
मणिपुर निवासी सीतादेवी छेत्रीको जन्म ५ मई १९६१ मा भएको थियो । छेत्रीका एउटै धरामा (२०१७, कवितासङ्ग्रह), मूल परेको छोरो (२०१८, कथासङ्ग्रह) र चर्किएको मन (२०२१, कथासङ्ग्रह) प्रकाशित छन् । छेत्री विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखा सहसचिव पनि हुन् ।
प्रस्तुत छ, उनै सीतादेवी छेत्रीसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;
तपाईँको लेखनले दृष्टि पहिलो विधा र रचना कुन हो ?
मेरो लेखनको पहिलो विधा र रचना कविता रहेको थियो ।
प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?
प्रकाशन चाहिँ पहिलो कविता विधामै भएको थियो । सन् २०१४ मा ‘ऐना’ शीर्षकको कविता कोलकाताबाट प्रकाशित हुने ‘प्रभात’ नामक पत्रिकामा प्रकाशित भएको हो । २०१७ मा मेरो पहिलो कृतिका रूपमा ‘एउटै धरामा’ पुस्तक प्रकाशित भएको हो ।

सीतादेवी छेत्री
जीवनका भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ?
मेरो बाल्यावस्थातिर फर्केर हेर्दा दुई भागमा बाँडिएको थियो । बाल्यावस्थामा सबैभन्दा मायालु त खेल्न हुन्थ्यो । आफ्नो थाप्लामा जिम्मेवारी बोक्नु नपर्दा आमाबाबालाई यो चाहियो, त्यो चाहियो भन्दा पाइहालिन्थ्यो । नभेटे रोएर घुर्की देखाउदा नै भइहाल्ने ।
सबै साथीहरूसित कबड्डी, गुट्टी, एकखुट्टे खेलेको सम्झना गर्दा अहिले एउटा सपना देखेको जस्तो लाग्छ । तिहारमा गाउँभरि देउसी-भैलो खेलेर उठेको पैसाले क्लबको सरसामान किनी ल्याएर त्यो तबला, मादल, हारमोनियम बजाउनु पाउदाको आनन्द अर्कै हुन्थ्यो । जिन्दगीमा चिन्तारहित बाल्यावस्थाजस्तो रमाइलो क्षण त कहिले फर्केर आउँदैन सायद ।
बाल्यवास्थाको अर्कापट्टि फर्केर हेर्दा मन भारी भएर आउँछ । म नौ वर्षको हुँदा बाबा र दस वर्षको हुँदा आमाले एकवर्षको अन्तर गरी यस धरामा हामीलाई छोडी परमधाम जानुभएकाले टुहुरो हुन पुगियो । दुई दिदीहरूको बिहे भइसकेकाले घरको सबै भार आफ्नो थाप्लामा पऱ्यो सानैबाट । एक दाजु र एक भाइ जब आफ्नो सानो थाप्लो, घरको जिम्मेवारी र पढाइको भारी बल्ल बुझ्दै थिए । यसरी मेरो बाल्यावस्था काङ्ग्पोक्पीमा बितेको हो ।

अन्तर्वार्ताकार : दीपक सुवेदी
साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?
साहित्यमा प्रवेश गर्दाको मेरो कथा अलिक लामो छ । म पहिला जागिरको सिलसिलामा धेरै वर्ष इम्फालमा सरकारी आवासमा बसोवास गर्दथे । त्यहाँ धेरै जनजातिहरू थिए तर नेपाली एउटै थिएनन् । साहित्यको माहोल बिलकुल थिएन र कहिलेकाहीँ विचार गरे पनि आँट भने आएन । उस बेला अहिलेको जस्तो समाजिक सञ्जालको सुविधा पनि त थिएन । पछि नेपाली गाँउ काङ्ग्लातोङबी स्थायी रूपमा बसोबास भयो । मेरो सरुवा यहीँ हुन पुग्यो ।
काङ्ग्लातोङबी आएपछि धेरै संस्थाहरूमा संलग्न हुन पुगेँ र नेपाली साहित्य परिषद् मणिपुरको सदस्य पनि । परिषद्मा भानुजयन्ती, भाषादिवस, स्थापना दिवस आदि कार्यक्रमहरूमा मलाई पनि निम्तो आउने गर्थ्यो । म हरेक कार्यक्रममा गएर अतिथिको भाषण, साहित्य गोष्ठीहरूमा कविता वाचन आदि सुन्ने गर्थेँ ।
परिषद्को पुरानो कार्यकारिणीको समयअवधि समाप्त भएर नयाँ कार्यकारिणी नियुक्तिको सभा बसिने भयो । मलाई पनि निम्तो आएको थियो । त्यस आइतबारको दिन म आफ्नो व्यस्तताले नजाने निर्णय गरेँ । केही समयमा साथी गजलकार वसन्ती पौडेलज्यू आउनुभयो र भन्नुभयो, “आज चाहिँ जाऊ न नयाँ कार्यकारी कोको आउनुहुन्छ हेरौँ ।” उहाँको अनुरोधमा हामी दुई सभा बसेको ठाउँ पुगियो । उसबेला परिषद्की अध्यक्ष आदरणीय प्रा. दुर्गा शर्माज्यूले मलाई कोषाध्यक्ष पदमा जिम्मेवारी सम्भाल्ने प्रस्ताव राख्नुभयो । मैले कल्पनासम्म नगरेकाले तीन-चारपल्ट उठेर आफ्नो व्यस्तताले गर्दा उक्त गरिमामय पदमा समय दिन सक्दिनँ होला भनेर विचार सुनाए । सबैले मलाई धेरै सम्झाएर कोषाध्यक्ष हुन पुगेँ । यो मेरो जिन्दगीको साहित्यमा चढ्ने पहिलो खुड्किलो हुन गयो ।
मैले लेख्न सुरु गरेकै थिइन । छिमेकी देश म्यान्माबाट परिषद्लाई एक भव्य कार्यक्रमको निम्तो आएको थियो । मलाई म्यान्मा पहिलोपल्ट कविता वाचन गर्ने सौभाग्य प्राप्त भएको थियो ।
प्रेरणा को र कहाँबाट मिल्यो ?
नेपाली साहित्य परिषद्मा रहेर पनि मैले लेख्नुपर्छ भन्ने सोचेकै थिइनँ । एकदिन बिहानै परिषद्का सहसचिव साहित्यकार श्री राहुल राई ‘बोगिको’ मेरो घर आएर भन्नुभयो, “एउटा खुसीको खबर छ, हामीलाई म्यान्माबाट तीन दिवसीय साहित्यिक कार्यक्रमको निम्तो आएको छ । हामी सबै परिषद्काहरू जानुपर्ने भयो । त्यस कार्यक्रममा नेपाल, भुटान, भारतका हरेक क्षेत्रबाट साहित्यिकारहरू आउँदै हुनुहुन्छ । यहीँबाट सबै भेलाभएर जाने पक्का भएको छ । मैले भन्न आएको खास कुरा चाहिँ दुई, तीनओटा राम्रो कविता लेख्नुहोस् है गुरुमा ।” सुनेर मलाई एकछिन भुईँचालो आएको अनुभव गरेँ र सम्हालिएर भनेँ, “मैले त कहिल्यै कविता लेखेकी छैन ।” “कोसिस गर्नुहोस् न ल ।” भन्दै फेरि थप्नुभयो । “उहाँ गएर कविता नै वाचन गर्नुपर्छ भने म जान्न” मैले भनेँ । “हँ..अँ… हजुर एउटा गुरुआमा भएर त्यस्तो भन्नुहुन्छ ? हजुर त पक्कै जानुपर्छ नगई हुँदैन । मलाई हतार छ ।” भन्दै बिदा भएर निस्कनुभयो र गेटमा पुगेर कोसिस गर्नुहोस् लेख्नलाई भन्नुभयो । उहाँ गएपछि मलाई धेरै सोचमा पऱ्यो । यहाँ धेरै गुरुआमाहरू हुनुहुन्छ सबैले त लेखेका छैनन् ! दिनभरि नै मेरा कानमा त्यही शब्दहरू बजिरहे । आफैँसित प्रश्नहरू खोज्दै रात्रि कलम र कपी बोकी लेख्न बसेँ । कहाँबाट, कसरी कताबाट भाव जागेर आयो थाहा नै भएन र त्यस दिन दुईओटा कविता लेखेँ । परिचित सबै साहित्यकारहरूलाई देखाएँ, उनीहरूले राम्रो छ भनी दिएर मलाई ढुक्क लागेको थियो ।
साहित्यकार श्री राहुल राई बोगिकोले त्यति नभनिदिएको भए र आदरणीय प्रा. दुर्गा शर्माज्यूले परिषद्मा नजोडाएको भए आज म साहित्य जगत्मा आउँदिन थिए सायद । आज म उहाँहरूलाई आन्तरिक हृदयबाट हार्दिक आभार टक्राउँदछु ।
आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनुहुन्छ ?
मैले साहित्यमा प्रवेश गर्नु नै विलम्ब गरेँ । भर्खर ताते गर्दै एक कवितासङ्ग्रह र दुई कथासङ्ग्रह प्रकाशनमा ल्याउनुमा सफल भएकी छु । कुन विधाको स्रष्टा हुन्छ त्यो अहिलेसम्म सोचेकी छैनँ ।
कविता के हो ?
काव्य कविता या पद्य साहित्यको त्यो विधा हो जसले कोही कथा या मनोभावको कलात्मक रूपले कोही भाषा माध्यमले अभिव्यक्त गरिने एउटा विधा हो ।
कविताले के राम्रो बनाउछ ?
कविता, कविको आन्तरिक भावले सिर्जना गरेको साहित्यको कलात्मक एउटा विधा हो । कविले वास्तविक र कलात्मक कुनै घटनालाई भावात्मक सिर्जना गरी कविताको रूपमा प्रस्तुत गर्दछन् । सुन्दर तरिकाले पाठकवर्गमा प्रस्तुत गर्दछन् । स्तरीय रूपमा रचिएको कविताले पाठकवर्गलाई जीवन्त बनाउँदछ । कवितासित प्रेरणा पाएर मान्छेलाई सही मार्ग देखाएर नयाँ बाटो देखाउन सक्दछ ।
कविता धेरै लेखिन्छ तर कमै मात्रामा पढिन्छ र बिक्री पनि कमै हुन्छ भन्छन् नि कस्तो लाग्छ ? किन यस्तो भएको ?
धेरैजसो साहित्यमा प्रवेश गर्दा कविता विधाबाटै श्रीगणेश गरेको देखिन्छ । हाम्रो यतातिर हेर्दा नेपाली पाठकवर्ग कम छन् । मैले अति सरल भाषा शैलीमा लेख्ने गर्दछु । कसैले पढेर भन्ने गर्दछन् पढ्नु त पढेँ, तर केही बुझ्न सकिन भनी । हाम्रो यता कुनै विधामा लेखे पनि बिक्री कमै हुन्छ ।
कथा पनि लेख्नुहुन्छ । के-के कुरामा ध्यान दिनुपर्छ, कसरी लेख्दा राम्रो हुन्छ कथा ?
कथा लेख्दा कथाको विषयवस्तु, पात्रहरू, घटना र एउटा राम्रो सन्देशमूलकप्रति ध्यान दिनुपर्छ । पाठकवर्गलाई पढ्दा कौतुहलता रहोस् भन्ने कुरा असल हुन्छ होला ।
मणिपुरेली नेपाली साहित्यमा महिला स्रष्टाको अवस्था कस्तो छ ?
मणिपुरमा नेपाली जनसङ्ख्या कम भएको कारण साहित्य क्षेत्रमा महिला स्रष्टा कम छन् । महिला स्रष्टा कम भए पनि सबै विधामा कलम चलाई कविता, कथा, निबन्ध, लेख, गजल आदिमा पुस्तक निकाल्न सक्षम भएका छन् । मणिपुरमा महिला स्रष्टाको अवस्था राम्रो छ भन्न सकिन्छ ।
तपाईँ अध्यापनबाट भर्खर रिटायर पनि हुनुभएको छ । मणिपुरेली नेपाली भाषा साहित्यको अवस्था कस्तो छ ?
म अध्यापनबाट हालैमा सेवानिवृत्त हुन पुगेकी छु । मैले माथि पनि उल्लेख गरिसकेको छु । मणिपुरमा नेपालीको जनसङ्ख्या पचास-पचपन्न हजार जति छन् । त्यस हिसाबले हेर्दा मणिपुरेली नेपाली भाषा साहित्यको अवस्था राम्रो छ भन्दा अत्युक्ति नहोला । पूर्वोत्तर भारतमा नै प्रथम नेपाली साहित्य हुने गौरव पाएको हो । लेसनायक तुलाचन आलेद्वारा रचित मणिपुरको लडाइँको सवाई पुस्तिका उल्लेख गरी १८९३ मा श्रीगणेश गर्नुभएको भूमि भएर हामी गौरवान्वित छौँ ।
साहित्यकारहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
साहित्यकार समाजको पथप्रदर्शक हो । साहित्यकारहरूको दायित्व ठुलो हुन्छ । साहित्यमा कुनै सानो गल्ती हुन गए संसारमा विवाद उत्पन्न हुने सम्भावना रहन्छ । साहित्य एकअर्कामा भाषाको आदनप्रदान भइरहेको छ । साहित्यकारले लेख्दा समाजमा उन्नति हुने र पाठकवर्गले पढेर त्यसलाई परिवर्तन गर्न सक्ने किसिमको लेख्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले केकस्तो भूमिका खेल्नुपर्दछ ?
राज्यले वर्षमा दुई-तीनपल्ट साहित्यिक कार्यक्रम राखिदिए स्रष्टाहरूको मनोबल बढ्ने गर्छ । राम्रो पुस्तकहरूको छानबिन गरेर वर्षमा सानो भए पनि पुरस्कार दिएर लेखकहरूलाई प्रोत्साहन गराई दिए स्रष्टाहरूको हौसला बढ्ने र साहित्यमा रुचि बढ्ने थियो । स्रष्टाहरूले प्रकाशनमा ल्याएका पुस्तक प्रकाशकको दायित्व राज्यले गरिदिए स्रष्टाहरूलाई भार कम हुन जान्छ । राज्य सरकारले वार्षिक बजेटमा सबै जातिको साहित्यका निम्ति केही रकम राखी दिए धेरै सहयोग हुन्छ ।
साहित्यको समकालीन बाजारलाई कसरी हेर्नुहुन्छ ?
हिजोआज तकनिकी युग छ । धेरै जसो इन्टरनेट सुविधा रहेको छ । आजभोलि किताब किनेर पढ्न नरुचाएजस्तो लाग्छ र पाठकवर्गको अभाव रहेको अनुमान गर्छु । समकालीन साहित्यको बजार यहाँ मलाई सन्तोषजनक लाग्दैन ।
अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?
मेरो दाइ समाजसेवा गरी हिँड्नुहुन्थ्यो । कसैलाई महिलाको आवश्यक परे, त्यस ठाउँमा मलाई लगेर सहयोग गर्न लगाउनुहुन्थ्यो । एकदिन एउटी वृद्ध महिला सिकिस्त बिमारी भएर अस्पताल पुऱ्याउदा उहाँलाई डाक्टरले निमोनिया भएको छ र अस्पतालमा भर्ना गर्नुपर्छ भन्ने सल्लाह दिनुभएछ । आमैका एक छोरा र छोरी मात्र । छोरा र ज्वाइँ फौजमा । छोरी, बुहारीको बीस-बाइस दिनका सुत्केरी । आमैलाई अस्पतालमा भर्ना गराएर दाइ घर आएर मलाई साथी बस पुण्य हुन्छ भन्नुभयो । मलाई पनि दाइले सेवा गरेको देख्दा कसैको सेवा गर्न पाउँदा आनन्द लाग्दथ्यो । तीन दिनसम्म त आमै बोल्नुहुँदै थियो, चार दिनबाट बोली बन्द भयो । दिनभरि त आफन्त आउने र जाने, राति म एक्लै हुने । राति आठ बजेतिर आमैलाई साह्रो पर्दै गयो । म डराई-डराई डाक्टरलाई बोलाई ल्याएँ । डाक्टरले हेरेर उहाँको प्राण गइसक्यो भन्नुभयो । त्यत्ति ठुलो सरकारी अस्पतालमा एउटा लाश र म मात्र । उस बेला मोबाइल सुविधा थिएन । अस्पतालबाट घर निकै टाढा । कसैलाई बोलाउनु असम्भव, अस्पताल अलिक जङ्गल एक लासमा आफू पनि सानै । रातभरि एकलै लास रुँगेर बसेँ । त्यो दिन मलाई बिल्कुल डर लागेन । घरिघरि सास फेरेको जस्तो लागेर खोल्दै छाम्दै हेरेर बसेँ ।
भोलिपल्ट नौ बजेतिर दाइ आइपुगेर छक्क पर्दै मलाई धेरै बेरसम्म हात समात्नुभयो । आफन्तहरू जम्मा गरी आमैको दाहसंस्कार गरे । मलाई भने बल्ल आफ्नो घर पुगेपछि भित्र पस्नु नै डर लाग्न थाल्यो । धेरै दिनसम्म बिरामी हुन पुगेँ ।
अहिलेसम्म त्यो घटना सम्झना गर्दा मुटु चिसो भएर आउछ । डर भनेको के हुन्छ ? त्यसदिन मैले अनुभव गरेकी थिएँ ।
जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?
जीवनमा सुख र दुःख दाइ र भाइ जस्तै आउँछ जान्छ । एउटा भनाइ छ ‘सुख पाएँ भन्दैमा रजाइँ नबिछाउनू र दुःख पाएँ भनेर डसना नओड्नू ।’ सुखदुःख त जीवनका साथी हुन् । कहिले हरेस नखाई हिम्मत नहारी सङ्घर्ष गरे सफलताको भऱ्याङ आफैँ बन्नेछ जस्तो मलाई लाग्छ ।
तपाईँलाई उत्कृष्ट लागेका सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?
मलाई प्रेमचन्दको गोदान, साहित्यकार विक्रमवीर थापाको बीसौँ शताब्दीकी मोनालिसा र साहित्यकार कृष्ण धारावासीको झोला कथा धेरै उत्कृष्ट लाग्दछ । पुस्तक पढ्दा मलाई पनि कथा लेख्ने इच्छा जागेको हो भन्दा अतियुक्त नहोला ।
साहित्यमा अन्य साहित्यकारलाई प्रेरणा दिने कम नै गर्ने गर्दछन् । कोही यस्तो साहित्यकार पनि हुँदा रहेछन् । सर्जकहरूको लेखहरू र अन्तर्वार्ता लिएर निस्वार्थ भावले अनेक पत्रिकामा छपाइदिएर विश्वमा परिचय गराइदिनुहुने साहित्यकार, समालोचक दीपक सुवेदीलाई देख्न पाएँ ।
नेपाली साहित्यको स्तरीकरणका लागि क–कसले के–के गर्नुपर्ला ?
कुनै पनि साहित्यकारद्वारा लेखिएको पुस्तक नेपाली साहित्यकारले पढिदिएर समीक्षा गरिदिए स्तर बढ्ने थियो होला । साहित्य लेखेर पाठकवर्ग नहुँदा कता-कता नुन नहालेको तरकारीजस्तो लाग्छ । नवोदित कलमकारहरूलाई हौसला बढेर जाने थियो । खर्चिएर एक-दुई पुस्तक निकालेपछि बजार नपाएर लेख्नै छोडेको देख्न पाइन्छ । अहिले धेरै नवोदित स्रष्टाहरू हुनुहुन्छ । नेपाली साहित्यकारहरूले लेखिएका स्तरीय पुस्तकहरू हिन्दी, अङ्ग्रेजी, अन्य भाषामा अनुवाद भए नेपाली भाषा संस्कृतिलाई अन्य भाषीले पढ्ने मौका पाउने थिए र नेपाली साहित्यको स्तर बढ्ने थियो होला ।
नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनुहुन्छ ?
साहित्य क्षेत्र धेरै ठुलो छ, साथै जिम्मेवारीको एउटा कार्य पनि हो । साहित्यलेखनमा छिटै हतास नभई अगाडि बढी निरन्तरता बनाइराख्न जरुरी हुन्छ । आजभोलि नवोदित स्रष्टाहरू धेरै साहित्य क्षेत्रमा प्रवेश गरेको देख्दा धेरै आनन्द लाग्दछ । मनमा आशा पनि लाग्छ कि नवोदित स्रष्टाहरूले नेपाली साहित्यलाई स्तरीय बनाउन सक्षम हुनेछन् भनी । उच्चकोटीका रचना लेखी विश्वमा नेपाली साहित्यलाई अझ परिचित गराउनेछन् ।
जीवनका भावी लेखकीय इच्छाहरू के छन् ? के सार्वजनिक गर्न मिल्छ ?
जीवनमा इच्छाहरूको एउटा लामो माला जत्तिकै हुँदो रहेछ । जीवन र कलमले पनि साथ दिनुपऱ्यो । लेख्ने इच्छाहरू त धेरै छन् । म आफ्नो समाजका लागि एउटा राम्रो कृति लेख्न सकौँ, अवश्य यो इच्छा लाग्छ ।
अहिले साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
साहित्यको फाँट धेरै ठुलो रहेछ । म शिक्षिका मात्र हुन्थेँ भने मेरो यति इष्टमित्र सायद हुँदैन थिए होलान् । आज एउटा उच्चकोटी साहित्यकार नभए पनि साहित्यकाहरूबिच उभिन पाउँदा आफूलाई धेरै खुसी लाग्ने गर्छ ।
साहित्य क्षेत्रमा त केही गुमाएको छैन । अँ पहिल्यैबाट साहित्यमा रुचि भए तापनि आफू बसेको क्षेत्रमा परिवेश नमिलेर लेख्न नसकेको त्यो गुमाएको क्षणलाई कल्पना गर्दा पश्चात्ताप अवश्य लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
