ललितकला क्षेत्रमा जम्दै गरेका युवा कलाकार हुन्, गणेश राई। केही वर्ष यता उनी नेपाली कलालाई अन्तर्राष्ट्रिय तवरमा प्रचार प्रसार र प्रवर्ध्दन गर्ने क्रममा अर्का चर्चित युवा कलाकार मन्जुल मिेतेरीको नेतृत्वमा केही नेपाली कलाकारहरूको साथ जापानमा पहरामा बुध्दको विशाल प्रतिमा बनाइरहेका छन्।

२०४३ भदौ ३ गते मिक्लाजुङ्ग-४, मोरङमा जन्मिएका राई मूर्तिकला र चित्रकला दुवै विधामा पोख्त कलाकार हुन्।

सानैदेखि चित्र र मूर्ति बनाउन

रुचि राख्ने उनले ४ कक्षामा पढ्दाखेरी नै स्कुलमा माटोबाट हात्तीको मूर्ति बनाएर शिक्षकलाई देखाउँदा धेरै प्रशंसा पाएबाट झनै मूर्तिकलामा रुचि जागेको तर उचित अवसर र प्रेरणा नमिल्दा चाहना त्यसै थन्केको बताए।

चित्र बनाउनमा पनि धेरै रुचि भएको हुनाले आधाउधि कापीमा नेपाली हिन्दी फिल्मको नायक/ नायिकाको स्केच गर्ने गर्दथे । फलस्वरूप साथीभाइहरूले हौसाउँदा खुबै खुसी लाग्ने गरेको कलाकार राईले अझै सम्झन्छन्।

२०५४/५५ सालतिर मूर्तिकार मन्जुल मितेरीसँग भेट भएपछि उहाँले नै मूर्तिकलासम्बन्धी विस्तृत जानकारी तथा मूर्तिकार बन्न प्रेरित गर्नुभएको राईले बताए।

एस.एल.सी.पछि फाइन आर्ट कलेज पढ्ने रहर भए पनि पूर्वमा कलेज नभएको र काठमाडौँ बसेर पढ्न आर्थिक हैसियत नभएकाले रहरमै सीमित राख्नुपरेको उनको भनाइ थियो। केही वर्ष मूर्तिकलालाई निरन्तरता दिएको तर घरको आर्थिक स्तर सुधार गर्नुपर्ने बाध्यता अनि मूर्तिकला एवं चित्रकलाले खासै स्तर उन्नति हुने नदेखेपछि प्लस टुको अध्ययन रोकेर २०६४/६५ सालतिर विदेश लागे । विदेशको बसाई पनि भनेजस्तो लाभदायक नभएपछि फेरि नेपाल फर्केर मन्जुल मितेरी तथा कौशिला राईले मोरङको उर्लाबारीमा सञ्चालन गरिरहनु भएको मञ्जुल मूर्तिकला केन्द्रमा मूर्तिकारको रुपमा काम गर्न थालेको राईले बताए । उनका अनुसार ढुङ्गाको मूर्तिहरूमा रङ गर्दादेखि रङ्गीन चित्रहरू बनाउने इच्छा उठेको तर रङहरूको बारेमा खासै जानकारी नभएकाले चाहना पूरा भएक़ो थिएन।

२०७३ सालमा जापानबाट स्थानीय एक पहरामा ६५ फुट उचाईको १ बुद्ध सहित ४०/४० फुट्को दुई वटा र २०/२० फुटको ४ मूर्ति बनाउने अफर कलाकार मञ्जुललाई आएपछि उनकै नेतृत्वमा राईसहित अन्य ४ जना मूर्तिकार जापान पुगेका थिए । उक्त मूर्तिलाई २१ औँ शताब्दीको मानवनिर्मित सबैभन्दा अग्लो बुद्धको मूर्तिको रूपमा प्रचारप्रसार गरिएको छ।

कलाकार राईका अनुसार अहिलेसम्ममा उक्त प्रतिमाको ९०% काम सकिएको छ।

जापान आएपछि मूर्तिकार तथा वाटरकलर कलाकार जीवन पौडेलसँग राम्रो गरी चिनजान तथा नजिक हुने अवसर पाएपछि उहाँले नै जलरङसम्बन्धी विभिन्न जानकारी दिनु भएपछि जलरङमा प्रवेश गरेको राई बताउँछन् ।

हाल उनी मानिसहरूको मुहारचित्र कोर्नमै बढी रुचि भएकाले त्यस्तै पेन्टिङहरू बनाउन नै आफू केन्द्रित रहेको जनाए।

कलाकार राईले मूर्तिकला तथा चित्रकलाको अहिलेसम्म कुनै पनि औपचारिक शिक्षा नलिएको, अग्रज कलाकारहरूले फेसबुक, इन्स्टाग्राम तथा युट्युबमा अप्लोड गर्नुभएको पेन्टिङ, भिडियो, पेन्टिङ लाइभ सेसनहरू हेरेर आइडिया लिने गरेको बताए ।

वाटरकलर आर्टिस्टहरू विजय विस्वाल, प्रवीण कर्माकर, नादेर मोहाजाब्निए, मिसुल्बु, एनबी गुरुङ आदिबाट प्रभावित भएको राईले जनाए । मनपर्ने डिजिटल आर्टिस्टहरूमा भेन्कट श्याम, माइकल विलियम्स आदि छनोटमा पर्ने बताए ।

सम्भव भएसम्म भविष्यमा ललित कला क्याम्पसमा मूर्तिकला र चित्रकलासम्बन्धी औपचारिक शिक्षा लिने रहर रहेको, भोलिको दिनहरूमा यसै क्षेत्रमा लागिपरेर नेपाली ललितकलालाई थोरै मात्र भए पनि योगदान दिने चाहना रहेको कलाकार गणेश राई बताउँछन् ।

आउनुहोस् कलायात्राकै दौरानमा ‘लुम्बिनी कपिलवस्तु डे मुभमेन्ट कल्चरल अम्बासाडर अवार्ड र एमआरआर जापान तथा कुमामोतो नेपाली समाजको तर्फबाट नेपाली कला संस्कृतिको संरक्षण गरेबापत सम्मानित भैसकेका उनै युवा कलाकार गणेश राईका केही कलाहरू अवलोकन गरौँः