
आइरिस लेखक स्याली रूनीका पुस्तकहरू आफ्ना बुकस्टोरले बिक्री वितरण नगर्ने इजरायली दुई ठूला पुस्तक बिक्रेताले घोषणा गरेका छन् । स्याली रूनीले यसअघि आफ्नो नयाँ उपन्यास ब्युटिफुल वर्ल्ड, ह्वेयर यु आर लाई हिब्रु भाषामा अनुवाद गर्न अस्वीकार गरेकी थिइन् । त्यसको कारणका रूपमा उनले भनेकी थिइन्, ‘प्यालेस्टिनीहरूमाथि भएका ज्यादतिलाई ध्यानमा राख्दै तिनको मानव अधिकारको पक्षमा मैले यस किसिमको विरोध गरेकी हुँ ।’
यसअघि उनका दुई उपन्यास हिब्रु भाषामा अनुदित भई बजारमा आइसकेका छन् ।
हिब्रुमा अनुवाद नगर्ने उनको यस घोषणामाथि तीव्र प्रतिक्रिया आएको छ । केहीले चर्को प्रशंसा गरेका छन् भने केहीले चर्को विरोध गरेका छन् । सामाजिक सञ्जालमा दुई पक्षबीच घमासान युद्ध भइरहेको छ यतिबेला ।
स्टेमात्की र जोमेत सेफ्रिम नामक दुई बुक चेन बिक्रेताहरूले स्याली रूनीका सबै किताबहरू हटाएका छन् । तिनले अनलाइन सूचीबाट समेत ती पुस्तक निकालेका छन् । इजरायलभरि ती दुई कम्पनीका २ सयभन्दा बढी सो रूमहरू छन् ।
इजरायली प्रकाशक मोदानले पछिल्लो उपन्यासको अनुवाद अधिकारका लागि आग्रह गरेको थियो । लेखिका रूनीले सो अनुरोधलाई अस्वीकार गरेकी थिइन् ।
उनले यसको प्रतिक्रियामा भनेकी छन्, मेरा दुई उपन्यास हिब्रु भाषामा अनुदित भएकामा म साह्रै गर्व गर्छु । अहिलेका लागि भने इजरायल मुख्य भूमि भएका कम्पनीमार्फत मेरा अनुवाद आओस् भन्ने इच्छा छैन ।
पछिल्लो समय प्यालेस्टाइनीहरूले बिडिएस अभियान सञ्चालन गरिरहेका छन् । जसमा इजरायली सामग्रीहरूको पूर्णतः ब्वाईकटको अभियान सञ्चालित छ ।
यस्तै अभियान सन् १९४८ देखि १९९१ सम्म दक्षिण अफ्रिकी कालाहरूले गोराहरू विरूद्ध सञ्चालन गरेका थिए । जसमा गोराहरूलाई असहयोग आन्दोलनका कारण धेरै अभियन्ताहरूको ज्यान गएको थियो भने नेल्सन मन्डेलाजस्ता नेताहरू प्रखर रूपमा चर्चामा आएका थिए ।
यता इजरायलले भने स्याली रूनीको अभियानलाई दक्षिण अफ्रिकी विभेदसँग जोडिएको आन्दोलनसँग जोड्नु हास्यास्पद भएको टिप्पणी गरेको छ । रूनीको निर्णयलाई खारेज गर्दै इजरायली डायस्पोरा मन्त्री नाच्मन साईले टिप्पणी गर्दै भनेका छन्, ‘इजरायलको सांस्कृतिक ब्वाईकटलाई हामीले यहुदीविरोधी विचारको नयाँ स्वरूप मानेका छौँ ।’
यता लेखिकाले भने आफ्नो उपन्यास हिब्रुमा अनुदित भएको हेर्ने इच्छा भएको तर उनीजस्तै विचार राख्ने कुनै व्यक्ति वा संस्थाले अनुवाद गरेको हेर्ने इच्छा रहेको टिप्पणी गरेकी छन् ।
रूनीको गतिविधिलाई द प्यालेस्टिनी क्याम्पेन फर एकेडेमिक एन्ड कल्चरल ब्वाईकट अफ इजरायल नामक संस्थाले न्यानो स्वागत गरेको छ । अन्यले भने उनले गलत कुरामा प्रतिनिधित्व गरेको बताएका छन् ।
रूनी अहिले बेलायतमा सबैभन्दा हटकेक लेखिकाका रूपमा चर्चित छिन् । उनले द सन्डे टाइम्स योङ राइटर अफ दि इयर २०१७ र कोस्टा बुक अवार्ड २०१८ जस्ता चर्चित पुरस्कार जितिसकेकी छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

