पातबाट नै सिकेको हो सायद
मान्छेले रेखाचित्र कोर्न
र बन्दै गएको हो सिद्धहस्त कलाकार
माथिका यी हरफ पढेपछि म सोचमग्न भएँ । आँखाअगाडि हरियो पात नाच्न थाल्यो । ती पातमा सिपालु चित्रकारले कोरेकाजस्ता रेखाहरू सम्झेर मन आनन्दित भयो । साँच्चै सृष्टिकारले कति मेहनतले बनायो होला ? त्यो पातमा रेखा । मान्छेको जीवन पनि त पातजस्तै छ नि । मुना पलाउँछ । बढ्छ, हरियो हुन्छ । पातमा जस्तै रेखाहरू कोरिन्छन् जीवनमा । रेखाहरू कोरिँदै जीवनको पनि सम्पूर्ण चित्र बन्छ । समयक्रमसँगै ती चित्रहरू विलीन भएर जान्छन् । पात पनि सधैँ कहाँ हरियो रहन्छ र ? वसन्तमा पलाएको हरियाली शिशिर याममा उजाड भएर झर्छ एकदिन मान्छेको जीवनजस्तै । यो नै कविताको शक्ति हो भन्ने म ठान्दछु । साँच्चै मान्छेले प्रकृतिबाट सिक्ने कुरा कति छन् कति । प्रकृति आफैँ सिद्धहस्त कलाकार हो । त्यस्तै कवि पनि निपुण कलाकार नै हो ।
कवि सविता गौतम दाहालको कवितासङ्ग्रह ‘तिमीलाई कस्तो छ ?’ को कविता हरियो साम्राज्यबाट झिकिएका हरफ हुन् यी माथिका । साँच्चै हरिया पातहरू नहुँदा हुन् त रुख कसरी यति सुन्दर देखिँदो हो र ? मलाई झन् घोत्लिन बाध्य बनायो । पाठकलाई पनि अवश्य बनाउँछ ।
हुन त योभन्दा अगाडि उनका दुइटा कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् । ‘निलो सिमाना’ र ‘अन्तिम आकाश’ ले उनी साँच्चै कवि हुन् भन्ने प्रमाणित गरिसकेका छन् । उनले कविता लेखेर हिँडेको तीन दशक बितिसकेछ । यी तीन दशकको साक्षी म पनि रहेछु । उनी कसै प्रति दुखेसो पनि कति प्रेमले पोख्छिन् । कतै बनावटी देखिँदैन । स्वतःस्फूर्त उम्रेका जङ्गली रुखजस्ता छन् उनका कविता । गोडमेल नगरीकन सालका बोट भएर उभिएका छन् । साँच्चै प्रकृतिजस्तै हरिया छन् उनका कविता ।
यति विध्न जिम्मेवारी बोध गरेर कविता लेख्ने कवि कम नै हुन्छन् । कविता लेख्नु भनेको जिम्मेवारी बोध गर्नु पनि हो । कविमा इमानदारी पनि हुनुपर्छ । उपदेश मात्र लेख्ने तर आफू व्यवहारमा नउतार्ने कवि कवि नै होइनन् । कविता लेख्ने बहानामा त्यस्ता कविहरूले समाजलाई गुमराह पारिरहेका हुन्छन् । सविताको लेखनमा निश्चल इमानदारी छ ।
यसै सङ्ग्रहको भूमिकामा भारतका कवि मनप्रसाद सुब्बा लेख्छन्, “सक्दो स्वाभाविकतासित प्रवाहित यीकविताहरूमा कविको निःशस्त्र इमानदारीको आभास पनि प्रशस्त थाहागर्न सकिन्छ ।”
केही दिनअगाडि म तमसोमा ज्योर्तिगमयको एपिसोडमा वैज्ञानिक सोनाम वाड्चुङ्कको अन्तर्वार्ता हेर्दै थिएँ । त्यति बेला नै कवि सविता गौतम दाहालको कविता सङ्ग्रह तिमीलाई कस्तो छ ? पढी सिध्याएर हातैमा थियो । सोनामको प्रत्येक शब्दमा इमानदारी झल्किरहेको थियो । अनि हातमा रहेको कविताको किताबमा पनि सविताको निष्कपट इमानदारी झल्किरहेको थियो । जीवनमा ठुला-ठुला कुरा मात्रै छैनन् । हामीले सोच्दै नसोचेको सानाभन्दा अति साना विषयवस्तुको उठान गर्न सकिन्छ । ती साना साना विषयवस्तुले हाम्रो मन विचार अनि जीवनमा नै एक प्रकारको तरङ्ग प्रसारित गरिरहेको हुन्छ । असर पारिरहेको हुन्छ । वास्तवमा जीवन भनेको त ऐस, आराम या भौतिक सुखसुविधाको प्राप्तिमात्रै होइन । उपयोगिता र सन्तुष्टि पनि साथसाथै हुनुपर्ने रहेछ । शिक्षाले डिग्री त हाँसिल गरिन्छ तर व्यावहारिक ज्ञानमा उपयोग नहुने रहेछ । जसरी जीवनमा सुख र दुःख आउँछ जे आए पनि मनले स्वीकार गर्नुपर्ने रहेछ । जीवनमा बाँच्ने कला जानेजस्तै दुःखमा पनि सहज भएर पहाड उभिन सकिने रहेछ । सविताका कविता पढिरहँदा यस्तै ऊर्जा पाए । सँगसँगै अथाह वेदनामा पनि हाँस्नु र बाँच्न सक्नु नै जीवन हो । पटक-पटक लड्नु अनि फेरि उठेर दौड्नु पनि जीवन हो ।
वास्तवमा मृत्य शाश्वत सत्य हो । मान्छे जन्मेपछि एकदिन त मर्छ नै । आफ्नै प्रियले आफूलाई छोडेर जाँदा मनमा उब्जेका मनोदशालाई कविताको माध्यमद्वारा उपचार गरेकी छन् सविताले । तलको ईश्वरको देश शीर्षकको कवितामा शोकलाई शक्तिमा बदल्ने स्वयम् उद्घोष गर्छिन् कवि ।
ओजपूर्ण अनुहार
मृदुल मुस्कान
सताइरहन्छ मलाई
सम्हालिन्छु र सँगाल्छु सम्झनाका
हर एक लहर
बितिगएका प्रहर
सम्झनाका मजबुत पललाई
गरिरहेकी छु शक्तिमा रूपान्तरण ।
मेरा लागि कुनै पनि कविताको किताब पढ्नु र ध्यानमा बस्नु उस्तै-उस्तै हो । आख्यान पढ्दा मनलाई स्थिर र जागृत बनाइरहनुपर्छ । अगाडिका पात्रहरू र घटनाक्रम सम्झिरहनुपर्छ । अनि मात्र आख्यानले लय समात्छ तर कविता पढ्दा नितान्त एउटा कविता पढेर त्यसमा घोत्लिन पाइन्छ । त्यही कवितामा कविसँगै डुबुल्की मार्नुको आनन्द कहाँ पाउनु । यस सङ्ग्रहमा हामी कविसँगै हेलिँदै पौडिन्छौँ । पौडिँदै कति बेला मनको आनन्दभित्र पसेर डुबुल्की मार्छौँ । थाहा नै पाउँदैनौँ । मनमा विभिन्न भाव उत्पन्न भएपछि काव्यरसको असीम आनन्दमा लीन हुन्छौँ ।
यो सङ्ग्रहमा सविताकै जीवनसँग हामी डोरिरहन्छौँ । घरी आँखाबाट आँसु अनायास बर्सिन्छन्, घरी हामी तन्मयका साथ बिरामीको सेवा गरिरहन अस्पताल पुग्छौँ, घरी नचटपटाई निश्चिन्तचिर निद्रामा सुतेको अबोध प्रेमीको ब्युँझने प्रतीक्षामा हुन्छौँ । उनीसँगै हामी पनि बात मार्छौ । उनलाई दुख्दा हामीलाई पनि दुख्छ । दुख्दादुख्दै शून्यमा सकिन्छ एउटा जीवन । हामी पनि एकछिन शून्यमा जान्छौँ । विह्वल मन सम्हालेर फेरि साहस बटुलेर कविसँगै उठ्छौँ ।
कवि केवल कवि मात्र नरहेर ऊ यही समाजको अङ्ग पनि हो । उसले पनि दुःखसुख भोग्नुपर्छ । कवि सविताले पनि नसोचेको पीडा खप्नुपऱ्यो । यस सङ्ग्रहकै भूमिकामा कवि राजेन्द्र भण्डारी लेख्छन्, “आफ्ना प्राणप्रियको असामयिक निधन हुनु कुनै पनि सहधर्मिणीका निम्ति मुटुको फब्ल्याँटो चोइटिनु हो ।” साँच्चै यिनै चोइटिएको मनलाई जोड्दै उनी फेरि जीवन जिउने कला सिक्छिन् । यस सङ्ग्रहका अघिल्ला भागका कविताहरू यिनै आशा, निराशा, मिलन र बिछोडका बिच करुण र विरह भाव उब्जेका छन् । सुरु-सुरुमा उनले अस्पताल बसाइमा आशा नछोडेको भावना व्यक्त गरेकी छिन् ।
अस्पतालबाट
विज्ञान र ज्ञानको महानता
निहारिरहेछु माथिमाथिआकाश
देखिरहेछु एउटा संजीवनीआस
तारासँगै, जूनसँगै
वास्तवमा सतीप्रथा उन्मूलन भएको दशकौँ भइसक्यो तर आज पनि एउटा विधवा स्त्रीले भोग्ने पीडा कहालीलाग्दो छ । सती नगई बाँच्न दिएको बदला यो दुनियाविधवा स्त्रीलाई जीवनभर इच्छाहरू मारेर मूल्यचुकाउन लगाउँछ । सिङ्गो मानवभएर बाँच्न कठोर पीडा खप्नु परेको लेखेकी छिन् कविले ।
न्याय चक्का कवितामा उनले विधवालाई आज पनि समाजले हेर्ने दृष्टिकोण उस्तै सङ्कीर्ण रहेको बताएकी छिन् ।
म फरक भएकी छु
मेरो उमेरका साथीझैँ
छैन अचेल
यस्तै छैन दैनिकी,
चाडबाड मेरा लागि रहेनन्
रङ्ग रूप, बिहा बटुला सिँगारपटार
मेरो प्राथमिकतामा पर्दैनन् ।
कवितासङ्ग्रहका पछिल्ला भागका कवितामा सविताको कवित्व अझ मुखरित भएर आएको छ । आजभोलि प्रविधिको युगमा चिठीको सम्झनामा कविता आफैँमा सम्पूर्ण इतिहास हो । नया पुस्तालाई चिठी के रहेछ भन्ने कौतुहल यसले अवश्य मेट्छ । जीवन सङ्घर्षमय छ र त्यसलाई जसरी पनि झेल्नु नै पर्छ । अनि मात्र गन्तव्यमा पुगिन्छ । यस्तै भाव समेटेको कविता दर्के पानीमा एउटा स्कुटर । जम्मा पैँतालिस ओटा कविता समेटिएका छन् यो सङ्ग्रहमा । सविताका कविताले ईर्ष्या द्वेष, घृणा, ग्लानि र नकारात्मकताभन्दा पर मायाँ, प्रेम, स्नेह, आग्रह, अनुनय, विनय प्रस्तुत गर्छन् । सबैमा समभाव र सद्भाव प्रस्तुत गर्नु यस सङ्ग्रहको विशेषता हो । कतै कवि दर्शन प्रस्तुत गर्छिन् त कतै केटाकेटीजस्तै मासुम हुन्छिन् । कतै समाजलाई सचेत भएर प्रश्न गर्छिन् । समाजका कुरीतिमा असहमति, असन्तुष्टि देखाउँछिन् र मौन कोमलविरोध गर्छिन् तर पनि फेरि त्यसैमा सुख मान्छिन् ।
राजनीतिक किचलोले देशलाई आक्रान्त पारेका बेला सविताको यस सङ्ग्रहले आत्मिक शान्ति प्रदान गर्छ । आकार, रङ्ग संयोजन र कभरले पनि मन आनन्दित तुल्याउँछ । सङ्ग्रह पढिसक्दा आफैँलाई प्रश्न गर्न मन लाग्छ, साँच्चै अचेल “तिमीलाई कस्तो छ ?” हँ । यसले किताबको शीर्षक सार्थक भएको छ । गम्भीर शब्दहरूको बोझभन्दा सहज स्वतःस्फूर्त शब्दहरूले गर्दा पाठकले पढ्न सहज अनुभव गर्छन् । गद्यमा भए पनि लय मिलाउनु उनको आफ्नो वैशिष्ट्य हो । यसले कविता पढ्दै गर्दा लय तरङ्गित भएर सङ्गीत सृजना हुन्छ । त्यही तरङ्गले मनमा मृदु झङ्कार उत्पन्न हुन्छ । आगामी दिनमा अझै राम्रा र उज्याला कविता आओस् । सविता गौतम दाहललाई शुभकामना ।
सम्झिरहेछ यस पल
चिठी तिम्रो अमर जवानी
जीवन बनाइरह्यौ रुमानी
हुर्काइरह्यौ चिनाजानी
बनाउँदै कति-कति कहानी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।