सातौँ रात

श्रीमान्‌ जियाबाओ, के तपाईं त्यो सुन्न सक्नुहुन्छ ? ल है त तपाईंका लागि खोलिदिन्छु । ल सुन्नुस्‌ है त-

“आज स्वास्थ्य मन्त्रीले यस वर्षको अन्त्यसम्ममा बैङ्लोरबाट मलेरिया उन्मूलन गर्ने योजनाको घोषणा गरे । उनले मलेरिया इतिहासको पानामा नपुगुन्जेल सबै पदाधिकारीहरूलाई मरिमेटेर बिदा नबसी काम गर्न निर्देशन दिए । मलेरिया उन्मूलनका लागि चार करोड पचास लाख बजेट विनियोजन गरिएको छ !

अर्को समाचारमा आज मुख्यमन्त्रीले छ महिनाभित्र बैङ्लोरबाट कुपोषण निर्मूल पार्ने घोषणा गरे । यस वर्षको अन्त्यसम्ममा बैङ्लोरमा एउटा पनि बच्चा भोको नहुने घोषणा गरे । यो लक्ष्य प्राप्तिका लागि सबै पदाधिकारीहरू एक ढिक्का भएर लाग्ने घोषणा गरे | कुपोषण उन्मूलनका लागि पचास करोड रूपियाँ बजेट विनियोजन गरिने छ ।”

अर्को समाचारमा फेरि अर्थमन्त्रीले घोषणा गरे कि यस वर्षको बजेटमा सबै गाउँहरूलाई उच्च प्रविधि सम्पन्न, स्वर्गजस्तै पार्नका लागि विशेष राहतको प्याकेज ल्याइने छ _ _ ।

अल इन्डिया रेडियोले प्रत्येक राति हाम्रो कान भरिदिने समाचार यस्तै हुन्छन्‌ । र, भोलिपल्ट बिहानै पत्रिकामा पनि छापिन्छन्‌ । जनताले यही झुट निल्छन्‌ । प्रत्येक राति र प्रत्येक बिहान ताल यस्तै हो । के यो अचम्म लाग्ने कुरा होइन त ?

तर अब रेडियोले पुग्यो । यो बन्द गरेँ । मलाई मेरो प्रेरणाको श्रोत त्यो झालरबत्ती एकछिन हेर्न दिनोस्‌ |

वेन !

मेरो पुरानो मित्र ।

आज हामी यो सुन्दर कथाको अन्त्य गर्दै छौँ । आज बिहान म जब योगा गर्दै थिएँ मैले मेरो कथा कहाँसम्म पुग्यो त भनेर यसो सोचेँ र अनि थाहा पाएँकि यो लगभग सकिनै लागेको छ | मैले ढाँटेको होइन कि म सधैँ एघार बजे बिहान उठ्छु र सीधै एक घन्टा योगा गर्न जान्छु । अब भन्न बाँकी कथाको अंश म कसरी यौटा पुलिसले खोजी गरिरहेको कुख्यात अपराधीबाट बैङ्लोरको समाजको बलियो खम्बा हुन पुगेँ भन्ने कुराको विस्तृत वर्णन हुनेछ ।

यो. संयोग नै मान्नुपर्छ श्रीमान्‌ कि हामी योगाकै विषयमा कुरा गर्दै छौँ । म यो भन्ने अनुमति माग्छु कि बिहान एक घन्टासम्म लामो सास लिने अनि योगा र ध्यान गरेर नै यो उद्यमीको दैनिकी सुरू हुन्छ | योगा नगर्ने भए यो झ्याक्ने व्यवसायको तनाव म कसरी समाल्थेँ होला मलाई नै थाहा छैन । तपाईंले पनि स्कुलहरूमा “योगशिक्षा। अनिवार्र बनाउनुपर्छ । यो मेरो सल्लाह हो ।

ल तर अब कथातिरै लागौं ।

पहिला म भगुवाको जीवनको बारेमा केही बताउन चाहन्छु । सधैँ भागिरहनु भनेको डरले मात्र होइन । भगुवा पनि आफ्नो रङ्ग-रमाइलोको हकदार हुन्छ ।

त्यो साँझ जब म कार पार्कमा जोनी वाकरका फुटेका सिसाका टुक्राहरू बढार्दै थिएँ, मैले बैङ्लोर कसरी पुगिन्छ भनेर योजना बनाएको थिएँ | मेरो यात्रा सीधै जाने एक्सप्रेस रेलमा त कसै पनि हुनेवाला थिएन । कसैले मलाई पक्कै पनि देख्थ्यो । अनि म कता गएको थिएँ भनेर पुलिसले थाहा पाउँथ्यो । बरू म एकबाट अर्को रेलमा सर्दै यता र उता गर्दै बैङ्लोर पुग्ने निर्णय गरेँ ।

तर म धर्मलाई लिन फर्केर गएपछि सबै योजना चकनाचुर भयो । र झुलभित्र निदाइरहेको थियो । मैले उसलाई छुट्टी मनाउन दक्षिणतिर जाने हो उठ्‌ भनेर बिउँझाएँ र लतारेँ । एक हातले धर्मलाई र अर्कोले त्यो रातो झोला सम्हाल्न मलाई गाह्रो पर्यो । रेल स्टेसन भनेको एउटा सानो केटोका लागि खतरनाक ठाउँ हो, किनकि यहाँ बदमासहरूको भीड नै हुन्छ, तै पनि, म यता र उता गर्दै दिल्लीबाट दक्षिणतिर लागेँ ।

यस्तै प्रकारले हिँडेको तीन दिनपछि हातमा त्यही रातो झोला लिएर हैदराबादमा थिएँ र रेल स्टेसनमा रेल छुट्नुअघि एक कप चिया किन्नलाई लाइनमा उभिएको थिएँ । धर्म चाहिँ रेलमै सिट कुरेर बसेको थियो । चिया पसलको ठीक माथि भित्तामा एउटा माउसुली थियो । मेरो चियाको पालो आउनु अघि नै यो कतै जान्छ होला भन्ने आशमा एकटकले हेरिराखेँ ।

”माउसुली देब्रेतिर लाग्यो र भित्तामा टाँसेको ठूलो कागजमा दगुर्यो र अडियो ! अनि एकछिन त्यसै गरी बसिरह्यो र फुत्त छेउतिर लाग्यो |

त्यो भित्तामा टाँसेको ठूलो कागजको टुक्रा पुलिसले टाँसेको मेरै पोस्टर रहेछ । त्यो यहाँसम्म पनि आइपुगिसकेको रहेछ | मैले मुस्काउँदै बडो गर्व साथ हेरेँ ।

त्यो मुस्कान कुनै अपत्यारिलो कारणले गर्दा मात्र एक सेकेन्डसम्म टिक्यो । तपाईं देख्नुहुनेछ कि भारतमा कस्तो झाराटार्ने पाराले काम गरिन्छ । कुनै अनौठो कारणले मेरो पोस्टरलाई अर्को एउटा पोस्टरसँग स्टिच गरेर जोडिएको रहेछ जसमा बमकाण्ड वा यस्तै केही अभियोगमा पुलिसले खोजी गरेको २ जना काश्मिरी आतङ्ककारीको फोटो थियो ।

पोस्टर देखेपछि तपाईंले मलाई पनि आतङ्ककारी नै ठान्न सक्नुहुनेछ । कस्तो रिस उठ्ने कुरा ।

मैले ठानँ कि मलाई निगरानी गरिँदै छ । एकजना मानिस दुवै हात पछिल्तिर राखेर उभिएर मलाई र पोस्टरलाई बडो नियाल्दै थियो । म थरथरी काम्न थालें । म पोस्टर गएको ठाउँबाट अछि पर सरेँ, तर ढिलो भइसकेको थियो ।

म त्यहाँबाट हिँडेको देखेपछि, ऊ दगुर्दै आयो, मेरो नाडीमा समात्यो र मेरो अनुहारमा क्वारक्वार्ती हेर्यो ।

अनि उसले भन्यो, “तपाईंले अघि पढेको पोस्टरमा के लेखेको छ ?”

“तपाईं आफैँ पढ्नुस्‌ न ।”

“मलाई पढ्न आउँदैन ।”

मैले बुझेँ किन ऊ दगुर्दै आएको रहेछ । यो एउटा लेखपढ गर्न नजान्नेले दिक्क मानेर लेखपढ गर्न जान्नेको ध्यानाकर्षण गर्न खोजेको काम कुरा रहेछ । उसको बोलीबाटै मैले बुझेँ कि ऊ पनि अन्धकारबाटै आएको हो ।

यो यस हप्ता पुलिसले खोजी गरेको मान्छेहरूको फोटो हो । मैले भने ।

“ती दुवै काश्मिरका आतङ्ककारी हुन्‌ ।”

“तिनीहरूले के अपराध गरेका थिए त ?”

“स्कुलमा बम पड्काएछन्‌ । आठजना बच्चाहरू मारेछन्‌ ।”

“अनि यो मान्छे नि ? त्यो जुङ्गा भएको चाहिँ को ?” उसले दाहिने हातको कुहिनाले फोटो देखाउँदै सोध्यो ।

“त्यसले नै उनीहरूलाई समातेको हो ।”

“अनि उसले कसरी समात्न सक्यो त ?”

उसलाई भ्रममा पार्न ती दुई पोस्टरतिर यसो हेर्दै, लेखिएको कुरा पढेजस्तै गरेर ओँठ चलाएँ र भने, “यो मान्छे ड्राइभर रहेछ । लेखेको छ कि ऊ कारमै थियो रे अनि ती दुई आतङ्ककारी आएछन्‌ ।”

“अनि के भयो त ?”

“उसले तिनीहरू आतङ्ककारी हुन्‌ भन्ने थाहा नपाएजस्तो गरी कारमा राखेर दिल्ली घुमाउन लग्यो रे । अनि यौटा अँध्यारो ठाउँमा कार रोकेर उनीहरूको टाउकोमा बोत्तल फुटालेर घाँटी रेट्यो रे ।” मैले बूढी औंलाले दुईवटा घाँटी रेटेको इसारा गर्दै भनेँ ।

“कस्तो खालको बोतल रहेछ नि ?”

“बेलायती रक्सीको बोतल ! त्यो बडो कडा हुन्छ ।”

“बुझेँ ” उसले भन्यो । “प्रत्येक शुक्रबार साँझ म पनि आफ्नो मालिकलाई रक्सी किन्न बेलायती रक्सी पसलमा जान्थेँ । उनलाई स्मिर-फोन रक्सी मन पर्थ्यो ।”

”स्मिर-नोफ रे ?” मैले भनेँ तर उसले सुनेन, किनकि उसले फेरि त्यही पोस्टरको फोटो हेरिराखेको थियो ।

अचानक मेरो काँधमा हात राखेर भन्यो, “त्यो पोस्टरमा भएको मानिस को जस्तो छ, तपाईंलाई थाहा छ ?”

”को जस्तो छ ?” मैले सोधेँ ।

उसले ङिच्च हाँस्दै भन्यो, ”म जस्तै छ ।”

मैले फोटो र उसको अनुहार हेरेँ ।

“ठिकै हो ।” मैले उसको ढाडमा धाप मार्दै भनें ।

मैले भनिसकेको छु कि त्यो पोस्टरको अनुहारसँग भारतको जनसङ्ख्याको आधा मानिसको अनुहार मिल्छ ।

अनि त्यो विचरा अपठित मूर्खमाथि दया लागेर आयो | उसलाई मैले बेवकुफ बनाएँ जसरी मेरो बुबालाई रेल स्टेसनमा नचिनेका मानिसले उडाएर बेबकुफ बनाउँथे । मेरो बुबाले जस्तै उसले पनि त्यो सह्यो । मलाई टीठ लाग्यो । रेल चढ्नु पहिले एक कप चिया किनेर दिएँ ।