साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

द ह्वाइट टाइगर (सेतो बाघ) / अरबिन्द अडिगा- भाग ४४

“म चाबी बर्सौदेखि खोज्दै थिएँ, तर _ _”

झर्याम्म बोतल फुटेको आवाज कार पार्कको सुनसानमा खुबै गुञ्जियो । त्यो आवाज पक्कै पनि घरका तलाहरू हुँदै तेह्रौ तलासम्म पनि पुग्यो होला ।

कोही तल दौडर आउँछ कि भनेर म कुरेर बसेँ ।

कोही पनि आएन । म जोगिएँ ।

बत्ति नजिकै लगेर बाँकी बचेको चिज हेरेँ । लामा, तिखा नङ्ग्राजस्तो डरलाग्दो फुटेको बोतल ।

niti book inside post

गजब मिलेको ।

वरिपरिका फुटेका सिसाका टुक्राहरू खुट्टाले सोहोरेर थुप्य्राएँ । हातको रगत पुछेँ र कुचोले सिनित्त बढारेर सफा पारेँ ।

घुँडाको बलमा निहुरेर कतै टुक्राहरू कि छन्‌ कि भनेर हेरे । कार पार्कमा त्यही पटक पटक पढेको कविताको लाइन गुन्जिएको सुनेँ-

“तर ढोका त सधैं खुल्लै थियो ।”

धर्म भुइँमा सुतिरहेको थियो । साङ्लाहरू उसको टाउकोमै उक्लिएका थिए । झकझक्याएर उठाउँदै भनेँ, “ए झुलभित्र सुत्‌ !” ऊ आँखै नखोली झुलभित्र पस्यो | म भुइँमा बसेर साङ्ला मार्न थाले । मेरो हत्केलामा अझै रगत बाँकी थियो । पातमा बसेको लेडीबर्ड किरा जस्तै ३ थोपा रगत हत्केलामा थियो । केटाकेटी पारामा हत्केला चुस्दै म सुतेँ ।

आइतबार बिहान अशोकजीलाई लिएर कतै जान पर्दैनथ्यो । भान्सामा गएर भाँडा धोएँ, फ्रिज पुर्छे र भनेँ, “तपाईं आज बिहान मलाई फुर्सद दिनुहोस्‌ ।”

“किन ?” पढिरहेको पत्रिका तल सारेर हेर्दै सोधे, “तिमीले बिहानको छुट्टी आजसम्म मागेको थिएनौं । कता जाने हो र ?”

मनमनै भने, “मैले घर छोडेर बाहिर निस्कँदा आजसम्म कता जाने हो भनेर तिमीले सोधेका थिएनौं ! उमाले तिमीलाई के गरिदिइछन्‌ हँ ?”

“म केही समय केटोसँग बिताउन चाहन्छु, हजूर | केटालाई लिएर चिडियाखाना जान मन छ हजूर । उसलाई जनावरहरू हेर्न मन छ होला ।”

मुस्कुराउँदै भने, “तिमी बडो पारिवारिक मान्छे छौ बलराम | जा र केटासँग रमाइलो गर ।” फेरि पत्रिका पढ्न थाले । त्यो अङ्ग्रेजी पत्रिकाको माथिबाट मैले उनको आँखामा कप्ट्याइँ देखेँ !

बकिङ्घम टावरबाट बाहिर निस्केपछि धर्मलाई पर्खिन भनेर फेरि फर्केर गएर गेट लगाए नलगाएको निधो गरेँ । आधाघन्टा पछि अशोक तल लबीमा थिए | एक जना हेर्दा नोकरजस्तै देखिने कालो मानिस उनलाई भेट्न आएको थियो । दुवैजना एकछिन बोले र त्यो पुन्टे मानिस शिर झुकाउँदै नमस्ते गरेर गयो | हेर्दा ती दुवैले कुनै सम्झौता गरेजस्तो देखिन्थ्यो ।

म धर्मले पर्खिबसेको ठाउँमा गएँ र भने, “हिँड अब जाऔँ ।”

उ र म बस चढेर चिडियाखाना भएको ठाउँ ओल्ड फोर्ट गयौँ । पूरै समय मैले धर्मको टाउको माथि हात राखेँ । उसले माया गरेको हो भनिठान्यो होला, तर मैले हात नकामोस्‌ भनेर त्यसो गरेको थिएँ । बिहानभरि मेरो हात चुँडेको माउसुलीको पुच्छरजस्तै काम्दै थियो ।

पहिलो चोट मेरो नै हुनेछ । सबै चिज ठिकठाक थियो । बिग्रने सम्भावना केही थिएन, तर म स्विकाछुँ म साहसी मानिस चाहिँ होइन ।

बसमा भीड भएकोले पूरै समय हामी दुवै उभिन पर्यो । हामी दुवै सुङ्गुरजस्तै पसिनै पसिना भयौं । गर्मीमा बसको यात्रा कति सकस हुन्छ भन्ने मैले बिर्सिसकेको रहेछु । हामी रातो बत्तीमा रोकिँदा एउटा मर्सिडिज बेन्ज कार हामी चढेको बसको छेउमा आएर रोकियो । बन्द झ्यालभित्र चिसो अन्डाभित्र बसेको ड्राइभर ङिच्च हाँसेर रातो दाँत देखायो ।

टिकट काट्ने ठाउँमा मानिसको लामो लाइन थियो । मैले बुझँ कि चिडियाखाना हेर्न जाने परिवारहरू धेरै थिए । थुप्रै युवा युवतीको जोडी हात समातेर हाँस्दै, एकअर्कालाई चिमोट्दै, एक अर्कालाई कर्के नजरले हेर्दै चिडियाखाना जाँदै थिए मानौँ त्यो प्रणय गर्ने ठाउँ हो । त्यो देखेर म छक्क परेँ ।

मलाई त्यसको कुनै मतलब थिएन ।

महामहिम, प्रत्येक दिन हजारौं विदेशीहरू जहाज चढेर मेरो देशमा ज्ञानको खोजीमा आउँछन्‌ । तिनीहरू कि हिमालय, कि बनारस वा बोधगया जान्छन्‌ । तिनीहरू अनौठो योगासन सिक्छन्‌, गाँजा तान्छन्‌, एकदुई जना साघुलाई गाँड मार्छन्‌ र ज्ञान प्राप्त हुँदै छ भनी ठान्छन्‌ ।

क्या मज्जा !

तपाईं पनि ज्ञान प्राप्तिका लागि भनेर भारत आउन थाल्नुभएको हो भने गङ्गा र आश्रम बिर्सिनुस्‌ र सीधै दिल्लीको मुटुमा अवस्थित राष्ट्रिय चिडियाखानामा जानुस्‌ ।

धर्मले र मैले कृत्रिम पोखरीको बीचमा ताडीको रूखमा बसिरहेका सुनौला ठोँड भएका भुँडीफोरहरू देख्यौं । भुँडीफोरहरू उड्दै हरियो पानीमा झ्वाम्म डुब्दा तिनका पखेटाको गुलाबी रङ्ग देखिन्थ्यो । परपट्टि ओल्ड फोर्टको भग्नावशेष देखिन्थ्यो ।

ती महान्‌ कवि इकबालले भनेको कुरा सही हो । उनले भनेका छन्‌ कि जब तिमी संसारको सौन्दर्य आत्मसात गर्न सक्ने बन्छौ, अनि तिमी कसैको नोकर रहँदैनौ । ती नक्सलवादीहरू र तिनले चाइनाबाट ल्याएको बन्दुकहरू भाँडमा जाउन्‌ । प्रत्येक गरिबहरूका छोराहरूलाई चित्र कसरी बनाउने भन्ने कुरा सिकायो भने, भारतमा धनीहरूको अन्त्य हुन्छ |

बाहिरी पर्खालका भव्य अग्ला र होचा पर्खाल, आकाश देखिने ढुङ्गाका प्वालहरु, उज्यालोमा चम्केका ढुङ्गाहरू पक्कै पनि धर्मले खुबै प्रशंसा गर्यो भन्नेमा म ढुक्क थिएँ ।

आधा घन्टा हामी विभिन्न जनावरका खोरहरु हेर्दै हिड्यौ । सिँह र सिँहनी एकअर्कासँग नबोलीकन सहरिया जोडी जस्तै परपर बसेका थिए । जलगैँडा हिलाम्मे ठूलो पोखरीमा डुबेर बसेको थियो । धर्मले पनि अरूले जस्तै ढुङ्गा हानेर जलगैँडालाई तर्साउन चाहन्थ्यो, तर मैले उसलाई त्यो नचाहिँदो पाप नगर्न भनेँ । केही पनि नगरीकन हिलोमा आहाल खेल्नु जलगैँडाको स्वभाव नै हो ।

जनावरहरू जनावरजस्तै जिउन र मानिसहरू पनि मानिस जस्तै बाँच्नुपर्छ । एकै वाक्यमा भन्नुपर्दा मेरो जीवनको दर्शन यही हो ।

मैले अब जाने बेला भो भनेँ, तर धर्मले निन्याउरो मुख लगाउँदै भन्यो, “काका, पाँचै मिनेट पख्नोस्‌ न ।”

“ल ठिक छ । पाँच मिनेटपछि जाऔँला ।”

हामी यौटा अग्लाअग्ला बाँसाले घेरिएको खोर छेउ आयौँ । बारको ससानो चरबाट हेर्दा बाघ खोरभित्र सीधा हिँडेर वल्लो र पल्लो छेउ गर्दै थियो । यो कुनै त्यस्तो जङ्गली बाघ थिएन जुन एक युगमा एकपटक मात्र जन्मन्छ | मैले बाँसको बारको छेउबाट बाघ हिँडेको हेरेँ । अँध्यारो बाँसको बारको चरबाट हेर्दा सेतो भुत्ला भएको छालामा काला धर्साहरू प्रस्ट देखिन्थ्यो । यो देख्दा मन्द गतिमा रिल घुमेको श्वेत-श्याम फिलिम हेरेजस्तो लाग्थ्यो । कुनै मोहनी लागेको वस्तु जस्तै बाघ उही चाल, उही गतिमा बारको वल्लो र पल्लो छेउ सीधा जाँदै फर्कदै गर्दै थियो ।

बाघ आफैँले आफैँलाई यसरी हिँडेरै सम्मोहित पार्दै थियो । म खोर भित्र छु भनेर बिर्सने उसको यही एक मात्र उपाय थियो ।

अनि त्यो बाँसको बार पछाडिको वस्तु हिँड्न छाड्यो । मतिर हेर्यो । जसरी गाडीको ऐनामा मेरो र मालिकका आँखा जुध्थे त्यसैगरी बाघको र मेरो आँखा जुध्यो ।

अचानक बाघ गायब भयो ।

मेरो आङ चिसो भयो | मेरो आङ्‌ सिरिङ्ग भयो । मेरो गोडा काम्न थाले | मलाई अलि हलुङ्गो भयो । मेरो छेवैमा कोही चिच्च्यायो, “यसको आँखा त हल्लिँदै पो छ | यो मान्छे अब बेहोस हुने भो ।” म आफूलाई केही पनि नभएजस्तो पार्न खोजेँ, “होइन, म कहाँ मूर्च्छा पर्दै छु र ?” मैले नडाराएको जस्तो देखाउने प्रयास गरेँ, तर मेरो गोडाले भर दिएन | गोडामुनिको जमिन हल्लिएजस्तो लाग्यो । कुनै चिजले मेरो गोडामुनि सुरूङ खन्दै, आएर नङ्ग्रा मेरो छालामा गाडेर मलाई सुरूङ्भित्र तानेजस्तो लाग्यो |

मेरो अगाडि सबै कुरा अँध्यारो हुनुभन्दा अघि मैले के सोचेको थिएँ भने “बल्ल मैले चिमोटेको दागहरू किन देखिन्छन्‌ र प्रेमी प्रेमीकाहरू चिडियाखाना किन आउँछन्‌ भन्ने बुझेँ । ”

त्यस दिन राति धर्म र म भुइँमै बस्यौँ ।

अक्षर लेखेर धर्मको अगाडि राखिदिएँ र हातमा कलम थमाइदिँदै भने, “धर्म तँ कति राम्रो अक्षर लेख्दो रहेछस्‌, आज म हेर्छु । आज चिडियाखानामा के के भयो सबै खुलाउँदै तैले हजूरआमालाई चिठी लेख्नुपर्छ ।”

उसले बिस्तारै राम्रोसँग लेख्यो । उसले हजूरआमालाई जलगैँडा, चिम्पान्जी र हरिणको बारेमा लेख्यो !

“बाघको बारेमा पनि लेख्‌ न ।”

एकछिन अकमकायो र फेरि लेख्यो, “हामीले खोरमा सेतो बाघ देख्यौं ।”

“वहाँलाई सबै कुरा लेखेर बताइदे ।”

मलाई पुलुक्क हेर्यो र लेख्यो, “काका बलराम, सेतो बाघ देखेर डरले मूर्छा पर्नु भो ।”

“ल ल ठीक छ । लेख्‌ म भन्छु ।”

दस मिनेटसम्म ऊ मसी ओकलेको कलमको नीब घरिघरी कपालमा पुछ्दै फटाफट लेख्दै गयो । लेखिसकेपछि उसले पढेर सुनायो :

मैले वरिपरिका सबै मानिसलाई बोलाएँ । हामीले काकालाई बोकेर बरको रुखमुनि पुर्यायौं । एक जनाले वहाँको अनुहारमा पानी छम्कियो | दयालु मान्छेले काकालाई गालामा चङ्काएर बिउँझ्याए । उनीहरूले मतिर फर्केर भने, “तेरो काका बर्बराउँदै हजूरआमासँग सदाका लागि बिदा माग्दै छ । उसलाई पक्कै मर्छु भन्ने थाहा छ ।” एकछिनपछि काकाका आँखा खुले | मैले सोधेँ, “काका अहिले कस्तो छ ?” मेरो हात समातेर भन्नुभो, “मलाई क्षमा गर । मलाई क्षमा गर । मलाई क्षमा गर ।” मैले सोधेँ, “क्षमा केका लागि ?” वहाँले भन्नुभो, “हजूरआमा म अब बन्दी जीवन जिउन सक्दिनँ । म क्षमा चाहन्छु ।” अनि हामी बसमा चढेर गुरगाउँ फर्कियौं र चिया पसलमा खाना खायौं | असाध्यै गर्मी थियो । हामी पसिनैपसिना भयौँ । आज घटेको घटनाहरू यिनै हुन्‌ ।

“ए, तँलाई अरू के के लेख्न मन छ लेख्‌ र भोलि हुलाकमा हालिदिनू, तर म बाहिर कारमा निस्केपछि मात्रै, अगाडि होइन नि, बुझिस्‌ ?”

लेखक परिचय

प्रेम सिग्देल अनुवादकका रूपमा परिचित हुनुहुन्छ । उहाँ अनुवादसँगै प्राध्यापनसमेत गर्नुहुन्छ ।

प्रतिक्रिया
Loading...