‘भर नभएको जिन्दगीको रहर कति कति ।’ यो अंश मेरो मौलिक होइन । जिपमा बसेर बाटामा हुइँकिँदा हामीअगाडिको सानो पुन्टे कारको पुट्ठामा लेखिएको अंश हो । यसलाई कार साहित्य भन्नुपर्ला । ट्रक साहित्य त जताततै कोरिएका छन् – यस विषयमा केहीले राम्रैसँग लेखेका पनि छन् तर कार साहित्य पनि बिस्तारै देखिँदो छ । यसलाई मान्छेभित्र रहेको कलाप्रेमभन्दा हुन्छ कि भन्ने लागेको छ ।
यो सन्दर्भ छैटौँ दिनको यात्रासन्दर्भ हो ।
हामीलाई लत लागेको छ पदयात्राको । यात्रामा पनि हिमाली भेगको यात्रा । हामीलाई यात्राले लती बनाएको छ । यात्राका एक सदस्य कुशले भने – “हिमाल र समुद्र मान्छेका नमेटिने तिर्खा हुन् ।” कुशको भनाइलाई मैले लेखनमा अलिकति जलप दिएँ हुँला तर उनको आशय शतप्रतिशत यही थियो ।
गत वर्ष अम्बिका, रामेश्वर, विष्णु र म मार्दी हिमालको भ्यु प्वाइन्टसम्मको यात्रामा थियौँ । मार्दी हिमाल यात्रामा हिउँको टोपीमाथि बसेर वरिपरिका हिउँका थाप्लाहरू नियाल्दै अनगिन्ती रमाएका थियौँ । अनुभूतिका रङहरूलाई तस्बिरहरूमा कैद गरेर हामीले सार्वजनिक गरेका थियौँ भने यस विषयमा मैले एउटा यात्रानुभूति पकाएर पस्किएको पनि थिएँ । हाम्रो वर्तमानको यात्रासन्दर्भ यो विषयसँग पनि छोइएर आउँछ । यसैले सन्दर्भ खोस्रिने प्रयास गरेँ ।
हामीले साझीकरण गरेका अनुभूति हेरेर धेरैलाई प्रेरणा र उत्सुकता मिलेको हुनुपर्छ भन्ने अनुमान गर्न सक्छौँ हामी । हाम्रो यो अनुमान शून्यको अनुमान भने होइन । एउटा प्रमाण – अमेरिका निवासी चितवन रत्ननगर नगरपालिका शान्तिचोकका बद्री खनाल छोइएछन् । उनमा पनि यात्राभोक जगाउन सफल भएछौँ हामी । योजना भित्रभित्रै बुनिँदै गयो । राम्रो योजना नै लक्षप्राप्तिको बाटो हो । अम्बिका र बद्री दुई भाइ मिलेर भित्रभित्रै योजनाको रूपरेखा कोर्दै रहेछन् । यसले साकार रूप लिँदाको परिणाम नै हो हाम्रो एबिसी अर्थात् अन्नपूर्ण बेस क्याम्पसम्मको एउटा अविस्मरणीय यात्रा ।
अम्बिका, रामेश्वर र म अघिल्लै यात्रा टोलीका सदस्य थियौँ । अघिल्लो मार्दी हिमाल भ्यु प्वाइन्टसम्मका यात्रा सदस्य एक जना रौसिला साथी विष्णु यसपल्ट छुटे । उनी एकपल्ट गइसकेका रहेछन् । दोहोर्याउन खोज्दै थिए तर सन्दर्भ मिलेन । यात्राका लागि सन्दर्भ मिलाउनु पनि पर्छ । जीवनयात्रा र भ्रमण यात्राको जुइनो एकै ठाउँमा कस्न सके मात्र यात्रासन्दर्भको गाँठो बन्छ । सायद विष्णुले यो गाँठो कस्न सकेनन् र यो यात्राको सहयात्री सदस्य बन्न सकेनन् । यो यात्रामा नयाँ पाँच जना साथी थपिए । थपिनु र छुट्नु यात्राका सामान्य नियम नै हुन् । परिचयविनाको यात्री सदस्य डोर्याउनु अलि असजिलो होला । यसैले हाम्रो यात्रा सदस्यहरूको परिचयको अलिकति फुर्को जोडूँझैँ लागेको छ । मार्दी यात्रामा झैँ यो यात्रामा पनि जेठा सदस्य अम्बिका दुलाल नै हुन् भने कान्छी सदस्य आश्मा खनाल । त्यसपछि क्रमशः बद्री, भाउजू नीरा, रामेश्वर, प्रेम, म र कुश । अम्बिका, रामेश्वर र म प्राध्यापन गर्छौँ, चितवनको जेठो र नेपालकै तेस्रो सामुदायिक क्याम्पस शहीद स्मृति बहुमुखी क्याम्पसमा । आश्मा प्रेमकी छोरी हुन् जो इन्जिनियरको गन्तव्य पनि हिँडिरहेकी छिन् । प्रेम व्यवसायी हुन् र समाजसेवातिर पनि यदाकदा आकर्षित छन् । बद्री र भाउजू नीरा अमेरिका निवासी नेपाली मुटु भएका जाँगर र हौसलाका उदाहरण हुन् जो प्रेमकै साख्यै दाजु र भाउजू पनि हुन् । कुश भाउजू नीराका इन्जिनियर भाइ जो अमेरिकाबाट छुट्टी लिएर यात्रामा मिसिन आइपुगेका छन् ।
हाम्रो यात्रा सुरु हुन्छ २०७८ कात्तिक ५ गते शुक्रवारबाट । हामी ८ जना २ जोली भएर पुग्छौँ पोखरा । पोखरा रमणीय छ तर पोखरा हाम्रो उद्देश्य होइन । उद्देश्य ट्रेकिङको हो – एबिसी अर्थात् अन्नपूर्ण बेस क्याम्पसम्मको । एबिसीको नेपाली रूपान्तरण अन्नपूर्ण आधारशिविर हो तर आजकल यो एबिसीको नामले चर्चित छ । यो धेरैले रुचाएको पदमार्ग हो । पहिले पहिले ट्रेकिङ विदेशीले मात्र गर्थे तर आजकल यो नेपालीहरूमा पनि लोकप्रिय बन्दो छ । नेपालमा धेरै ट्रेकिङ रुटहरू छन् । यो एबिसी ट्रेकिङ रुट विदेशी र स्वदेशी पदयात्रीका बिच निकै लोकप्रिय बनेको छ ।
महेन्द्र पुलमा २ जोलीको भेट भयो । घान्द्रुक हुँदै जाने निधो गर्यौँ हामीले । हुन त एबिसी जाने रुट अर्को पनि छ । एबिसी घान्द्रुकबाट जाँदा पनि हुन्छ । झिन्नु डाँडा हुँदै जान पनि सकिन्छ । झिन्नु डाँडाबाट जाँदा अलि छोटो हुँदो रहेछ यात्रा तर समय छ भने यात्राको मजा घान्द्रुक हुँदै जाँदा बढी हुने अनुमान गर्यौँ हामीले । हुन त हामीमध्ये कोही पनि घान्द्रुक नपुगेकाले घान्द्रुक हुँदै जान सबैको मत मिलेको हो । घान्द्रुकको सुन्दरताका बारेमा सुनेका थियौँ – घान्द्रुकबाट नजिकै हिमशृङ्खला देखिन्छन् रे, सूर्योदयको आभाले हिउँ चुम्दा देखिने लोभलाग्दो दृश्यले यात्रीको मन फुरुङ्ग बनाउँछ रे । ढुङ्गाका कलात्मक सिँढी भएका बाटाहरू, गुरुङ जातिको सांस्कृतिक चित्ताकर्षक विरासत, खेत पाखा वन जङ्गल हावापानीको मिलेको भूबनावट अनि चैत वैशाखमा गुराँस फुलेर यात्रीलाई लठ्याउँछ रे घान्द्रुक । रे रे कै कुराले घान्द्रुकको एउटा सुन्दर काल्पनिक छवि बनेको थियो हाम्रो मनमस्तिष्कमा । हामी पुग्दा घान्द्रुक चिसिन थालिसकेको थियो । कुहिराको घुम्टाले छोपेको थियो घान्द्रुकलाई । बेलुकी जिपले छोडेपछि हामी मोटर हिँड्नका लागि खनेको बाटैबाटो उक्लियौँ । साँझका आँखा झपक्क लाग्न थालेका थिए ।
हामीमध्ये कोही पनि घान्द्रुककसँग प्रत्यक्ष परिचित थिएन । रातको अँध्यारो र हुस्सुको बाक्लो पर्दाले छोप्दा घान्द्रुकको उज्यालो गाउँलाई छोडेर मोटर बाटाको ट्रयाक समात्दै निकै माथि पुगेछौँ हामी । खनेको बाटो टुङ्गियो । नटुङ्गिएको भए अझै बिराएको बाटो हिँडिरहने रहेछौँ । हो, पदयात्राका साथै जीवनयात्रामा पनि यस्तो हुन्छ – बिराउनु, बिराएको बोध हुनु र पुनः सच्चिँदै हिँड्नु दुवै खाले यात्रामा यस्ता कुरा भइरहन्छन् । बिराउनु पनि एउटा शिक्षा हो जीवनको । हामीले यात्रालाई सच्यायौँ । तल ओर्लिएपछि हुस्सुको पर्दा हटेर घान्द्रुक मुस्कायो । घान्द्रुक गेस्ट हाउसको न्यानो आतिथ्यतामा हामी लुटुपुटु भयौँ यात्राको त्यो पहिलो बिसौनीमा ।
कात्तिक ६ गते शनिवार यात्राको दोस्रो दिन उदायो घान्द्रुकको बिहानीमा । हामीले घान्द्रुक चियायौँ । घान्द्रुक पनि फेरिँदै रहेछ धम्पुसजस्तै । गत सालको मार्दी यात्रामा धम्पुस फेरिएको देखेका थियौँ । घान्द्रुककमा पनि कङ्क्रिटको जङ्गल ठडिँदै रहेछ । परम्परागत कलात्मक घरहरू पनि छन् तर ती गुहार लगाइरहेका छन् अनन्तकालसम्म बाँच्न । घान्द्रुकलाई घान्द्रुक नै भएर बाँच्न दिनुपर्ने हो । यसको मौलिकता जोगिए एउटा कलात्मक प्राकृतिक छटा अनि जातीय भौगोलिक विरासत जोगिन्थ्यो । यी त कामना भए हाम्रा तर ती विरासत जोगिने अवस्थामा भने छैनन् । विरासत जस्ताको तस्तै जोगाउन एउटा महान् अभियन्ता खोजिरहेछ घान्द्रुक ।
घान्द्रुकको आकाशमा बादल छ । पानी चुहिन चुहिन लागेको छ । गेस्ट हाउसका आँगनभरि फुलेका सयपत्री फूलले तिहारको निकटता सम्झायो । फूलमा मादकता छ । यो पिएर पाइने मादकता होइन, हेरेर पाइने मादकता हो । पिएर पाइने मादकताभन्दा हेरेर पाइने मादकता निकै सानदार हुन्छ । आज सात बजेबाट घाम लाग्ने मौसम छ – दुलाल दाइले मौसमबारे जानकारी दिनुभयो । मौसमको पूर्वज्ञान प्रविधिले दिएको उपहार हो । जानकारीले हामीलाई अझ उत्साहित बनायो ।
यात्राका लागि जोहो गर्नुपर्ने केही कुरा छुटेछन् । दुलाल दाइले रेजर, रामेश्वर र मैले ब्रस राख्न छुटाएछौँ । अझ रामेश्वरले त ल्याएको उन्डचिटर बाटामा कतै छाडेछन् । ससाना कुरा छुट्नु र छोड्नुले यात्रालाई केही नमज्जा बनाउँछ । रामेश्वरको उन्डचिटर छोडिएको छोडियै भयो तर राख्न छुटाएका चिज भने हामीले किन्यौँ ।
घान्द्रुक (१९४० मिटर) बाट बिहान ८.१५ मा पदयात्रा सुरु भयो । कोमरोङ डाँडा (२२५० मिटर) सम्म पुग्दा ९.३० बज्यो । कोमरोङमा कालो चिया पियौँ । कालो चियाको प्रति कप ६० तिर्यौँ हामीले । उक्लिँदै जाँदा यो पारो अझै बढ्दै जानेछ । पारो बढ्नुमा विकटता प्रमुख कारण हो । सवारी साधन छैन । कि त सामान मान्छेले ढाडमा बोकेर पुर्याउनुपर्छ कि त खच्चडका पिठ्युँमा राखेर लानुपर्छ । घान्द्रुकबाट कोमरोङसम्म उकालो छ । अलि अलि तर्पायाँ तर्पायाँ उकालो । कोमरोङबाट सिधै तल झर्नुपर्दो रहेछ किमरुङ खोला (१८७० मिटर) सम्म । जङ्गलैजङ्गलको अलि लामो ओरालो ओर्लिएपछि तल किमरुङ खोला तन्नेरी नै देखियो । झोलुङ्गे पुल थियो किमरुङ खोलामाथि तर अत्यन्त जीर्ण बनिसकेको थियो । त्यो पुलले निकै तर्सायो हामीलाई । त्यो पुल पनि हाम्रो रोमाञ्चक पदयात्राको एउटा कडी बन्यो । त्यो पुललाई पृष्ठभूमि बनाएर फोटो खिच्नुपर्थ्यो नेपाली दशा बुझाउन तर हामीले पुलमा हिँडेका बेला फोटो खिच्न सकेनौँ । यो पुल नेपालको दुर्दशाको एउटा सानो झलक हो भन्ने ठान्यौँ । किमरुङ खोला तरेर अलिकति उक्लिएपछि किमरुङ गेस्ट हाउसले स्वागत गर्यो । त्यो दिनको बिहानी खाना त्यहीँ खायौँ । रातो चामलको भात, रायाको साग, पाकेको काँक्रो नितान्त स्थानीय खाना अनि आतिथ्यताको नबिर्सिने स्वाद । खाना खाएर थकाइ मार्ने मुडमा हामी थिएनौँ । यसैले खाना लगत्तै यात्रा पुनः सुरु गर्यौँ ।
नाक ठोक्ने उकालो सुरु भयो । यात्रीको वास्तविक लुर नाप्ने उकालो रहेछ त्यो । हतार र हतास पदयात्रीको लक्षण होइन । हिँड, हिँडिरहूँ आत्तिन हुन्न । अत्यासले यात्रालाई नराम्रोसँग गलाउँछ । हामी आत्तिएनौँ त्यो विकट उकालामा । टोपी झर्ने उकालो सकिएपछि दूरबिन डाँडाले स्वागत गर्यो हामीलाई । खास नाम के थियो दूरबिन डाँडाको थाहा भएन । हामीले थाहा पाउने कोसिस पनि गरेनौँ त्यहाँ तर यसरी वास्तविक नाम छाडेर अर्को नामबाट चिनिएकामा पटक्कै मन परेन । मन नपरे पनि जनजिब्राले टिपेपछि कसैको केही लाग्दो रहेनछ । दूरबिन डाँडाबाट फेरि ओरालो सुरु भयो । रामेश्वरको धैर्य बाँध फुटाएर छचल्कियो – “यो चाहिँ ठिक लागेन । यति धेरै उक्लिएर फेरि ओर्लिनुपर्ने तर के गर्ने प्रकृति तँ ठिक होस् या बेठिक होस् भन्ने हाम्रो कुनै अधिकार छैन । प्रकृति ठिक छ जहिले पनि । प्रकृतिअनुरूप ढल्न नसक्ने हामी बरु बेठिक छौँ ।
उज्यालै थियो छोम्रोङ (२१७० मिटर) पुग्दा । छोम्रोङ एबिसी जाने साझा बाटो हो । अर्थात् जुन बाटो गए पनि छोम्रोङ नपुगी एबिसी गइन्न । छोम्रोङमा इन्टरनेसनल होटेल हाम्रो दोस्रो दिनको बिसौनी बन्यो । होटेल तुलनात्मक रूपमा राम्रो थियो । तातो पानीको व्यवस्था, सफा वातावरण, मिलनसार होटेल मालिक । अरू के नै पो चाहिने हो र राम्रो हुन पदयात्रामा । हिमाल खिस्स हाँस्यो, पहाड मुस्कुरायो, छोम्रोङ खोला सुसायो साँझको गोधूलिमा । यी पदयात्राका भिटामिन बने । यिनै भिटामिन पाएर हामी अर्को दिनको यात्राको उत्सुकतामा उत्साहित भइरह्यौँ ।
उत्साह यात्राको साथी हो । जहाँ उत्साह सकिन्छ त्यहीँ यात्रा टुङ्गिन्छ । पदयात्रालाई उत्साहले भरथेग गरेको हुन्छ । हामी पदयात्रामा निरन्तरता चाहिरहेका थियौँ ।
कात्तिक ७ गते आइतवार छोम्रोङको बिहानीमा हिमालले मुग्ध तस्बिर देखायो । हामी लठ्ठियौँ । अब हामी दुई वासमा पुग्छौँ हाम्रो गन्तव्यमा अर्थात् एबिसी । दुई वास वरै हामीलाई मोहनी लगायो हिमालले । मोहोनी लागेपछि मान्छे एकोहोरो बन्छ रे । मोहोनी लगाउनेकै सम्झनामा मान्छे रुन्छ रे, हाँस्छ रे अनि उसैको जपनामा भित्रभित्रै समर्पित बन्छ रे । हाम्रो स्थिति त्यही बन्यो । हिमालसिवाय हाम्रो मनले केही ताकेन ।
कात्तिक ७ गते तेस्रो दिनको यात्रा आरम्भ भयो । छोम्रोङबाट ओरालो सुरु भयो । निरन्तरको लामो ओरालो छ । ओरालो छोम्रोङ खोला पुगेर टुङ्गिन्छ । ओरालाभरि ढुङ्गाका खुड्किलाहरू छन् । फर्किँदा यी खुड्किलाहरू फेरि उक्लनुपर्छ । ओर्लँदाओर्लँदै हामीले उक्लिनुपर्ने कठिनता पनि सँगसँगै नाप्यौँ । ओरालामा भैँसीहरू घाम तापेर बसेका थिए । बाटाभरि भैँसी र खच्चडका गोबरहरूले असजिलो बनाएको थियो यात्रालाई । तल छोम्रोङ खोलामाथि झोलुङ्गे पुल हालिएको रहेछ । पुल यही कोरोनाको समयको अत्यासलाग्दो लकडाउन ताका बनेको र पुलले यात्रीको एक घण्टाभन्दा लामो समय बचाइदिएको यथार्थको बोध भयो । पुल तरेपछि उकालो सुरु भयो । अघि छोम्रोङ डाँडादेखि छोम्रोङ खोलासम्म ओर्लिएको क्षतिपूर्ति पुनः उकालो उकालेर पूरा गरिछाड्यो यात्राले । उकालो, ओरालो, भिरालो, करालो यही त हो पदयात्राको एउटा मीठो मज्जा ।
छोम्रोङ खोलाबाट उकालो हिँडेपछि पहिलो गाउँ आयो – लोअर सिनुवा । त्यहाँ प्रति गोटा २०० रुपियाँमा ओढ्ने प्लास्टिक किन्यौँ । हुन त मैले चितवनबाटै बर्सादी किनेर लगेको थिएँ तर उकालो बाटो बाक्लो बर्सादी ओढेर उक्लिने हिम्मत आएन । यसअघि हामी गोसाइँकुण्ड, मार्दी जहाँ जाँदा पनि पानी नपरेको थिएन । यो यात्रामा पनि पानी पर्छ भन्ने हामीले दृढ अनुमान गरेका थियौँ । लोअर सिनुवाभन्दा माथि खच्चड लान नदिने नियम रहेछ । खच्चडले बाटाभरि फोहोर गर्ने भएकाले यो नियम बनाइएको हो भन्ने सुन्यौँ । त्यहाँभन्दा माथि सामानको ढुवानी गर्दा मान्छेले ढाडमै बोकेर गर्नुपर्ने रहेछ । स्वच्छताका हिसाबले त यो ठिकै हो तर सामान ढुवानीका हिसाबले हेर्दा यो नियम अलि कडा हो भन्ने ठान्यौँ । मार्दी यात्रा र यहाँको एउटा फरक भनेको नै खच्चडको उपयोग हो । मार्दीमा निकै माथिसम्म पनि सामान ढुवानीमा खच्चडको उपयोग हुन्छ । दुईओटा पदयात्रा (मार्दी र एबिसी) को अर्को फरक भनेको डाइनिङ हलमा बालिने धुँवारहित चुलो हो । मार्दीमा हाइ क्याम्पसम्म नै त्यस्ता न्याना चुला थिए तर यो यात्रामा कतै पनि आगाका न्याना चुलाहरू भेटिएनन् । दाउरा बाल्दा जङ्गल मासिने सम्भावना हुने अनि यसले प्राकृतिक सन्तुलनमा पनि खलबल पार्ने हुँदा आगाका चुला विस्थापन गरिएका हुन सक्छन् । चुला विस्थापन गरिनुमा ठोस कारण जे होला तर यो निणर्य त्यति बेठिक लागेन । अर्को कुरा त्यो ट्रेकिङ रुटलाई बचाउन गाउँपालिका स्तरबाटै सो क्षेत्रमा सडक यातायातका लागि बाटो खन्न रोक लगाइएको छ भन्ने पनि सुनियो । माथि गाउँबस्ती नभएको र बाटामा होटल व्यवसाय गर्नेहरू मात्र रहेकाले यो रुट ट्रेकिङ विशेष मात्र बनाउने प्रयोजनले गरिएका यस्ता निणर्य अत्यन्त दूरगामी निणर्य हो भन्ने लाग्यो । त्यहीँ (लोअर सिनुवामा) मुस्ताङे स्याउ किने कुशले । ज्यादै मिठो स्याउ खायौँ – प्रति गोटा ५० मा । ठाउँका हिसाबले स्याउको मूल्य सस्तो हो । लोअर सिनुवापछि अपर सिनुवा (२३५० मिटर) आयो । अपर सिनुवामा बिहानी खाना अलि छिटो हुने ठान्यौँ र खानाका लागि बेम्बो (२३०० मिटर) पुग्ने निधो गर्यौँ । अपर सिनुवाबाट बेम्बो पुग्न २ घण्टा लाग्दो रहेछ । बाटामा छेउछाउ निगालो बाँसका झ्याङ छन् । निगालो बाँसको जङ्गलैजङ्गलका बिचमा रहेछ बेम्बो । बेम्बोले पनि बाटाका अरू ठाउँको झैँ पुरानो नाम गुमाइसकेको रहेछ । बेम्बो पुग्नुअघि ढुङ्गाका खुड्किलाहरूका लामै बाटो ओर्लिँयौ । तल मोदी खोला सुसाइरहेछ, वारि र पारि पाखाबाट दुधिला झर्नाहरू झरिरहेछन् । सुनसान छ जङ्गल । बाटामा आउनेजानेहरू प्रशस्त भेटिन्छन् । बाटो हिँड्नेहरूमा अधिकांश युवा छन् । चराचुरुङ्गीका आवाज खासै सुनिँदैन । फर्किनेहरूले हामीलाई भाग्यमानी भने किनकि यसअघि जानेहरूको यात्रा निरन्तरको झरीले कष्टकर बनाएको रहेछ । हामी हिँड्दा न्यानो घाम लागेको थियो तर माथिसम्म नै भाग्यमानी भएरै पुग्न पाए हुन्थ्यो; हाम्रो मनले यही भनिरहेछ तर प्रकृति कतिखेर बदलिन्छ यो हाम्रो वशमा थिएन ।
बेम्बो पुगेर बिहानी खाना खायौँ । खाना सरदर उस्तै हो – दाल, भात, तरकारी, अचार । अलि पिरो खान चाहनेहरूका लागि अकबरे खुर्सानी । रामेश्वर अकबरे खुर्सानी औधी मन पराउँछन् । उनको जिकिर छ – अरू खुर्सानी र अकबरेमा फरक छ । अकबरेले पेटलाई हानि गर्दैन, फाइदै पुर्याउँछ ।
पानी पर्न सुरु भयो बेम्बोमा । पानीमा पदयात्रा सजिलो हुन्न । जेनतेन बर्सादी ओढेर टाउको र जिउ भिज्नबाट जोगिएला तर जुत्ता जोगिन्न । भिजेको जुत्ताले पदयात्रामा एउटा झ्याउलाग्दो अवस्था थोपर्छ । पानी पर्दापर्दै हिँड्न गाह्रो परिरहेछ । रोकिएला र हिँडुँला भन्दाभन्दै समय अलि सर्यो । पानीको गति मन्द भएपछि बर्सादी ओढेर निस्कियौँ । पानी परिरहे हाम्रो बसाइ हिमालयसम्म हो । नपरे अलि माथि पुगिन्छ कि भन्ने थियो । पानी रोकिएन । हाम्रो हिँडाइ दोभान (२५९० मिटर) मा पनि रोकिएन । बेम्बो छाडेको २ घण्टा ५० मिनेट पछि साँझ ५.२० मा हिमालय (२९०० मिटर) ले स्वागत गर्यो । त्यहाँभन्दा माथि जाने हिम्मत आएन । यात्राको तेस्रो बास हिमालय नै बन्यो । पानीले जुत्ता मोजा भिजेका थिए । चिसाले भित्रैसम्म छोइरहेको थियो । मोदी खोला अनवरत सुसाउँदै बग्दै थियो तल । खोलाको सङ्गीतमा ध्यानस्थ बनिरह्यौँ । अर्को कुरा हिमालय नामले स्थानका बारे अग्लो टाकुराको प्रतिबिम्ब बनेको थियो मनमा तर हिमालय पनि हामी हिँडेकै मोदी खोलाकै खोचमा रहेछ । नाम र ठामको तालमेल भएन । हुन त नाम र त्यसले बुझाउने अर्थका बिच तालमेल हुँदैन । नाम र त्यसले जनाउने अर्थका बिच तालमेल भए कृष्णबहादुर सेतो वर्णको हुनुहुन्नथ्यो, लक्ष्मीप्रसाद गरीब अनि सरस्वतीप्रसाद पटमूर्ख पनि हुनुहुन्नथ्यो । बद्री दाइले ट्राभल हिस्ट्रि हेरे । १९ किलोमिटर हिँडेछौँ त्यो दिन । हामी बसेको होटेल नयाँ नै रहेछ । कोरियन प्रविधिबाट बनेको । बसाइ राम्रै भयो भन्नुपर्छ । यति माथिको कठिन ठाउँमा यति सुविधा हुनुमा गुनासो गर्नु उपयुक्त हुन्न भन्ने ठान्यौँ ।
कात्तिक ८ गते बिहानको नास्ता लिएपछि सुरु भयो चौथो दिनको यात्रा । अघिल्लो दिनको पानीले भिजेको जुत्ता सुकेका रहेनछन् चौथो दिन बिहानसम्म पनि । अरूका अनुभवमा के छ त्यो म जान्दिन तर मेरा अनुभवमा भिजेका मोजा र जुत्ताले यात्राको रमणीयतामा अलिकति खलबल ल्याउँछ । जे भए पनि सुक्ने र सुकाउने फुर्सद नहुँदो रहेछ यात्रामा । कुतूहलता यात्राको सिप्किनो रहेछ जसले यात्रीको मनलाई पिटिरहँदो रहेछ । यात्राको लालसा पनि हो रोकिन नसक्नु । यात्रामा लालसा नहुँदो हो त यात्री स्थिरीकृत हुन्थ्यो होला । हामी पनि स्थिरीकृत बन्न सकेनौँ । लालसाले यात्रालाई मात्र नभएर जीवनलाई पनि अग्रगमनतिर धकेल्न सक्छ । सक्छ यसकारण कि सबै लालसा सकारात्मक हुन्नन् । आवश्यकताभन्दा बढीको लालसा दुःखको बाटो हो । ठिक्क मात्राको लालसा खराब होइन । ठिक्क मात्राको भनेको क्षमताले धान्ने लालसा । यो चाहिँ थपूँझैँ लाग्यो – कोही मान्छेहरू लालसालाई सिकार गर्छन् र अघि बढ्छन् भने कोही यसकै सिकार बन्छन् र सकिन्छन् ।
हिमालबाट देउराली (३२०० मिटर) सम्मको उकालो यात्राको सम्झन लायक उकालो रह्यो । बिहानी जोसमा भएर मात्र नत्र त्यो उकालाको उक्लाइ निकै थकाउने बन्थ्यो । हामीले रातभरि बचत गरेको ऊर्जा त्यही उकालामा खर्च गर्यौँ । यसैले त्यो उकालाले हामीलाई कत्ति पनि विचलित बनाउन सकेन । देउरालीसम्म पुग्दा हाम्रो हिमालयको नास्ता घटेको थिएन । यसैले एमबिसी (माछापुच्छ्रे बेस क्याम्प/३७०० मिटर) लाई बिहानी खानाको गन्तव्य बनाउने सल्लाह भयो । देउरालीबाट अब ५०० मिटर उक्लनु थियो हामीले एमबिसीसम्म । ५०० मिटर उक्लन पनि निकै हिँड्नुपर्यो किनकि पदयात्रामा ५०० मिटर एकै आधारबाट सिधै उक्लने होइन । बिस्तारै बिस्तारै तर्पायाँ उकालो उक्लिँदै ५०० मिटर चढिने हुँदा लामै बाटो नाप्नुपर्छ त्यहाँ । हिमालयबाट लगभग ४ घण्टाको बाटो हो एमबिसी । देउरालीबाट एमबिसी पुग्न २ घण्टा लाग्छ यात्रारेख कोरिएको बोर्डको सङ्केतबाट पनि ।
बाटाको दायाँ पारेर बग्ने र बाटामै तर्नुपर्ने हिमखोलाको सुन्दरताको बयान शब्दमा गर्न सकिन्न । हिमखोला दुध बनेर बगिरहेछ । हामी प्रकृतिको अवणर्नीय स्वर्गमा छौँ । चिसो हावाको स्पर्शले छुँदै जान्छ हामीलाई । माथि-माथि काला चट्टान छन् । अब एक डेढ महिनामा बिस्तारै हिउँ पर्न थाल्छ त्यहाँ पनि । ती काला चट्टान हिउँका चुली बन्छन् । ती चुलीमा अडिन नसकेका पाउडरी हिउँका थुप्रा बारम्बार खस्छन् बाटामा । हिउँ तलसम्म पर्न थालेपछि असोज कार्तिकको पदयात्रा सिजन सकिन्छ ।
मोदी खोलाको तिरैतिर उकालो लागिरह्यौँ । दुई पहाडको बिचबाट फुत्त निस्किएको हिमालको टाकुराले लोभ्याइरह्यो । त्यही टाकुरो हेरेर अघि बढिरह्यौ । नजिकै देखिएको छ त्यो हिम टाकुरो तर जति हिँडे पनि भेटिएको छैन । हिँड्दा हिँड्दै हामी माछापुच्छ्रे बेस क्याम्प पुग्यौँ । चिसो बढ्दै छ, हावा चलेको छ । हाम्रो बिहानी खानाको जोहो त्यहीँ भयो । भोकले नै होला खाना निकै मिठो मान्यौँ हामीले । विकटता बढ्दै छ, लेक लाग्ने सम्भावना पनि छ । त्यहीँ सुन्यौँ – एकैछिनअघि एउटा पदयात्रीले भोमिट गर्यो । एकैछिनमा हेलिकप्टर आएर लिएर झर्यो पोखरा । यस्ता कुराले हामी अगाडि त्रास तेर्सिन्छ बारम्बार । यही त्रासले हामीले काचो लसुनको पोटी तीखो पीरो बिर्सेर चपायौँ । अब माथि एबिसी जान २ घण्टा समय लाग्छ तर जाने कि यहीँ बस्ने ? हामीले निधो गर्यौँ – माथि नै जाने तर असजिलो महसुस भए झर्ने । हुन त अम्बिका दाइ, रामेश्वर र म यसअघि पनि चार हजार माथिका पदयात्रामा सहभागी भइसकेका थियौँ । बाँकी टोली सदस्यहरूको यो अनुभव छैन । अनुभव भए पनि लेक नलाग्ला भन्ने के ग्यारेन्टी छ र ? अनि टिममा हिँडेपछि कुनै एक सदस्यको समस्या पनि टिमको समस्या हो । विभिन्न कुरा मनमा खेलिरहे पनि अन्ततः खानापछि एबिसीतर्फ हिँडयौँ हामी ।
माथि उक्लिँदै जाँदा हिमखोलाको आकार घट्दै गएको छ । तल गल्छेडोबाट उक्लिएको चिसो हुस्सुले बाक्लो टोपीका अन्तरकुन्तरबाट छिरेर चिस्याएको छ टाउकालाई । मुखमा स्याँठले हानेको छ । घाम छैन कतै पनि । कताकति लागेका घाम पनि ठिहिर्याउँछ यहाँ । उकालो त्यति सारो छैन तर जति माथि उक्लियो त्यति तर्पायाँ उकालो पनि दरो बन्दै गएको छ । पदयात्रामा हामीले सिकेका छौँ – उचाइको पदयात्रामा हतार गर्नु हुन्न । बिस्तारै पाइला चाले आधा घण्टा ढिलो होला गन्तव्य पुग्न तर जिउलाई केही हुन्न । यो सूत्रमा अम्बिका दाइ र मेरो कुरा ठ्याक्कै मिल्छ । हामी हतार गर्दैनौँ उक्लिन तर पनि हामीलाई समयमै गन्तव्यले स्वागत गर्छ जहिले पनि ।
वरिपरि डाँडाकाँडा देखिएको छैन हुस्सुले । रुखबिरुवाहरू तलै छाडिइसके । खोला बिस्तारै कुलोमा परिणत हुँदै छ । जति देखिएको छ त्यतिले नै सुन्दरताको आभास दिइरहेछन् । बद्री दाइ मुग्ध छन् । भाउजू नीरामा पनि खुसीको चमक देखिएको छ । रामेश्वर अझ भावनामा बग्छन् । भन्छन् – “म यो देशको कार्यकारी भए सुविधायुक्त सुन्दर सहर बनाउँथेँ यहाँ ।” यो भावातिरेक हो उनको । यो ठाउँ प्रकृति खेल्ने ठाउँ हो । यसलाई मानव अतिक्रमणको चोर आँखाले हेर्न हुन्न । प्रकृति जे छ त्यो त्यही अवस्थामै ठिक छ । प्रकृतिमाथि धावा बोल्दा यसको रौद्र रूपको पटक-पटक सामना गर्नुपरेको छ मान्छेले । प्रकृतिलाई भाँचकुँच नगरी गरिने विकास दिगो विकास हो मेरा विचारमा ।
चौथो दिन अपराह्ण ३ बजेर ३५ मिनेटमै एबिसी पुगियो । वरिपरि हुस्सुको बाक्लो पर्दाले बेस क्याम्पबाहेक केही देखिएको छैन । चिसो हावा चलेको छ । चिसो हावा छल्न होटेल भित्र पस्यौँ । तातो पानी चिया खाएर अलिकति जिउ तातिएपछि बाहिर हेर्यौँ । हुस्सुका पर्दा थोरै खुलेर हिमालका केही चुचुराले दर्शन दिए । हिमाल कसरी बसेको छ अझै पूरा ज्ञान हुन सकेको छैन तर जति देखिएको छ त्यतिले पनि मन हौस्याएको छ । स्याँठको कोर्राले हान्दा धेरै समय बाहिर बस्न सक्ने अवस्था छैन । होटलभित्रै पस्यौँ हामी । अलिकति फुर्सद निस्किएको छ दिन सकिन बाँचेर । फुर्सदमा बद्री दाइ, भाउजू नीरा र कुशले अमेरिकाका जीवनशैलीबारे अनुभूति सेयर गरे । बद्री दाइ र भाउजू रत्ननगरकै भए पनि मेरो प्रत्यक्ष भेट भएको नै यही यात्रामा हो । दुवै निकै उत्साहित र व्यावहारिक रहेछन् । दाइले ६० को दशक छोए पनि उनमा रहेका उत्साहले ६० को झल्को दिएको छैन । उमेरका कुरा गर्ने हो भने हाम्रो यात्रा टोलीमा २ जना ६० कटेका सदस्य छन् । हामीले यात्राभरि यो उमेरका स्वदेशी पदयात्री भेटेनौँ तर एक जना ६७ वर्षीय विदेशी पर्यटक भेटेका थियौँ बाटामा । हाम्रोमा ६० भनेको हरिभजन गरेर बस्ने उमेर मानिन्छ तर बाहिर ६० का युवाहरू प्रशस्त भेटिन्छन् । मान्छेभित्र रहेको जोस, जाँगर र उत्साहले उमेर पुगेका पाकालाई पनि युवा बनाएको हुन्छ ।
चिसो बढेर हो या भोलिको उमङ्गले हो या उचाइको असरले हो कि त्यो रात अधिकांश सदस्य पूरा निदाउन सकेनौँ । रातमा बाहिर निस्केर हेर्दा वरिपरि हिमालले घेरेको बिचमा रहेछौँ हामी । जून लागेको रात नीलो आकाशमुनि हिमालका चुचुराहरूको सुन्दरता अनुपम देखियो तर अनुभवीहरू भन्छन् – एबिसीको सुन्दरता साँझ र रातमा भन्दा अझ बिहान बढी हुन्छ ।
कार्तिक ९ गते बिहान यात्राको उच्चतम सन्तुष्टि पाइने बिहान हो । झिसमिसे उज्यालोदेखि नै तयार छौँ यसका लागि । वरिपरि ३६० डिग्रिमा एकदम नजिकै हिमचुचुराहरू देखिएका छन् । हिमोपत्यका भन्दा हुन्छ त्यस ठाउँलाई । हामी एउटा अपूर्व प्राकृतिक कचौराका बिचमा छौँ र त्यही कचौराका वरिपरि बिटमा हिमदन्तका लहर छन् । माछापुछ्रे टलक्क टल्किएर गजधम्म बसेको छ । हिमचुली, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम, गन्धर्व चुली, सिङ चुली आदि चुलीहरूले घेरिएर पदयात्रीहरू प्रातःकालीन सौर्य आभाको हिमचुम्वन दर्शनका लागि प्रतीक्षारत भइरहेका छन् । भ्यु प्वाइन्टको मूल ठाउँ नजिकै ठुलो खाडल देखिन्छ । हिउँ पर्ने मौसम सकिएपछि गर्मीमा हिउँ पग्लिएर बग्ने हिम खोलाले काटेर बनाएको खाडल हुनुपर्छ त्यो । हामी बसेको बेस क्याम्पका होटलहरू धेरै सुरक्षित छैनन् । केही वर्षपछि पहिरोले खर्लप्प निलेर यो ठाउँलाई होटेलरहित बेसक्याम्प मात्र बनाउँछ होला किनकि जहाँ होटेलहरू छन् त्यही एकातिरबाट कटान छ भने अर्कातिरबाट पहिरो आइरहेको छ ।
घाम झुल्किएर अन्नपूर्ण साउथ र अन्नपूर्ण प्रथमलाई स्पर्श गर्यो । प्रभाती सूर्य किरणले हिमालको सिउँदो भर्दा हामीले सम्पूर्ण कुरा बिर्सियौँ र समाहित भयौँ प्रकृतिमा । यो दृश्यको शब्दमा हुबहु वर्णन गर्न सकिन्न । फोटाहरूमा पनि सुन्दरताको अलिकति अंश मात्र पोतिएर आएको हुन्छ । हामीले हाम्रा साथीभाइ, इष्टमित्रका निम्ति एउटा सानो उपहार अनि आफ्नै सम्झाउनी बिर्साउनीका लागि फोटाहरू खिच्यौँ । हामीले त्यहाँ जे देख्यौँ खिचेका फोटाहरूमा त्यसका सारै सानो अंश मात्र कैद भएको छ ।
अन्नपूर्ण प्रथम आजभन्दा ७०/७१ वर्ष अघि आरोहण गरिएको हिमाल हो जति बेला सगरमाथाको पनि आरोहण इतिहास कोरिएको थिएन । अन्नपूर्ण प्रथम आरोहण भएको ३ वर्षपछि मात्र सगरमाथामा पहिलो मानव पाइला परेको ऐतिहासिक तथ्यले बताउँछ । यो हिमाल नेपालको पहिलो आरोहण इतिहास कोरिएको हिमाल रहेछ । फ्रान्सेली नागरिक मौरिज हर्गोजले ८०९१ मिटर अग्लो यो अन्नपूर्ण प्रथम पहिलोपटक सन् १९५० को जुन ३ मा उत्तरी आधारशिविरबाट सफल आरोहणको कीर्तिमान कायम गरेपछि नेपालको पर्वतारोहणको सम्भावना अन्ताराष्ट्रियीकरण भएको रहेछ । यो कति महत्त्वपूर्ण विषय हो भन्ने कुरा मौरिज हर्गोजले यो हिमालमा आरोहणको कीर्तिमान बनाएपछि फ्रान्समा ३ दिन राष्ट्रिय उत्सव मनाइएको तथ्यले पनि पुष्टि गर्छ । हर्गोजले आरोहण गरेको नर्थ अन्नपूर्ण बेस क्याम्प अझै गुमनाम नै रहेछ । अहिले आएर यसको खोजी र क्याम्पिङ ट्रेक गर्ने पर्यटक भित्र्याउने फाट्टफुट्ट प्रयास भएका रहेछन् ।
भौगोलिक तथ्यलाई आधार मान्दा अन्नपूर्ण हिमालले म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्ला समेटेको छ । हामी कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने बेस क्याम्पमा छौँ । आजकल अन्नपूर्ण बेस क्याम्प भनेर यही ठाउँलाई बुझिए पनि आरोहण इतिहाससँगै जोडिएको आधारशिविर भने उत्तरी फेस नै हो भनेर हिमालको इतिहास बुझ्नेहरूले भन्छन् । म्याग्दीपट्टिको आधारशिविरको ट्रेकिङ रुटलाई प्रथम आरोही मौरिज हर्गोजको सम्मानमा मौरिज हर्गोज ट्रेक नामकरण गरिएको प्रसङ्गले साहस र वीरता देशको भूगोलभित्र मात्र सीमित हुँदैन भन्ने तथ्य उजागर हुन्छ ।
अहिले हामी कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधारशिविरमा छौँ । यहाँबाट माछापुच्छ्रे, गन्धर्व चुली, हिमचुली अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम, सिङ चुली आदि हिमालको वर्तुलाकार शृङ्खला देखिने भए पनि यो बेस क्याम्पलाई अरू हिमालको नाम जोडेर चिनिन्न । यो हुनुमा प्रभाती सूर्यकिरण पहिलो पटक अन्नपूर्ण हिमालमै पर्ने र त्यसको सुन्दरताले मोहित बनाउने हुँदा उच्चतम सन्तुष्टि पाइने दृश्यावलोकनका आधारमा यसको नाम एबिसी अर्थात् अन्नपूर्ण बेस क्याम्प बनेको हो भन्दा फरक नपर्ला ।
अन्नपूर्णको सानो नालीबेली कोरिसकेर म यात्रातिरै मोडिन्छु किनकि तथ्याङ्कका गरुङ्गा भारी धेरै बोकाएर बोझिलो बनाउने मेरो उद्देश्य होइन । मेरो उद्देश्य त यहाँ हाम्रो यात्रा टोली सँगसँगै कास्कीको अन्नपूर्ण गाउँपालिका हुँदै हिँडिने एबिसीको ट्रेकिङ रुटमा धेरैलाई डोर्याउनु हो ।
अन्नपूर्ण आधारशिविरमा जति बेला हामी पुग्यौँ त्यति बेला माइनस आठ डिग्रिको चिसो थियो । चिसाले हामी सबैका आँखा र मुख फुलेका थिए । हामीले त्यो व्यक्तिगत शारीरिक असजिलो बिर्सेका थियौँ किनकि सुन्दरताको सीमान्त बिन्दुले हामी ब्रह्मानन्द सहोदरमा पुगिसकेका थियौँ । ब्रह्मानन्द सहोदर भनेको न तेरो न मेरो भन्ने अवस्थाको बिन्दु हो । व्यावहारिक जीवनमा यस्तो अवस्था प्राप्त हुन निकै कठिन छ । हाम्रो पदयात्राको एउटा उच्चतम लक्ष्य भनेको तेरो मेरो भन्ने अवस्था बिर्सेर एउटा सुखद अनुभूतिको चरमोत्कर्ष प्राप्ति नै हो ।
पाचौँ दिनको बिहान हामी फर्कने क्रममा छौँ । उक्लिँदा जत्तिको कठिन छैन ओर्लनु । छिटो पनि हुन्छ ओर्लन तर ओर्लँदा विचार पुर्याएन भने सिधै घुँडामा असर गर्छ । ओरालाको यो असर नबुझ्नेहरू तल ओर्लँदाओर्लँदै घाइते बन्छन् । बाटामा कतिपय पदयात्रीहरूको यो बिजोक पनि देख्यौँ हामीले । हामी आआफ्नो घुँडा जोगाउँदै ओर्लियौँ । फर्किँदा बिहानी खानाको डेस्टिनेसन हिमालय नै बन्यो । पाँचौँ दिन अपर सिनुवामा पुग्नुअघि झमक्क साँझ पर्यो । जङ्गलको बाटो छ । रामेश्वरलाई ओर्लँदा घुँडाले धोका दिन थालेको छ । यसअघिको यात्रामा अम्बिका दाइलाई निकै सकस हुन्थ्यो । यसपल्ट जुत्ता फेरेकाले खासै समस्या भएन ओर्लन । हामीले मार्दी यात्रामा लाइट राख्न बिर्सेर पछुताएका थियौँ किनकि लाइटविनाको त्यो यात्रा निकै अप्ठ्यारो पनि भएको थियो तर हामीले यसपल्ट एक-एक ओटा लाइट राख्न बिर्सेनौँ । यो झम्के साँझको जङ्गली बाटामा यसले निकै सघायो हाम्रो यात्रालाई ।
कार्तिक १० गते हाम्रो यात्राको छैटौँ दिन हो । अपर सिनुवाबाट ओरालो ओर्लिएर तल छोम्रोङ खोला पुग्नु छ । छोम्रोङको उकालो सम्झिएका छौँ । उकालो बेस्सरी थकाउने खालको छ । छोम्रोङ उक्लिएपछि पोखरा पुग्न दुई बाटो फाटिन्छन् । जुन बाटाबाट गए पनि हुन्छ पोखरा । हामीले आएको बाटो दोहोर्याएनौँ फर्किन । छोम्रोङबाट झिन्नु झर्यौँ । छोम्रोङबाट पहाडको नाकैनाक सिधै ओर्नु पर्ने ओरालो निकै कठिन छ । बाटामा एक जना स्थानीयले खुवाएको स्वादिष्ट काँक्रो अझै मुखमा झुन्डिरहेको छ । त्यही ओरालो ओर्लँदा बाटामा रु. ५० तिरेर फोक्से मुला खाएको प्रसङ्ग पनि स्मरणीय छ । झिन्नुमा आएर बिहानी खाना खायौँ । झिन्नु तल किमरुङ खोलामाथि बनाइएको लामो झोलुङ्गे पुलले यात्रालाई लगभग डेढ घण्टा छोट्याउँदो रहेछ । पुलबाट करिब एक घण्टा उक्लिएपछि मोटरबाटो आयो । मोटरबाटामा ठाउँ-ठाउँमा पहिरो छ । ठुला-ठुला ढुङ्गा खसेका छन् । यहाँसम्म जिप आउँदैन । मोटर बाटैबाटो मत्क्यु पुगे पछि जिप पाइन्छ रे । अब नजिकै छ पदयात्राको समाप्तिबिन्दु । नजिक भए पनि हामीलाई टाढा लागिरहेको छ । जब बिसौनी नजिक भएको सूचना पाइन्छ तब छोटो बाटो पनि लामो लाग्छ । यो यात्राको मनोविज्ञान हो ।
मत्क्यु पुग्यौँ हामी । पदयात्राको अन्त्य त्यही मत्क्युमै भयो । जिप हिँड्यो । त्यो मोटरबाटाको ट्रयाक स्थानीयले खोलेका रहेछन् । सरकार त्यहाँको बाटामा छैन । साँघुरो बाटो निकै डरलाग्दो छ । हामीले यात्रा गर्नुअघि त्यही बाटामा ८ जना यात्री बोकेको जिप दुर्घटना भई ७ जनाको दुःखद अन्त्य भएको सुनेका थियौँ । जिप खसेको ठाउँ देखाए चालकले । आङ जिरिङ्ग भयो । मृतकका लुगाजुत्ता अझै त्यहीँ रहेछन् । मत्क्युबाट गरिएको त्यो त्रासदीपूर्ण यात्रा २ घण्टा १९ मिनेटमा पोखरा आएर टुङ्गियो । हामी त्यही दिन फर्कियौँ चितवन ।
चितवन आएर पनि झलझलती अन्नपूणर्का राता चुली सम्झिरहेका छौँ जहाँ प्रभाती सूर्यले हरदिन अन्नपूणर्का कुमारी सिउँदामा सिन्दुर भर्छन् । हरदिन प्रातःकाल अन्नपूर्णलाई सूर्यले सिन्दूर भरेर दुलही बनाएको हेर्न यात्रा सिजनमा पदयात्री आइरहन्छन् त्यहाँ । माछापुच्छ्रेको शालीनता, अन्नपूर्ण साउथको भव्यता, गन्धर्व चुली, हिम चुली, सिङ चुलीहरूको मादकता अझै पनि हटेको छैन मनबाट । दुधिला झर्ना, मृदु आवाजमा सुसाइरहेको मोदी खोला, जङ्गलको नीरवता, स्थानीयको आत्मीय आतिथ्य, पसीना कडाउने उकालो अनि थकाउने ओरालाको विकटता, त्यो मीठो गुरुङ रोटी, यात्रामा भेटिएका दोहोरिलता यात्रीहरू यही हाम्रा पदयात्राका बिर्सन नसकिने उपहार हुन् जीवनभरका लागि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।