तिमी मलाई अन्यथा नठान्नू ल, के गर्नु आफ्नो चित्तले नखाएको कुरा पत्याउनै सक्तिनँ म । ‘अड’ नदेखियूँ न त भनेर अरूका पत्यारहरूमा सही धसिदिन बल गर्छु पनि तर अहँ सक्तिनँ । म सक्तिनँ, आफूलाई ‘हो’ नलागेको कुरा त्यत्तिकै ‘हो’ भन्न सक्तिनँ । म आफूलाई ढाट्न सक्तिनँ । म आफूलाई छल्न सक्तिनँ । आफूभन्दा बलियो ‘आफू’ म बन्न सक्तिनँ । यसलाई तिमी मेरो कमजोरी वा सीमा भनेर पनि बुझ्न सक्छौ, अथवा मेरो ‘म’ भनेर पहिचान्न पनि सक्छौँ । रोजाइ तिम्रो आफ्नो हो । बुझाइको स्वतन्त्रता, त्यो तिम्रो आफ्नै हो । तिम्रो त्यो हकको म सधैँ सम्मान गर्छु । अझ म त चाहन्छु, यो जगत्‌भरि जति पनि मानिसहरू छन् ती सबैले आआफ्नो हकको सम्मान भएको जीवन बाँच्न चाहून्; बाँच्न पाऊन् ।

हेर त यो जगत् कति रमाइलो छ । प्रकृतिको हरेक सृष्टि यहाँ अद्वितीय छ । अद्यपि कतिपय कुराहरू झट्ट देख्ता उस्तै-उस्तैजस्ता पनि लाग्न सक्लान् हामीलाई, तर उस्तै त केही पनि छैन यहाँ; उस्तै त केही पनि हुन्न यहाँ । ‘लाग्नु’ एउटा कुरा हो, ‘हुनु’ अर्कै कुरा हो । ‘हुनु’मा त यहाँ प्रत्येक कुरा स्वयंमा पृथक् छ । पृथक्ताकै कारण जगत् विविधतामय छ । यही विविधताका कारण हामी बाँचिरहेको यो जगत् रमाइलो छ; धेरै रमाइलो छ । यो रमाइलोलाई मान्छेले भन्दा बढी अरू कुन प्राणीले पो महसुस गर्न सकेको होला र ? कल्पना र चेतनाको धनी प्राणी यो जगत्‌भरि केवल मान्छे मात्रै त हो एउटा ! त्यसैले पनि होला, जगत्‌को रमाइलोलाई जतन गर्ने मुख्य जिम्मेवारी पनि मान्छेकै काँधमा सुम्पेको छ प्रकृतिले । त्यो जिम्मेवारीमा चुस्तदुरुस्त दरिनका लागि पनि हरेक मान्छेले आफूभित्रको पृथक् ‘आफू’ लाई बचाइराख्नुपर्छ सधैँ । न्यायी बन्नुपर्छ हरेक व्यक्ति सबैभन्दा पहिला आफैँप्रति र मात्र ऊ दुनियाँप्रति न्यायी बन्न काबिल बन्छ । इमानदार बन्नुपर्छ हरेक मान्छे सबैभन्दा पहिला स्वयंप्रति र मात्र जगत्‌को रमाइलो जोगाउने जिम्मेवारीमा अग्रसर हुन् उसमा अन्तःप्रेरणा जागृत हुन्छ ।  मान्छे आफैँ जागृत नभइदिने हो भने कसले पो आएर थामिदेला र उसको यो जगत्‌लाई; जगत्‌को यो रमाइलोलाई ?

डा. ज्ञानू पाण्डे

भन्नेहरू त भन्छन् नि ‘सबै कुराको जगेर्ना भगवान्‌ले गर्छ ! मान्छेभन्दा माथिको शक्ति हो भगवान्‌, भगवान्‌ले नै उसको यो संसारको रक्षा गरिदिन्छ !’ र तिमीले पनि आज त्यस्तै-त्यस्तै ‘ट्युन’ मा कुरा गऱ्यौ मसित । भगवान्‌को अपरम्पार शक्तिबारे शास्त्रहरूमा लेखिएका, पुराणहरूमा कथिएका अनेक अतिरञ्जित कथाहरूमा गम्भीर पत्यार देखायौँ । ‘मठ, मन्दिर, देवल र धामहरूमा साक्षात् भगवान्‌को वास हुन्छ रे’ भन्यौँ । ‘मन्दिर-मन्दिर धाए, भगवान्‌को मूर्तिमा अबिर सिन्दूर फूलमाला चढाए, आरतीको दियो सधैँ घुमाए, भेटी फलपूल र नवेद्य अर्पिए भगवान् साँच्चिकै रिझिन्छ रे’ भन्दै ‘रे रे’ का कुराहरू धेरै सुनायौ आज तिमीले । मलाई माफ गर, आजका तिम्रा यी कुराहरूमा विनाछलफल सोझै पत्यारको छाप लगाउन सकिनँ मैले ।

‘रे रे’ का कुरा, अझ त्यो पनि भगवान्‌जस्तो अमूर्त विषयलाई लिएर ? के हो भगवान् भनेको ? के हो ‘भगवान् धारणा’ को पृष्ठभूमि ? कसले लेख्यो भगवान्‌को कथा ? शास्त्र र पुराणहरूका ठेली बनायो कसले ?  कसले गऱ्यो त्यसको प्रचार ? भगवान्‌ले गऱ्यो कि मान्छे आफैँले ? मलाई यत्ति मात्र बताऊ तिमी, के मान्छेको पत्यारविना भगवान्‌को सत्त्व प्रमाणित हुन सक्छ यस दुनियाँमा ?

मैले यसरी भगवान् विषयलाई लिएर प्रश्नहरू गर्दैगर्दा कतै तिम्रो दृष्टिमा म नास्तिकजस्तो पो बुझिएँ कि ? त्यसरी नबुझ्नू तिमी मलाई । मेरो आस्तिकतामा त्यसरी कहिल्यै शङ्का नगर्नू तिमी । किनकि म पनि भगवान् मान्छु । आस्तिक हुँ म, खाँटी आस्तिक ! त्यसैले त मान्छेहरूले भगवान्‌माथि अनावश्यक जिम्मेवारीको बोझ थोपर्न खोजेको मलाई मान्य हुँदैन नि !

छक्क पर्छु म, कतिपय मान्छेहरू पाप आफू गर्छन्, अनि त्यो पापको दाग धोइदिन चाहिँ भगवान्‌लाई गुहार्छन्, किन होला ?  । गति आफैँ बिगार्छन् मान्छेहरू्, ‘भगवान्‌ले मति बिगारिदियो’ भनेर दोष भगवान्‌तिर तेर्स्याउँन खोज्छन् । किन होला ? आस्तिक हुनुका नाममा पूर्वजन्म र परजन्मको बखान गर्छन्, परलोकका बारेमा अनेक कथाहरू बुनिबस्छन्, सुनिबस्छन् । तर वर्तमानमा आफू बाँचिरहेको यो जिउँदोजाग्दो लोकका बारेमा भने जति गम्भीर भएर सोच्नुपर्ने आवश्यकता हो, त्यो आवश्यकतातर्फ चनाखो बन्न उति हतारिँदैनन् मान्छेहरू, किन होला ? मलाई बताऊ तिमी, के मान्छेहरूको यो सुस्तता भगवान्‌को दोष हो ? जीवनमा आफूले पाएको समयको सदुपयोग गर्न आफैँ हेक्का नपुऱ्याउनु, अनि हात नपरेको सफलताका लागि भगवान्‌लाई दोषी देख्नु ? कति ठुलो ज्यादती भगवान्‌माथि मान्छेको ! भन्छन्- ‘भगवान् नै त हो हरेकको भाग्य विधाता, उसैले ठगेपछि कसको के लाग्छ ?’ ए बाबा, मैले नबुझेको कुरा के भने आखिर भगवान्‌को के स्वार्थ होला र मान्छेको भाग्य ठगिबस्नलाई ? उसलाई किन रुचि हुनु र मान्छेलाई दुःख दिइबस्नलाई ?

बाँच्नु भनेको कर्म गरिरहनुको अवस्था हो । कर्मप्रतिको निरन्तरको इमानदारी जीवनको मुख्य धर्म हो । जीवनको यो आधारभूत धर्म परिपालन गर्न पनि के मान्छेलाई भगवान्‌कै सहयोग चाहिने ? पाइला-पाइलामा औँला समाएर भगवान्‌ले नै उसलाई उसको कर्मको बाटो देखाइदिनुपर्ने ? भगवान्‌प्रति किन यति विधिको लिप्साइ मान्छेको ? तिनको लिप्साको सास्ती भगवान् बिचराले बित्थामा किन सहनुपर्ने ? आखिर किन भगवान्‌माथि मान्छेहरू अनावश्यक रूपमा आफ्ना अपेक्षाका भारहरू थोपर्न तुल्लिरहन्छन् होला ? यस्तो सोच मेरो मनमा बखत-बखतमा उठिरहन्छ । मैले यहाँ यति कुरा भनिसकेपछि मेरो आस्तिकताप्रति तिम्रो मनमा अघि सन्देह उठेको थियो भने पनि अब त पक्कै निवारण भयो होला भन्ठान्छु म ।

आज धेरै दिनपछि भेट भएको छ तिमीसित मेरो । यो भेटलाई स्मरणीय बनाउन चाहन्छु म । मन्दिरपरिसरमै छौँ यति बेला हामी, तिमीले भगवान्‌को कुरा उप्कायौ । त्यसैले आऊ एकछिन अझै केही बेर हामी यहीँ बसौँ र भगवान्‌कै विषयमा अझै केही बेर संवाद गरौँ ।

भगवान्, यो शब्द मैले जीवनमा सबैभन्दा पहिला कहिले सुनेँ हुँला ? सम्झना छैन र त्यो नसम्झनासित कुनै गुनासो पनि छैन मलाई । उसै पनि भगवान् भन्नु शब्दमा सुनिने त्यस्तो कुनै ठोस ध्वनि पनि त होइन । अर्को कुरा, जीवनमा सबैभन्दा पहिला भगवान्‌को कुन मूर्तिमा वा कुन तस्बिरमा मेरो आँखा परेको थियो होला ? अहँ त्यो पनि पटक्कै याद छैन र त्यो नयादप्रति पनि खासै कुनै गुनासो गर्नु छैन मलाई । आखिर भगवान् भनेको आँखाले देखिने कुनै त्यस्तो भौतिक अस्तित्व पनि त होइन, तर आफूले उहिलेदेखि अहिलेसम्मै सम्झन कहिल्यै नर्बिसिएको एउटा कुरामा भने साह्रै ठुलो सन्तोष छ मलाई । सम्झन्छु, ९-१० वर्षको त्यो अबोध उमेरमा मैले एकदिन पिताजीसमक्ष अचानक जिज्ञासा राखेँ, ‘भगवान् भनेको के हो ?’ जबाफमा पिताजीले भन्नुभयो, ‘पवित्र भावना ।’  केटाकेटी उमेर जो थियो, जिज्ञासा किन त्यति सजिलैसित साम्य हुन्थ्यो र ? मैले फेरि अर्को जिज्ञासा ओछ्याएँ- ‘त्यो कहाँ बस्छ ?’ । मेरो सानो हात पिताजीले समाउनुभयो र उठाएर मेरो छातीमा छुवाउनुभयो र भन्नुभयो, ‘यहाँ बस्छ ।’ फेरि सोधेँ, ‘त्यसो भए पूजाकोठाको भगवान्‌लाई किन पूजा गरेको त ?’ यो प्रश्न सुनेपछि भने मलाई हेरेर उहाँ मुसुक्क हाँस्नुभयो र भन्नुभयो, ‘ठुलो भएपछि यो कुरा तिमी आफैँ बुझ्छ्यौ ।’

मलाई थाहा छैन जीवनमा म कहिलेबाट ‘ठुलो’ भएकी हुँ ( स्मरणीय छ, ‘ठुलो’  हुनु भन्नुको मतलब व्यक्तिको उमेर बढ्नु मात्र कदापि होइन), तर यत्तिचाहिँ पक्का थाहा छ, पिताजीले अर्थ्याउनुभएको भगवान्‌को त्यो अर्थ मेरो मनमा उति बेलै हो छापिएको जो अझैसम्म यथावत् छ, यथावतै छ ।

हो, हरेकले आफैँ ठम्याउनुपर्छ भगवान्‌को अर्थ । अरूले बुझाएर बुझिने विषय होइन भगवान्, हरेकले आफैँभित्र खोज्नुपर्छ, बाहिरिया व्याख्या र प्रवचनमा भेटिने तत्त्व होइन भगवान् । आफ्नै अन्तश्चेतनामा भगवद्भक्त दर्सिन सक्नुपर्छ आफू, अरूलाई देखाउने वा देखिने भक्त भइनुको खासै कुनै तत्त्व हुन्न । बरु उल्टै त्यस्तो स्थितिले त मान्छेहरूका मनमा भगवान्‌का नाममा अनेक अन्धताहरूको व्याप्ति बढाइदिन सक्ने सम्भावना प्रचुर मात्रामा रहन्छ । मलाई लाग्छ, त्यस्तो अन्धता वास्तविक भगवद्भावप्रति ठुलो भार हो ; ठुलो ज्यादती हो ।

‘वास्तविक भगवान्’ भन्ने शब्दावली उच्चारण गरेँ मैले यहाँ । तर नसोच्नू तिमीले, यसो भन्नुको मतलब म भगवान्‌को कुनै त्यस्तो ठोस् भौतिक स्वरूपको कल्पनामा विश्वास गर्छु ।

‘भगवान् छ’ यो कुरा म मान्छु, तर त्यो मान्छे भन्दा बाहिर होइन, मान्छेभित्रै छ त्यो भन्ने मेरो बुझाइ हो । म ठान्छु, भगवान् मनको विश्वास हो, अन्धविश्वसको विकृति होइन । भगवान् मनको अडेस, आडम्बरको झेल होइन । आस्थाको स्वरूप हो, सत्ताको खोजी होइन । श्रद्धाको समर्पण हो, विधिविधानको रूढि होइन । न त पूजाका नाममा देखावटी कर्मकाण्ड नै हो भगवान् । देखावटी कुरामा त मान्छेलाई मात्र हो आकर्षण, भगवान्‌लाई त्यस्ता कुराको के आवश्यकता? के प्रयोजन ?

हेर त, भगवान् साँच्चै कति सन्तोषी छ ! पूजाकोठा, मन्दिर, मस्जिद, चर्च, भित्ता, वा पाटीपौवा, खोपा, टुँडाल, देउराली वा नदी किनार मान्छेले जहाँ-जहाँ सजाओस्, त्यहीँ-त्यहीँ चुपचापसित सजिएर बसिदिन्छ ऊ । ‘यहाँ बस्छु त्यहाँ बस्दिनँ’ भनेर रोजीछाडी कहिल्यै गर्दैन । चाँडपर्वका नाममा मान्छेहरू कतिपय बेला भने भगवान्‌को मूर्तिसामु नैवेद्यमाथि नैवेद्यको उरुङ लगाइदिन्छन् तर अघिपछि भने सामान्य रुक्खासुक्खामै टारिदिन्छन् तर त्यसले उसलाई कुनै फरक पर्दैन । भगवान्‌लाई न त कहिल्यै अजीर्ण हुन्छ, न त ग्यास्टिक नै हुन्छ ! मान्छेहरूले जति ढोगून्/मनका बिलौनाहरू जति पोखून्, भगवान् कहिल्यै बाक्किँदैन । थरी-थरीका भक्तहरू थरी-थरीका प्रार्थना गर्छन्,  सबैका सबै थरीका प्रार्थनाहरू ऊ समानान्तर रूपमा सुनिदिन्छ । ‘भो अब सुन्दिनँ’ भगवान् कहिल्यै भन्दैन, न त ‘यसको कुरा सुन्छु त्यसको सुन्दिनँ’ भनेर भक्तहरूप्रति ऊ पक्षपात नै गर्छ । आफूछेउ पुकार गर्न आउनेहरूप्रति ‘आए’ भनेर न त ऊ बढी रिझिन्छ, न त नआउनेहरूप्रति ‘आएनन्’ भनेर कहिल्यै ऊ चिढिन्छ नै । चाकडी र मानको भोक त मान्छेहरूलाई मात्र हो, भगवान्‌लाई यी सब कुराको के खाँचो ? केको चासो ? साँच्चै भगवान् कति निस्पृह छ हगि ? यो निस्पृहता भगवान्‌को शक्ति हो कि सीमा ? कहिलेकाहीँ मेरो मनमा यस्तो हावा प्रश्न पनि उठिदिन्छ त्यत्तिकै र लगत्तै मनमै उम्रिन्छ फेरि सही जवाफ पनि यसरी- सीमा वा असीमा केही पनि होइन भगवान्, ऊ त मात्र भावना हो; पवित्र भावना हो । ऊ त मात्र दृष्टि हो, सम्यक दृष्टि ।

जीवन र प्रकृतिको नियम एवं रहस्यहरूको सम्बन्धमा सम्पूर्ण कुरा नबुझीकनै पनि बुझेझैँ गरी बाँच्नुपर्ने आस्तित्विक बाध्यता छ मान्छेलाई । त्यो बाध्यताको बोझलाई छल्न र अज्ञात अवस्थाले उत्पन्न मनको भयलाई व्यवस्थापन गर्न भगवान् तत्त्वको अवधारणा मान्छे आफैँले सिर्जाएको हो यो जगत्‌मा । असमाधित कैयौँ प्रश्नहरूको कहाली चारैतिर जसरी असरल्लिएको छ जीवनमा, ती कहालीहरूलाई कतै अज्ञात खोपामा थन्क्याएर, यो जीवनलाई अलि सजिलोसित भोग्न मान्छे आफैँले निर्माण गरेको भगवान् भन्ने शक्ति, उहिल्यै डार्बिनको विकासवादी सिद्धान्तले हरेक कुरा प्रकृतिजन्य प्रक्रियाको परिणाम हो भन्ने विज्ञान ठम्याए पनि प्रकृतिको नियम र रहस्यहरूप्रतिको मान्छेका सम्पूर्ण जिज्ञासाहरू खै थिए र उत्तरित हुन सकेका ? अझ, उहिलेको कुरा मात्र होइन, आजकै कुरा पनि उस्तै हो । आज विज्ञानले संसारमा जति नै विकास गरे पनि, कारण र परिणामहरूबारे प्रमाणका साथ पुष्टि गर्न विज्ञानले जति नै धेरै सफलता प्राप्त गर्न सकेको भए तापनि अप्रमाणित सत्यहरू कति छन् कति अझै यो चराचर जगत्‌मा ! त्यसैले पनि भगवान्‌प्रति आस्थावान् नभई रहन सक्तैन मान्छे । भगवान्‌प्रतिको आदिम आस्थाबाट हत्तपत्त विच्छेदित हुन सक्तैन मान्छे । मलाई यहीँनिर महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनलाई पनि सम्झिन मन लाग्यो । आफू त्यति ठूला भौतिकशास्त्री थिए तर पनि आस्तिकताप्रतिको आफ्नो आत्मिक अनुरागबाट कहिल्यै विरत भएनन् उनी । स्पष्ट शब्दमा भनेका उनले, ‘भगवान्‌को भौतिक अस्तित्व छ भन्ने कुरा म मान्दिनँ तर पनि म नास्तिक होइन ।’ यो भनाइबाट बुझिन्छ, आइन्सटाइनको आस्तिकता परम्परागत रूढ भगवान्‌वादिताको द्योतक थिएन, मानवीय अस्तित्वको प्रकृतिप्रदत्त सीमाप्रतिको हार्दिक स्वीकारोक्ति थियो ।

यस्तै खालका आशय ध्वनित हुने कुरा अरू पनि कतिले भनेका छन् भनेका छन्, कति पुस्तकहरूमा लेखिएका छन् लेखिएका छन् ! त्यस्ता भनिएका र लेखिएका कुराहरू यहाँ सबै सम्झेर के साद्दे ? मलाई लाग्छ, खास गरी भगवान्‌जस्तो अमूर्त विषयलाई बोध गर्न केवल भनिएका-लेखिएका कुराहरू सुन्नु-पढ्नुले मात्र कदापि पर्याप्त हुँदैन । हरेकले आफैँसित सोध्नुपर्छ भगवान्‌को परिभाषा, आफैँभित्र खोज्नुपर्छ भगवान्‌को सत्त्व । त्यो सत्त्वलाई पुज्ने विधि हरेकले आफैँ तय गर्नुपर्छ । पूजाको विधिविधान पूरा गर्ने नाममा आफूभित्र अन्तश्चेतनामा विराजित वास्तविक भगवान्‌बाट कतै टाढा नभइयोस्, यो कुरामा हेक्का राख्न कदापि भुल्नु हुन्न कसैले । मन्दिर र मूर्तिहरू त आस्थाका प्रतिविम्ब मात्र हुन् बस् ! वास्तविक आस्थाको वास व्यक्तिको हृदयभित्र हुन्छ । म ठान्छु, त्यो आस्थाको बोध गर्न सक्नु नै पूजाको खास अर्थ हो । त्यस विधिको पूजाले मन हलुको हुन्छ । हलुको मनमा मात्र पवित्रताको वास हुन्छ । पवित्र मन सधैँ कल्याणदायी हुन्छ, सबैप्रति सधैँ त्यो न्यायी हुन्छ ।

मैले सुरुमै पनि तिमीलाई भनेँ, अन्त्यमा पनि फेरि एकचोटि भन्छु- यो संसारको रमाइलो जगेर्ना गर्ने काम मान्छेको हो । मान्छे नै यो संसारको रमाइलोको सबैभन्दा ठुलो उपभोक्ता हो र यसको जतनको जिम्मेवारीमा पनि सबैभन्दा ठुलो भूमिका उसैले निर्वाह गर्छ, उसैले गर्नुपर्छ । आफ्नो यस जिम्मेवारी निर्वाहमा चुस्तदुरुस्त भइनका लागि हरेक मान्छेले आफूभित्रको वास्तविक भगवान्‌लाई जगाइराख्नुपर्छ ; इमानदार मनलाई सधैँ बचाइराख्नुपर्छ । त्यो बचाउले उसलाई जीवनमा नकामहरू गर्नबाट सधैँ रोक्छ, सधैँ छेक्छ र आफू र आफू बाँचिरहेको यस संसारको रमाइलोमा रमाइलो थप्न उत्प्रेरणा मिलिरहन्छ सधैँ । वास्तवमा संसारको रमाइलोमा रमाइलो थप्न जीवनमा त्यसरी मान्छे अघिसर्नुभनेको उसले आफू र आफूभित्रको भगवान्‌लाई एकैसाथ न्याय गर्न क्षमता देखाउनु हो र त्यही क्षमताको आराधना नै त हो आस्तिक हुनुको वास्तविक अर्थ पनि ! बुझिराख तिमी, मान्छेहरूबाट भगवान् यथार्थमा सधैँभरि केवल न्यायकै मात्र अपेक्षा गर्छ, न कि अन्ध पूजाको । भगवान् सधैँभरि मान्छेको व्यवहारमा पवित्रताको मात्र खोजी गर्छ, न कि अनावश्यक ढोँगको, न कि अतिरञ्जित कथा र उपकथाहरूको जडान र जोडको ।