पुस्तक चाहे साहित्यिक होस् वा गैर साहित्यिक, एक पटक पढिसकेपछि म लेखकलाई भेट्न चाहन्छु । आफ्नो पठन अनुभूतिहरू सुनाउन चाहन्छु । लेखकलाई नजिकबाट बुझ्न चाहन्छु । म जस्तै अरू धेरै पाठकहरू लेखकहरूसँग साक्षात्कार हुन मन पराउँछन्, हिमचिम गर्न रुचि देखाउँछन् ।
मैले भेटेको छु धेरै लेखकहरू । प्रायः लेखकहरू आफूलाई सेलिब्रेटीको रूपमा चिनाउन अग्रसर हुन्छन् । आफ्ना सिर्जनाहरूको रचना गर्भ सुनाउन हतारो मान्छन् । अझ कति लेखकहरू त पाठकसँगको साक्षात्कारमा लठ्ठ पर्दै सारा व्यक्तिगत कुराहरू समेत बताउँछन् एक किसिमको डर पालेरै भए पनि । मैले लेखकको मुहारमा डर मिश्रित हाँसो देखेको छु ।
लेखकसँगको भेटपछि ममा भने कुनै किसिमको डरको अनुभूति बाँकी रहँदैन । म त रोमाञ्चित हुन्छु । मेरो निम्ति त प्रख्यात लेखकसँगको हिमचिम मेरा चिनारूमाझ आफ्नो प्रतिष्ठा बढाउने दरिलो खुराक बन्छ । तर मलाई यस्तो लाग्छ, लेखक र पाठकमा देखिने यस्ता मनस्थितिहरूले सधैं एउटा खतरा निम्त्याउने डर हुन्छ । पाठक र लेखकबीच कायम हुनुपर्ने लक्ष्मण रेखा मेटाउँछ भन्ने डर लाग्छ । वर्षौंको मिहिनेतले बनाएको आफ्नो स्थान लेखकले गुमाउँदै जान्छ भन्ने डर बढिरहन्छ । समग्र साहित्य जगतले आफ्नो साख गुमाउने हो कि भन्ने डर उत्पन्न गराउँछ पलपल ।
पहिले पहिले लेखक र पाठकबीच एक किसिमको दुरी रहेको हुन्थ्यो तर भावनात्मक रूपले भने उनीहरू नजिक हुन्थे । लेखक आफ्ना पुस्तकमा चित्रण गरेका घटना, परिवेश तथा पात्रहरूका साथै आफूमा भएको काव्यिक क्षमतामार्फत पाठकमाझ अमिट छाप छोड्न निरन्तर प्रयास गर्थे । लेखकको धर्मलाई कायम राख्न लागिपर्थे । पाठकबाट पाइने न्यानो माया र निरन्तर साथलाई पूजा गर्थे । पाठकहरू प्रतिकृयास्वरूप आफ्नो पठन अनुभूतिसहित राम्रा-नराम्रा पक्षहरू उजागर गर्दै पत्र लेख्थे र आफ्ना प्रिय लेखकसँग नजिक हुन्थे । धेरै पटक मैले पनि पाठक पत्र लेखेको छु आफ्नो प्रिय लेखकलाई । तर मेरा प्रिय लेखकले भने पत्रको जवाफ कहिल्यै फर्काएनन् । सायद लेखकलाई पाठकको पत्रको जवाफ नलेख्नका लागि पनि छूट थियो । किनकि कसैले गुनासो गर्ने गुञ्जायस नै रहँदैनथ्यो । यसरी बिनासंकोच साहित्यक्षेत्र सही बाटो पहिल्याउँदै अगाडि बढ्दै थियो ।
समय बित्दै जाँदा प्रविधिको विकास भयो । पुस्तकहरू टाढाटाढासम्म सजिलै पुग्न सके । लेखकहरू थपिएसँगै पुस्तकहरूको सङ्ख्या बढेर गयो र पाठकहरू पनि बढ्दै गए । नयाँ नयाँ प्रविधिमा आधारित सञ्चार माध्यमहरू सुरू भए, जसले गर्दा लेखकहरूले थप मञ्चहरू पाउँदै गए । यसले लेखक र पाठक बीचको दुरी घटाउँदै लग्यो । म धेरै पुस्तक लोकार्पण कार्यक्रमहरूमा सहभागी भएको सम्झन्छु । पहिलो पटक आफ्नो प्रिय लेखकहरूलाई नजिकैबाट नियाल्न पाएको क्षण धेरै छन् । त्यस्ता क्षणहरूमा लेखकले थप हौसला र ऊर्जा मिलिरहेको कुरा गर्दा आफ्नो उपस्थितिले महत्त्व पाएकोमा खुशीले दंग पर्थें । त्यो अवसरले लेखक र पाठक दुवैलाई थप लेख्ने र थप पढ्ने ऊर्जा दिइरहेको महसुस हुन्थ्यो । तर लेखक र पाठकबीच भने एक किसिमको खाडल रहिरहेको अनुभूत गर्थें । पाठकहरू खुलेर बोल्न सक्दैनथे अनि लेखक पनि आफ्नो मर्यादामा आँच आउला कि भन्दै अलि बढी सचेत हुन्थे । मलाई भने त्यस्तो अवस्थाले एउटा सुन्दर तथा रोमाञ्चक वातावरण तयार गरिरहेको प्रतीत हुन्थ्यो ।
पछिल्लो डेढ दशक यता भने दिन दुगुना रात चौगुनाको दरले माहोल पूरै परिवर्तन हुँदै गइरहेको छ । स्मार्ट डिभाइसमा इन्टरनेटको सहायताले चल्ने अनेक मञ्चहरू विकास भएसँगै लेखक र पाठकबीच झनै नजिक हुने वातावरण बन्दै गएको छ । एकआपसमा लेखेर कुराकानी गर्न पाइने मात्र होइन, प्रत्यक्ष बोलेर सुनाउन सकिने र प्रत्यक्ष हेर्न समेत पाइने माध्यमहरूको विकास भइसकेको छ । त्यति मात्र होइन, जुनसुकै बेला आफूले चाहेअनुसार जोसुकैसँग पनि सम्पर्क स्थापित गर्न सकिने समय हामीले भोग्न पाइरहेका छौं । प्रत्यक्ष रूपमा सबैसामु सहजै पुग्न सक्ने सुविधा पाएका छौं । यस्तो परिवेशमा लेखक पाठकहरू बरोबर सामेल भएका देखिन्छन् । यसरी नवीनतम् प्रविधिमा आधारित सामाजिक सञ्जालहरू विकास भएसँगै लेखक-पाठक बीचको दुरी बढ्ने डरको आयातन झन् बढ्दै गइरहेको आभाष हुन्छ ।
सामाजिक सञ्जालमा आबद्ध हुनु समयानुकूल हुनु हो तर यी मञ्चहरू जथाभावी प्रयोग भइरहेका छन् । अनेक व्यक्तिहरू आफ्नो अनुकूलका सामाग्रीहरू मात्र प्रस्तुत गरेर यस्ता मञ्चलाई फोहोर मिल्काउने रद्दी टोकरीमा परिणत गर्न उद्धत देखिन्छन् । सामान्यदेखि अति विशिष्ट व्यक्तिहरू समेतको उपस्थिति देख्न पाइन्छ सामाजिक सञ्जालहरूमा । लेखकहरूको हकमा कुरा गर्नुपर्दा उनीहरू पनि आफ्ना आफन्त, साथीभाइ र पाठकहरूबीच झिनामसिना कुराहरूमाथि टिप्पणी गरेर महत्त्वपूर्ण मुद्दाहरूलाई ओझेलमा पारिरहेका भेटिन्छन् ।
साहित्यका महत्त्वपूर्ण रचनाहरूलाई हल्का रूपमा प्रस्तुत गरेर साहित्यकै मानमर्दन गरिरहेझैँ लाग्ने दृष्यहरूले फेसबुकका भित्ताहरूसमेत बेरङ्गी बनाइरहेको प्रतीत हुन्छ । अझ क्रियाप्रतिकृयामा उत्रेर पाठकहरूसँग पौंठेजोरी खेल्ने हदसम्म पुगेका दृष्टान्तहरू व्याप्त छन् । म आफैँ पनि धेरै लेखकहरूसँग कुरा गर्ने क्रममा लज्जित हुन पुगेको छु । कहिले आफ्नो विचारले कहिले लेखकहरूकै हर्कतले । वर्तमान समयमा नेपाली लेखकहरूमाझ देखिएको सजिलै पाठक कमाउने लोभले लेखक र पाठकबीच कायम हुनुपर्ने नङमासुको सम्बन्ध गुमाउने डरसमेत सँगसँगै हिंडाइरहेको भेटिन्छन् ।
लेखकहरूमा सामान्य पाठकहरूले बुझ्ने आर्थिक, सामाजिक र राजनैतिक मात्र होइन व्यक्तिगत अनुभूतिहरूलाई समेत फरक दृष्टिकोणले पर्गेल्न सक्ने खुबी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ लेखकले सार्वजनिक गर्नुपूर्व आफ्ना निजी धारणा मात्र होइन, आफूले लेखिरहेका साहित्यिक विषयवस्तुसमेत वर्गीकरण गर्न सक्नुपर्छ । हरेक सिर्जनाहरू सामाजिक सञ्जालमा खपत गर्ने हिसाबले मात्र प्रस्तुत गर्नु हुन्न । यसो गर्दा सिर्जनाको मूल्य घट्ने डर हुन्छ । लेखकले नयाँ पुस्तकको लागि पनि केही रचनाहरू सुरक्षित राख्नुपर्छ । लेखक आफ्ना सिर्जनाहरू प्रकाशन गर्नुपूर्व के कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुरामा समेत सचेत हुनुपर्छ । मञ्च पाउँदैमा ताण्डव नृत्यमा भुलेर आफ्नो बहुलठ्ठीपन देखाउन अग्रसर हुनु भनेको एउटा लेखकले आफैँले आफ्नो स्थान गुमाएको प्रमाणित गर्नु हो ।
मेरो विचारमा लेखकले बौद्धिक र व्यावसायिक सम्पादकहरूको ढोका ढक्ढक्याउनु पर्छ । अनि मात्र लेखकले सही प्रस्थान विन्दु भेट्नेछ । यो कुरामा कसैको दुईमत नहोला । पुस्तक प्रकाशन पूर्वका अनेक चरणहरू भएजस्तै प्रकाशनपश्चात् पनि संयमित भएर पाठकमाझ पुस्तक पुर्याउने कार्यमा लाग्नु लेखकको धर्म हो । साहित्य लेखन र प्रकाशनमा चलिआएका अन्तर्राष्ट्रिय मान्यताअनुसार सबै पक्षले अघि बढ्नुपर्छ भन्ने आजको आवश्यकता हो । पुस्तकको सर्वाधिकार प्रकाशकमा, सम्पादकमा वा लेखकको पक्षमा हुनसक्छ । तर पुस्तकसँगै पाठकसम्म पुगेर विषयवस्तुको जिम्मेवारी लिने दायित्व सधैं लेखकको हुन्छ । त्यो जिम्मेवारीबाट लेखक कहिल्यै भाग्न पाउँदैन ।
यसो भन्दैमा प्रकाशनपछि पुस्तकका बारेमा समीक्षा र समालोचना अघि ल्याउने कार्य पनि लेखककै जिम्मामा पर्छ भन्ने कदापि होइन । पुस्तक हातमा परेपछि हरेक पाठकले आफ्नो स्तरमा पुस्तकको बारेमा एक तहको समीक्षा समालोचना गरिरहेकै हुन्छन् । तर यदि पुस्तकले बोकेको महत्त्वपूर्ण विश्वदृष्टि यथोचित रूपमा पाठकमाझ पुग्नुपर्छ भन्ने मान्यता राख्ने हो भने सही समीक्षक र समालोचकको हातमा पुस्तक पुर्याएर समीक्षा र समालोचना लेखाउने काम प्रकाशक र सम्पादकले गर्नुपर्छ । तर विडम्बनाको कुरा यति धेरै महत्त्वपूर्ण कामका निम्ति हाम्रा लेखकहरू आफैँ लागिपर्छन् । आफैँ समीक्षक र समालोचक टिप्छन् । आफ्नो उठ्दै गरेको साख आफैँ गिराउनतिर लाग्छन् । यस्तो प्रवृत्ति लेखक र पाठक बीचको दुरी बढाउन भूमिका खेल्ने अर्को भयङ्कर डर हो ।
वास्तवमै हामीलाई डर छ । नेपाली साहित्य क्षेत्रले आफ्नो अस्तित्त्व गुमाउला कि भन्ने डर छ । यही परिप्रेक्ष्यमा समस्त साहित्यानुरागीहरूले त्यो डरलाई निमिट्यान्न पार्ने चुनौती स्वीकार्नु पर्दछ । हिजोआज नयाँ पुस्तामाझ न राम्रा र असल लेखक आउन सकेका छन्, न गम्भीर पाठक नै जन्मिनसकेका छन् । यस्तो परिस्थितिले साहित्य क्षेत्रमा खडेरी निम्त्याउन सक्ने खतरा छ । डर हटाउनको निम्ति सबै पक्षले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आजको आवश्यकता हो ।
पुस्तक पढ्नु एउटा कुरा हो, लेखक बुझ्नु अर्कै कुरा हो । पाठकले कथा, काव्य अनि निबन्ध पढ्छन्, बुझ्छन् ।लेखकले गरेको प्रयोगको आफैँ अर्थ पहिल्याउन स्वतन्त्र छन् पाठक । लेखकले अर्थ्याइरहनु पर्दैन । आफैँले खेताला खोजेर अर्थसिद्धको निम्ति मेलो बनाउने काम रोक्नुपर्छ । आफू को हो र के हो भन्ने जतिसुकै धेरै तथ्यहरू भेला गरेर लेखकले जति वटा पुस्तक लेखे पनि ती सबै पुस्तकमा समेट्न सकिने कुरा पनि होइनन् । त्यसैगरी एउटा पाठकले लेखकका सम्पूर्ण पुस्तक पढे पनि लेखकलाई बुझें भनेर कहिल्यै दाबी गर्नु हुन्न । दम्भ पालेर बस्नु हुन्न ।
यो यथार्थलाई आत्मसाथ गर्दै एउटा लेखकले पाठकसँग एउटा सम्मानित दुरी कायम गर्दै सुमधुर सम्बन्ध स्थापित गरेर लेख्नुपर्छ । तब मात्र साहित्य जगत समृद्ध हुन्छ । लेखकले इमान्दार भएर लेख्ने र पाठकले पनि लेखकको मिहिनेतको उचित कदर गर्दै पुस्तकको पठन गर्ने कार्य एकसाथ अघि बढाएर समग्र साहित्य क्षेत्र महासागरझैं गहिरो अनि आकाशझैं फराकिलो बनाउँदै जानुपर्छ भन्ने मान्यतामा सबै साहित्य जगत प्रतिबद्ध हुनुपर्छ । साहित्य आकाशलाई सफा र चम्किलो बनाउन सबै मिलेर डरको कालो बादल हटाउँदै सप्तरङ्गले साहित्याकाश रङ्गाउन तत्पर हुनुपर्छ । साहित्य साधनाले दीक्षित हामी सबैले आआफ्नो स्थान सुरक्षित बनाइराख्न अब ढिला गर्नुहुन्न । तत्पश्चात साहित्य क्षेत्रले महासागर र आकाशको रूप धारण गर्न धेरै समय लिने छैन ।
नखिपोट, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।