१.
ए नदी
तिमी सागरमा मिसिएर विश्राम लिएपछि
के उसैगरी पछुताउँछ्यौ
जसरी पछुताउँछ मान्छे
फुर्सद मिलेपछि ।

२.

राधिका कल्पित

ए गङ्गे
कति हतारो हो तिमीलाई ?
के तिमीलाई थाहा छैन
तिमी समुद्रमा पुगेपछि
तिम्रो नाम मेटिन्छ ।
अचम्म लाग्छ
के मेटिनका लागि पनि
यति हतार हुन्छ कसैलाई ?

३.
अञ्जुलीमा भर्न खोज्दा
माछाका फुल झैँ
चिप्लेर फुत्किन्छ्यौ
अङ्गालोमा छोप्न खोज्दा
समयका चन्चले पाठा झैँ
फुत्केर दौडिन्छ्यौ
मायाले टिप्न खोज्दा
हुस्सुका भुवा झैँ
फुस्केर भागिदिन्छ्यौ।
ए नदी
भन न
यसरी
दौडिइरहन
भागिइरहन
छोडिरहन
मान्छेले तिमीबाट सिकेको हो
या तिमीले मान्छेबाट ?

४.
ए नदी
जब नदीशमा तिमीलाई खोज्छु
त्यहाँ तिमी जस्तै कोही देखिन्छ तर तिमी भेटिन्नौ
जब जन्मथलो छाडेर पराइथलो टेक्छ्यौ
कसमा नामसारी गरेर जान्छ्यौ
तिम्रो आफ्नो नाम ?
कहाँ लगेर गाड्छ्यौ
तिम्रो आफ्नो पहिचान ?
कसलाई जड्यौरी दिएर जान्छ्यौ
तिम्रो यो गडगडाहट ?
कसलाई पेवा दिएर जान्छ्यौ
तिम्रो यो सुस्साहट ?
कसमा हस्तान्तरण गर्छ्यौ
आफ्नो यो स्वरूप र रूप ?

५.
जसरी छाडेपछि बाल्यकाल
छाडिन्छ आफैँसँग मान्छे
जसरी पाएपछि कसैलाई
आफैँलाई बिर्सन्छ मान्छे
भन न ए नदी
तिमी चाहिँ
छोडिएका लागि दुःखी छौ
या भेटिएकामा खुसी छौ ?

६. यी नादान नदीहरू
झुक्किएरै भए पनि
ऐेना हेर्दा हुन् त चकित पर्थे होलान्
आफ्नै परिवर्तित तक्दिर देखेर
जसरी नोस्टाल्जिक हुन्छ प्रत्येक मान्छे
आफ्नै बाल्यकालको तस्बिर देखेर।

७.
जमुना या यमुना
विष्णुमती या इन्द्रावती
नारायणी या रुद्रायणी
काली या सेती
नदी हुन् या नारी हुन्
मुहानमा पुजिन्छन्
मुग्लानमा दुषित बनाइन्छन् ।

८. दुखियाहरू
जङ्गलतिर सुसाउँछन्
नदीहरू बगरतिर ।

९.
ठूलो घरमा परेर `ठुली´ भएपछि
के तिमी उसैगरी सम्झिन्छ्यौ तिमी जन्मेको कन्दरा
जसरी सम्झिन्छे
धनी घरमा परेकी एक चेलीले
गरिब माइतीलाई।

राधिका कल्पित