प्रख्यात प्रकाशन कम्पनी स्कोलास्टिकका मालिक रिचर्ड रोबिन्सनको गत गर्मी याममा निधन हुँदा अकस्मात चर्को होहल्ला भयो । कारण थियो, ८४ वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएपछि उनको चार अर्ब डलरको कम्पनी अब कसले चलाउला भन्ने चासो । उनको परिवारले स्वाभावतः उनको मृत्युको अपेक्षा नगरेका हुनाले रिचर्डलाइ यसबारे सोधपुछ गरेका थिएनन् । तर रिचर्डले भने आफ्नी ५५ वर्षे प्रेमिका तथा कम्पनीको आर्थिक सल्लाहकार इओल लचिजलाइ मन मात्र होइन, कम्पनीको धन पनि जिम्मा लगाइसकेको पत्तो लाग्यो ।

यतिबेला रिचर्डका दुइ छोरा र पूर्व पत्नी इओललाइ जिम्मा लगाएको कम्पनीको सेयर कसरी फिर्ता लिन सकिन्छ भनी कानुनी सल्लाहमा व्यस्त भएका छन् ।

अमेरिकाकै ठूलो प्रकाशन संस्थाका रूपमा गनिने स्कोलास्टिकको भाग्य त्यो बेला चम्कियो, जब उसले जेके रोलिङको ह्यारी पोटर शृङ्खला प्रकाशन गर्ने जिम्मेवारी पायो । प्रायः बालसाहित्य तथा स्कुले किताब प्रकाशन गर्ने यो कम्पनीको सय वर्षे इतिहासमा रिचर्डको पालामा जति प्रगति कहिल्यै हासिल गरेको थिएन । यो कम्पनी उनका पिताले स्थापना गरेका थिए ।

यतिबेला भने कम्पनी घरेलु सदस्यभन्दा बाहिर पुगेकामा रिचर्डका सन्तानहरूलाइ थक्क थक्क लागिरहेको छ । त्यसैले यसलाइ कसरी इओलबाट पुनः आफ्नो हातमा ल्याउन सकिन्छ भनी रिचर्डका जेठा छोरा जोन बेन्हाम रोबिन्सन लागिपरेका छन् ।

यसमा पछि कान्छा छोरा मोरिस रोबिन्सन पनि थपिए । यी दुइ मिलेर इओलका नाउँमा नामसारी गरिएको भनिएका सेयरहरू कत्तिको साँचो हो र यदि त्यो साँचो हो भने त्यसका साक्षीहरू जुटाउन, नजुटेको खण्डमा ती सेयर परिवारका नाममा पुनः कायम गर्न अनुरोध गरेका छन् ।

यस किसिमको मुद्दा हेर्न न्युयोर्क राज्यमा सरोगेट्स अदालत कायम गरिएको हुन्छ ।

रिचर्डकी प्रेमिका भनिएकी इओलका नाममा सन् २०१८ मा नै ठूलो संख्याको सेयर कायम गरिएको दाबी गरिएको छ ।

रिचर्डकी पूर्व पत्नी हेलेन बेनहामले भने आफ्ना पूर्व पतिलाइ प्रभावमा पारेर सुनको खानीमाथि इओल बसेकी तर त्यसको आधिपत्य जमाउन उनलाइ गाह्रै हुने प्रतिक्रिया दिएकी छन् । रिचर्डको निधन हुनु केही समयअघि आफ्नो निधनपछि सेयरको नयाँ किसिमले बाँडफाँड गर्ने तयारी गरिरहेको जानकारी परिवारलाइ दिएको तर त्यो कस्तो हुने भन्ने थाहा हुनुअघि नै उनको निधन भएको थियो ।

यदि यो मुद्दा परिवारले जितेको खण्डमा कम्पनीको व्यवस्थापन अधिकार यता सर्नेछ, जुन अहिले इओलको हातमा छ । सिधासिधा यो मुद्दा अर्बौं डलरको पुस्तक प्रकाशक कम्पनीको व्यवस्थापन कसले गर्ने भन्नेमा देखिएको छ ।

यता कानुनी रूपमा जति ढिला निर्णय हुन्छ, कम्पनीको आर्थिक साख गुम्दै जाने मात्र होइन, रोबिन्सनको परिवारले हार्ने सम्भावना पनि उत्तिकै हुने कम्पनीको कानुनी सल्लाहकार बेकर एन्ड म्याकेन्जी एलएलपीका प्रतिनिधि थोमस राइसको टिप्पणी छ ।

यता स्कोलास्टिककी प्रवक्ता एन स्पार्कम्यानले प्रतिक्रियामा भनेकी छन्, इओलको काम भनेको कम्पनीको हित रक्षा गर्नु हो । यसका सेयरहोल्डर, जसमा रोबिन्सनका परिवार पनि पर्छन्, ती सबैको हितमा जे हुन्छ, त्यही गर्न आफू तयार रहेको बताएकी छन् ।

स्कोलास्टिकको यो घटनाले कुनै पनि कम्पनीको मूल अगुवाको अनुपस्थिति वा उसको अचानक मृत्युपछि कसरी व्यवस्थापन गर्ने भन्ने पर्याप्त गृहकार्यको अभाव देखाइरहेको विश्लेषकहरूको टिप्पणी छ । परिवारले नियन्त्रण गरिरहेका यस्ता कम्पनीहरू, जसमा साधारण जनताको पनि केही प्रतिशत लगानी हुन्छ, तिनका मालिकको अचानक हुने निधनले व्यवस्थापन र नेतृत्वको अभाव लामो समयदेखिको समस्या देखिदै आएको छ । अगुवाको मृत्युपछिको नेतृत्वबारे कमै छलफल हुने र त्यसले भविष्यमा कानुनी झमेलादेखि कम्पनीको स्वास्थ्य तथा दीर्घकालीन सञ्चालनमा ठूलो समस्या देखिने विश्लेषकहरूको भनाइ छ ।

इओनलाइ गएको जुलाइ १८ मा मात्र कम्पनीको बोर्ड अध्यक्षमा चयन गरिएको थियो । कम्पनीको प्रमुख कार्यकारीमा भने पिटर वारविक चयन गरिएका थिए । दुवै मिलेर अहिले कम्पनी सञ्चालन गरिरहेको कम्पनी प्रवक्ताको भनाइ छ ।

इओन यो कम्पनीमा काम गर्न थालेको तीन दशक भइसकेको छ । यी तीन दशकमा रिचर्डले इओनको गुरूका रूपमा धेरै कुरा सिकाए, प्रेम पनि । तर पछि सन् २०१९ मा दुवैको रोमान्टिक सम्बन्ध सकिएको केहीले बताएका छन् ।

तर जब गएको जुन महिनामा ८४ वर्षको उमेरमा रिचर्डको निधन भयो, कम्पनीको नियन्त्रण जति सबै इओनको हातमा रहेको चाल पाएपछि परिवार दुःखी र चकित एकसाथ भएको थियो । रिचर्डले आफ्नो नाउँको कम्पनीको ५३.८% सेयर इओनको नाममा गरिदिएका थिए । यसको अर्थ, कम्पनीको भोटिङ अधिकार जति सबै यसैमा पर्छ ।

आफ्नो निधनपछि आफ्नो सम्पति कसलाइ कति बाँड्ने भन्ने अधिकार पनि रिचर्डले इओनलाइ नै दिएका छन् । खासगरी आफ्ना दुइ छोराले पाउने सम्पतिका बारेमा उनले नै निर्णय गर्ने अधिकार पाएको देखिएको छ ।

बाउको इच्छा अनाचक एउटी बेग्लै महिलाको हातमा परेपछि रिचर्डका दुइ सन्तान तिल्मिलाउनु स्वाभाविक नै देखिएको छ ।

खासगरी सन् २००८ र २०१२ को सेयर बजार बिग्रेपछि कम्पनी सम्हाल्नका लागि चाहिने २० लाख डलरको ऋण रिचर्डले पूर्वपत्नीसँग लिएको र सो रकम बराबरको आफूलाइ केही नचाहिए पनि आफ्ना दुइ छोरालाइ सो रकम बराबरको सेयर दिन अनुरोध गरेको पूर्वपत्नी बेनहामले बताएकी छन् । तर त्यसका बारे कुनै पनि लेखोट देखिदैन । जसका कारण आफ्नो सो रकम यत्तिकै गायब हुने आशंका बेनहामको छ ।

हुन त अर्ब डलर कम्पनी भए पनि र रिचर्डको नाउँमा १०० मिलियन डलरको घर भए पनि त्यो बेच्दा र कर तिर्दा उनका छोराहरूको भागमा जम्मा १० लाख डलर हात पार्ने देखिएको छ ।

रिचर्डका ३४ वर्षे कान्छा छोरा बेन रोबिन्सन लेखक पनि हुन् । उनको एउटा काठ मिल पनि छ । उनले भने, बुवाको इच्छा नयाँ करार बनाउने थियो । तर यो बीचमा कोभिड यति कडा रूपले आयो, उहाँका लागि सम्पत्ति बाँड्ने भन्दा पनि कम्पनी जोगाउने कुरा मुख्य समस्या उभियो । त्यसैले हामीले यस विषयमा त्यति धेरै छलफल गर्न पाएनौँ ।

रिचर्ड रबिन्सनका अन्य नातागोताले पनि दुइ छोराजस्तै बाउको सम्पत्तिमा चासो राखेको भए पनि कम्पनीलाइ जसरी इओनको कम्पनी व्यवस्थापनका बारेमा दखल नदिने बताइसकेका छन् । उनीहरूको भनाइ छ, ‘इओन आफ्नो काममा पोख्त छिन् । उनले कम्पनी राम्ररी चलाएकी छन् । हाम्रो चासो चाहिँ हाम्रा बाले इच्छ्याएका कुरामा मात्र हो । जुन हाम्रो अधिकार क्षेत्रभित्र पनि पर्छ ।’

इटालीबाट बसाइँ सरेर क्यानडा पुगेका दम्पतिका छोरी इओन लचिसले १९९१ मा स्कोलास्टिक कम्पनीमा काम थालेकी थिइन् । उनी त्यो बेला कम्पनीको बुक क्लबमा सहायक सम्पादकका रूपमा छिरेकी थिइन् । अचानक कम्पनी मालिकसँग रोमान्समा गाँसिएपछि उनको चाँडो चाँडो प्रगति भएको थियो । इओनको तीव्र प्रगति हुँदै गर्दा परिवारमा प्रेम प्रसङ्गका बारेमा चासो बढ्दै र सोधपुछ पनि गरिँदै जाँदा रिचर्डले सधैँ अस्वीकार गर्दै आएका थिए ।

विवाद बढ्दै जाँदा सन् २००३ मा पत्नी बेनहामले पारपाचुके गरेकी थिइन् । पारपाचुकेपछि इओनका लागि ५ लाखसम्मका महँगा उपहार, महँगो गाडी, न्युयोर्कजस्तो महँगो ठाउँमा अपार्टमेन्ट किनिदिनु तथा उनको खर्चका लागि भनेर क्यानडाको टिडी बैंकमा बेग्लै खाता खोलिदिनुजस्ता कारणले रिचर्डसँग छोराहरू पनि रिसाएका थिए ।

रिचर्डका दुवै छोराले हजुरबाले स्थापना गरेको कम्पनीमा आफ्नो करियर बनाउने चासो देखाएनन् । इओनको पूर्व वैवाहिक सम्बन्धबाट जन्मिएका छोरा लुका कोङले भने क्यानडाको स्कोलास्टिक शाखामा बजार व्यवस्थापन हेर्ने गरेका छन् ।