जब हामी नेपाली साहित्यको इतिहास पल्टाउन थाल्छौँ, दार्जिलिङसँग जोडिएका महान् हस्तीहरुको नाम फरर पल्टिन थाल्छ । ती नामबिना नेपाली साहित्य बिल्कुल अधुरो रहन्छ । पारिजात, वानीरा गिरी, लख्खीदेवी सुन्दास, इन्द्रबहादुर राई, विन्द्या सुब्बा लगायत बिर्सिनै नसकिने अन्य धेरै नाम छन् । अहिले पनि यो क्रम निरन्तर चलिरहेको छ । धेरै लेखकले नेपाली साहित्यलाई माया गरेर सीमा पारिबाट विविध विधामा कलम चलाइरहेका छन् । ती लेखकमध्ये चार जनाको नाम हो- राजा पुनियानी, छुदेन काविमो, मनोज बोगटी र पवित्रा लामा । उनीहरु भारतमा बसेर पनि नेपाली साहित्यलाई विश्वभर चिनाउन अहोरात्र खटिरहेका छन् । नेपाली साहित्यलाई अगाध प्रेम गर्छन् । अक्षर र भावनाको खेतीलाई आफ्नो सिर्जनशीलताले मलजल गर्छन् ।
मीठो साहित्यिक सिर्जनाका कारण धेरैको मनमा बस्न सफल भएका छन्, राजा पुनियानी । भारतको सिलगढीमा जन्मिएका राजाले एम.ए.बी, ह्युमन रिसोर्स डेभलपमेण्ट एण्ड लेबर वेल्फेयरमा पोस्ट ग्य्राजुएट डिप्लोमा र बिएस्सी गरेका छन् । पेशाले शिक्षक उनको लेखनको मुख्य विधा कविता हो । साथसाथै निबन्ध, कथा र समालोचनामा पनि कलम चलाउँछन् । उनको कवितायात्रामा पहिलो छापिएको फुटकर कविता ‘आमा’ थियो । उनको पहिलो कविता सङ्ग्रह ‘अर्को लस्कर’ हो । फुटकर कविता लेख्न थालेको बीस वर्षपछि उनले पहिलो कृति ल्याएका थिए । धेरै साप्ताहिक र दैनिक पत्रपत्रिका पनि सम्पादन गरिसकेका राजाको विचारमा ‘बाल्यकालमै व्यक्तित्व निर्माणको चर बसेको हुन्छ अनि त्यही अनुसारको घर जीवनको बाँकी अवधिमा बन्छ ।’
उनी श्रृङखला कविता लेख्न खुब रुचाउँछन् । पञ्जाबी मूलका बाबु र किरात मूलकी आमाको पहिलो सन्तान हुन्, पुनियानी । त्यसैले उनी दुई किसिमको संस्कारमा हुर्किए । बाल्यकालमा बिताएको प्राकृतिक रुपमा सुन्दर ठाउँ लाटपञ्चरले उनलाई कवि बन्न प्रेरित गर्यो । मामाघरको पुस्तकालयले पुनियानीलाई आकर्षित गर्यो। कमिक्स पढ्न उनलाई खुब मज्जा लाग्थ्यो रे ! तीनधारे भन्ने ठाउँमा कविता गोष्ठी भएको बेला कृष्ण धरावासीको उपस्थितिमा उनले कविता वाचन गरेका थिए । धरावासीले उनको कविताको मुक्तकण्ठले प्रशंसा गरेपछि लेख्नको लागि आत्मबल प्राप्त भएको उनी अनुभव सुनाउँछन् । समयको गतिशीलता सँगसँगै जब उनी साहित्यको अध्ययनमा तत्पर रहे, साहित्य लेखनको यात्रा पनि फराकिलो बन्दै गयो । उनको विचारमा अरु विधा भन्दा बढी कवितामा आत्मप्रकाशन हुन्छ । लक्ष्मी प्रसाद देवकोटा, पाब्लो नेरुदा, भूपी शेरचन, पारिजात, रवीन्द्रनाथ टैगोर, मनप्रसाद सुब्बा आदि उनलाई मनपर्ने लेखक हुन् । दार्जिलिङका विद्वान राजनारायण प्रधानको सङ्गतले पनि उनको सिर्जनात्मक यात्रामा ऊर्जा थप्यो । उनले कलकत्ता, काठमाडौँ, पोखरा, हेटौडा, चितवन, सिलगढी, जोरथाङ, नाम्ची आदि ठाउँमा एकल कविता वाचन गरिसकेका छन् । हाल उनी निबन्ध सङग्रह, अनुवाद र फुटकर कविता सङ्ग्रहको तयारीमा व्यस्त छन् । उनलाई नेपाली भाषामै लेख्न मन लाग्छ । आफ्नो बुबाको पञ्जाबी भाषा उनलाई आउँदैन । उनी नेपाली भाषालाई नै आफ्नो मातृभाषा ठान्छन् । उनी नेपाली भाषामै सोच्छन्, हाँस्छन्, रुन्छन् अनि सपना देख्छन् । भारतमा बसेर अल्पसङ्ख्यक नेपालीमाझ यस्तो कार्य गर्नु चुनौतीपूर्ण छ । उनीसँग ‘सुनचरी’ र ‘हिमालय दर्पण’ पत्रिकामा पनि काम गरेको अनुभव छ । उनी सोच्छन्, ‘साहित्य मानसिक मुक्तिको साधन बनोस् ।’ श्रृङ्खला कविता लेख्नका लागि उनी मञ्जुलको ‘मृत्यु कविता’बाट प्रेरित भएका थिए । त्यसपछि उनले जीवनसम्बन्धी कविता लेख्ने सोच बनाए । राजा पुनियानी र अरु साहित्यिक युवाहरु मिलेर अहिले ‘हस्तक्षेप’ आन्दोलन चलाइरहेका छन् । यो कदम उनीहरुको साहित्यिक यात्राको लागि प्रभावकारी बनिरहेको छ । राजा एक्सपेरिमेन्टल राइटिङप्रति आकर्षित छन् ।
उनले सशक्त लेखक भूपिनसँग मित लगाएका छन् । उनी सोच्छन्, ‘मेरो मितले लेखनयात्राको लागि थप प्रोत्साहनको काम गर्नुभएको छ ।’ शिक्षण पेशा गरिरहेका उनी आफू स्वतन्त्र भएर साहित्यिक क्रियाकलापमा सहभागी हुन नसकेकोमा गुनासो व्यक्त गर्छन् । उनी कलाकार पनि हुन् । उनको सोचाइमा ‘कलाकारिता साहित्यको मूर्त रुप हो ।’ तल उल्लेखित सशक्त खालको कविता लेखेर धेरैको मनमा प्रिय कवि बनेर बस्न सफल भएका छन् पुनियानीः
एकदिन
यसरी
मिथ भयो बाघ
मोडर्न बाघको
ब्रान्डेड पुर्खाहरुबारे
वर्ल्ड फेमस मिथ थियो
भोकै मर्छ बरु
बाघले घासँ चाहिँ खाँदैन
एकदिन लुसुलुसु
घाँसको शिकारमा
जाँदैथियो
पोस्टमोर्डन बाघ ।
भारतस्थित कालेबुङमा जन्मिएका छुदेन काविमोले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । ‘फातसुङ’ उपन्यासका कारण उनी अहिले चर्चामा छन् । यो उपन्यास बङ्गाली भाषामा प्रकाशन भइसक्यो भने अङ्ग्रेजीमा प्रकाशनको तयारी भइरहेको छ । फातसुङभन्दा अघि उनले ‘नाइन्टिन एटी सिक्स’ शीर्षकको कथासङ्ग्रह प्रकाशित गरिसकेका छन् । उक्त कृतिले दिल्लीबाट प्रदान गरिने युवा साहित्य अकादमी पुरस्कार र मणिपुरबाट प्रदान गरिने आशराई स्मृति पुरस्कार पाइसकेको छ ।
बाल्यकालको गरिबी, गुरुमाले देखाएको सपना अनि हजुरबुबाले बाख्रा चराउन जाँदा भनेको उखान ‘नेपाल जाऊ कपालसँगै बर्मा जाऊ कर्मसँगै’, प्रकाश कोविदका उपन्यास छुदेनलाई लेखक बनाउने ऊर्जा रहेछन् । छुदेन साहित्यलाई समाजको आत्मा भन्न रुचाउँछन् । उनको विचारमा ‘समाजको उचाइलाई त्यहाँको रहनसहन सम्पन्नता र अनुहारले नभएर त्यहाँको सम्पन्नताले निर्धारण गरेको हुन्छ ।’ उनी अनुवाद साहित्यमा निक्कै रुचि राख्छन् । छुदेनको अनुभवमा ‘अनुवाद साहित्य त्यस्तो पुल हो, जसले वारिको भाषालाई पारि पुर्याउँछ र पारिको भाषालाई वारि ल्याउँछ ।’
प्रेममा परेपछि गजलसँगै आफ्नो लेखन यात्राको शुरुवात गरेका थिए । उनी विशेष गरी आख्यान लेख्न रुचाउँछन् । एन्टन चेखभ, प्रेमचन्द, रुपनारायण सिंह र राजनारायण प्रधान उनका मनपर्ने लेखक हुन् । यथार्थवादी धाराले उनको लेखनमा प्रभाव पारेको छ । आफू लेखक भएकोमा गौरवान्वित छन्, काविमो । उनी लेखन यात्रामा बाँचुन्जेलसम्म समर्पित हुन चाहन्छन् । आफूले लेखेको ‘फातसुङ’ उपन्यासको एउटा वाक्य उनलाई खुब मन पर्छ । ‘अलिअलि घोचोस् केही छैन, सियो जस्तो मान्छे नै बेस हुन्छ । चलेपछि फाटेकोलाई त जोड्छ ! खतरनाक त कैँचीजस्ता हुन्छन्, चल्यो कि हरेक थोकलाई दुई टुक्रा पारिदिन्छन् ।’ हाल उनी अनुवाद साहित्यको साथसाथै अन्य विधाका किताबहरु पढिरहेका छन् । उनी लेखक र पाठकबीचको सम्बन्धलाई अन्योन्याश्रित ठान्छन् । त्यसैले कहिले लेखक र कहिले पाठक बन्न मन पराउँछन् ।
वेस्ट बङ्गालको कालचिनीमा जन्मिएकी पवित्रा लामा मूलतः कवि हुन् । उनले नेपाली साहित्यमा स्नातकोत्तर गरेकी छन् । पवित्राले सन् २००१ मा नर्थ बङ्गालको युनिभर्सिटीबाट गोल्ड मेडल प्राप्त गरेकी थिइन् । उनका जम्मा दुइटा कविता कृति प्रकाशित छन् । जसमा ‘सभ्यताका पेन्डुलमहरु’ पहिलो कृति हो भने ‘म देह रातो रङ्गिन्छु’ दोस्रो । साङ्ग्रिला बुक्सद्वारा आयोजित दार्जिलिङ साहित्य महोत्सवमा ‘हर्कमाया’ शीर्षकको कविता वाचन गरेर हालै प्रथम भएकी थिइन् ।
घरको साङ्गीतिक र साहित्यिक माहौलले पवित्रालाई लेखक बन्न ऊर्जा प्रदान गर्यो । उनी मानिसलाई जङ्गलीपनबाट संस्कारी बनाउने माध्यम नै साहित्यलाई हो भन्ने ठान्छिन् । साहित्यले नै मानिसलाई बाँच्न सिकाउँछ भन्ने लाग्छ पवित्रालाई । राम्रो लेखक बन्न राम्रो पाठक बन्नुपर्छ भन्ने उनलाई लाग्छ । समालोचना, लेख र आख्यान लेखे पनि पवित्रालाई कविता लेख्दा नै बढी आनन्द लाग्छ । लेखन स्वच्छन्द हुनुपर्छ भन्ने उनको दाबा छ । उनी कुनै धार अथवा वादमा सीमित नभइकन लेख्न चाहान्छिन् । रवीन्द्रनाथ ठाकुर, पारिजात, अमर न्यौपाने, सरस्वती प्रतीक्षा उनलाई मनपर्ने लेखक हुन् । आफू लेखक भएकोमा उनी सन्तुष्ट भएको अनुभव गर्छिन् । उनले कविता वाचन गर्दा श्रोताको मनमा साहित्यिक झङ्कार उत्पन्न गर्न सक्ने क्षमता छ। पवित्राको वाचनशैलीमा जादु छचल्किइरहेको प्रतीत हुन्छ । उनी धाराप्रवाह कविता पाठ गर्न सक्छिन् । आफूले लेखेको ‘हर्कमाया’ कविताको एक अंश उनलाई खुब मनपर्छः
हर्कमाया कुनै वादको घेरामा पर्दिनन्
पर्दिनन् कुनै अवधारणाको परिधिभित्र पनि
उनी पाँच प्रहर श्रमले
एक प्रहर प्रेमले
दुई प्रहर मीठो निद्राले
तर आठै प्रहर दायित्वले मिश्रित
एक क्लियोपेट्रा, एक नेफ्रतिति
एक हेलेन, ब्लेण्डा र कर्नेलिया
एक जोन अफ आर्क,
एक अनन्य किंवदन्ती…..
सरल लेखनशैलीमा गहन विषयवस्तुलाई लेख्न खप्पिस छन्, मनोज बोगटी । उनी कालिम्पोङ दलगाउँस्थित सिन्कोना भन्ने बगानमा जन्मिएका थिए । उनले पहिलो पटक लेख्न शुरु गर्दा उन्नाइस वर्षका थिए । उनले माध्यमिक तहसम्मको मात्र औपचारिक शिक्षा लिएका छन् । लेखक बन्न उच्च शिक्षा भन्दा मेहेनतले बढी भूमिका खेल्छ भन्ने यथार्थलाई यी लेखकले प्रमाणित गरेका छन् ।
मनोजले जिन्दगीमा पहिलो पटक ‘सपना’ शीर्षकको कथा लेखेका थिए । उनको पहिलो प्रकाशित कथा पनि यही हो । बोगटीको पहिलो प्रकाशित कविता ‘घर फर्कनलाई’ शीर्षकको थियो । उनको पहिलो कविता सङ्ग्रह ‘विम्बगोष्ठी’ शीर्षकको थियो । त्यही साल ‘घाउका रङहरु’ शीर्षकको लामो कविता प्रकाशित भयो । उक्त लामो कविताले नयाँ दिल्लीबाट प्रदान गरिने साहित्य अकादमी युवा पुरस्कार प्राप्त गरेको थियो । त्यसपछि ‘गीतको रिस’ ‘आँखा बाहिर’ ‘पसिनाको छाला’ ‘काफरे अमेरिका’ कवितासङ्ग्रह प्रकाशित छन् । उनले ‘लाइफः अ बटरफ्लाई’ शीर्षकको कथासङ्ग्रह पनि प्रकाशित गरेका छन् । हाल उनी कालेबुङलाई कार्यक्षेत्र बनाएर साहित्यमा साधनारत छन् ।
बोगटीलाई प्रकाश कोविदले लेखेको ‘आँशु दिएर मोति बटुलेँ, हार भएन जित’ले साहित्यिक यात्रामा गम्भीर प्रभाव पारेको रहेछ । त्यो गीत कयौँ पटक राम्रा अक्षरले कपीमा लेखेको अनुभव सुनाउँछन् । साथीहरुको अनुरोधमा लेखिदिएको प्रेमपत्रले मनोजलाई अझ बढी सिर्जनशील बनायो । उनले आफ्नो काकीबाट पनि लेख्नको लागि प्रेरणा पाएका थिए । बोगटीले पहिलो कथा काकीकै जीवनकहानी सुनेर लेखेका थिए । उनको त्यो कथा दैनिक पत्रिका ‘आजभोलि’मा छापिएको थियो । त्यो कथा लेख्दा उनलाई सानिमाले पुरस्कारस्वरुप दिएको कपीले अझ लेख्नको लागि हौसला प्रदान गर्यो । उनले साहित्यलाई जीवन र समाज बुझ्ने एउटै मात्र औजारको रुपमा लिएका छन् । उनलाई लाग्छ, साहित्यलाई उत्कृष्ट बनाउन पहिला आफूलाई बुझ्नु अनिवार्य छ । आफू, समाज, धर्म, राजनीतिको पहिचान गर्नु अत्यावश्यक छ । आफूलाई बुझेपछि मात्र साहित्यको उपादेयता बुझिन्छ । उनलाई कला, जीवन र समाजको फ्युजनले लेख्नको लागि प्रेरित गर्दोरहेछ ।
कथा लेखनबाट शुरु भएको उनको साहित्यिक यात्राले अहिले सफलताको उचाई चुमिरहेको छ । उनलाई आफूले लेखेका कथामध्ये ‘नीलो मफलर’ एकदम मन पर्छ । त्यो प्रेमकथा थियो । अघिल्लो वर्ष उनले आठ वटा कथाहरुको सङ्ग्रह ‘लाइफः अ बटरफ्लाई’ प्रकाशन गरेका थिए । उनी आफ्ना कथामार्फत् मानिसमा पूँजीवादले पारेको प्रभावको चित्रण गर्न चाहन्छन् । कथाबाहेक उनले कविता, निबन्ध पनि लेख्छन् । यतिबेला उनी उपन्यास र अन्य भाषाका केही पद्य र गद्य पुस्तक अनुवाद गर्ने योजनामा छन् । उनी समाजमा चेतना विस्तार गर्न साहित्य सिर्जना गरिरहेका छन् । भारतीय नेपालीभाषी गोर्खालीहरु राजनीतिक, प्रशासनिक, शैक्षिक, सांस्कृतिक रुपले शोषित छन् । ती शोषणका चरित्रबारे बोगटी आवाज उठाउन चाहन्छन् ।
मार्खेज, नारायण ढकाल, निर्मला पुतुल, मनप्रसाद सुब्बा, अगमसिंह गिरी उनलाई मनपर्ने लेखक हुन् । यी लेखकले उनलाई लेखक बन्नका लागि पृष्ठपोषणको काम गरेको बताउँछन् । अहिले उनी साङ्ग्रिला बुक्स इण्डियाको प्रकाशकको रुपमा जिम्मेवारी सम्हालिराखेका छन् । मनोज यसरी मर्मस्पर्शी कविता लेख्छन्ः
एउटा अक्षर तिम्रो
एउटा अक्षर मेरो
लेखिन बाँकी छ
हामीबीच वाक्य
बनिन बाँकी छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

