Chovar Blues Mobile Size

डेमन गलगट

द प्रमिस उपन्यासले २०२१ को बुकर पुरस्कार हात पारेको छ । यसका लेखक डेमन गलगट हुन् ।

दक्षिण अफ्रिकाको शहर प्रिटोरिया नजिकैको खेतीमा बसोबास गरिरहेका तीन भाइबहिनीहरू तिनको आमाको मृत्युपछि कसरी छिन्नभिन्न भए भन्ने बारेमा लेखिएको छ । तीन दशकको अवधिमा एउटा मृत्युले उनीहरूलाई कसरी नजिक ल्याउँछ, तिनको घरसँग नजिक बनाउँछ भन्ने कथासँगै दक्षिण अफ्रिकाको विभेदपूर्ण अवस्था र राजनीति तथा इतिहासमा उपन्यासले टिप्पणी गर्छ ।

तान्जानियाका उपन्यासकार अब्दुल रजाक गुर्नाहले यसै वर्ष नोबेल साहित्य पुरस्कार पाइरहँदा दक्षिण अफ्रिकी साहित्यकार डेमनले यो पुरस्कार हात पार्नुलाई सुखद् संयोग भनेका छन् ।

लन्डनमा गएको बिहीबार एक विशेष कार्यक्रमका बीच यो पुरस्कार दिइएको हो ।

पुरस्कार घोषणापछि सन् १९९१ मा द फेमिस्ड रोड उपन्यासबाट बुकर जितेका नाइजेरियाली लेखक बेन ओकरीले ३० वर्षअघिको तुलनामा यो पुरस्कार अझ बढी समावेशी बनेको र धेरैभन्दा धेरै महिलाहरू पनि पुरस्कृत भएकोमा सन्तोष प्रकट गरेका थिए । गएको वर्ष सुग्गी बेइन उपन्यासबाट डग्लस स्टुआर्ट पुरस्कृत भएका थिए, जो आफैँमा समलिङ्गी व्यक्ति मात्र नभएर प्रथम उपन्यासमै बुकरजस्तो सशक्त पुरस्कार हात पारेका थिए ।

द बुकर प्राइज बेलायतको सबैभन्दा प्रतिष्ठित साहित्य पुरस्कार मानिन्छ । यस पटकको पुरस्कारका लागि ६ उपन्यास छोटो सूचीमा परेका थिए ।

बुकर छोटो सुचीका लेखकहरू संयुक्त रूपमा तस्बिर खिचाउँदै

‘बेविल्डरमेन्ट’बाट रिचर्ड पावर्स, ‘अ प्यासेज नर्थ’बाट अनुक अरूडप्रगासम, ‘द प्रमिस’बाट डेमन गल्गट, ‘नो वन इज टकिङ अबाउट दिस’बाट पेट्रिसिया लकउड र ‘ग्रेट सर्कल’ उपन्यासबाट म्यागी सिपस्टिड छोटो सूचीमा परेका थिए ।

५७ वर्षीय यी लेखकका उपन्यास यसअघि यही पुरस्कारका लागि सन् २००३ र २०१० मा पनि छोटो सूचीमा परेका थिए । १९९९ मा उनी जेएम कोत्जीजस्तो प्रतिष्ठित पुरस्कार हात पार्ने पहिलो दक्षिण अफ्रिकी साहित्यकारका रूपमा पनि गनिन्छन् ।

यस वर्षको बुकर पुरस्कारका लागि १५८ उपन्यास दौडमा थिए । १३ उपन्यासले लामो सूचीमा ठाउँ पाएका थिए । त्यसबाट ६ वटा छोटो सूची जारी गरिएको थियो ।

जम्मा ३०० पृष्ठको डेमन गलगटको उपन्यास द प्रमिस

पुरस्कृत उपन्यासलाई अन्तिम सूची जारी गरिएपछि तीन पटक पुनः पठन गरिन्छ । र, हरेक पटकको पठनमा नयाँ नयाँ कुरा थाहा हुने गरेको निर्णायक समितिकी प्रमुख माया जेसानोफले द टाइम्स पत्रिकालाई बताइन् । उनको यो उपन्यासले पारिवारिक विखण्डनलाई विलियम फकनरले जस्तै सुन्दर तरिकाले पेश गर्नुका साथै भिन्दाभिन्दै पात्रका भिन्दाभिन्दै चरित्रको चेतनालाई रोचक तरिकाले पस्कने भर्जिनिया उल्फको कला यो उपन्यासमा पढ्न पाइएको टिप्पणी गरेकी थिइन् ।

बाल्यकालमा जब उनलाई फोक्सोसम्बन्धी रोग लाग्यो, त्यो बेला नै आफूले अरू काम गरी खान नसक्ने बरू लेखेर खान सक्ने सम्भावना भएकाले लेख्नु नै आफ्नो अन्तिम अस्त्र रहेको बताउने गरेका छन् । उनले आफ्नो जीवनमा पढेका विलियम फकनर, भर्जिनिया उल्फ मात्र नभई प्याट्रिक ह्वाइट तथा १९९४ का विजेता जेम्स केल्मान तथा सुग्गी बेइनका लेखक स्यामुअल बेकेटले पनि निकै प्रभाव पारेको टिप्पणी गरेका छन् ।

बुकर पुरस्कारको चम्किलो सिसाको अवार्डसँगै उनले ५० हजार पाउन्ड राशिसमेत हात पारेका छन् । छोटो सूचीमा परेका प्रत्येक उपन्यासका लेखकले भने २ हजार ५ सय पाउन्ड प्राप्त गरेका छन् ।

यसअघि द टाइम्स पत्रिकामा समीक्षक जोन सेल्फले वर्षकै उम्दा उपन्यास भनी यसलाई सराहना गरेका थिए । दक्षिण अफ्रिकामा रहेका सामान्य जीवन बिताइरहेका गोराहरूको मनोदशालाई यो उपन्यासमार्फत् उनले मज्जाले उधिनेका छन् । कथा १९८६ बाट शुरू भएर २०१८ सम्म तन्किएको छ ।

नाटक, कविता तथा उपन्यास जस्ता विविध विधामा लेख्ने गलगटको यो नवौँ पुस्तक हो ।