शेरः एक जोडी हरफको जादूगरी
गजलका हरेक शेर एक जोडी हरफले बनेका हुन्छन् । शेरका हरफलाई गजलको भाषामा मिस्रा भनिन्छ । न एक हरफको शेर बन्दछ, न तीन चार हरफको, जब बन्दछ जोडी हरफकै बन्दछ । तिनै एक जोडी हरफले कमालको जादूगरी पेश गर्दछन्, जसलाई सुनेर रसिक श्रोताहरूको हृदयबाट आनन्दातिरेकले वाह ! वाह !! को तुमुल ध्वनि प्रकट हुन्छ ।
शेरमा आउने ती एक जोडी हरफ वा मिस्रा सामान्य कविताभन्दा विशिष्ट हुन्छन्, किनभने ती दुवै पंक्तिमा आ–आफ्नै स्वभाव, आनीबानी, खूबी र प्रभावशीलता रहने गर्दछ । त्यसैले तिनलाई विशेष नामले सम्बोधन गरिन्छ, ती हुन्ः मिस्रा–ए–उला र मिस्रा–ए– सानी ।
…
मिस्रा–ए–उला
शेरको पहिलो मिस्रा अर्थात् प्रथम पंक्तिलाई मिस्रा–ए–उला भनिन्छ । उर्दू लबजमा उला भनेको उच्चता र मिस्रा भनेको हरफ हो, अनि बीचमा रहेको ए चाहिँ को अर्थात् षष्ठी विभक्ति जनाउने पद हो । नेपाली भाषा बायाँबाट दायाँतिर पढ्दै जाइन्छ तर उर्दू भाषाचाहिँ दायाँबाट बायाँतिर पढ्दै जाइन्छ । यसरी समग्रमा मिस्रा–ए–उलाले उच्चतामा रहेको हरफ अथवा शेरको माथिल्लो पंक्ति भन्ने अर्थ दिन्छ । जस्तैः
कौन कहता है मोहब्बत की जुबाँ होती है…
विश्वविश्रुत गजलगायक जगजीत सिंहको स्वरमा हामीले यो मिस्रा धेरै पल्ट सुनेका छौँ, यो शेरको पहिलो पंक्ति वा मिस्रा–ए–उला हो ।
शेरमा मिस्रा–ए–उला ले विषयवस्तुको उठान गर्दछ, कुनै कुरा भन्न खोज्दछ, भूमिका बाँध्दछ, समस्या खडा गर्छ, प्रश्न उठाउँछ, कुनै अनौठो कुराको उठान गरेर श्रोतामा कौतूहल जगाउँछ र रहस्यको सृष्टि गर्दछ । यो आफैँमा पूर्ण हुँदैन, यसले कुनै अपेक्षा राख्दछ, उत्तरको खोजी गर्दछ । माथिको पंक्तिले पनि प्रश्न राखेको छः
कौन कहता है मोहब्बत की जुबाँ होती है…
कसले भन्दछ ? प्रेमको पनि भाषा हुन्छ भनेर !
एउटा अनौठो प्रश्नद्वारा उत्सुकता र कौतूहल जगाएको छ यहाँ मिस्रा–ए–उला ले ।
..
प्रश्नै प्रश्नः
वास्तवमा मिस्रा–ए–उला भनेको सवालै सवालको संसार हो । उठाऔँ अब केही मिस्रा– ए– उलाहरूः
१. किन किन उनीछेउ आउनचाहिँ आइएन…
– यहाँ उत्सुकता जगाउँछ चाहिँ ले । आइएन भने के गरियो त ?
२. सबैको यही एक आवाज पाएँ ..
– यहाँ कौतूहल उब्जिन्छः कुन, के, कस्तो आवाज पाएँ ?
३. न हाम्रो भेट नै हुन्थ्यो, तिमी हामी कहाँ हुन्थ्यौँ ?
– यहाँ सोझै प्रश्न छ, जिज्ञासा जाग्दछः कहाँ हुन्थ्यौँ ?
४. सधैँ ठीक्कको घामपानी हुँदैन…
– लाग्दछ, केही भन्न भूमिका बाँधिएको छ ।
५ . छैन सन्ताप या खुशी मनमा…
– त्यसो भए के छ त ? कौतूहल पैदा हुन्छ ।
६. आज आकाशमा मेघ छाएपछि…
– कुनै कुराको उठान गरिएको छ, मेघ छाएपछि के भयो त ?
७. बाग यस्तो कुनै जिन्दगी भैदिओस्…
– कस्तो भैदिओस् ? सवाल पैदा हुन्छ ।
यी सारा प्रश्नहरूको उत्तर पाउन शेरको दोस्रो पंक्ति पर्खनै पर्दछ ।
यसरी शेरको पूर्वार्द्ध वा अर्धांश बन्न पुग्दछ मिस्रा–ए–उला । यो आफैँमा सम्पन्न हुँदैन, दोस्रो हरफले मात्र यसको पूर्णाहुति गर्दछ । अनौठो रहस्य र रुचि पैदा गर्ने पाराले विषयवस्तु वा कथ्यको उठान गर्नु नै मिस्रा–ए–उला को ध्येय हो ।
गजलगायकले आफ्नो सुरिलो स्वरलहरीद्वारा थरिथरिको भाका हालेर मिस्रा–ए–उला को रोचकतालाई साह्रै कलात्मकताका साथ पेश गर्ने गर्दछन् र श्रोतामा अचम्मको एकाग्रता पैदा गर्ने गर्दछन् ।
सन् अस्सीको दशकमा नेपालमा पहिलोपल्ट पाकिस्तानबाट आएका गजल गायनका गुरु गुलाम अलीले आफ्नो गायकीको जादू जगाएका थिए । गजलप्रेमीहरुले आजसम्म त्यो चमत्कार बिर्सिएका छैनन्ः
दिल में एक लहर सी उठी है अभी …
दिलमा उठेको लहर के हो ? भन्ने जिज्ञासा श्रोताका मनमा उठ्नु नितान्त स्वाभाविक थियो । यहाँ गुलाम अलीले दिलमा उठेको लहरको प्रभाव १६ पटकसम्म भिन्नभिन्न शैलीको गायकीमा प्रस्तुत गरेर मिस्रा–ए–उला को रहस्यमय आकर्षणको सामर्थ्य प्रकट गरेका थिए अनि गजलका श्रद्धालुहरूलाई मोहनी लगाएका थिए र गजलप्रति भुतुक्कै बनाएका थिए ।
यसरी मिस्रा–ए–उला ले सवाल जगाउँछ, यसको जवाफ पाउन श्रोता दिल थामेर पर्खिरहन्छ, बढ्दो ढुक्ढुकी सम्हालेर एकाग्र बन्दछ ।
अनि, यसको जवाफ पाइन्छ मिस्रा–ए–सानी मा ।
उसो भए कस्तो हुन्छ त त्यो ?
..
मिस्रा–ए–सानी
शेरको दोस्रो हरफलाई मिस्रा–ए–सानी भनिन्छ ।
शब्दकोश पल्टाएर हेर्दा हामी पाउँछौँः सानी यो विशेषणवर्गको अरबी शब्द रहेछ । यसको अर्थ रहेछः दोस्रो । यसरी मिस्रा–ए–सानी को अर्थ भयोः शेरको दोस्रो हरफ ।
शेरको पहिलो हरफ अर्थात् मिस्रा–ए–उला ले उठाएका सवालहरूको घतलाग्दो जवाफ दिन्छः मिस्रा–ए–सानी ले । शेरका हरेक मिस्राहरूमा उला प्रश्न हो भने सानी उत्तर । उला उठान हो भने सानी बैठान, उला भूमिकाभाग हो भने सानी निष्कर्षवाक्य, उला समस्या हो भने सानी समाधान, उला कौतूहल हो भने सानी त्यसको अन्त्य अनि उला रहस्य हो भने सानी रहस्योद्घाटन ।
उला – ? (प्रश्न) हो भने, सानी – ! (आश्चर्य)
अब हेर्नुहोस्ः मिस्रा–ए–उला ले गरेको भव्य श्रीगणेश अर्थात् प्रारम्भलाई मिस्रा–ए–सानी ले कसरी शानदार विसर्जन गर्दछः
अगि मिस्रा–ए–उला मा जगजीत सिंहले भव्य आलाप लिएः
कौन कहता है मोहब्बत की जुबाँ होती है…
अनि ठूलो कौतुक पैदा गरे । मायाँको बोली नै हुँदैन भने यसलाई कसरी अभिव्यक्त गरिन्छ त ? जिज्ञासा गहन हुँदै गयो, प्रत्येक पटकको आलापीय पुनरावृत्तिमा धेरै बेरसम्म यो रहस्यको तनाव रचिसकेपछि अनि बल्ल आयो मिस्रा–ए–सानी बनेर रमाइलो र घतलाग्दो समाधानः
..ये हकीकत तो निगाहोँ से बयाँ होती है ।
..मायाँ त आँखाको भाकाबाट पो अभिव्यक्त हुन्छ ।
अनि छुन्छ हाम्रो मन प्राण, अनि बन्छ गजलको सम्मोहन, अनि गुँज्छ भावकीय सन्तृप्तिः वाह ! वाह !!
..
उत्तरै उत्तर
यसैगरी मिस्रा–ए–उला का प्रत्येक उदाहरण उठाएर आनन्द लिन्छौँ अब हामी । उला का उठानहरूको कति रोचक र घतलाग्दो बैठान गर्दोरहेछ मिस्रा–ए–सानी ले, हेर्नुहोस् तः
१. यहाँ मिस्रा–ए–उला ले उठाएको प्रश्न छः
किनकिन उनीछेउ आउनचाहिँ आइएन,
के गरियो त ? उत्तर छ मिस्रा–ए–सानी माः
उन्लाई छोडी अन्त कतै मायाँ पनि लाइएन ।
२. यहाँ मिस्रा–ए–उला आयोः
सबैको यही एक आवाज पाएँ,
कस्तो आवाज ? मिस्रा–ए–सानी आयोः
गजलमा तिमीलाई नाराज पाएँ ।
३. यहाँ मिस्रा–ए–उला आयोः
न हाम्रो भेट नै हुन्थ्यो, तिमी हामी कहाँ हुन्थ्यौँ ?
प्रश्न छः कहाँ हुन्थ्यौं ? उत्तर पेश छ मिस्रा–ए–सानी माः
जुनेलीमा तिमी हुन्थ्यौ, म कालो रातमा हुन्थेँ ।
४. मिस्रा–ए–उला मा आयोः
सधैँ ठीक्कको घामपानी हुँदैन,
यस भूमिकाको निष्कर्ष आउँछ मिस्रा–ए–सानी माः
चिताएसरी जिन्दगानी हुँदैन ।
५. मिस्रा–ए–उला आयोः
छैन सन्ताप या खुशी मनमा,
के छ त ? मिस्रा–ए–सानी पढ्नुहोस्ः
हल्का हल्का तनाव जस्तो छ ।
६. मिस्रा–ए–उला भन्छः
आज आकाशमा मेघ छाएपछि,
के भयो त ? मिस्रा–ए–सानी सुन्नुहोस्ः
मन मगन्मस्त भो, याद आएपछि ।
७. मिस्रा–ए–उला मा भन्न केही बाँकी छः
बाग यस्तो कुनै जिन्दगी भैदिओस्,
कस्तो भैदिओस् ? मिस्रा–ए–सानी हेर्नुहोस्ः
फूल झर्दा पनि मग्मगी भैदिओस् ।
यसरी मिस्रा–ए–उला र मिस्रा–ए–सानी को जोडी मिलेर एउटा शेरले पूर्णता पाउँछ । यी दुई पंक्तिका बीच जति बढी रहस्यको सृष्टि गरिन्छ त्यत्ति नै रोचक र आकर्षक बन्दछ शेर, र त्यस्तै शेरले गजललाई प्राणवान् पनि बनाउँछ । गजलमा शेरको जीवन्तता यिनै दुई हरफहरूको रोचक, कौतुकपूर्ण र गम्भीर संवादमा निर्भर रहने गरेको हामी पाउँछौँ ।
..
वाह ! वाह !!
गजल गानविधा हो । यसलाई तरन्नुम/लयपूर्वक पढेर अथवा गाएर प्रस्तुत गरिन्छ । यस प्रस्तुतिमा मिस्रा–ए–उला ले उठाएको विषयलाई तरन्नुम वा गानमा विविध स्वरलहरीका भंगिमाद्वारा प्रश्न, रहस्य, लालित्य, कौतुक, शृंगार, करुणा आदि गहिरा आनुभूतिक संवेदना पैदा गरी शेरमा अपार अभिव्यञ्जनात्मक ऊर्जा विस्तार गरिन्छ, गहन जिज्ञासा पैदा गरिन्छ अनि श्रोता/भावक नजानिँदो पाराले रमरमाउँदो भावात्मक तनावको वशीभूत हुँदै जान्छ । उसका मनमा यसको शमन वा समाधानका लागि तीव्र उत्सुकता उम्रन्छ, अनि अत्यन्त व्यग्रताका साथ तन्मय भएर ऊ दोस्रो मिस्राको प्रतीक्षा गर्दछ । स्वरलहरीका विविध आलापीय आरोहबाट उठेका कौतूहलपूर्ण उत्सुकताका लहरहरूले अद्भुत एकाग्रताको सृष्टि गर्दछन् । एउटा कुशल गजलगायकले यस मनोविज्ञानको भरपूर उपयोग गर्दछ र अन्त्यमा ललित अवरोहका स्वरलहरीमा मिस्रा–ए–सानी पेश गर्दछ, जसले श्रोता/भावकका मनमा उठेका प्रश्नको उत्तर दिन्छ, कौतूहल अन्त्य गर्दछ, जिज्ञासाको समाधान गर्दछ, तनाव उडानको सुमधुर अवतरण गर्दछ, मानसिक उत्तेजनाले रमणीय विश्रान्ति पाउँछ । शायद यहीँ आइपुगेपछि भावकमनमा नसुल्झिएका अज्ञात पहेलीहरूको विरेचन हुन्छ, अनि आनन्दोद्रेकको चरमोत्कर्षमा हृदयको सन्तृप्तिमय उद्गार ओठमा उत्रन्छः वाह ! वाह !! यही हो जादू गजलको ।
..
रसीला दम्पति
यी हुन् मिस्रा–ए–उला र मिस्रा–ए–सानी का स्वादिला जोडी, रसीला दम्पति ! यिनैले जन्माउँछन् माधुर्य र आनन्दका परम सन्तृप्तिमय रसानुभूतिहरु । वास्तवमा आफ्नै दिलको आवाज र अनुभूतिको प्रतिध्वनि पाइन्छ यिनमा । अब यो गजल गुनगुनाउनुहोस् अनि मिस्रा–ए–उला र मिस्रा–ए–सानी को स्वभाव, आनीबानी र सामर्थ्यको स्वाद चाख्नुहोस्ः
सबैको यही एक आवाज पाएँ –
गजलमा तिमीलाई नाराज पाएँ,
..
दिलैबाट उठ्दा अनौठो सुवास
तिमी छौ कहाँ ? – आज अन्दाज पाएँ,
..
युगौंदेखि खोजेर हिँड्थें निशानी
तिमीलाई यो मोडमा आज पाएँ,
..
जमाना सबै खोजी, थाकेर फिर्दा –
घरैभित्र पो शान्तिको राज पाएँ,
..
गजल गुन्गुनाएर आवाज भर्न –
मुटूभित्र नै दर्दको साज पाएँ ।
..
गजलका प्रत्येक शेरलाई काफिया र रदीफ ले सजाएका हुन्छन् ।
के हुन् त यीः रदीफ र काफिया ?
आउनुहोस् रसिकवृन्द, अर्को आइतबार चर्चा गरौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।