ओशोको आत्मकथाः स्वर्णिम बालापन

सत्र १८ः पूर्व मृत्युबाट मनोग्रस्त छ र पश्चिम सेक्सबाट

सिग्मन्ड फ्राइडले एक जना रोगीसँग प्रश्न सोधिरहेका थिए । सोफामा सुतिरहेको मानिससँग उनले सोधेः ‘यो झ्यालबाट बाहिर हेर्नु त, सडकभन्दा पर त्यो कार्यालयको भवनमा ठड्याइएको झण्डाको डण्डालाई देख्न सक्नुहुन्छ ?’

वृद्ध मानिसले भने, ‘देख्न सक्छु । तिमीले मलाई अन्धो नै ठान्यौ कि क्या हो ? म बूढो त हुँला तर त्यो डन्डा र झन्डा आदि सबै देख्न सक्छु । यो पनि कस्तो प्रश्न हो ? यस्तो मूर्खतापूर्ण प्रश्न सोध्नका लागि मैले तिमीलाई पैसा तिरिरहेको हो र ?’

फ्रायडले भने, ‘धैर्य गर्नुहोस् । मनोविश्लेषकको काम गर्ने तरिका नै यस्तो हुन्छ । अब भन्नोस् त, यो डन्डाले तपाईंलाई के कुराको सम्झना दिलाउँछ ?’ प्रश्न सुनेर वृद्ध मानिस हाँस्न थाले । फ्रायड निकै खुसी भए । लजाउँदै ती वृद्धले भने, ‘मलाई यसले सेक्सको सम्झना दिलाउँछ ।’

फ्रायडले आफ्नो नयाँ सिद्धान्तलाई अरु नै मार्फत प्रमाणित गर्न चाहन्थे । वृद्धको यो कुराले उनको त्यो कुरालाई पुष्टि गरिरहेको थियो । वृद्धले भने, ‘मेरो विचारमा यो डन्डा अरु केही होइन, लिङ्गको प्रतीक हो । तिमी चिन्ता नगर, मलाई जे लागेको हो, त्यही भनेको हुँ ।’ वृद्ध मानिस अझै पनि हाँसिरहेका थिए । र, फ्रायडले पुनः सोधे, ‘उसो भए यो सोफाले के को सम्झना गराइरहेको छ ?’ वृद्धले तिखो हाँस्दै भने, ‘यो कस्तो मनोविश्लेषण हो ? म यसैका लागि आएको हुँ ? मैले यसैका लागि पेस्की दिएको हुँ ?’

फ्रायडले आफ्नो शुल्क अग्रिम रुपमा लिन्थे किनभने यदि तपाईं सबै किसिमका पागलसँग काम गर्दै हुनुहुन्छ भने तिनीहरूमाथि विश्वास गर्न सक्नुहुन्न । उनीहरूले पछि पैसा दिन्छन् कि दिँदैनन् भन्ने कुनै ठेगान हुँदैन । त्यसैले उपचार गर्नुभन्दा पहिले नै शुल्क लिनु जायज हो । सत्य त के भने सारा संसारमा यस्तो कुनै मानिस छैन, फ्रायड पनि छैन, जसको मनोविश्लेषण सम्पूर्ण रुपमा गरिएको होस् । यसको प्रस्ट कारण, सम्पूर्ण रुपमा मनोविश्लेषण हुनै सक्तैन । मनोविश्लेषण गर्दै जानु, गर्दै जानु र त्यसको कुनै अन्त्य नै छैन । किन ? किनभने यो त एउटा विचार मात्र हो, अवास्तविक । एउटा विचारले अर्कोतर्फ लैजान्छ र अर्कोले तेस्रोतिर । यसको कुनै अन्त्य छैन । यस्तो कुनै पनि मनोविश्लेषक अहिलेसम्म जन्मिएको छैन, जसले समग्ररुपेण मनोविश्लेषण गरेको छु भनी दाबी गरोस् । सधैँ केही न केही छुटिहाल्छ । र, मनोविश्लेषणका नाममा तिमी जे खेलिरहेका छौ, त्यो सानो अंशभन्दा केही ठूलो मात्र हो ।

ती वृद्ध मानिसलाई केही रिस पनि उठिरहेको थियो । फ्रायडले भने, ‘नरिसाउनोस् । अब यो अन्तिम प्रश्न । यो सोफाले तपाईंलाई सेक्सको सम्झना दिलाउँछ । यसले त सबैलाई सेक्सको सम्झना दिलाउँछ, यसमा कुनै समस्या छैन । नरिसाउनुहोस् । अब अन्तिम प्रश्न के छ भने, ऊँटलाई देखेपछि तपाईंको मनमा के आउँछ ?’

ती वृद्ध मानिस पेट मिचीमिची हाँस्न थाले । उनले भने, ‘हे भगवान्, मनोविश्लेषण र ऊँटबीच कुनै सम्बन्ध पनि छ भन्ने मलाई थाहा थिएन । तर यो अनौठो संयोग नै हो कि एक दिन जब म चिडियाखाना गएको थिएँ, त्यहीँ मैले जीवनमा पहिलो पटक ऊँट देखेको थिएँ । र, पहिलो पटक देखेको ऊँटबाट मलाई केको सम्झना आउँछ भनेर तपाईं सोधिरहनु भएको छ । खासमा भन्ने हो भने ऊँटले पनि मलाई सेक्सकै सम्झना दिलाउँछ ।’

यो सुनेर फ्रायड पनि चकित परे । ऊँट ! ऊँटले कसरी सेक्सको सम्झना दिलाउँदो होला, उनले त सोच्न पनि सकेनन् । सिग्मन्ड फ्रायडले पनि ऊँटका बारेमा त्यस्तो सोचका थिएनन् । उनले त यत्तिकै त्यो प्रश्न सोधेका थिए । उनले सोचेका थिए, प्रश्नको उत्तरमा वृद्धले भन्लान्, यो ऊँट हो । यसले मलाई कसैको र केही पनि सम्झना दिलाउँदैन । यसले मलाई केही कुराको सम्झना दिलाउनु पर्ने हो र ? फ्रायडले भने, ‘तपाईंले मेरा सारा खुसी हर्नुभयो । तपाईं मेरो सिद्धान्त पुष्टि गर्दे हुनुहुन्छ भन्ने सोच्दै थिएँ तर ऊँटले कसरी सेक्सको सम्झना दिलाउँछ भन्ने मैले बुझ्न सकिरहेको छैन ।’

ती वृद्धले अझै पनि हाँसिरहेका थिए, ‘बेवकुफ ! तिमी अहिले पनि बुझिरहेका छैनौ ? तिमी त्यो ऊँटको चिन्ता नगर । मलाई त हरेक कुराले सेक्सकै सम्झना गराउँछ । यही त मेरो समस्या हो । यसैका लागि त म यहाँ आएको हुँ । यही नै मेरो मनोग्रस्तता हो ।’

मनोग्रस्तता के हो भन्ने कुरा बुझाउन मैले तिमीहरूलाई यो कथा सुनाएको हुँ । यो संसारलाई दुई वर्गमा विभाजन गर्न सकिन्छ । एक ती मानिस, जो सेक्सबाट मनोग्रस्त छन् र अर्को, जो मृत्युबाट मनोग्रस्त छन् । यही पूर्व र पश्चिमका बीच वास्तविक विभाजन रेखा हो । यो भौगोलिक विभाजन होइन, तर यो भूगोलभन्दा धेरै महत्त्वपूर्ण छ ।

अंग्रेजी भाषाले अन्य भाषाका शब्दलाई अपनाउँछ भन्ने तिमीहरूलाई सुनाइसकेको छु । अरबी भाषाबाट लिएका अन्य धेरैजसो शब्दजस्तै ज्योग्राफी पनि एक हो । अरबीको निकै सुन्दर शब्द छ, जगराफिया । ज्योग्राफी होइन तर त्यो जुगराफिया होस् या ज्योग्राफी, यो विभाजन रेखा हुन सक्तैन । यो विभाजन मनोवैज्ञानिक हो ।

पूर्व मृत्युबाट मनोग्रस्त छ र पश्चिम सेक्सबाट । पदार्थवादी सेक्सबाट मनोग्रस्त हुनु नै पर्छ र आध्यात्मिक मृत्युबाट । र, यी दुवै मनोग्रस्तता नै हुन् । कुनै पनि मनोग्रस्तताका साथ जीवन बाँच्नु, पूर्वी या पश्चिमी– नबाँच्नु सरह नै हो । यो त पूरा अवसरलाई गुमाउनु हो । पूर्व र पश्चिम एकै सिक्कका दुई पाटा हुन् । एकातिर मृत्यु अनि अर्कोतिर सेक्स । सेक्स ऊर्जा हो, जीवनको आरम्भ, मृत्यु जीवनको चरम बिन्दु हो, पराकाष्ठा हो ।

हजारौँ मानिसहरूले कहिल्यै अर्गाज्मको कुनै अनुभव गर्दैनन् र त्यो केवल संयोग मात्र होइन । यसको सिधा कारण हो, जब तिमी मृत्युजस्तो अनुभवबाट गुज्रनका लागि तयार हुँदैनौ, तिमी अर्गाज्मलाई चिन्दैनौ । कोही पनि मर्न चाहँदैन । बस्, बाँच्न चाहन्छन् । पटक पटक जीवन शुरु गर्न चाहन्छन् ।

पूर्वमा विज्ञान विकसित हुन सकेन किनभने जब मानिस चक्र रोक्ने प्रयास गर्छन्, विज्ञानको अध्ययन कसले गर्छ ? कसले सुन्छ ? कसले त्यसको चिन्ता गर्छ ? किन पो गर्नुप-यो ? चक्रलाई रोक्नुप-यो । रोक्न त जुनसुकै बेवकुफले पनि रोक्नसक्छ, यसका लागि बाटामा ढुङ्गा राख्नु प-यो । चक्का रोक्नका लागि कुनै प्रविधि चाहिँदैन तर त्यसलाई चलाउन भने विज्ञान चाहिन्छ ।

विज्ञानमा अस्तित्वको गतिको मूल कारण के हो भनी प्रश्न गरिन्छ । अथवा अन्य शब्दमा भन्दा यस्तो कुन चाहिँ यान्त्रिकी व्यवस्था छ, जुन इन्धन बिना नै स्वतः चलिरहन्छ, जसलाई कुनै पनि कसिमको ऊर्जा चाहिँदैन भनी खोज गरिन्छ । किनभने यो ऊर्जा ढिलोचाँडो सकिन्छ नै र त्यो बेला चक्का रोकिन्छ । विज्ञान यस्तो विविधको खोजमा छ, जसले चक्र सधैँ चलिरहोस् र यस्तो गतिको खोजमा छ, जुन कुनै ऊर्जामा निर्भर नहोस् ।

पूर्वमा त विज्ञानको खोज कहिल्यै शुरु हुन सकेन । कारको आविष्कार नै हुन सकेन । कसैलाई कार चलाउने कुरामा रुचि नै थिएन । उनीहरूलाई त्यो रोक्ने ठूलो चिन्ता थियो किनभने त्यो तल झर्दै थियो । पूर्वमा एउटा भिन्न किसिमको घटना घट्यो, जुन पश्चिममा कहिल्यै घटेन र त्यो हो तन्त्र । पूर्वले डर बिना नै, कुनै अप्ठेरो नमानी सेक्सको ऊर्जाको गहनतम खोज गर्न सक्यो । पूर्वलाई सेक्सको बिल्कुल चिन्ता थिएन ।

मैले तिमीहरूलाई जुन कथा सुनाएँ, त्यो साँचो थियो भन्ने मलाई लाग्दैन ।

मलाई त सिग्मन्ड फ्रायड आफ्नो बाथरुमको ऐनासामु उभिएर आफैँसँग कुरा गरिरहेका थिए होला । सोफामा पल्टेको वृद्ध मानिस अरु कोही होइन, स्वयं सिग्मन्ड फ्रायड नै हुनुपर्छ । यदि तिमीले उनको पुस्तक पढ्यौ भने मैले जे भनिरहेको छु, त्यसलाई विश्वास गर्नेछौ । फ्रायडको चिन्तनको एउटा मात्र विषय सेक्स थियो । हरेक चिजलाई उनी सेक्समा परिवर्तित गरिदिन्थे । मानिसको सारा इतिहासमा उनी नै त्यस्तो व्यक्ति हुन्, जो सर्वाधिक सेक्सबाट मनोग्रस्त थिए । र, दुर्भाग्यले मनोविज्ञान, मनोविश्लेषण र अन्य किसिमका थेरापीमा उनको प्रभुत्व थियो । पछि ती क्षेत्रमा उनको योगदान मान्दै उनलाई ‘मनोविज्ञानका पिता’ भनी पदवी दिइयो ।

अनौठो त, सिग्मन्ड फ्रायडजस्तो मानिस, जो सबै प्रकारका डर र भयबाट ग्रसित थिए, २० औँ शताब्दीका सबैभन्दा महत्त्वपूर्ण व्यक्ति बन्न पुगे । उनी शताब्दीभरि छाए । उनी ज्यादै भयभित हुन्थे । यो स्वाभाविक हो । तिमी कुनै चिजबाट, सेक्स या मृत्युबाट मनोग्रस्त छौ, यी दुई मुख्य वर्ग हुन्… यो संसारमा हजारौँ चिज छन् । तर तिनलाई दुई वर्गमा नै विभाजन गर्न सकिन्छ । तिमी यी दुईमध्ये कुनै एकबाट मनोग्रस्त छौ भने तिमी बिल्कुल अज्ञानी हौ, तिमी भयभित हुन्छौ नै । उज्यालोबाट भयभित किनभने तिमीले अन्धकारमा सिद्धान्त र धर्महरुलाई आफ्नो काल्पनिक संसार बनायौ । तिमीलाई प्रकाशसँग डर लाग्छ… दियो बाल्ने मानिससँग डर लाग्छ… डायोजनिजजस्तो मानिस जब सूर्यको प्रकाशको उज्यालो हुँदाहुँदै पनि लालटिन बालेर नाङ्गै कुनै समारोहमा छिर्छ भने… जो कोही डराउँछ नै ।

कहिलेकाहीँ सोच्छु, सिग्मन्ड फ्रायडका लागि कति राम्रो हुन्थ्यो होला यदि डायोजनिज आफ्नो बलिरहेको लालटिनका साथ उनका तथाकथित मनोविश्लेषणको अफिसमा नाङ्गै छिर्थ्यो भने ! ऊ सधैँ नै नाङ्गै बस्थ्यो । ती दुवैको भेट बडो मूल्यवान् हुने थियो ।

फ्रायडजस्ता मानिस उज्यालोसँग डराउँछन् । त्यसैले त डायजनिन लालटिन लिएर हिँड्थ्यो । जब कसैले उसलाई दिउँसै लालटिन किन बालेको भनेर सोध्थे, उनको उत्तर हुन्थ्यो, ‘म ‘मानिस’ खोजिरहेको छु । अहिलेसम्म फेला पार्न सकिनँ ।’
ऊ मर्नुभन्दा केही क्षण पहिले कसैले सोध्यो, ‘डायोजनिज, आफ्नो शरीर छाड्नुभन्दा पहिले कृपया बताइदिनु होस्, तपाईंले जो मनुष्य खोजिरहनु भएको थियो, फेला पार्नुभयो ?’

डायोजनिजले हाँस्दै भन्यो, ‘मैले खोज्न सकिनँ, मलाई त्यसैमा दुःख लागेको छ । तर सबैभन्दा ठूलो कुरा चाहिँ मेरो त्यो ललाटिन अझै पनि मसँगै छ । कसैले चोरेको छैन ।’

सिग्मन्ड फ्रायड मनोग्रस्त थिए र उनले पश्चिमी दृष्टिकोणको प्रतिनिधित्व गर्थे । त्यसैले कार्ल गुस्ताभ जङ उनीसँग धेरै समय काम गर्न सकेनन् । कारण स्पष्ट छ । जङ सेक्सबाट होइन, मृत्युबाट मनोग्रस्त थिए । उनलाई पश्चिमको होइन, पूर्वको गुरुको आवश्यकता थियो । तर उनलाई पश्चिमप्रति यति गर्व थियो कि जब उनी भारत भ्रमणका बेला कसैले उनलाई रमण महर्षिसँग भेट्न सुझाव दियो, जङ गएनन् । त्यो बेला रमण महर्षि ज्यूँदै थिए । त्यहाँ जान हवाई जहाजमा एक घण्टा मात्र लाग्थ्यो । उनी अन्यअन्य ठाउँमा गए । उनी भारतमा कयौँ महिना बसे । तर रमण महर्षिसँग भेट्ने उनीसँग समय थिएन । कारण स्पष्ट छः रमण जस्ता मानिसहरूसँग भेट्नका लागि हिम्मत चाहिन्छ । उनी एउटा ऐना हुन् । उनले तिम्रा सारा वास्तविक अनुहार देखाइदिन्छन् । उनले तिम्रा सारा मुखुण्डो निकालिदिन्छन् ।

मलाई त्यो मानिस, जङप्रति निकै घृणा छ । सिग्मन्ड फ्रायडको म निन्दा गरे पनि म उनलाई घृणा गर्दिनँ । शायद उनी गलत थिए तर उनी प्रतिभाशाली थिए भन्नेमा कुनै सन्देह छैन । उनी निकै प्रतिभाशाली थिए । तर उनले जे गरिहेका थिए, म त्यसलाई समर्थन गर्न सक्तिनँ किनभने मलाई थाहा छ, त्यो कुरा नै ठीक थिएन तर फ्रायडको तुलनामा जङ त निकै होचो मानिस हुन् । त्योभन्दा पनि ऊ त जुडास थियो । उसले आफ्नो गुरुलाई नै धोका दियो, उसका प्रति विश्वासघात ग-यो ।

यो अर्कै कुरा हो, गुरु स्वयं गलत थिए । गलत होस् या सही, फ्रायडले आफ्नो मुख्य शिष्य बनाउनका लागि जङलाई चुनेका थिए र पनि ऊ जुडास बन्यो । उसमा फ्रायडजस्तो योग्यता नै थिएन । फ्रायडबाट अलग हुनुको वास्तविक कारणः फ्रायड अथवा जङका अनुयायीहरूमध्ये कसैले पनि यसको उल्लेख गरेका छैन्, म यहाँ पहिलो पटक भनिरहेको छुः त्यो यति मात्र थियो कि जङ मृत्युबाट मनोग्रस्त थियो र फ्रायड सेक्सबाट । उनीहरू पछिसम्म एकै ठाउँमा उभिन सक्तैनथे, त्यसैले उनीहरू अलग हुनुप-यो ।

हजारौँ वर्षदेखि पूर्व रुग्ण छ । जीवनबाट कसरी छुटकारा पाउने भन्ने सोचेर रुग्ण छ । म यसलाई रोग नै भन्छु । जस्तो तथ्य देखिन्छ, म त्यस्तै भनिदिन्छु । यो रुग्णताका कारण पूर्वमा धेरै हानि भएको छ । जीवनबाट छुटकारा कसरी पाउने भनेर जन्मदेखि नै यो विचार घनीभूत हुनथाल्छ । मेरो विचारमा यो संसारको सबैभन्दा पुरानो मनोग्रस्तता हो । सिग्मन्ड फ्राडजस्तो योग्यता भएका हजारौँ मानिसहरू त्यस्तो विचारबाट ग्रसित थिए र तिनले यसलाई परिपुष्ट नै गरे ।

एक जना पनि यस्तो व्यक्तिको सम्झना छैन, जसले यसको विरोध गरेको होस् । यद्यपि, उर्को कुरामा उनीहरू असहमत थिए तथापि यस कुरामा उनीहरू सबै सहमत थिए । महावीर, मनु, कणाद, गौतम, शंकर, नागार्जुन, यो सूची निको लामो छर र अर्कोतर्फ सिग्मन्ड फ्रायड, सि.जि. जङ, एडलर र अन्य धेरै नालायक, जसलाई पछाडि छाडे, तिनीहरूभन्दा उत्तम छन् ।
तर प्रतिभाशाली, महान् प्रतिभाशाली हुनुको अर्थ तिमी सही हौ भन्ने होइन । कहिलेकाहीँ त एउटा सिधासादा किसान पनि विद्वान भदा बढी सही हुन सक्छ । एउटा बगैँचे प्रोफेसरभन्दा बढी सही हुनसक्छ । जीवन साँच्चिकै अद्भुत छ । यो सधैँ सरलतम र प्रेमपूर्ण मानिसहरूकहाँ जान्छ ।

पूर्व त चुक्यो र पश्चिम पनि त्यही भुल गरिरहेको छ । दुवै अधुरा र असन्तुलित छन् ।

मैले यसका बारेमा कुरा गर्नुप¥यो किनभने मेरो आधारभूत योगदान नै मानिसले सेक्स या मृत्युको चिन्ता गर्नु हुँदैन भन्नेमा छ । यी दुवै प्रकारका मनोग्रस्तताहरूबाट मानिस मुक्त हुनुपर्छ । र मात्र उसले थाहा पाउँछ… अनौैठो कुरा त के भने उसले त्यो बेला यी दुई बेग्लै होइनन् भन्ने थाहा पाउँछ । गहन प्रेमको हरेक क्षण मृत्युको क्षण हो । हरेक अर्गाज्म एक प्रकारको अन्त्य हो, स्थिर, ठहराव हो । उचाइसम्म पुग्छ, तारालाई छुन्छ र पुनः दोहो-याएर कहिल्यै त्यस्तो हुँदैन, चाहे तिमी जेसुकै गर । सत्य त प्रयास गर्दा त्यो अझ बढी टाढा हुन्छ ।

तर मानिस करिब करिब मुसोलेझैँ बाँच्छ, ऊ आफ्नो दुलोमा लुकिरहन्छ । चाहे तिमी यसलाई पूर्वीय, पश्चिमी, ईसाई या हिन्दु भन, सबै किसिमका मुसाका लागि हजारौँ किसिमका दुलो पाइन्छन् । तर दुलो त दुलो नै हो, चाहे त्यो जतिसुकै सुन्दर किन नहोस् । भलै उसले चर्च, मन्दिर या मस्जिदलाई झैँ सिँगारेको होस् । त्योभित्र बस्नुको अर्थ क्रमशः आत्मघात नै गर्नु हो किनभने तिमीलाई मुसो बनाइएको होइन, मनुष्य बन । पुरुष बन, स्त्री बन ।

अहिलेसम्म त सबै कुरा अचेतन ढङ्गले भइरहेको छ, प्रकृतिले तर अब प्रकृतिले धेरै गर्न सक्तिनँ । डार्बिनले भनेका छन्, बाँदरबाट मानिस जन्मियो । शायद ठीकै भने होला । म त त्यस्तो मान्दिनँ । त्यसैले मैले भनेँ, शायद उनले ठीकै भने होला । तर बाँदर त मानिस बनिरहेका छैनन् त १ यो के भयो ? डार्बिनको सिद्धान्तका अनुसार कुनै प्रकारले बाँदर अचानक मानिस बन्दै गरेको त देखिएको छैन ।

कुनै बाँदरलाई चार्ल्स डार्बिनमा रुचि छैन । उनीहरूले त त्यो निरस पुस्तकलाई पनि पढेका छैनन् । मेरो विचारमा, बाँदर डार्बिनको त्यो सोचबाट रिसाएका छन् । मानिस उनीहरूभन्दा बढी विकसित छन् भन्ने कुनै बाँदर मान्न तयार छैनन् । म त सबै किसिमका मानिसहरू, जसमा बाँदर पनि पर्छन्, तिनको सम्पर्कमा छु । मैले भनेको कुरालाई विश्वास गर, मानिस बाँदरको पतन हो । ऊ रुखबाट तल झ-यो । यसलाई उनीहरू विकास मान्दैनन् । म जुन नयाँ शब्द प्रयोग गर्छु, त्यसमा तिमीहरू सहमत हुनुपर्छ, त्यो होः अन्तर–विकास । शायद डार्बिन सही थियो । तर के भयो ? बाँदरहरूलाई बिर्स । हामीलाई तिनीहरूसँग कुनै मतलब छैन ।

मानिसलाई के भयो ? लाखौँ वर्ष बित्यो र मानिस जस्ताको त्यस्तै छ । विकास रोकिएको हो ? यसको कारण के हो ? कुनै पनि डार्बियनले यसको उत्तर दिन सक्ला भन्नेमा शंका छ । मलाई यो राम्रोसँग थाहा छ । मैले डार्बिन र उनका अनुयायीहरूलाई जति गहिरोसँग सम्भव भयो, त्यति गहिराईमा अध्ययन गरेको छु । म भन्छु, जति गरहिराईबाट सम्भव हुनसक्यो, किनभने कुनै खास गहिराई नै छैन । म के गर्न सक्छु ? तर डार्बिनको सिद्धान्त मान्ने एक जना व्यक्तिले आधारभूत प्रश्नको उत्तर दिन सक्तैनः ‘यदि विकास अस्तित्वको नियम हो भने मानिस विकसित भएर अतिमानव या महामानव किन बन्दैन ? ल ठीक छ, महामानव नहोस्, यो निकै ठूलो शब्द लाग्छ, तर मानिस पहिलेभन्दा राम्रो किन भएन ?’

शताब्दीदेखि उसमा कुनै परिवर्तन भएको छैन । इतिहासकारहरूले त भनिरहेकै छन्, मानिस आजको झैँ सधैँ खराब र घृणित नै थियो । यदि कुनै परिवर्तन भएको छ भने ऊ अझ खराब बनेको छ । हो, म म जे भनिरहेको छु, त्यो अरु कसैले भन्दैन ।

राजनीतिज्ञले त्यो भन्न सक्तैनन् किनभने राजनीतिज्ञहरूलाई भोट चाहिन्छ । तथाकथित फिलोसफरले पनि भन्न सक्तैनन् किनभने उसलाई नोबेल पुरस्कार पाउने आशा छ । र, त्यो कमिटीमा त सबै बाँदर नै छन् । कुनै वास्तविक कुरा भन्यौ भने मजस्तै ऊ पनि समस्यामा पर्नेछ । जुन बेलादेखि म सचेत भएँ, त्यो बेलादेखि एक दिन पनि यस्तो छैन, समस्याले नझिँजोलेको होस् मलाई । मभित्र कुनै समस्या छैन । भित्र त सबै समस्या समाप्त भएका छन् तर बाहिरका हरेक क्षण समस्याले भरिएको छ । यदि कसैसँग मेरो सम्बन्ध छ भने ऊ पनि समस्यामा पर्नेछ ।

हालै मैले थाहा पाएँ, हाम्रो एउटा केन्द्रमा केही मानिसले आक्रमण गरे । झ्याल फुटाए, केही सामान लुटी लगे । त्यसपछि एउटा केन्द्रमा आगो लगाइयो ।

अब मेरा मानिसले कसैलाई केही बिगारेका छैनन् । उनीहरू त्यहाँ भेट्न मात्र आउँथे । ध्यान गर्थे । प्रहरीले पनि त्यही भने, यो त अनौठै भयो । हामी यहाँ दुई वर्षदखि हेरिरहेका छौँ । यहाँका मानिस बिल्कुल बेकसुर छन् । न त यी कुनै राजनीतिक पार्टीका हुन्, न त कुन विशेष सिद्धान्त प्रचार गर्छन् । यिनीहरू आनन्दमा मस्त हुन्छन् । यिनका घर किन जलाइएको हो ? यसको कारण बुझिएन ।

प्रहरी शायद यसको कारण थाहा नपलाउला किनभने कारण त यहाँ छ, डेन्टल चेयरमा सुतेको छ ।

हामीले मानिसलाई कुनै पनि हानि गरका छैनौँ र पनि हरेक दिन कुनै न कुनै समस्या आउँछ । कसैले केही बिगारेका छैनन्, मेरा मानिसले कसैको नोक्सान पु-याएका छैनन्… शायद यही हाम्रो गल्ती हो । माफिया बरु ठीक हुन्छन्ः म छैन भने तँ पनि छैनस् भन्ने शैली ठीक होला ।

यो संसार या त सेक्सबाट ग्रसित छ या त मृत्युबाट । त्यसै कारण यसरी नै रुग्ण र अस्वस्थ हुनेछ । यदि हामी स्वस्थ, पुष्ट मनुष्यता चाहन्छौँ भने हामीले आफ्नो दृष्टिकोण बदलेर नयाँ शैलीले सोच्नुपर्ने हुन्छ ।

पहिलो कुरा, जो कुरा पहिलेदेखि नै छ, त्यसलाई स्वीकार गर । परमात्मालाई धन्यवाद छ, तिमीले पहिल्यै सेक्सको सिर्जना गरिदियौ । नत्र त हरेक व्यक्ति बेग्लाबेग्लै किसिमको यन्त्र प्रयोग गर्ने थियो । यसका कारण धेरै निराशा पनि हुन्थ्यो किनभने ती यन्त्र ठ्याक्कै ठाउँमा हुन्थेनन् । एउटै जस्तो हुँदा त ‘फिट’ हुँदैन, स्वर सामञ्जस्यका बाबजुद पनि ती संगीतपूर्ण हुँदैनन्, सबै मानिस आफ्नो आफ्नो कामवासना सिर्जना गर्थे भने निकै गडबड हुन्थ्यो । तिमीले यसको कल्पना पनि गर्न सक्तैनथ्यौ ।

पहिलेदेखि नै तयार भएर आएका छौ, त्यही भएर यो राम्रो भयो । तिमीले पहिलेदेखि नै आफ्नो सम्भावना लिएर आएका छौ ।
र, मृत्यु पनि स्वाभाविक कुरा हो । एक क्षणका लागि, कल्पना गर, तिमी सधैँका लागि बाँच्छौ । अब तिमी के गर्छौ ? तिमीले आत्महत्या गर्न सक्तैनौ ! मलाई अलेक्जेन्डरको शाश्वत जीवनको खोज निकै मन पर्छ । … अन्त्यमा उसले अरबको मरुभूमिमा पानीको कुवा फेला पा¥यो । ऊ अन्त्यन्त आनन्दित भो । ऊ त खुसीले नाच्न नै थाल्यो होला । तर ठीक त्यही बेला एउटा कागले भन्यो, ‘पख् ! पानी पिउनुभन्दा पहिले पख । यो साधारण पानी होइन । मैले यसलाई पिएको थिएँ र अफसोस, अब म मर्न सक्तिनँ । सारा उपाय गरेँ तर केही गर्न सकिनँ । विषले मलाई मार्न सक्तैन । मैले आफ्नो टाउको चट्टानमा ठोक्दा बरु चट्टान फुट्यो तर मलाई केही भएन । यो पानी पिउनुभन्दा पहिले राम्रोसँग सोच । कथाले भन्छ, अलेक्जेन्डर, कतै यो पानी गल्तीले नपिऊँ भन्ने डरले भाग्यो ।

अलेक्जेन्डरका गुरु महान् अरस्तु थिए, जो युरोपेली फिलोसफी र तर्कका पिता मान्छिन् । साँच्चिै महान् पिता ! उनी बिना विज्ञान हुन्थेन न त हिरोसिमा या नागासाकी ! अरस्तु बिना पश्चिमका बारेमा सोच्न पनि सकिन्न । अरस्तु अलेक्जेन्डरको शिक्षक थिए । मलाई शिक्षक सधैँ दयनीय लाग्छन् ।

बालापनमा मैले एउटा पुस्तक देखेको थिएँ, त्यो कुन थियो, मलाई सम्झना भइरहेको छैन । शायद त्यो सिनेमाका बारे थियो । त्यसमा अरस्तु अलेक्जेन्डरलाई पढाइरहेको थियो र बालक अलेक्जेन्डरले भन्यो, ‘मलाई अहिले पढ्न मन लागेको छैन । म त घोडा चढ्न चाहन्छु । तपाईं घोडा बन्नूस् ।’ विचरो अरस्तु घोडा बन्नु प¥यो । ऊ हातपाउ गरेर बस्यो अनि अलेक्जेन्डर उसको पिठ्यूँमा चढ्यो । र, त्यही मानिस पश्चिमी फिलोसफीको पिता बन्यो । कस्तो पिता !

सुकरातलाई पश्चिमी फिलोसफीका पिता कहिल्यै भनिदैन । सुकरात प्लेटोका गुरु थिए र प्लेटो अरस्तुका । तर सुकरातलाई विष दिइयो किनभने ऊ मन पराइएको थिएन । उसलाई पचाउनु सहज थिएन । पश्चिम उसका बारेमा सबैकुरा बिर्सन चाहन्थ्यो । शायद ऊ त्यो समन्वयको कुरा प्रस्तुत गथ्र्यो, जसको म कुरा गर्ने गर्छु । यदि उसलाई विष नदिइएको भए, उसका कुरा सुनिएको भए र उसको सत्यको खोजलाई आधार बनाइएको भए हामी अर्कै किसिमको संसारमा बाँचिरहेका हुन्थ्यौँ होला ।

प्लेटोलाई पनि पिता भनिदैन किनभने खतरनाक सुकरातका साथ उनको नजिकको सम्बन्ध थियो । सुकरातका बारेमा हामी त्यही कुरा जान्दछौँ, जुन प्लेटोले उनका बारेमा लेखेका छन् । जसरी देवगीत नोट लेख्छन्, त्यसरी नै प्लेटोले पनि आफ्ना गुरुका कुरा नोट गर्थे होला । प्लेटोलाई स्वीकार गरिएन किभने उनी सुकरातको छाया मात्र थिएनन् । अरस्तु प्लेटोको शिष्य थियो तर जुडास थियो । ऊ शुरुमा उसको शिष्य थियो र उसले आफ्ना गुरुबाट सबै कुरा सिक्यो र पछि आफैँ गुरु बन्यो । तर कतो विचरो गुरु थियो ! सम्राटले उसलाई पैसा दिएर आफ्नो छोरोको शिक्षक नियुक्त गरेको थियो । अलेक्जेन्डरले उसलाई घोडा बनाउँथ्यो भन्ने कुरा थाहा पाउँदा कति चित्त दुख्छ ! कसले कसलाई पढाइरहेको छ र वास्तविक गुरु को हो ?
म विश्वविद्यालयमा शिक्षक थिएँ । त्यसैले अलेक्जेन्डर अरस्तुमाथि चढ्नुले सिद्ध गर्छ, ऊ पश्चिमा फलोसफीको पिता थिएन । ऊ पिता हुन्थ्यो भने पश्चिमका सारा फिलोसफी त्यो अनाथ बालकजस्तै हो, जसलाई ईसाई मिसनरीहरूले धर्मपुत्र बनाए, शायद कलकत्ताकी मटर टेरेसाले । ती महान् महिला केही पनि गर्न सक्छिन् । अरस्तुमाथि मलाई त दया लाग्छ । उसका लागि मसँग अर्को कुनै शब्द छैन । उसका कारण मैले लज्जित हुनुपर्छ कि कुनै बेला म पनि शिक्षक थिएँ ।

हरेक दिन आफ्ना कक्षाका विद्यार्थीहरूसँग सबैभन्दा पहिले यही भन्थेँ, ‘यहाँ म गुरु हुँ, सम्झनामा राखिराख । तिमीहरू मलाई सुन्न चाहदैनौ भने तुरुन्त जाओ । सुन्न चाहन्छौ भने चुपचाप सुन । म तिमीहरूका सारा प्रश्नको उत्तर दिन तयार छु । तर म कुनै पनि प्रकारको हल्ला सहन सक्तिनँ, खासखुस पनि सुन्न सक्तिनँ । तिमीहरूका गर्लफ्रेन्ड यहाँ छन् भने अहिल्यै बाहिर जाओ, तिनलाई साथै लिएर जाओ । जब म बोलिरहेको हुन्छ भने केवल मै बाल्छु, तिमीहरू सुन्छौ । तिमीहरूलाई केही भन्नु छ भने हात उठाउनू तर उठाइरहनु किनभने त्यसको अर्थ के होइन भने जब तिमीहरू सोध्न चाहन्छौ, त्यही बेला म जवाफ दिऊँ भन्ने कदापि होइन । म यहाँ तिमीहरूको नोकर होइन । म अरस्तु होइन । अलेक्जेन्डरले मलाई घोडा बनाउन सक्तैन ।’

हरेक दिन यही मेरो परिचय हुन्थ्यो । मलाई खुसी लाग्छ, उनीहरू यो कुरा बुझ्थे, बुझ्नु नै पथ्र्यो । त्यसैले कहिलेकाहीँ देवगीत, तिमीसँग कठोर हुन्छु । तिमीलाई बटम दबाउनुपर्छ र यसबाट आवाज निस्कन्छ नै । यसमा तिमी के गर्न सक्छौ ? मलाई राम्रोसँग थाहा छ, यो मेरो पुरानो बानी हो ।

जहिले पनि मैले बोलेँ, गहन मौनमा बोलेँ । तिमीहरूलाई त थाहै छ । वर्षैंदेखि तिमीहरूले मलाई सुनिरहेकै छौ । तिमी बुद्ध हलको मौनबाट परिचित छौ । केवल त्यो मौनमा… तिम्रो अंग्रेजीको यो लोकोक्ति निकै अर्थपूर्ण छ कि मौन यति गहन छ कि सियो झर्दा पनि आवाज सुन्नसकिन्छ तर मलाई मौनको बानी छ ।

त्यो दिन जब म कोठाबाट बाहिर जाँदै थिएँ, तिमी खुसी थिएनौ । यसपछि मलाई ज्यादै नराम्रो लाग्यो, ज्यादै पीडा भयो मलाई । म त कहिले पनि तिम्रो हृदय दुखाउन चाहन्न थिएँ । यो त मेरो पुरानो बानी हो, अब तिमी नयाँ कुरा सिक्न सक्तैनौ । सिक्ने सीमाभन्दा म पर पुगेको छु ।

जब म अमेरिका आएँ, मैले फेरि कार चलाउन थालेँ । कारमा मसँग बसेका मानिसहरू कहिलेकाहीँ रिसाउँथे । म ड्राइभर त होइन । राम्रो ड्राइभर हुँदो हुँ त अर्कै कुरा हुन्थ्यो । स्वभावतः मैले ती सबै काम गरेँ, जुन गलत थियो । हुन त उनीहरूले हस्तक्षेप नगर्ने पूरा प्रयास गरे । उनीहरूको कठिनाइ म बुझ्न सक्छु । उनीहरूले आफूलाई नियन्त्रणमा राखिरहे । रमाइलो दृश्यः म गाडी चलाइरहेको थिएँ र उनीहरू आफूलाई नियन्त्रित गरिरहेका थिए । तर पनि बीचबीचमा उनीहरू बिर्सन्थे र मसँग केही भन्न थाल्थे, जुन अधिकांशतः ठीक नै हुन्थ्यो । त्यसबारेमा मलाई केही भन्नु छैन तर गलत अथवा सही, यसले कुनै फरक पर्दैन, जब म कार चलाइरहेको हुन्छु, म कारै चलाइरहेको हुन्छु । म गलत बाटो हिँडाइरहेको छु भने म गलत बाटो हिँडिरहेको हुन्छु । हिँडेसम्म उनीहरू आफूलाई नियन्त्रित गरिराखून् ? यो ज्यादै खतरनाक थियो र उनीहरूलाई आफ्नो मृत्युको चिन्ता थिएन । उनीहरूले मेरो जीवनको चिन्ता गरिरहेका थिए तर म पनि के गर्न सक्छु ? म यस्तै छु, म गलत तरिकाले कार चलाइरहेको छु र त्यसरी नै चलाइरहन्छु । खासगरी त्यो बेला जब मलाई केही सिक्नु नै छैन । यो कुनै अहंभाव थिएन ।

यस हिसाबले म निकै सरल छु । तिमी सधैँ मलाई भन्न सक्छौ, म कहाँ गलत छु । र, म सधैँ सुन्न तयार छु । तर जब म केही भनिरहको हुन्छु, त्यो बेला कुनै पनि प्रकारको दखल रुचाउँदिनँ । उद्देश्य जतिसुकै असल किन नहोस्, त्यसमा मेरै भलाइ भए पनि मलाई अरुले रोकेको मन पर्दैन । अरुको सल्लाहमा म आफ्नो जीवन बचाउनुभन्दा गलत तरिकाले ड्राइभ गर्दै मर्न रुचाउँछु । म यस्तै छु र अब मबाट परिवर्तन हुने कुरा निकै ढिला भइसक्यो ।

तिमीहरूलाई आश्चर्य लाग्ला, मलाई सधैँ नै ढिला भइरह्यो । बच्चा बेलामा पनि मलाई कतिपय काममा धेरै ढिला भइसकेको हुन्थ्यो । म त जे गर्न चाहन्थेँ, त्यहीँ गरेँ । अहिले पनि त्यही गर्न चाहन्छु र गर्छु । सही या गलतको प्रश्नै उठ्दैन । सही भयो भने राम्रो, सही भएन भने पनि अझ राम्रो ।

शायद कहलिेकाहीँ म तिम्राप्रति कठोर हुन्छु तर म हुन चाहन्नँ । यो तीस वर्षभन्दा पनि बढी मौनमा शिक्षा दिने पुरानो बानी हो, जसलाई मैले बिर्सन सक्तिनँ ।

म त एउटै कुरामा जोड दिन चाहन्थेँ, त्यसको चर्चा भोलि गर्न चाहन्थेँ । मेरो भनाइको अर्थ, म चक्रबाट छुटकारा पाउनेविरुद्ध छैन तर म त्यसलाई रोक्ने मनोग्रस्तताका विरुछमा छु । त्यो त आफैँ रोकिन्छ तर तिम्रो रोक्ने प्रयासले रोकिँदैन । त्यो त तिम्रो अर्कै कामले रोकिन सक्छ । र, त्यो ‘अर्कै काम’लाई म ध्यान भन्छु ।