
सारा दितम
सन् २०१८-१९ मा प्रख्यात लेखक जेके रोलिङले आफ्नो आम्दानी १०० मिलियन पाउन्ड भएको र त्यसबाट सरकारलाई तिर्नुपर्ने ठूलो आम्दानी कर तिरेको द युरोपियन अखबारले जनाएको छ ।
सो अवधिमा उनको आम्दानी १० करोड पाउन्ड (नेपाली रूपैयाँ १६ अर्ब ४३ करोड ६ लाख ९७ हजार ४ सय १०) रहेको र उनले करबापत ४६ करोड ४० लाख पाउन्ड तिरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
सामान्यतः कुनै पनि सेलिब्रिटीले यति ठूलो रकम करबापत तिर्दैनन् । उनीहरूले कम कर तिर्नका लागि अनेकन् बाटाहरू खोजेर त्यो रकम अन्य व्यवसाय वा सेयर वा इक्विटी वा घरजग्गामा लगानी गर्ने गर्छन् । खासगरी आम्दानीको ठूलो हिस्सा कम कर तिर्नुपर्ने ठाउँमा लगानी गर्ने गर्छन् ।
लेखिका रोलिङले भने कर तिर्न नपर्ने दुलो नखोजी शुद्ध आम्दानीमा शुद्ध कर तिरेकी छन् । उनले न्यूनतम करको कुरालाई पनि अस्वीकार गरेकी थिइन् । ठूला करदाताले ठूलो रकम तिर्ने हुनाले तिनलाई न्यूनतम करको सुविधा पनि दिइएको हुन्छ । उनले सो करको सुविधा पनि लिन मानिनन् ।
आखिर उनले किन यस्तो गरिन् त ? किनभने १९९० को दशकमा उनलाई गरिब हुनु के हो भन्ने थाहा छ । परित्यक्ता महिलाका रूपमा एउटी सन्तान हुर्काउनुका अप्ठेरा, पैसाको अभाव, बेरोजगार सरकारी कोषले दिएको सुविधा र राहतले उनलाई साहित्य क्षेत्रमा गरेको योगदानको गुन उनले बिर्सिएकी छैनन् ।
गरिबीका दिनमा उनीसँग एक पैसा हुन्थेन । उनकी काखे छोरी एक्लै हुर्काउनु परेको थियो । खान्कीका नाउँमा एउटा बिस्कुटले रात बिताउनु पर्थ्यो ।
जब उनको पहिलो पुस्तक अनेकन् ठाउँबाट अस्वीकृत भएर एउटा बाल साहित्य प्रकाशकले छाप्ने जिम्मा लियो, रोयल्टी स्वरूप उनले २५ सय पाउन्ड अग्रिम रकम पाएकी थिइन् र त्यो रकम उनका लागि ठूलो खजाना जत्तिकै लागेको थियो ।
लेखेरै उनले १० अर्ब पाउन्ड कमाइन् । थप २०० मिलियन ती उपन्यासको फिल्म एडप्टेसनबाट लिइन् । यत्तिका रकम कमाइसकेपछि उनले आधाजसो रकम विभिन्न सामाजिक संस्थालाई दान दिने मात्र होइन, बढीभन्दा बढी कर तिर्नुपर्छ भन्ने मान्यता स्थापित गर्नतर्फ लागिन् ।
उनको आफ्नै लुमोस नामक समाजसेवा गर्ने संस्था छ । २००६ मा उनले यो स्ंस्था स्थापित गरी टुहुराहरूको संरक्षणका लागि संसारभर काम गरिरहेको छ ।
उनी एकीकृत संयुक्त अधिराज्यप्रति ज्यादै विश्वास गर्थिन् । जब स्कटल्यान्ड (उनी जन्मेको ठाउँ)ले बेलायतबाट छुट्टिने निर्णय गरेको थियो, उनले भनेकी थिइन्, स्कटल्यान्ड बेलायतबाट छुट्टिनु सबैभन्दा ठूलो गल्ती रहेको प्रतिक्रिया दिएकी थिइन् । यो सुनेपछि स्कटल्यान्डको नेसनलिस्ट पार्टी उनीविरूद्ध खनिएको थियो । कतिले ट्वीटरमा उनलाई बोक्सीको आरोप लगाएका थिए ।
उनी ब्रेक्जिटविरूद्ध पनि उभिएकी थिइन् । त्यो बेला पनि उनलाई तथानाम गाली गर्नेको कुनै कमी थिएन । युरोपियन युनियनसँगै हुनुपर्छ भन्ने मुद्दा बोकेका नेता जेरेमी कोर्बिनको नेतृत्व अक्षमतामाथि टिप्पणी गर्दा पनि उनीमाथि पार्टीका नेताहरू खनिएका थिए ।
हरबखत उनी ट्रोलको शिकार भइरहिन् । यी सारा कुराले उनलाई केही फरक पारेन ।
तर पछिल्लो समय लैंगिक मुद्दामा उनी नराम्रोसँग फँसिन् । उनले यो संसारमा पुरूष र स्त्रीबाहेक अन्य जात नहुने टिप्पणी गरेपछि समलैंगिक मुद्दामा काम गरिरहेका संस्थाले उनको सो टिप्पणी उनीहरूविरूद्ध लक्षित भएको भन्दै उनको पुस्तक जलाउन थाले । क्यान्सिल कल्चर मौलाउन थाल्यो ।
यो अवस्था कसरी आयो भन्ने हेर्न जरूरी हुन्छ ।
खासगरी बेलायतमा लैंगिक समानताका कुरा सन् २००० बाट चर्को रूपमा उठ्न थालेको हत्र । यसलाई नारीवादी पत्रकार जुली बिन्डेलले लैंगिक समानता र समलैंगिक सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने कुरालाई जोड दिँदै लेख्न थालिन् । फलस्वरूप २००४ मा बेलायतमा जेन्डर रिकग्निसन एक्ट लागु गरियो । जसअन्तर्गत कुनै पुरूषले स्त्री भएको वा स्त्रीले पुरूष भएको घोषणा गरे, उनीहरूको सो घोषणालाई वैधता प्रदान गर्न विज्ञ समूहले निर्णय दिनुपर्थ्यो । अनि मात्र ती समलिङ्गीले जेन्डर रिकग्निसन सर्टिफिकेट (जिआरसी) पाउँथे । ती विज्ञहरूले ती समलिङ्गीका नाउँमा जेन्डर डिस्फोरिया भएको प्रमाण दिन्थे । जसमा जुन लिङ्गी भए पनि त्यसमा आफूलाई सहज हुन गाह्रो भएको कुरा अनेकन् मानसिक मापदण्ड र मनोवैज्ञानिकहरूको सल्लाहमा तय गरिन्थ्यो र प्रमाणपत्र दिइन्थ्यो । दुई वर्ष अस्थायी प्रमाणपत्र पछि ऊ स्थायी समलिङ्गी वा तेस्रो लिङ्गी वा अन्य लिङ्गी बन्न पुग्थे । कानुनी रूपमा उनीहरूले पहिचान पाउँथे ।
त्यस्ता व्यक्तिलाई ट्रान्स पिपल भन्ने चलन छ । त्यस्ता ट्रान्सहरूले प्रमाणपत्र लिनका लागि प्रशासनले अनेकन् झमेला दिने गरेको र सरकारी काम साह्रै सुस्त भएको भन्दै यस्ता झमेलाबाट जोगिन व्यक्ति आफैँले आफ्नो लिङ्ग घोषणा गर्न पाउनुपर्ने आवाज उठ्न थाल्यो ।
यसमा स्कटिस ट्रान्सजेन्डर अलायन्सका जेम्स मोर्टनले आन्दोलन नै शुरू गरे । प्रमाणपत्रका विरूद्धमा सोन फेयीले द ट्रान्सजेन्डर इस्यु पुस्तकमा सामान्य कानुनी परिवर्तनले दुःख पाउने अवस्थाबाट पार हुने कुरा उठाइन् । अन्य युरोपेली मुलुकमा यस्तो प्रमाणपत्र नचाहिने तर बेलायतमै मात्र किन चाहिने भन्ने प्रश्न उठाइन् ।
लिङ्गको स्वयं घोषणाका केही समस्या थिए । जस्तो, कुनै पुरूषले आफू स्त्री भएको घोषणा गर्यो र ऊ स्त्रीको शौचालय छिर्यो भने उसलाई कारवाही गर्ने निकायले केका आधारमा गर्ने ? उसले आफूलाई स्त्री मान्दैमा उसमाथि कारबाही नहुने हो त ? यस्ता अनेकन् प्राविधिक समस्या देखिन थाले ।
जस्तो एउटा घटना त टड्कारो नै थियो । आफूलाई करेन ह्वाइट भन्ने पुरूष बलात्कारीले आफूलाई स्त्री ठान्ने गर्थ्यो । उसलाई जब जेल चलान गरियो, ऊ महिला जेलमा जान तयार रहेको तर पुरूष जेलमा नराखियोस् भनी आवाज उठाउन थाल्यो । ऊसित जेन्डर रिकग्निसन सर्टिफिकेट (जिआरसी) पनि थिएन । यस्तो बेलामा ऊ स्वयंले आफूलाई स्त्री घोषणा गर्दा स्त्री वा पुरूष कुन सेलमा राख्ने भन्ने जेल प्रशासनलाई समस्या पर्यो । र, यो समस्या भोलिका दिनमा अझ बढी बढ्नेछ ।
जिआरसी पनि यतिबेला सन्दर्भहीन भइरहेको केहीको टिप्पणी छ । खासगरी सन् १९७० को दशकका बेलायती लेखक जन मोरिसले आफू समलिङ्गी भएको घोषणा कोननड्रम नामक पुस्तकबाट गरेका थिए । त्यसपछि उनले विभिन्न हार्मोन प्रयोग गरी स्त्रीमा परिणत भएका थिए । यस्तै अमेरिकी पोर्न फिल्मका अभिनेता बक एन्जेलले विभिन्न हार्मोन र सर्जरी प्रयोग गरी अश्लील फिल्ममा नायिका भएर काम गरे । पछि यस्तो कामलाई शरीरप्रति अत्याचार भएको मान्दै आफ्नो शरीरलाई छेडछाड नगरी पहिचान मात्र परिवर्तन गर्ने मुद्दा उठ्न थाल्यो । एउटी स्त्री अनुभव गर्नका लागि लिङ्गलाई बाधा नमान्नुपर्ने कुरा उठ्न थाल्यो ।
कतिसम्म भने नारीवाद अप्ठेरोमा परेका महिलाहरूको उद्धारका लागि मुद्दा उठाइएको हो भने किन अप्ठेरामा भएका लैंगिक अल्पसंख्यकहरूका लागि आवाज नउठाउने भनी त्यसमा काम गर्न थालियो ।
२०१७ को विमेन्स मार्चमा ट्रान्स लेखिका क्याटलिन बर्न्सले ‘योनिकेन्द्रित भाष्य’का कारण आफू किनारीकृत भएको गुनासो गरे । जस्तो उनी जन्मले स्त्री हुन् तर आफूलाई स्त्री ठान्दैनन्, पुरूष ठान्छन् तर अरूले उनलाई पुरूष ठानिदिँदैनन् । यो क्लिष्ट विषयमा आफूहरू न त पुरूषको भाष्यमा पर्ने न त स्त्रीको भाष्यमा पर्ने भएकाले दुवै क्षेत्रबाट आफूहरू परित्यक्त महसुस गरेको भन्दै आवाज उठाउन थाले ।
अब उसो भए कसलाई स्त्री भन्ने त ? केही ठूला कम्पनीले विवादबाट बच्नका लागि अथवा आफूहरू लैंगिक समानता वा समलैंगिक सम्बन्धलाई स्वीकृति दिने नाममा एउटा विज्ञप्तिमा ‘महिनाबारी हुने व्यक्ति’ मात्र उल्लेख गर्यो । त्यहाँ महिला भनिएन । आफू पुरूष भएर जन्मिए पनि महिला ठान्नेहरू त्यो स्त्रीको कोटामा परेको महसुस गरेनन् । ट्रान्स शब्दले पनि उनीहरूको पहिचान ठ्याक्कै नआएको गुनासोका बीचमा महिला ठान्ने पुरूष एउटा वर्गका भए र अर्को चाहिँ ‘महिनाबारी हुने व्यक्ति’ अर्को वर्गमा परे ।
तर यसो हुँदा ‘महिला’ नै हराउने अवस्था सिर्जना हुने भयो । ती त महिनाबारी हुने मात्र व्यक्ति हुने भए ।
यो कुरा लेखिका जेके रोलिङलाई मन परेन । गएको वर्ष उनले सो कुरामा असन्तुष्ट भएपछि जुन ६, २०२० मा महिलाको पहिचान मेटिने हो कि भन्ने गुनासो पनि बढ्न थाल्यो । कतिपय अवस्थामा पुरूषले जिज्ञासावश आफूलाई स्त्री बनाइहेर्ने चलन पनि बढ्न थाल्यो र कतिपय स्त्रीले पुरूष । भोलिका दिनमा ‘महिला’ शब्द हराउने र गर्भवती मान्छे, गर्भ बोक्ने व्यक्तिजस्ता शब्द प्रचलित हुने सम्भावना बढेर जाने भयो । अहिले चिनिने पुरूष भविष्यमा प्रोस्टेट ग्रन्थिवाला हुने भयो । त्यसपछि जेके रोलिङले ट्विट गर्दै भनिन्, ‘भविष्यमा उसो भए विमन नठान्ने व्यक्तिले वुम्बेन, विम्पन्ड, विमड के भनेर सम्बोधन गर्ने होला, बडो जिज्ञासा लाग्यो !’
उनको सो ट्विटलाई हलिउडको मनोरञ्जनात्मक पत्रिका भेराइटीले ट्रान्सविरोधी ट्विट घोषित गर्यो । त्यसपछि अमेरिकी टेलिभिजन एनबिसीले उनको ट्विटलाई ट्रान्सफोबिक भएको प्रमाणित गर्यो । यसपछि सामाजिक सञ्जाल जेके रोलिङविरूद्ध खनियो । कतिले उनलाई बलात्कार गरिदिनेसम्मका धम्की दिए ।
उनी ट्रान्सविरोधी पहिलो पटक भने देखिएकी होइनन् । त्यसअघि पनि एउटा थिङ्क ट्याङ्क कम्पनीमा काम गर्ने माया फोस्टर्टरले ‘जेन्डर क्रिटिकल’ भएका कारण जागिर गुमाउनु परेको थियो र सोही धारणाका कारण जागिर खोसिनु आपत्तिजनक भएको भन्दै मायाका पक्षमा जेके रोलिङले ट्विट गरेकी थिइन् । ‘जेन्डर क्रिटिकल’ भन्नाले त्यस्ता व्यक्ति हुन्, जसले स्त्री वा पुरूषजस्ता लिङ्गबोधक चिज नै हटाउनुपर्छ भन्ने धारणा राख्ने विरूद्धका हुन् ।
तर जब उनीविरूद्ध ट्रोल नै बन्न थाल्यो, ट्रान्स समुदायका केही मानिसहरू ट्रोल बिना नै, उनलाई अनलाइन जगत्मा हतास नबनाई विरोधी भावना राम्रोसँग बुझ्ने वा सुन्ने बानी बसाल्नुपर्ने भन्दै समर्थन गरे तर ट्रान्स समर्थकहरूले ती समर्थकलाई पनि छाडेनन् । त्यसपछि उनीहरू पनि चुप लाग्न बाध्य भए । उनीविरोधी जमात यसरी देखा परे कि ह्यारी पोटरका तीन मुख्य कलाकारले समेत रोलिङविरोधी वक्तव्य जारी गरे ।
पछि प्रख्यात न्युयोर्क म्यागेजिनले उनका बारेमा एउटा प्रोफाइल लेख्यो, हु डिड जेके रोलिङ बिकम ? सफलताले उन्मत्त भएकी जेके रोलिङ केबाट के बनिन् भन्दै अखबारले उनी अल्पसंख्यकप्रति क्रूर बनेको समेत टिप्पणी लेख्यो । उनी सधैँ सुविधाजनक ठाउँमा बसेको आरोप लगाउँदै अल्पसंख्यकका पक्षमा बोल्न उनलाई सधैँ अप्ठेरो हुने गरेको बतायो । तर उनको ब्रेक्जिट, स्कटिस एकीकरणजस्ता कुरामा भोगेको खेदोलाई भने तिनले नदेखेझैँ गरिदिए । यसरी उनी ‘मिसअन्डरस्टुड’ सेलिब्रिटी लेखक बन्न पुगिन् ।
जेके रोलिङले पहिलो पति किन छाडिन् ? उनले घरेलु हिंसा सहन नसकेर ! उनको घरेलु हिंसा यति चर्को थियो कि त्यो उनको डिप्रेसनको कारक बन्यो र उनले एक पटक आत्महत्याको सोचसम्म बनाएकी थिइन् तर छोरीका कारण आत्महत्या गर्नबाट रोकिइन् ।
उनको धारणा छ, सबै अधिकारका कुरा गर्दा महिला हिंसा, महिला अधिकारका कुरा चाहिँ ओझेलमा नपरून् । आफूलाई मन नपर्ने कुनै कुरा व्यक्त गरेकै कारणले जागिरको खोसुवामा पर्नु हुन्न भन्ने उनको आवाज हो । जब आफूलाई चित्त नबुझेका कुरा आवाज मुखरित हुन्छन्, अनि मात्र समाजले ती कुरा सुन्छन्, मनन् गर्छन् ।
जब कुनै निश्चित कुराभन्दा इतर कुरा सुनिदैन, सुन्ने इच्छा गरिदैन र पूरै वञ्चित गरिन्छ, त्यो बेला आक्रोश अझै अर्को बाटोबाट छिर्ने र यसले समग्र सशक्तताको आन्दोलनलाई नै कमजोर बनाउने उनको बुझाइ छ ।
अर्को कुरा चाहिँ, जेके रोलिङविरूद्धको आक्रोश भनेको एउटी स्त्रीको पोथी बसाई पनि हो । धेरैलाई उनले खुलेर बोलेको मन पराइरहेका छैनन् ।
यसैबीच, कमेडियन डेभ क्याम्पबेलले ट्रान्सविरोधी धारणा आफ्नो नेटफ्लिक्सको कमेडी सोमा व्यक्त गरेको भन्दै उनीप्रति चर्को आलोचना भयो । उनको पछिल्लो फिल्मलाई कुनै पनि फिल्म फेस्टिभलले लिन मानेन । क्यान्सिल कल्चरको मारमा परे । खासमा एउटा ठूलो समूह उनको धारणा सुन्न चाहन्छ । सोहीअन्तर्गत उनले ट्रान्सहरू विरूद्ध बोलेका थिए तर उनको करियर नै ध्वस्त बनाउन लागिपरे ।
नेटफ्लिक्समा रहेको उनको सोबाट उनलाई निकालिनु पर्ने अभियान चल्यो तर प्रमुख कार्यकारीमध्ये एक टेड सारान्डसले सो कुरालाई अस्वीकार गरे ।
लेखक, कलाकारको धारणाले कुनै पनि मुद्दामा ठूलो असर पार्छ । तर जब एउटा कमेडियनले कमेडीमा प्रयोग गर्ने कुरा, एउटी लेखिकाले आफ्नो निजी अनुभूतिका कुरा व्यक्त गर्न नसक्ने असहिष्णु समुदाय सिर्जना गर्ने हो भने भोलिका दिन कमेडी हास्यविहीन बन्न पुग्छ, साहित्य रसबिनाको हुन पुग्छ । काला जातिमाथि व्यंग्य गर्न कालै हुनुपर्ने र ट्रान्सविरूद्ध बोल्न ट्रान्स नै हुनुपर्ने जस्ता अप्ठेरा कुराले हामीलाई जङ्गली नबनाउला भन्न सकिन्न ।
(द न्यु युरोपियन साप्ताहिक अखबारको नोभेम्बर ४, २०२१ मा प्रकाशित आवरण कथाको संक्षिप्त अनुवाद)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

