
वर्तमान समयमा साहित्यमा रुचि हुनेहरूका लागि एक परिचित नाम हो महेश पौड्याल । साहित्यप्रेमीहरू अपरिचित छैनन् महेश पौड्यालबाट । सामाजिक सञ्जालले राजधानीभित्र र बाहिर मात्रै होइन देशदेखि परदेशसम्म जहाँ बसे पनि सबैलाई जोडेको छ । अझ भनौँ साहित्यिक रचनाहरूले जोडेको छन् ।
साहित्यका विविध विधामा लेखन र प्रवचनमा नविनता पाइने पौड्यालको नयाँ कथासङ्ग्रह बजारमा आएको छ, “अपरिचित अनुहार “। अपरिचित अनुहारसँग परिचित हुँदै जाँदा कथा र कथाकारसँग मात्रै परिचित भएर कथाहरू सकिँदैनन् । यससँगै नेपाली समाज, देश, भूगोल, सीमा मानवीय भावना लगायत सबैसँग परिचित भइन्छ । जसरी हावाले सबैलाई स्पर्श गर्छ, त्यसरी नै कथाले सबै पक्षलाई स्पर्श गरेको छ । सङ्ग्रहमा रहेका अठार कथाहरू नेपाली समाजको भित्र-भित्र पसेर बाहिर आएका छन् ।
बार्दलीको एउटा अनुहार : चालक पात्र बनेको कथा हो यो । सौन्दर्य आकर्षणको कथा राजमार्गमा झैँ सरर कुदेको छ । उपयोग गर्न सिपालु चालकले सहचालकलाई भन्दैन गोप्य कुरा । ऊ आफैँ थाहा पाओस् भनेर भागेको छ मायाँ र जागिरबाट । सहचालक मायाँमा र मानवीय रूपमा बढी इमानदार देखिन्छ । सहचालकको जस्तो आँट नेपाली युवा-युवतीमा आए अपाङ्ग व्यक्तिहरूले साङ्गसँग सजिलोसैँग जीवन बिताउने थिए । यो कथा राज्यको कुर्सीमा आसीनले पढून् । सहचालक मनेको जस्तै आँट भएकालाई राज्यले केही व्यवस्था गरोस् “सम्मान, रोजगारी र अनुदानको ।” पेसा व्यावसायका आधारमा मानवीय स्वभाव यसै हुन्छ भनेर अनुमान गरी आलोचना गर्नेहरूले पढ्नुपर्ने कथा छ यो । दयामायाँ गाडीका कर्मचारीसँग पनि हुन्छ भनेर यो कथा यात्रुहरूका लागि वा आम पाठक सबैका लागि उत्तिकै उपयोगी छ । कथामा मायाँ र प्रेम उच्चतम रूपमा त्रिशूली बनेर बगेको छ ।
मृगनयनी : सन्तानको मायाँबाट कथा अगाडि बढेको छ । सौन्दर्यमा रुमलिएको आँखा, प्रचलित नेपाली उखान “सन्तान आफ्ना राम्रा बालीनाली अरूको राम्रो ।” भन्नेसँग फेल खाएको छ । आफ्नो सन्तानभन्दा मृगनयनी राम्रो देख्छ कथामा ।
समाजलाई सबल र सहरिया आँखाले हेर्दा मिल्छ पढाइ उमेर र उचाइको तादम्य कथाकारले अन्य परिस्थितिमा पनि एउटै सामाजिक चाहना राखेको पाइन्छ । कथाकारले बालबालिकाबाट आउने निर्दोष कुरा बताएका छन् । अर्को महत्त्वपूर्ण कुरा ६/७ वर्षको उमेरबाटै बाल सङ्गठनको हावाले छोएका बालबालिकाबाट टोल र समाजको राजनीतिक अवस्था पनि आउँछ भन्नेमा कथा अलि पुग्न सकेको छैन कि ।

आविष्कार कला
केलाई सत्य मान्ने कथाले एउटा दर्शन खोलेको छ । रङ्गिन दुनियाँ वा ध्वनि । अरूको अभाव र पीडाको भावनामा खेल्नेहरू होसियार । कथाले भन्छ : “दृष्टिविहीन : मृगनयनी लगायत होइनन् शब्द, अक्षर र वाणीमा खेल्ने यो समाज हो ।”
उपहार : सहरमा आएको मानिसले मन पनि रोपनी बिघा छाडेर आनाको बनाएको छ कथामा । किन सुसेली हाल्ने गाउँघरबाट आएका काठमाडौँ आएपछि चटक्क बिर्सन्छन् बोल्न र आफ्नो हार्दिकता पेस गर्न । कथामा सहरको तस्बिर धपक्क बलेको छ । सहरमा छिमेकीबाट निम्ताको आश गर्ने टोलबासी आफूले निम्तो गर्दा ह्या त्यो पूर्वको, कहाँ त्यो पश्चिमकालाई भन्ने प्रसङ्ग आएको भए अझ गजब हुने थियो ।
धन्यवाद भन्न बिचरा नातिले जान्दैन अभिभावक आवश्यक ठान्दैनन् सहरमा । सहरका सबै टोलमा कथाको जस्तै नाति जन्मियून् सम्बन्ध जोडिदिने ।
आवाजहरू : बच्चा जन्मँदै पहिला आवाज खोज्छन्, अभिभावक, डाक्टर, नर्सहरू जीवित प्रमाणका लागि । आवाजसँग भाग्दै जीवनको कथा लेख्नेहरू सोच कथा कसको लेखिँदैछ । आवाजसँग भाग्दै जनआवाजमा शासन गरेका छौँ भन्नेको थोरै प्रसङ्ग पनि जोड्न पाए अझ गजब हुने थियो कि । स्वघोषित मान्छेका कथा लेख्नेहरू जोगीलाई सोध त्यो कथा मानिसको हो कि बगर वा जङ्गलको । कतै नेपाली राजनीति त त्यस्तै भएको छैन जनताको नाममा ? कथामा प्रशस्त प्रश्नहरू छन् ।
अभिमन्यु: गोर्खाली रगत र पसिना पोख्न परदेशमा जानुपर्ने अवस्था अलि भिन्न रूपमा पेश भएको छ । नेपाल शान्ति क्षेत्र भएको भएर लडाइँका लागि भारतीय सैनिक भएको कुरा आउँछ कथामा । रगतमा, मनमा सैनिक जीवनशैली भएको अभिमन्युलाई फर्कायो अमरगढीले, जुन प्रसङ्ग राम्रो छ । वीरताको गोर्खाली इतिहास कथामा प्रशस्त छ । इतिहास रच्न हरेक पाइला र अवस्थामा सक्छन् नेपाली सन्तान देखाएको भए गजब हुने थियो ।
इतिहासका मिति भारत पाकिस्तान युद्धका मिति बोल्छ कथामा । पछिल्लो माओवादी द्वन्द्वको धनगढी लडाइँको मिति पनि भए अझ गजब हुने थियो कि ।
बगर : आफू टाढा जागिर जीवन हुँदा कति पीडा थियो, त्यो पटक्कै बुझ्दैन शरद् । छोराछोरीलाई कम्ती टाढा भर्ना गरेको छैन ऊ । आफूले पढाउने विद्यालयमा गृहकार्य दिन्छन् दिँदैनन् होला शरद् त्यो प्रसङ्ग आउनु आवश्यक छ । बोडिङ्गको किताबको भारी र गृहकार्य गरे कि गरेनन् शरद्का सन्तानले कथाले बोलेको छैन ।
अनुहार हेरेर भाग्नेहरूले बुझेनन् सन्तानको मायाँ । अपराधको प्रमाण छैन, मायाँको प्रशस्त प्रमाण हुँदा पनि किन कचहरी गर्छ समाज । यो अझ खोतल्नुपर्छ । बगरको पीडाजस्तै पीडाको कथा बगर बनेको छ ।
दुई मृत्यु : धार्मिक आस्थाबाट अघि बढेको छ कथा । बालकको भविष्य बचाउन गरेको साहसमा सफलता प्राप्त गरी सागरमा मिल्न जान्छ जोगी । चेतना कपडामा होइन मगजमा हुनुपर्छ मानवकल्याणका लागि । जीवन बचाउने बर्को र जोगीको कथा हो यो ।
जोगीलाई हेर्ने नैराश्यको जीवन र व्यापारीलाई ठुलो मान्नेहरू ले पढ्नुपर्ने कथा हो यो । जीवन कसले बचायो ?
दुर्ग : कोसी किनारको कथा । संविधान नभएको नदी कोसी हो भनिएको छ । सायद प्राकृतिक संविधान मानवले पढ्न र बुझ्न नसकेको पो हो कि ? प्राकृतिक संविधानको व्याख्या गर्ने सर्वोच्च प्राकृतिक अदालत को हो कथाले दिएको छैन ।
वीरकालीन कथाको व्यावहारिक प्रयोगले बाल मनोविज्ञानमा पारेको असर छ । कथा छोराछोरीलाई कसरी सुनाउने विचार गरौँ अभिभावक । कस्ता कथा बाल मस्तिष्कमा पुऱ्याउने शिक्षा, ज्ञान वा अन्य । वीरकालीन इतिहासको व्याख्या कसरी गर्ने कथाले सोच्न बाध्य बनाएको छ ।
डबल पेन्सन : शिक्षक कथामा आए पनि आम जागिरे र सीमापार पसिना बगाई सहरमा बसेर डबल पेन्सन र आधुनिक हुनेहरूको कथा हो यो । जीवनभरको कमाइले आशैआशमा लासलाई मात्रै वास दिएको छ, वर्तमान नेपाली पुस्ता । यो राज्यका महत्त्वपूर्ण निकायले पढ्नुपर्ने कथा हो । नेपाली समाजको विकाश हुँदै छ वा आधुनिकताका नाममा विनाश यो कथाको प्रश्न सचेत सम्पूर्ण नेपालीलाई आएको छ ।
उपलब्धि : वर्तमानमा सबैभन्दा ठुलो उपलब्धि मानिने विषयको कथा छ । व्यक्तिको स्वभाव अनुसार समाजले उसलाई ऐना देखाएको कथा पनि हो यो । व्यवहारले वातावरणमा पारेको असर कथा बोल्छ । उधारो जीवन चलाइरहेको सुशीलले कसरी जोड्यो चार आना कथा बोल्दैन । सङ्ग्राम न आफू बोल्छ न आम्दानी ।
मन्दिर : आस्थाको कुरा छ । मन्त्रीले आफ्नो आस्था र विगतको उत्तेजना र ऊर्जामय समय मात्रै हेऱ्यो । सहपाठीको भित्री चालचलन पटक्कै बुझ्न सकेनछ । धन्य पार्टी भित्रकाले जडसूत्रवादी भनेका रहेनछन् उसलाई । आमाको आस्थामा वज्रपात गरेको छ मन्त्री परिवार ।
समाजको शल्यक्रिया गरेर अगाडि बढ्ने मन्त्रीलाई चिकित्सकले विचारमा शल्यक्रिया गरेपछि जन्मदिने माताको चीत्कार सुन्ने मन्त्रीले कहिले सुन्छन्, मातृभूमिको चीत्कार । कथा केही घुमाउन आवश्यक छ, देशका बारेमा के छ मन्त्रीको विचार ।
ओरालो : पूर्वी इलामले देशैभर चिया पुऱ्याएझैँ कथा इलाम भएर मेचीमहाकालीको वर्तमान अवस्थामा पुगेको छ । बजारको परिभाषा समयले कसरी परिवर्तन गऱ्यो कथाले बोलेको छ । के हामी बजारको पुरानो परिभाषालाई पुनःस्थापित गर्न सक्छौँ ? कथाले प्रश्न सोधेको छ पाठकलाई, युवालाई, जोस जाँगरलाई ।
कथाले गाउँले जीवन, रहनसहन, संस्कृति मात्रै होइन पहाडका वनपाखा देउराली पुग्ने पदचापको ओरालो देखाएको छ । युवालाई उल्टाएर वायु बनाएर पसिना पोख्न विदेश पठाउने ओरालो अझ डरलाग्दो रूपमा कथामा आउनुपर्छ फेरि । यो पढेर नेपालीको ओरालो यात्रा रोक्न कोसिस गरियोस्; तीन तहको सरकार ।
चौतारीको भेट : चौतारीले संस्कृति मात्रै बचाएको छैन । दशकौँ पुरानो सम्बन्ध पुनर्मिलन गरेको छ । सहर र गाउँको स्वरूप राम्रोसँग देखिएको छ । सहर जाने गाउँ फर्कनेहरूको चक्र कथामा छ । स्वच्छ हावा, पानी र माटाको मायाँका लागि गाउँले न्याय पाओस् । गाउँले आफ्ना सन्तान पाओस् कामना गरौँ ।
राहत: पीडाको कथा छ । भूकम्पले भौतिक संरचना मात्रै होइन मानवीय रूपमा पारेको डरलाग्दो प्रभाव छ । हाम्रो राज्यका सिफारिसबारे एकपटक सोच है कथाले भनेको छ । आधुनिकताको सहरमा मानवीयता धर्मका नाममा मात्र अलिकति रहेछ कथामा वास्तविकता आएको छ । कानुनसँग लड्ने कि बुधनीको रोगसँग जितेन्दर समस्या छ अहिले । जितेन्दरको समस्या कसले बुझिदिने कथामा प्रश्न छ ।
त्यसपछि निदाइन् बहिनी : वीरका सन्तान गोर्खालीको पीडादायी कथा छ । पुस्तौँदेखि भुटानी माटामा रगत पसिना बगाएर भुटानी माटो चुमेका नेपाली भाषीलाई क्रूरतापूर्वक शासकले खेद्दाको कथा छ । कुनै बहिनी ननिदाउन यसरी मन्दिरलाई साक्षी राखी । कथा भुटानीको मात्रै होइन नेपाली सन्तानहरूकोकथा हो । ओमकार दाइ र उनीहरू अनि सुरुङ्गा र भुटानको सम्बन्ध जोडेको भए सम्बन्ध आजको वा हिजोको प्रस्टै हुने थियो ।
अपरिचित अनुहार : सन्तानको पीडा हिडेको शुक्रको कथा एउटा आध्यात्मिक र अलौकिक रूपमा आएको छ । बालुवामा छोराको गन्ध खोजिरहेको छ शुक्र । कोसी नदीमा शुक्रले आँखा खोलेरै देखेको छ अलौकिक दृश्य ।
बर्सौँ ध्यान गर्दा नदेखिने ईश्वरीय स्वरूप शुक्रका अगाडि प्रकट भएको छ, सन्तानको मायाँले रोएको मन मुटुको आवाज पक्कै ईश्वरले सुनेर इश्वरीय साक्षात् रूप प्रकट भएको छ कथामा ।
आध्यात्मिक हिसाबले कथामा जीवन के हो घर कहाँ हो शुक्रलाई बताएको छ छोराले । कथा वेदनाको छ । कुनै मातापिता सह्य हुदैन, त्यो घरमा जान सन्तानभन्दा पछि । शुक्र सन्तानभन्दा पछि परेको छ । त्यो माथि माथिको घर जान । अन्त कतै नहोस् त्यस्तो, कामना गरौँ ।
बुढो रुख र जुरेली : प्राकृतिक अत्याचारमाथिको बडो मार्मिक र कारुणिक कथा छ । चारैतिर प्राकृतिमाथिको मानवीय अत्याचार जुरेलीले भनिरहेकी छे । प्रकृति ढाल्नेहरूले बुझून् हामी पनि ढल्छौँ र हामीलाई पनि ढाल्नेहरू छन् ।
………
कथाहरू कसका लागि भन्ने छैन । सबै कथा आम पाठकहरूका लागि आएका छन् । अपरिचित अनुहार समग्र देशलाई दिएको कथासङ्ग्रह हो । साहित्यमा रुचि हुनेहरू खोजी-खोजी पढ्छन् नै । यो कथासङ्ग्रह शासनमा रुचि हुनेहरूका लागि अझ महत्त्वपूर्ण छ ।
नेपाली समाज आफैँले पढिनसकेका र दस्तावेज मात्रै पढेका लागि यो सामाजिक अध्ययनको दस्तावेज हुन सक्छ । वर्तमान नेपाली समाज पढ्न बुझ्न चाहना राख्ने जोकोहीले यो पुस्तक पढेर कुन-कुन क्षेत्र कसरी पढ्ने योजना बनाउन सक्छ । शिखा बुक्सले प्रकाशनमा ल्याएको यो पुस्तक १५३ पृष्ठ र मूल्य २७५ कायम गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

