लामो समयदेखि नियात्रालेखनमा समर्पित स्रष्टा जय छाङ्छा आधा दर्जन नियात्राकृतिको प्रकाशन र पुरस्कारले उनलाई सिद्धहस्त नियात्राकार प्रमाणित गरिसकेको छ । उनी नियात्राका अन्वेषक पनि हुन् भन्ने पुष्टि उनको कृति ‘नियात्रा विधा : परिचय’ को प्रकाशनले गरेको छ । यस अनुसन्धात्मक कृतिको प्रकाशन रत्न पुस्तक भण्डारबाट भएको छ ।

नियात्रा शब्द अहिले लोकप्रिय भइसकेको छ । नियात्राका पुस्तक सङ्ख्या पनि निकै भइसकेका छन् । यसमाथि धेरै प्रकारले छलफलकासाथै सैद्धान्तिक रूपमा परिभाषित गर्ने काम पनि भएको छ । यी सबै तथ्यलाई आधार बनाएर नियात्राकार तथा अन्वेषक जय छाङ्छाले नियात्रा निबन्धको उपविधा नभएर पूर्ण विधा बनिसकेको विश्वास गरेका छन् ।

यात्रा विषयवस्तु बनाएर गरिएको लेखनलाई यात्रावृत्तान्त, यात्रासंस्मरणका नाममा लेख्ने गरिएका छन् अन्य देशमा । नेपालमा भने ‘नियात्रा’ नामकरण गरिएको छ । वि.सं. २०२६मा भाषाशास्त्री बालकृष्ण पोखरेलले पहिलोपटक प्रयोगमा ल्याएका थिए । डा. तारानाथ शर्माको ‘बेलाइततिर बरालिँदा’ यात्रासंस्मरणको भूमिकामा सो शब्दलाई उनले प्रयोगमा ल्यएका थिए । नियात्रा नेपालको मौलिक शब्द भएकाले अन्य कुनै साहित्यमा पनि यसबारेमा केही लेखिएको पाइँदैन ।

यात्राको सपाट वर्णनले मात्र नियात्रा हुँदैन । नियात्रा सिर्जना हुनलाई यात्राका सन्दर्भमा यात्राकारले गरेका निजात्मक अनुभूति, कल्पनाको महकता, कलात्मकता, तथ्यात्मकताका साथै रोचक वणर्न हुनु जरुरी हुन्छ । नियात्रा लेखनमा आत्मपरकता, गुण र शैलीले विशेष महत्त्व राख्दछ ।

नेपालमा नियात्रा शब्दको निर्माण भएको पाँच दशक नाघिसकेको छ । यस अवधिमा नियात्रा लेखनमा भएका विकास र अन्य विधाका जस्तै विशेषता भएकाले स्वतन्त्र विधाका रूपमा स्थापित भइसकेको तथ्य लेखक छाङ्छाले ‘नियात्रा विधा : परिचय’ मा उल्लेख गरेका छन् ।

यस कृतिको भूमिकामा समालोचक, प्राध्यापक राजेन्द्र सुवेदीले लेखेका छन् – ‘नेपाली नियात्राका प्रारम्भिक स्थिति, नियात्राको विकास र विस्तार, नियात्राको चरण विभाजन गर्न आवश्यक भइसकेको स्थितिको बोध र त्यसको व्यवस्थापन पनि यस कृतिको विवेचनीय पक्ष बनेको छ ।’

श्रीओम श्रेष्ठ ‘रोदन’

त्यस्तै अर्का समालोचक डा. गोविन्दराज भट्टराईले लेखेका छन् – ‘छाङ्छाले व्यापक अध्ययन गरी हिन्दी र अङ्ग्रेजी माध्यमका अनेकौँ विवेच्य ग्रन्थको सारतत्त्व ग्रहण गर्दै अब नियात्रालाई एक अलग विधाका रूपमा स्थापित गर्न सकिन्छ भन्ने प्रमाण जुटाएका छन् । …… मलाई नियात्रा एउटा ‘विधा’ नै हो भन्ने आँट पलाएको छैन ।

यस कृतिमा भारत, अमेरिका र बेलायतमा यात्रासाहित्यलाई स्वतन्त्र विधाका रूपमा स्वीकार गरिसकेको तथ्यलाई प्रस्तुत गरेका छन् । झन् नेपाली साहित्यमा नियात्रा मौलिक अस्तित्वमा रहेकाले यसलाई विधा नै मान्नुपर्ने तथ्य र तर्क जोडदार रूपमा गरेका छन् ।

नेपाली साहित्यमा नियात्रा स्थापित भइसको भए पनि केही स्रष्टाले यसप्रति विमति राखेर फरक ढङ्गले व्याख्या गरेका छन् । उनीहरूले नियात्राको विकल्प दिएर राखिएका फरक मतलाई पनि यस पुस्तकमा समेटिएका छन् । साहित्यकार हरि थापाले नियात्राको सट्टामा ‘सयात्रा’ भन्नुपर्ने आधार पेश गरेका छन् । अर्का साहित्यकार केदार सुनार सङ्केतले पनि नियात्रालाई ‘यात्रास्पर्श’ भन्नुपर्ने तर्क प्रस्तुत गरेका छन् ।

‘नियात्रा विधा : परिचय’ लाई तीनखण्डमा विभाजित गरिएको छ । पहिलो खण्डमा नियात्राको परिचय, अर्थ, परिभाषा, आयाम, विशेषता र तत्त्वका बारेमा सविस्तार व्याख्या गरिएको छ । यसरी व्याख्या गर्नका लागि लेखक छाङ्छाले स्वदेशी तथा विदेशी नियात्राका अंशलाई उदाहरणका रूपमा उद्धृत गरेका छन् ।

नियात्राका तत्त्वहरू पाँच प्रकारका हुने भनिएको छ । नियात्रा विधाको वर्गीकरणलाई निम्नानुसार उपशीर्षकका रूपमा व्याख्या गरिएको छ । साहित्यिक, धार्मिक, साहसिक, अनुसन्धात्मक, वर्णनात्मक, संस्मरणात्मक, पत्रात्मक, दैनिक्यात्मक, काव्यात्मक, निबन्धात्मक र आख्यानात्मक नियात्रालाई सप्रसङ्ग व्याख्या गरिएको छ ।

कृतिको दोस्रो खण्डमा नेपाली नियात्राको प्रारम्भ, विकास, कालविभाजन पनि गरिएको छ । साथै आधुनिक कालका नियात्रा सर्जकहरू, नियात्रा विषयसँग सम्बन्धित संस्था र पत्रपत्रिकाको योगदानलाई पनि उल्लेख गरिएको छ ।

तेस्रो खण्डमा नियात्रालेखनको शैलीका बारेमा चर्चा गरिएको छ । जसअनुसार अभिव्यक्तिमूलक शैलीअन्तर्गत इतिवृत्त शैली, वर्णात्मक, संस्मरण, डायरी, पत्रात्मक, निबन्धात्मक, काव्यात्मक शैली, आख्यानात्मक र पथप्रदर्शक शैली नियात्रा लेखनमा प्रयोग हुने गरेको चर्चा उदाहरणसहित प्रस्तुत छन् ।

त्यस्तै अनुभूतिमूलक शैलीअन्तर्गत तुलनात्मक, व्यङ्ग्यात्मक, संवेदनात्मक, भावुकपूर्ण, चित्रात्मक, आलङ्कारिक, लाक्षणिक, काल्पनिक शैलीका सार्थै तृतीयपुरुष शैली नियात्रामा प्रचलित भएको पनि उदाहरणसहित उल्लेख छन् ।

नियात्रालेखनमा प्रयोग भएका उल्लिखित सबै शैलीलाई कृतिमा व्याख्या गर्दै नेपाली, भारतीय र अन्य पश्चिमेली मुलुकका नियात्राका अंशलाई उदाहरणका रूपमा यस पुस्तकमा प्रस्तुत गरिएको छ ।

नियात्रा अन्वेषक जय छाङ्छाले नेपालीमा नियात्रालेखन प्राचीन समयदेखि हुँदै आएको उदाहरण उनले वैदिक मन्त्रलाई मानेका छन् । उनले ऋग्वेदको सातौँ मण्डलको सूक्त ८८ को ऋचा ३ मा वशिष्ठ ऋषि तथा देवता वरुणद्वारा नौकाबाट गरिएको यात्रा वर्णनलाई मानेका छन् ।

जसमा भनिएको छ – ‘जुन समय म तथा वरुण दुवै नौकामा बस्यौँ, नौका समुद्रमा चलाइयो र अन्य नौकासँग सागरमा विचरण गर्‍यो । त्यस बेला हामीले हितकारी झुलामा झुलेझैँ क्रीडाको आनन्द पायौँ ।’

साहित्यलाई पाँच विधामा विभाजन गरिएको छ । यो त्यति बेलाको आवश्यकता र औचित्यका आधारमा गरिएको हुन सक्छ । अहिले समय परिवर्तन भइसकेको छ । उपविधा भनिएका लेखन स्वतन्त्र रूपमा विकास भएर स्थापित भइसकेका छन् भने हिजोका सिद्धान्तमा नै टेकिरहनु आजको माग र आवश्यकता नहुन पनि सक्छ । इतिहासलाई नै पछ्याइरहने हो भने आजको अनुसन्धानको अर्थ हुँदैन । औचित्य प्रमाणित भयो भने नयाँ कुरा स्वीकार गर्न अलमलिनुहुँदैन । यो आजको समयको माग हो । राज्यलाई विधिसम्मत बनाउने संविधान त परिवर्तन हुन्छ । आवश्यकताअनुसार संशोधन हुन्छ भने साहित्यको विधामा अलमलिरहनुपर्ने देखिँदैन ।