“सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज र युटुब च्यानलमार्फत सञ्चालन हुँदै आएको कार्यक्रममा कार्यक्रमको सुरुवातदेखि नै जोड्ने प्रयास गरे पनि विभिन्न कारणले गर्दा हामीले जोड्न सफल नभएका थुप्रै सर्जकहरू हुनुहुन्छ । त्यसमध्ये एक कवि तथा गजलकार असीम सागर पनि पर्नुहुन्छ । उहाँका कविताहरू सामाजिक सञ्जालमार्फत पढ्दै, सुन्दै आएको भए पनि कार्यक्रम सञ्चालनको सुरुवाती समयमा उहाँसँग सामाजिक सञ्जालमा जोडिएर चिनजान भने हुन सकिरहेको थिएन । मसँग चिनजान नभए पनि प्रतिष्ठानका अन्य साथीहरूसँग उहाँको राम्रो चिनापर्ची भएकाले बेला-बेला उहाँहरूमार्फत कवि असीम सागरलाई कार्यक्रममा जोड्ने प्रयास मैले गरिरहेँ तर सफल हुन सकिनँ । लामो समयको प्रयासपछि अन्ततः ७८ औँ शृङ्खलामा उहाँ हामीसँग जोडिनुभयो तर संयोग भनौँ या मेरो दुर्भाग्य उहाँसँग बसेर कार्यक्रम सञ्चालन गर्ने अवसर भने मैले पाइनँ मेरो आफ्नै प्राविधिक समस्याका कारण ।

डि जि शर्मा (युएई),

कार्यक्रममा जोडिनुभएका स्रष्टा, सर्जकहरूलाई थोरै भए पनि नजिकबाट बुझ्ने कोसिस गरिरहेको छु । यसलाई मैले एउटा अवसरका रूपमा लिँदै आएको छु । अहिलेसम्म जति जना स्रष्टा कार्यक्रममा अतिथि बनेर जोडिनुभयो उहाँहरू सबैको आआफ्नै कहानी भेटिए । आआफ्नै कथा व्यथाहरू भेटिए । “सफल हुनका लागि सङ्घर्ष गर्नु” र “बाँच्नका लागि सङ्घर्ष गर्नु” यी दुई फरक कुरा हुन् । सफलताका लागि सङ्घर्ष गरेर सफल भएका सर्जकहरू थुप्रै हुनुहुन्छ तर असीम सागर ती सर्जक हुन जो बाँच्नका लागि सङ्घर्ष गरिरहनुभयो हिजो पनि र आज पनि । बाँच्नका लागि सङ्घर्ष गर्दागर्दै उहाँ सफल कवि र सफल गजलकार बन्नुभयो । त्यसैले सङ्घर्षको अर्को नाम असीम सागर हो भन्दा फरक नपर्ला । उहाँको जीवन नै उहाँका कविता हुन्, गजल हुन् । आफूले बाँचेको सिङ्गो जीवन नै साहित्य सृजना बन्यो उहाँका लागि । जे लेखिए आफ्नै जीवन भोगाइ र दुखाइ लेखिए । त्यसैले होला उहाँका कविताहरू अधिक रुचाइए पनि । आम मानिसको जीवनलाई मेल खाने गरी लेख्नु उहाँको लेखनको विशेषता हो । कोरा कल्पनाभन्दा आम मान्छेको भोगाइसँग मिल्ने गरी लेखिएका सृजनाहरू नै प्रायः रुचाउँछन् पाठकले पनि ।

अर्घाखाँचीमा जन्मिएका “फत्तेमान श्रेष्ठ” ले कवि “असीम सागर” बन्न कति सङ्घर्ष र हन्डरहरू खाए होलान् त्यसको हिसाब उहाँलाई मात्रै थाहा छ । घरको जेठो सन्तान भएर जन्मिनुभएका कवि असीम सागरलाई त्यसको दायित्व पूरा गर्न निकै गाह्रो पऱ्यो पक्कै पनि । हामीले त केवल उहाँले भनेको आधारमा यसो अनुमान गरेर लेख्ने न हो । उहाँको सङ्घर्षको कथा लेख्न अहिले जति सजिलो छ उहाँलाई त्यो जीवन बाँच्न पक्कै पनि सजिलो भएन होला तर हिजोका दिनमा जेजस्ता कठिनाइ आइपरे जीवनमा, त्यसैले आजको सफल कवि असीम सागर जन्माएको हो भन्ने कुरामा दुई मत नरहला । यो कुरामा स्वयं उहाँ पनि सहमति जनाउनुहुन्छ । काम गर्ने सिलसिलामा उहाँ भारतको दिल्लीसम्म पुग्नुभयो । त्यहाँ काम गर्ने क्रममा अनेक किसिममा अपमानहरू पनि सहनुपऱ्यो । त्यसले उहाँलाई त्यति बेला त पक्कै पनि दुःखी बनायो नै होला तर तिनै अपमानहरूले उहाँमा आफ्नो देश प्रेम पनि जगाइदियो मनमा र देशमै केही गर्नुपर्छ भनेर नेपाल फर्काइदियो पनि । जिन्दगीमा अरू केही गर्न नसके पनि साहित्य सृजना गरेर एउटा सफल लेखक बनेर देखाउँछु भन्ने अठोट त्यति बेलै पलाएको हो जति बेला पटक-पटक उहाँ अपमानित हुनुपऱ्यो ।

बुबा भारतीय सेनामा भएका कारण  उहाँको पनि त्यतातिरको लगाब पक्कै थियो होला तर सानैदेखिको आफ्नो एउटा आँखाको समस्याले गर्दा उहाँले भारतीय सेनामा भर्ती हुने रहर कहिल्यै पाल्नु भएन । त्यसकारण पनि जीवन चलाउनका लागि अन्य विकल्प खोज्नु उहाँको बाध्यता नै थियो । “यो गर्ने” भनेर कामको टुङ्गो भए पो मान्छे त्यतैतिर लाग्छ र सफल पनि बन्छ तर उहाँसँग “म यो गर्छु” भन्ने त्यस्तो कुनै विकल्प नै थिएन र त उहाँ भौँतारिनुभयो । एक किसिमले भड्किनुभयो । भौँतारिने क्रममा कहिले भारतको दिल्ली पुग्नुभयो त कहिले दार्जीलिङ पुग्नुभयो । कहिले कालेबुङ पुग्नुभयो । कहिले फेरि फर्किएर काठमाडौँ नै आउनुभयो त कहिले गृह जिल्ला अर्घाखाँची पुग्नुभयो । काठमाडौँमा पनि तीनपटकको प्रयासपछि मात्रै उहाँ त्यहाँ बस्न र टिक्न सफल हुनुभयो । एक समय त उहाँ परिवारको सम्पर्कबाट पूर्ण रूपमा हराउनु पनि भयो । करिब ४ वर्षसम्म यो क्रम चल्यो । उहाँ कहाँ हुनुहुन्थ्यो, के गरिरहनुभएको थियो उहाँको परिवारलाई कुनै अत्तोपत्तो थिएन । यस्तो अवस्थामा परिवारमा के आपत आइलाग्यो होला ?  आफ्नो व्यपारका लागि कालीमाटीबाट तरकारी ल्याउँछु भनेर घरबाट हिँडेको मान्छे अचानक बेपत्ता हुँदा परिवारले के सोच्यो होला ? उहाँकी श्रीमती कमला श्रेष्ठले कसरी सन्तानको पालनपोषण गर्नुभयो होला ? हामी अहिले अनुमान मात्रै गर्न सक्छौँ । कतिपयले त उहाँलाई श्रीमान् हराएकी महिला भनेर पनि गिज्याउन पछि परेनन् । त्यति हुँदा पनि पत्नी कमलाले कहिल्यै हार मान्नु भएन र श्रीमानको प्रतीक्षा गरिरहनुभयो । ४ वर्षपछि कवि असीम सागर परिवारको सम्पर्कमा आउनुभयो । त्यति बेला उहाँ कालेबुङमा हुनुहुन्थ्यो । यसकारण पनि कवि असीम सागर श्रीमतीप्रति बडो कृतज्ञ बन्नुहुन्छ ।  हुन त सिद्धार्थ गौतमलाई पनि बुद्ध बन्न दरबार छोड्नुपरेको थियो । श्रीमती र छोरो छोड्नुपरेको थियो । सायद त्यो “फत्तेमान” ले पनि त्यसरी घरपरिवार नत्यागेको भए आजको सफल कवि “असीम सागर” बन्दैन थियो कि ?

काम गर्ने क्रममा कहिले दिल्लीका होटलहरूमा भाँडा माझ्नुभयो त कहिले घरमा चौकीदारीको काम गर्नुभयो । कहिले सडक र पुलमुनि बसेर रात बिताउनुभयो त कहिले पार्कतिर तर जहाँ बसेर जे-जे काम गरे पनि साहित्यप्रतिको रुचि भने कहिल्यै मरेन उहाँको । जहाँ पुग्नुभयो सृजना साथमै लिएर जानुभयो र आफ्ना वरिपरि भएकालाई सुनाएर आफ्ना दुःखमा थोरै भए पनि मलम लाउने कोसिस गरिरहनुभयो । उहाँलाई सुन्नेहरूले उहाँका सृजनाहरू बुझे या बुझेनन् थाहा हुन सकेन तर चाख मानेर सुनिदिए र वा ! वा ! भन्दै ताली पड्काइदिए । अहिलेको असीम सागर हुनुमा ती तालीहरूको पनि ठुलो भूमिका छ जसले सधैँ ऊर्जा भरिरह्यो । त्यति बेला उहाँका सृजना सुनेर ताली बजाउनेहरू अहिले कहाँ पुगे थाहा छैन तर कवि असीम सागर अहिले पनि ती अनुहारहरूलाई बडो प्रेमपूर्वक सम्झिनुहुन्छ । किनभने उनीहरूको ऊर्जाले पनि कवि बन्न भूमिका खेलेको छ ।

किन हो कुन्नि थाहा छैन, कमजोरलाई हाम्रो समाजले जहिल्यै हेपिरहन्छ । त्यो नियति कवि असीम सगरले पनि भोग्नुभयो । भन्नेहरूले त अनेक भने तर असीम सागरले कहिल्यै त्यसको प्रतिकार गर्नु भएन । आफू कमजोर भएर पनि हुन सक्छ अथवा प्रतिकार गरिहाल्ने उहाँको बानी नभएर पनि हुन सक्छ तर मनमा इख भने सधैँ रहिरहन्थ्यो उहाँको । “फत्तेमान श्रेष्ठ” ले भोगेको जीवनलाई  साहित्यको रङ्ग भरिदिए र आफूलाई कवि “असीम सागर” बनाइदिए । दिनभरि गरिबी र अभावका कविता सुनाएर साँझ महलमा निदाउने कविहरूका लागि असीम सागर एउटा चुनौती हुन् । साहित्य सृजना जीवनभोगाइभन्दा पर जानु हुँदैन भन्ने कुरा उहाँका सृजनाहरूले बताइरहेका हुन्छन् । उहाँ जस्तो बाँच्नुहुन्छ, त्यस्तै लेख्नुहुन्छ र जस्तो लेख्नुहुन्छ, त्यस्तै बाँच्नुहुन्छ । यो कुरामा सहमति जनाउँदै भक्तपुर निवासी कवि तथा सञ्चारकर्मी रामगोपाल आशुतोष थप्नुहुन्छ, “उनका कविता सोकल्ड कविका लागि चुनौती पनि हो । किनकि आफ्नो पोल्टामा करोडौँ सम्पत्ति राखेर पुँजीवादको विरोध गरी समाजवादको खोक्रो आडम्बरी प्रस्तुत गर्ने कविभन्दा असीमका कविता सत्य र इमानको सागरको तलबाट उठेको सात्विक उत्तेजना लाग्छ मलाई । चेतना हो उनका कविता । ज्ञान हो उनका कविता । बोध, आवाज हो । सत्य, सुन्दर र समताको हृदय पक्षीय स्वर लाग्छ मलाई उनका कविता ।”

नेपाली साहित्यका कविता, गीत, गजल, मुक्तक र हाइकु विधामा उत्तिकै सशक्त रूपमा कलम चलाउने असीम सागर चित्रकलामा पनि बरोबर रुचि राख्नुहुन्छ । धेरैले उहाँलाई अहिले पनि एक कुशल चित्रकारको रूपमा चिन्छन् र पुनः त्यसलाई निरन्तरता दिन बारबार अनुरोध गरिरहन्छन् । कुनै बेला चित्र कोरेर जीविकोपार्जन गर्न सकिन्छ कि भनेर उहाँले कोसिस पनि गर्नुभयो । काठमाडौँका आर्ट ग्यालरीहरूमा आफ्ना चित्रहरू पठाउनुभयो तर दुःखको कुरा ती ग्यालरीहरूले न त उहाँको चित्र बिक्री भयो भनेर खबर गरे, न त ती चित्र फिर्ता नै गरे । यसरी आफ्नो कला बेवारिसे भएको पाएपछि असीम सागरलाई चित्रकलाबाट पनि केही होला जस्तो लागेन र काठमाडौँमै एउटा ठेला किनेर तरकारी व्यवसाय सुरु गर्नुभयो र त्यसैको भरमा जीवन बाँच्ने आधार खडा गर्नुभयो र अहिले पनि जीवन त्यसैको भरमा मज्जाले चलाइरहनुभएको छ । जसमा उहाँको परिवारले पनि उत्तिकै साथ दिइरहेको छ ।

दार्जीलिङ छँदा अमीर सुन्दाससँगै असीम सागरले पनि चित्रहरू कोर्न सुरु गर्नुभएको थियो । त्यो बेला असीम सागरका प्रिय पात्रहरूमध्ये एक अमीर पनि हुनुहुन्थ्यो ।  पछि नेपाल फर्किएपछि असीम सागर पूर्ण रूपमा साहित्य सृजनामा समर्पित हुनुभयो भने अमीर सुन्दास चित्रकलासँगै साहित्य सृजना र मूर्तिकलामा लागिरहनुभएको छ निरन्तर अहिले पनि । दिनभरिको कामको थकानले गर्दा साँझ घर आएपछि चित्र बनाउन पनि गाह्रो पर्ने भएकाले चित्रकलाबाट उहाँ बिस्तारै पछि हट्दै जानुभयो, त्यसको बिक्रीवितरण नहुनु अर्को कारण त छँदै थियो तर अब भने फेरि चित्रकलालाई पनि निरन्तरता दिने उहाँको मनसाय रहेको छ । उहाँका शुभचिन्तक धेरैले उहाँलाई आग्रह पनि गरिरहेका छन पुनः चित्रकारितामा आउनका लागि । उहाँ भन्नुहुन्छ, “पहिले पो मलाई कसैले चिन्दैन थियो र मेरा चित्रहरू बिकेनन् । अब त थोरै भए पनि परिचय बनाएको छु ।” अब त आफ्ना चित्रहरू बजारमा बिक्छन् भन्ने आशा उहाँमा पलाएको छ । त्यसका लागि काठमाडौँका केही आर्ट ग्यालरीहरूमा यो विषयमा कुराकानी पनि भइरहेको छ ।

पूरापूरी १७ बर्षको भारत बसाइमा कवि असीम सागरले अनेक जीवन बाँच्नुभयो । अनेक कुराहरू भोग्नुभयो । तिनै भोगाइहरूले नै सशक्त कविको रूपमा उहाँलाई स्थापित गरायो । त्यसैले होला उहाँ भारतलाई खुब सम्झिरहनुहुन्छ । विशेष गरी  दार्जीलिङ र कालेबुङलाई । असीम सागरभित्रको कवित्वको बिउलाई त्यही दार्जीलिङ र कालेबुङले उम्रिने अवसर दियो र एउटा सर्जकका रूपमा फैलिने मौका पनि दियो । यस हिसाबले हेर्दा असीम सागरका लागि दार्जीलिङ र कालेबुङ उर्वर भूमि बन्यो सृजनाका लागि । यो कुरामा कालेबुङका कवि तथा पत्रकार मनोज बोगटी पनि केही गुनासोसहित सहमती जनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “फत्तेमान श्रेष्ठलाई पानी हालेर असीम बनाउनेमध्ये कालेबुङ पनि एक हो भन्ने लाग्छ । ऊ कालेबुङ नआएको भए ‘क’ कतै बिलाउँथ्यो  कि ? भन्ने लाग्छ ।  असीमलाई लागोस् नलागोस्, मलाई लाग्छ । असीम सागर कालेबुङ आउँदा दार्जीलिङमा पद्धतिअनुसार गजल लेख्ने माहौल थिएन । असीमलाई गजलबारे ज्ञान थियो । त्यतिखेर म मिडियामा थिएँ । मसँग धेरै लामो उठबस भयो । असीमलाई उठाउन मैले धेरै प्रयास गरेको हुँ । मैले मिडियालाई प्रयोग गरेको थिएँ । असीमले दार्जीलिङमा “काफिया र रदिफ” मिलाउँदैमा गजल हुन्छ अथवा मात्र मिलाउँदैमा अथवा अनुप्रास मिलाउँदैमा गजल हुन्छ भन्ने परम्परा तोडेका हुन् । यो हाम्रो सहकर्मले सम्भव भएको थियो भन्ने मलाई लाग्छ । म असीमको गजलको क्रूर आलोचक थिएँ । झुरलाई झुर र राम्रोलाई राम्रो भन्ने गर्थेँ । असीमका लागि त्यो नै मलजल पनि थियो । मसँग त पारिवारिक सम्बन्धजस्तै थियो । त्यतिखेर असीमले कविता धेरै लेख्दैन थिए । काठमाडौँ गएपछि खुब कविता लेखे । म भन्ने गर्थेँ, तिमी गजल मात्रै लेख्यौ भने नेपालमा हराउनेछौ । किनभने तिमीभन्दा राम्रो गजल लेख्नेहरू नेपालमा छन् । कविता पनि लेख । उनको “क” नामक कवितासङ्ग्रहको नाम पनि मैले नै राखेको हुँ । कालेबुङ बस्दादेखि काठमाडौँ पुग्दासम्म हाम्रो आत्मीय सम्बन्ध उस्तै छ । अहिले पनि म असीमको कविताको क्रूर आलोचक नै हुँ । उसको भर्खर एउटा प्रोफाइल भिडियो आएको रहेछ । त्यो हेरेँ, खुसी लाग्यो तर असीमले कालेबुङको सङ्घर्ष, जुन उसको जीवनको खास सङ्घर्ष थियो, चाहे जीवनको होस् वा लेखनको, त्यो कतै उल्लेख गरेनन् । तर मलाई लाग्छ, असीमका लागि क्रूर आलोचक चाहिन्छ नै । उसलाई आमचकारी गाली गरेन भने ऊ कमजोर भइदेला भन्ने सुर्ता लाग्छ । किनभने असीम मेरो प्रिय मित्र हुन् ।”

हुन त कवि असीम सागरले पनि दार्जीलिङ र कालेबुङलाई केही दिनुभएको छ । असिम सागर, भारतको गोर्खाल्यान्ड आन्दोलनमा सहभागी भएका नेपाली कवि/गजलकार पनि हुनुहुन्छ । दार्जीलिङका स्रष्टाहरूसँगै उहाँको पनि आन्दोलनमा काव्यात्म योगदान रहेको छ । आन्दोलनका क्रममा त्यो बेला वाचन गरिएका उहाँका गजलका शेरहरू अहिले पनि दार्जीलिङ र कालेबुङ बासीहरूले सम्झिन्छन् ।

माथि उल्लिखित “क” अर्थात् असीम सागरको पहिलो कवितासङ्ग्रह हो जुन गत साल अर्थात् २०७७ मा प्रकाशित भएको थियो । यसअघि उहाँका तीन ओटा गजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । ५० को दशकबाट साहित्यमा कलम चलाउन सुरु गर्नुभएका कवि असीम सागरको “जून पोखिएको रात” पहिलो गजलसङ्ग्रह हो, जो चाहिँ उहाँ दार्जीलिङमै रहँदा सन् २००७ मा प्रकाशित भएको थियो । त्यसपछि “अस्तित्वका आवाजहरू” र “स्वर्गको सपना” नामक दुईओटा गजलसङ्ग्रह सन् २००९ मा प्रकाशित उहाँका अन्य कृतिहरू हुन् ।

साहित्य सृजनासँगै जिन्दगीलाई अगाडि बढाउने क्रममा असीम सागरले विभिन्न समयमा आफ्नो नाम परिवर्तन गरिरहनुभयो । सुरुमा बाआमाले “फत्तेमान” राखिदिनुभयो । धेरै पछिसम्म पनि त्यही नाममा साहित्य सृजना गरिरहनुभयो । अहिलेका सर्वाधिक लोकप्रिय गायक रामकृष्ण ढकालले उहाँको गजल गाउनुभएको छ । त्यस बेलासम्म उहाँ गजलकार “फत्तेमान श्रेष्ठ” नै हुनुहुन्थ्यो । आफू घरको जेठो सन्तान भएका कारण प्रायले उहाँलाई ठुल्दाइ भनेर बोलाउने गरेका कारण पनि पछि उहाँले त्यही “ठुल्दाइ” लाई नै आफ्नो साहित्यिक नाम बनाउनुभयो र केही सयम त्यही नामबाट पनि साहित्य सृजना गर्नुभयो । ठुल्दाइले धेरै हन्डरहरू खाएपछि आफू दुःखको सागरजस्तो लाग्यो र उहाँले “ठुल्दाइ” लाई परिवर्तन गरेर “अश्रु सागर” बनाउनुभयो र यही नामले उहाँ दार्जीलिङ र कालेबुङमा गजलकारको रूपमा चिनिनु पनि भयो । पछि नेपाल आउँदा पनि यही नाम लिएर आउनुभएको थियो । नेपाल आएपछि त्यो बेला सर्जक प्रकाश शायमी लगायतको समूहले सञ्चालन गर्दै आएको “भावक अभियान नेपाल” मा उहाँ पनि सामेल हुनुभयो र  एक दिन काठमाडौँको एउटा कार्यक्रममा गजल वाचन गर्न पुग्नुभयो, जहाँ लेखक डि.पि. भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा गजल सुनाइसकेपछि प्रमुख अतिथि भण्डारीले उहाँको नाम “अश्रु सागर” बाट “असीम सागर” बनाइदिनुभयो र अहिले त्यही नाम नेपाली साहित्यमा चर्चित बन्न सफल भएको छ, “असीम सागर” ।

जीवन गुजार्न मान्छेले अनेक किसिमका काम गर्छन् र गरिरहेका पनि छन् । त्यो ठुलो कुरा भएन । आफूले गरिरहेको काम र बाँचिरहेको जीवनको सार आफ्नो सृजनमा प्रतिबिम्बित हुनु स्वाभाविक नै हो तर बाँच्नका लागि गरिएको कामलाई साहित्य सृजनासँग जोडेर व्याख्या गरिनु चाहिँ अलिक ठिक नहोला कि भन्ने लाग्छ ।  आफ्नो क्षमता र योग्यताअनुसार सबैले काम गरेरै खाएका छन् । हामी आफैँ पनि परदेशमा अनेक किसिमका काम गर्दै सृजना गरिरहेका छौँ । कसले के सृजना गरिरहेको छ, त्यो महत्त्वपूर्ण कुरा हो र  त्यही कुरा अगाडि ल्याइनुपर्ने हो तर कवि असीम सागरको हकमा भने उहाँले जीवन गुजाराका लागि गरिरहेको कामलाई अघि सारेर मात्रै उहाँको कवित्वको चर्चा गरिएको पाइन्छ । असीम सागर भनेर चिन्ने जान्ने सबैलाई थाहा छ कि उहाँ तरकारी व्यापार गर्नुहुन्छ र परिवार र आफूलाई पाल्नुहुन्छ त्यसैको आयले । यो उहाँको नितान्त व्यक्तिगत कुरा हो । उहाँका सृजनाहरूको बहस गरिरहेको ठाउँमा यो कुरा जोडिनु र यसले प्राथमिकता पाउनु खास ठिक लाग्दैन । मलाई ठिक नलागेजस्तै उहाँलाई नजिकबाट चिन्ने कतिपय अन्य सर्जकहरूलाई पनि ठिक लागिरहेको छैन । यो त कवि तथा गीतकार हरिभक्त कटुवालको साहित्य सृजनाको चर्चा गर्दा रक्सीसँग जोडिएका किस्साहरू सुनाएजस्तै हो । यो पनि ठिक लाग्दैन । रक्सीका किस्सा सुनाएर कवि हरिभक्त कटुवालका सृजनाशक्तिलाई कमजोर देखाउने काम गरेजस्तै कवि असीम सागरको हकमा पनि बेला-बेला यही भएको पाइन्छ । हुन त कवि असीम सागर आफैँले पनि यो कुरालाई बेला-बेला अघि सारिरहनुहुन्छ । जुन अब रोकिनुपर्छ र केवल उहाँका सृजना र त्यसको शक्तिको मात्रै चर्चा हुनुपर्छ भन्ने मेरो सुझाउ छ ।