आउनुहोस्, चिनापर्ची गरौँ गजलसँग ।
अलि लजालु स्वभावको छ गजल । धेरै बोल्न रुचाउँदैन आफ्ना बारेमा । संगत र सहवास बढ्दै गएपछि बिस्तारै–बिस्तारै उसको व्यक्तित्व र स्वभाव खुल्दै जान्छ । चिन्दै जान्छौँ हामी उसलाई अनि उसको छरितो चाल, गहिरो भाव, लचिलो संरचना, मनमोहक माधुर्य, मादक प्रभाव र लयदार लालित्यको सम्मोहनमा डुब्दै डुब्दै जान्छौँ । संवेदनशील मन र संस्कारशील मनीषा अनि हृदयको अनन्त आकाशमा सलबलाउन मन पराउँदो रहेछ गजल । कतै लुकेको, कतै खुलेको हुँदोरहेछ लजालु गजलको रहस्यमय रूप । आउनुहोस्, एकपल्ट दर्शन गरौँ र चिनापर्ची अगि बढाऔँः
वेदना छातिमै थुनेजस्तो
मनमनै क्यै कुरा गुनेजस्तो,
….
कत्ती चूपचाप हेर्दछौ मानौं
मौनभित्रै कुरा हुनेजस्तो,
….
क्या सफा छन् निरीह ती आँखा
आँशुले नै सधैं धुनेजस्तो,
..
यार, मुण्टो झुकाई के सोच्छौ?
प्रश्न गर्दा पनि रुनेजस्तो,
..
रूप उस्को बयान के गर्ने !
सम्झँदैमा पनि छुनेजस्तो ।
..
अलिकति कोमलता, अलिकति चसक, अलिकति मौनता, अलिकति मुखरता, केही कारुणिकता र केही मादकता – यस्तै यस्तै अनुभूति पाउँछौँ गजलमा हामी ।
यसो नियाल्दा, यहाँ दुई दुई हरफका जोडा बनेका देखिन्छन् । के भनिन्छ त यिनलाई ?
शेर
हो, यी दुई दुई हरफका जोडालाई नै शेर भनिन्छ गजलको भाषामा, यो कुनै न कुनै छन्द वा लयमा रचिएको हुन्छ । हुन त शेर ले जंगलको राजा सिंह र नापतौलको परिमाणलाई पनि सम्झाउँछ, तर गजलको बयानमा भने शेर दुई हरफको एक अनुच्छेद हो, एक पद्य हो । दुई पंक्तिमा पूरा हुने अनुष्टुप् छन्दको पद्य वा श्लोकजस्तै हुन्छः शेर ।
कमालः बह्रे हजज को
प्रायः पुराना गजलहरुमा संस्कृत र नेपाली काव्यमा प्रचुर मात्रामा प्रयुक्त अनुष्टुप् छन्दकै रूपरंग भएको सोह्र अक्षरे हरफ भएका शेरहरु पाइन्छन्, शायद संस्कृत छन्दकै प्रभाव परेको होला । अरबी/फारसी/उर्दू भाषामा यसलाई बह्र–ए–हजज अर्थात् हजज छन्द भनिन्छ । यो छन्द गजलमा कतिसम्म मशहूर रह्यो भने पहिले पहिले यस छन्दमा रचिएको काव्य पढ्नासाथ मानिसहरू त्यसलाई गजल भनिदिन्थे । आजसम्म पनि यो छन्द उत्तिकै लोकप्रिय छ । यसै छन्दमा उहिल्यै महाकवि गालिबले यी प्रसिद्ध शेरहरू रचेः
हजारोँ ख्वाहिशेँ ऐसी कि हर ख्वाहिश पे दम निकले
बहुत निकले मेरे अरमान, लेकिन फिर भी कम निकले,
निकलना खुल्द से आदम का सुनते आये हैं लेकिन
बहुत बेआबरु होकर, तेरे कूचे से हम निकले ।
हाम्रा प्यारा युवाकवि मोतीरामले पनि यसै छन्दलाई अंगीकार गरेर पहिलो शेर रचेः
यता हेरूँ, यतै मेरा नजरमा राम प्यारा छन्
उता हेरूँ, उतै मेरा नजरमा राम प्यारा छन् ।
अनि, कविशिरोमणि लेखनाथ पौड्यालले यसै भाकामा दशैँ शीर्षकको कविता लेखे । त्यो निकै लोकप्रिय भयो, हुन त त्यो गजलरचना थिएन तर पनि त्यसलाई गजल उपशीर्षक दिइयो, दशैँ यसरी शुरु हुन्छः
हट्यो सारा हिलोमैलो, हरायो पानिको वर्षा
भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।
हुँदाहुँदा नेपाली बृहत् शब्दकोश ले पनि यसै मनोविज्ञानले प्रभावित भएर होला गजललाई एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता भनेर समेत परिभाषित ग-यो ।
तर, यस्तो छन्दमा लेखिएको कवितामात्र गजल होइन, यस्ता धेरै धेरै छन्दहरुमा गजलका शेर रचिन्छन् । अनि गजल सामान्य छन्दकविता होइन, यो विशिष्ट काव्यविधा हो । गजलमा यस्ता अनेकौँ छन्दहरु प्रयुक्त हुन्छन्, लामा–छोटा दुवैखालेः
कहीँ अश्रुधार बनी झ-यौ, कहीँ तीव्र ताप बनी जल्यौ
तिमीलाई पाउन धाउँदा, कहिले जलेँ कहिले रुझेँ ।
यो भयो लामो, बीस अक्षरे बहर–ए–कामिल अर्थात् कामिल छन्दमा आबद्ध शेर ।
रहे साथ तिम्रो यही रात प्यारो
तिमीसंग एकान्तको बात प्यारो ।
योचाहिँ संस्कृत–नेपालीमा लोकप्रिय भुजंगप्रयात छन्दकै दुई हरफ, बाह्र अक्षरे बहर–ए–मिनकारिब अर्थात् मिनकारिब छन्दको एउटा शेर ।
नेपाली लोकलयमा पनि गजलका शेरहरु प्रशस्तै रचिएका छन्ः
वसन्तमै हुरी चल्यो पात झरेछ
प्राणपन्छी शिकारीको हात परेछ ।
…
मिर्मिरेमा मैले देखेँ प्रकृतिको गीत
फक्रिएको फूलभरि तप्किएको शीत ।
…
एक्लो भएँ, तिमीछेऊ आऊँ आऊँ जस्तो लाग्यो
पिरतीको यौटा गीत गाऊँ गाऊँ जस्तो लाग्यो ।
….
अर्को फूल फक्रिदिन्छ यौटा फूल झरे पनि
जिन्दगानी गुनगुनाउँछ जस्तोसुकै परे पनि,
यौटा दीयो बालीराख आफ्नै मनको आँगनीमा
रातपछि दिन आउँछ, ढीलो चाँडो गरे पनि ।
गुनगुनाइहेर्दा यी कुनै गीतका पंक्तिजस्तै लाग्दछन्, तर यी गजलसंरचनामा रचिएका शेर नै हुन् । यस्तै कुनै न कुनै छन्द वा लयमा रचिएका दुई दुई हरफका जोडालाई नै गजलको लबजमा शेर भनिन्छ ।
कतिवटा शेर ?
प्रश्न आउँछः एउटा गजलमा कतिवटा शेर हुन्छन् त ?
सामान्यतया ५ देखि ११ वटा सम्म शेर रचिन्छन् एउटा गजलमा । आजभोलि ५ देखि ७ शेरसम्म भएका, चिटिक्क परेका गजलहरु रच्न मन पराउँछन् शायर गजलस्रष्टाहरु । शेरसंख्याचाहिँ प्रायः बिजोडी राख्ने परम्परा पाइन्छ गजलरचनामा । गजलको इतिहास पल्टाएर, अलि गहिरिएरै हेर्ने हो भने त्यहाँ कमसेकम ३ शेरदेखि लिएर बढीमा १९ शेरसम्मका गजलको चर्चा पाउँछौँ हामी । पहिले पहिले धेरै शेर भएका गजलको प्रचलन रहेछ क्यारे, तर आजभोलि छोटा छरिता गजल रच्ने गरिन्छ र मन पराइन्छ पनि ।
हुन त हाम्रै नेपाली भाषामा पनि १९,२० मात्र नभएर १०० शेरसम्मका रचना पनि आइसकेका छन् । यदाकदा गजलमै सिंगो काव्यरचना पनि प्रकाशित भइसकेका छन् । तर, वास्तवमा लामा लामा गजल रच्न लाग्दा रदीफ, काफिया वा अनुप्रास जोड्न गाहारो पर्दछ अनि गजलमा पाइने तिक्खर स्वाद पनि उडेर जान्छ र मत्थर हुन जान्छ अनि गजल, गजलजस्तो नभएर वर्णनात्मक कविताजस्तो बन्न पुग्दछ । गजल वर्णनात्मक कविता पनि होइन । यो त सूत्रात्मक शैलीमा रचिएका, आफैँभित्र सिंगो संसार समेट्ने, चिटिक्क परेका शेरहरुको सुन्दर संयोजन हो । अनि फेरि यो गाउनका लागि रचिएको सिर्जना पनि हो । गाउनलाई त २/४ वटा अन्तरा भएको रचना नै राम्रो र उपयुक्त मानिन्छ । त्यसैले पनि पाँचदेखि सात शेरसम्ममा मर्यादित गजल नै आजभोलि प्यारो बन्दै गएको होला ।
शायर, शायरी र अश्आर
…………………………
यहाँनेर शेरसँगै नाता गाँस्ने दुई चार शब्दबारे केही बोल्न मन लाग्दछ । ती शब्द हुन्ः शायर, शायरी, अश्आर र शायराना ।
जसले शेर रच्दछ उसलाई भनिन्छः शायर । भनौँ न हाम्रो भाषामाः कवि, गजलकार । अरबी, फारसी र उर्दूमा गजलबाहेक अरु अरु काव्यविधाका पद्यलाई पनि शेर भनिन्छ, अनि तिनका स्रष्टालाई शायर । तर, हामीचाहिँ गजलका सन्दर्भमा मात्र शेर लबज प्रयोग गर्दछौँ र गजलका स्रष्टालाई पनि शायरभन्दा गजलकार वा गजलस्रष्टा नै सम्बोधन गर्न रुचाउँछौँ ।
अर्को शब्द होः शायरी । शेरको रचनाकर्मलाई भनिन्छ शायरी । शायरी अर्थात् कविकर्म, कवित्व वा कविकृत्य । शायरी गर्नु माने कविता रच्नु ।
त्यस्तै अर्को शब्द अश्आर चाहिँ शेरकै बहुवचन हो । अश्आर भन्नासाथ प्रसिद्ध भारतीय गायक अनूप जलोटाले गाएको एउटा मीठो गजलको मतला अर्थात् पहिलो शेर गुँज्न थाल्दछ मेरो मनमाः
अश्आर मेरे यूँ तो जमाने के लिए है
कुछ शेर फकत् उनको सुनाने के लिए है ।
हुन त मेरा अश्आर/शेरहरू सबैका लागि हुन्, तर यीमध्ये केही शेरचाहिँ फगत् उनैलाई सुनाउनका लागि हुन् ।
अब, शायराना को कुरा । शायरको स्वभाव हुन्छः शायराना । यो विशेषणपद हो, कवितात्मक वा काव्यात्मक भन्ने भाव बुझाउँछ शायरानाले । विशेषतः शायराना अन्दाज वा काव्यात्मक शैलीको चर्चा गजल जगत्मा ज्यादै मशहूर रहेको पाइन्छ ।
विश्वविख्यात गजलगायक जगजीत सिंह ले गाएका यी शेरहरु अहिले म सम्झिरहेछुः
अपने होंठों पर सजाना चाहता हूँ
आ, तुझे मैँ गुनगुनाना चाहता हूँ,
आखरी हिच्की तेरे जानू पे आए
मौत भी मैं शायराना चाहता हूँ ।
आफ्ना ओठहरुमा सजाउन चाहन्छु, आऊ तिमीलाई म गुनगुनाउन चाहन्छु ।
जीवनको आखिरी हिक्का तिम्रै काखमा आओस्, तिम्रै क्रोडमा मेरो प्राण घिटिक्क जाओस्, म त मेरो मृत्यु पनि शायराना/काव्यात्मक चाहन्छु ।
…
प्रत्येक शेरमा आउने पहिलो हरफलाई मिसरा–ए–उला भनिन्छ, अनि दोस्रो हरफलाई मिसरा –ए–सानी । त्यो कस्तो हुन्छ ?
आउनुहोस् यस विषयमा चर्चा गरौँ अर्को आइतबार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।