साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

सामाजिक सञ्जालले जन्माएको एउटा स्तरीय र फराकिलो  विचार

कविता भावना हो। तर साधरण भावना होइन। आफूले देखेको, भोगेको, परिवेशमा भइरहेको दृश्यहरूलाई मस्तिष्कमा चालेर भावनाको तालमा बगाएर  औँलाहरू हुँदै कलमको सहायताले श्वेत पन्नामा मिलाएर छर्नु नै कविताको सृष्टि हुनु हो मेरो विचारमा ।

ratna book ads

टाढा टाढाबाट भारी बोकेर वा हिँड्दै जाँदा थाकेपछि केही क्षण थकाइ मेटाउने ठाउँ हो, चौतारी । अथवा अझै यसरी पनि जान्न सकिन्छ कि भिन्नभिन्नै विचार भएको दिमागहरू कुनै विषयमाथि चर्चा परिचर्चा गर्न भेला हुने पनि हो चौतारी । चौतारीमा विशेष चारैतिरका मानिसहरू आफूलाई चाहिने सामग्रीहरू बोकेर आउदा थकान् मेटाउन बस्छन् अनि एकार्कामा भलाकुसरी गर्छन् । परिचय साट्छन्, सम्बन्ध जोड्छन्।

यहाँ पनि यस्तै गरी आफ्नो आफ्नो साहित्यिक विधाका भारीहरू लिएर आएका छन् । तर यहाँ थकाइ मेट्न भने होइन नै भन्न पर्छ । यहाँ सर्जकहरू आफ्नो आफ्नो ढाकारहरू एकार्कामा परिचय गराउन अनि उनीहरूको साहित्यिक समाजमा सम्बन्ध जोड्न बिसाएका छन् । मुक्तकका ढाकरहरू सुसज्जित छन्, प्रशस्तै कविताको कुण्ठाहरू पनि आएका छन्, हाइकुहरूको सँगालो पनि परिचय साट्न यहाँ बिसाउन  पुगेको हामी पाउन सक्छौँ ।

चौतारी कविता सङ्कलन एउटा मिठो फल हो। कठिन परिश्रमको परिणाम हुनपर्छ यो। यहाँ धेरैजसो कविताहरू अति नै राम्रा अनि स्तरीय छन्। हो नारीवादलाई समेटेर थुप्रै कविताहरू तैरिरहेको पाउँछौं अनि ती कविताहरू वजनदार छन्, उद्देश्यमूलक छन् । सङ्कलनभन्दा पनि चौतारी एउटा साहित्यिक धरातल बनिएको प्रष्ट देखिन्छ । नयाँ कलमहरू स्थापित कलमसँग खुल्ला सम्बन्धमा आएका देखिन्छन् । यहाँ माया, प्रेम, हौसला, प्रत्साहनको कमी छैन भन्ने तथ्य सङ्कलन पढेपछि खुलस्त पर्न जान्छ । भनौँ, चौतारीले एउटा मिठो अनि फराकिलो साहित्यिक परिवेश सृजना गरेको छ ।

वर्तमान युगमा सामाजिक सञ्जाल खुबै लोकप्रिय अनि प्रचलित छ । हामी यस युगका मानिसहरू सामाजिक सञ्जालबाट टाडिन् सकेको छैनौँ । तर दुखको कथा धेरैजसो मानिसहरू यसको सदुपयोग गर्नबाट चुकिरहेका छन् । बर्बाद भइरहेका छन् । दासी बनिरहेका छन् । तर यसको सदुपयोग गर्न सके धेरै राम्रो हुनसक्छ भन्ने प्रमाण चैँ चौतारीले देखाएको  छ।

चौतारी सामाजिक सञ्जालले जन्माएको एउटा स्तरीय अनि फराकिलो  विचार हो। एउटा ठूलो आँगन हो साहित्यप्रेमीहरूको । त्यसर्थ, यो विचारलाई म अन्तरात्माबाट नमन टक्राउँदछु । फलोस् फुलोस् । यहाँ  जस्तै सधैंभरि फुलाउन सकिरहोस् नयाँ नयाँ साहित्यका फूलहरू भन्ने चाहना राख्दछु।

चौतारी कविताहरूको सङ्कलन हो । यहाँ कविताकै प्रारूपहरू छन्, यहाँ  मुक्तक, हाइकु, रूवाई अनि गजलहरू पनि छन् । तर यहाँ सङ्कलनको संरचनामा मलाई अलिकति सन्तुष्ट लागेन । त्यो विशेष के भने यहाँ मुक्तक, कविता, हाइकु अनि गजल र रूवाइहरू सूचि बनाएर क्रमबद्ध राख्नुपर्ने हो । किनभने भिन्नाभिन्नै विधा भएको कारण आफ्नो आफ्नो स्थान बनाएर राखेको भए पाठकवर्गलाई पठनमा अति नै सुविधा हुनसक्ने थियो भन्ने मेरो निजी विचार हो । मुक्तक, हाइकुलगायत रूवाइ पनि कविताकै अंश हुन् तर छन्द कविता जस्तै नियममा बाँधिएर लेख्नपर्ने हुनाले यसलाई एउटा आफ्नै परिचय दिएको हो भन्ने मलाई लाग्छ।

एउटामात्र पदमा भाव पूरा गरेर लेख्नुपर्ने विधा मुक्तक अनि रूवाइ हो । र, यही परिधिभित्रका मुक्तक अनि रूवाइहरू हामी यहाँ धेरै मात्रामा रस्वादन गर्न सक्छौँ । मुक्तक अत्यन्त कसिलो अनि सघन हुन जरुरी छ। प्रायः मुक्तकहरू असल छन् तर पनि कहीँकहीँ केही कुराहरू चुकेको जस्तो पनि लाग्छ । तर भनिन्छ नि राम्रा अनि असलहरूको घुँइचोमा केही बदमासको गन्य हुँदैन, सबै असल नै मानिन्छन् । यस्तैगरी मुक्तकहरू समग्रमा भन्नुपर्दा असल नै छन् । अनि अझ राम्रा राम्रा मुक्तकहरू सृजना गर्न सक्षम ठान्छु म ती सर्जकहरूलाई अनि अपेक्षा पनि उहीँ राखेको छु ।

कवितासँगै केही गजलहरू पनि आफ्नो भारीहरू बिसाएका रहेछन् यो चौतारीमा । साँच्चीकै चौतारीले साहित्यप्रेमी अनि कोपिला लागिरहेका कलमहरूलाई साहित्यको फराकिलो बाटोमा हिँड्न सिकाउन सक्षम देखिन्छ । यो सराहनीय कार्य हो।

विशेष चौतारीको बारेमा भन्नपर्दा म यस बिसाउनीको संस्थापकसँग व्यक्तिगत रूपमा परिचय छैन । चौतारी पहिले फेसबुक समूह थियो भन्ने पनि मलाई थाहा भएको थिएन। मैले फेसबुक समूहभन्दा अघि यो कविता सङ्कलन देखेको थिएँ । पछि गएर श्रदेय गुरुमा सकुन राईसँगको परिचयपछि फेसबुक समूह हो भन्ने जान्न पाएँ । चौतारी कविता सङ्कलन पढ्ने धेरै इच्छा त अघि देखिको नै हो । भाग्यवश २०१९ को दसैँमा यसलाई स्पर्श गर्नपाए।

नेपाली साहित्य दार्जीलिङका एक विशिष्ठ साहित्यकार, नाटककार आदरणीय श्री “हस्त नेचाली”  बाजेको वासस्थानमा टीका थाप्न गएको समय उहाँकै बुहारी, हाइकु लेखिका, कवि श्रदेय श्रीमती निरा सुब्बा नेचाली माइज्यूबाट चौतारीको दर्शन पाउन सकेँ । तर उहासँग पनि अतिरिक्त कपी नभएको कारण  आफूसँग ल्याउन सकिनँ । त्यसपछि त झनै मलाई चौतारी पढ्ने रहर बढेर आयो । चाहनाको भारी बोकेर पनि खै के नमिलेर हो यसलाई हात पार्न लगभग ऐघार महिना लाग्यो।

विश्व नेपाली महासङ्घ, भारत शाखाको सदस्य बनेपछि श्रदेय आन्टी नारी हस्ताक्षर, कवि श्रीमती देविका मङ्ग्राती राईसँग परिचय हुन पुग्यो । त्यही क्रममा उहाँले मलाई यो सङ्कलन १५ सितम्बर २०२० मा उपलब्ध गराइदिनु भयो। म हर्षित बने तर उहाँले यो सङ्कलनमााथि पढेर केही लेखिदिने अनुरोध गर्नु भयो। मैले नाइँ भन्न सकिनँ, तर म नर्वस थिएँ। आफू साहित्यमा भर्खर ताते गर्दै गरेको मान्छे, लेख्नभन्दा पनि पढ्न रुचाउने। अब के लेख्ने होला, कसरी लेख्ने होला ? अन्योलमा परे। आफूलाई भरोसा गरेर नै त आण्टीले जिम्मेवारी सुम्पिनु भएको होला। डर लाग्यो। लगभग एक हप्ता जति डराएर बसेँ। होइन अब यो भरोसा टुट्न दिनु हुँदैन, जिम्मेवारी निभ्याउने कोसिस गर्नैपर्छ भन्ने विचार गरे अनि बिस्तारै सङ्कलनमा पौडन निस्केँ ।

हुनसक्छ एउटा नयाँ कलम, सिकारु हातहरू लिई म यस्तो गरिमामय सङ्कलनलाई पूर्णतः न्याय दिलाउन सक्षम नबने पनि पूर्णरूपमा कोसिस गर्नेछु । मेरो कलमले चौतारीलाई न्यायसँग केलाउन नसके सिकारु कलम ठानी माफी दिनुहुन्छ भन्ने भित्री मनदेखि सम्पूर्ण सर्जक, समूह अनि पाठकवर्गमा अपेक्षा राखेको छु ।

कविता भावना हो। तर साधरण भावना होइन। आफूले देखेको, भोगेको, परिवेशमा भइरहेको दृश्यहरूलाई मस्तिष्कमा चालेर भावनाको तालमा बगाएर  औँलाहरू हुँदै कलमको सहायताले श्वेत पन्नामा मिलाएर छर्नु नै कविताको सृष्टि हुनु हो मेरो विचारमा । दुनियाँका सबै जीवित प्राणीहरूमा भावना हुन्छ, त्यसरी त सबैले परिवेशको अवस्था, सुख, दु:ख, खुसीहरू महसुस गर्छन् । तर सबैले यस भावनालाई खेलाएर  कवितामा परिणत गर्न सक्दैनन्, जो कविहरू गर्छन् । त्यसैले कविहरू खास हुन्छन् ।

चौतारीका कविताहरू आफ्नो आफ्नै किसिमका छन् ।  कविताहरूले आफ्नो आफ्नो विशेषताहरू बोकेका छन् । पढ्दै जाँदा कविताहरू साँच्चै व्यवहारिक लाग्छ । आफूले सधैँ देखिरहने दृश्यहरूलाई शब्दहरूको माला उनेर कवितामा उतार्न सक्षम छन् कविहरू ।

“हिजोआज कुन्नि किन आफ्ना मात्र लड्छन्

बाठो भई सबैतिर धाक मात्र छर्छन्

नमच्चिने पिङको सय झट्का

तानातानभित्र पनि अरू हाँस्छन् ।”

(हेर्नू त यहाँ यस्तो छ/ कृष्णा शर्मा सुमु/पृ० सं० ३२)

स्वार्थले भरिएको छ हाम्रो समाज । यही कुराको यथार्थ दृश्य देखाएका छन् भन्दा फरक नहोला यस कवितामा कवि कृष्णा शर्माज्यूले । आफ्नो आफ्नो बिच लडाइँ, जलन, इष्या हुनु हाम्रो समाजको रिवाज जस्तै भइसकेको छ । सामाजिक यथार्थभित्र परसेर एउटा राम्रो कविता फुर्राएका छन् कविले ।

त्यस्तै प्रकारले कवि आशा मुखिया लेख्छिन् –

“हो, मलाई मेरो आफ्नो घर चाहिएको छ,

जहाँ आफ्नै चिम्टेको सुगन्ध होस् ।

जहाँ आफ्नै कमेरोको सुन्दर रङ होस्,

जहाँ छाप्रोमा पनि महलको गर्व, शान होस् ।”

(आफ्नो घर/ पृ सं०३०)

उनलाई पनि आफ्नो जातिप्रति माया छ । जाति उत्थान, प्रगति विषयमा उनी कति जागरूक छिन् भन्ने उनको कविताबाट थाहा पाउन सकिन्छ । उनी अस्तित्वको चाहनामा छिन् । अस्तित्व नै जाति उन्नतिको प्रमुख हतियार हो । त्यसैले त होला उनी आफ्नो घर (अस्तित्व) बनाउने चाहनामा ओतप्रोत देखिन्छे । कविताले जातीय माया बोकेको देखिन्छ ।

चौतारीमा बिसाउन आएका कविताहरू साँच्चिकै राम्रा छन् । धेरैभन्दा धेरै कविताहरूले उत्कृष्ट भाव बोकेका पाइन्छ । त्यसरी त चौतारीलाई शुभकामना दिन्छिन् कवि कृष्णाकुमारी क्षेत्री –

“हाम्रा सुन्दर चौतारीमा

हरा भरा फूलहरू छन्

फूलका माली स्रष्टा द्रष्टा

माया गर्ने मुलहरू छन् ।

 

सुन्दर साझा चौतारीलाई

बधाई सहित गर्दै नमन

फुलोस् ,फलोस् सदा फक्रोस्

चढाउँछु म मेरो शुभकामना ।”

(चौतारीलाई शुभकामना, पृ० सं० ४३)

चौतारीमा घुम्दै जाँदा एउटा बिहेमा पुगियो । बिहेले कहिरहेको दृश्यहरूले मेरै गाउँको बिहेमा पुगेको आभाष गरायो ।

“डल्लीको बिहे झिल्केलाई दिए,

गाउँभरि हल्ला छ

कसले के दिने

घर घरमा सल्लाह छ”

(रमाइलो बिहे, घनश्याम बराल,पृ० स० ४५)

बिहेले कथेको कुराहरू एकदमै रमाइलो अनि यथार्थपरक लाग्छ। विशेष गाउँले परिवेशको बिहेको खुबै राम्रो चित्रण पाइयो। कविता पढ्दै जाँदा यस्तो लाग्छ कि बिहे भईरहेको छ अनि आफू स्वंस्य बिहेमा सहभागी भईरहेको। भनौ आफू गाउँले परिवेशमा हुर्किएको कारणले होला सब दृश्यहरू आँखामा नाँच्न थाल्छन् कविताको रस्वादन गर्दा।

यस संगालोमा कविताहरूका भाव भुमीहरू बेग्ला बेग्लै छन्।आफ्नो आफ्नो विचारका उन्नत फलहरू हुन् यहाँका रचनाहरू।कवितालाई मात्रै हेर्नू हो भने पनि यहाँ धेरै थरीका कविताहरू छन्। जस्तैः विशन प्रधान अनि उनका कविताहरूलाई हेर्दा उनी आफ्नो जातीप्रति चिन्तित देखिन्छ। उनका हरेक कविताहरू जातीवादको खेतबारीमा फस्टाएको भेटिन्छ।उनी जातीप्रेमी कवि हुन् भन्दा कुनै अतियोक्ती नहोला।उनी आफ्नो जातिको विकाश चाहने कवि हुन्।आफ्नो जातिको दिन प्रतिदिनको अवस्था देखेर उनी दुःखी पनि छन् जस्तो लाग्छ। आफ्नै अस्तित्वको घडेरी मजबुत नदेखेर हो, उनी “कसरी दिउँ मेरो परिचय”कवितामा भन्छन् –

“कसरी दिउँ मेरो परिचय

ठाउँ ठेगाना छैन

कसरी बताउँ मेरो चिनारी

नाउँ थर छैन।”

उनी अर्को उनको कविता “म रित्तो डोको”, “म सुकुमवासी” भित्र पनि आफ्नै जातीको यथार्थ चित्रण पाउन सकिन्छ। कविताहरू सान्दर्भिक छ, पढ्न मज्जा आउँछ। हाम्रो जातीको दृश्य देखेर दुख पनि लाग्छ।

यीबाहेक उनको “यो जात नभईदिएको भए” कविता पनि जातीय भावनाकै कविता हो। उनका कविताहरूले जातीयताको प्रतिनिधित्व गरेको पाइन्छ।

जातीय कविताहरूले मनलाई गम्भीर बनाईसकेको थियो। एउटै चौतारीमा यस्तो धेरै प्रजातिका रचनाहरू पढ्ने क्रममा कवियत्री श्रीमती बिष्णुकुमारी ठकुरी राई ले शैशवकालमा पुराउने ढाकरमा “शैशवको कल्पना पस्केर राखेकी रहेछिन्।

“चोखो मन थियो

कुनै छलकपट थिएन

कल्पनाको सागरसम्म डुब्न सक्ने

डरविहीन मन थियो…..

…………कति चोखो र मिठो थियो।”

(पृ० सं० १२५-२६)

गम्भीर बनिसकेको मनलाई तानेर फेरि बाल्यकालमा पुर्याउनु कठिन थियो तर “शैशवको कल्पना”ले मलाई तानेर लैजान सक्षम बन्यो। शैशवकालमा आफूले कल्पेका सपनाहरू, आफूले खेलेका माटोहरूको सुगन्ध थियो। साँच्चै कोमल मनले भरिएको बाल्यकालका सम्झनाहरू दुरुस्तै पाउन सकियो।

चौतारीमा बिसाएका जम्मै ढाकरहरू खोलेर पढ्ने चहानाको तिर्खाले व्याकुुल बनायो। अनि फेरि अर्को भावको रचनाले भरिएको ढाकर खोज्न थाले। नभन्दै भेटिहाले कवि द्वारिका क्षेत्री, बिशोर राई, देविका मंग्राती राई लाई आफ्नो आफ्नो अर्को पृष्ठभूमिका कविताहरूमा। कविताहरू लामा लामा रहेछन्। आफ्नो मनको द्वारबाट यथार्थवादको

नक्शालाई शब्दहरूसँग स्वादिलो तरिकाले फिटेर निकाल्नु भएको रहेछ। कविताको बनावट अनि प्रायः भावहरूले नारीहरूको वेदना, कर्म, पीडा अनि नारीप्रतिको शोषणलाई समेटेएको पाइन्छ। भनौ यी कविताहरू नारीवादको गर्हामा मौलाएका छन्।

संसार परिवर्तनशील छ। दिनहुँ परिवर्तनका चित्रहरू नयाँ नयाँ ढंगमा आईरहन्छन्। घरदेखि गाउँ समाज, गाउँदेखि राज्य, राज्यदेखि देश अनस देश देखि विश्वभरिको सम्पूर्ण ठाँउ अनि क्षेत्रहरूमा परिवर्तनको नयाँ नयाँ विचारहरू  हामी सुन्न अनि देख्न पाईरहन्छौं।

त्यहीँ परिवर्तनको झोलाभित्र पर्ने विषय हो नारी श्रद्धा, सम्मान ईत्यादि। ऐकाईसौ शताब्दीमा छौ जहाँ विश्व शिक्षित बनिरहेको छ तर पनि नारी हिंसा शोषण आफ्नै घरदेखि विश्वको हरेक गल्लीतिर अझ बढेर जाँदैछ। भाषणदेखि पर्चा, देशको नियम कानुन अनि नारी बँचाउको प्रशस्तै संस्थाहरूसम्म हुँदाहुँदै पनि नारी उत्पीडनको कहानी घटेको छैन। यस्तो अवस्थामा एउटा भावनाको लहरमा बग्ने पारदर्शी मनहरूले नारी वेदना, मर्काहरूलाई उठाएर कवितामा समेटनु भनेको सम्पूर्ण समाज, देश अनि विश्वलाई अझ जागरुक बन्ने आवहान ठान्छु म।  यही उत्पीडन, शोषणहरूलाई कवितामा उतारेका छन् चौतारीमा।

यौवन प्यास मेटाउन सम्बन्ध नचिन्ने पिपासु मानवरुपी राक्षसहरूलाई आवेगसरी हपारेका छ यहाँ ऐउटा कविताका हरफहरूमा

“के तिमीले देखेनौ आसिफाका अनुहारमा

तिम्रो आफ्नै छोरीको अनुहार?

तिमीलाई बाबा भन्दै, जामा लाएर

तिम्रै अघिपछि हिड्ने

तिम्रै छोरी जस्तै कि अनुहार?”

(आसिफालाई समर्पण/ पृ० सं० ६०)

लाग्छ कवि देविका मग्राती राई रिसले चुर छिन् ती मानवरुपी राक्षसहरूसँग। साथै आधुनिक समयमा पनि नारी जाति, विश्वका छोरीहरू सुरक्षित नभएकोमा  दु:खी, चिन्तित अनि हतास पनि छिन्।  नारीहरूको इज्जत, सम्मान गर्न नसक्नेहरू वास्तवमा समाजको भाइरस हुन्। यिनीहरू हमेसा समाजलाई कलङ्कित पार्ने सोंचमा घुमिरहेका हुन्छन्। कसैको भलो चिताउँदैनन्। कवितामा कविले प्रश्नहरूको लाम लगाएकी छिन्। कविता कसिलो छ,  मनमा नारीहरूप्रति कुविचार राख्ने पापीहरूलाई हल्लउन सक्षम बनेको देखिन्छ।

एउटा नारीवादमा हुर्किएको कविता भए पनि  यो कविताले  समाज, देश अनि विश्वका मानवरुपी राक्षस अनि व्यवस्थालाई झकझकाएको छ।

कविता पढ्ने क्रममा फेरि पनि नारी विशेष कविता पाए। एकातिर नारी हिंसाप्रति आवेगमा भेटिएकी कवि देविका पछि कवि द्वारिका क्षेत्री नारीप्रति चिन्तित देखिन्छिन्  उनको “घरमा चिन्ता बढ्दैछ” कवितामा।

“कतै आधुनिकताको चपेटामा पर्ला

संस्कार र संस्कृति एकातिर पन्साइ

लिभिङ टुगेदरनेसको होहोरीमा लागि

रुम पार्टनरसँग बेड सेयर गर्ला

छोरी होइन कान्छ

मनमा चिन्ता पो बढ्दैछ ।”

(घरमा चिन्ता बढ्दैछ/ पृ० सं० ७६)

आधुनिक युग हो यो। आधुनिकताको दौडमा युग यति छिटो दौडिरहेको छ कि त्यसले घरैबाट संस्कार अनि भयको सिमाहरू नाघिरहेको छ। आधुनिकीकरणले परिवर्तन भएर नयाँ प्रगतिशिल मार्गमा लागेका द्रश्यहरू राम्रो हो तरपनि यस आधुनिकीकरण सँगै टाँसिएर आएका कतिपय थोकहरू भनौ आधुनिक संस्कारहरू घरका आमा बाबुको निम्ति चिन्ताको विषय बनिरहेको छ। यस्तै यहाँपनि आधुनिकताको संजालभित्र छोरी बढ्दै गएकोमा कवि चिन्ता व्यक्त गर्दैछिन्।

“छोरी बँचाउ छोरी पढाओ” को देशव्यापी नारा लागिरहेको बेला छोरीलाई पढाएर शिक्षित अनि स्वनिर्भर बनाउनुआमा बाबाको दाहित्व नै हो अनि उक्त जिम्मेवारीलाई आत्मासाथ निभाईरहेको हामी पाउन सक्छौ। तर यो समय छोरीहरू आधुनिकताको देब्रे दिशातिर हिडेर आफ्नो मान, मर्यादा, संस्कार भुलेर सँगै जीउँने कसम लिई सिमा नाँघेर पराईसँग डेरा पो बसाउने हुन् कि भन्ने डर समस्त अभिभावकहरूमा पलाएको हुन्छ भन्ने भावनाका साथमा कवि अघि आएकी देखिन्छन्। उनलाई सुर्ता लाग्नुको कारण यति मात्रै होइन। गाउँ घर, शहर, देश, अनि विश्वभरि भुस्याह कुकुर सरह यौवन प्यासको राल चुहाउदै हिड्ने दरिन्द्रहरू बढेको सम्झेर पनि छोरी बढेकोमा सुर्ता लागेको हो। यो स्वाभाविक पनि हो। यही समस्याहरूले अहिले घरि समस्त अभिभावकहरू चिन्तित छन् भन्दा दुईमत नहोला।

कविले पनि छोरी अनि नारी प्रतिको शोषणलाई नै केन्द्र पारेको पाइन्छ। माइतीमा शोषित बन्नुपर्ने, ससुरालीमा पिडित हुनुपर्ने, सम्पतिको निहुँमा मारिनुपर्ने अवस्थाहरू प्रष्ट पारेकी छिन्। उनको विचारमा नारी अनि छोरीहरू कहीँ पनि सुरक्षित नरहेको बुझ्न सकिन्छ।यो उनको मात्रै नभएर सम्पूर्ण अभिभावकहरूको पनि मनसाय हो वर्तमान युगमा। यो आधुनिकताभित्रको नमिठो सत्य हो। छोरीहरू घरभित्र पनि सुरक्षित नरहेको हामीले देखिसकेको बेला यस्तो कविता सबैको निम्ति जागरुकताको सन्देश बाड्न सक्षम देखिन्छ।

“नारी हिजो सती जादाँ पनि जल्दै थियो

आज सती नजादाँ पनि जलेकै छन्

हिजो लोग्नेको चितासँग जल्दै थिए

आज समाजको कलुषित नियमसँगै जल्दैछन्

नारी उत्पीडन उहिले र अहिले उस्ता उस्तै हुन्।”

(नारी उत्पीडन/पृ० सं० ११६)

बुझ्नेलाई यी पाँच लाइन नै धेरै हो बिशोर राई “आश्रय” द्वारा रचित कविता। माथिका पाँच लाइनले सम्पूर्ण नारीको व्याथा, सामाजिक शोषण पुरुषवादले घाँटी निचोरेर राखेको द्रश्यहरू झलझली देखाएको छ।

इतिहासको प्राचीन युगमा पनि नारी शोषण भएकै हो अनि आज पनि नारी शोषण जारी नै छ। फरक यति हो शोषणको माध्यम अलि फरक छ। समाज पुरुषप्रधान थियो र अझ छ। समान हक अनि अधिकार कागज भाषण अनि ओठसम्म मात्रै छ।यो सत्य हो। नारी इतिहासमा पनि शोषीत नै थियो र वर्तमानम पनि त्यस्तै। उहिले सती प्रथाले बाधेर राखेको थियो भने अहिले समाजको कतिपय कु संस्कारहरूले शोषणको चाबी झुण्डाएकै छ। त्यति मात्रै होइन नारीहरू घरेलु हिंसाको सिकार भएको प्रायःजसो हामीले सुनेका देखेका छौ। बलत्कृत हुने भयले नारीहरू आफ्नो आँगन नाघेर जान सहास गर्न छाडेका छन्। दिनहुँ उनीहरू असुरक्षित महसुस गर्दैछन्। पुरुषप्रधान समाजमा कहिले पनि यथार्थमा नारीलाई समान हक अनि अधिकार नदिएको कुरा सत्य हो अनि एकाईसौं शताब्दीमा यो लाजस्पद विषय हो। कविले यी कुराहरू कवितामा स्पष्ट देखाएका छन्। कविता पढेर आफूहरू पुरुष हुनमा अनि यही समाजभित्र परेर मौन रहनुमा ग्लानी पक्कै लाग्छ। कविताको पक्ष राम्रो छ। जे होस् आजको पुरुषप्रधान समाजमा रहेर पनि कवि नारी हिंसाको विरोधमा देखिन्छन्। यो उनको विशाल विचारलाई सत नमन गर्दछु।

चौतारीमा भन्नपर्दा सोचेभन्दा धेरै कससिमका भावनाहरू बसेको पाउन सके। यो सत्य हो हिजोआज कविताका पुस्तकहरू पढ्न भनेपछि धेरै पाठकहरू नाक खुम्च्याउने गर्छन्। तर म ती सम्पूर्णलाई यहाँबाट आवहान गर्न चहान्छु कि यो चौतारी मात्र होइन तर हरेक कविताका पुस्तकहरू आफ्नो तनमन दिएर पढ्नुहोस्, आफ्नो मनलाई कविको भावनासँग बगाउँदै लैजानुहोस्,  मज्जा आउँदै जानेछ। मैले अनुभव गरेको व्यक्तिगत कुराहरू हुन् यो।

म चौतारीको हावाले मस्त हुन लागे। लाग्दै थियो म पेट भर्नको निम्ति चारो बोकेर उड्दै गरेको पक्षी जस्तै हो, हर्षित मुद्रामा मस्त बनेको।  नारीवादी रस्वादनले मनलाई गह्रौ नपारेको भने होइन तर म त एकोहोरो बनिसकेको थिए एक पछि अर्को कविताहरूको संवाद लिनलाई।

जीवनलाई तीन भागमा केलाएर परिभाषित गर्न चाहेको जस्तो कवितामा आँखा पर्न गयो। कवि श्री राजेन तामाङबाट सृजत कविता “परिवर्तित मन”।उनको मनले जीवनलाई बुझ्ने चाहमा परिवर्तित बन्दै तीन किसिमले बखान गरेको पाइन्छ। मलाई लाग्छ उहाँले जीवन बारे धेरै कुराहरू आफूभित्रै नियालिरहन्छ। आफ्नै मनसँग साउती गर्नुहुन्छ। त्यसैले त उनी आफ्नो अर्को  कविता “जीवन”मा पनि उस्तैगरि आफ्नै मनसँग खेलेको पाइन्छ। जीवन अनि मनका मिश्रित धाराहरू पोख्याएका छन्। उनका दुईवटा कविताका केही हरफहरू यस्ता छन्-

“लाग्छ यो जीवन

आर्तनादभित्रै लुकेको रहेछ

श्रावण महिनाको बाक्लो झरी जस्तो

सूर्यको प्रखर तापजस्तो

चैते हुरी अनि ऋतु परिवर्तनजस्तो……”

(परिवर्तित मन/पृ० सं० १४५)

 

“हारेको छैन तरै पनि मन

जीउने उमङ्ग उर्लँदो छ

संघर्षमा निरूत्तर बन्छ

तर पनि जिउने मन आलै छ”

(जीवन/ पृ० सं० १४७)

यी दुवै कवितामा जीवनको कथाहरू समेटेका छन्। यअं बाहेक उनका अन्य दुई कविताहरू प्रेमील अनि स्रष्टा समर्पित रहेछ अनि अर्को कविता चाहिँ बाल कविता रहेछ। यति धेरै किसिमका कविता कोर्न सक्षम कविलाई सलाम गर्छु म। कविको भावना साँचो हो अनि कविको त्यस भावनामा आफूलाई बगाएर  हेर्नू हो भने भावना कदर गर्ने श्रद्धा जाग्छ। म भाग्यमानी ठान्छु आफैलाई कि यस्ता भावनाहरू सँग बगेर कवितामय बन्ने सुयोग चौतारीमा पाँए।

प्रफुल्लित मुद्रामा शान्त अनि रोमान्टिक बनी “तिमी आयौ” कवितामा कवि बिमला जोशी प्रधान आउनु भएको रहेछ चौतारीमा। आफू एक्लो भएको समय आफ्नो अतिप्रिय चिज आफूमा फर्कि आएको कुरा गर्दैछिन्। त्यस सुखद पलमा उनी धेरै खुसी छिन् भन्ने उनको हरफहरू द्वारा स्पष्ट बुझ्न सकिन्छ जस्तो कि-

“हतास सुस्केराहरूबिच

अल्मलिएका लछेप्रै व्याथाहरूमा

मलमलको सिरानी बनेर

तिमी आयौ।”

(तिमी आयौ/पृ० सं० १६५)

हामी प्रायःजसो चियाबारीबाट फुलेका हौ। हामी जहाँ पनि चियाबारीसँग सम्बन्धित रहन्छौ। यही अनुरूप मैले पनि चौतारीमा चियाबारीको प्रतिनिधित्व गरेको कविता खोज्दै थिए। मलाई विश्वास थियो चौतारीमा चियाबारीले पनि पाइला टेेकेको हुनपर्छ। हजुर मैले आशा अनुरूप चियाबारीलाई स्पर्ष गर्न सके विशाल सर्घाइको ढाकारभित्र। उने कविताको पहिलो पंक्तिहरूमा आफू चियाबारीसँग सम्बन्धित रहेको प्रसँग गरेका छन्। उनले चियाबारीलाई अनि चियाबारीले उनलाई प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ। त्यस्तै अर्को पंक्तिमा चियाबारीप्रति उनको स्नेह पाउन सकिन्छ। साथै चिया श्रमिकहरूको  करुणामय, शोषित जीवनहरू देखेर उनी दुखी भएका छन्। नयाँ पुस्ताहरूले चियाबारी छाडिरहेको यथार्थ पनि देखाएका छन्। उनी अझ थप्छन् चिया श्रमिक का  न्यायमा कोही पनि इमानदार छैनन्। दिनहुँ मालिकको अत्यचार सहेर दैनिकी बिताईरहेका छन्। हुन पनि कमाने जीवनको कथा व्याथाहरू अझ पनि उहिले जस्तै मार्मिक, करुणामय छ। एउटा झिनो बोनसको धिप धिपे दियोमा ऋण पालिरहेका छन्। कविता जति पढ्दै गयो उति मार्मिक बन्दै जान्छ। चिया श्रमिकहरूको व्याथा, पिडा, वेदना र मर्महरू कवितामा  दुरुस्तै उतार्न सक्षम बनेका छन् कवि विशाल। उनको कविताको एउटा हरफ यस्तो छ-

“दु:खै दु:खको जीवन काडने श्रमिकहरूलाई

परेकध मर्का बेहोर्ने

खै कस्तो पो दाम्लो कस्या छ।”

(चियाबारी/ पृ० सं० १७०)

कविताहरू पढ्ने क्रममा धेरै कविहरूको राम्रा राम्रा कविताहरू पढ्न पाइयो। कवि राजु राई पनि चियाबारीभित्र खेलेका छन्। कवि मुन्ना दुलाल आवहान, मौनताको त्यो पल जस्तो दमदार कवितासँग बसेकीरहेछिन् चौतारीमा। त्यसरी नै भुपेन्द्रमणि राई कविता जीवन बोकी भित्रिएका छन्।कवि विशन प्रधान नेवार पनि जातिवादको भावनामा म सुकुमवासी, यो जात नभईदिएको भए, कसरी दिउँ मेरो परिचय जस्ता तिख्खर कविता सँग भेट्न सकिन्छ। वि के मुखिया पनि राम्रो कविता, गजल अनि मुक्तकहरू पस्केका छन्।कविताहरू सँगै मुक्तकहरू पनि उत्तिकै टेसिलाछन् जस्ले चौतारीको मान सम्मानलाई अझ गरिमामय बनाएका छन्।

पेमा टि लामाको एउटा गजलको शेर यस्तो छ-

“सम्झना के रह्यो र माया नै चिसिएपछि

आशा के नै रह्यो र तिमीले बिर्सीएपछि।”

गजल थोरैमा धेरै भनिने विधा हो।खएउटा गजल तयारी पार्न धेरै परिश्रम अनि अध्धयनको आवश्यकता पर्न जान्छ। यो शेरमा रदिफको प्रयोग नभएको जस्तो लाग्यो त्यसैकारण यसलाई गैरमुद्दरफ गजल मान्न सकिन्छ। चौतारीमा मिठो गजलहरूको पनि आनन्द लिन सकिन्छ। गजलका बनावट अनि भावहरू वृहत् नै मान्न सकिन्छ जस्ले पक्का गजल बन्नुको परिचय दिइरहेको पाइन्छ।

अजय राई अनि अजय शर्मालाई आ आफ्नो राम्रा राम्रा मुक्तकहरूसँग भेट्न सकिन्छ यहाँ। एउटा पधमा भाव पूरा हुनु नै मुक्तक हो। मुक्तक स्वतन्त्र हुनाको कारण नै मुक्तक भनिएको हो भन्ने भनाई पनि छ। तर हरेक मुक्तक स्वतन्त्र हुने हुदाँ पूर्वापर सम्बन्ध रहन जाँदैन अनि स्वस्यंमा निरपेक्ष हुन पुग्छन्। सानो बनावट भएपनि स्वयममा पूर्ण हुनु मुक्तकको विशेषता हो।

“अनिश्चिताको कालो बादल झै गर्छ यो साहित्य

वर्षाविनाको आँचल झै गर्छ यो साहित्य

नियमलाई शिरोपर नगरिकन कति ज्ञानीहरू

जता ततै बज्ने मादल झै गर्छ यो साहित्य।”

 

“झझल्को आउँदा बाडुली लाउदा यो मन मेरो रो’को छ

प्रवासबाट फर्की कान्छीसँग रमाउने मेरो धोको छ

कान्छी नै मेरो मुटुको धड्कन, अनि जीउने सहारा

कान्छीकै चोखो मायाको ‘अजय’ यहाँ भोको छ।”

यी माथिका मुक्तकहरू क्रमशः  अजय शर्मा गोर्खे अनि अजय राईद्वारा रचित हुन्। वर्तमान साहित्यमा जता ततै साहित्यकार भन्नेहरू सँग शर्मालाई अलि चित्त नबुझेको हो भन्न सकिन्छ।उनको यश मुक्तक जताभावी लेखेर धाक पिट्नेहरूलाई एृटा धारिलो तिर पनि हो। यस्तै गरि अर्को मुक्तकमा अजय राईलाई प्रेमील देखिन्छ। सायद आफ्नो प्राणप्यारी देखि कोशौ टाडामा रहेको हुन सक्छ र त उनी हरदम आफ्नो मायालुको सम्झनामा देखिन्छ। उनको माया अपराम्पार छ, उनी मायालुलाई भेट्ने तृष्णाले व्याकुल बनेको महशुस गर्न सकिन्छ।

नेपाली साहित्य अहिलेघरी प्रगतिको ममर्गमा हिडीरहेको हामी देख्न सक्छौं। विभिन्न विधामा कलमहरू निखारिरहेका छन्। अलिले दार्जीलिङतिर छन्द कविता लेख्ने प्रथाको फेरि शुरुवात भएको छ। यो राम्रो संकेत हो। गध कविता मात्रै धेरै लेखिने समयमा फेरि पनि छन्दलाई उठाएर छन्दबद्ध कविताहरू लेखिनु साँच्चै नयाँ पुस्तालाई नयाँ पुस्तालाई श्रेय दिनपर्छ। यसले छन्द कविताको लोप हुन लागेको लोकप्रियता दार्जीलिङ साहित्यमा बढेर जानेछ। तर छन्दबद्ध कविताको सृजना गर्ने होडमा शब्दहरूको हिज्जे परिवर्तन नभएको भने होइन। छन्द मिलाउने क्रममा शब्दहरू विकृत भएको राम्रो होइन। चौतारीमा छन्द कविता छैन बराबर हो। झ्याउरे छन्दमा एउटा कविता “साँउ- ब्याज” भने पढ्न पाए।

चौतारीको अर्को सङ्कलनमा छन्द कविताको पनि प्रसस्तै रस्वादन गर्न पाइन्छ भन्ने कुरामा आश्वास्त छु।

पृष्ठ सङ्ख्या २८ अनि २९ मा एउटा कविता शिर्षकमा छोटो छोटो हरफहरूलाई वर्गीकरण गरेर सातवटा भागमा राखेकी छिन् आरती क्षेत्रीद्वारा। सृजना कविको साँचो भावना हो। त्यसैले प्रत्येक सृजनाको सम्मान गर्न पाठकको दाहित्व हो। तर पनि कहीं कतै मैले उनको सृजनालाई कविता भन्न रुचाईनँ। दुई लाइनमा सकेको पध संरचना राम्रो छ, विचारशील अनि ज्ञानवर्धक छ। यसलाई  उद्धरण वा सूक्ति मान्न सकिन्छ। यो होइन कि दुई लाइनमा लेखिएको कविता कविता हुँदैन। एकजना अरमेनियन अनि अमेरिकन कवि अरम स्यारोयानले एक शव्दको कविता पनि लेखेका छन्। नेपालीमा पनि हाइकु विधाका छोटा कविताहरू प्रशस्तै छन्। यति हुँदाहुँदै पनि उनको सृजना कविता नै हो भनेर भन्न सकिन, हुनसक्छ उनको यो नयाँ विधाको शुरुवात पनि हो। अझ यस्तो पनि हुनसक्छ कि मेरो अर्धज्ञानले उनको सृजनालाई बुझ्न नसकेको हो कि? उनले कविताको साटो केही हरफहरू भनेर शिर्षक दिएको भए मलाई अनि पाठकवर्गलाई सजिलो हुने थियो कि। उनको सृजना राम्रो छ, अर्थपूर्ण छ त। तर मलाई चाहिँ उद्धरण जस्तो महशुस भयो जस्तो कि-

“बुढा बुढीको मन नदुखाउँनु

छोरा छोरी टाउकोमा नचढाउँनू।”

छोटा कविताहरू सबै पूर्ण कविता बन्न सक्षम भएको हुँदैन। छोटा कविताहरू जति पढ्न सजिलो र छिटो  हुन्छ त्यति नै बुझ्न कठिन अनि समय लाग्ने गर्छ। किनभने कविले सानो ठाउँमा धेरेकुरा राखेका हुन्छन्। सम्भवतः जापनिज साहित्यबाट भित्रिएको १७ अक्षरमा सिमित “हाइकु” विधाको कविता छोटा कविता हुनसक्छ। जुन विधालाई यहाँ समावेश गरिएको छ। कवि निरा सुब्बा नेचाली हाइकु लेखनमा खप्पिस देखिन्छिन्, उनले विशेष हाइकु लेखनमा आफुाई स्थापित गरिसकेकी पाइन्छ। त्यसो त उनी कविताहरू पनि कोरछिन्। तर उनको रुचि अलि धेरै हाइकुमै देखिन्छ। यहाँ पनि उनको ६० वटा राम्रा अनि टेसिला हाइकु हरूको आनन्द लिन सकिन्छ। उनको एउटा प्रस्तुति यस्तो छ-

चियाको मुना

सर्वत्र हरियाली

कस्तुरीसरी।

उपरोक्त तीन लाइनमा उनले धेरै दृश्यहरू बुनेकी छिन्।   चियाबारीका सम्पूर्ण दृश्यहरूको प्रतिनिधित्व पहिलेको लाइन गरेको पाइन्छ। हामी पाठकलाई “चिया शब्दले चियाबारी अनि चिया श्रमिकसँग आवद्ध पारेर सम्पूर्ण चियाबारीका कथा, मर्महरूसँग जोड्छन्। चियाको विश्व बजारलाई पनि जान्दछौ। अन्तमा “कस्तुरीसरी” शब्दमा चियाको विश्व बजार अनि मुल्यबारे वृस्तृत जान्न सकिन्छ भने यही बाटै हामी चिया श्रमिकको पीडा, शोषण पनि मानसपटलमा चलचित्र जस्तो उत्रिने गर्छ। चियाबारीसँग हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण जुनसुकै चियाबारीको कुराहरूले हामीलाई चट्ट छुने गर्छ। हाइकुको विशेषता पनि यही हो। थोरै शब्दमा धेरै भाव विचारहरू पोखेका हुन्छन्।।

जातिलाई उठाउदै आएको एउटा कविता यहाँ यस चौतारीमा पाइन्छ पृष्ठ संख्या  ५१ मा कवि चन्द्र भट्टराईको ” अघि बढौ मिलेर” शिर्षक कवितामा। जातिलाई जोश दिन चाहेका छन्। विगतमा भएका दुखद पलहरू भुलेर अघि बढ्नु पर्ने उनको विचार छ।कवि जातिवादी अनि जातिको उत्थान, प्रगतिमा रमाउने व्यक्ति हुन भनेर अडकल काढ्न सकिन्छ।

उनको एउटा हरफ हेरौ-

जाग उठ गोर्खाली

हुनपर्छ बलशाली

जे भुल भयो भइगयो

त्यसको छाप रहिगयो।

त्यस्तै कविताको क्रममा देविचरण दहाल अनि नारायण भण्डारी क्रमशः “म सिन्डिकेट हुँ” अनि “नेपाली भाषा”  जस्तो मननयोग्य सृजनाहरू सँग चौतारीमा फुलेका छन्। त्यस्तै कवि प्रतिमा तामाङलाई  ” फर्कि आएकोमा” जस्तो श्रेष्ठ कविता फैलाएकी छिन् भने उनकै अर्को सृजना “मत्थु” पनि छ। यश कवितामा उनी एउटा मत्थु मान्छेको बाहिरी चरित्र चित्रण गर्छन्।उनी मत्थु भित्र डुब्न असक्षम देखिएकी छिन्। उनले मत्थु शिर्षकमा कविता सृजना गरेपछि त्यसको भित्री दृश्य पनि केलाउन पर्ने थियोे भन्ने मेरो व्यक्तिगत विचार छ। एउटा मातेर हिडेको मान्छेलाई उनले बाहिरी नजरले सर…र मात्रै छोएको छ। लाग्छ उनी मातेको मान्छे सँग वाक्क बनेकी छिन्।मलाई लाग्छ यस नजरले हेर्नुमा एउटा साधरण व्यक्तिले पनि स्वाभाविक ढंगमा बुझ्न सक्छ। उनको हेराइमा दुरदर्शिता, गहिराइले बाँस गरेको हुनपर्ने थियो। यो मेरो आफ्नो अडान हो, आक्षेप होइन।

“लाठे मोरो नआऊ है मेरो छेउमा

मेरो लुक्स नै बिग्रिन्छ

आफू न मोजा धोएको छ न जुत्ता सुकाउछ

मेरो यति मिठो सुगन्ध नै

खराब पारिसक्यो

तिम्रो त्यो शरीरको दुर्गन्धले

छि: छि: उता जाऊ।”

(मत्थु/पृ० सं० ९५)

इतिहास साक्षी छ, अस्तित्वको खोजीमा आज पनि भारतीय गोर्खा समुदाय लागिपरेकाे छ। सयवर्ष भन्दा पुरानो पिडाले ग्रसित त हाम्रो गोर्खे सन्तानहरू। चियाबारीका बोटहरूबाट उम्रिएका ती हरेक जीउँदो आत्माहरूमा अस्तित्वको भोक काँचो छ। त्यसैले हाम्रा कलमहरूमा मसीको सहारा लिई अस्तित्वको खोजी निस्कनु स्वाभाविक हो। जातिवादको भावनाहरूमा कविताहरू सृजत भईरहेको छ।त्यस्तै प्रकारको अस्तित्व अनि जातिवादको कविता रस्वादन गर्ने क्रममा नारी हस्ताक्षर कवि श्रीमती शकुन राईलाई चौतारीमा भेट्न सके। “बैशाखी जस्तै मेरी आमा” बाहेक “मन”,”बन्धकी आमा” र “जय गोर्खा” शिर्षकमा आधारित कविताहरूमा जातिवाद अस्तित्व अनि माटो प्रेमको वासनाहरू पाउन सकिन्छ।

“अघोषित युद्धको मैदानमा लड्न

झोलामा बोकेर घरबाट ल्याएको

सुक्खा रोटीको कहानी लेखूँ?

त्यही सुक्खा रोटीमा

गोर्खाल्यान्डको सिमाना कोरिएको

गोर्खे भविष्यले बामे सर्दै गरेको

अलिखित कथा लेखूँ?”

(मन/ पृ० स.० १८३)

“हुनु छैन मलाई स्वीट्जरल्यान्ड

म दार्जीलिङ हो

मलाई फेरि दार्जीलिङमै रम्न देऊ

बचाऊ मलाई

कुटनीतिको कालो घुम्टोदेखि

घरि घरि छोपिरहेछ मेरो अस्मिता।”

(बन्धकी आमा / पृ० सं० १८४)

मनभित्र अस्तित्वको लडाइँमा होमिएका अनि आफ्नो सर्वस्व गुमाएका  शहीदहरूको आत्माले चिमटदो हो सायद। चिन्हारीको निम्ति बिछोडीएका परिवार ओठ छिचोल्न नजानेका मर्म अनि पिडाहरूले पिरोलेको मनले उहीँ तितो सत्य अनि मार्मिक क्षणहरू केलाइरहेकी छिन् “मनभित्र”। एकमुष्ठमा अवलोकन गर्ने हो भने कविका यी दुई कविता लगायत “जय गोर्खा” कविता सन् २०१७ को भाषा अतिक्रमणको मुद्दबाट शुरु भएर गोर्खाल्यान्डको आन्दोलनमा आधारित पाइन्छ।

तर जे होस् कविलाई आफ्नो जातीको माया छ, अस्तित्वको आवश्यकता छ। उनी जातीप्रति इमानदार पनि छिन् भन्नपर्छ।उनी जातिलाई उर्जा पनि दिन्छिन्। उनलाई आफ्नो जातीप्रति गर्व छ अनि भरोसा पनि गर्छिन्। जस्तो कि-

“भाषाको आडमा भुभाग खोस्नेहरूलाई

इतिहास साक्षी राखेर

गर्जिनुपर्छ हे गोर्खा

खुकुरी चम्किरहोस्

तिम्रो रगत, पसिना र बलिदान

पटक्कै खेरो नजाओस्।”

(जय गोर्खा /पृ० सं० १८५)

चौतारीभित्र आफूलाई डुबाउनु पाउनु पनि भाग्यमानी नै ठान्छु र फेरि पनि भन्छु भावना सबैसँग हुन्छ।जीउँदो प्राणी जतिपनि छन् ब्राहमण्डमा सबैमा भावना हुन्छ। धेरै टाडा नजाँऊ तर हामी हाम्रो मानव संसार नै हेरौ। भावना सबैसित छ तर त्यही भावनालाई मनको तालबाट नदी जस्तो बगाएर शब्दहरूसँग नाता गाँसेर कलमको सहायताले श्वेत पन्नामा मिलाएर छर्न सक्नु सबैको वसको विषय होइन। यस्तो कला थोरैमा हुने गर्छ अनि उनै थोरैबाट काव्य अथवा कथाको सृष्टि हुन्छ। यसैकारण कुनै पनि विधा कविता होस या कथा, सृजना गर्न लरोतरो काम होइन जस्तो लाग्छ मलाई। चौतारीमा पनि कलाले ओतप्रोत कविहरू विसाउन आएका छ भन्ने मलाई लागेको हो।

टाढाबाट साँझ घले आफ्ना लामा लामा कविताहरू लिएर आएकी छिन्। उनको कविता “परिवर्तन” नारीप्रति लेखिएको प्रष्ट हुन्छ। त्यस्तै स्वर्णिम गुरुङ, हेमराज तामाङ, शान्ती मोथे, मोहन अधिकारी जस्ता हस्तीहरूको स्तरीय अनि निपुण सृजनाहरू बोकी चौतारीभित्र रस्वादन गराउन बसेका छन्।

त्यस्तैमा हामी यहाँ रामकुमार क्षेत्री अनि उनको पाँच कविताहरू पाउन सकिन्छ। विष्णु थापालाई पनि हामी पढ्न सक्छौ। उनको कविताहरू पनि जाति विषय नै पाइन्छ। त्यति मात्र होइन उनको तीनवटा मुक्तक पनि यहाँ समावेश गरिएको छ।

कविताकै क्रममा कवि सरोजनी सागर देवानलाई एउटा भिन्नै गह्रामा फलाएको कवितासँग भेट्न सकिन्छ। उनको “तेस्रो नजर” कविता चाखलाग्दो छ। समाजमा रहेको तेस्रो लिङ्गीको मर्म, व्यथा, पिडाहरू अति नै राम्रो ढंगले वर्णन गरेकी छिन्। दुई लिङ्ग मात्रै अटाउने समाजभित्र तेस्रो लिङ्ग अर्थात नपुंसकलिङ भनौ वा हिजडाको अवस्था करुणामय छ, शोषित छ, तिरस्कारपूर्ण छ। चौतारीभित्र परेका कविताहरू मध्ये यो एउटा फरक कविता हो। कवितामा किन्नर शब्दको प्रयोग भए पनि वास्तवमा हिजडा नै सही शब्द हो। किन्नर शब्द हिन्दीमा प्रयोग भएको हुन्छ। किन्नर पनि चलाउँदा केही आपत्ति हुँदैन। जे होस् कविताको विषयवस्तु, भावले यसको स्थान छुट्टै बनाएको छ। कविता स्तरीय छ। कवि देवानको अन्य कविताहरू पनि राम्रा राम्रा छन्। सङ्कलनभित्र परेका मलाई मनपरेको कविता मध्ये यो एउटा हो। उनको कविताहरू पढे पश्चयात लाग्छ उनी कविता सृजनामा खप्पिस छिन्। उनको तेस्रो नजर कविताको केही हरफ यस्तो छ-

“जन्म मेरो मान्छे जस्तै

स्वरूप मेरो मान्छे जस्तै

रहर र चाहना पनि

मेरो मान्छे जस्तै

मान्छे भएर पनि

मान्छेको जमातमा

फेरि किन पूर्ण

मान्छे भइनँ म?

(तेस्रो नजर/पृ० सं० १८७)

धेरै स्याहार सुसार गरेर फलाएको फलको बोट हो चौतारी। चौतारीभित्रका आधार निर्माण गर्ने कारीगारहरूको मेहनत, परिश्रम सफा देखिन्छ यहाँ। साथै निष्ठावान् पनि। उनीहरूको यश सहासी अनि प्रेरणादायी कार्यको सराहना गर्नुपर्छ, प्रशंसा पनि। परिश्रमको फल मिठो हुन्छ भन्ने भनाइ सहि हो। चौतारी पनि परिश्रमको मिठो फल हो।

चौतारीभित्र धेरै भन्दा धेरै सकारात्मक लक्षणहरू छन्। विशेष साहित्यलाई माया गरेर टेवा पुर्‍याउने मनहरूलाई एकमुष्ठ पारेर एउटा साहित्यिक सङ्कलन तयार पारिएको कार्य अति नै प्रशंसनीय ठहरिन्छ। अञ्चलभित्र परेका मात्रै नभएर छरिएर टाढा टाढामा रहेका कलमहरूलाई सँगठित पारेर सहभागी गराउनु लरोतरो होइन। नयाँ सिकारु अनि साहित्यप्रेमी कलमहरूलाई चौतारी एउटा ठूलो छहारी बन्न पुगेको छ भन्दा अतियोक्ति नहोला। जोश हौसला अनि प्रत्सोहानको केन्द्र विन्दु बनेको छ चौतारी। यति हुँदाहुँदै पनि सङ्कलनको रचना स्वरूप रखाइमा थोरै नमिलेको देखिन्छ। यहाँ विभिन्न विधाका रचनाहरू छन्। गध होस् वा पध, काव्यकै एउटा एउटा अंगहरू छन्। रचनाहरू प्राया: राम्रा अनि स्तरीय छन्। तर मलाई के लाग्छ भने व्यवस्थापनबाट कविता, गजल, मुक्तक, रूवाइ, हाइकु हरूलाई भिन्न भिन्नै भागमा राखेको भए सुनमा सुगन्ध थपिन्थ्यो कि ?

कविताहरूकै क्रममा प्रायः कलमहरूबाट चार वा पाँच सृजनाहरू रहे पनि दुईवटा कलमबाट एउटा एउटामात्र  सृजना रहेछन्। ती कविद्वयहरू बाट पनि अन्य झै चार वा पाँच कविताहरू सङ्कलन गरिएको भए सङ्कलन सन्तुलित हुने थियो। यस विषयले अलिकति सन्तुलनमा नमिलेको जस्तो देखिन्छ चौतारी। कतिपय कविताहरू लामा लामा छन्। लामा कविताहरू नराम्रो हुन्छ भन्ने होइन तर लामो कवितालाई श्रृङ्गार पुराउनु भने अनि गाह्रो पर्छ। लामो कवितालाई राम्रोसँग बाट्नु कविको खासियत हो। तर के भने पाठकहरू लामो कविता पढ्नलाई नाक खुुम्चाउँछन्, यो कुरा सोह्र आना सत्य हो।

सामाजिक संजाल (फेसबुक) बाट शुरु भएको चौतारी अब पूर्णतः अस्तित्वमा छ। देश विदेशमा छरिएका सिकारु, स्थापित अनि नयाँ कलमहरूलाई प्रत्सोहान दिंदै आएको यो समुहको प्रगति भएर नै कविता सङ्कलनसम्म आईपुगेको छ। धेरै चुनौतीहरू सामना गरे होलान्। संघर्षको कथा बेग्लै होला। तर अब चौतारी साहित्यप्रेमीहरूको निमित्त छहारी दिने बिशाल  चौतारी बनेको छ। साहित्यकाे खेती गर्नेको निम्ति ठुल खेत बनेको छ। प्रथम सङ्कलनले यसको अस्तित्वको घडेरी मजबुत बुनेको छ अनि आशा राख्छु दोस्रो सङ्कलनले  अझ यसको गरिमालाई माथिल्लो तहमा पुर्‍याउनेछ।

अन्तमा आफूलाई चौतारीमा डुलाउन पाउनु मेरो पनि भाग्यको विषय हो। कविताहरू मिठो लागेर रस्वादन गरियो अनि आफूले बुझेको जति थोरै गुणगुनाए। प्रायःजसो कलमहरूलाई प्रथमचोटि पढ्ने अवसर मिल्यो। साहित्य फाँटमा म पनि चिचिला नै भएर होला प्रायः कविहरू मेरो निम्ति नयाँ रह्यो। जे नै भए पनि एक पाठकीय दृष्टिकोणले  सङ्कलनबारे केही लेख्ने प्रयास गरे। म बाट यस चौतारीलाई सत प्रतिशत न्याय दिलाउन सकिन रहेछु भने म फेरि पनि क्षमाको विन्ती विसाउन चहान्छु। चौतारी फलोस्,फुलोस् अनि अझ धेरै नव कलमहरूलाई छहारीको साथ माया बाडिरहोस्। सफलताको शिखरमा पुगोस् भन्ने कामना अनि चाहनाको साथ इति।

प्रतिक्रिया
Loading...