टिएन आचार्य

मान्छे हुनुको गर्वले
जल, जमिन र आकाश हेर्दै खोतल्छु, …
होमोस्यापिन्सको नाम पाएपछि त झन्
नियाण्डरथलको विलोपपछिका तीस हजार वर्षमै
कसले चो-यो हाम्रो मानवताका
मस्त निन्द्राहरू ।

इतिहास बोल्छ
कारणको पोको खोल्न नसकेर
एक लस्कर बाइबल, महाभारत र कुरान आए
बोले– हामी एकमात्र मुक्तिदाता परमेश्वर
ती बाहेक अरू सबै पापी र नास्तिक ठानियो ।

धर्मभिरुहरूले
भिडेका अनि हिँडेका केही शताब्दी
यातना, अन्धविश्वास र कुरीतिका
अनन्त लडार्इं पढ्दा
मान्छे भै आफ्नो जिउभरि आफैं खोपेर
समयभरि रगतका पदचाप छोड्दै हिँडेको प्रष्ट छ ।

कृष्णका सोह्र–सय गोपिनी
र, पतिव्रताको कथासँगै
चालिसौं लाखको इहलिलामाथिको
महाभारत युद्ध
इतिहासको सट्टा
आदर्श थोपरेपछि
के सिक्नु मानवले ?
धर्मका ढोंगी अध्यायहरूबाट !

जेरुसेलमसम्म पुग्ने
आठ वटा धर्मयुद्धका धुन्दुवीहरू
आर्तनाद नचायौ
र, दासै दासको जंजिर जन्मायौ
धर्माधिकरणको घन बजार्यौ
लाखौँ जीवनमाथि
विज्ञानका आँखा छोपेर, घोचेर, फोरेर
बाँध बाँध्यौ तर्कशील विवेक र चेतनामाथि ।

जीवनको संघर्षबाट
सुरु गरिएको पवित्र जेहाद
तरवारको संघर्षमा टुङ्गिएको छ
आज जबरजस्ती–
अर्को त देख्दैनौ,
आफैं सिया–सुन्नीको खाडलमा
लाखौं जनहरू
परिसके, परिरहेछन्, परिरहनेछन् ।

कथित ईश्वरले दिए
फरक आँखा र चेतनाहरू
उत्पिडितहरूमा
प्रायश्चित्त, दब्बुपना र धैर्यता
उत्पिडकहरूमा
कर्म, शौर्य, विद्धता र साहस
धर्मको पुल बन्ना–साथ
विभिषणले प्रशंसा पाउने
तिम्रा अहम्का पर्खाल ठडिएपछि
मिरजाफर हुने ?

ख्वामितका नाममा
अध्यात्मको पवित्रतालाई
नश्वर धर्म र विधिको
पुस्तकभित्र घोलिदिएर
ज्ञानी धार्मिक हुन्
धार्मिक नै ज्ञानी हुन्
भन्दै–
बुद्धिमानहरू
इश्वरका अघि झुक्छन् भन्दै
समाज–भ्रमित गर्यौ
मूलमा यही घोल मिसाएर ।

एथेन्सका याद डेमोस्थेनेज
र, जिवीत कवि भिँलो
सिकन्दर महान, वीर हन्निवाल
र, विज्ञानी अरस्तु
कतिले तिम्रै नाममा
निष्कण्टक शासन चलाए
कतिले तिम्रो दुशासनमाथि
प्रश्नै प्रश्न उठाए
धर्मको नाममा
कसैलाई छुटमाथि छुट थपिए
जन्मजन्मान्तर
कसैलाई कठोर यातना लेखिए
जोन अफ आर्क र,
गियोम काल खरानी पारिँदा
इतिहास सँधै दमित,
द्रविभूत र रगताम्य थियो–
दलित, दास र महिलाका गगनभेदी चित्कारले ।

ईश्वरका नाममा सपथ खाई
निर्वाध राज्य गर्नेहरू
मध्ययुगका महामारीमा
प्रश्नको थुप्रोले पुरिएपछि
सोह्रौँ शताब्दीदेखि
प्रश्न सुरु गरे
क्रान्तिकारीहरूले
ईश्वरीय राज्य अलग–थलग भए
अमेरिका बन्यो
क्रान्ति र सर्वहारा जागे,
अनि युग उठ्यो माक्र्ससँगै ।

विज्ञानले तिम्रा तथ्यविहीन
जराहरू काटिरहँदा
आज तिमी भौतिकवादको
पुच्छर समाउन खोज्दै
अध्यात्ममाथि एकतर्फी
एकाधिकार घोषणा गर्दै
भौतिकवादी भनिनेलाई
पनि धर्मको रस पिलाउँदै
जताततै धर्मको नाममा
व्यापार चलाइरहेका छौ ।

अझै बाँकी तिम्रो
द्वैध–शासन अन्त गर्न
मान्छेको विश्वासमा
विज्ञानको उज्यालो दियो बाल्न
कुरुप अन्ध–चेतना
मानव दिमागबाट हटाउन
तिमीलाई सौर्यमण्डल
र, मिल्की वे बाहिर ठेल्दै
अन्ड्रोमेडाको घेरामा पु-याउनैपर्छ
पु-याउनै पर्छ ।