साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

द ह्वाइट टाइगर (सेतो बाघ) / अरबिन्द अडिगा- भाग ४६

“तपाईं, मलाई विश्वास गर्नुस्‌ न । बाहिर आउनोहोस् त एकपटक ।” मोबाइल सिटमा राखेर उनले मेरो आज्ञा पालन गरे । मोबाइलको निलो बत्तीले कारभित्र एक सेकेन्ड उज्यालो भयो र निभ्यो ।
कारको ढोका पूरै खोलेर सडक छेउमा बाहिर निस्किए ।म चार खुट्टाले हिँडेर कारको पछि गएर लुकेँ ।

ratna book ads

“तपाईं यतापट्टि आउनुस्‌ | बिग्रेको टायर यतापट्टि छ ।”

उनी हिलोमा छामछाम छुमछुम गर्दै मतिर आए ।

“तपाईं, यतापट्टि हो । ख्याल गर्नुहोला नि त्यहाँ फुटेको बोतल छ । खुट्टा काट्ला । सडक छेउमा फोहरको डङ्गुर थियो । त्यसैले पनि त्यहाँ फुटेको बोतल हुनु स्वभाविक देखिन्थ्यो ।

“यता, पख्नुस्‌ त म यसलाई फालिदिन्छु । तपाईं यो टायर हो | कृपया एकपटक हेर्नुस्‌ त ।”

उनी टायर हेर्नलाई घुँडा टेकेर बसे | म फुटेको बोतल एउटा हातले पछाडि लुकाएर लिँदै उठेँ ।

मेरो तल उनको टाउको एउटा कालो भकुन्डो जस्तै देखिन्थ्यो । कालोपत्रे सडकको बिचको सेतो धर्सो जस्तै त्यो अँध्यारोमा पनि उनको दुईतिर कपाल झारेर कोर्दा बनेको सेतो सिउँदो निधारदेखि टुप्पीसम्म छर्लङ्ग देखिन्थ्यो ।

पानीका छिँटाबाट आँखा छल्नलाई आँखीभौँ खुम्च्याएर ङिच्च गर्दै उनले मलाई हेरे र भने, “हेर्दा त ठिकै छ जस्तो छ त ।”

म बदमासी गर्दागर्दै मास्टरले पक्डिएको बच्चो जस्तै ठिङ्ग उभिएँ । मैले सोचेँ, “जमिनदारको रगतले बनेको दिमागले पक्कै थाहा पायो । अब उठेर मेरो मुखमा थप्पड लगाउने भयो ।”

तर युद्ध हुँदै छ भन्ने थाहै नपाइकन युद्ध जितिन्छ भने त्यसको के अर्थ छ र ?

“बलराम, यो कारको बारेमा त मलाईभन्दा बढी तिमीलाई थाहा छ ।म फेरि एकपटक हेर्छु ल ।”

उनले फेरि टायरलाई नियालेर हेरेँ । फेरि मैले कालो राजमार्गमा टुपीसम्म पुगेको सेतो धर्सो देखेँ ।

“समस्या छ हजूर । तपाईंले यो धेरै पहिले नै बदल्नुपर्ने थियो ।”

“ठीक छ बलराम ।” टायर छुँदै उनले भने । “तर साँच्चै हामी…….”

मैले बोतलले उनको नका ड्याम्म हाने । सिसाले हड्डी छियाछिया पार्यो । तीनपटक थाप्लोमा गिदी नै खल्बलिने गरेर बजाएँ । यो जोनी वाकर ब्ल्याकको बोतल बडो बलियो हुन्छ । कवाडी मूल्य बराबर यसले काम पनि गर्छ ।

उनको बेहोस शरीर हिलोमा डङग्रङ्ग लड्यो । टायरको हावा फुस्केजस्तै उनको ओठ बस्यो ।

म थचक्क बसेँ । हात थरथरी काम्यो, हातको बोतल खस्यो र मैले देब्रे हातले त्यसलाई टिप्न पर्यो । त्यो चिज सुसाउँदै चार हातखुट्टाले टेकेर फनफनी घुम्न थाल्यो । लाग्थ्यो त्यसले कुनै संरक्षक खोज्दै थियो ।

ऊ बेहोसै छँदा मैले उसलाई किन झाडीतिर मिल्काइदिइनँ ? त्यसो गरेको भए म भागुन्जेल उसले घन्टौसम्म केही गर्न सक्ने थिएन | यो प्रश्नको बारेमा आफ्नै डेस्कमा, झालरबत्ती हेरेर एकोहोरिँदै मैले धेरै रात सोचेको छु ।

पहिलो सम्भावित उत्तर के हो भने उसको होस्‌ खुलेको भए हत्तपत्त झाडीबाट निस्केर पुलिस बोलाउन सक्थ्यो । त्यसैले उसलाई मार्नु मेरो बाध्यता थियो ।

दोस्रो सम्भावित उत्तर के हो भने उसको परिवार पनि मेरो परिवारलाई सत्यानाश पार्न जाँदै थियो । त्यसैले मैले अग्रिम बदला लिँदै थिएँ ।

मलाई पहिलोभन्दा दोस्रो उत्तर उपयुक्त लाग्यो ।

चार हातखुट्टाले हिँडिरहेको चिजको ढाडमा लात राखेर भुइँमा अँठ्याएँ । फेरि केही गर्नपर्ने पो हो कि भनेर उसकै छेउमा घुँडाले टेकेर बसेँ | त्यसलाई उत्तानो पारेँ ताकि मलाई हेरोस्‌ । त्यसको छातीमा टेक । सर्टको कल्लरको बटन खोलेँ र ठीक ठाउँ पत्ता लगाउन खोकिलोमा हात रगडेँ ।

जब म केटाकेटी छँदै लक्ष्मणगढमा थिएँ, म मेरो बुबाको शरीर चलाएर खेल्ने गर्थे । त्यो खोकिलो नै मेरो सबैभन्दा प्रिय ठाउँ हो जहाँ छाती र गर्धन जोडिन्छ र ठूला ठूला नसाहरू प्रस्ट देखिन्छ । मेरो बुबाको खोकिलोमा औँलाले छोएरै मात्र मैले वहाँलाई मेरो वशमा पार्थे । मेरो एउटा औँलाको दवाबमा पनि वहाँ सासै फेर्न बिर्सनुहुन्थ्यो -!

भुँडीफोरको छोराले आँखा खोल्यो । जब मैले उसको घाँटी छेँडिदिएँ, उसको रगत उछिट्टिएर मेरो आँखामा पर्यो । म अँन्धो भएँ साथै एउटा स्वतन्त्र मानिस पनि ।

जब मैले आँखामा लागेको रगत पुछेँ, अशोकजीको काम तमाम भैसकेको थियो । घाँटीबाट रगत ह्वालह्वाल आउँदै थियो । मलाई लाग्छ मुसलमानले कुखुरा काट्ने पनि यसै गरी हो !

म ठोकेर भन्न सक्छु कि क्षयरोग लागेर मर्न यो भन्दा पनि विजोग हुन्छ !

लासलाई घिसारेर झाडीमा मिल्काएपछि हात मुख भेल पानीमा डुबाएर मेरो गोडा छेउबाट पोको उठाएँ । त्यही एउटा मात्र अँङग्रेजी शब्द लेखिएको सुतीको टिसर्ट फेरे । टिस्युपेपर राखेको चम्किलो बट्टाबाट पेपर निकालेर हातमुख सफासँग पुछेँ । उनको मृत आत्मालाई स्वर्ग जान सहयोग गरून्‌ भनेर कारमा टाँसिइराखेको सबै देवदेवीहरूको स्टिकर उप्काएर उनकै लासमाथि फ्याँकिदिएँ ।

अनि कारमा बसेँ, साँचो खोलेँ, एक्सिलेटरमा गोडा राखेर बफादार मतियार, होन्डा सिटी लिएर अन्तिम यात्रामा निस्केँ । गाडीमा कोही पनि थिएन । त्यसैले देब्रे हातले बजिरहेको स्टिङको सिडी बन्द गरेँ । अनि कार रोके र सन्तोषको सास फेरेँ |

यसपछि म जतिबेला मन लाग्यो त्यति बेला गीत बजाउन सक्ने भएँ ।
तेत्तीस मिनेटपछि रेल स्टेसनमा रङ्गीचङ्गी घुम्ने चक्का भएको त्यही ज्योतिष मेसिनहरू झपाकझिपिक गर्दै थिए । म त्यही मेसिनहरू अगाडि उभिएर फनफनी घुमिरहेका गोलाकार चक्काहरू हेर्दै आश्चर्य मान्दै सोचेँ, “के म फर्केर धर्मलाई लिन जानु ठीक हो ?”

यदि मैले उसलाई त्यहीँ छोडेर गएँ भने पक्कै पुलिसले उसलाई मतियार भनेर पक्राउ गर्छ । उनीहरूले उसलाई बदमास मान्छेले टन्न भएको जेलमा हालिदिनेछन्‌ । साना केटाहरूलाई त्यस्तो कालकोठरीमा राखिदिँदा उनीहरूलाई के हुन्छ भन्ने श्रीमानलाई थाहा भएकै कुरा हो ।

अर्कोतिर, यदि म फर्केर गुरगाउँ गएँ भने, कसैले लास फेला पारेको हुनसक्छ- र यो सबै (झोला दह्रो समातेँ) त्यसै खेर जाने भो ।

म किकर्तव्यविमूढ भएर स्टेसनमा टुक्रुक्क बसेँ | मेरो देब्रेपट्टि केही चुइँकिएको आवाज आयो । एउटा प्लास्टिकको बाल्टी कुनै जीवित वस्तु जस्तै गुल्टिरहेको थियो | अनि ङिच्च दाँत देखाउँदै एउटा कालो अनुहार बाल्टीबाट फुत्त बाहिर निस्क्यो । सानो बच्चो पो रहेछ । बाल्टीको दायाँ बायाँ एउटा घरबारविहीन फोहरी गरिबको जोडी एक सुरमा टोलाएर पर हेरेर बसिरहेको थियो । थकित आमाबाबुको बिचमा त्यो सानो बच्चो पानी छप्ल्याक छुप्लुक गरेर आउने-जाने मानिसलाई छ्याप्दै जीवनको आनन्द लिइरहेको थियो ।

“ए फुच्चे, त्यस्तो नगर्‌ ।” मैले भनेँ । ऊ झन्‌ बढी पानीले मलाई छ्याप्दै खुसीले चिच्च्याउन थाल्यो । मैले पिटुँला जस्तो गरी हात उठाएँ । ऊ बाल्टीभित्र चोपलिएर चल्बलाउन थाल्यो ।

खल्तीमा हात राखेर छामछुम गरेर एक रूपियाँको सिक्का निकाले । कतै दुई रूपियाँ नहोस्‌ भनेर राम्ररी हेरेँ र बाल्टी भएतिर गुडकाइदिएँ !

अँ लामो सास तान्दै उठेँ, आफैँलाई धिक्कार र स्टेसनबाट बाहिर लागें । मनमनै भनेँ, तेरो आजको दिन शुभ दिन रहेछ, धर्म ।”

प्रतिक्रिया
Loading...