किताब कसरी लेख्ने, प्रायः नसिकाए हुन्छ। हरेकसँग केही न केही आइडिया भइनै हाल्छ । कसैलाइ सुझाव मात्र दियो भने पनि ऊ रिसाउँछ ।
अब लेखिसकेको कुरालाइ कसरी बेच्ने भन्ने कुरा चाहिँ बरू बिक्ने विषयवस्तु बन्न सक्छ । त्यसका लागि यहाँ एउटा उदाहरण दिइँदैछ । शायद तपाइँले लेखिसक्नु भएको चिजलाइ बेच्न यसले मद्दत गर्न सक्छ ।
अब कथा सुरू गरौँः
गएको अगस्त महिनामा गेरी भेनरचुकले आफूले नयाँ पुस्तक लेखिसकेको र किताबको प्रिअर्डर खुला भएको घोषणा उनले सामाजिक सञ्जालबाट गरे ।
घोषणालगत्तै उनले १० लाख पुस्तकको अर्डर पाए, त्यो पनि २४ घण्टाभित्र ।
गेरीले त्यस्तो के खतरनाक पुस्तक लेखे, जसका कारण उनका पाठक हुर्रिएर किताब सुरक्षित पार्न लागिपरे ? यिनको नाउँ त तपाइँले सुन्नु पनि भएको छैन होला । पढ्न त परै जाओस् ! पढेको भए पनि नाम त्यति परिचित होइन भन्नेमा तपाइँ सहमत हुनुहोला ।
उनको नयाँ पुस्तकको नाम हो, ट्वेल्भ एन्ड अ हाफः रिभरेजिङ द इमोसनल इन्ग्रेडिएन्ट्स नेसेसरी फर बिजनेस सक्सेस । पुस्तक यसरी बेस्कन प्रिअर्डर हुनुको मूल कारण उनले घोषणा गरेको पुरस्कारको व्यवस्था नै हो ।
जो व्यक्तिले उनको एक दर्जन पुस्तक किन्छ, उसका लागि उनले एनएफटीको व्यवस्था गरेका छन् । एनएफटी भन्नाले एक किसिमको टोकन हो र यो टोकनलाइ रकम या अन्य चिजमा खुद्रा गर्न मिल्छ । एनएफटी चित्रकला, खेलकुद र अन्य सङ्कलनका सामग्रीमा निकै लोकप्रिय भइसकेको छ ।
तर यो एनएफटीमा के दिइँदैछ भन्ने चाहिँ उनले खुलाएका छैनन् । उनको यो गोप्य उपहारका लागि भनेरै उनको लेखनीका प्रशंसकहरूले एकै झमटमा एक दर्जन पुस्तकको बुकिङ गरेका हुन् । पुस्तकमा एनएफटीको प्रयोग पहिलो भएकाले पनि यसप्रति सबैको चासो बढेको छ ।
उदेकलाग्दो कुरा चाहिँ, केही प्रशंसकहरूले उनले दिने उपहार (एनएफटी)का लागि सयौँ पुस्तक किनेका छन् । अर्थात्, उनीहरूको भागमा कम्तीमा पनि १० वटा एनएफटी पर्नेछ ।
केही भने उनको लेखनीमा शङ्का व्यक्त गर्छन् । करोडपति व्यापारी (नेपालीमा अर्बपति) गेरीले बेलाबेलामा अनौठा र उदेकका काम गरिरहेका हुन्छन् । उनले गएको गर्मी याममा मात्र भीफ्रेन्ड्स नामक एनएफटी कलेक्सन जारी गरेका थिए । भीफ्रेन्ड्स, उनले लेखेका किताबबाट सिर्जना गरेको एउटा पात्र हो र यसलाइ सङ्कलन गर्नेको ताँती नै छ ।
उनको पुस्तक हार्पर पब्लिकेसन्सले बजारमा ल्याउँदैछ । सोही प्रकाशनका डेपुटी पब्लिसर डउग जोन्स भन्छन्, ‘प्रचारको असर गज्जबको हुन्छ भन्ने त मलाइ पनि थाहा छ, तर गेरीको प्रचारले भने उदेकै गरिदिएको छ । यस्तो प्रिबुकिङ मैले जीवनमा कहिल्यै देखेको थिइनँ । चौबीस घण्टामै १० लाख प्रति बुकिङ हुनु भनेको त अनौठै हो ।’
यो किताब नोभेम्बर ३० मा बजारमा आउँदैछ ।
एनएफटीलाइ डिजिटल बजारमा किनबेच गर्न मिल्छ । खासगरी ब्लकचेन भनिने नवीनतम डिजिटल लेजरमा राखी किनबेच गरिन्छ । यो प्रविधि प्रयोग गरी सामान खरिद बिक्री गर्ने उनी चर्चित व्यक्तिका रूपमा चिनिन्छन् । यो प्रविधि किताबमा प्रयोग गर्ने उनी पहिलो व्यक्ति भएका छन् ।
अचानक दस लाख प्रति पुस्तक अर्डर गरिएपछि हार्पर कोलिन्सले आफूभन्दा बाहिरका प्रिन्टिङ प्रेसमा किताब छाप्नु बाध्यता भएको छ ।
किताबी दुनियाँमा यस्तै केही उत्साहजनक काम गर्नुपर्ने र पाठकहरूको चासो जगाइराख्नुपर्ने भनी उनको कामको प्रशंसा गर्न थालिएको छ । तर सँगैमा पुस्तकमा भएको कन्टेन्टका कारणले भन्दा जब पाठकले उपहारको लोभमा किन्न थाल्छ भने किताबको भविष्य के होला भनी चिन्ता गर्नेको पनि कमी छैन ।
४६ वर्षे गेरी भेनर एक्स नामक कम्पनीका अध्यक्ष हुन् । उनले रेस्टुराँ रिजर्भ गर्ने वेबसाइट रिसी बनाएर रातारात करोडपति बनेका थिए । उनले हालसम्म व्यवसायसम्बन्धी पाँच वटा बेस्टसेलर पुस्तक लेखिसकेका छन् ।
ट्वेल्भ एन्ड अ हाफ पुस्तक भने व्यावसायिक जीवनमा करूणा र सचेतना कति महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा लेखिएको छ ।
पुस्तकसँगै उपहारका रूपमा एनएफटी वितरण गर्ने सोच चाहिँ कसरी आयो त ? उनी भन्छन्, ‘मेरा एक जना प्रशंसकले भीफ्रेन्ड्समा लगानी गर्न नपाएको थकथकी पटक पटक सुनाएपछि यस्ता छुटेका साथीभाइलाइ समेट्न यो सोच ल्याएको हुँ । छुटेकाहरूलाइ दोस्रो अवसर किन नदिने ?’
रूसबाट बसाइँ सरी आएका अभिभावकका सन्तान गेरी आफ्नै जीवनकालमा शून्यबाट अर्बसम्मको यात्रा गरेको देखेका छन् । आफैँले नयाँ नयाँ कम्पनी स्थापना गरे, स्टार्टअप कम्पनी । उनको उद्देश्य नै छ, यो संसारका प्रत्येक व्यक्ति धनी हुनुपर्छ ।
उनले यो पुस्तकका लागि तीन घण्टा लाइभ स्ट्रिमिङ गरेका थिए । सो स्ट्रिमिङ युट्युब र उनका अन्य सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो । त्यहीँ उनले आफ्ना प्रशंसकहरूलाइ पुस्तक १२ वटा पुस्तक किन्न आग्रह गरेका थिए । एक दर्जन पुस्तक किनेपछि उनीहरूको नाममा एउटा एनएफटी चढ्ने उनले बताएका थिए ।
ग्राहकले किताब किनेबापत पाउने टोकनबाट उपहारका रूपमा त्यस्तो के पाउँछन्, खुलाइएको छैन । गएको मे महिनामा भीफ्रेन्ड्स नामक कम्पनी खोलेका थिए र यी सामग्री त्यससँग सम्बन्धित चिज हुने बताइएको छ । अहिले नै भीफ्रेन्ड्स कम्पनीको बजार मूल्य ५१५ मिलियन डलर पुगिसकेको छ । यससँगै एनएफटी सङ्कलकहरूको सबैभन्दा लोकप्रिय कम्पनी भइसकेको छ ।
बजार हल्ला यति गर्मायो कि अमेरिकाको पेरिसबर्गमा फिटनेस कम्पनी चलाउने ३३ वर्षीय म्याट तेम्बीले १००८ वटा पुस्तक किने । हार्डकभरमा निस्कने यो पुस्तकको मोल २५ हजार डलर बराबरको रहेको छ ।
चापभन्दा बढी पुस्तकको माग आएपछि प्रकाशक हार्पर कोलिन्सले पुस्तक रिलिजको समय दुइ साता ढिला हुने जनाएको छ । जम्मा २२४ पृष्ठको यो पुस्तक मध्य डिसेम्बरसम्म सबैतिर पुगिसक्ने अपेक्षा प्रकाशकको छ ।
उत्तेजनामा ६० प्रति पुस्तक सुरक्षित गरेका ब्रिटिस कोलम्बियास्थित भेर्ननका द फिग नामक रेस्टुराँ सञ्चालक २३ वर्षे डेभिड स्कारलेस्कु भने उपहार पाइसकेपछि बाँकीका ६० किताब कसरी व्यवस्थापन गर्ने भनी चिन्तित छन् ।
त्यसो त रेस्टुराँका ग्राहकलाइ यो सित्तैमा बाँड्न नमिल्ने होइन तर आफ्ना प्रिय लेखकको किताब कसैले लिन्नँ भनेको उनी देख्न पनि चाहँदैनन् । त्यसैले साथीभाइ, नजिकका आफन्तलाइ उपहारका रूपमा दिने सोचमा उनी छन् ।
केही पुस्तक पसले भने यस किसिमको ब्लकबस्टर पुस्तकको सोच दोहोर्याउन मिल्छ कि मिल्दैन होला भनी गम्न थालेका छन् ।
‘यो त बिक्री गर्ने जिनियस आइडिया हो,’ टाटर कभर बुकस्टोर, कोलोराडोका प्रमुख कार्यकारी क्वाम स्पियरम्यान भन्छन्, ‘यो चाहिँ भर्खरै उम्रदै गरेको प्रविधि र संसारकै पुरानो व्यवसाय पुस्तक व्यापारबीच राम्रो मितेरी साइनो गाँसेर गज्जबको आइडिया ल्याइयो । यसमा गेरीले राम्रो काम गरेका हुन् तर यसलाइ बजारमा दोहोर्याउन भने कठिन छ ।’
सामाजिक सञ्जालमा उनलाइ ३ करोड ४० लाखले पछ्याउने गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।