साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपालमा आधुनिक गीत कसरी बन्यो ?

प्रकाश सायमी

 

लेखसार

bahulako diary small and inside post
प्रकाश सायमि

नेपाली गीतको प्रारम्भिक स्वरूप लोकगीत नै हो । लोकगीतकै भाका र भावबाट एउटा विशिष्ट कालखण्डमा आएर आधुनिकताका मानकहरूसँग सापेक्ष रही रचना भएका गीतलाई आधुनिक गीत भनिएको हो । गीतमा एकातिर शब्द–संरचना र अर्कोतिर प्रयुक्त शब्दको अर्थका तहमा हुने फराकिलो युग चेतनासँगै गीतमा अन्तर्निहित नवीन सङ्गीत शैलीका आधारमा पनि गीतमा आधुनिकताको चरण निर्धारण गरिन्छ । प्रस्तुत अध्ययनमा नेपाली लेख्य गीतको पृष्ठभूमि र त्यस सम्बन्धमा गीत रेकर्ड र गायनका आरम्भ र विकासलाई समेत आधार मानी विश्लेषणको ढाँचा तयार पारिएको छ । नेपाली गीतमा आधुनिकताको मापनका निम्ति नेपाली परिवेशमा बढ्दै गएको बाह्य प्रभाव र नेपालभित्र पनि यथार्थका सामाजिक, राजनीतिक घटनाक्रमसँगै संस्कृति र परम्परामा सुधारका अपेक्षा र अवधारणा लिएर उपस्थित भएका परिवर्तनगामी चिन्तनका पक्षबाट विकसित भएका गीतलाई आधुनिकताको आधार मानी अध्ययनलाई अघि बढाइएको छ ।

 

सूचक शब्दहरूः आधुनिकता, गीत–सङ्गीत, स्थानान्तरण, दिक्–काल, सम्बन्धीकरण, रेकर्डिङ

 

विषय परिचय

रचनाका आधारमा गीतका दुई पक्ष हुन्छन्— साहित्यिक र लोकगीत । ती दुवै गीत एक सिर्जनात्मक शैलीमा संरचनात्मक माध्यमबाट गाइन्छ । तिनको व्याख्या राष्ट्रको भौतिक विकास, भूगोलैतिहासिक आधारमा परिवर्तित र विकसित हुँदै गएको देखिन्छ, विशेषतः राष्ट्रको परिवर्तनसित त्यस मुलुकको गीत–सङ्गीतले कोल्टो फेर्दै गरेको पाइन्छ ।

शास्त्रीय सङ्गीत कुनै पनि मुलुकको ऐतिहासिक सङ्गीत मानिन्छ भने आधुनिक सङ्गीत समय र कालअनुसार देश, देशीय स्वभाव, स्थानान्तरण, पुनर्वास, परर्राष्ट्र सम्बन्धीकरण, मानव–जीवन, मानवीय जीवनको मूल्य, मान्यता र संघर्षमा यसको उत्थापन भएको पाइन्छ । आधुनिक सङ्गीत दिक्, काल र गतिविधिको आधारमा सिर्जित हुन्छ, त्यसैले यसलाई समकालीन सङ्गीत पनि भनिन्छ । आधुनिक सङ्गीतको विकास बहस, विचारको विनिमय, सोचाइको अभिव्यक्ति, साङ्केतिक माध्यम र संवादको आधारमा भएको देखिन्छ ।

आधुनिक सङ्गीत अन्य सङ्गीतभन्दा सुगम मानिन्छ र यसलाई सुगम सङ्गीत पनि भनिन्छ । यो कलात्मक पक्षमा आधारित हुन्छ र प्राविधिक पक्ष यसको माध्यम वा छनौट मात्र हो । जीवनको अभिव्यक्तिबाट स्थापित यो विधा अरू माध्यममा आश्रित नभईकन र आफ्नो ऊर्जामा परिवर्तन नगरीकन आफ्नै निर्माणाधारमा रहेर आफ्नो निजत्व सुरक्षित राख्दछ । नाचगान र मनोरञ्जनप्रति नेपाली समाजको लगाव प्राचीनकालदेखि नै रहिआएको देखिन्छ । त्यही समृद्ध परम्परालाई पछ्याउँदै आधुनिक नेपाली गीत–सङ्गीतको विकास र विस्तार भएको हो ।

गीतको प्रकाशन र प्रसारणको आरम्भ इतिहासको अलग अलग समयमा भएको छ । नेपाली आधुनिक गीत लेखनको समय स्पष्टतः मोतीराम भट्टबाट सुरु भएको छ भने रेकर्डिङ र प्रसारणका हिसाबले यस विधाको आरम्भ लगभग सबा सय वर्ष पूरा हुँदै छ । यस अन्तरालमा धेरै साङ्गीतिक हस्तीहरूको उदय भयो र आधुनिक नेपाली सङ्गीतको प्रवद्र्धनमा तिनले उल्लेखनीय योगदान पु¥याए । विभिन्न शैली, ढाँचा र परम्पराको उदय र प्रयोग यस अवधिमा भयो ।

आदि गायक मानिएका सेतुरामको रेकर्ड भएको भजन ‘राम प्यारा छन्’ (वि.सं.१९६५) लाई नै आधुनिक नेपाली गीतको प्रसारणमा आरम्भ विन्दु मानिएको छ । त्यस समयदेखि हालसम्मको यात्रामा देशमा अनेक परिवर्तनहरू आए— राजनीतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक अनेक । यिनै परिवर्तनहरूमा परिवर्तनको सहयोद्धा र परिवर्तनको संवाहक संवेदना बोकेर यात्रारत गीत–सङ्गीतको ऐतिहासिक निरन्तरतामा आधुनिक नेपाली गीतको महत्त्वपूर्ण परम्परा रहिआएको छ । यही परम्पराका आधारमा कालिक चेतनाको अध्ययन गर्ने प्रयास यस लेखमा गरिएको छ ।

 

अध्ययनविधि

प्रस्तुत अध्ययनका निम्ति पुस्तकालय कार्य तथा क्षेत्रकार्यबाट सामग्री सङ्कलन गरिएको छ । यसरी नै नेपाली आधुनिक गीत–सङ्गीतका पूर्वकार्यहरूबाट प्राप्त सन्दर्भको प्रयोग गरिएको छ । यसरी नै गीतको शब्द रचना र सङ्गीत–गायनका दुवै पक्षबाट नेपाली गीतको आधुनिकतासम्बन्धी तथ्यहरू जम्मा गरी विश्लेषण विधिमार्फत यस लेख तयार पारिएको छ । विभिन्न सन्दर्भ र अन्तर्वार्ताको पनि

पृष्ठभूमि

आधुनिक नेपाली गीत लोक गीतको पृष्ठभूमिबाट आएको गीत हो । यसको जन्म भने गीतिकाव्यको कोखबाट भएको देखिन्छ । लोक साहित्यमा लोक गीतको कोखबाट लोक कविता जन्मिएको पाइन्छ भने आधुनिक गीतको जन्म कविता वा काव्यको कोखबाट भएको देखिन्छ । कविताकै एउटा उपविधा मानिएको गीतले कविता वा काव्यकै पङ्क्ति वा श्लोकमा रहेको सङ्गीतात्मकताबाट विशिष्टता प्राप्त गर्दै आधुनिक स्वरूपमा आइपुगेको देखिन्छ । यो आधुनिकता प्राप्तिका अनेक चरणहरू छन् । शिष्ट वा लेख्य गीति परम्परामा प्रथम कवि मानिएका सुवानन्ददासको कविता पृथ्वीनारायण (१८२६) देखि हाजिरमान राईको मीठा–मीठा नेपाली गीत (सन् १९०१) पूर्वका थुप्रै फुटकर कविता, लामा कविता र काव्यकृतिहरू गीतिकाव्यका रूपमा आधुनिक नेपाली गीतको पृष्ठभूमि तयार पार्ने आधारभूमि बनिसकेको देखिन्छ । यसक्रममा यदुनाथ पोख¥यालको स्तुति पद्य, वसन्त शर्माको समुन्द्र लहरी, इन्दिरसको गोपिका स्तुति लगायत गुमानी, हिनव्याकरणी विद्यापति, भानुभक्त आचार्य, ज्ञानदिलदास आदिका मौलिक तथा अनुदित कविता–काव्यमा पाइने वीर, करूण, शान्त र भक्ति भावका गीति लयको विशेषता र विशेष गरी मोतीराम भट्टबाट रचित माध्यमिककालीन पद्य(गीत र गजल)ले आधुनिक गीतको आधार भूमि तयार भएको देखिन्छ ।

नेपाली गीतको पहिलो सङ्कलन हाजिरमान राईको मीठा–मीठा नेपाली गीत (सन् १९०१) नै हो, जुन पहिलो संस्करण पारसमणि प्रधानको पुस्तकालय आगलागी हुँदा जोगाउन नसकिएको र पछि सन् १९०८ मा दोस्रो संस्करणका रूपमा छापिएको थियो (त्रिपाठी र अन्य, २०६६, पृ १०२ ) । यता नेपालमा सेतुरामको पहिलो गीत १९६५मा रेकर्ड भएको मानिन्छ । यसरी प्रकाशन र प्रसारण दुवै माध्यमबाट आधुनिक नेपाली गीतको आरम्भ लगभग एउटै दशकबाट भएको देखिन्छ । यसरी शास्त्रीय गीतका रागहरूमा आधारित हुँदै लोकगीतका सामान्य लयलाई छाड्दै विशिष्ट किसिमका सङ्गीतमा आबद्ध भएर आधुनिक प्रविधि र सङ्गीत उपकरणका साथ प्रस्तुत हुने गीतहरू सं. १९६० को दशकमा आरम्भ भई २००७ सालपछि उर्वर रूपमा प्रकट हुन थालेको देखिन्छ र ती गीतका शैलीलाई सुगम शैली पनि भन्न थालिएको पाइन्छ । तिनै गीत नै आज भनिने गरिएका आधुनिक गीत हुन् ।

नेपाली गीतको आधुनिक कालको समयावलोकन गर्दा यो समय असी वर्षभन्दा माथि (१९९१–२०७७) विस्तारित रहेको देखिन्छ र यो क्रम जारी छ । नेपाली आधुनिक गीतले प्रविधिसँग निकट हुने मौका पाउनुका साथै आधुनिक समयका विविध विशेषताहरू भएका गीति वाणी प्रकट गर्न थालेका आधारमा आधुनिकताको मान्यता यस कालावधिले पाएको हो । यस प्रवृत्तिको प्रारम्भ परिष्कारवादी र शृङ्गारवादी धारा गौण भई स्वच्छन्दतावादी धाराको उदय भएदेखि यताको आजसम्मको समय नै आधुनिककाल हो । नेपाली गीतमा एकातिर अत्यधिक लोकधारका गीतहरू र अर्कोतिर अत्यधिक शास्त्रीय छन्दमा कुँदिएका पूर्वीय परम्पराका गीति–कविताहरू यी दुवैबाट छुट्टिएर जीवनका अनेक भोगाइ र परिस्थितिहरूका सापेक्षतामा प्रेम, वात्सल्य, करूणा लगायत युगीन चेतनालाई समेत प्रकट गर्ने आत्मनिष्ठ अनुभूतिका भाव र लयको प्रधानता दिने उन्मुक्त गीतकारिताले आधुनिक नेपाली गीतको विशिष्ट मार्ग बनाएको देखिन्छ ।

नेपाली गीतमा आधुनिक भाव र शिल्पको प्रवेश गराउने गीतकारहरूमा देवकोटा प्रमुख छन् भने सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, केवलपुरे किसान, जनकप्रसाद, हुँमागाईं, गोकूलप्रसाद जोशी, भूपी शेरचन, माधव घिमिरे, प्रेमविनोद नन्दनलगायतका स्रष्टाहरू यसका अगुवाहरू हुन् ।

नेपाली गीत–गायनमा कोलकत्ताको प्रभाव

नेपाल र नेपालीलाई गीत सुनाउने पहिलो काम काठमान्डूस्थित भोटाहिटीका सेतुराम श्रेष्ठले गरेका हुन् । सेतुरामले भारतको कोलकत्तामा गएर गीत रेकर्डिङ गराएको इतिहास नै नेपाली आधुनिक गीतको अहिलेसम्म प्राप्य इतिहासको सुरक्षित दस्तावेज हो (सायमी, २०६६, पृ.२ ) । गायक सेतुरामले नेवार भाषाको ‘राजमती कुमति जिके व सा पिरती’ लगायत अन्य छ वटा गीत रेकर्ड गराएका थिए । साहु जनकबहादुर एन्ड सन्स्का निम्ति उनले मोतिराम भट्टको रचनाको ‘यता हेर्यो यतै नजरमा राम प्यारा छन् ..’ रेकर्ड गराएका हुन् ।

काठमान्डू कमिःलाछीको भजन मण्डलीको समूहमा गाउने सेतुरामले मौलिक स्वभाव र शैलीको लोकलयमा आधारित भएर गाएको त्यो गीत नै नेपाली गीतको पहिलो श्रव्य गीत भएको मानिन्छ ।

भारतको कोलकत्तामै गीत रेकर्ड गराउनुको प्रमुख कारण त्यतिबेला भारतको कोलकत्तामा बाहेक अन्यत्र रेकर्डिङ् कम्पनी थिएनन् । विश्वप्रसिद्ध रेकर्डिङ् कम्पनी ग्रामोफोन सन् १९०० मा कोलकत्तामा आएर स्थापित भएको थियो । ग्रामोफोन एन्ड टाइपराइटर लिमिटेडका पहिलो एजेन्ट जोन वाट्सन हावड ७ जुलाई सन् १९०१ मा भारत आएर सम्पूर्ण देश भ्रमण गरेर अन्ततः कलकत्ताको ६।१ चौरँगी लेनमा यसको कार्यालय स्थापित गरे । त्यसपछि उनले भारत ठूलो देश भएको र त्यहाँ राम्रो बजार बनाउन सकिने भनेर लन्डनस्थित आफ्नो कार्यालयलाई पत्र लेखे । त्यसपछि लन्डन अफिसले हावडलाई प्रतिउत्तरमा गेइसवर्गलाई फ्रेब्रुरीको पहिलो सातासम्म पठाएर रेकर्डिङ शुरु गर्ने योजना बनाइरहेको जानकारी पठाएको देखिन्छ । अन्ततः गेइसवर्ग सेप्टेम्बर २८, सन् १९०२ मा कोलकाता आईपुगेको इतिहासमा उल्लेख छ । फ्रेडरिक विलियम गेइसवर्ग आएर कोलकत्तामा रेकर्डिङ् स्टुडियो सुरु गरे पछि उर्दू, हिन्दीमा गीत रेकर्ड गर्न प्रारम्भ गराए । ( सम्पत, सन् २०१०, पृ. ७७ )

सन् १९०२ को नोभेम्बर मा सिँगल साइडमा सात ईञ्चीको डिस्कमा फ्रेडरिक विलियम गेइसबर्गले पहिलो पटक भारतीय गायिका मिस गौहर जान (पहिलो डान्सिङ गर्ल) को ‘डगर ना जानी जाबी कैसे तूने’ रेकर्ड गराएको इतिहास नै पहिलो आधार मानिन्छ । यसपछि कोलकत्तामा गीत रेकर्डको इतिहास सुरु भयो । गौहर जानको गीत रेकर्ड भएको छःवर्षपछि सेतुराम कोलकत्ता पुग्छन् । यसपछि नेपाली संगीतको रेकर्डिङ इतिहास सुुरु हुन्छ ।

सेतुरामले गीत रेकर्ड गराएपछि नेपाली जनसमाजमा यसले गहिरो प्रभाव पार्यो भने गेइसबर्ग हिउँदमा आराम गर्न कोलकत्ताको निकटवर्ती बस्ती दार्जीलिङमा गएर बस्न थालेपछि उनलाई नेपाली भाषामा गीत संगीत सुन्ने आदतको विकास हुँदैगयो, यो नै नेपाली गीतको विस्तारका निम्ति एउटा सुखद संकेत भयो । भारतमा औदका नबाब वाजिद अली शाह, मैसुरका राजघरानाका शासकको संगीतमा रुचि र तिनीहरूसित तत्कालीन नेपालका राणा शासकको निकटताको कारण पनि नेपालका दरबारमा गायन संगीतको प्रभाव बढ्दै गयो ।

गीतमा आधुनिकताको गणित

गायनका हिसाबले सेतुरामपछि बीस वर्षभित्र धेरै गायक गायिका आए तर रेकर्डिङका हिसाबले मित्रसेन थापा मगर, उस्ताद बद्री, उस्ताद साइँला, गायिका मेलवादेवीको नाम उच्चकोटिमा देखिन्छ । मेलवादेवीले लोकलयमा ‘सवारी मेरो रेलैमा ..’, ‘आऊ बसौँ पियारी मिर्मिरे झ्यालैमा …’ जस्ता गीत रेकर्ड गराइन् । मेलवादेवीले त्यतिबेलाका सामाजिक अभियन्ता शुक्रराज जोशीको रचनामा ‘न घरलाई घर कहिन्छ, नारी नै घरको द्वार हो’ गाए पछि रचनाकारिताका हिसाबले आधुनिक गीतको सामान्य परिचयसम्म देखियो । जोशीले आफ्नो नाटक स्वर्गको द्वारको निम्ति लेखेको यो गीत रचनापक्षका हिसाबले स्वच्छन्द रचना भए पनि यसको रेकर्डिङमा गायिकाले शास्त्रीयता र लोकशैली मिश्रित गरेर गाइन् तर आधुनिक गीतको दर्जा यसले पाउन सकेन ।

यसअघि नै गायक मित्रसेनका गीतलाई भारतको प्रसार भारतीले झ्याउरे गीत भनेर प्रचारप्रसार गरिसकेको थियो । नेपाली गीतलाई रेकर्डिङको हिसाबले आधुनिकता भित्र्याउने कसरतमा नेपाली संगीतकर्मी दत्तचित्त भएर लागिरहे । आधुनिकताको अर्थ यतिबेलासम्म नेपाली जनस्थानमा सुसूचित वा समुचित रूपमा आइसकेको वा आउन सकेको थिएन । सन् १९०५ कै हाराहारीमा जब जर्मन लेखक तथा चिन्तक हरमन बाहरले पश्चिममा आफ्नो विचार अभिव्यक्त गरे, उनले भन्न खोजेका थिए, “आधुनिकता नै हाम्रो कर्तव्य हो (बाहर, सन् १९०५, पृ. २५ ) ।”

हाम्रा कलाकर्मी वा सामाजिक चिन्तकले पनि यसलाई अंशतः बुझे र अपनाएको मान्न सकिने आधार देखिन्छ । आधुनिकताको अर्थ स्वीकार्नु र त्यसलाई पछ्याउनु मात्र नभई त्यसमा आँशिकताको आधारमा आफू (सर्जक स्वयम्) वा सर्जकको समय सन्दर्भ गुँथिएको हुनु अनिवार्य हो भन्ने बुझिन्थ्या,े यसलाई निबन्धकार मोन्टेनले आफ्नो निबन्धमा स्पष्ट भनेका छन्, मेरो कृतिको विषय नै म हुँ, म अन्यथा आफ्नोबाहेक अरूको विषयमा अल्झिरहन चाहन्नँ (मोन्टेन, सन् १५०८, पृ.३) । नेपाली गायन संगीतमा सुरुवात देखि रचनामा प्रकृति र गायनमा लोकलय कायमै थियो, जहाँ देवकोटाको ‘हातको मैला सुनको थैला’ भन्दा माथि पुग्न नसकेको गीतलाई मास्टर रत्नदास प्रकाशले आफ्नो स्वरमा कवि माधव घिमिरेलाई पहिलो आधुनिक भनेर लेखाएको गीतमा प्रकृतिसँगै रचनाकारको आफू बाहिरको परिवेश थियो ।

झमझम पानी पर्यो असारको रात
बारीबाट बज्न थाल्यो मकैको पात …

यो आधुनिक गीत भनिए पनि महाकवि देवकोटाको सोह्र अक्षरे शैलीबाट बाहिर जान सकेको थिएन भने यसलाई लयमा आवद्ध गर्दा लोकलयको धार नै प्रमुख बन्न पुग्यो । मास्टर रत्नदास प्रकाश, मास्टर मित्रसेन र उनका पूर्ववर्ती गायक गायिकाले बनाएको बाटो तोड्न हाम्रो आफ्नो संगीतलाई हम्मे हम्मे पर्दै थियो, यही समय भारतीय संगीतमा विशेषत ः बाङ्ला संगीतमा आएको परिवर्तनले जो तिनका निकट वा सान्निध्यमा थिए, तिनलाई घनघोर प्रभाव पारेको देखियो ।

बङ्गाली जातिका कवि रवीन्द्रनाथ ठाकुरको एक विशेष सांगीतिक योगदानले भारतको मूलधारको संगीतलाई विस्तारै गति दिँदै गर्दा हिन्दी र अन्यभाषी संगीतमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्यो । र, बङ्गालीका नजीक भएर गीत संगीतमा साधना गरिरहेका कोलकत्ताका नेपाली संगीतकर्मीहरूमा यसको स्पष्ट छाप त्यतिबेला पर्या,े जब कोलकत्ता अलिपुर निवासी गोपाल श्रेष्ठले नेपाली गीतमा भव्य र चमत्कारपूर्ण तरिकाले आधुनिकता भित्र्याए ।

संगीतकार गोपाल श्रेष्ठ कोलकत्तामा नेपाली र अन्य मूलका संगीत अनुरागीलाई संगीतको विद्या दिन्थे । उनको ‘स्कूल अफ थट’ भनेकै गायकीको आधारमा शास्त्रीयताको गमक र रचनाकारितामा शब्दको छनौट र चयनमा पृथक भाव सम्प्रेषण थियो । उनलाई त्यतिबेला उनकै समयवयी भाञ्जी उर्मिलाकुमारी श्रेष्ठको गायकीले अपार साथ दियो, जब उर्मिलाकुमारीले नवीन वर्देवाको शब्दमा ‘सन्ध्या तिम्रो रिमझिमतामा दुःखै दुःखले भरिएको छ …’ गाइन्, यस गीतले नेपाल र नेपाल बाहिर एक रसमा आधुनिकताको विहङ्गम झल्को दियो । यस अर्थमा नेपाली सुगम संगीतमा आधुनिकता भित्र्याउने श्रेय नै गायिका उर्मिला कुमारी श्रेष्ठ र संगीतकार गोपाल श्रेष्ठलाई जान्छ ।

यस गीतमा शब्द त पुरानै शैलीको भए पनि संगीतकार गोपाल श्रेष्ठ र गायिका उर्मिलाकुमारीले दैलो पार गरेर अगि बढेका छन् । नृत्तत्वशास्त्री लेवी स्ट्रोसले भनेको सही पनि हो, कला आफैमा एउटा भाषा हो । उनले स्पष्ट भनेका छन्— मिथक, संगीत, नृत्य आदि कलाहरू भाषाजस्तो सम्प्रेषणीय छैनन् , ध्वनिद्वारा एक संगीतकार जे कुरा भन्न चाहन्छ त्यसको धेरै अर्थ सुन्ने वालाको व्याख्यामा निर्भर पर्दछ । जब कि भाषाको पूरा अर्थ भन्नेवालामा निर्भर गर्दछ । लेबीस्ट्रोस भाषालाई एकप्रकारले कविताको कच्चा माल मान्दछन् ।

उनले भनेजस्तै गीतमा पनि त्यही कुरा लागू हुन्छ । कविता त्यस समय संगीत वा मिथक को अवस्थासित निकट हुन्छ, जब त्यो शब्दको उनको प्रचलित भाषा यी सन्दर्भबाट विचलित गरेर एक नयाँ कवितायी सन्दर्भ दिइरहेको हुन्छ, अर्थात् भाषाबाट नै कला बन्न जान्छ । यसैलाई लेबीस्ट्रोसले कविताको अलग भाषा (मैटा लैँग्वेज) भनेर स्वीकारेका छन् ।

संगीतकार गोपाल श्रेष्ठले ल्याएको संगीतमयी आधुनिकतालाई गायिका उर्मिलाकुमारीको गायकीले भन्दा स्रोताले स्वीकारेको स्वीकारोक्तिले त्यहाँ पुर्याएको छ, जहाँ नवीन वर्देवाले दिएको नवीनता रचना सन्दर्भ नभईकन प्रत्यक्ष संवादको स्वरूप बन्न पुगेको छ । शब्द र संगीतका बीचको सम्बन्धको चिन्ता पश्चिममा मलार्मे तथा अन्य प्रतीकवादीहरुले पनि नउठाएका होइनन् ।

नेपाली कवितामा विसं १९९८ मा गोपालप्रसाद रिमालले आधुनिकता भित्र्याएर गद्य कविताको सहज मार्ग बनाई सकेका थिए । यही समय गोपाल श्रेष्ठले यस धाराको यो गीत ल्याए जसलाई नेपाली संगीत समाजले उही बाजा, उही वाद्य संयोजनमा एक आधुनिक जोड देखे , यसलाई नै नेपाली संगीतको टर्निँग प्वाइन्ट मानिन्छ ।

हिसाबले हेर्दा मेलवादेवी, हिनादेवी, बेबी खूश्बू, चाइना पातली आदिले गाएका गीतमा नेपाली स्वाद त थियो तर देखिने गरी आधुनिकता भन्ने कलेवर थिएन । मास्टर मित्रसेनको गीतलाई प्रसार भारतीले झाम्रे गीत भने पछि त्यही गीतको शैली (१६ अक्षरीय अन्तरालमा) देवकोटाको मुनामदनदेखि मास्टर रत्नदास प्रकाशका गायनसम्म चलिरहे ।

आधुनिक गीतको परिनिर्माण

कालखण्डको हिसाबले मास्टर मित्रसेन थापा मगर र मास्टर रत्नदास प्रकाशको समय नेपाली गीति गायनको एउटा मिलन विन्दू मान्न सकिन्छ । मित्रसेन र प्रकाशको स्वाद र शैलीमा जब धर्मराज थापा गायकका रूपमा आए उनले मूलधारको संगीतलाई न्यायसंगत रूपमा लोक बिम्वसँगै जोडे, यो उनको आफ्नो जन्मथलोको पहिचान अनि ज्ञानको सीमितता पनि होला भन्न सकिने आधार छँदै छन् ।

धर्मराज थापा र उनका समकालीन लोककवि अलि मियाँ, गोकुल जोशीका गीतमा पुरै पहाड र पहाडी जीवनको विम्ब नै हुन्थ्यो । धर्मराज थापाको गायन र रचना शैली पनि त्यसबाट पूर्णतर प्रभावित नै रह्यो । धर्मराज थापा, उस्ताद भैरववहादुर थापा, उस्ताद गोविन्दलाल, उही गोविन्द लाल अनि नातिकाजी सम्मको युग आइपुग्दा पनि आधुनिकताको खोजीमा गीतमा भन्दा रचनामा मात्रै प्रयोग भइरहेका थिए । रेडियो नेपालका प्रथम संगीतकार नातिकाजी श्रेष्ठको पहिलो रेकर्डेड गीत ‘पहाड बसी वनमा खेली हुर्केकी अकेली …’ लाई लोक प्रभावले छ्याप्पै छोपेको थियो । विशेषतः उनको सांगीतिक संरचना नै त्यही ढाँचाको थियो । पछि तिनै नातिकाजीले नेपाली संगीतमा आधुनिकता भित्र्याउनमा कुशलतापूर्वका मिहेनत गरे ।

नातिकाजी र उनका समकालीन अनि उनका अनुयायीले त्यस समय नेपाली संगीतमा विस्तारै बाजाको प्रयोग अनि संयोजनको शैलीमा आधुनिकता भनिने विषयलाई साधारणीकरण गर्न खोजे जुन यथासमय सम्भव थिएन ।

कोलकत्ताका संगीतकार गोपाल श्रेष्ठको अर्को गीत ‘शहनाई बज्यो पहाडमा’ आए पछि स्वभावतः फेरि यसको बलियो पकड दार्जीलिङको हातमा गयो ।

दार्जीलिँगमै बसेर त्यहाँको आर्ट एकेडेमीमा काम गरिरहेका अम्बर गुरुङले समला तालमा भीमपलासी रागमा तैयार पारेको ‘नौलाख तारा उदाए’ पछि जुन ख्याति कमाए, त्यसपछि उनले नेपाली गीतमा अत्यधिक नयाँ प्रयोग ल्याए, जसमा उनको एउटा विशेष गीत हुन गयो । उनको आफ्नै रचना र संगीतमा रहेको त्यो गीत यस्तो आधुनिक गीत बनेको थियो ः

म अम्बर हुँ तिमी धरति
लाखौँ चाहे पनि हाम्रो मिलन
कहिल्यै नहोला …

आत्मकथात्मक यस गीतमा मोन्टेनले भनेजस्तै सर्जक आफै आफ्नो कथा भन्दै थिए तर उनको भनाइ कथा जस्तो नभएर संवाद शैलीमा थियो ।

अम्बर गुरुङको यो गीत पछि बच्चुकैलाश, प्रेमध्वज प्रधान, माणिकरत्न, नारायणगोपाल, तारादेवी, कोइलीदेवीले विस्तारै आधुनिकताको नयाँ झलक दिन थाले । रेडियो नेपालको स्थापनापछि नेपालभित्र र नेपाल बाहिर भारतमा आकाशवाणी खरसाङले नेपाली गीतको श्रीवृद्धिमा जुन छलाङ लगायो, त्यसमा पौडी खेल्दै कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, रञ्जीत गजमेर, अरुणा लामा, दिलमाया खाती देखिए ।

आधुनिक गीतको परिभाषामा अल्झिरहेको नेपाली गीतलाई प्रेमध्वज प्रधानको मुम्बई ( त्यतिबेला बम्बई) रेकर्ड गरिएको आठओटा गीतले नयाँ तरंग ल्यायो भने बच्चुकैलाशको कोलकत्तामा रेकर्ड गरिएको ‘एट ब्युटिफूल सङ्स’ नेपाली गीतको स्वरूप बदल्नमा अहम् भूमिका निर्वाह गर्यो ।

अम्बर गुरुङको ईश्वरवल्लभ रचित ‘मलाई भाँचिदे’ होस् वा वैरागी काइँला रचित ‘खोजिरहेछु निस्तार ..’ ले आधुनिकताको परिभाषालाई ठीक व्याख्या गर्न खोजे जस्तो गर्दै गर्दा बच्चुकैलाशको ‘आकाशबाट म उडी आएँ भने ..’, प्रेमध्वज प्रधानको पहिलो गीत ‘तिमी आयौ मेरो दिलमा ..’ गीतले आधुनिकताको केही नयाँ परिचायक पक्ष दृश्यांकित भएको छ । प्रेमध्वज प्रधानले आफ्नै संगीतमा गाएको रवीन्द्र शाहको यो गीतमा नजानिँदो पाराले पश्चिमीया गायक बे्रन डेरेन र अर्केष्ट्राको ‘कम सेप्टेम्बर’ को मधुर प्रभाव थियो, यो नै यसको पूँजी बन्न पुग्यो ।

यसैबेला मेचीपारिका संगीतमा शरण प्रधानमा अङ्ग्रेजी ‘काउव्वाय’ फिल्मको छाप भेटियो, संगम समूहका शरण प्रधानको संगीतकारिताका बारेमा साहित्यकार पिटर जे कार्थकले भनेका छन्, “शरणको यहाँ फूल नखिलेछ … डेड म्युजिकबाट प्रभावित थियो ।” डेड म्युजिक भनेको यहाँ मृत संगीत नभई संरचनाको आधारमा डी मेजर, ई मेजर, ए मेजर, र डी मेजर अर्थात् डीईएडी म्युजिक भन्ने बुझिन्छ । दार्जीलिङमा काउब्वाय् शैलीको फिल्म ‘द म्याग्निसिफेन्ट सेभेन’ प्रदर्शन भएपछि रचिएको ‘हेर न हेर कान्छा’ बोलको गीतमा दार्जीलिङको बतासे डाँडाको पनि देन छ । ( सायमी, विसं २०५८, पृ २५)

यो युगल गीतमा भित्रिएको सहभागीतापूर्ण आधुनिकतालाई गोपाल योञ्जनले आधुनिकताको नयाँ धार भनेका छन् । संगीतकार शरण प्रधान र उनका समवय रञ्जीत गजमेर दुवै त्यो बेला संगम समूहमा आबद्ध थिए । शरण र रञ्जीतका साथ गीतकार जीतेन्द्र वर्देवा, गायिका अरुणा लामा, गायक मणीकमल छेत्री, अजय गुरुङ सबै आबद्ध थिए भने हिमालयन कला मन्दिरमा गोपाल योञ्जन, कर्म योञ्जन, गायिका दिलमाया खाति, गीतकार नगेन्द्र थापा आदि आबद्ध थिए । यी सबै नेपाली गीतमा आधुनिकता खोजिरहेका थिए । आधुनिकताको प्रसंगमा संगीतकार शरण प्रधानले भनेका छन्, “हाम्रो दार्जीलिङे नेपाली संगीतमा यस्तो आधुनिकता ल्याउने र हामीलाई बाटो देखाउने श्रेय त अम्बर दाइलाई दिइनुपर्छ तर यसरी आधुनिकीकरण गरेर पाश्चात्य संगीतको हार्मोनाइजेशन र काउन्टर अनि रिद्मका सहयोगले हाम्रो गीतमा मिठास भर्न पनि असाध्यै असल हुन जान्छ, जसरी ‘मलाई माफ गरिदेउ’ भन्ने गीतमा गोपाल योञ्जनज्यूले एउटा बल्दो उदाहरण थप्नु भएको छ । ” ( सायमी , विसं २०५८ , पृ.३३)

शरण प्रधानले गोपाल योञ्जनको उदाहरणीय भूमिकालाई स्वीकारेका छन् भने आधुनिकताको प्रसंगमा निवन्धकार शंकर लामिछानले भनेका छन्, “एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतमा मूड सृजन गर्ने देन दार्जीलिङ तथा कालिम्पोंग कै बढी छ । काठमान्डूमा नातिकाजी र अन्य झल्याक् झल्याक् देखा पर्ने एक दुई व्यक्तिबाहेक हाम्रो संगीतमा नयाँ मोड दिने काम प्रवासी भाइले नै गरे ।” ( लामिछाने, विसं २०५८ , पृ.१६ ) नेपालबाहिरको प्रवासेली संगीतका बारेमा नेपालभित्रका संगीतकर्मी पनि भावपूर्ण रूपले परिचित थिए । यहाँ पुष्प नेपाली, बच्चुकैलाश, नातिकाजी, शिवशंकर, प्रेम–माणिक सबैको योगदान सह्राहनीय छ । तर नेपालबाहिर अम्बर गुरुङको योगदानसँग तत्कालीन शासक, श्रोता, शुभेच्छुक सबै परिचित थिए । लामिछाने (२०१९) ले ‘विम्ब प्रतिविम्ब’मा लेखेका छन्, “मसँग चर्चा हुँदा काठमाडौँका संगीतप्रेमीहरू भन्छन्, दार्जीलिङका गीतमा रवीन्द्र संगीतको प्रतिध्वनि आउँछ । खासगरी अम्बरका रचनामा । आँशिक रूपमा यो सत्य पनि हो, कारण वातावरण र शिक्षाको प्रभाव पर्यो होला उसमा प्रारम्भिक कालमा । तर त्यो यदि भाव पक्डिने शैली तिखारिने एक साधन मात्र, एक खुड्किलो मात्र भएको छ भने त्यसले हाम्रो संगीतलाई एकै अर्को विश्वमा दृष्टिगोचर गर्ने गर्छ । ..” ( लामिछाने, विसं २०५८ पृ.१७)

अम्बर गुरुङले आफ्नो सांगीतिक यात्रामा ‘नौलाखे तारा’ देखि नेपालको तेस्रो राष्ट्रगानसम्म संगीत गर्ने मौका पाए । अम्बरले आफ्नो संगीतकर्मका बारेमा नेपालको राष्ट्रगान ‘सयौँ थुँगा फूल …’ गरे पछि एलेक्स मार्शलसित भनेका छन्, “एकदिन मलाई मेरो परिवारले एउटा रिसोर्टमा लिएर गए, म बिरामीजस्तै हुँदै थिएँ । मलाई हिमाल हेर्ने ठाउँमा हार्मोनियम सहित छोडेर गए । दुईदिनसम्म केही हुन सकेन । र भएन पनि ।” ( मार्शल, सन् २०१५, पृ. ५१.५२ ) ‘रिपब्लिक अर डेथ’ पुस्तकका लेखक ऐलेक्स मार्शलले उनको सृजन कर्म र संगीतमा मूड सृजनका बिषयमा चर्चा गरेर त्यसबारे स्पष्ट पार्न चाहेका छन् ।

नेपाली संगीतमा आधुनिकता भित्र्याउनेमा नारायणगोपाल र गोपाल योञ्जनको मितेरी संगीतको अतुलनीय योगदान छ । मितेरी संगीतको युग सुरु हुनु अगि नै नातिकाजी, शिवशंकर, कोइलीदेवी, तारादेवी, प्रेमध्वज प्रधान, माणिकरत्न, बच्चु कैलाश, पुष्प नेपालीको योगदान पनि स्मरणीय छ ।

आधुनिकतामा शब्दको खोजी

नेपाली गीतमा आधुनिकता भित्र्याउनमा गायक, संगीतकारको जस्तै गीतकारको पनि अमूल्य योगदान छ । त्यसमा गीतकार ईश्वरवल्लभ, किरण खरेल, राममान तृषित, माधव खनाल भावुक, रत्न शमशेर थापा, रमेश धिताल, वैरागी काइँला, अगमसिंह गिरी आदिको अमूल्य योगदान छ ।

ईश्वरवल्लभका शब्दमा नातिकाजी अम्बर गुरुङ, गोपाल योञ्जन, शान्ति ठटालले गहनीय काम गरेका छन् भने किरण खरेलका शब्दमा नातिकाजी, शिवशंकर, प्रेम माणिकले खूब भावपूर्ण अवतरण गरेका छन् । गजल शैलीका गीत लेखेर आफ्नो खुबी देखाउन सफल भूमिका निर्वाह गर्ने गीतकार राममान तृषितका शब्दमा तारादेवी, शिवशंकर, नातिकाजी, माणिकरत्नको अमूल्य देन स्वीकार्न सकिन्छ ।

नेपाली संगीतमा आधुनिकता ल्याउन सक्ने क्रम अझै जारी छ ।

निष्कर्ष

नेपाली गीतको रचनागत पृष्ठभूमिको अध्ययन गर्दा गीति–काव्यबाट यसको निर्माणाधार तयार भएको देखिन्छ । प्रारम्भमा लेख्य गीतको सिर्जना हुनुअघि लोकगीत नै समाज र संस्कृतिको प्राणका रूपमा एकछत्र प्रचलनमा थियो । लोकगीत नै मनोरञ्जनको प्रमुख साधन थियो । भक्तिदेखि शृङ्गारसम्म, करूणदेखि प्रतिशोधसम्मका सबै भावहरू लोकगीतले व्यक्त गथ्र्यो । पछि नेपाली कविताको जन्मसँगै लोकगीतकै धारबाट छुट्टिएर लेख्य गीतको संरचना हुन थाल्यो । यसको पृष्ठभूमिमा गुमानी, हीनव्याकरणी विद्यापति, वसन्त शर्मा, ज्ञानदिलदास, भानुभक्त आचार्यआदि हुँदै मोतीरामको गजलकारिता र गीतिकाव्यमा प्रयुक्त श्लोकले गीतको रचनागत भूमि निर्माण गर्न सघाएको देखिन्छ ।

मोतीरामले आफ्ना नाटकमा गीतको प्रयोग गरेको देखिन्छ । उनकै प्रेरणाबाट लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, सुधा, नरदेव, शम्भुप्रसाद ढुङ्गेल, अंजद हुसेन, रत्न गजब आदिले मोती मण्डली बनाई गजलको रचना गरेको देखिन्छ, जुन गजलहरू सङ्गीत चन्द्रोदयमा सङ्कलित छन् । यसैक्रममा महानन्द सापकोटा, बालकृष्ण समले पनि स्वतन्त्र संरचनाका गीत सिर्जना गरेका छन् । हाजिरमान राईको ‘मीठामीठा नेपाली गीत’ त्यस्तै महत्त्वपूर्ण रचना मानिन्छ ।

बहादुरसिंह बरालका पाँच भागमा विभाजित ‘बरालको आँसु’ले पनि जातीय सुधारको वैचारिकता, देशभक्तिपूर्ण भाव, नीतिचेतनाजस्ता सारले भरिएका गीतहरू झ्याउरेकै भाकामा भए पनि भावमा आधुनिकता वा स्तरीयताका साथ प्रस्तुत गरेको पाइन्छ । यसअघि लेखिएका सवाई वा लहरी ढाँचाका गीतले पनि आधुनिक गीतको पृष्ठभूमि निर्माण गरेको देखिन्छ । मास्टर मित्रसेनका गीतले पनि आधुनिकताको जग हालेको मान्न सकिन्छ ।

आधुनिक गीतको खास उठान भएको समय नब्बेको दशक हो भने लक्ष्मीप्रसाद देवकोटा त्यसका केन्द्रीय गीतकार हुन् । उनले शास्त्रीय कविताको भार बहन गरिरहेको नेपाली काव्य जगत्मा सरल र जीवनको कारूणिक भावका मनमोहक गीतको बाढी ल्याएर झ्याउरेको महत्त्वलाई जनजनको जिब्रोमा गाइन सक्ने तुल्याए । मुनामदन (१९९२)द्वारा नेपाली गीति–तत्त्वलाई स्थापित गर्दै काव्यात्मक उच्चताका माध्यमबाट प्रकृति र जीवनका महागायक बन्दै कोमल र सुकुमार शब्दसँग गीतको बान्की मिलाएर उनले साधारण जनताको हार्दिकता समेट्न सक्षम भए ।

यसरी आधुनिक नेपाली गीतको आरम्भ मानवता, प्रकृति चित्रण, कल्पनाशीलताजस्ता विषयबाट आरम्भ भई विकासतिर लम्किएको देखिन्छ । यसलाई मलजल गर्ने काम सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, कोइलीदेवी माथेमा, युद्धप्रसाद मिश्र हुँदै शङ्कर लामिछाने, छिन्नलता, किरण खरेल, अलिमियाँ आदि गीतकारबाट भएको छ । १९६५बाट रेकर्डिङ प्रविधिको आरम्भ र विकासले नेपाली गीतलाई आधुनिकतातिर लैजान महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ ।

यसरी आधुनिकताको पहिलो मोड १९९०देखि २००७सम्म आइपुग्दा नेपाली गीतको एउटा निश्चित संरचनागत स्वरूप निर्माण भएको पाइन्छ । प्रजातन्त्रको उदय र रेडियो नेपालको स्थापनाले नेपाली गीतको उत्थानमा विशेष योगदान पु¥याएको देखिन्छ । गीत सङ्गीत र गायनको सजावटले बढी आस्वाद्य हुने विधा भएकाले यसका लागि माध्यमको ठूलो आवश्यकता पर्छ, जसको आंशिक पूर्ति गर्ने काम रेडियो नेपाल र त्यसपछि स्थापना भएको रत्न रेकर्डिङ्ले गरेको देखिन्छ । स्वच्छन्दतावादी देवकोटासँगै क्रान्तिकारी भावका सिद्धिचरण र यथार्थवादी र उत्साही गीतकार गोपालप्रसाद रिमालआदिका गीतले समाज विकासमा गति दिने नवीन भाव र शैलीका गीतको प्रयोग यही समयमा आरम्भ हुन थालेको देखिन्छ ।

विषयगत वैविध्य र प्रसारणगत आधिक्यले गीतप्रतिको अभिरूचि बढ्दै गएर २००७ देखि २०१९सम्मको आधुनिकताको दोस्रो मोडमा गीत सर्वप्रिय विधाका रूपमा जनतामा पुगेको छ ।

नेपाली गीतको सम्बद्र्धन तथा संरक्षण गर्दै अघि बढाउने क्रममा सरकारी तथा गैरसरकारी संस्थाका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, रत्न रेकर्डिङ संस्थान, चलचित्र संस्थान तथा नेपाल टेलिभिजनसमेतको ठोस योगदान रहँदै आएको देखिन्छ । यसरी नै गीतको विकासका लागि भएका सामूहिक प्रयासहरूमा राल्फा समूह र लेकाली समूहले निकै ठूलो योगदान पु¥याएको पाइन्छ । त्यसरी नै हाल आएर म्युजिक नेपाल तथा एफएम रेडियोहरूको योगदान उल्लेख्य रहेको छ । राष्ट्रिय रूपमा प्रतिभाको खोजी गर्ने, प्रतिस्पर्धा गराउने र नेपाल ताराजस्ता पदवी र पुरस्कारसमेतबाट सम्मान गर्ने आदि महत्त्वपूर्ण गतिविधिले गीत र गायनलाई मनोवैज्ञानिक रूपले नै सम्मानित पेशाको रूपमा अघि बढाउँदै लगेको देखिन्छ ।

तेस्रो मोड अर्थात् २०१९ देखि २०४६ भित्र देशमा आएको राजनीतिक आरोह–अवरोह, नयाँ नयाँ प्रविधि र विज्ञानको उन्नति, आर्थिक मन्दी, केन्द्रीकृत शासन प्रणाली र त्यसको विरोधको स्वर आदिले नेपाली गीतको रचनामा यथास्थितिको निरन्तरताका तुलनामा क्रान्तिकारी गीतहरू बढी लेखिन थाले । प्रेम र जीवनका, वियोग र व्यथाका गीतको आफ्नै सदावहार प्रकाशन र प्रसारणका अतिरिक्त युग सापेक्ष भावहरूको बुलन्दी र नयाँ नयाँ प्रविधिको प्रयोगले नवीन शैलीका गीतहरू बाहिर आएको पाइन्छ ।

यही तेस्रो मोडमा अम्बर गुरुङको नेपाल आगमन, तेस्रो आयामका हस्तीहरूको गीति–अभिरुचिलगायत नारायणगोपाल र गोपाल योञ्जनको मैत्रीपूर्ण क्रियाशीलताले आधुनिक नेपाली गीतमा गीत–सङ्गीत र गायनको स्वर्णिम आभा आभासित हुन पुगेको देखिन्छ । यसलाई बचाउने हस्तीहरू रत्नसमसेर थापा, ईश्वरवल्लभ, यादव खरेल, दीपक जङ्गम, दिव्य खालिङआदि स्रष्टाहरूले यसमा अहोरात्र चिन्ता गरिरहेको देखिन्छ ।

यही समयावधिमा देशमा आएका ठूलाठूला राजनीतिक परिवर्तन २०१७, २०३६ र २०४६का सापेक्षतामा गीत लेखिए र जनताहरूको मुक्तिका लागि विविध चेतनामुखी स्वरहरू बुलन्द हुन थाले । जनताका गीतहरू र रक्तिम समूहका गीतहरूले पछिल्लो समयको जनआन्दोलनको पृष्ठभूमि निर्माण गर्न चेतना फैलाउने काम गरेको देखिन्छ । पूर्वीय र पाश्चात्य शैलीका सुर र साज दुवैको प्रयोगले आधुनिक नेपाली गीतको साङ्गीतिक शैली निर्माणमा समेत विशिष्टता प्राप्त गरेको यही समयमा अत्याधुनिक पप शैली पनि भित्रिएको पाइन्छ । यसलाई ओमविक्रम विष्टले प्रयोगमा ल्याएपछि युवापुस्ताका नवीन के भट्टराई, निमा रुम्बा, सबिन राई लगायतका गायकहरूले यसलाई सकारात्मक उचाइ दिएको देखिन्छ भने कतिपय अल्पज्ञहरूका कारण यो गायन शैलीले प्रहार पनि खेप्नु परेको देखिन्छ । एकहदसम्म यो शैलीलाई मात्र प्रसारणमा स्थान दिइएकाले आधुनिक नेपाली गीतको गरिमा ओझेलमा पारिएको पनि यथार्थ हो ।

२०४६ देखि यता हालसम्मको गीति–प्रवृत्तिमा खासै उल्लेख्य नवीनताको आगमन हुन सकेको देखिँदैन तर पनि संख्यात्मक रूपमा गीतका पुस्तक प्रकाशन, नयाँ नयाँ गीतकारको जन्म र गायनको वृद्धिले नेपाली सङ्गीत बजारलाई प्रतिस्पर्धात्मक चाहिँ बनाइरहेकै छ । यस समयमा समस्यामूलक यथार्थवादी गीतहरूले नै प्रश्रय पाएको अवस्था छ । समस्याका स्वरूपहरू बदलिएका कारण गीतमा आउने बिम्व र प्रतीकहरूमा नवीनता आएको पाइन्छ भने गद्य कविताका ढाँचामा गीतहरू लेखिने र सङ्गीत हुने क्रम पनि एकातिर छ ।

नारी गीतकारको सङ्ख्यात्मक र गुणात्मकता बढेको देखिन्छ भने नारीवादी चेतनाका गीतहरू, वर्गीय चेतना र समानताको आह्वान गीतहरू प्रशस्त आएका छन् । यान्त्रिक जीवनको निरासाजन्य भोगाइ र अनुभूतिका साथै गरिबीको विकराल परिवेशको चित्रण, विदेश पलायनका दुखेसा, मातृत्वको अवमूल्यन, राष्ट्रिय भावनाको विखण्डनका साथै सीमाअतिक्रमणका विरोधमा गीत रचना–रेकर्डिङ भई प्रसारण भइरहेका छन् । वर्तमान विश्वले भोगेको पर्यावरणीय सङ्कट र कोभिड महामारी लगायतका भोगाइको तितो यथार्थ अबका गीतमा मुखरित भइरहेका छन् । साहित्यका अन्य विधामा जसरी छिटो परिवर्तन आइरहेको देखिन्छ, गीत सुरुदेखि नै विविध भाव र लयको अनुगुञ्जन भएको र त्यसमा लयगत विविधताले मधुरता प्रदान गर्ने हुनाले यसको संरचना, विषय र शैलीमा समसामयिक अवधिमा खासै ठूलो परिवर्तन आएको देखिँदैन । हाल पाश्चात्य शैलीबाट स्थानीय शैलीतिरको आकर्षण चाहिँ केही बढेको देखिन्छ।

गीत मूलतः साङ्गीतिक प्रस्फुटन भएकाले यसको प्रस्तुतिगत शिल्प र युगीन चिन्तनले हरेक पिँढीका श्रोतालाई चपक्क समातेकै हुन्छ । नेपाली गीतमा आधुनिकताको गति निरन्तर नयाँ नयाँ शैलीबाट जनस्तरमा फैलिँदो छ ।

·
सन्दर्भ सामग्री

अब्राम्स, एम.एच. (सन् २००५). अ ग्लोसरी अफ लिटरेरी टर्मस्. बेङ्ग्लोर ः प्रिजम बुक्स ।
गुरूवाचार्य, नारायणगोपाल. (२०४८). वागिना. ७÷२३; १८ ।
थुलुङ, प्रेम. (सन् २००२). नेपाली गीत साहित्य ः केही प्रतिभा एवं उदाहरणहरू. सिक्किम ः निर्माणप्रकाशन ।
दर्नाल, रामशरण.(२०३८). नेपाली सङ्गीतका साधक. काठमाडौँ ः नेपाल रा.प्र.प्र. ।
……………….. (२०३८). सङ्गीत परिक्रमा. ललितपुर ः साझा प्रकाशन ।
नेपाल, पूर्णप्रकाश.)२०५०).“नेपाली सर्जकगीतको अविराम शृङ्खला ः एक अध्ययन,”.प्रज्ञा.२२÷७७;४०–५५ ।
बाहर, हर्मन (सन् १९०५). एक्सप्रेसिनिज्म्. लन्डन ः फ््रयान्क हैन्डरिसन ।
भोजपुरे, हिरण्य(सम्पा.). (२०५८). लेकालीको संगीतयात्रा. काठमाडौँ ः लेकाली नेपाल ।
भोजपुरे, हिरण्य.(२०६०). नेपाली गीत–सङ्गीतका केही रङ्ग केही तरङ्ग. काठमाडौँ ः शिरीष भोजपुरे ।
मार्शल, एलेक्स् ( सन् २०१५ ) . रिपब्लिक अर डेथ् ट्राभल्स् इन सर्च अफ् न्याशनल एन्थेम् . लण्डन ः र्यान्डम हाउस बुक्स् ।
मोन्टेन (सन् १९४३). सेलेक्शन फ्रम द एस्सैज.अर्लिङटन हाइट्स ः हर्लान डेभिन्सन ।
लामिछाने, शङ्कर (२०५८). बिम्व प्रतिबिम्व. नेपाल ः भावक अभियान ।
सम्पत, विक्रम ( सन् २०१०)। माई नेम इज गौहर जान. नयाँ दिल्ली ः रुपा पब्लिकेशन ।
सायमी, प्रकाश (२०५८). नेपाली सङ्गीतको स्वर्णिम युग. नेपाल ः भावक अभियान ।
सायमी, प्रकाश. (२०६०) . संस्करण निबन्ध सङ्ग्रह. काठमाडौँ ः भावक अभियान नेपाल ।
……………… (२०६६) . नेपाली सङ्गीतको एकशतक. ललितपुर ः भावक अभियान नेपाल ।
स्ट्रोस्, क्लाउड लेभी (सन् २००२). मिथ एन्ड मिनिङ. न्युयोर्क ः रुटलेज ।

लेखक परिचय

नेपाली साहित्य, सङ्गीत र सिनेमाका विषद् अध्येता तथा निबन्धकार प्रकाश सायमिका 'काठमाडौँ सेल्फी' लगायतका पुस्तकका लेखक हुनुहुन्छ ।

प्रतिक्रिया
Loading...