साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यौनकथाः नलिनी भाउज्यू

Chovar Blues Mobile Size

 

मधुवन पौडेल

एघार बजिसक्दा पनि जताततै टम्मै कुहिरो लागेको थियो । बस स्टपमा शनिबार भएर होला, पशुपतिको दर्शन गर्न जाने यात्रुहरूको भीडले गर्दा खुट्टा टेक्ने ठाउँसम्म पनि थिएन । शनिबार ढिलोसम्म सुत्ने बानी भएर पनि म त्यो दिन पशुपति जाने आफ्नो परिवारिक टोलीमा सम्मिलित भएको थिएँ । सधैँ एक ढड्डी भएर आफ्नो कुरामा अडान लिए पनि कहिलेकाहीँ त श्रीमतीको संवेदनशीलतालाई विचार गर्नै प¥यो नि ? नास्तिक नभए पनि बाध्यता जस्तै गरी जानुपर्दा मलाई देवस्थान गएर पनि के पो पुण्य मिल्ला र भन्ने लाग्थ्यो । तर यी सब कुरामा श्रीमतीसँग बहस गर्नु नै बेकार थियो ।

मधुवन पौडेल

म जाडोले स्यू स्यू गर्दै दुवै हात पाइन्टको खल्तीमा राखेर बसस्टपमा टँछाडमछाड् गर्दै बसभित्र पस्न र बसबाट ओर्लन मस्त रहेका यात्रुहरूको भीडलाई हेर्दै थिए । अनायास छेउमा एउटा परिचित अनुहार देखेँ । मुखभरि जबर्जस्ती राम्री बन्ने इच्छाले पाउडर पोतेकी भद्दा देखिने गरी लिपिस्टिक दलेकी, आधा काटेको कपालको एक गुच्छा अगाडि ल्याएकी र रातभरि नसुतेको रक्स्याहाको फुलेको अनुहार झैँ देखिने त्यो नराम्रो अनुहार नलिनी भाउज्यूको नै थियो ।

नलिनी भाउज्यूले मेरो जीवनको कायापलट गरिदिएकी थिइन् । उनकै कारणले गर्दा मैले पढाइको विषय नै बदल्नुपरेको थियो । बीस वर्षअघि नलिनी भाउज्यूसँग मेरो भेटघाट भएको थियो । मेरो जीवनका ती अल्लारे दिनहरूमा नलिनी भाउज्यू आँधी जस्तै भएर पसेकी थिइन् । म बिग्रिएँ कि सप्रिएँ, उनको संसर्गपछि भन्ने कुरा त म र मेरो पिताजीबीच विवादस्पद नै रह्यो । उहाँका भनाइमा साइन्स पढ्न छोडेर म बिग्रिएको नै थिएँ ।

sagarmani mobile size

नलिनी भाउज्यूको बिहे हुनासाथ उनका पति दिलबहादुर दाइ विदेशमा पढ्न गएका थिए । भर्खरै बिहे भएको, त्यसमाथि पनि उन्नाइस बीस वर्षको फुट्दो जवानीमा लोग्नेलाई वर्ष दिन बाहिर जाने अनुमति दिँदा उनी कति दिन रात-रातभरी रोएकी थिइन् रे ! म उनको घरमा डेरा हेर्न जाँदा दिलबहादुर दाइ हिँडेको एक महिना भइसकेको थियो । घरमा तरुनी बुहारी भएकीले सासूससुरालाई घर भाडामा दिने पनि इच्छा थिएन रे ! तर मलाई डेरा खोजिदिने वैद्यबा उनीहरूका आफ्नै मानिस थिए । त्यसमा पनि म उमेरको हिसाबले पनि नपत्याउँदो र हेर्दा पनि साह्रै लुरे देखिने भएकोले उनीहरूले सहमति दिएका थिए ।

नलिनी भाउज्यू दुई पटक म्याट्रिक फेल भइसकेकी रहिछन् । डेरा दिँदा उनीहरूको एउटा शर्त थियो— मैले उनलाई पढाइदिनुपर्ने । डेरा नपाइने र पाए पनि भाडा र अरू दृष्टिले आफूलाई उपयुक्त र सुविधाजनक नहुने हुँदा मैले इच्छा नभए पनि पढाइदिने शर्त मानेको थिएँ ।

नलिनी भाउज्यू बेलुकी कापी किताब च्यापेर मेरो कोठामा आउँथिन् । ससुरा मेरा कोठाभित्रको बार्दलीमा उङ्दै तमाखु तानिरहन्थे भने सासू मेरो कोठाको सङ्घारबाहिर लाल्टिनको उज्यालोमा बत्ती कातेर कुरिरहन्थिन् । तर यो काम धेरै दिन चलेन किनभने थोरै दिनमा नै बूढाबूढी मेरो बानी बेहोराले रिझिएका थिए । अनि नलिनी भाउज्यू मात्रै आउने गर्न थालिन् । त्यो परिवारका सबैजनाले मलाई माया गर्न थालेका थिए । नलिनी भाउज्यू त नाईं नाईं भन्दा पनि मेरो लुगाफाटाहरू धोइदिने र घरमा पाकेका खाने कुरा ल्याउने गर्थिन् । यसरी नयाँ डेरामा आउनासाथ मलाई एक किसिमको हाइसञ्चो भएको थियो।

नलिनी भाउज्यूको धप्धपाउँदो जवानी देखेर, उनी भित्रबाहिर गर्दा टोलका भाँडिएका केही केटाहरू उनलाई छेडखान गर्ने, बाटोमा एक्लै देख्दा घच्चा मार्न खोज्ने गर्थे रे ! कोहीकोही त मलाई पनि ईष्यालु दृष्टिले हेर्दै खाउँला झैँ गर्थे । एकाध पल्ट उनीहरूले मेरो सम्बन्धमा चसक्क बिझ्ने गरी भन्ने गर्थे— “ए चन्द्रे ! बुझिस् त्यो लुरे बाहुन त म्याट्रिक पास भइसकेको पो रहेछ ! ”

“गुरुज्यूको सन्तानले त्यसलाई के देखेर डेरा दिएका होलान् !”

“गुरुज्यूकी बुहारीले त त्यल्लाई पेटीकोटभित्र छोप्दी हो आदि आदि !”

कहिलेकाहीँ यस्तो पनि भन्थे रे, “एकपल्ट त्यल्लाई बेस्करी चुटौँ न ।”

यस्ता कुरा भन्दै उनीहरू गलल्ल हाँस्थे रे ! अरूभन्दा पनि म बिना कारण र काम ती उद्दण्ड ठिटाहरूको गोदाइ खाइएला भनेर त्रस्त हुन्थेँ । बाध्यतावश मलाई उनीहरूको व्यवहारप्रति सहनशील हुनुपरेको थियो । अनि बिस्तारै विरोधाभासरहित आनीबानी देखेर उनीहरूले मलाई वास्ता गर्न छोडे । सायद उनीहरू मबाट टाढा हुने कारण अर्को पनि थियो— मलाई यदाकदा साइकलमा छोड्न आउने मेरो एउटा सहपाठी तिनताक काठमाडौँभरिकै कुख्यात गुण्डो र नाम चलेको बदमास थियो ।

उता नलिनी भाउज्यूको मिजास बदलिँदै थियो । उनी मलाई बराबर यस्ता छेडखान गर्थिन्— “ए तिमी त ठूलो खसी (रांगाको मासु) नखाएर पो यति दुब्लो भएको !”

“भोलिपर्सि कसरी स्वास्नी सुमर्छौ हँ ?”

“तिम्रो क्लासका केटीहरू त तिमीलाई कति खिज्याउने गर्लान् हगि ?”

नलिनी भाउज्यूका यी कुराहरूको म केही जवाफ दिन्नथेँ । अनि बिस्तार बिस्तार धारामा नुहाउन जाँदा अर्थात् कौसीमा घामताप्न बस्दा दायाँ बायाँ कोही नभए उनी नजानिदो किसिमले आफ्ना अङ्ग प्रदर्शन गर्ने गर्न थालिन् । कहिले ब्लाउजको टाँक खुलै छाड्ने, कहिले खुट्टा तन्काउने निहुँले तिघ्रासम्म धोती सार्ने र कहिले ढाडमा कन्याइदेऊ न भनेर टाँस्सिन आउने पनि गर्न थालिन् । सासूससुरा सुतेपछि सलाई माग्ने निहुँ थापेर नलिनी भाउज्यू पेटीकोटले वक्षस्थल छोपेर शरीरको माथिल्लो भागमा अरू कुनै लुगा नलगाई मेरो ढोका ढकढकाउन आइपुग्थिन् । कौतूहलता बढ्दै थियो मेरो मनमा पनि ! अनि म पनि क्लास छोडेर डेरामा नै बस्न थालेँ । बूढाबूढीले सोधे भने म जाँच आएकोले घरमै बसेर पढ्ने गरेको भनिदिन्थेँ । ससुरा ज्यासलतिर लाग्थे, सासू धेरैजसो स्वयम्भूतिर पूजामा जान्थिन् । अनि नलिनी भाउज्यू उन्मत्त भएर मेरो कोठामा पस्थिन् ।

“छि ! यो उज्ज्वल भाइले के विधि पसिना काढेको ?” नलिनी भाउज्यू मलाई दुवै हातले च्याप्दै भन्ने गर्थिन् । यसरी दिन, हप्ता र महिना गर्दै दस महिना बितेको पत्तै भएन । दस महिनामा म एक महिना पनि कलेज गइन हुँला । नलिनी भाउज्यूको सङ्गतले मैले भने आफ्नो पढाइ भने पूरै बर्बाद गरेँ । उनको निर्लज्जता र छाडापनले केही कसर छोडेको थिएन !

“तिम्रा यी तिघ्रामा कहिले मासु भरिएलान् उज्ज्वल भाइ ?” नलिनी भाउज्यू मलाई अँठ्याउँदै भन्ने गर्थिन् । हुन पनि म ज्यादै नै दुब्लो थिएँ ।

“कति साना हात एक फेरो मार्न पनि सक्दैनौ ? ”

“के गरुँ त अब, आफूलाई भगवानले दिएकै यस्तो !” मलाई कहिलेकाहीँ ग्लानि अनुभव हुने गर्थ्यो । नलिनी भाउज्यूले पनि होच्याएर मात्र भनेकी थिइनन् ।

अनि एक दिन दिलबहादुर दाइ फर्के । उनी रातापीरा र हँसमुख थिए । उनी फर्केपछि नलिनी भाउज्यूको खुसीको सीमा थिएन । दिलबहादुर दाइ निकै रमाइला र बोलक्कड पनि थिए । मलाई जिस्क्याई जिस्क्याई उनले रक्सी पिउन सिकाए । तर उनी फर्केपछि नलिनी भाउज्यूको व्यवहार बदलिँदै गयो । एक दिन धारामा मैले पूर्ववत् उनको वक्षस्थल निर्वाङ्ग पार्न खोज्दा उनले मलाई गालामा एक थप्पड हिर्काइन् । त्यसपछि मैले अरू साहस बटुल्नै सकिनँ । अनि मैले हिजोकी नलिनी भाउज्यूलाई बिर्सन बाध्य हुनुपर्यो । झण्डै बिर्सिसकेको कलेज धाउने काम फेरि शुरु भयो।

त्यसैबीच एक पटक कलेजबाट छिटो फर्केको दिन म कौसीमा उक्लेको थिएँ । नलिनी भाउज्यू र छिँडीमा नयाँ बस्न आएको अर्को डेरावाल आलिङ्गनबद्ध भइरहेका रहेछन् । आधा भर्याङ उक्लनासाथ म असमञ्जसमा परेँ । मलाई देख्नासाथ नयाँ डेरावाल लुरुक्क नबोली तलतिर लाग्यो ।

“तँ काठालाई कसले कौसीमा आउनु भन्यो ? भोलि नै निकालेर पठाइदिन्छु अनि !” नलिनी भाउज्यू गर्जिइन् ।

“म के थाहा पाउँ त, यहाँ यस्तो गोप्य क्रीडा भइरहेछ भन्ने ।”

“बर्ता बोलिस् भने म लोग्नेलाई भनेर तँलाई… ।”

अनि म आफ्नो कोठामा फर्कें । भोलिपल्टै नयाँ डेरावाल अन्तै सरेर गयो । म पनि नयाँ डेरा तलास गर्ने तरखर लागेँ । मेरो कोठाको ठीक एक तल्लामाथि दिलबहादुर दाइ र नलिनी भाउज्यू सुत्थे । एक रात मैले नलिनी भाउज्यूले सुँक्क–सुँक्क गर्दै केही कुरा भनिरहेको सुनेँ दाइलाई, कौतूहलतावश आफ्नो ढोकानिरबाट कान थापेर बसेँ ।

“त्यसलाई उठाएर पठाउनुपर्यो है ! हेर्दा मात्र मरिचे हो त्यो ! मलाई तपाईंहरू कोही नभएको बेला घरमा एक्लै बस्न पनि डर लाग्छ । अस्ति त लुगा फेर्न लाग्दा पनि ट्वाल्ल हेरिरह्यो । धारामा पनि म हुँदा पनि नाङ्गै हुँला जस्तो गर्छ !”

“तिमीलाई त्यस्तो लागेको मात्र हो, उठाउनुपरे उठाउँला नि ! तर मलाई त मानिस बेसै लाग्छ । त्यस्तो केही भए त म नहुँदा पनि त हुनुपर्ने ! बा-आमा पनि राम्रै मान्छे छ भन्नुहुन्छ !”

“जेसुकै गर्नोस् । कोही नभएको बेला मलाई हात हाल्यो भने नि ? ”

नलिनी भाउज्यूको कुरा सुनेर म छक्क परेँ । एक मन त माथि उक्लेर भण्डाफोर गरिदिउँ जस्तो पनि नलागेको होइन तर त्यसबाट आफूलाई उल्टो असर पर्ने सम्झेर चूप लागेँ ।

दुई महिनापछि मैले त्यहाँबाट डेरा अन्यत्रै सारेँ । अनि जीवन पनि अर्कैतिर मोडियो । परिवारसँग मनमुटाव, पढाइमा असफलता, आर्थिक समस्या र अन्ततोगत्वा बिहेपछि जबर्जस्ती लादिएको थप बोझले गर्दा म थिलथिलो हुँदै गएँ । नलिनी भाउज्यूसँग पनि कहिल्यै देखादेखासम्म पनि भएन । आज अकस्मात् उनलाई देख्दा मलाई आफ्नो पूर्वस्मृति ताजा भएको अनुभव भयो ।

एक छिनमा हाम्रो अगाडि भीमकाय बस आएर उभियो । अरू यात्रुहरूसँगै हामी पनि बसभित्र चढ्यौँ । आफ्नो क्षमता भन्दा झन्डै तीन गुना यात्रु कोचेर एकातिर आधा लच्केको बस गन्तव्य स्थानतिर जाँदे थियो । हामी उभिएको ३\४ सिट पर एउटा छेउको सिटमा नलिनी भाउज्यू बसेकी रहिछन् । उनको अनुहारमा कुटिल हाँसो थियो— मसँग चार आँखा हुनासाथ !

“नचिनेको मलाई तिमिले उज्ज्वल बाबु !”

“को नलिनी भाउज्यू ?” मैले जबर्जस्ती कृत्रिम मुस्कानसहित जवाफ दिएँ ।

“बाबु यता आऊ ।” मसँग च्यापिएर उभिएको मेरो छोरालाई सङ्केत गर्दै उनले भनिन् । एक पटक मेरो मुखमा पुलुक्क हेरेर सहमति पाएपछि मेरो छोरो हाम्फाल्दै नलिनी भाउज्यूको काखमा पुग्यो ।

“अनि भाउज्यू सञ्चै त ? दिलबहादुर दाइ कता नि ?”

“हामी छुट्टिइसक्यौँ, खै यतै हुनुहोला नि !”

नलिनी भाउज्यूले अमिलो मुख लगाएर जवाफ दिइन् ।

नसोध्नुपर्ने प्रश्न सोधिएछ भनेर मलाई खिन्न अनुभव भयो । यत्रो वर्षको अन्तरालमा के के भयो मलाई थाहा पनि थिएन नि त !

“लौ त उज्ज्वल बाबु, मेरो त ओर्लने ठाउँ पनि आइपुग्यो,” भन्दै नलिनी भाउज्यू बसभित्रको घुइँचो छिचोलेर निस्किइन् । दिलबहादुर दाइ र नलिनी भाउज्यू किन छुट्टिएछन् भन्ने कौतूहलता भयो मलाई । नलिनी भाउज्यूको चरित्रले गर्दा उनीहरूको सम्बन्धविच्छेद भएको होला भन्ने लख काटेँ मैले ! त्यसपछि नलिनी भाउज्यूको कतै प्रसङ्ग नउठेकोले मैले उनलाई बिर्सें ।

केही दिनपछि आफ्नै कामले पुरानो डेरा भएको टोलमा जानुपर्यो । सडकको शिवमन्दिर जीर्णोद्धार भइसकेको रहेछ । त्यसको अगाडि भएको पुरानो घरको ठाउँमा चारतल्ले भव्य विशाल घर ठडिइसकेको थियो । पहिले मलाई तर्साउने त्यो टोलको उद्दण्ड केटो त्यही घरमा दैनिक उपयोगका सामान बिक्री गर्ने साहु\पसले भइसकेछ । उसले मलाई देख्नासाथ हात उठाउँदै भन्यो— “अहो उज्ज्वल भाइ, आफ्नो पुरानो टोल बिर्सेको ?”

“किन बिर्सन्थेँ दाइ ! सञ्चै हुनुहुन्छ ?”

“आउनुहोस् न, कमसेकम एउटा कोक त पिउनुहोस् ।”

मलाई कोक पिउने इच्छा नभए पनि नलिनी भाउज्यू र दिलबहादुरको कुरा जान्ने कौतूहलताले गर्दा म एउटा टुल तानेर बसेँ ।

“अनि कता नि हिजो आज ?”

“केही समय बाहिरै थिएँ । अहिले पाँच छ महिना भयो काठमाडौँमा नै छु ।”

“ए !”

“दिलबहादुर दाइ कता छन् नि ?”

“भो कुरै नगर्नोस्, झुक्याएर बिहे गरेछन् नलिनीसँग । पहिले त थाहा थिएन रे ! तर पछि पढेर फर्केपछि आफ्नो लोग्ने नपुसंक भएको कुरा नलिनी भाउज्यूलाई पनि थाहा भएछ । अनि त के ? लगाम नभएको घोडा झैँ खुलेआम उनको चर्तिकला सुरु भएछ । पहिले त आफू पनि अल्लारे भएर लागिएकै हो ! पछि त टोलै गह्नाउन थालेको थियो । तै तै नापीको एउटा अमिनले लिएर गयो । अहिले उसले पनि छोड्यो रे !”

“दिलबहादुर दाइ नि त ?”

“उनी पनि कुनचाहिँ बाबाको चेलो भएर घरबाट निस्केको दस वर्ष भयो ।”

“ए ! गजब पो भएछ !”

“नलिनी भाउज्यू डिल्लीबजारमा बसेकी छन् रे ! जानोस् न तपाईं त पुरानो मानिस,” पसलेले मलाई व्यङ्ग गर्दै थियो । त्यतिन्जेल मैले कोक सिद्ध्याइसकेको थिएँ । कोकको आतिथ्यको लागि धन्यवाद दिँदै म आफ्नो घरतिर लागेँ । मलाई नलिनी भाउज्यूको अरू इतिहास सुन्ने चाख पनि भएन ।

प्रतिक्रिया
Loading...