कहिलेकाहीँ सासा आउने गर्थिन् । उनी धेरैबेर बस्दिनथिन् । उनी कहिल्यै पनि हाँस्दिनथिन्, मुस्कुराउन्नथिन् र सधैं खालि कामको कुरा मात्र गर्थिन् । हिँड्दा सधैं आमासँग एउटै प्रश्न सोध्ने गर्थिन् –

“पाभेल मिखाइलोभिचको कुनै खबर पाउनुभएको छ ?”
“सबै ठीक छ, ईश्वरको कृपाले सञ्चै छ !” – आमा जवाफ दिन्थिन् ।
“मेरो नमस्कार भनिदिनुहोला !” – यति भनेर केटी गायब हुन्थिन् ।
एकपल्ट आमाले सासालाई गुनासो गर्दै भनेकी थिइन् – “किन पाभेललाई यति धेरै जेलमा राखेका हुन् । किन मुद्दा चलाउँदैनन् ?”

सासाको मुख अँध्यारो भयो । तर उनले केही भनिनन्, खालि तिनका औंलाहरु मात्र काँप्न थाले ।
एक मनले त आमालाई भन्न मन लाग्यो –
“मलाई थाहा छ नानी, तिमी उसलाई प्रेम गछ्र्यौ … ।”
तर साहस भएन । कोटीको कठोर अनुहार, दबेको ओठ, रुखो स्वर अगाडि प्रमेको कुरा गर्न असजिलो लाग्यो । आमाले खालि लामो सुस्केरा हालिन् र चुपचाप उनको हात समाएर मनमनै सोचिन् –
“बिचरी, तिमी पनि कति दुःख भोग्दैछ्यौ !”
एक दिन नातासा आइपुगिन् । आमालाई त्यहाँ देखेर उनी धेरै खुसी भइन् । उनले आमालाई म्वाइ खायन् । कुरै कुरामा नातासाले अचानक भनिन् –

“मेरी आमाको स्वर्गवास भयो, बिचरी कसरी जाती हुनुहुन्थ्यो … ।”
यति भनेर उनले आफ्नो टाउको फर्काइन् र छिटोछिटो आँखाको आँसु पुछिन् ।
“कस्तो दुःखको कुरा त ! अझ पचास वर्ष पनि पुग्नुभएको थिएन । उहाँ अझ धेरै बाँच्न सक्नुहुन्थ्यो । अनि फेरि सोच्न थाल्छु – उहाँले जुन जीवन बिताउँदै हुनुहुन्थ्यो, त्योभन्दा त मृत्यु नै राम्रो । उहाँ सधैं एक्लो पर्नुभयो । कसैले कहिल्यै उहाँलाई माया गरेन । कसैलाई उहाँको आवश्यकता परेन । खालि बाबुको गाली खाएर जिन्दगी बिताउनुभयो । यस्तो पनि जिन्दगी हुन्छ ? पछि गएर सुख पाइएला भन्ने आशाले मानिसहरु बाँचेका हुन्छन्, तर मेरी आमाका लागि भविष्यमा पनि अपमान सहनुबाहेक अरु कुनै बाटो थिएन … ।”

“नातासा तिमी ठीक भन्दैछ्यौ !” – आमाले विचारमग्न हुँदै भनिन् – “मान्छेहरु सुख पाइएला भन्ने आशाले बाँचेका हुन्छन्, तर भविष्यबाट केही आशा गर्नु छैन भनेर बाँचेर के फाइदा ?” – आमाले केटीको हात थपथपाउँदै भनिन् – “त्यसो भए तिमी अब एक्ली छ्यौ ?”

“हो, बिलकुल एक्ली !” – नातासाले लापरवाहीसाथ भनिन् ।
आमा एकछिन चुप लागिन् र फेरि मुस्कुराउँदै भनिन् – “केही छैन, असल मान्छेहरु कहिल्यै एक्लो रहँदैनन्, कसै न कसैले सधैं उनीहरुको साथ दिनेछ … ।”


नातासाले एउटा कपडा कारखानाअन्तर्गत रहेको स्कुलमा पढाउने काम गर्न थालिन् र आमालाई उनीकहाँ गैरकानुनी पुस्तकहरु, पर्चा, अखबार आदि पु¥याउने जिम्मा दिइन् ।
अब यही आमाको काम भयो । महिनाको धेरैपल्ट उनी मठवासिनी अथवा घरेलु लेस बेच्ने आइमाई, सहरिया घरानियाँ महिला अथवा सन्यासिनीको भेष बदली काँधमा झोला झुण्ड्याएर अथवा हातमा सुटकेश लिएर इलाकाइलाका चहार्थिन् । ट्रेनमा अथवा जहाजमा, होटल अथवा धर्मशालामा जहाँ पनि त्यही सीधासादा गम्भीर आइमाईका रुपमा हिँड्थिन् । अपरिचित मान्छेहरुसँग आफैं कुराकानी सुृरु गर्थिन् र निडर भएर आफ्नो मिलनसारता र संसार देखेको मान्छेको आत्मविश्वाससहित सबैको ध्यान आफूतिर आकर्षित गर्थिन् ।

उनलाई मान्छेहरुसँग कुरा गर्नु, उनीहरुको जीवनकथा अथवा गुनासो सुन्नु र यो थाहा पाउनु मज्जा लाग्थ्यो कि कुन कुराले उनीहरुलाई सबैभन्दा बढी चकित पार्छ । उनलाई यस्ता मान्छेसँग भेट्दा धेरै खुसी लाग्थ्यो, जो प्रत्येक कुरासँग असन्तुष्ट हुन्थ्यो र जसको असन्तोष भाग्यका थपेडाहरुको विरुद्ध प्रतिरोध गर्दैं पनि सधैं सुस्पष्ट प्रश्नहरुको उत्तरको खोजीमा रहन्थयो । उनका अगाडि मानवजीवनको त्यो व्यापक चित्र फैलिएको हुन्थ्यो, जसमा प्रत्येक व्यक्ति दुई छाक खान कमाउन ज्यान दिएर सङ्घर्ष गरिरहेको हुन्थ्यो । उनी जताततै जनतालाई धोका दिने, उसबाट केही खोस्ने, एकएक थोपा गर्दै उसको रगत चुस्ने र उसको मेहनतको फल हत्याएर नाफा लिने निर्लज्ज र हृदयविदारक प्रयास देख्थिन् । उनी देख्थिन्, पृथ्वीमा हरेक कुरा प्रचुर मात्रामा छ, तैपनि मानिसहरु दानादानाका लागि तड्पिइरहेका हुन्छन् र यस प्रचुर सम्पदाको बाबजुद पनि उनीहरु पेछभरि खान पाउँदैनन् । सहरका गिर्जाघरहरुमा सुन, चाँदी थुप्रिएको छ, जसको ईश्वरलाई कुनै आवश्यकता छैन र यिनै गिर्जाघरहरुका ढोकाहरुमा चिसाले काँपिरहेका माग्नेहरु हात फैलाएर एकएक र्पैसा मागिरहेका हुन्छन् । यी सबै कुरा उनले अगाडि पनि देखिसकेकी थिइन् – धन दौलतले भरिएका गिर्जाघरहरु, पादरीहरुका जरी र मखमलका पोशाकहरु, गरिबहरुका छाप्राहरु र लज्जास्पद झुत्राझाम्राहरु । त्यसबेला उनी यी सबै कुरा स्वाभाविक ठान्थिन्, तर अब यी सबै कुरा उनका लागि असह्य भइसकेको थियो र यो कुरा उनी गरिबहरुको अपमान ठान्थिन् किनभने आमालाई थाहा थियो, उनीहरु गिर्जाघरको बढी नजिक छन् र उनीहरुलाई धनीहरुको दाँजोमा गिर्जाघरको बढी आवश्यकता छ ।
उनले ईसामसीहको जुन चित्र देखेकी थिइन् र उनीबारे जुन कथाहरु सुनेकी थिइन्, ती कथाहरुबाट थाहा पाएकी थिइन्र, ईसा निकै साधारण लुगा लगाउँथे र उनी गरिबहरुका मित्र थिए । तर गिर्जाघरहरुमा उनी ईसाको मूर्ति चम्किला, सुनौला र रेशमी लुगाहरुमा सजाइएको पाउँथिन् र जब गरिबहरु आफ्नो दुःखको कहानी लिएर ईश्वरकहाँ आउँथे, ती सबै भड्किला चीजबीजहरुले उनीहरुको हाँसो उडाइरहेजस्तो लाग्थ्यो । उनलाई अनायास रिबिनको शब्द याद आउँथ्यो –

“हामीलाई ईश्वरको प्रश्नमा पनि बेबकुफ बनाइदिएका छन् !”
आमाले चालै पाइनन्, कसरी उनको पूजा गर्ने बानी घट्दै गयो, तर अब उनले ईसामसीह र ती व्यक्तिहरुबारे दिनप्रतिदिन बढी सोच्न थालेकी थिइन्, जो कहिल्यै ईसामसीहको नामसम्म पनि लिँदैनथे र जसलाई उनीबारे कुनै ज्ञान पनि थिएन, तर जो उनले देखाएको बाटोमा हिँड्दै थिए र उनैको सिद्धान्तअनुसार जीवन बिताउँदै थिए । यस पृथ्वीलाई गरिबहरुको राज्य ठान्थे र यसको सम्पदा सबैलाई बराबर बाँडचुँड गर्न चाहन्थे । उनी यस विषयमा धेरै सोच्थिन् । उनका यी विचारहरु बढ्दै गए र अब यी विचारहरुले प्रार्थनाको ज्योतिको रुप लिन थाले र सम्पूर्ण अन्धकारमय विश्व, समस्त जीवन र सारा जनता यस ज्योतिद्वारा आलोकित हुन थाल्यो । आमालाई लाग्यो, ईसामसीहप्रति प्रेम त उनको हृदयमा सधैं थियो – एक अस्पष्ट कोमल भावना, एक मिश्रित भावना, जसमा भय अभिन्न रुपमा आशासँग र हर्ष वेदनासँग सम्बद्ध थिए । अब ईसामसीह बदलिए, उनको स्वरुप बढी उदास भयो र उनको नजिक सजिलैसँग पुग्न सकिने भयो, उनको रुप बढी ज्योतिर्मय र उल्लासपूर्ण थियो । यस्तो लाग्थ्यो, ती व्यक्तिहरुले जो आफ्नो विनम्रताले गर्दा मानवमात्रका यस अन्तरङ्ग मित्रको नामसम्म पनि लिँदैनथे, उनैको नाममा आफ्नो रगतको नदी बगाएर उनलार्य अमर बनाइदिएका छन् । हरेकपल्ट जब आफ्नो भ्रमणबाट आमा निकोलाइको घर फर्कन्थिन् त उनी धेरै प्रसन्न मुद्रामा हुन्थिन् र बाटोमा जेजति कुरा देखेकी अथवा सुनेकी थिइन्, त्यसप्रति आमाको हृदयमा ठूलो उत्साह हुन्थ्यो र आफ्नो काम पूरा गरेकोमा एक अपार सन्तोषको भावना हुन्थ्यो ।

“यसरी हिँडडुल गर्दा र यति धेरै कुराहरु देख्दा धेरै फाइदा हुँदो रहेछ !” – साँझ भेट हुँदा उनी अक्सर निकोलाइलाई भन्ने गर्थिन् – “यसले मान्छेलाई जिन्दगीबारे बुझ्न मद्दत गर्छ । आम जनतालाई घचेटेर जिन्दगीको बाह्य समिासम्म पु¥याइदिएका हुन्छन्, जहाँ उनीहरु अन्धकारमा सडिरहेका हुन्छन् र यही प्रश्न बारम्बार दोहो¥याउँछन् कि आखिर किन यस्तो हुन्छ ? किन मलाई यसरी हप्काउँछन् र लखेट्छन् ? जब जताततै यति प्रचुर मात्रामा खानेकुराहरु छन् किन म भोकै छु ? जताततै ज्ञानको भण्डार छ, म चाहिँ किन यति मूर्ख र अज्ञानी छु ? खोइ कहाँ छन् ती कृपानिधान ईश्वर, जसका लागि धनी र गरिबमा कुनै अन्तर छैन र जसका हामी सबै प्रिय सन्तान हौं ? मानिसहरुले बिस्तारै आफ्नो यस जीवनप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन्, उनीहरुले यो कुरा बुझ्न थालेका छन् कि उनीहरुले आफैंले केही नगर्ने हो भने अन्यायले उनीहरुको नामनिशान मेटिदिनेछ !”

साधारण जनतासँग यस जीवनका अन्यायहरुबारे कुराकानी गर्ने आमाको यो इच्छा दिनप्रतिदिन बढ्दै गयो । कहिलेकाहीँ त उनलार्य यो इच्छा दबाउन असह्य हुन्थ्यो … ।

जब निकोलाइले देख्थ्यो, आमा बडो ध्यान दिएर तस्वीरहरु हेर्दैछिन्, ऊ आमालाई संसारका अनौठा कुराहरुबारे बताउँथ्यो । मानिसको अपरिमित साहससम्बन्धी यी वर्णनहरु सुनेर चकित हुँदै आमा निकोलाइलाई सोध्ने गर्थिन् –

“के यो कुरा सम्भव छ ?
भविष्यबारे आफ्नो अटल आस्थासहित ऊ अत्यन्त स्नेहपूर्ण दृष्टिले आमालाई आफ्नो चस्मापछाडिबाट हेथ्र्यो र भविष्यबारे अनौठा कहानीहरु सुनाउँथ्यो –

“मानवआकाङ्क्षाको कुनै सीमा छैन र उसको शक्ति पनि असीमित छ । तर विश्वको आत्मिक समृद्धिको गति अझ अत्यन्त मन्द छ किनभने त्यो व्यक्ति, जो स्वतन्त्र रहन चाहन्छ, ऊ ज्ञानको सट्टा पैसा बटुलन बाध्य छ । तर जब मानिस यो सम्पत्तिको लालच र बन्देजबाट मुक्त हुनेछ, तब … ।”

आमा उसका यी शब्दहरुको अर्थ कम बुझ्थिन् । तर बिस्तारैबिस्तारै उनले त्यो शान्त र गम्भीर आस्था बुझ्न थालिन्, जसले यी विचारहरुलाई प्रेरित गथ्र्यो ।

“दुःको कुरा त के छ भने संसारमा स्वतन्त्र मान्छेहरु एकदमै कम छन् !”
आमा यो कुरा बुझ्थिन् । उनी यस्ता मान्छेहरुसँग परिचित थिइन्, जो लोभ र ईष्र्याबाट मुक्त थिए । उनलाई थाहा थियो – यदि यस्ता मान्छेहरुको सङ्ख्या बढ्दै गएको खण्डमा जीवन यति भयङ्कर र अन्धकारमय हुने थिएन । जीवन बढी सरल, उज्जवल र उदात्त हुन्थ्यो ।

“मानिसहरुलाई जबरजस्ती कठोर बनाइन्छ !” – निकोलाइले उदासीनतापूर्वक भन्यो ।
आमालाई उक्राइनिको शब्द याद आयो र उनले आफ्नो सहमति जनाउँदै टाउको हल्लाइन् ।