कृष्ण बाउसे

मेसेन्जरमा यस्ता कुराहरू के लेखौं परदेशी !
तिम्रै आफन्तले मलाई गिध्देनजरले हेर्यो परदेशी !
तिमीलाई यति लेख्दा पनि मरेतुल्य लागिरहेछ
निर्मला बनेपछि मात्र मेरो लाश हेर्न फर्कन्छौ परदेशी ?

अरूले जेसुकै गरून् आफू बाटो बिराइन्न भन्छु
कसैले बनाउन खोज्दैमा आफू मूर्ख भइन्न भन्छु
फेरि कुन कुबुद्धिले ओझेल पार्छ कुन्नी मेरो बुद्धिमा !
म फेरि त्यही गर्छु जे अब कदापि गर्दिन भन्छु ।

अहा ! छहरोले भीरबाट खोचमा हामफाल्नुको मजा !
अहा ! लहरोले रूख चढ्दै न्यानो घामताप्नुको मजा !
म त भकुण्डो, जमिनमा लडिबुडी खेल्दै नाचिरहने
लड्डुलाई के थाहा भुइँ टेकेर आकाश छुनुको मजा !

सबै चिज पाएथ्यौ सेवक हुँ भन्दै धाएपछि
घाँडो ठान्दै छाडिदियौ काम तमाम भएपछि
नेताजी, तिमी त बेइमान लोग्नेसरह न रहेछौ !
अब, सम्झेर गोही बन्नू अर्को चुनाव आएपछि !

हिजोसम्म अजम्बरी ठान्ने आज खरानी भएछ
कतिले भन्दैछन्- धराको भारै थियो, ठिकै भएछ
जति जतन गरे पनि यथावत् नरहने यो शरीर !
बुझ्नेले यसलाई जगतको सेवामै जोताउनुपर्ने रहेछ।

ठावैँ निरासलाग्दो हुन्छ भएपछि दुर्जनहरू
आफ्नो भन्दै सिद्याउने हुँदा कथित स्वजनहरू
हल्लै हुने भेला गरी जपे पनि शान्ति ! शन्ति !!
कोलाहलको बस्तीभन्दा ठाउँ राम्रो निर्जन बरु ।