बिहानभरि लगातार सिमसिम पानी परिरह्यो । नदेखे पनि पानी परेको आवाज प्रस्ट सुनिन्थ्यो । कार पार्किङमा गएँ, भित्र अगरबत्ती बालेँ, सिट पुछँ, स्टिकर पुछेँ र त्यो कालीको सानो प्रतिमालाई मुखमा च्यापे । ड्राइभरको सिट छेउमा एउटा पोको राखेँ | सबै ढोकाहरू लगाएर चाबी लगाइदिएँ ।

अनि कारभन्दा दुइ कदम पछि सरेर दुई हात जोडेर शिर निहुँन्याएर नमस्कार गरेँ ।

धर्म के गरिराख्या छ भनेर हेर्न गएँ । उ न्यास्रो लागेजस्तो देखियो । त्यसैले मैले उसलाई कागजको डु बनाइदिएँ र हामी दुवैले अपार्टमेन्ट बाहिर बग्ने नालीमा तैरायौँ ।

दिउँसोको खानापछि मैले धर्मलाई मेरो कोठामा बोलाएँ । उसका दुवै कुम समातेर एकातिर फर्काइदिएँ । एक रूपियाँको सिक्का भुइँमा खसालिदिएर भने,.”ल निहुरेर टिप्‌ त ।”

उसले टिप्यो, म हेरिरहेँ | धर्म पनि अशोकले जस्तै बीचबाट सिँउदो काटेर कपाल कोर्थ्यो । उभिएर उसको टाउको हेर्दा टुप्पीदेखि निधारसम्म सेतो लामो धर्को देखिन्थ्यो ।

“सीधा उभी त ।”

फेरि मैले उसलाई समातेर पूरै एक फन्को घुमाएँ । त्यो सिक्का फेरि भुइँमा खसालेँ ।

“ल फेरि एकपटक टिप् त ।”

पैसा कहाँ खस्यो हेरेँ ।

कुनामा बसेर मलाई हेरेर बस्नू भनेर अह्याउँदै म झुलभित्र छिरेँ, पलेटी कसेँ, आँखा चिम्लें, घुँडामा हात राखेँ र लामो सास तानेँ ।

म बुद्धको आसनमा कति बेर बसेँ भन्ने मलाई थाहा छैन | एक जना नोकरले मलाई चिच्च्याएर अगाडिको ढोकामा जानू रे नभनेसम्म म बुद्धासनमा बसिरहेँ।मैले आँखा खोलें | धर्म कुनामा उभिएर मलाई हेरिरहेको थियो |

“यता आइज ।” मैले उसलाई बोलाएँ र अँगालो मारे र उसलाई चाहिएला भनेर दस रूपियाँ खल्तीमा राखिदिएँ ।

“बलराम ढिलो भइसक्यो ! घन्टी धेरै बेरदेखि एकनास बजिराछ,” माइक्रोफोनको स्वर सुनियो |

म गएर कारमा बसेँ, साँचो खोलेर स्टार्ट गरेँ । अशोक गेटकै छेउमा एउटा हातमा मोबाइल र अर्को हातमा छाता लिएर उभिएका थिए । मोबाइलमा कुरा गर्दै कारमा बसे र ड्याम्म ढोका लगाए । उनी भन्दै थिए कि, “मैले त अझै पत्याएको छैन । यो देशका जनताले यौटा सक्षम, सरकार चलाएको पार्टीलाई प्रतिपक्षमा हराएर त्यसको ठाउँमा बेइमानहरूको झुन्डलाई जिताए । के हामी जित्न लायक _” एकैछिन फोनलाई छेउमा राखेर बसे अनि भने, “बलराम पहिला सहर हिँड त अनि म भनौँला कता जाने ।” फेरि उनी फोनमा बोल्न थाले ।

बाटो पानी र हिलोले गर्दा चिप्लो थियो त्यसैले मैले बिस्तारै चलाएँ । उनी फोनमा भन्दै थिए, “बुबा यो संसदीय प्रजातन्त्र हो । यही यौटा कारणले गर्दा हामीले, चाइनालाई कहिल्यै भेट्टाउन सक्दैनौं ।”

सहरको पहिलो स्टप त्यै पहिला पनि जाने गरेको बैङ्क थियो । उनी त्यो रातो झोला लिएर भित्र गए । उनी सिसाको एटीएम बुथभित्र उभिएर नगद निकाल्नलाई बटन च्याप्दै गरेको मैले देखेँ । जब उनी फर्केर आए मैले प्रस्ट बुझ कि उनको छेउमा राखेको झोलाको वजन/तौल बढेको छ । हामी एकपछि अर्को ब्याङ्क गयौं र झोलाको तौल पनि बढ्दै गयो । मेरो ढाडमा भार बढेजस्तो लाग्यो मानौँ कि अशोकजी र उनको झोला मैले मेरो बुबाले एउटा ग्राहकलाई रिक्सामा बोकेजस्तै बोक्दै छु न कि कारले ।

सात लाख रूपैयाँ । थोरै हो र ?

यति पैसा एउटा घर, एउटा मोटरसाइकल र एउटा पसल थापेर नयाँ जीवन गर्नलाई पर्याप्त हो । मेरो सात लाख रूपियाँ ।

“बलराम, अब सेराटन हिँड ।”

“हस्‌ हजूर ।”

मैले चाबी घुमाएँ, कार स्टार्ट गरेँ र गियर फेरेँ । हामी सेराटनतिर लाग्यौँ ।

“बलराम स्टिङको गीत बजार त | अलि मधुरो ।”

“हस्‌ हजूर ।”

मैले सीडी बजाएँ । स्टिङ्गको स्वर आउन थाल्यो । कारले गति लिन थाल्यो । एकैछिन हामी गान्धी र उनका समर्थकहरू अन्धकारबाट प्रकाशको खोजीमा यात्रामा हिँड्दै गरेको चित्र अङ्कित मूर्ति छेउ हुँदै अघि बढ्यौँ ।

बाटो खाली थियो | हल्का पानी परिराखेको थियो | हामी यस्तै गरी गैरहेको भए तपाईंजस्ता राष्ट्र प्रमुख आउँदा सधैँ बस्ने मेरो देशको राजधानीको प्रसिद्ध होटेलमा पुग्थ्यौं, तर दिल्ली यस्तो सहर हो जहाँ सभ्यता प्रत्येक पाँच मिनेटमा देखापर्छ र हराउँछ । यस बेला हाम्रो दायाँबायाँ झाडी र फोहोर थियो ।

ऐनामा हेर्दा मैले उनलाई खाली मोबाइलमै व्यस्त पाएँ । मोबाइलको निलो प्रकाशले उनको अनुहार निलो देखिन्थ्यो । टाउको नउठाएरै सोधेँ, “बलराम, के भो हँ | कार किन रोकेको हँ ?”

शुभसाइतका लागि मैले देवी कालीको स्टिकर छोएँ र पञ्जा राख्ने डिक्की खोलेँ | बाघको नङ्ग्राजस्तो डरलाग्दो आधा फुटेको बोतल त्यहीँ थियो ।

“चक्कामा केही गडबड छ कि जस्तो छ हजूर । मात्र २ मिनेटको समय दिनोस्‌ मलाई ।”

म कसम खाएर भन्न सक्छु कि छुन नपाउँदै कारको ढोका खुल्यो । म बाहिर सिमसिम पानीमा थिएँ ।

जताततै दलदले हिलो थियो । भल पानी र हिलो नभनी म देब्रेपट्टिको पछाडिको पाङ्ग्राछेउ टुसुक्क लस । देब्रे चक्का कारको बडीले छेकेको हुनाले सडकबाट देखिँदैनथ्यो । एक छेउतिर एउटा ठूलो झाडी थियो र अलि पर ठूलो बाँझो जमिन ।

मेरो मनले भन्यो, “यस्तो खाली सडक त कहिल्यै हुन्थेन । यो सबै आज तेरै सजिलोका लागि हो भैरे ।”

कारभित्र उनको मोबाइलको निलो बत्तिभन्दा अरू केही थिएन । मैले झ्यालको सिसामा औँलाले टकटक गरेर इसारा गरेँ । उनले झ्यालको सिसा तल नझारीकन मतिर फर्केर हेरे |

मैले भनेँ, “हजूर, एउटा समस्या आइपर्यो ।”

त न त सिसा तल झारे, न उनी बाहिर निस्के । मोबाइलसँगै खेलेर बटन थिच्दै हाँसिरहे । पक्कै उनले उमालाई एसएमएस गरेको हुनुपर्छ ।

भिजेको सिसामा टाँसिदै मैले ङिच्च दाँत देखाएँ ।

उनले हातको फोन छेउमा राखे । मैले मुठ्ठीले सिसामा ड्याङड्याङ हानेँ ।

रिसाएजस्तो गर्दै, झ्याउ मानेजस्तै गर्दै झ्यालको सिसा तल झारे । स्टिङको मधुरो आवाज झ्यालबाट बाहिर आयो |

“बलराम के भयो ?”

“तपाईं, एकपटक बाहिर आउनुपर्यो । एउटा समस्या पर्यो ।”

“के समस्या ? के पर्यो त्यस्तो समस्या ?”

उनी टसमस भएनन्‌ । उनको शरीरले मेसो पाइसक्यो तर मूर्ख दिमागले के हुँदै छ भन्ने थाहा पाएन । ,

“चक्का हजूर । तपाईंले मद्दत गर्न पर्यो । चक्का हिलोमा फँसेको छ ।” अगाडिबाट आउँदै गरेको कारको बत्तीको प्रकाश ममाथि पर्यो । अलिअलि मुटु ढुकढुक भयो, तर त्यो कार हिलो पानी मेरो खुट्टामै छ्याप्दै स्वाट्ट गयो |

उनी ढोकामा हात राखेर बाहिर निस्कनै आँटेका थिए तर जोगिनुपर्छ भन्ने सोचाइले हो कि एकछिन अड्किए ।

“बलराम, पानी परिराख्या छ । मद्दतको लागि कसैलाई बोलाउने कि ?” उनी पछि हटे र ढोकाबाट पर सरे ।

“पर्दैन हजूर । मेरो कुरा मान्नोस्‌ न । बाहिर आउनुस्‌ त एकपालि ।”

उनी मबाट सकेसम्म पर पर हुँदै थिए | मैले सोचेँ, “यिनी मेरो हातबाट फुत्किने भए ।” र त्यसैले म आफूले जानेको गर्न बाध्य भएँ, जुन कामका लागि मैले आफूलाई धेरै वर्षपछिसम्म पनि धिक्कार्नेछु । उनको दुई तीन मिनेटमात्र बाँकी बचेको जीवनमा म त्यस्तो घटिया खालको ड्राइभर, जसले मौका परे आफ्नै मालिकलाई ब्ल्याकमेल गर्न पनि पछि नपर्ने रहेछ भनेर उनले सोचून्‌ भन्ने म चाहन्नथेँ । मलाई वास्तवमा यो अपराध गर्ने रहर थिएन, तर मसँग अरू उपाय पनि थिएन ।

“हामी जङ्गपुरा होटेलमा गएको रातदेखि नै यसले दुःख दिइराखेको छ ।” मैले भनेँ |

उनी झसङ्ग हुँदै मोबाइल छोडेर माथि हेरे ।

“त्यै ठूलो साइनबोर्डमा ठूलो ‘टी’ भएको होटेल के । तपाईंलाई याद छ होला, छैन र ? त्यो रातदेखि यो कारमा केही न केही गडबड भै राखेको छ ।”

उनको ओठ खुल्यो र फेरि बन्द भयो । के उनले ड्राइभरले मलाई ब्ल्याकमेल गर्दै छ भनेर सोच्दै छन्‌ त ? कि त्यही सोझै मनले पुरानो कुरा सम्झेका हुन्‌ ! अब धेरै समय उनलाई नदिऊँ क्यारे !