१६

“तपाईंले मेरा बालबच्चाहरूको बारेमा सोध्नुभयो । अँ, बालबच्चाहरूको विषयमा पनि हाम्रो दृष्टिकोण कति गलत छ । बालबच्चा नै जीवनको महासुख र ईश्वरको सबभन्दा ठूलो बरदान हो भन्ने कुरा पनि पच्चीसै आना झूठो हो । कुनै जमानामा यस्तो हुँदो हो, तर अहिले चाहिँ होइन । लालाबाला भनेको झन्झट र दुःखसिवाय अरु केही पनि होइन । अधिकांश आमाहरू यो कुरा राम्ररी नै बुझ्छन्‌ र कहिलेकाही अनायासै उनीहरूको मुखबाट समेत यो कुरा बकिन्छ । हाम्रो वर्गका हुनेखाने मुखबाट समेत यो कुरा बकिन्छ । हाम्रो वर्गका हुनेखाने कुलघरानका कुनै पनि बालबच्चाकी आमासँग तपाईं एकपल्ट सोधिहेर्नोस्‌ ! मलाई बालबच्चाको चाहना छैन, किनभने मलाई उनीहरूको रोगब्याधि र मृत्युको डर लाग्छ भनेर उसले जवाफ देली । कुनै महिलाले कथंकदाचित्‌ बच्चा जन्माइहाली भने पनि ऊ त्यसको पालनपोषण स्वयं गर्न इच्छुक भएको पाउनुहुनेछैन । किन रे भने कहीं त्यसको मायामोह नलागिहालोस्‌ र पछि पीर नपरोस्‌ ! कुनै शिशुको सुकोमल जिउ देख्दा, उसका मुलायम र चिटिक्क परेका हातगोडा र स्निग्ध अङ्गप्रत्यङ्ग देख्दा अवश्य नै मन रमाउँछ नै, तर त्यसभन्दा बढी त मानसिक सन्ताप नै उत्पन्न हुन्छ- उसको बिरामी र मृत्युको कारणले होइन, बरु कहीं त्यो बिरामी परिहाल्ने त होइन या मरेर जाने त होइन भन्ने डरले र पीरले । यसरी लाभ र हानि दुवै तौलेर हेर्दा त बालबच्चा नहुनु नै जाती हुन्छ । आइमाईहरू यो कुरा निर्धक्कसित र स्पष्टसित भन्छन्‌ पनि । बालबच्चाको माया लाग्ने हुनाले नै यस्तो भन्नेगरिन्छ भनेर उनीहरू ठान्छन्‌ । बालबच्चालाई माया गर्नु भनेको एउटा राम्रो र सराहनीय भावना हो र उनीहरूलाई यसको गर्व पनि रहन्छ । परन्तु उनीहरू कुन कुरा ठम्याउन सक्तैनन्‌ भने यस्तो कुराले त उनीहरूको मायाको होइन, बरु स्वार्थको नै अभिव्यक्ति गर्छ । उनीहरूलाई शिशुबाट आनन्दभन्दा बढ्ता दु:ख नै प्राप्त हुन्छ । त्यसैले त उनीहरू शिशुप्रतिको आफ्नो ममताको खातिर आत्मोसर्ग गर्दैनन्‌, बरु आफ्नो खातिर त्यस मायालु जीवलाई नै बलिदान गरिदिन्छन्‌ ।

स्पष्ट छ, यो ममता होइन, बरु स्वार्थ हो । परन्तु सम्पन्न परिवारहरूमा बालबच्चाहरूको स्वास्थ्यको कारणले गर्दा (हाम्रो कुलीन समाजमा यहाँ पनि ती डाक्टरहरूकै कृपाले गर्दा) आमाहरूले के कस्ता दु:खयातनाहरू भोग्नुपरेको हुन्छ भन्ने देख्दादेख्दै यस स्वार्थको लागि उनीहरूलाई दोषी ठहराउनु वा उनीहरूमाथि दोषारोपण गर्नु गाह्रै पर्छ । अहिलेसम्म पनि मलाई शुरु-शुरुका वर्षहरूमा आफ्नी पत्नीको दिनचर्या र उसको मन:स्थितिको सम्झना भएर आउँदा म झस्किनेगर्छु । घरमा तीन-चार जना बालबच्चा थिए । उनीहरूकै लालन-पालनमा उसको सारा समय र शक्ति बित्नेगर्थ्यो । हाम्रो जिन्दगीलाई जिन्दगी नै भन्न सुहाउँदैनथ्यो । जहिले पनि हामीलाई बालबच्चाकै मात्र पीर लागिरहन्थ्यो । एकपल्ट खतरा टरेपछि कहीं अर्को खतरा त आइलाग्ने होइन फेरि भन्ने डर हुन्थ्यो । यसै सम्भावित खतराबाट बच्ने प्रयासमा नै सदैव लागिपर्नुपर्थ्यो । जहिले पनि यस्तो लागिरहन्थ्यो, मानौं हामी डुब्न आँटेको जहाजमा होऔं । मेरी पत्नीले नै जानाजानी यस्तो वातावरण सिर्जना गरिरहेकी छे र बालबच्चाहरूको फिक्री र चिन्ताको बहाना गरेर मलाई उ आफ्नो वशमा पारिराख्न चाहन्छे भन्ने समेत कहिलेकाही म सोच्न पुग्थेँ । मलाई के लाग्थ्यो भने उसले एउटा यस्तो उपाय फेला पारेकी छे जसको मद्दतले ऊ सबै समस्याको समाधान आफ्नै हितानुकूल गर्न सक्छे । कहिलेकाहीं म के पनि विचार गर्थें भने जुन कुरा ऊ गर्छे वा भन्छे सो सब ढोंग मात्रै हो । तर कुरा यस्तो थिएन । ऊ वास्तवमा नै ज्यादै चिन्तित रहन्थी । बालबच्चाहरूको सानोतिनो बिरामी र स्वास्थ्यको पीरले गर्दा ऊ जहिले पनि आकुलव्याकुल रहनेगर्थी । यो उसको लागि मात्र नभई मेरो लागि पनि ठूलो यातना थियो । अनि यस यातनाबाट मुक्ति पाउने पनि उससँग कुनै साधन थिएन । सबै जीवधारी प्राणीहरूलाई जस्तै उसलाई पनि आफ्ना बालबच्चाहरूको बारेमा त्यत्तिनै चिन्ता थियो जति अधिकांश आइमाईहरूलाई हुन्छ । उनीहरूले राम्रो खुराक पाउन्‌, आरामसित खेल्न पाउन्‌ र सुरक्षित रहून् भन्ने उसको पनि चाहना थियो । यसको साथै उसमा केही यस्ता गुणहरू पनि थिए जुन पशुहरूमा पाइन्छन्‌, ती हुन्‌, तर्कबृद्धि र कल्पनाको अभाव ! आफ्नो चल्लालाई केही भैहाल्ला वा त्यो बिरामी पर्ला भन्ने पीर एउटी पोथी कुखुरीलाई पटक्कै हुँदैन । उसलाई त ती सबै रोगहरूको पनि ज्ञान हुँदैन जुन उसको चल्लालाई लाग्न सक्छ । यसै गरी उसलाई रोगको उपचार गर्ने ती साधनहरूको पनि जानकारी हुँदैन जसको सहायताले रोग र मृत्युलाई समेत टार्न सकिन्छ भन्ने हामी ठान्नेगछौँ । यसैउसलै गर्दा एउटी पोथी कुखुरीको निम्ति उसका चल्लाहरूबाट कुनै क्लेश उत्पन्न हुँदैन । उसले त आफ्ना चल्लाहरूको लागि त्यही मात्र गर्छ जुन उसले गर्नुपर्ने हुन्छ र ऊ खुशीसाथ गर्छ पनि । चल्लाहरूबाट उसलाई आनन्द प्राप्त हुन्छ । कथंकदाचित्‌ चल्ला बिरामी परिहाल्यो भने पनि माउलाई यस्तो बेला के गर्नुपर्छ भन्ने राम्रो थाहा हुन्छ । ऊ चल्लालाई आहारा ख्वाउँछ र आफ्नो, पखेटाले छोपेर राख्छ । उसले जे गरिरहेको छ त्यो गर्नु आवश्यक छ भन्ने पनि उसलाई थाहा हुन्छ । कंथकदाचित चल्ला मरिहाल्छ र फेरि पहिलेकै जस्तरी जीवन बिताउन थाल्छ । परन्तु हाम्रा अभागी आइमाईहरूको लागि भने यो पर्याप्त हुँदैन । मेरी पत्नीको लागि पनि यो पर्याप्त थिएन । उसले बालबच्चाहरूको स्याहारसुसार र शिक्षादीक्षाको बारेमा अनेकौं कुरा सुनेर वा पढेर थाहा पाइराखेकी थिई र विभिन्न किसिमका नियमहरूको पनि यसरी नै जानकारी हासिल गरेकी थिई । अवश्य पनि यस्ता नियमहरूमा निरन्तर हेरफेर आइरहन्थ्यो । यसको अतिरिक्त बालरोगहरू र तिनको उपचारको बारेमा पनि उसले थुप्रै कुराहरू सुनेर र पढेर थाहा पाएकी थिई । बालबच्चाहरूलाई फलानो थोक ख्वाउनुहुन्छ, ढिस्कानो थोक ख्वाउनुहुँदैन, अहँ, फलानो र ढिस्कानो होइन, बरु ढिस्कानो र फलानो मात्र खुवाउनुपर्छ । एक साता पनि बित्न पाएको हुँदैनथ्यो, हामीलाई, खास गरी मेरी पत्नीलाई कुनै न कुनै नयाँ नियम थाहा भैहाल्थ्यो , जस्तो कि बालकहरूलाई कसरी ख्वाउनुपर्छ, कसरी नुहाउनुपर्छ, कस्तो लुगा लगाइदिनुपर्छ,’ बिछ्यौनामा कसरी सुताउनुपर्छ, कसरी डुलाउनुपर्छ र ताजा हावामा घुमाउनुपर्छ इत्यादि । यस्तो भान पर्थ्यो । मानौं संसारमा जन्म लिने यी नै सबभन्दा पहिला बालबच्चा होउन्‌ । क्थंकदाचित्‌ कुनै बालक बिरामी परिहाल्यो भने यसको कारण उसलाई ठीकसँग नख्वाउनु, ठीकसँग ननुहाउनु या ठीक समयमा ननुहाउनु नै हो भन्ने हुन जान्थ्यो । भनाइको मतलब के त भने उसको रोगको लागि आमा चाहिँ नै दोषी थिई अर्थात्‌ उसबाट नहुनुपर्ने कुनै भूल हुन गएको थियो ।

बालबच्चाहरूको स्वास्थ्य राम्रै छ भने पनि चिन्ता घट्ने कुरा होइन । कथंकदाचित् थला नै परेका छन्‌ भने त कुरै नगर्नोस्‌ ! जिन्दगी नै नरकमा परिणत हुन्छ । आम धारण के छ भने रोगको उपचार हुनसक्छ । विज्ञानको एउटा यस्तो शाखा पनि छ जुन चिकित्सा भनिन्छ , अनि यस्ता मानिसहरू पनि छन्‌ जो डाक्टर कहलाउँछन्‌ र जो रोगको उपचार गर्न जान्दछ् । सके सबै डाक्टर यस्ता नहोलान्‌, तर असल डाक्टरहरूलाई जरूर पनि रोगको उपचार थाहा हुन्छ । तसर्थ कथंकदाचित्‌ कुनै बालक बिरामी पर्यो भने सबभन्दा असल डाक्टर खोजेर देखाइहाल्नुपर्छ र जसले ओखतीमूलो गरेर बालकलाई बचाइदिनेछ । अनि बालक तंग्रिहाल्नेछ , कथंकदाचित् त्यस डाक्टरलाई फेला पार्न सकिएन अथवा तपाईं त्यस शहरमा नै बस्नुहुन्न जहाँ त्यो डाक्टर बस्छ भने त बालकको प्राण जाने नै भयो भन्ने सम्झनुभए फरक पर्दैन । सिर्फ मेरी पत्नीको मात्रै यस्तो विश्वास थिएन, हाम्रो वर्गका सबै महिलाहरू यस्तै नै विश्वास गर्छन्‌ । यसैउसले त जताततै उ यही सुन्नेगर्थी : ‘एकातेरिना सेम्योनोभ्नाका दुई जना बालबच्चा मेरर गए, किनभने उसले बेलैमा इभान जाखारिचलाई जँचाइन … इभान जाखारिचले मारिया इभानोभ्नाकी जेठी छोरीको ज्यान बचाइदिए । … पेत्रोभ परिवारमा जोईपोइ दुवैले डाक्टरको सल्लाह मानेर आफ्ना बालबच्चाहरूलाई लिएर बेग्लाबेग्लै होटलमा बस्ने बन्दोबस्त मिलाए र बालबच्चाहरू सबूतै छन्‌ । यदि उनीहरूले डाक्टरको रायसल्लाह नसुनेको भए उनका बालबच्चाहरू निश्चय नै मरेर जाने थिए । … फलानी आइमाईको बच्चा मरञ्च्याँसे थियो, तर डाक्टरको परामर्शअनुसार उसलाई दक्षिणतिर लगियो र बच्चा तन्दुरुस्त भैहाल्यो । … सबै जीवधारी प्राणीहरू झैँ मेरी पत्नी पनि आफ्ना बालबच्चाहरूको बारेमा सदासर्वदा चिन्तित रहनेगर्थी । यस्तो नहोस्‌ पनि किन्‌, जब कि डाक्टर इभान जाखारिचको सरसल्लाहमा नै आफ्ना बालबच्चाहरूको जीवन निर्भर छ र उनको रायसल्लाह तुरुन्त थाहा पाइहाल्नुपर्छ, कत्ति पनि ढीलासुस्ती गर्नुहुँदैन भन्ने नै उसको सोचाइ पनि थियो । परन्तु इभान जाखारिचले के भन्ने हुन्‌ त्यो चाहिं पहिलेबाटै कोही पनि थाहा पाउँदैनथ्यो । स्वयं उनलाई नै यो कुरा सबभन्दा कम थाहा थियो । आफ्नो ज्ञान शून्यको बराबर छ र उनी केही पनि मद्दत गर्न सक्तैनन्‌ भन्ने उनलाई राम्रैसित थाहा थियो । उनी खूब जान्दछन्‌ भन्ने मानिसहरूमा विश्वास परोस्‌ भन्नाखातिर उनी त जसरी-तसरी आफ्नो रोबरवाफ जमाइराख्न खोज्थे । यदि मेरी पत्नीको स्वभाव पशुहरूको जस्तो हुँदो हो त उसले यस्तो यन्त्रणा भोग्नु नै पर्नेथिएन । अनि यदि उसको स्वभाव पूर्णतया मानिसको जस्तो हुँदो हो त ईश्वरमाथि उसको पूरा श्रद्धा रहनेथियो र सबै भक्तिनीहरूले झैँ विचार गर्थी र भन्थी : ‘ईश्वरले दियो, ईश्वरले नै फिर्ता लियो । जे हुन्छ सो ईश्वरकै इच्छाअनुसार हुन्छ ।’ उसका बालबच्चाहरूको मात्रै होइन, सारा प्राणीमात्रको जीवन र मरण ईश्वरकै अनुकम्पामा निर्भर रहने कुरा हो र यो मान्छेको शक्तिबाहिरको वस्तु हो भन्ने पनि उसले सोच्नेथिई । अनि आफ्ना बालबच्चाहरूलाई रोगव्याधी र मृत्युबाट बचाउन सकिन्छ भन्ने विचारले न उसलाई सताउने थियो, न त यस्तो प्रयास नै गर्नेथिई । तर उसको धारणा त अर्कै पो थियो । ऊ के सोच्नेगर्थी भने उसका बालबच्चाहरू सबभन्दा नातागत र कमजोर छन्‌ र उनीहरूलाई असंख्य रोगब्याधिले पनि सताउन सक्छ । फेरि उनीहरूप्रति उसको मायामोह पनि असाध्य नै थियो, जस्तो आफ्ना बच्चाहरूप्रति पशुहरूको हुन्छ । यसको साथै ऊ के पनि ठान्थी भने उनीहरूको हितको उत्तरदायित्व समेत उसैउपर छ, यद्यपि उनीहरूलाई सुरक्षित राख्ने साधनहरूको ज्ञान चाहिं हामीलाई नभएर सिर्फ एक-दुई जना विद्वानहरूलाई मात्रै छ र उनीहरूको परामर्श र सहायता डक्कै रकम सुम्पेपछि मात्र पाउन सकिन्छ, तर त्यो पनि सांच्चै चाहिं होइन ।

बालबच्चाहरूको कारणले गर्दा न मेरी पत्नीको जीवन सुखी थियो, न त मेरै जीवन सुखद थियो । सिर्फ दुःख नै दु:ख थियो । अन्यथा हुनै पनि पो के सक्थ्यो र ? ऊ सदासर्वदा दुखित रहन्थी । हाम्रो बीचमा ठाकठुक परि नै रहन्थ्यो – कहिले इर्ष्याको कारणले गर्दा त कहिले सानोतिनो र नगण्य कारणले गर्दा । रडाको अथवा कलह शान्त भएपछि म प्रायशः कुनै किताब हातमा लिन्थे या त्यसै सोच्न थाल्थे- कतै अलिकति मानसिक शान्ति पाइहालिन्छ कि त भनेर परन्तु कुनै काम गर्न आँट्यो कि त एक्कासि खबर पाइन्थ्यो : ‘भास्यालाई वाकवाकी लागिरहेको छ, या माशालाई आउँमासी परेको जस्तोछ,या आन्द्रचुशाको आङभरि खटिरैखटिरा निस्केको छ ।’ बस्‌, सब आशा तत्कालै चक्नाचूर भइहाल्थ्यो । कहाँ जाने ? कुन चाहि डाक्टरलाई बोलाउने ? केटाकेटीहरूलाई कसरी अलग्याएर राख्ने ! त्यसपछि- ओखतीमूलो, थर्मामीटर र डाक्टर !…एउटा झमेला समाप्त हुन नपाउँदै अर्को झमेला शुरु भैहाल्थ्यो । सुव्यवस्थित र सुसँगठित पारिवारिक जीवनको त नामनिशाना नै थिएन । के थियो त ? मैले तपाईंलाई बताइहाले नि ! कहिले वास्तविक त कहिले काल्पनि खतराहरूबाट बच्नको लागि दौडधूप ! हामीकहाँ अदिकाशं परिवारहरूमा यस्तै स्थिति छ । मेरो परिवारको त खास हालत यस्तै थियो, किनभने मेरी पत्नीको स्वभाव सहजै विश्वासमा पर्ने खालको थियो । उसलाई बालबच्चाहरूको पनि ठूलो मायामोह थियो ।

यसप्रकार बालबच्चाहरू भएको हुनाले हाम्रो जीवन सुखी हुनुको सट्टा विषात्त बन्न पुगेको थियो । फेरि बालबच्चाहरू नै हाम्रो बीचमा बैमनस्यको नयाँ कारण बन्न पुगेका थिए । जति जति उनीहरू हुर्कदैंगए त्यति त्यति नै हाम्रो बीचमा कलह पनि बढ्दैगयो । कहिले उनीहरू कलहको कारण बन्न पुग्थे भने कहिले चाहिं कलहको विषय ! यति मात्रै कहाँ हो र? हाम्रो आपसी झगडामा हतियारको रुपमा पनि केटाकेटीहरूको प्रयोग हुन थाल्यो । हामी बच्चाहरूको पक्ष्य लिएर एक दोस्रोको विरुद्ध लड्नेगथ्यौं । हामी दुवैमध्ये हरेकको आ-आफ्नै प्यारो बच्चा थियो जसलाई हामी कलहको साधनको रुपमा उपयोग गथ्यौं । म खास गरी जेठो छोरो भास्यालाई विषय बनाएर झगडा गर्न तम्सिन्थें भने ऊ चाहिँ लीजालाई लिएर । अनि जब केटाकेटीहरू हुर्कदैगए र उनीहरूको व्यक्तित्वको पनि विकास हुँदैगयो त उनीहरूले पनि मेरो वा उसको पक्ष्य लिन लागे । त्यस बखत हामी दुवै उनीहरूलाई आ-आफ्नो पक्ष्यमा मिलाउने कोशिश गर्थ्यौं । यसले गर्दा ती बिचराहरूको ठूलो दुर्दशा हुनजान्थ्यो, परन्तु हाम्रो बीचमा स्थायी युद्ध चली नै रहन्थ्यो र हामीलाई केटाकेटीहरूको बारेमा विचार गर्ने फुर्सद पनि हुँदैनथ्यो । जेठी छोरीले मेरो पक्ष्य लिन थालेकी थिई भने जेठो छोरो उसको पक्षमा मिल्न पुगेको थियो । भास्याको अनुहार पनि आमाकै जस्तो बान्की परेको थियो र उसलाई ऊ बढी माया पनि गर्थी । म भने उसलाई अक्सर घृणा गर्न लागिसकेको थिएँ ।”