सुरभी रेग्मी
हामी विराटनगरमा बस्दा तिहार आउनेबित्तिकै म ममीलाई दंग्याउँदै आफ्ना झोला र सिसाकलम पन्छाएर लेग्रो तानेर भन्ने गर्थेँ, “तिहार आयो, झिलिमिली जिल्ला, मीठोमीठो खान मिल्ला !”
ममीले मेरो गाला मुसार्दै भन्नुहुन्थ्यो, अब तिहारमा हाम्री सानी झिलिमिली लुगा लाएर साथीहरूसँग भैली खेल्न जान्छिन् ।
त्यो सुन्दा म हातमा खेलौना लिएर घर वरिपरि दगुर्थेँ र ममीलाई कामै गर्न नदिने गरी सताउँथेँ ।
ममी मेरो पछिपछि आउनु हुन्थ्यो तर म यस्तो ठाउँमा पुगेर लुक्थेँ, ममीले मेरो छनक पनि पाउनु हुन्नथ्यो। एकछिनपछि भान्छामा भाँडाकुँडा बजेको सुनेपछि म कुर्कुच्चा उठाएर औँलाका चालमा भान्छा छेउको आल्मारी अगाडि जान्थेँ अनि आल्मारी खोलेर चकलेटको झोलामा हात लाउँथेँ । आवाज ननिस्कने गरी खोल्न पर्छ भन्ने ख्याल हुँदैनथ्यो । चुँइय ढोकाको आवाज आएपछि ममी सुटुक्क मेरो पछाडि आएर कान तान्दिनु हुन्थ्यो अनि भन्नुहुन्थ्यो, “आफ्नो होमवर्क चाहिँ पहिला गर्नू, अनि मात्र चकलेट खानू है !”
बल्लतल्ल परीक्षा सकिएर स्कूल छुट्टी हुँदा मेरो होमवर्क छिटो सक्ने विचार बिलाउँथ्यो । तिहार लागेलगत्तै फुर्सद जुटाएर यमपञ्चकको सुरु दिनबाटै मेरी आमा साथीसङ्गीहरू भेला गरेर घरआँगनका झार उखेल्नु हुन्थ्यो । अम्लिसोको मोटो कुचोले बाटोको ढुङ्गामाटो निखार्नु हुन्थ्यो । म भने ममीसँगै लागेर ममीको हातको कुचो समाउन खोज्थेँ, तर मेरा साना हातमा अटाउन नसक्ने कुचो ममीले खोसेर लग्नु हुन्थ्यो र भन्नुहुन्थ्यो, “सानी धुलोमा खेल्न नआऊन, खोकी लाग्छ ।”
म भनेको मान्थेँ किनकि मलाई होमवर्क अन्तिम दिनको लागि साँच्नु पर्ने हुन्थ्यो र ममीलाई होमवर्क पछि गर्छु भन्नलाई बहाना खोजेरै नि रिझाउँथेँ ।
ममीले सरसफाई सक्नुभएपछि म फूलबारी जान्थेँ। फूलको सुन्दरताको रस लिन्थेँ । ममी पनि त्यहाँ आउनुहुन्थ्यो । ढकमक्कै फुलेका थुँगे फूलहरूको रस चुस्ने मौरीलाई धपाउँदै, सर्लक्क आमाले फूल टिप्नु हुन्थ्यो। अनि एउटा टुक्रा आफ्नो कपालमा सिउरिएर म ममीलाई हेरेर मुसुक्क हाँस्थेँ। ममीले भन्नु हुन्थ्यो, “मेरी फूलकुमारी साह्रै राम्री देखिन्छे ।”
ममीले तिहारको लागि फूल टिपेर नाङ्लोभरि जम्मा पार्नु हुन्थ्यो र एउटा थुँगा भने चुँडेर मेरो टाउकोभरि छरिदिनु हुन्थ्यो । अनि मलाई भन्नुहुन्थ्यो- तिमी ठूली भएपछि दाजुहरूलाई आफ्नै हातले फूलको माला बनाएर लगाइदिनू । हामी त तिहारमा तीन किसिमका फूलका माला लाइदिन्थ्यौँ । (मखमली, सयपत्री, गोदावरी) । अचेल त एउटा माला बनाउन नि फूल हुँदैन, अनिकालको समय आयो !
तिहार लागेपछि यस्ता फूलका किस्सा सधैँ ताजा नै हुन्छन् तर तिहार मनाउन हाम्रा बाबाममीका गोजीमा दामको अभाव नै भैरहन्थ्यो, जागिर दह्रो नभएको भएर होला ! मलाई याद भएसम्म दुईजनाको महिनाको कमाई लगभग पच्चिस सय रुपैयाँ थियो तर पनि हामी केटाकेटी (दाजुबहिनी) का पटेका पड्काउने अनि मिठाई मरमसला खाने रहर जसरीतसरी पूरा गरिदिनु हुन्थ्यो ।
तिहार झिलिमिली र पकवानको चाड ! खर्च बोक्ने चाड पनि त्यत्तिकै र पनि वर्ष दिनमा एकचोटि आउने उत्सवमा जसरी भए पनि दुई तीन छाक मिठोमसिनो जुटाउन पछि पर्नुहुन्नथ्यो ममीबुबा। तारमा झिल्के ट्युब जोडिएका बत्ती बजारबाट किनेको, काठमाडौँमा दस कक्षा पढ्न थालेदेखि होला। नत्र हाम्रो विराटनगर सबै नै दियोको दीपमा धपक्कै बलेको हुन्थ्यो । तिहारको पहिलो दिन कागको पूजा गरिन्थ्यो । पुरानो कथन जोडिएर आएकै छ – काग भनेको यमराजको दूत । कागलाई खाना खुवाएर यमराजको सन्देशलाई स्वीकृति दिने चलन रहेछ । मलाई चाहिँ भन्नुपर्दा काग मनै नपर्ने पन्छी । त्यसमा पनि ममीले कागलाई दूनामा खानेकुरा छुट्याएर राखिदिँदा पटक्कै मन पर्दैनथ्यो।
दोस्रो दिन कुकुर तिहार । कुकुरलाई मान्छेको सुरक्षा गर्ने घर पालुवा जन्तुको रूपमा पालिने चलन रहेछ तर ममीबाबासित कुकुर किन्ने हैसियत थिएन । टिभीमा कुकुर खेलेको देखेर ममीलाई कुकुर घरमा ल्याउन आग्रह गर्थेँ तर ममीले जवाफ दिनु हुन्थ्यो- तिमीहरू दुई–दुई वटा कुकुरहरू छँदै छौ नि, किन अर्को चाहियो?
तेस्रो दिन लक्ष्मीको पूजा सामग्री र फलफूल घरमा ल्याएपछि विशेष रूपमा लक्ष्मी पूजाको तयारी सुरु हुन्थ्यो । लक्ष्मीको पूजा आराधना गर्न आमाले सेलरोटी आरीभरि बनाएर चढाउनु हुन्थ्यो अनि प्रसादस्वरूप मलाई टीका लगाई दक्षिणा हातमा थमाउनु हुन्थ्यो । दादालाई चाहिँ टीका लाइदिए पनि दक्षिणा दिनु हुन्नथ्यो किनकि छोरालाई दक्षिणा दिनु हुँदैन भन्नुहुन्थ्यो । मलाई दक्षिणामा कहिले पाँच रुपैयाँको दुइटा नोट पर्थ्यो, अनि दादाले साटेर दसको एउटा नोट मेरो हातमा राखिदिनु हुन्थ्यो । त्यो देखेर म गन्गनाउँथेँ । ममी दादाले किन धेरै लिएर मलाई थोरै दिएको भन्दै । ममीले मलाई त्यसमा एक रुपैयाँको नोट थपिदिनुहुन्थ्यो । फेरि म खुसी भइहाल्थेँ ।
त्यो किस्सा ठूलो भएर सम्झँदा म कति उल्लु थिएँ जस्तो लाग्थ्यो । आखिरमा पाँचको दुइटा नोट बराबर सिङ्गै दसको नोट दिनु त एउटै त हो ! त्यसमा एक रुपैयाँ थप्दा कति नै बढी हुन्छ र ! ममीलाई यो कुरा सुनाउँदा उहाँ मसँगै हाँसेर सहमति दिनुहुन्छ । उहाँ सधैँ भन्नुहुन्छ- तिहारमा लक्ष्मी खुसी फैलाएर भित्र्याउनु पर्छ ।
चौथो दिन, हली तिहार । हाम्रो घरमा गाईगोरु त पालेको कहिल्यै छैन र थिएन पनि तर, मामाघरमा गाईगोठ हुन्थे । र शुभकामना दिनुपर्ने पनि त्यहाँ नै हुन्थ्यो । ममीले फोन गरेर तिहारको कामना गरी मेलोमेसोको कुरो गर्नुहुन्थ्यो । पहाडे मामाघरको तिहार चाहिँ अभावमा टर्थ्यो । बल्लतल्ल हजुरबुबाले जोडजाम गर्नु भएको गाईको दुध बेचेर कति नै नाफा हुन्थ्यो र ! तैपनि दुहेको दूध गाउँघरमा बेचेर, मामाले यसो दुई तीन छाक चाहिँ चलाउनु हुन्थ्यो तिहारमा पनि ! बुढी हजुरआमा पनि हुनुन्थ्यो मामाघरमा। कामको माचोमा मैलो हातले जसोतसो गोठमा गोबर पोतेरै भए पनि हलीपुजा फर्च्याउनु हुन्थ्यो हजुरआमाले। रातो माटो लिपेको हात छेस्काले चर्चराएर फुस्रा भए पनि घरलाई चमक दिन चुक्नु हुन्नथ्यो। मावलमा चोयाले डोको कसेर घाँस दाउरा ओसारेर मिहिनेतको पेट भर्दाभर्दै हली तिहार आउँथ्यो। अनि मैले मामाको छोरा (भाइ) लाई भाइटीकाको निम्तो दिएपछि जवाफको उत्सुकताले तिहारमा रङ थपिदिन्थ्यो। घरव्यवहारको पासोले पेलेको तिहारमा फुर्सद निकालेर आउने बोली दिन्थ्यो तर आउने सम्भावना कम हुन्थ्यो ।
अन्तिम दिन भाइटीका । निधारमा सप्तरङ्गी टीका ढल्काउँदा दाजुभाइको जोवन नै कल्काउँदो देखिँदो हो ! भाइटीकाको मौलिकता चाहिँ विभिन्न परिकारका खानेकुरा दिएर दही ख्वाइदिनमा छ । शुभकाम अघि र पछि मुख मिठो पार्नु पर्ने कथन त चलिआएको नै हो। भाइटीकाको भाग ठिक्क पारेदेखि भातभान्छाको चपेटो छिचोलेर टीका सक्केसम्म तिहारको थकानले मोड फेर्दैन। ममीको सहयोगले पनि भाइटीकाको व्यवस्थापन गर्न सजिलो हुन्थ्यो ।
मेरो परिवार बसाई सरेर काठमाडौँ आएको सोह्र वर्ष भयो। अहिलेको डिजिटल युगमा मोबाइल हातमा भएकोले इन्टरनेटबाट तिहारका शुभकामना आउन थालेका छन्। भौगोलिक दूरी बढेपछि मावलबाट भाइलाई काठमाडौं धाउन टाढा पर्छ र पनि भाइ आकलझुकल काठमाडौं चाहिँ आउँछ तिहारमा । भाइटीकाको साहितको टिको कहिलेकाहीँ फाप्छ ऊसँगको। देउसी भैलो पनि नाम मात्रको हुन्छ काठमाडौंमा अचेल । पुराना समाजका अंशलाई संगीतमा अंकित गरेर कमैले गाउँछन् देउसीभैलो गीत । रातोमाटो लिप्नुको साटो इन्डियनहरूको नक्कल गरेर रङ्गोली बनाउनमा मान्छेहरू खुसी छन्, काठमाडौंमा। दाजुभाइहरू देउसी कम जुवातास बढी खेल्छन्। देउसीभैलोमा आशीष नदिकन बढी दक्षिणाको आस गर्छन् अचेल। दियो बाल्नुको साटो आर्टिफिसियल झिलिमिली बत्ती बाल्न थालेका छन् मानिसहरू। यस्ता किसिमका गतिविधिले तिहारको मौलिकता मेटिएर गएको छ ।
राम्रो पाटो हेर्दा, तिहारले टाढिएका आफन्तरू भेटाउन बाटो देखाएको छ । काग, कुकुर, लक्ष्मी, गाईगोरु र दाजुभाइको पूजा गरेर हाम्रो पौराणिक संस्कृतिको जगेर्ना भएको छ ।
दुई तीन वर्षदेखि ममीको पनि उमेर ढल्किदै गएको छ । पहिला जसरी तिहारको चाँजोपाँजो मिलाउने आँट अहिले सेलाएको छ तर ममीले सधैँ मलाई प्रोत्साहन दिनुहुन्छ, तिहार दिदीबैनी र दाजुभाइको चाड हो । तिमीले यसलाई महत्त्व सधैँ दिइरहनु पर्छ । तिहारमा दाजुभाइलाई दङ्ग पार्न नछोड्नू । जे जति छ, हामीले सरसामान जुटाइदिएको नै छौँ अहिलेसम्म। आफ्नो कमाई भएपछि अझै जिम्मेवार रूपले खर्च गर्नू र स्वतन्त्र किसिमले मनाउनू ।
सोच्छु- आमाको पुस्तालाई कति चिन्ता छ, हाम्रो पुस्ताले यसलाई चटक्क बिर्सिऔँला भन्ने !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।