भाग २, शृङ्खला ४१
६
टारकोल कारखानामा काम गर्ने ती मजदुरहरू दिनभरिको काम सकेर साँझपख रमाउँदै छाप्रामा फर्के ।
उनीहरूको आवाज सुनेर आमा ब्युँझिन् । उनी हाई गर्दै, मुस्कुराउँदै छाप्राबाट निस्किन् ।
“तिमीहरू दिनभर काम गरेर फक्र्यौ, म चाहिँ रानीसाहेबजस्तो सुतेको सुत्यै छु !” – उनीहरूतिर स्नेहपूर्वक हेर्दै आमाले भनिन् ।
“तिमीले माफी पाउँछ्यौ !” – रिबिनले भन्यो । ऊ धेरै शान्त देखिन्थ्यो । थकाइले बिहानको उसको सबै जोस खत्तम पारिसकेको थियो ।
“इग्नात !” – उसले भन्यो – “चिया बनाउने होइन त ! खाना बनाउने काम हामीले पालो लगाएका छौं, आज इग्नातको पालो हो !”
“आज म खुसीसाथ अरु कसैलाई आफ्नो पालो सुम्पन्थेँ हुँला !” – इग्नातले आगो सल्काउन सुकेका हाँगा छेस्काहरू बटुल्दै भन्यो ।
“तिमी ठान्छौ, तिमीलाई मात्र अतिथिहरूसँग बसेर गफ गर्ने सोख छ !” – एफिमले भन्यो र सोफियानेर गएर बस्यो ।
“इग्नात म गरुँला तिमीलाई मद्दत !” – याकोभले भन्यो । छाप्राभित्र गएर उसले एउटा पाउरोटी लिएर आयो र पाउरोटी टुक्राटुक्रा पारेर काट्दै टेबुलमा सजाएर राख्यो ।
“सुन्यौ ?” – एफिमले बिस्तारै भन्यो – “खोकेको आवाज … ।”
रिबिनले एकछिन ध्यान दिएर सुन्यो र टाउको हल्लाउँदै भन्यो – “हो उही हो, आइपुगेछ … ।”
सोफियातिर हेर्दै उसले भन्यो – “अहिले भेट हुनेछ हाम्रो जिउँदो साक्षीसँग । मेरो केही लाग्ने भए म यो मान्छेलाई लिएर सहर घुम्थेँ, दोबाटामा उभ्याउँथे र सबैलाई उसको कुरा सुनाउँथे । ऊ सधैं एउटै कुरा गर्छ तर उसको यो कुरा सबैले सुन्न जरुरी छ … ।”
गोधूलीको अन्धकार र निस्तब्धता बढ्दै थियो । अब मान्छेहरूको स्वर पनि बढी मधुर लाग्न थालेका थियो । सोफिया र आमा ती किसानहरूलाई नियालेर हेर्दै थिए । उनीहरू बिस्तारै काम गर्दै थिए, एक अनौाठो सावधानीसाथ हिँडडुल गर्थे र बराबर ती आइमाईतिर हेर्थे ।
एक जना अग्लो, कुप्रिएको मान्छे जङ्गलबाट निस्क्यो । उसले लट्ठी टेकेको थियो । उसले स्वाँस्वाँ गरेको आवाज टाढैबाट सुनिन्थ्यो ।
“लौ म आइपुगेँ !” – उसले भन्यो र जोडले फुक्न थाल्यो ।
उसले भुइँसम्म लत्रिने लामो ओभरकोट लगाएको थियो । उसको कैलो केस थेप्चो परेको टोपीबाट लटकिरहेको थियो । उसको हड्डी मात्र बाँकी रहेको पहेँलो अनुहारमा कैलो रङको दाह्री पलाएको थियो । उसको ओठ सधैं खुला रहन्थ्यो । उसका आँखाहरू भित्रसम्म धसिएका भए पनि तिनमा अनौठो चमक थियो ।
रिबिनले सोफियासँग उसको परिचय गराइसकेपछि नवागन्तुकले सोध्यो – “सुन्छु, तपाईहरूले किताबहरू ल्याउनुभएको छ ?”
“हो ल्याएका छौं ।”
“धन्यवाद छ तपाईंहरूलाई .. । जनताको तर्फबाट धन्यवाद छ ! जनता आफैं अझ सच्चार्य बुझ्न असमर्थ छन्, तर मैले यो सच्चाइ बुझिसकेको छु र म जनताको तर्फबाट तपाईहरूलाई धन्यवाद दिन्छु ।”
“ऊ छिटोछिटो स्वाँस्वाँ गर्दै सास फेथ्र्यो । यस्तो भान हुन्थयो मानौं उसले धेरै दिनदेखि सास फेर्न मौका पाएको छैन । बोलदाबोल्दै ऊ बीचबीचमा थामिन्थ्यो र कोटको टाँक बद गर्नं आफ्ना पातला औंलाहरू छातीतिर लैजान्थ्यो ।
“यति अबेला जङ्गलमा हिँड्नुहुन्न तपाईले । चिसो बतास चल्दैछ, फेरि सास फेर्न पनि गाह्रो छ यहाा !” – सोफियाले भनिन् ।
“अब मलाई फाइदा गर्ने केही कुरा बाँकी रहेन !” – उसले स्वाँस्वाँ गर्दै भन्यो – “मृत्युले मात्र मलाई फाइदा गर्न सक्छ … ।”
उसको स्वर सुन्दा बडो दुःख लाग्थ्यो, हृदयमा एक असीम करुणा र लाचारीको भावना पैदा हुन्थ्यो र असाध्यै दिकदारी लाग्थ्यो । ऊ आफ्ना खुट्टा बङ्ग्याएर बिस्तारै एउटा पीपामा बस्यो । उसलाई आफ्नो खुट्टा भाँचिने बडो डर छ जस्तो लाग्थ्यो । उसले निधारको पसिना पुछ्यो । उसका जिग्रिङ परेका कपाल यसरी लट्केका थिए मानौं ऊ कुनै मुर्दा थियो ।
आमाको ज्वाला दन्किन थाल्यो । अकस्मात् चारैतिर सबै कुरा काँप्न थालेजस्तो लाथ्यो, डढेका छायाँहरू जङ्गलतिर भाग्न थाले र धुनीको उज्यालोमा इग्नातको बााटुलो अनुहार देखा पर्यो । आगो निभ्यो, वातावरणमा धुवाँको गन्ध फैलियो – बिस्तारे त्यस खुलला मैदानमा निस्तब्ध अन्धकार फैलियो । त्यो बिरामी मान्छेको कथा सुन्न पूरा वातावरण नै कान ठाडो पारेर बसेको छ जस्तो लाग्थ्यो ।
“म अझै पनि भयङ्कर अपराधको साक्षीका रुपमा जनताका लागि काम लाग्न सक्छु … मलाई हेर्नोस्… म भर्खर अठ्ठाइस वर्षको भएँ, तर कालको मुखमा पस्न थालेको छु । दश वर्षपहिले म मजाले पाँच छ मनको बोझ उठाउँथे । मजस्तो हट्टाकट्टा मान्छे कम्तीमा पनि सत्तरी वर्ष त मजाले बाँच्न सक्छ भन्ने मेरो पूरा विश्वास थियो । तर दश वर्ष पनि टिक्न सकिनँ, अब धेरै बाँकी छैन । मालिकहरूले मेरो सत्यानास गरे, मलाई बरबाद पारे – मेरो जीवनको चालीस वर्ष लुटे !”
“यही एउटा धुन लागेको छ उसलाई !” – रिबिनले धोत्रे स्वरमा भन्यो ।
फेरि आगाको ज्वाला दन्कियो । आगो अघिभन्दा पनि बढी जोडले दन्किँदै थियो, फेरि एकपलट छायाँहरू दौड्दै जङ्गलतिर लागे र फर्केर चुपचाप आगोवरिपरि कुनै भयङ्कर नाच नाच्न थाले । चिसो दाउराबाट पट्याकपुटुक आवाज निस्कँदै थियो । रुखका पातहरू तातो हावाको झोकाले कानेखुसी गर्दै थिए । राता पहेँला लपेटाहरू आपसमा खेल्दै थिए । कहिले एक–दोस्रासँग टाँसिन्थे त कहिले अकस्मात् चारैतिर फिलिङ्गो फैलाउँथे । एउटा बलेको पात हावामा उड्यो र रातको अन्धकारमा ताराहरूले मुस्कुराउँदै तल जमीनमा ती फिलिङ्गोहरूतिर मानौं तिनलाई माथि आकाशतिर डाक्दै थिए ।
“यो मेरो धुन होइन, हजारौं मानिसहरू यही धुन अलापछन् तर उनीहरूले बुझेका हुँदैनन्, उनीहरूको यस कष्टमय जीवन जनताका लागि कति शिक्षाप्रद हुन सक्छ । कामले सताइएका कति मानिसहरू लुलालँगडा भएर भोकै मर्छन् … ।” उसले फेरि बडो जोडले खोक्न थाल्यो । ऊ काँप्दै झुक्दै खोकिरहेको थियो ।
याकोभले कवास रस ( कवास – पाउरोटीबाट बनेको एक प्रकारको गुलियो पेय पदार्थ) को एक बाल्टिन र एक मुठो हरियो प्याज ल्याएर टेबुलमा राख्यो र भन्यो –
“साभेली, लौ यो कुरा पिऊ … ।”रोगीले टाउको हल्लाउँदै दूध पिउन अस्वीकार गर्यो, तर याकोभले उसको हात समातेर तान्दै ल्यायो र टेबुल अगाडि बसाल्यो ।
सोफियाले रिबिनतिर हेर्दै सानो स्वरले भनिन् – “किन बिचरालाई यहाँ डाक्नुभएको ? ऊ त कुनै पनि बेला मर्न सक्छ … ।”
“मलाई थाहा छ !” – रिबिनले आफ्नो सहमति जनाउँदै भन्यो – “तर जबसम्म ऊ जिउँदो छ, उसलाई बोल्न दिनोस् । सारा जीवन बेकारमा खेर फाल्यो, अब असल कामका लागि अलिकति कष्ट सहोस् ! केही छैन !”
“मलाई लाग्छ, तपाईलाई यी सबै कुरामा बडो मजा आइरहेको छ !” – सोफियाले भनिन् ।
रिबिनले सोफियालाई हेर्यो र गम्भीर स्वरमा भन्यो – “ठूलाबडाहरूलाई मात्र क्रसमा छट्पटाइरहेका ईसामसीहको तारिफ गर्न मजा आउँछ । हामी त मान्छेको वेदनाबाट शिक्षा लिन चाहन्छौं र अरुले पनि केही सिकून् भन्ने चाहन्छौं … ।”
आमाले चिन्तित हुँदै आँखीभौं खुम्च्याइन् र भनिन् – “पुग्यो अब, ज्यादा भैसक्यो … !”
टेबुलअगाडि बसेको रोगीले फेरि भन्न थाल्यो – “म सोध्छु, किन उनीहरू मानिसहरूलाई यसरी जोताउँछन् कि कालको मुखमा पुर्याइदिन्छन् ? किन उनीहरू यसरी मानिसहरूको जिन्दगी लुट्छन् ? म नेफादोभ फैक्ट्रीमा काम गर्थे र त्यही फैक्ट्रीमा मैले आफ्नो जीवन सत्यानास पारेँ, जबकि हाम्रा मालिकले एउटी गायिकालाई हातमुख धुन सुनको टप उपहार दियो, हुँदाहुँदा कोपरासम्म पनि सुनको बनाइदियो । यही कोपरा बनाउन मेरो जिन्दगी बित्यो, मेरो शक्ति नष्ट भयो । केका लागि बरबाद भयो त मेरो जीवन ? किन मलाई जोताउँदाजोताउँदै घाटमा पुर्याए ? किनभने मालिक मेरो रगतको मोलमा आफ्नी रखौटीलाई खुसी पार्न चाहन्थ्यो । मेरो रगत बेचेर आफ्नी रखौटीका लागि सुनको कोपरा किन्न चाहन्थ्यो ।”
“मान्छे ईश्वरको नमुना हुन्छ भन्छन् ।” – एफिम भन्दै थियो – “यहाँ भने मान्छेसँग यस्तो व्यवहार गरिन्छ … ।”
“चुप लागेर बस्नुहुन्न !” – रिबिनले टेबुलमा मुक्का हिर्काउँदै भन्यो ।
“सहेर बस्नुहुन्न !” – याकोभले बिस्तारै भन्यो ।
इग्नात हाँस्यो ।
आमाले देखिन्, तीनै युवकहरू भोको आत्माको कहिल्यै शान्त नहुने उत्सुकतासहित साभेलीको कुरा सुन्दै थिए । रिबिनले बोलदा उनीहरू चिन्तित दृष्टिले उसलार्य हेर्थे । साभेलीको कुरा सुन्दा उनीहरूको अनुहारमा एउटा अनौठो मुस्कान देखा पथ्र्यो, बिरामीप्रति उनीहरूलाई सहानुभूति छैन जस्तो लाग्थ्यो ।
“के उसले भनेको कुरा साँचो हो ?” – आमाले सोफियातिर झुक्दै बिस्तारै सोधिन् ।
“हो साँचो हो !” – सोफियाले ठूलो स्वरमा जवाफ दिइन् – “यी उपहारहरूबारे मस्कोका अखबारहरूमा लेखिएको थियो … ।”
“तर अपराधीले कहिल्यै दण्ड पाउँदैन !” – रिबिनले आफ्नो धोत्रे स्वरमा भन्यो – “उसले सजाय पाउनैपर्छ, सबै जनताको अगाडि ल्याएर टुक्राटुक्रा पारेर काट्नुपर्छ र उसको सडेको लास कुकुरहरूलाई खान दिनुपर्छ । हेर्नुस्, जब जनता ब्युँझनेछ, यस्ताहरूले भयङ्कर सजाय पाउनेछन् । आफ्ना अपमानको बदला लिन जनताले धेरै रगत बगाउनेछ ! यो जनताको रगत हो, उसको नशानशामा निचोरेर जम्मा पारिएको रगत हो, त्यसैले उसलाई यो रगत आफूले चाहेजस्तो बगाउने अधिकार छ ।”
“मलाई त जाडो लाग्न थाल्यो !” – रोगीले भन्यो ।
याकोभले उसलाई सहारा दिएर उठायो र आगानेर बसाल्यो ।
अब आगो दन्किँदै थियो, धुनीवरिपरि अस्पष्ट छायाँहरू नाच्दै थिए र आमाका लपेटाहरूको त्यो उल्लासमय खेल हेर्दै थिए । साभेली एउटा मुढामा बस्यो र आफ्ना कक्रिएका हात अगाडि बढाएर आगो ताप्न थाल्यो । उसका हात असाध्यै पातला र सुकेका थिए । रिबिनले टाउकाको इसाराले उसतिर देखाउँदै सोफियालाई भन्यो – “यस्तो कुरा किताबमा लेखिएभन्दा अलि बढी नै तीखो हुन्छ । जब कुनै मान्छे मेशिनमा काम गर्दै मर्छ अथवा उसका हातखुट्टा काटिन्छन् तब भन्छन् – उसको आफ्नै दोष थियो । तर जब कसैको एकएक थोपा गरेर रगत निचोर्छन् र अनि सडेको मासुजस्तो फालिदिन्छन्, तब यसका लागि कुनै बहाना हुन सक्दैन । जब कुनै कारणले मान्छेको हत्या गरिन्छ, कसैलाई एकैचोटी मारिदिन्छन्, म अझ बुझ्न सक्छु, तर जब खालि रमाइलो गर्नकै लागि कसैलाई सताइसताइ मार्छन्, म यो कुरा बुझ्न सक्दिनँ । किन यसरी जनतालाई यातना दिन्छन् ? किन यसरी हामीलाई सताउँछन् ? खालि मजा गर्नका लागि, दिल बहलाउनका लागि, मात्र यसनिमित्त कि मुठ्ठीभर मान्छेहरूलाई यस संसारमा बाँच्न रमाइलो होस्, मान्छेको रगतले जे मन लाग्यो त्यही किन्न सकून् । अभिनेत्रीहरू, घोडादौडका घोडाहरू, चाँदीका काँटा छुराहरू, सुनका रिकापीहरू, आफ्ना केटाकेटीहरूका लागि महँगामहँगा खेलौनाहरू, सबै किन्न सकून् । मालिक भन्छन् – “काम गर् ! सकेसम्म बढी काम गर ! म तेरो मेहनतले आफ्नो रखौटीका लागि सुनको कोपरा किनूँला !”
यो कुरा सुनेर आमालाई पाभेल र उसका सबै सहयोगीहरूको याद आयो र अँध्यारोमा झमक्क बिजुली चम्केजस्तो उनीहरूको त्यो उजजवल बाटो देखा पर्यो ।
खाना खाइसकेपछि सबै जना अगेनावरिपरि बसेर आराम गर्न थाले । आगो दन्किँदै थियो, निस्पट अन्धकारले पूरा आकाश र जङ्गललाई ढाकिदिएको थियो । रोगी खोक्दै, काँप्दै यसरी आगाको ज्वालामा ट्वाल्ल परेर हेरिरहेको थियो, मानौं उसको शरीरमा बाँकी रहेको जीवनशक्ति पनि उसको रोगी छातीबाट बाहिर निस्कन खोजिरहेको छ । उसको फिका अनुहारमा आगाको प्रकाश पर्दै थियो, तर उसको अनुहार एकदम निर्जीव देखिन्थ्यो, खालि उसका दुई आँखा मात्र निभ्न लागेको बत्तीजस्तो चम्कँदै थिए ।
“साभेली छाप्रोभित्र गएर बस्छौ कि ?” – याकोभले उसतिर झुक्दै भन्यो ।
“होइन म यहीँ बस्छु ।” – उसले बडो कठिनाइपूर्वक जवाफ दियो – “पछि गएर सायद नै यसरी मान्छेहरूसँग एकसाथ बसेर गफ गर्ने मौका पाइएला … ।”
उसले चारैतिर हेर्यो र एकछिनपछि सुख्खा हाँसो हाँस्दै भन्यो – “यहाँ तपाईहरूकहाँ रमाइलो रहेछ । जब म तपाईहरूलाई देख्छु तब मलाई विश्वास लाग्न थाल्छ, तपाईहरूले अवश्य नि ती व्यक्तिहरूका लागि, त्यस जनताका लागि जसलाई लुटे, जसलाई पापीहरूले मिचे, कुल्चे बदला लिनुहुनेछ !”
कसैले पनि बोलेन । ऊ एकै छिनमा आफ्नो थकित टाउको लट्काएर उँघ्न थाल्यो । रिबिनले उसतिर हेर्यो र बिस्तारै भन्यो –
“सधैं यसैगरी हामीकहाँ आउँछ र एउटै कुरा गर्छ – मानिसहरूको उपहासबारे आफ्नो यो कहानी सुनाउँछ । उसका नशानशामा यही कुरा छ, अरु कुनै कुरा उसको दिमागमै आउँदैन । ऊ अन्धोजस्तो यही एउटा कुरा मात्र देख्छ ।”
“बिचराले अरु गर्न नै के सक्छ र ?” – आमाले केही कुरा सोच्दै भनिन् – “यदि हजारौंहजार मानिसहरू रातदिन काम गरेर यसनिमित्त आफ्नो ज्यान फाल्छन् कि उनीहरूका मालिकहरू संसारभरको मोजमज्जामा आफ्नो पैसा लुटाउन सकून्, तब अरु गर्न नै के सकिन्छ र… ?”
“अब त उसको कुरा सुन्न पनि वाक्क लागिसक्यो !” – इग्नातले बिस्तारै भन्यो – “यस्तो कुरा एकपल्ट सुन्दा त कहिल्यै बिर्सन सकिन्न, ऊचाहिँ सधैं यही मात्र कुरा गर्छ ।”
“यदि मान्छेको सारा जीवन यही कुरामा कोच्चिएको छ भने के गर्ने त ?” – रिबिनले गम्भीरतापूर्वक भन्यो – “मैले दशौंपल्ट उसको यो कहानी सुनिसकेँ, तैपनि कहिलेकाहीँ मलाई शङ्का लाग्न थाल्छ, विश्वास गर्न मन लाग्दैन कि मान्छेहरू यति नीच र बदमास हुन सक्दा रहेछन् … त्यस बेला धनी, गरिब सबैको माया लाग्छ … यस्तो लाग्न थाल्छ, धनीहरू पनि भ्रममा परेका मात्र त हौइनन् ! यस्तो भान हुन्छ, मानौं कोही भोकमर्काले अन्धा भएका छन् त कोही लोभलालचाले । अनि सोच्न थाल्छु – ए मान्छेहरू हो, ए भाइहरू हो ! आँखा खोल । इमानदारीपूवृक सोच, आफूबारे मात्र नसोच !”
रोगी चलमलायो, आँखा खोल्यो फेरि त्यही जमीनमा पल्टियो । याकोभ चुपचाप उठेर छाप्राभित्र पस्यो र त्यहाँबाट भेडाको छालाले बनेको ओभरकोट लिएर आयो । उसले त्यो ओभरकोट रोगी दाजुलाई ओढाइदियो र फेरि सोफियानजिक बस्यो ।
आगाको लपेटाहरूले त्यस अँध्यारोमा चारैतिर बसेका आकृतिहरूलाई आलोकित गर्दै थिए र उनीहरूको गम्भीर आवाज, लपेटाहरूको सरसराहट र दाउराहरूको चट्याकचुट्क आवाजहरू त्यस शान्त वातावरणमा विलीन हुँदै थिए ।
सोफियाले उनीहरूलाई बताइन् – कसरी संसारभरीका मान्छेहरू बाँच्ने अधिकारका लागि सङ्घर्ष गर्दैछन्, पुरानो जमानामा जर्मनीका किसानहरूले कसरी विद्रोह गरेका थिए, आयरल्याण्डका जनता कस्तो दयनीय अवस्थामा बाँचेका छन् र स्वतन्त्रता सङ्ग्राममा फ्रान्सेली मजदुरहरूले कस्तो वीरता देखाउँदैछन् … ।
रातको मखमली ओढ्ने ओढेका त्यस जङ्गलनेरको सानो खला मैदानमा पर्खालजस्ता रुखहरू उभिएका थिए र आकाशरुपी कालो छतले माथिबाट छोपिएको थियो । चारैतिर आमाको ज्योति फैलिएको थियो र विस्मित तथा द्वेषपूर्ण छायाँहरूले त्यो धुनी घेरेका थिए । यस्तै घटनाहरूसम्बन्धी वर्णनहरू सुनाइँदै थियो, जसले नीच फटाहा ती धनी मानिसहरूको दुनियाँको जग नै हल्लाइदिन्थ्यो । सच्चाइ र स्वतन्त्रताका लागि सङ्घर्ष गर्ने ती व्यक्तिहरूको एकपछि अर्को नाम लिइँदै थियो र यस्तो लाग्थ्यो कि एकएक गर्दै संसारभरका समस्त जातिहरूका मानिसहरू लडाइँले लरत भएर रगतमा लतपतिएर जाँदैछन् ।
सोफियाको स्वर मन्द र कठोर लाग्थ्यो । यो आवाज अतीतको गहिराइबाट आइरहेको प्रतीत हुन्थ्यो । अन्य देशहरूमा बस्ने आफ्ना दाजुभाइसम्बन्धी यी कथाहरू बडो ध्यानपूर्वक चुपचाप सुनिरहेका ती व्यक्तिहरूको हृदयमा उनको यस आवाजले आशा र विश्वास जगाउँदै थियो । सोफियाको त्यो दुब्लो, पातलो फीका अनुहारमा ध्यानपूर्वक हेर्दै उनीहरूको विश्वभरिका समस्त जातिहरूको पुनित उद्देश्य स्वतन्त्रताका लागि निरन्तर सङ्घर्ष गर्ने ध्येय बढी राम्ररी बुझ्न थाले । उनीहरूले बुझे उनीहरूका सपना र आकाङ्क्षाहरू पनि त्यस्तै छन्, जस्तो प्राचीनकालका अज्ञात जातिहरूको थियो । उनीहरूलाई यस्तो लाग्थ्यो कि त्यस अतीत र वर्तमानबीचको इतिहासमा कालो रक्तरञ्जित पर्दा झुन्डिएको छ । आफ्ना भावना र विचारहरूमा उनीहरू सम्पूर्ण विस्तृत संसारसँग सम्पर्क राख्थे । यस संसारमा उनीहरू त्यस्ता मित्रहरू भेट्टाउँथे, जो पृथ्वीमा न्यायको राज्य स्थापना गर्ने सूत्रमा एकबद्ध थिए र उनीहरू जुन कठिनाइ सहँदै थिए र जीवनलाई अझ सुखी बनाउन जुन रगत बगाउँदै थिए, त्यसले उनीहरूको सङ्कल्पलाई पुनित बनाइदिएको थियो । विश्वका समस्त जनतासँग आत्मिक सम्बन्धको एक नयाँ भावना पैदा भयो, विश्वले मानौं एक नयाँ हृदय भेट्टायो – एक त्यस्तो हृदय, जसमा हरेक कुरा थाहा पाउने, हरेक कुरा बुझ्ने जिज्ञासाको स्पन्दन थियो ।
“त्यो दिन अवश्य आउनेछ, जब सबै राष्ट्रहरूका मजदुरहरूले टाउको उठाउनेछन् र दृढतापूर्वक भन्नेछन् – “अति भो ! हामी यसरी बाँच्न चाहन्नौं ।” – सोफियाले दृढ विश्वाससहित भनिन् – “त्यसबेला ती मानिसहरूको कपटी शक्ति, जुन आफ्नो लोभलालचको बलले मात्र शक्तिशाली छ, चकनाचूर हुनेछ, उनीहरूको खुट्टामुनिको जमीन भासिनेछ र उनीहरूका लागि कुनै सहारा बाँकी रहने छैन … ।”
“साँचो हो !” – रिबिनले टाउको झुकाउँदै भन्यो – “यदि हामी सबै कुरा तिलाञ्जली दिन तयार हुन्छौं भने हामीले गर्न नसक्ने कुनै कुरा रहने छैन … ।”
आमा एकाटकले सोफियातिर हेर्दै बडो ध्यानपूर्वक उनको कुरा सुनिरहेकी थिइन् । आमाको ओठमा सुखद विष्मयपूर्ण मुस्कुराहट खेलिरहेको थियो । आकस्मिकता, उच्छृङ्खलता र उद्धिग्नता, ती सबै कुराहरू, जुन उनलाई सोफियाको चरित्रमा अस्वाभाविक लाग्थे । अहिले यस वृतान्तको र्कौतूहलपूर्ण शान्त प्रवाहमा गायब भए । आमालाई रातको निस्तब्धता, आगाको लपेटाहरूको क्रीडा र सोफियाको अनुहार सबै कुरा धेरै राम्रो लागिरहेको थियो । – तर सबैभन्दा रमाइलो त उनलाई कुन कुरामा लागिरहेको थियो भने किसानहरू बडो ध्यानपूर्वक सोफियाको कुरा सुन्दै थिए । उनीहरू चुपचाप सास रोकेर बसेका थिए । उनी चाहन्थे, त्यस वृत्तान्तको निर्वाध प्रवाह नरोकियोस् । उनीहरूलाई डर थियो – कहीँ त्यो चम्किलो धागो नचुँडियोस्, जसले बाह्य विश्वसँग उनीहरूको सम्बन्ध जोडेको थियो । बीचबीचमा उनीहरूमध्ये कोही उठेर बडो सावधानीपूर्वक आगामा दाउरा थप्थे, धुनीबाट निस्केका चिङगारीहरूका छिटा र धुवाँको बादलबाट आइमाईहरूलाई बचाउन जोडजोडले आफ्नो हात हल्लाउँथे ।
एकपल्ट याकोभ उठ्यो र बिस्तारै भन्यो – “एकछिान पर्खनोस् त … ।”
ऊ दौड्दै छाप्रोभित्र पस्यो र त्यहाँबाट केही ओढ्नेहरू लिएर आयो । इगनात र ऊ मिलेर चुपचाप ती ओढ्नेहरूले अतिथिहरूका काँध र खुट्टाहरू छोपिदिए । सोफिया बोल्दै थिइन् । उनले विजयदिवसको चित्रण गरिन्, उनी ठूलाबडाको मूर्खतापूर्ण आमोदप्रमोदका लागि रातदिन रगतपसिना बगाएर आफ्नो जीवन खेर फाल्ने सबै मानिसहरू भायचारा सम्बन्धमा बाँधिएका छन् भन्ने चेतना ती किसानहरूमा पैदा गर्न चाहन्थिन् । उनीहरूको हृदयमा आत्मविश्वासको भावना जगाउन चाहन्थिन् । सोफियाका ती शब्दहरूले आमालाई उत्तेजित पारेन्, बरु ती शब्दहरूले जुन भातृत्वको भावना पैदा गर्यो, त्यसले गर्दा आमाको हृदय ती मानिसहरूप्रति, जो आफ्नो जीवन बलिदान गरेर रातदिन परिश्रम गर्ने मानिसहरूसम्म विवेक र इमानदारीको प्रेम र सच्चाइको सन्देश पुर्याउँदै छन्, कृतज्ञताको भावनाले ओतप्रोत भयो ।
“ईश्वरले यिनीहरूको रक्षा गरुन् !” – आमाले आँखा बन्द गर्दै मनमनै प्रार्थना गरिन् ।
सोफियाले आफ्नो कुरा सकाउँदा मिर्मिरे उज्यालो हुन थालिसकेको थियो । उनले थकित मुस्कानसहित चारैतिर हेरिन् र आफ्नो वरिपरि विचारमगन, खुसीले चम्कँदा अनुहारहरू देखिन् ।
“अब हामीलाई पनि हिँड्ने बेला भयो !” – आमाले भनिन् ।
“हो, अब हिँड्नुपर्छ ।” –सोफियाले थकित आवाजमा जवाफ दिइन् ।
एक जना युवकले गहिरो सुस्केरा हाल्यो ।
“कस्तो नमजा त, तपाईहरूको हिँड्ने बेला पनि भइसकेछ !” – रिबिनले अत्यन्त कोमल स्वरमा भन्यो – “तपाई कति राम्ररी सबै कुरा बुझाइदिनुहुन्छ । मानिसहरूबचि भातृत्वको भावना पैदा गनुृ धेरै ठूलो कुरा हो । जब मान्छेले यो कुरा बुझ्न थाल्छ कि अरु लाखौं मान्छेहरू पनि त्यसै कुराका लागि सङ्घर्ष गर्दैछन्, तब कसको हृदयमा प्रेमको बाढी उर्लन थाल्छ । स्नेह भन्ने धेरै शक्तिशाली कुरा हुँदो रहेछ !”
“हो, तिमी माया गर्दै जानू, उसले चाहिँ पछाडिबाट हिर्काउनेछ ।” – एफिमले भन्यो र उभिँदै हाँस्न थाल्यो – “मिखाइल काका, कसैले चाल पाइहाल्नुभन्दा अगाडि हाम्रा अतिथिहरूलाई यहाँबाट बिदा गर्न पाए बेस हुन्थ्यो । हामीले किताबहरू बाँड्न सुरु गर्नासाथ पुलिसले सोधपुछ गर्न थालिहाल्नेछ, अनि कसेले भनिदिइहाल्नेछ – ऊ क्या त, दुईटी आईमाईहरू तीर्थयात्रा जान आएका थिए … ।”
“आमा तपाईले जुन दुःख गर्नुभयो, त्यसका लागि धेरै धन्यवाद !” – रिबिनले बीचैमा एफिमको कुरा काट्दै भन्यो – “जब म तपाईलाई देख्छु तब पाभेलको याद आउन थाल्छ । राम्रो बाटो भेट्टायौ तिमीले … !”
उसको व्यवहार अत्यन्त कोमल थियो । ऊ बडो हार्दिकतासहित मुस्कुराउँदै थियो । चिसो बतास चल्दै थियो, तर उसले कोट लगाएको थिएन, त्यसमाथि कमिजको टाँक पनि खुलै छाडेको थियो, छाती खुला थियो । आमाले उसको बडेमाको शरीरतिर हेर्दै स्नेहपूर्वक भनिन् – “कुनै ओढ्ने ओढेर बस, चिसो हुन थालिसकेको छ ।”
“हृदयको गर्मीले तताउँछ !” – उसले जवाफ दियो ।
तीनैजना युवकहरू धुनीअगाडि उभिएर बिस्तारै करा गर्दै थिए । त्यो रोगीचाहिँ भेडाको छालाले बनेको त्यही ओभरकोटमा गुटमुटिएर जमीनमा पल्टेको थियो । आकाशबाट अन्धकार हट्न थाल्यो, छायाँहरू बिलाउन थाले र सूर्योदयको पूर्वाभासले पातहरू हललन थाले ।
“लौ त, अब फेरि कहिले भेट होला खोइ !” – रिबिनले सोफियातिर हात बढाउँदै भन्यो – “सहरमा तपाईलाई कसरी भेट्टाउने हो ?”
“मलाई खोज्नू, भेट्टाइहाल्छौ !” – आमाले भनिन् ।
तीनैजना केटाहरू बिस्तारै एकैसाथ सोफियाको नजिक आए र बडो शिष्टतासहित उनीसँग हात मिलाए । स्पष्ट थियो, उनीहरूमध्ये प्रत्येकले भित्रभित्रै उक अव्यक्त उललासको भावना अनुभव गर्दै थिए । कति सुखद र मित्रतापूर्ण थियो त्यो उल्लास ! यो भावना उनीहरूका अगाडि कति नौलो थियो भने उनीहरू अन्यौलमा परे । रातभरि नसुतेकाले उनीहरू निदाएका आँखाले मुस्कुराउँदै चुपचाप सोफियातिर हेर्दै थिए र यताउता खुट्टा सार्दै थिए ।
“हिँड्नुअगाडि अलिकति दूध पिउनुहुन्छ कि ?” – याकोभले सोधयो ।
“के दूध बाँकी छ र ?” – एफिमले सोध्यो ।
“छैन ।” – इग्नातले भन्यो र लाज मान्दै टाउको कन्याउन थाल्यो – “पोखियो … ।”
तीनै युवकहरू हाँसे ।
किन उनीहरूले दूधको कुरा उठाएछन् भन्ने कुरा आमाले बुझिहालिन् । आमाले बुझिन्, उनीहरू अर्कै कुरा सोच्दै थिए, आमा र सोफियाप्रति सहृदयताको भावनाले उनीहरूको हृदय ओतप्रोत थियो र आफ्नो शुभकामना प्रकट गर्न चाहन्थे । सोफियाले पनि यो कुरा अनुभव गरिन्, उनलाई असजिलो लागिरहेको थियो र मात्र यत्तिकै भनिन् –
“साथीहरू, धन्यवाद छ तपाईहरूलाई !”
युवकहरूले एक–दोस्रातर्फ यसरी हेरे, मानौं सोफियाका शब्दले उनीहरूको हृदयमा अकस्मात् एक नयाँ प्रेरणा जगाइदिएको छ ।
रोगी बडो जोडले खोक्न थाल्यो । धुनीको आगो निभिसकेको थियो ।
“लौ त नमस्कार !” – किसानहरूले बिस्तारै भने र उनीहरूका यी उदास शब्दहरू धरै बेरसम्म ती दुई आइमाईको कानमा गुञ्जिरहे ।
उज्यालो हुन थालिसकेको थियो । दुवै आइमाई बिहानीपखको त्यो मिर्मिरे उज्यालोमा जङ्गलको बाटो बिस्तारै अगाडि बढ्दै थिए ।
“धेरै रमाइलो भएछ !” – आमाले भनिन्, उनी सोफियाको पछाडिपछाडि हिँड्दै थिइन् – “एकदम सपनाजस्तो लागिरहेछ ! मान्छेहरू वास्तविकता बुझ्न चाहन्छन् । साँच्ची त्यही हालत छ, जस्तो बडा दिनको बेला अथवा इष्टरको दिन बिहान प्रार्थना सुरु हुनुअगाडि गिर्जाघरमा हुने गर्छ । अझ पादरी आइपुगेको छैन, चारैतिर अन्धकार र अनौठो निस्तब्धता फैलिएको छ । अनि बिस्तारै मानिसहरू जम्मा हुन थाल्छन् … । सुरुमा एउटा मूर्तिअगाडि मैनबत्ती बालिन्छ र अनि फेरि अर्को मूर्तिअगाडि, बिस्तारै अन्धकार घट्दै जान्छ र ईश्वरको घर प्रकाशले जगमगाउँछ ।”
“साँच्चै हो !” – सोफियाले उल्लासपूर्ण स्वरमा भनिन् – “खालि फरक यति मात्र छ, यहाँ पूरा संसार नै ईश्वरको घर बनेको छ ।”
“पूरा संसार !” – आमाले केही सोच्दै टाउको हल्लाइन् र सोफियाका ती शब्दहरू दोहोर्याइन् – “यो कुरा साँचो भइदिए कति जाती हुन्थ्यो ! … तपाईले सबै करा अति राम्ररी बुझाइदिनुभयो ! असाध्यै राम्ररी ! मचाहिँ पीर मान्दै थिएँ, मन पराउने हुन् कि होइनन् उनीहरूले तपाईलाई … !”
सोफिया एकछिन चुप लागिन् ।
“उनीहरूसँग सङ्गत गर्दा मान्छे कति सादा बन्दो रहेछ !” – सोफियाले अत्यन्त शान्त भावले गम्भीर स्वरमा भनिन् ।
अगाडि बढ्दै उनीहरू रिबिन, त्यो रोगी र ती नवयुवकहरूबारे कुरा गर्दै थिए, जो तयति ध्यानपूर्वक चुपचाप उनीहरूको कुरा सुन्दै थिए, अप्ठ्यारो मान्दै थिए र उनीहरूको आरामसम्बन्धी सानातिना कुराहरूमाथि समेत ध्यान दिएर आफ्नो कृतज्ञता व्यक्त गर्दै थिए । छिटै उनीहरू खेतमा पुगे, मानौं उनीहरूको स्वागत गर्दै टाढा क्षितिजमा सूर्यको किरण देखा पर्दै थियो । सूर्य आफैं अझ देखा परिसकेको थिएन तर उसका गुलाबी निर्मल किरण देखा पर्दै थियो । सूर्य आफैं अझ देखा परिसकेको थिएन तर उसका गुलाबी निर्मल किरण पखेटाजस्तो आकाशमा फैलिएको थियो । घाँसमा शीतका थोपाहरू बसन्ती उल्लाससहित चम्कँदै थिए । चराहरू ब्युँझिसकेका थिए र उनीहरूको मीठो र रमाइलो कलरबले त्यस प्रातकालीन वातावरणलार्य सजीव तुल्याएको थियो । ठूलठूला कौवाहरू आफ्ना गह्रौं पखेटाहरू फट्फटाउँदै, का–का गर्दै नजिकैबाट उडेर गए । कतैबाट अरिओल पंक्षीको सिटीजस्तो आवाज आइरहेको थियो । अब टाढाटाढाका दृश्यहरू पनि स्पष्ट देखिन थालेका थिए, मानौं उदीयमान् सूर्यको अभिवादन गर्न पहाडहरूले राति ओढ्ने कालो पछ्यौराको सर हटाउँदैछन् ।
“कहिलेकाहीँ मान्छे बोल्याबोल्यै हुन्छ तर उसको एउटा कुरा पनि बुझिन्न, अनि अकस्मात् उसको एक शब्दले सबै कुरा स्पष्ट पारिदिन्छ !” – आमाले विचारमग्न हुँदै भनिन् – “त्यो रोगीको कुरा पनि यस्तै थियो । कारखानामा, अरु ठाउँहरूमा कसरी मजदुरहरूलाई जोताउँछन् भन्ने कुरा मैले धेरै सुनिसकेकी छु र आफैंले पनि धेरै कुरा देखिसकेकी छु । तर बिस्तारै यी कुराहरूको बानी पर्दै जाँदो रहेछ र हृदयमा कुनै पनि असर पर्न छाड्दो रहेछ । तर त्यो रोगीले जेजति कुरा गर्यो, त्यो चाहिँ निकै भयङ्कर थियो । अत्यन्त घृणित कुरा थियो ! हे भगवान्, कस्तो अन्याय छ ! मालिकहरूको क्षुद्र आमोदप्रमोदका लागि मानिसहरूले आफ्नो सम्पूर्ण जीवन बरबाद गर्नुपर्दो रहेछ !”
आमाको विचार त्यस रोगीको जीवनमाथि केन्द्रित भयो र उनको स्मृतिमा अरु कैयौं त्यस्ता दृश्यहरू घुम्न थाले, जसबारे उनले सुनेकी र बिर्सिसकेकी थिइन् ।
“लाग्छ, उनीहरूले आफ्नो पेटभित्र यति कुरा खाँदिसकेका छन् कि उनीहरूलाई सबै कुरा वाक्क लागिसकेछ ! मलाई एक जना त्यस्तो हाकिमबारे थाहा छ, जसले उसको घोडा गाउँको बाटामा हिँड्दा सबै किसानहरूले त्यस घोडालाई झुकेर सलाम गरुन् र त्यसो नगर्ने व्यक्ति तुरुन्त गिरफ्तार हुनेछ भन्ने आदेश जारी गरेको थियो । किन उसले यस्तो आदेश दिएछ ? कसरी बुझ्ने हो, उसको उद्देश्य के थियो, मतलब यसको ?”
सोफिया बिस्तारै एउटा गीत गुनगुनाउन थालिन् । त्यस गीतमा प्रातःकालीन ताजापना र उल्लास थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।