरबा)ले मलाई भन्नुहुन्थ्यो, ‘यस्तो बेलामा हाँस्नु हुँदैन । तिमीले यस्तो गम्भीर अनुहार बनाउनु पर्छ कि हाम्रो ज्यादै नोक्सान भइरहेको छ । हुन त हामीलाई नोक्सान हुँदैन । उनीहरु मलाई भन्थे, चक्कु चाहे खुरबुजामा बजारियोस् कि खरबुजामा चक्कु बजारियोस्, कुरा त एउटै हो । दुवै अवस्थामा खरबुजा नै काटिने हो । चक्कुलाई त केही हुँदैन । त्यसैले तिमीले यस्तो देख्दा हाँस्नु हुँदैन, जुन कुरालाई तिम्रा पिता बीस रुपैयाँमा बेच्थ्यो, त्यसलाई म तीस रुपैयाँमा बेच्छु । तिम्रो पिता त बेकुफ छ ।’
र, साँच्चै नै यस्तै लाग्थ्यो, मेरा पिता बेकुफ हुनुहुन्छ । यहाँ त्यस्तै बेकुफ देवगीत छ । अब देवगीतलाई पनि बेवकुफीको त्यही स्तरमा पुग्नुपर्छ, जुन स्तरमा मेरा पिता थिए । बेवकुफहरुका लागि त सबै कुरा सम्भव छ, समाधि पनि सम्भव छ ।
अँ, मेरा पिता सिधासादा हुनुहुन्थ्यो, मेरा हजुरबा निकै चतुर, चलाख हुनुहुन्थ्यो । जब उहाँका बारेमा सोच्छु, मलाई स्याल याद आउँछ । कुनै बेला उहाँ स्याल नै हुनुहुन्थ्यो होला । उहाँ आफ्नो सबै काम हिसाब किताब गरीकन गर्नुहुन्थ्यो । उहाँ चेसको राम्रो खेलाडी हुनसक्नुहुन्थ्यो । किनभने उहाँ पाँच कदम अगाडिको सोच्नुहुन्थ्यो । साँच्चै, उहाँ कैयाँ हुनुहुन्थ्यो । मैले धेरै चलाख मानिस देखेको छु तर बाबाजस्तो कैयाँ शायदै दखेको हुँदो हुँ । मलाई कहिलेकाहीँ आश्चर्य लाग्छ, कसरी मेरा पिता यति सिधासाधा हुनुभयो ? यति भोलापन उहाँले कसरी पाउनु भयो ? शायद प्रकृतिको यही नियम होला, उसले सधैँ सन्तुलन बनाइराख्छ । त्यसैले बाबाजस्ता चलाख र जटिल मानिसका लागि मेरा बुवाजस्तो सिधा मान्छे दिई पठाए ।
चलख्याइँमा मेरा हजुरबा बहुतै चतुर हुनुहुन्थ्यो । सारा गाउँ उहाँसँग डराउँथ्यो । कसैलाई पनि अब के गर्नुहोला भनेर थाहा पाउँदैनथ्यो । वास्तवमा, उहाँ यस्तो व्यक्ति हुनुहुन्थ्यो र यो त मैले कयौँ पटक देखेको छु । एक पटक म र हजुरबा नदीतिर गइरहेका थियौँ । बाटोमा कसैले सोध्थ्यो, ‘बाबा कहाँ जानु भएको ?’ सारा गाउँले उहाँलाई बाबा भन्थ्यो । हामी नदी गइरहेका हुन्थ्यौँ र सारा मानिस सोध्थे, कहाँ जाँदै हुनुहुन्छ ? तर बाबाको बानी यस्तो कि, उहाँ भन्नुहुन्थ्यो, ‘रेल स्टेसन जाँदैछौँ ।’ म छक्क परेर उहाँलाई हेर्थे, उहाँ चाहिँ मलाई आँखा झिम्क्याउनु हुन्थ्यो । यस्तो महत्त्वपूर्ण काम त केही पनि थिएन लुकाउन फेरि पनि किन बाबाले सिधा कुरा गर्नु हुन्न ? सोध्ने मानिस गइसकेपछि मैले उहाँलाई सोध्थेँ, नदी गइरहेको भन्न पनि त सक्नुहुन्थ्यो किन त्यस्तो भन्नु भएको ? उसलाई हामी सबै नदीतिरै गइरहेको थाहा छ भने किन त्यस्तो भन्नु ? यो बाटो स्टेसन पनि त जाँदैन ।
उहाँले भन्नुहुन्थ्यो, ‘तिमी अहिले बुझ्दैनौ । यसका लागि लगातार अभ्यास गर्नुपर्छ ।’
मैले सोधेँ, ‘केको अभ्यास ?’
उहाँलेभन्नुभयो, ‘आफ्नो व्यपारको लगातार अभ्यास गर्नुपर्छ । सिधा तरिकाले सत्य नभन्ने अभ्यास हो यो । किनभने एक दिन व्यापार गर्दा सोझै सही मूल्य भनेँ भने ? तिमीलाई त्योसँग के चासो ? त्यसैले मैले तिमीलाई आँखा झिम्क्याएको, कतै सत्य नओकल । चुप बस । यो सडक रेल स्टेसनतिर जान्छ कि जाँदैन भन्ने मलाई मतलब छैन । उसले यदि यो सडक त स्टेसनतिर जाँदैन नि भन्यो भने म भन्ने थिएँ, शुरुमा नदी अनि बल्ल स्टेसनतिर जान्छौँ भन्थेँ । म जतासुकैबाट स्टेसन जाऔँ, मेरो मर्जी ! केही समय लाग्ला !’
यस्ता थिए मेरा हजुरबा । उहाँ सबै सन्तानसँग त्यहाँ बस्नुहुन्थ्यो । मेरा बुवा, काकाहरु, फुपूहरु र फुपाजूहरु सबै एकै ठाउँमा । त्यहाँ सबै भेला भएका मानिसहरु चिन्न मेरा लागि कठिन थियो । म मानिसहरुलाई आएको देखेँ तर गएको कहिल्यै देखिनँ । हामी त्यति धनी थिएनौँ तर सबैका लागि खान पर्याप्त थियो ।
म यो परिवारमा बस्न चाहन्न थिएँ र म मैले आमासँग भनेँ, ‘या त म एक्लै गाउँ जान्छु, गोरुगाढा तयार छ र बाटो मलाई थाहा छ । कुनै न कुनै तरिकाले त्यहाँ पुग्छु नै । म त्यो गाउँका मानिसहरुलाई चिन्दछु । ती सबैले यो बच्चालाई माया गर्लान्, रेखदेख गर्लान् । केही वर्षको कुरा त हो । त्यसपछि म उनीहरुका सारा कृपा चुक्ता गर्छु तर म यो परिवारमा बस्न सक्तिनँ । यो परिवार होइन, हटिया हो ।’
र, वास्तवमै त्यो बजार वा हटिया नै थियो । जुनसुकै बेला पनि हल्ला । न शान्ति, न खुला ठाउँ । त्यो प्राचीन तलाउमा यदि कुनै हात्ती हाम्फाल्यो भने पनि कसैले छप्लाङ्ग सुन्दैनथ्यो । मैले स्पष्ट रुपमा म बस्दिनँ भनेर भनेँ । ‘म यहाँ बस्नु नै छैन, बरु हजुरआमाकहाँ जान्छु ।’ यो सुनेर मेरी आमालाई दुःख त लाग्यो तर त्यो बेलादेखि आजसम्म नजाने कति पटक मैले उहाँलाई दुःख दिएँ तर म पनि के गर्न सक्छु ? असहाय थिएँ । परिस्थिति नै यस्तो कि वर्षौंसम्म स्वतन्त्र, शान्ति र खुला आकाशमा मुक्त जीवन बिताएपछि यस्तो वातावरणमा बस्न सक्तिन थिएँ । हजुरबाको घरमा त मेरै मात्र आवाज सुनिन्थ्यो । हजुरबा दिनभरि चुपचाप मन्त्र जप गर्नुहुन्थ्यो । हजुरआमासँग कुरा गर्ने अर्को कोही थिएन । त्यसैले त्यो घरमा सधैँ शान्ति हुन्थ्यो । त्यहाँ बोल्ने त म मात्र थिएँ । वर्षौंसम्म म यति सुन्दर जीवन बिताएपछि म त्यो तथाकथित परिवारमा बस्नु असम्भव थियो । यो परिवारमा संख्य अपरिचित अनुहार थिए, काका, तिनका छोराहरु, फुपाजू, फुपाजूका ससुरा । म त कसको के नाता पर्छ, बुझ्दा पनि बुझ्दिन थिएँ । पछि मलाई के विचार आयो भने मेरो परिवारका बारेमा एउटा सानो पुस्तिका लेखिनुपर्छ र नाता केलाउने त्यो सबैभन्दा राम्रो पुस्तिका हुनेछ ।
जब म पछि कलेजमा पढाउन थालेँ, मानिसहरु मकहाँ आएर भन्थे, ‘लौ तिमीले मलाई चिनेनौ ? म तिम्री आमाको भाइ हुँ ।’
त्यो मानिसको अनुहार हेर्दै भन्थेँ, ‘अरु नै केही नाता भनेको भए राम्रो हुन्थ्यो । मेरी आमाका त कोही पनि भाइ थिएनन् । यति त म आफ्नो परिवारका बारेमा जान्दछु नि !’ अनि त्यो मानिसले भन्थ्यो, ‘ठीक भन्यौ । म तिम्रो काकीको दाइ हुँ । मामा नै पर्छु नि !’
म भन्थेँ, ‘ल ठीक छ । तपाईंलाई के चाहिएको छ ? मतलब कति पैसा चाहिएको छ ? तपाईं पक्कै पनि पैसा माग्नु आउनु भएको होला ?’
यो सुनेपछि उसले भन्यो, ‘तिमीले त मेरो मनकै कुरा भन्यौ । कसरी थाहा पायौ ?’
मैले भनेँ, ‘यो त सजिलो छ नि ! भन्नुस्, कति चाहिएको हो ।’
उसले मसँग बीस रुपैयाँ ऋण लियो । मैले मनमनै भगवानलाई धन्यवाद दिएँ । एक जना नातेदारसँग पिण्ड त छुट्यो ! अब यो मानिसले दोहो-याएर मेरो अनुहार देखाउने छैन ।’
र, साँच्चै त्यस्तै भयो । मैले उनको अनुहार त्यसपछि कहिल्यै देखिनँ । सयौँ मानिसहरुले मसँग पैसा ऋण लिए र कहिले पनि तिरेनन् । मलाई ज्यादै खुसी लाग्छ किनभने उनीहरुले त्यो फर्काए भने अर्को पटक ठूलो रकम माग्न आउँछन् ।
म गाउँ फर्कन चाहन्थेँ तर जान सकिनँ । मैले मेरी आमासँग सम्झौता गरेँ ताकि उहाँलाई चित्त नदुखोस् । तर मलाई थाहा थियो, म उहाँलाई दुःख दिइरहन्छु । उहाँले जे पनि चाहनुभयो, मैले त्यसको ठीक उल्टो गरेँ । त्यसैले बिस्तारै उहाँले छोरा गुमाइसकेँ भन्ने स्वीकार गर्नुभयो ।
कयौँ पटक यतो भएको छ, म उहाँको सामु बस्थेँ र उहाँले मलाई सोध्नुहुन्थ्यो, ‘तिमीले यहाँ कसैलाई देख्यौ ? तरकारी लिन कसैलाई बजार पठाउनु प-यो ।’
बजार टाढा थिएन । सानो गाउँ थियो । बजार पुग्न दुई मिनेट लाग्थ्यो, उहाँले मलाई सोध्नुहुन्थ्यो, ‘तिमीले कसैलाई देख्यौ ?’
म भन्थेँ, ‘अहँ, मैले त कसैलाई पनि देखिनँ । घर त बिल्कुल खाली छ । यी नातेदारहरु कहाँ गायब भए ? जब कुनै काम हुन्छ, किन देखिदैनन् ?’ तर उहाँ मलाई तरकारी ल्याऊ भन्न सक्नुहुन्थेन। एक दुई पटक त उहाँले भनेर पछुताउनु पनि भयो । त्यसपछि उहाँले मलाई दोहो-याएर भन्नु भएन ।
एक पटक उहाँले मलाई केरा किनेर ल्याऊ भन्नुभयो । मैले बाटामै के किन्ने भनेर बिर्सिएँ र टमाटर किनेर ल्याएँ । मैले सम्झने निकै प्रयास गरेँ र बाटामा पटक-पटक ‘केरा’ ‘केरा’ भन्दै हिँडेको पनि हुँ । त्यही बेला एउटा कुकुर भुक्न थाल्यो । कसैले मलाई त्यही बेला सोध्यो, ‘कहाँ हिँडेको ?’ म उत्तर दिन छाडेर ‘केरा’ ‘केरा’ भन्दै हिँडेँ । सोध्नेले भन्यो, ‘पागल भइस् कि क्या हो ?’ मेले भनेँ, ‘म हैन, तँ पागल । अरुको काममा गडबड गर्दोरहेछ ।’ तर त्यतिञ्जेल मैले के किन्ने भन्ने बिर्सिसकेको थिएँ ।
त्यसपछि मैले दिमागमा जे आयो, त्यही किनेँ । म टमाटर लिएर आएँ । अब जैनको घरमा टमाटर कहिल्यै ल्याइन्न । आमाले त्यो देख्नेबित्तिकै टाउकोमा हात राख्नुभयो, भन्नुभयो, ‘केरा यही हो ? तेरो बुद्धि कहिले आउला हँ ?’
मैले भनेँ, ‘ओहो, तपाईंले केरा पो भन्नुभएको थियो त । मैले त बिर्सिएँ । मेरो गल्ती भयो ।’
आमाले भन्नुभयो, ‘बिर्सिए पनि टमाटरबाहेक अरु जे ल्याएको भए पनि हुन्यो नि । थाहा छैन, यो घरमा टमाटर ल्याउन प्रतिबन्धित छ ।’ यसको कारण यत्ति एउटा थियो, टमाटरको रङ रातो हुन्छ र यो मासुजस्तै देखिन्छ । त्यसैले जैन मानिसहरु टमाटर देख्नेबित्तिकै परेशान हुन्छन् ।
विचरो टमाटर ! मैले ती टमाटर भिखारीलाई दिनुप-यो । उनीहरु मलाई देखेर खुसी भए । भिखारी मात्रै मलाई देखेर सधैँ खुसी हुन्थे किनभने जब मलाई घरबाट केही फ्याँक्नका लागि अह्राइन्थ्यो, म फ्याँक्दिन थिएँ, म भिखारीलाई दिन्थेँ ।
म परिवारमा उनीहरुले चाहेजस्तो बस्न सक्तिन थिएँ । सबै जना सन्तान जन्माइरहेका थिए । हरेक महिला सधैँ गर्भवती भइरहेका हुन्थे । जब मलाई आफ्नो परिवारको याद आउँथ्यो, मेरो दिमाग खराब हुन थाल्थ्यो । साँच्चै त होइन तर खराब होलाहोला जस्तो हुन्थ्यो । सबै महिलाको पेट सधैँ बढिरहेको हुन्थ्यो । एउटा सन्तान जन्मेर तेल लगाउन थालेको हुँदैन, अर्को गर्भमा आइसक्थ्यो । त्यति धेरै बच्चा थिए !
‘बस्दिनँ,’ मैले आमालाई भनेँ, ‘तपाईंलाई नराम्रो लाग्छ भन्ने थाहा छ । मलाई यसमा अफसोस छ तर म यहाँ बस्न सक्तिनँ । म त हजुरआमासँगै बस्छु । एक त उहाँले मलाई राम्रोसँग बुझ्नु हुन्छ । अर्को उहाँले मलाई प्रेम पनि गर्नुहुन्छ । मलाई स्वतन्त्रता पनि दिनुहुन्छ ।’
एकपटक मैले हजुरआमालाई सोधेँ, ‘तपाईंले मेरी आमालाई मात्र किन जन्माउनुभयो ?’
उहाँले भन्नुभयो, ‘यो पनि कुनै प्रश्न हो ?’
मैले भनेँ, ‘हाम्रो घरमा त हर महिला सधैँ गर्भवती भएको मात्र देख्छु । तपाईंले मेरी आमालाई मात्र किन जन्माउनुभयो । उहाँका लागि कम्तीमा एउटा भाइ त जन्माउनु पर्थ्यो नि !’
यसको उत्तरमा हजुरआमाले जे भन्नुभयो, म त्यो कहिल्यै बिर्सन्नँ, ‘तिम्रो हजुरबालाई बच्चा चाहिएको थियो । त्यसैले मैले उहाँलाई एउटा मात्र पाउँछु भनेकी थिएँ । त्यो चाहे छोरी होस् या छोरा, यो तपाईंको भाग्यमा भर पर्छ । उहाँलाई छोरा चाहिएको थियो तर राम्रो भयो, छोरी भई । नत्र त तिमीलाई मैले कसरी पाउँथे होला ? मैले अरु बच्चा नजन्माएर ठीक गरेँ, नत्र त तिमीलाई यो ठाउँ मन पर्थेन, यहाँ पनि निकै भिडभाड हुन्थ्यो ।’
म ११ वर्षसम्म मेरो पिताको गाउँमा बसे र मलाई जबरजस्ती स्कुल पठाइयो । र, यो कुनै एक दिनको कुरा थिएन । हरेक दिनको कुरा थियो । हरेक बिहान मलाई जबरजस्ती स्कुल पठाइन्थ्यो । कुनै एउटा काका स्कुल लिएर जान्थे र स्कुलबाहिरसम्म त्यतिञ्जेल उभिन्थे, जबसम्म मलाई कुनै मास्टरले जिम्मा लिँदैनथे । हरेक दिन यो दोहोरिन्थ्यो । मलाई च्याप्प पक्डेर स्कुल पु-याइन्थ्यो । स्कुल पुगेर मलाई कुनै सम्पतिजस्तै या कुनै कैदीजस्तै कसैलाई जिम्मा लगाइन्थ्यो ।
शिक्षाको तरिका त आज पनि त्यस्तै छ, हिंसात्मक र जोरजबरजस्तीको । हरेक पिँढीले अर्को पिँढीलाई भ्रष्ट बनाइरहेको छ । यो त एक प्रकारको बलात्कार हो, आध्यात्मिक बलात्कार ! सानो बालक आफूभन्दा बढी बलशाली आमाबुवाका सामु असाय हुन्छ । उसले तिनको इच्छाअनुसार हिँड्नै र्छ । मैले त पहिलो दिनबाट नै विद्रोह गरेँ, जबरजस्ती स्कुल लगेका दिन । स्कुलको ढोकाबाट छिर्नेबित्तिकै मैले बुवालाई भनेँ, ‘यो स्कल हो कि जेल हो ?’ बुवाले भन्नुभयो, ‘यो के पश्न हो ? स्कुल हो, नडरा ।’ मैले भनेँ, ‘म डराएको होइन । मैले त जान्न चाहेको हो । अब मेरो आफ्नो व्यवहार कस्तो हुनुपर्छ, त्यो जान्न चाहेको । यत्रो ठूलो ढोका किन चाहिएको हो ?’
जब सबै विद्यार्थी कैदीजस्तै भित्र जान्छन्, ठूलो ढोका बन्द गरिन्थ्यो । जब साँझ बच्चालाई बाहिर निकालिन्थ्यो, त्यो बेला यो ढोका खोलिन्थ्यो । म अहिले पनि त्यो ठूलो ढोका देख्छु । अहिले पनि स्पष्ट देख्छु, त्यो भद्दा स्कुलअगाडि म मोरा बुवाका साथ कसरी उभिएको थिएँ, आफ्नो नाउँ दर्ता गराउन । स्कुल त जस्तो थियो, क्यै फरक परेन तर त्यसको ढोका निकै कुरुप थियो । त्यो ढोकालाई हात्तीद्वार भनिन्थ्यो । यति ठूलो थियो कि त्यसबाट एउटा हात्ती ओहोरदोहोर गर्न सक्थ्यो । सानो बच्चाका लागि त यो विशाल थियो ।
ती नौ वर्षका बारेमा तिमीहरुलाई धेरै कुरा बताउनु छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।