‘आफ्नो घरमा बस्नु जत्तिको आनन्द केहीमा पनि छैन,’ एम्मा उपन्यासमा जेन अस्टिनले लेखेकी थिइन् । तर अहिले उनको घर बस्न लायक रहेन । उनले जीवनका अन्तिम आठ वर्ष बिताएको घरको छानो चुहिएर बस्नै नसकिने भएको छ । त्योभन्दा बढी यसपालाको बर्खामा पानी चुहिएर घरलाई नै क्षति पुर्याएको छ ।
यस्तोमा जेन अस्टिनका प्रशंसकहरूले ‘छानो छाउन टायल दान गर’ भन्ने अभियान थालेका थिए । गएको हप्तादेखि शुरू भएको यस अभियानमा केहीले त्यो बेलाको जस्तो टायल नै दान गरेका छन् भने केहीले चाहिँ त्यस्तो टायल किन्ने पैसा नै दान गरेका छन् ।
तीमध्ये केही सहयोग चाहिँ सरकारले पनि गर्ने भएको छ ।
ह्याम्पसायरको चटनमा जेनले आफ्नो जीवनका अन्तिम आठ वर्ष बिताएकी थिइन् । त्यो बेला उनका सेन्स एन्ड सेन्सिबिलिटी, प्राइड एन्ड प्रेजुडिस र एम्मा लेखेकी थिइन् ।
उनको सो घर पछिल्लो पटक सन् १९४८ मा मर्मत गरिएको थियो । मर्मतपछि उनको यस घरलाई जेन अस्टिन्स हाउस म्युजियममा परिणत गरी सर्वसाधारणका लागि खुला गरिएको थियो ।
यसको चुहिएको छानो मर्मत गर्न ३० हजारभन्दा बढी हातले बनाएको माटाको टायल आवश्यक पर्ने देखिएको छ । त्यसका लागि करिब ८५ हजार पाउन्ड आवश्यक पर्ने भएकाले सर्वसाधारणका लागि सहयोग गर्न आह्वान गरिएको थियो । सर्वसाधारणले करिब ६४ हजार पाउन्ड सहयोग गरेका छन् । बाँकी थप मर्मतका लागि आवश्यक पर्ने रकम ह्याम्पसायर काउन्टी काउन्सिलले जिम्मा लिने भएको छ । उसले थप ८५ हजारको सहयोग गर्ने भएको छ । यस्तै हिस्टोरिक इङल्यान्ड, हिस्टोरिक हाउसेस फाउन्डेसनले पनि यो घर मर्मतका लागि रकम सहयोग गर्ने भएको छ ।
हिस्टोरिक इंगल्यान्ड ग्रान्टकी निर्देशक लिज्जी डनफोर्डले भनिन्, ‘सर्वसाधारणले खुलेर यत्तिका सहयोग गरेको देख्दा हामी ज्यादै खुसी भएका छौँ । संसारभरिका पाठकलाई प्रेरित गर्ने लेखिका बस्ने यो घरको संरक्षणका लागि हामीले सक्दो प्रयास गर्नेछौँ ताकि भविष्यका अनेकन् पुस्ताले पनि सोही किसिमको प्रेरणा पाइरहून्, जुन हामीले पाउँदै हुर्किएका थियौँ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।