युद्ध र शान्ति:: खण्ड-२, परिच्छेद १८

 

हाम्रो दाहिने किनारको सबभन्दा अग्लो स्थानमा पुगेपछि राजकुमार बग्रातिओनले आफ्नो घोडा तलतिर ओराल्न लाग्यो, जहाँ लगातार गोलावर्षा भइरहेको थियो र जहाँबाट निस्किरहेको धूवाँका कारण केही पनि नदेखिने अन्धकारजस्तो भएको थियो । उनीहरू समतल चउरतिर जतिजति तल झर्दै जान्थे उनीहरूलाई आफ्नोअगाडिका सबै चीज उतिउति कम देखिन्थ्यो तर उनीहरूलाई युद्धक्षेत्रको निकटता भने अधिकाधिक रूपमा अनुभूत भइरहेको हुन्थ्यो । युद्धमा घाइते भएकाहरूलाई पनि उनीहरूले भेट्न थालेका थिए । टोपी नलगाएको र टाउकोबाट रगत बगिरहेको एक जना घाइतेलाई दुई जना सिपाहीले उसको काखीमा च्यापेर डोर्याउँदै लगिरहेका थिए । उसको घाँटी घ्यारघ्यार गर्दै थियो र मुखबाट रगत बगिरहेको थियो । सायद उसको मुखमा अथवा घाँटीमा गोली लागेको हुनु पर्थ्यो । अर्को घाइते बन्दुकबिना पनि बडो फुर्तिसाथ एक्लै हिँडिरहेको थियो । ऊ भर्खर गोली लागेको हात हल्लाउँदै र जोडसँग कराउँदै हिँडिरहेको थियो । र्‌, उसको हातबाट बगेको रगत बोतलबाट खन्याएजस्तै उसले पहिरेको ठूलो कोटमा लागिरहेको थियो । ऊ त्यस बखत भर्खर मात्र घाइते भएको थियो र उसको अनुहारमा चोटको दुखाइभन्दा त्रासको भाव धेरै झल्किरहेको थियो । बग्रातिओन र उसको दल बाटो नाघेर एउटा ठाडो भिरालोतिर ओर्लन लागे र त्यहाँ उनीहरूले थुप्रै घाइतेहरूलाई भुइँमा पल्टिरहेको देखे । त्यस्तै उनीहरूले सिपाहीहरूको अर्को एउटा भीड पनि देखे, जसमध्ये केहीलाई घाउचोट लागेको थिएन । ती सिपाहीहरू स्वाँस्वाँ गर्दै पहाडको उकालो चढिरहेका थिए । जर्नेल त्यहीँ उपस्थित हुँदाहुँदै पनि उनीहरू ठूल्ठूलो स्वरमा गफ गर्दै र इत्तरिदै थिए । उनीहरूको अगाडि धूवाँमा फुस्रो रङको फौजीकोट लगाएका मान्छेहरूको एउटा ताँती देखियो । र, बग्रातिओनलाई देखेर एक जना अफिसर दगुर्दै सिपाहीहरूको भीडमा गएर उनीहरूलाई फर्किने आदेश दियो । बग्रातिओनले आफ्नो घोडा फौजीहरूको ताँतीसम्म बढाएर लग्यो, जहाँ छिटोछिटो घरि यता घरि उता गोली चल्दै थियो र त्यसको आवाजको कारण बोलेको र आदेश दिएको शब्द सुन्न सकिँदैनथ्यो । सम्पूर्ण वातावरण बारुदले गन्धमय भएको थियो । सिपाहीहरूको अनुहार बारुदले गर्दा कालो र उत्तेजित भएको थियो । सिपाहीहरूमध्ये कसैले बन्दुकमा बारुद भर्दै थिए भने कोही बन्दुक सफा गर्दै थिए । कसैले थैलाबाट कारतुस निकाल्दै थिए भने कोही गोली हान्दैथिए । तर उनीहरूले कसलाई गोली हानिकेका थिए, रेखिँदैनथ्यो किनभने धूवाँ यति घना थियो कि हावाले पनि उडाएर लैजान सक्तैनथ्यो । धेरैजसो सनसन र भनभन गर्दै गोलीचलेको एकप्रकारको मीठो लाग्ने आवाज मात्र सुनिदैथ्यो । सिपाहीहरूको भीडमा घोडा पुर्याएर राजकुमार आन्द्रेइले सोच्यो- “यो के भएको हो ?” “आक्रमण त होइन होला- किनभने उनीहरू सबै स्थिर छन्‌ । चौकोस सैनिक व्यूहरचना पनि यो होइन किनभने उनीहरू त्यस किसिमको अवस्थामा उभिएका पनि छैनन्‌ ।”

दुव्लो, पातलो, ओंठमा मन्द मुस्कान भएको, नेत्र पटले उसका बुढा आँखाको आधाभन्दा बढी भाग छोपेको, विनम्र र विनीत अनुहार भएको र कसजोरजस्तो देखिने रेजिमेन्टको कमाण्डर एउटा बुढो मान्छे राजकुमार बग्रातिओन भएका ठाउँमा घोडा चढेर आयो र उसलाईँ यसरी भव्य स्वागत गर्यो, जसरी एउटा मेजमानले आफ्नो विशिष्ट पाहुनालाई स्वागत गर्छ । उसले राजकुमार बग्रातिओनसमक्ष फ्रान्सेली घोडसेनाले उसको रेजिमेन्टमाथि आक्रमण गरेको प्रतिवेदन प्रस्तुत गर्यो । हुन त उक्त आक्रमणलाई असफल तुल्याइयो तर पनि उसका आधाभन्दा बढी सैनिक मारिए । रेजिमेन्ट कमाण्डरले आफ्नो सेनामाथि भएको आक्रमण अर्थ्याउन यिनै सैनिक शब्द प्रयोग गरेको थियो, तर वास्तवमा उसलाई आधा घन्टाभित्र आफूलाई जिम्मा लगाइएको रेजिमेन्टमा के भएको थियो भन्ने कुरा थाहा थिएन । अर्थात्‌ आक्रमण असफल तुल्याइएको थियो वा उसको हाल बेहाल गराइएको थियो उसलाई थाहा थिएन । उसलाई यति मात्र थाहा थियो कि यस कार्वाहीको प्रारम्भमा नै उसको रेजिमेन्टमाथि तोपका गोला र कारतुस वर्षिन थाले तथा उसका मान्छेहरूलाई चोट पुर्याउन थाले । पछि मात्र कसैले “घोडसेना” भन्दै कोलाहल गर्यो र हाम्रा मान्छेले पनि गोली चलाउन लागे । उनीहरूले अहिलेसम्म गोली चलाइरहेका थिए तर घोडसेनामाथि होइन, जो त्यहाँबाट अदृश्य भइसकेका थिए । उनीहरूले पैदलसेनामाथि गोली चलाइरहेका थिए, जुन सेना खुला मैदानमा आएर हाम्रो सैनिकमाथि गोली चलाउन लागेको थियो । राजकुमार बग्रातिओनले आफूले इच्छा र आकाङ्क्षा गरेबमोजिम सबै थोक भएको हुँदा प्राप्त भएको सन्तोषस्वरूप शिर निहुरायो । आफ्नो सहयोगी अंफिसरतर्फ फर्कदै उसले आदेश दियो कि उसले निसानाबाजहरूको छैठौँ रेजिमेन्टका ती दुई वटालियनलाई यहाँ लिएर आवस्‌, जहाँबाट उनीहरू भर्खर आएका थिए । यतिबेला राजकुमार बग्रातिओनको अनुहारमा आएको भावपरिवर्तन देखेर राजकुमार आन्द्रेइ चकित भयो । उसको अनुहारमा त्यस्तै एकाग्रता र सुखद सङ्कल्प- दृढता व्यक्त भइरहेको देखिन्थ्यो, जस्तै कुनै मानिसले एकदम गर्मी भएको बेला चिसो पानीमा डुबुल्की मार्नुभन्दा पहिले अन्तिम दौड लगाउँदा उसको अनुहारमा देखिन्छ । आलस्यपूर्ण र निद्रालु आँखा अब थिएनन्‌ न त विचारको सागरमा डुबेर देखाउने कृत्रिम मायाजाल नै थियो । बाजका जस्ता उसका गोलागोला र दृढ आँखाले उत्सुकता र तिरस्कारपूर्वक कतै स्थिर नभएर आफ्नै अगाडि मात्र हेरिरहेका थिए यद्यपि उसको गति अलमस्त र तालबद्ध थियो ।

रेजिमेन्ट कमाण्डरले राजकुमार बग्रातिओनलाई बिन्ती गर्दै यहाँबाट फर्किन भन्यो किनभने अहिले उनीहरू भएको ठाउँमा बस्न अत्यन्त खतरापूर्ण थियो । “बिन्ती छ हजूर, भगवानका लागि,” उसले समर्थन पाउने आशाले अनुचर अफिसरतर्फ हेर्दै भन्यो तर उक्त अफिसरले भने मुन्टो बटार्यो । “यता हेर्नुस्‌ त,” उसले लगातार सीत्कार गर्दै, भनभन गर्दै गेयात्मक तालमा आफ्नो चारैतिर लगातार बर्सिरहेको गोलीतर्फ इसारा गर्दै भन्यो । उसले बिन्ती र तिरस्कार दुबैथोक गर्दै यो भनिरहेको थियो, जस्तै कुनै सिकर्मीले हातमा बन्चरो लिएको कुनै धनाढ्य व्यक्तिलाई भन्छ- “हामीलाई त यसमा बानी परेको छ तर तपाईंको हातमा फोडा पर्ला हजूर ।” “ऊ यसरी कुरा गर्दै ,थियो मानौँ उसलाई गोली लाग्न सक्तैन र लागे पनि उ मर्दैन ।” रेजिमेन्ट कमाण्डरको आधा खुलेको आँखाले उसका शब्दलाई अरू बढी प्रभावकारी अभिव्यक्ति प्रदान गरिरहेका थिए । ड्युटीअफिसरले पनि रेजिमेन्ट कमाण्डरको निवेदनप्रति सहमति जनायो । तर राजकुमार बग्रातिओनले उनीहरूलाई कुनै जवाफ दिएन र यति आदेश मात्र दियो कि उनीहरूले गोली चलाउन बन्द गरुन्‌ र आफूहरूलाई यसरी व्यवस्थित गरुन्‌ कि उनीहरूको नजिक आइरहेको दुई वटालियनका लागि ठाउँ बन्न सकोस्‌ । उसले कुरा गर्दागर्दै यसैबेला एकदम ठूलो बतास चल्यो र कुनै अदृश्य हातको सङ्केतले धूवाँको बादल दाहिनेतिरबाट हट्दै देव्रेतिर उड्दै गयो । यसरी त्यो बादलमा छोपिएको मैदान अगाडितिरको पहाड र त्यहाँबाट बढ्दै आइरहेका फ्रान्सेलीहरू स्पष्टसँग देखिन थाले । सबैका आँखा आफसे आफ हामीहरूतर्फ बढ्दैं आइरहेका र असमतल मैदानमा अवस्थित फ्रान्सेलीहरूको भीडमा लागे । फ्रान्सेलीहरूले लगाएको झ्यापुल्ले टोपी देखिन थाले । सिपाही र अफिसरलाई सजिलै छुट्टाउन सकिन्थ्यो र सिपाहीहरूले बोकेको झण्डा फर्फराइरहेको राम्ररी देखिन्थ्यो ।

“बडो सानसँग अगाडि बढ्दैछन्‌,” बग्रातिओनको अनुचर गणमध्ये कसैले भन्यो ।

फ्रान्सेली दलको अग्रभाग खाली मैदानमा उत्रिसकेको थियो अतः भीडन्त पनि मैदानको यतातिर नै हुनेवाला थियो।

केही अगिसम्म लडिरहेको हाम्रो रेजिमेन्टको बचेखुचेको भाग छिटोछिटो आफूहरूलाई पुनर्व्यवस्थित गर्दै दाहिनेतिर सर्यो । यसको पछाडिबाट पछौटे सैनिकहरूलाई लखेट्दै निसानवाजहरूको छैठौँ रेजिमेन्टका दुई बटालियन नजिकनजिक आइरहेका थिए । उनीहरू अफ्नै बग्रातिओननजिक पुगेका थिएनन्‌ । तर मान्छेहरूको त्यो ठूलो भीड हिँडेको पदचापको गरुङ्गो र लयबद्ध चालबाट उत्पन्न आवाज राम्ररी सुनिइरहेको थियो । हेर्दा लट्ठकजस्तो, गोलो अनुहार र प्रसन्नचित्तजस्तो देखिने वलिष्ठ कम्पनी कमाण्डर बायाँ किनारबाट बग्रातिओनको सबभन्दा नजिक आइपुगिरहेको थियो । यो त्यही अफिसर थियो, जो तुसिनको पछिपछि लागेर छाप्रोबाट बाहिर दगुरेको थियो । त्यसबखत उसले स्पष्टतः आफ्ना मनमा केही सोचेको थिएन तर कम्पनी कमाण्डरअगाडि उपस्थित हुँदा खुब होनहार र होसियार अफिसरका रूपमा देखिनसकूँ भन्ने मात्र सोचेको थियो |

सैन्य यात्रामा अग्रणी हुन पाएकोमा आत्मसन्तोषका साथ कुनै किसिमको प्रयत्न नगरिकन तनक्क तन्किदै उसले आफ्ना वलिष्ठ खुट्टाहरूका भरमा विस्तारै पाइला चालिरहेको थियो- या भनौँ ऊ पौडी खेलिरहेको थियो र यही फुर्तीका कारण आफूसँगै गरुङ्गो चालमा हिँडिरहेका सिपाहीहरूबाट ऊ सर्वथा भिन्न देखिन्थ्यो । ऊसँग भएको एउटा पातलो र नाङ्गो तरबार (सानो, मोडिएको र हतियारजस्तो पनि नदेखिने) उसको कम्मरदेखि पाउसम्म समानान्तर रूपमा झुण्डिएका थिए । र आफ्नो सम्पूर्ण रूपमा वलिष्ठ शरीरलाई वडो लचिलो किसिमले मोड्दै ऊ घरी आफ्ना अफिसरहरूतिर हेर्थ्यो र घरी पछाडितिर फर्केर हेर्थ्यो । तर उसले आफ्नो यो तालको क्रम भङ्ग हुन दिँदैनथ्यो । यस्तो लाग्थ्यो मानौँ उसले आफ्नो आत्माको सम्पूर्ण शक्ति आफ्नो कमाण्डर अगाडि उपस्थित हुँदा बुद्धिले भ्याएसम्म अनुशासित ढङ्गमा प्रस्तुत गर्ने प्रयास गर्दै थियो र जे गर्दैछु ठीक गर्दैछु भन्ने उसलाई पूर्ण रूपमा विश्वास पनि लागिरहेको हुँदा ऊ प्रसन्न थियो । “बायाँ, बायाँ, बायाँ” उसले टेकेका प्रत्येक पाइलामा मनमनै उसले यो दोहोर्याउँथ्यो र यही तालमा आफ्ना काँधमा थैला र बन्दुकको भारी बोकेका विभिन्न र कठोर खालका अनुहार भएका सैनिकरूपी पर्खाल नाघ्दै अगि बढिरहेको थियो र यी सयकडौँ सैनिकहरू प्रत्येकले मनमनमा प्रत्येक पाइला सार्दा.. “बायाँ, बायाँ, बायाँ भन्ने शब्द दोहोर्याइरहेका थिए । सैनिक मार्ग बिराएर स्वाँस्वाँ गर्दै हिँडिरहेको एउटा मोटो खालको मेजर बाटोमा पर्ने झाडीको चारैतिर घुम्यो । एक जना पछौटे सिपाही स्वाँस्वाँ गरेर ठूलो सास फेर्दै पछाडि छोडिनु परेको कारणले गर्दा अनुहारमा भय र त्रासको भावका साथ दगु्दै आफ्नो कम्पनीमा सम्मिलित हुन गइरहेको थियो । त्यसै बखत एउटा गोला हावाको गतिलाई चिर्दै, राजकुमार बग्रातिओन र उसको अनुचर गणको टाउको माथिबाट उड्दै गयो र “बायाँ, बायाँ” शब्दको लयका साथ सैनिक समूहमा गएर खस्यो ।

“सबै एकै ठाउँमा डल्लो परेर बस” कम्पनी कमाण्डरको प्रफुल्लित आवाज सुनियो । गोला खसेको ठाउँबाट सैनिकहरू अर्धचक्र बनाएर अगाडि बढे । किनारमा हिँडिरहेको एउटा बुढो तर सरकारी पदकबाट सम्मानित तल्लो तहको एक जना अफिसर, जो मरेका सिपाहीहरूको लास्‌सँगै उभिइरहेको थियो, आफ्नो पंक्तिमा गएर मिसिनको लागि दगुर्यो, उसले उफ्रेर आफ्नो पाइला बदल्यो, फेरि पाइला मिलाएर हिँडन थाल्यो र रिसाउँदै आफ्नो चारैतिर हेर्न लाग्यो । “बायाँ, बायाँ, बायाँ…” यस्तो लाग्थ्यो कि भय र त्रास उत्पन्न गर्ने खालको मूर्दा शान्ति र भुइँमा टेक्दा निस्कने पदचापका ध्वति-मात्र थिए, जो सबैले सुन्थे ।

“स्यावास, बहादुर केटाहरू हो,” राजकुमार बग्रातिओनले भन्यो ।

“महामहिम,” हाम्रो वर्कतले भ्याएसम्म गर्न पाएकोमा हामी धेरै खुसी छौँ । सैनिक पंक्तिबाट ठूल्ठूलो स्वरमा यो आवाज गुन्जियो । बायाँतिर हिँडिरहेको अलि खिन्न भएजस्तो लाग्ने एउटा सिपाहीले उक्त शब्द उच्चारण गरेर चिच्याउँदै बग्रातिओनतर्फ यस्तो नजरले हेर्यो मानौँ ऊ भन्दै थियो, “हामी आफैलाई पनि थाहा छ बग्रातिओन, तर तिमीले यो भनिरहनु पर्दैन ।” त्यस्तै, यताउति कतै नहेरिकन अर्को सिपाही, मानौँ उ खुलेर बोल्न डराइरहेको होस्‌, पूरै मुख खोलेर चिच्याउँदै त्यहाँबाट अगाडि बढ्यो ।

सैनिकहरूलाई रोकिने र काँधमा बोकेका थैलाहरू उतारेर भुइँमा राख्ने आदेश दिइयो । बग्रातिओनले आफ्नो अगाडि मार्च पास गरेको सैनिक डफ्फाको आसपास घोडामा चढीचढी फन्को मार्यो र घोडाबाट ओ्ल्यो । उसले घोडाको लगाम कोजाक अर्दलीको हातमा थमायो, ठूलो कोट फुकालेर दियो, खुट्टा सिधा पार्यो र शिरको टोपी ठीकठाक पार्यो । फ्रान्सेली सेनाको अग्रभाग, जसमा अफिसरहरू अगाडि हिँडिरहेका थिए, पहाडको उँधोबाट देखियो ।

“भगवानले भलो गरुन्‌ !” बग्रातिओनले दृढ र ओजस्वी आवाजमा भन्यो । उसले एकछिन टाउको घुमाएर सैनिकहरूतर्फ हेर्यो र विस्तारै हात हल्लाउँदै धेरैजसो घोडामा चढ्ने मान्छेजस्तै हिँड्न अप्ठ्यारो मान्दै टेढोमेढो चालमा असमतल मैदानतिर बढ्यो । राजकुमार ,आन्द्रेइहलाई, उसलाई कुनै अदृश्य शक्तिले अगाडि बढाइरहेछजस्तो लाग्यो र यसले गर्दा उसले ज्यादै ठूलो खुसी पनि अनुभव गरिरहेको थियो ।

फ्रान्सेलीहरू धेरै नजिक आइसकेका थिए । राजकुमार बग्रातिओनको छेउमा हिँडरहेको राजकुमार आन्द्रेइले फ्रान्सेलीहरूको कारतूसका पेटी, उनीहरूका स्कन्धाभरणका साथै उनीहरूको अनुहार पनि स्पष्टसँग छुट्याउन सक्थ्यो (बुट लगाएको एक जना बुढो फ्रान्सेली अफिसरलाई उसले पट्टि बाँधेको खुट्टार ठेला उठेका बडोमुस्किलसँग पहाड चढिरहेको छर्लङ्ग देख्यो ।) राजकुमार बग्रातिओनले नयाँ आदेश केही दिएन र उ चुपचाप लागेर -आफ्नो सैनिक ताँतीको अघिअघि हिँडिरहेको थियो । एक्कासि फ्रान्सेलीहरूतर्फबाट पहिलो, दोस्रो र तेस्रो गर्दै गोली चल्न लाग्यो…। शत्रुको असन्तुलित र विषम डफ्फामा जताततै धूवाँ फैलियो र गोली पनि चलिनै रह्यो । हाम्रा केही सैनिक लडे, जसमध्ये गोलो अनुहारवाला अफिसर पनि थियो, जो धीरताका साथ प्रशन्न मुद्रामा सानसँग हिँडिरहेको थियो । तर जसै पहिलो गोली चलेको आवाज सुनिएथ्यो, तत्काल बग्रातिओनले चारैतिर हेर्यो र हुर्रा भन्दै शंखनाद गर्यो । “हुर्रा !” हाम्रो सैनिक पंक्तिमा पनि लामा-लामा र ठूल्ठूला आवाज गुन्जायमान भयो र राजकुमार बग्रातिओनका साथ एकआपसमा उछिनाउछिन गर्दै हाम्रो सेना पंक्तिबद्ध भएर होइन तर प्रफुल्लित र उत्साहित भीडका रूपमा अव्यवस्थित फ्रान्सेलीहरूमाथि जाइलाग्यो ।