पाँच दशकदेखि साहित्यकर्ममा लागिरहनुभएका वरिष्ठ सर्जक प्रा.डा. गोविन्दराज भट्टराईका नेपाली र अङ्ग्रेजी भाषामा गरिएका मौलिक सिर्जना, अनुवाद तथा सम्पादनसमेत गरी पाँच दर्जक कृति प्रकाशित छन् । साथै, एक दर्जनभन्दा बढी पाण्डुलिपिहरू प्रकाशनको सङ्घारमा छन् ।

प्रस्तुत छ, भट्टराईसँग साहित्यपोस्टका लागि साहित्यकै सेरोफेरोमा रहेर छविरमण सिलवालले गरेको कुराकानीको सम्पादित अंश;

यहाँको लेखनका प्रारम्भिक दिनहरू कस्ता थिए ?

यो प्रश्नले समयलाई सीमित गर्न सक्तैन साँच्चै लेखन सुरु हुनुभन्दा पहिले कति वर्षको अभ्यास हुन्छ अस्पष्ट, अनिश्चित, आकारहीन, धुमिल । त्यो मनोवैज्ञानिक सङ्घर्षमा बितेका वर्षहरू खोतल्नुभनेको अन्धकारको ठुलो दहमा हाम्फाल्नु जस्तै हो । त्यो साहित्यकारको बिउ डुबेर त्यसमा त्यसै पनि मर्न सक्छ; जाग्न पनि । वारपार कति छ भन्ने थाहा नपाई पोखरीमा हाम्फाल्नेजस्तै कुरा हो । त्यसमा पौडिँदै मेरा पनि धेरै वर्षा समाप्त भए ।

प्रा.डा. गोविन्दराज भट्टराई

पचास वर्षअघिको गाउँको समाजमा सिर्जना गर्नुको अर्थ कति लाग्थ्यो होला ! धन्य हाम्रा पिताजी लोकलयमा दार्शनिक कुराहरू रचेर परिवारमा सस्वर गाउन सिकाउनुहुन्थ्यो यसरी –

आज्ञानको तिमिरलाई ज्ञान खुर्पा लिई

विषय र तृष्णादिका बुटा सबै फाँडौँ ।

साक्षर हुनुपूर्वैदेखि हामीलाई कण्ठ थियो । केही नबुझिए तापनि हृदयमा लुकेको यस्तो लोकलय कति बेला एकान्त भेटेर गाउँदै नाचौँ हुन्थ्यो । सानामा घटेका ससाना घटनाले जीवनको गोरेटो खन्न थाल्दा रहेछन् । मेरो त्यस्तै भयो ।

छविरमण सिलवाल

पछि हाइस्कुल पुगेपछि एउटा ठुलो पुस्तकालय भेटियो, प्रयोग गर्न सिकाउने गुरु भेटियो । त्यसले कति वर्षदेखिको तिर्खा मेट्न थालेछ । त्यो प्यासनले ती गुरुले मिलेर बाले रोपेको बिउ उम्रियो होला । त्यसैले मैले झापाको आदर्श विद्या मन्दिर घैलाडुबालाई कहिल्यै बिर्सन सक्तिनँ । पछि गएर २१ वर्षको उमेरमा मुगलान (पहिलो उपन्यास) लेखेँ । लेखेर मात्र पनि हुँदैन, सुरुमा त अच्युत घिमिरे ‘बुलबुल’ को वाचनमा छ, अनुवादमा छ । फल लग्ने नलाग्ने केही थाहा पाइँदैन । अहिले ता मुगलान पाठ्यक्रम छ । महिनामा एउटा समीक्षा विचार आउँछ । अस्तिको महिना सञ्चारकर्मी भाइ मोहराज शर्माले मुगलान पढेर भने— म दुई तीन दिन रन्थनिएँ, त्यस्तो हल्लाउने उपन्यास । यो महिना सिक्किमका टीका ढुङ्गेलले लामो समीक्षा लेखिपठाए… यसरी हृदय हल्लाउने उपन्यास कसरी लेखियो होला इत्यादि ।

लेखक भएर बाँच्न कत्तिको सजिलो रहेछ ?

कोही मानिस लेखक हुन खोज्दा सकेन र मर्‍यो भन्ने कुरा सुनिएको छैन । पैसा नहुनु, अभावले ङ्याक्न खोज्नु एउटा कुरा हो तर जुनसुकै पेसा कर्म गरे पनि यी चुनौती ता जहाँ पनि छन् ।

लेखन एउटा अनुराग हो, एक प्रकारको बिमार । यसले छोपेपछि मासिनले मरेको र बाँचेको थाहा पाउँदैन । इतिहासका कठोर पहरामा आफ्नै नाम कप्तै जान्छ ।

अँ एउटा कुरा छ, लेखेर पैसा सम्पत्ति आर्जन गर्छु भन्नेहरू अकालै मर्छन् । यो आफैँले रोजको पासो हो । घाँटीमा उनेर पिङ खेल्न सिक्नुपर्छ ।

हालसम्म प्रकाशित तपाईका पुस्तकहरू कुन होलान् ?

पचास वर्षदेखि साहित्यमा कुदिरहेको छु तपाईँजस्तो एक जना दक्ष साहित्यकार मेरा सृष्टिबारे अनभिज्ञ रहेछन् भन्ने विचार सुन्दा मलाई दुःख लाग्छ । यति भन्छु— नेपाली र अङ्ग्रेजी भाषामा गरिएका सिर्जना र अनुवाद अनि सम्पादन समेत ५८ कृति छापिए १२ ओटा पाण्डुलिपि छन् । अरू समयले रच्तै गर्छ ।

साहित्य र राजनीतिका बारेमाा आफ्नो विचार राखिदिनुहुन्थ्यो कि ?

हरेक देशमा राजनीतिअघि लाग्छ, प्रशासन पछिपछि । देशका हरिया बालीनालीमा स्वतन्त्र भएर चर्ने ती जोर साँढे हुन् । यसमा प्रायशः धूर्त, मूर्ख आँटी र निर्लज्जहरू अघि लाग्छन् । अरू साराका घाँटीमा उनीहरूले दाम्ला लगाएका हुन्छन् । अरू मानिस वरिपरि गर्ने झोला भिर्ने, झिँगा धपाउने मात्र हो । आफ्नो स्वतन्त्र चेतना लगेर तिनीहरूलाई बुझाएपछि स्वतन्त्र लेखन पनि समाप्त हुन्छ ।

राजनीतिको यात्रा मार्ग सधैँ नियन्त्रणको हो र यसको गन्तव्य सधैँ निरङ्कुशता । त्यसकारणले राजनीतिको छेउमा बसेर त्यसकै छाता ओढेर लेख्नेहरू छन्, स्वतन्त्र चेतनाले कला साधना गर्नेहरू पनि छन् । त्यो एउटा स्वार्थको बत्ती निभ्नासाथ पुतलीहरू सकिन्छन् । हाम्रो देशमा त्यही छ ।

वर्तमान राजनीतिक अवस्थाप्रति यहाँको धारणा ?

राजनीति भनेको ‘नेसेसरी इभिल’ हो ‘अनिवार्य दोख’ । शिक्षा र चेतनाको स्तर कम्ती भएको हाम्रो जस्तो देशमा मानिसको मनमा एउटा गहिरो छाप परेको छ— शासकहरू सधैँ लुट्न आएका हुन्छन् । त्यसैले शिक्षितहरूको मन पनि देशमा छैन । युवाशक्ति सधैँ आकाशमा छ । उच्च शिक्षा टेक्न नसक्नेहरू शासन सत्तामा झम्टिन पुगेका छन् । यसरी देशको मनोबल झन् तल झर्छ । राजनीति नैतिकता बेगर खेलिने खेल भएकाले गर्दा नेपाली जनता दुई भागमा छन्— कि त मिलेर टाँसिएर साँढेहरू अघाएर बँचेको खानु नत्र कुनै देशको गन्तव्य ताकेर जानु । एकपल्ट बाहिर पुगेको नागरिकको मन त सधैँ स्वदेशमै हुन्छ तर शरीर फर्केर आउन नसकी जुनी जान्छ । यिनै विभक्त मनस्थितिले हाम्रो साहित्य सधैँ प्रताडित छ ।

एउटा सफल लेखक बन्नका लागि के गर्नुपर्ला ?आफ्ना अनुभव केही छन् कि ?

एउटा गीतको बोल छ— हुँदैन बल गरी… । त्यस्तै हो साहित्यमा पनि । अलिकति ता अन्तःप्रेरणा चाहिन्छ; अरू साधना । हाम्रामा ठुलो रोग छ नपढ्ने । नयाँ कुरा नपढी आफूले देखे सुनेको कुरा मात्र लेख्ने सुरमा हुनुहुन्छ बस्नुहुन्छ भने कदापि राम्रो लेख्ने शक्तिको उदय हुँदैन । त्यसमाथि हाम्रो देशमा राजनीतिका सिद्धान्त र नारालाई साहित्यमा परिणत गर्ने लेखकको सङ्ख्या ठुलो छ । पार्टी सिद्धान्तभन्दा माथिको विवेक र चिन्तनमा ती चढ्न जान्दैनन्, पाउँदैनन् । केही स्वतन्त्र पनि छन् तर ती नपढेर बोधिने खालका छन् । लेखे पनि कि यथास्थिति, कि बिलौना कि स्तुति ।

यो बाटो अत्यन्तै कठिन छ । रातदिनको तपस्या चाहिन्छ । विचार मात्र थुपारेर नहुने; कलामा मात्रै ज्यान दिएर मात्रै नहुने । विश्वमा दिन-दिन नयाँ सिद्धान्त-विचार विचलन र आविष्कार आइरहेका छन् । त्यतातिरको चेतना छैन भने सधैँभरि अड्डामा पुगेर उही तमासुकको भाषा सारेजस्तो हुन्छ । आफू सफल लोखक बन्ने सकेको छु जस्तो लाग्दैन त्यसैले अरूलाई उपदेश दिन योग्य पनि ठान्दिनँ तर स्वतन्त्र चेतना नभएको व्यक्तिले लेखिरहनुभनेको सधैँ पिठो पिस्नु मात्र हो ।

सम्मान पुरस्कारबारे यहाँको दृष्टिकोण के छ ? आफ्ना केही अनुभव ?

सम्मान पुरस्कारमाथि पनि अधिकांश त पार्टीकै कब्जा छ । सरकारी सम्मान पुरस्कार पाउनुभनेको गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम भेटेजस्तै हो । पार्टीका कार्यकर्तालाई छुट्याइएको । सम्मान पनि देखियो ती एकछिन आफूलाई ढाँट्ने र अरूलाइ छल्ने कुरा मात्र हुन् । हिजो गोदवा पाउने, त्रिशक्ति पट्ट पाउनेहरू आज कहाँ लुकेका होलान् ! आजका गोदवा खानेहरू दिन दिन उदाइरहेका छन् । यसपालिको छनोटमाथि खगेन्द्र सङ्ग्रौलाज्यूको एउटा लोख थियो— त्यो सर्वकालिक हो ।

सरकारी सम्मान पुरस्कारहरू सधैँ एक दलीय मात्र हुन्छन् । अरू पनि छन् । पुरस्कारको पनि समान्य मानिसले नै निणर्य गर्ने हो । लिने दिने दुवै रिस, राग, द्वेष, लोभ घृणा, प्रेम, पूर्वाग्रह अनेक संवेगले बनेको तीव्र नदी हो । त्यसकारण यहाँदेखि नोबेल पुरस्कारसम्म यसपालि उचित भयो भन्ने सुनिँदैन । यसपालि नेपाली साहित्य एकेडेमी पुरस्कार अनुपयुक्त भयो भनी भारतमै कत्रो हङ्गामा छ । सबै भावनाले अनुभवले विनातुलो तराजु गरिने कुरा यस्तै हो ।

आफ्नो केही अनुभव छैन । साथीहरू मरेर कुदेको देख्ता म मुख छोपेर बसिरहन्छु । त्यो तपाईँको योग्यतामापक कसीमा होइन । आउने आउँछ, आएर पनि केही टर्दैन । नआएर पनि केही बिग्रिँदैन । मलाई आफ्नो कर्मको बाटो नरोकिए भयो । म अरू थोकमा चिन्ता गर्दिनँ । अयोग्यले आज केही खायो भने मरेपछि पनि उसले तिर्नुपर्छ । योग्यले पाएन भने मरेपछि पनि दिनेले त्यसको सजाय तिर्नुपर्छ । महाकविलाई पुरस्कार नदिनेका नातिनातिनाले पश्चात्ताप गरेर पनि त्यो धोइँदैन ।

सम्मान पुरस्कार ठुला कुरा होइनन्, ठुला कुरा त निरन्तर अध्ययन र लेखनमा लाग्ने ऊर्जा र मनोबल । साहित्यलाई दोहोर्‍याउने केही नयाँ कुरा प्रस्तुत गर्ने आँट ठुलो कुरा ।

यहाँको साहित्यिक सक्रियताका पछाडि के छ त्यस्तो रहस्य?

सबैको जीवन क्षणिक छ । यो सुन्दर जगत्‌मा भाषा प्रयोग गर्न र चेतना खेलाउने दैवी उपहार मानवबाहेक अरू कसलाई छ र ? यस बेला सबै कुरा बिर्सेर कुनै प्रकारका लोभ, लालचा, आशा जस्ता ढुकुवा विचारबाट विमुक्त भई कर्तव्य मात्र गरौँ । जीवित छउन्जेल सबै समान ठान्छौँ तर मरेपछि सधैँलाई मरेर जान्छन् । सागरमा खरानी पखालिएपछि नलेख्नेहरूको स्मृति पनि पखलिन्छ । त्यसैले साहित्य गर्नेले बोल्ने नबोल्ने सबैको आवाज लेखिदिनुपर्छ । आफ्नो मात्र होइन अरूको पनि । त्यसैले म लागिरहेको हुँ ।

साहित्यमा राजनीतिक हस्तक्षेपप्रति यहाँको धारणा ? नेपाल सरकारले साहित्यलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

राजनीतिले देशका सिमानाभित्रको जल, थल, नभ, तेज, प्रकाश सबै मेरो हो भन्छ । पशु र मानवको सेवा पनि मेरै भन्छ । त्यहाँ देशकै रस खाएर बाँच्ने परजीविहरू हुन्छन् सत्तामा चढ्छन्, ओर्लिन्छन्, राजनीति गर्न कुनै योग्यता चाहिँदैन । त्यस्ता मानिसमाथि चढ्छन्, सरकारी संयन्त्र बताउँछन् बदल्छन् तर उनीहरू सबै ता जनताले तिरेको करमा हुन्छन् । त्यो पनि भारी दुरुपयोग गर्छन् । त्यो दिनेहरू सधैँ माटामै हुन्छन् ।

सरकार एउटा रथ चढेर हिँड्छ उसले पछिल्तिर अलिकति हरियो घाँस बाँधिदिन्छ । त्यही देखेर खान पाइएला भन्दै कुद्नेहरू पछ्याउनेहरू अरू छन् । सरकारको धारणा हुन्छ यसरी हरियो देखाएपछि सबै हाम्फालेर आउँछन् । नभन्दै अधिकांश साहित्यकारको जीवन त्यही घाँसको पछि दौडिँदा व्यतीत हुन्छ । यदाकदा एक दुई गाँस भेट्छन् पनि ।

नेपाल सरकारको पनि त्यही हो । स्वतन्त्र बाँच्न चाहनेलाई उपेक्षाले गलाउँछ । आफ्ना पक्षधरलाई सरकारी मिसिनका किलाकाँटा भन्ने सिद्धान्तअनुसार ठाउँ-ठाउँ फिट गर्छ सम्मानमा पुरस्कारमा, पदमा, प्रतिनिधिमा, अवसरमा ।

असल नागरिक जन्माउन असल साहित्यको आवश्यकता पर्छ भन्छन् नि, के यो सत्य हो ?

यो सामान्य ज्ञानजस्तो प्रश्न, स्वयंसिद्ध कुरा ।

नेपाली सृजनात्मक साहित्यका लागि समालोचना कत्तिको जरुरी छ ?

अनादिकालदेखि साहित्यको एक अपरिहार्य विधा भएर आएको छ समालोचना । यसको अपरिहार्यतामाथि कसैले प्रश्न उठाएको छैन । सबै साहित्यका लागि समालोचना त्यत्तिकै आवश्यक छ ।

समालोचना दुईपल्ट चाहिन्छ— साहित्यको सिर्जना गर्नु अघि कसरी लेख्ने, कस्तो लेख्ने, लेखनका सिद्धान्त के हो बुझ्नका लागि । यो चाहिँ अधिकांश पूर्वप्रकाशित अरूका कृति पाठले सिकाउँछ । एउटा हृदय छुने उपन्यास पढेपछि म पनि यस्तै लेख्ने प्रयत्न गरौँ कि भन्ने झ्वाँक चल्छ । त्यसको कथानक, पात्र, विषयवस्तु, परिवेश आफैँ मनमा नाच्न थाल्छ । समालोचन सिद्धान्त नपढी कसैमा त्यस्तो सम्भावना उदाउँदैन ।

त्यसरी केही कुरा सिर्जना गरिसकेपछि के कस्तो भयो म समयानुकूल भएँ कि भइनँ होला, अहिले लेख्ने केकस्ता विषय आएका छन्, तिनको पालना भयो कि मैले उल्लङ्घन गरेँ आदि करा सुनिश्चित गर्न फेरि समालोचना सिद्धान्त पढ्नुपर्छ । राष्ट्रिय साहित्यको मूल्याङ्कन र मापन पनि त्यसैगरी हुन्छ । साहत्यको स्तर पनि अरूको हेरेर प्राप्त गरिने मापन र मूल्याङ्कनको परिणाम हो ।

समालोचक नभएको साहित्य राम्रा माली नभएको झारजङ्गलले छोपेको बगैँचा हो । फूल राम्रो जात चिन्ने व्यक्ति समालोचक हो । जसरी चिया कफी कारखानामा तीक्ष्ण घ्राण शक्ति भएको कनोजर (पारखी) नियुक्त हुन्छन् । त्यसैगरी साहित्यमा स्वयंसेवी समालोचक हुन्छन् तिनले बाटो देखाउँछन् । तिनलाई समुद्री डिलका प्रकाशस्तम्भ (लाइटहाउस) भनिन्छ ।

एउटा समालोचकका आँखाले हेर्दा नेपाली साहित्यलाई कस्तो देख्नुभएको छ ?

यसका पनि व्यक्तिपरक निणर्य हुन्छन् । समालोचकको अध्ययन सीमा जे छ त्यही उज्यालोले मात्रै ऊ साहित्यलाई हेर्न सक्छ । मेरो चाहिँ पाश्चात्य समालोचना सिद्धान्तको पनि नवीनतम धारा र प्रवृत्तिप्रति अरुचि बढ्दै गएकाले गर्दा साहित्यलाई सधैँ नवीन आँखाले हेर्नुपर्छ भन्छु । सधैँ नवीनतातिर लग्नुपर्छ भन्दछु । पूर्वमा त्यो मिसाएर चल्नुपर्छ भन्छु । बजारमा हेर्दा थाहा हुन्छ, आयुर्वेद कुन तहमा छ, एलोपेथिक पद्धति कहाँ । विज्ञानअघि लागेको ठाउँमा अनुमानहरू बिसाउँदै जानुपर्छ ।

तर नेपाली समालोचनाको आसनमा बस्नेहरू अघिकांश यथास्थितिवादी छन्, नवीनताका प्रतिरोधी तिनमा पनि अधिकांश संरचनावादी छन्— साहित्यलाई राजनीतिको कलकाँटा ठान्नेहरू । ती पनि नवीन धारणा र पद्धतिको उग्र प्रतिरोधी हुन्छन् । त्यसले नेपाली साहित्य कठिन मार्गमा छ । यसमा नयाँ कुरा भर्न मुस्किल छ । साहित्यिक सङ्घसंस्था पनि अधिकांश यस्तैका कब्जामा भएकाले नवीन उन्नतिको ठुलो आशा छैन । नित्य नवीनताको उत्तरआधुनिक सिद्धान्तलाई उनीहरू फेदेदेखि निमोठेर र चिमोटेर बढ्न नदिने बल गर्छन् तर समय बलवान् छ । अहिलेको उदार र खुला विश्वले प्रजातन्त्रतिर जाने बाटो यता हो भनिदेला अधिनायकवादतिर जाने बाटो यता हो भनिदेला; भनिरहेकै छ ।

धर्म साहित्य, राजनीति सबै कुरा कि मानिसलाई कस्ने पक्षका छन् कि खुकुल्याउने । हाम्रा पिताजी आफैँले रचेको एउटा निर्गुणमार्गी भाजन गाउनुहुन्थ्यो –

स्वभावैको गुणै छ खानू

आखिरीमा दुई मार्ग सम्झनू ।

नेपाली साहित्यको वर्तमान लेखनप्रति यहाँको दृष्टिकोण ?

वर्तमान लेखन असमेल भेलबाढी आएको कर्णालीजस्तो छ । लेखनका बन्धन चुँडिए । जो पनि लेखक हुन पाउने भो जो पनि प्रकाशक । हिजोसम्म पाठक धेरै थिए, लेखक थोरै । आज साइबार जगत् उघ्रेपछि पाठक थोरै भए लेखक धेरै । थामिनसक्नु भ्याइनसक्नु, पढिनसक्नुको चक्रवात घुम्छ । यो भावनाको तत्त्व काव्य, उपन्यास, नाटक, जीवनी सबै टुक्रयाएर चूर्ण बनाई फेसबुकमा हाल्ने र त्यसका पाठकसङ्ख्या ‘लाइक’ ‘कमेन्ट’ ‘सेयर’ ले नाप्ने दिन आएपछि । साहित्य टुङ्गिँदै छ । यसको दीर्घकालीन आनन्द र प्रभाव दुवै समाप्त भएर बच्चाको भिडियो गेम हेराइमा झर्‍यो ।

प्रत्येक व्यक्ति एउटा प्रकासन गृह भयो त्यसकारण अक्षरको मूल्य पनि शक्ति हराएको मन्त्रको जस्तै भएको छ । पुस्तक उता प्रतिस्थापित हुँदै छ । चोर्ने सार्ने प्रतिकृति उतार्ने कर्महरू असाध्यै बढेका छन् । कसैको एक रचना निस्केपछि इमेलमा भोइसमा फेसबुकमा यस्ता सबै माध्यममा खनिएर आउने गर्छन् । प्रत्येकको हातमा यस्ता विद्युतीय शक्ति भएपछि पुस्तकमा पढ्ने बिस्तारै रसास्वादन गर्ने लेख्ने व्यक्त गर्ने परम्परा एकचोटि फ्याप्पै सकियो । अब पलाउने हो होइन ।

यसले एउटा काम गर्दै छ— नेपाली सिर्जनामा एकरूपता ल्याउन सक्छ । नेपाली भाषामा र विश्वभरिको नेपाली जातिको सोच चिन्तनको स्तरमा भेदहरू मेटिँदै गएर ग्लोबल नेपालीत्वको विकास हुँदै छ । खुसी लाग्छ । गम्भीरता टुक्रिँदै छ । सस्त्याइँ बढ्दै छ ।

यहाँका समालोचना कृति अरूका भन्दा फरक भएको पाइन्छ, यसबारे यहाँको धारणा ?

यो ता भाइले आफैँ भनिदिने कुरा सिद्धान्तमा म नवीनताको पक्षमा उभिएको तीन दशक भएको छ । अझै पनि संरचनावादी ठाउँ-ठाउँमा लगाएका ढाटहरू छन् । समालोचनाका छ ओटा ग्रन्थ निकालेँ— तर यसपालि प्रज्ञा नेपाली समकालीन समालोचना नामक ४०० पृष्ठको ग्रन्थ निकाले । त्यसमा मलाई थाहा दिएनन् । कारण सबै अधिकांश संलग्नहरू पार्टीका बन्दुके रहेछन्— मार्क्स, लेनिन, माओ वरिपरि उनीहरूको समालोचना सिद्धान्त छुङ्गिन्छ ।

नेपालका यस्ता प्राज्ञहरू देख्ता मलाई माओवादीले ठाउँ-ठाउँ लगाएका नाकाबन्दीको सम्झना आउँछ, विश्वले साहित्यले जतिसुकै उन्नति गरे तापनि ती नव सन्देश हाम्रामा आइपुग्दा नेपाली माध्यममै आउँछन् । नेपालीमा ढाट लाउनेहरू ठाउँ-ठाउँ उभिएका छन् । बदल्न नहुने भाषा (कोश) लाई उल्टाइदिएर पचास वर्षपछि ठेलेका छन्, बदल्नुपर्ने साहित्य र समालोचना सिद्धान्तमा तगारो हालेर अरू पचास वर्ष पर सारेका छन् । मैले त समयलाई ब्युँझाउन सतत प्रयत्न गर्ने मात्र हो । अहिले नबुझे भोलि बुझ्लान् । साहित्य भन्नु नित्य नवीनताको मार्ग हो । खुला देखिएका प्रत्येक खालमा राजनीतिको ठेडी ठोकेपछि के बाँकी रहन्छ ?

विगतका २८ वर्षमा उत्तरआधुनिक आयाम परिवर्तन अन्तर्गत पर्ने युद्ध साहित्य, डायास्पोरा साहित्य, साइबरीय चेतना, पर्यावरणीय साहित्य, विश्व आख्यान, अनुवाद नारीवाद, अभिघात जस्ता एक दर्जन विश्वचेतनाको सङ्केत नेपालीमा ल्याएँ, अझै तिनै कर्ममा छु ।

वर्तमान नेपाली समालोचनाप्रति यहाँ सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्टि भनेको समाप्ति हो । कलाको अन्तिम टुङ्गो लाग्यो भन्ने सिद्धान्त आधुनिकतावादीको मात्र हो । त्यस्तो आँट संरचनावादीमा मात्र पलाउँछ । उत्तरआधुनिक आएको नै त्यही भ्रान्ति भत्काउनलाई हो । अनि यसले ता डेरिडाको सिद्धान्त मान्छ— देअर इज नो फाइनल ट्रुथ ।

तपाई त सर्जक पनि, समालोचकव्यक्ति कसरी सर्जक हुनुभयो ?

त्यसो होइन, म तीस वर्ष कसमा सर्जक मात्र रहेँ तर त्यसो गर्दा नेपाली सिर्जनापथ झन् टाक्सिने देखेर पहिले देशलाई बुझाउनुपर्ने कुरा समालोचना सिद्धान्त नै रहेछ, लेखनका समकालीन प्रथा रहेछन् भनी मैले दुई धारे हतियार भिरेर मैदान पसेको हुँ । त्यो भन्न सक्तिनँ तर एउटा सत्य भन्छु— समालोचनाको शक्ति र शिल्प बेगरको लेखक आंशिक हो, सिर्जनाको क्षमता र शिल्प बेगरको समालोचना एउटा वृथा आडम्बर मात्र हो ।

त्यस्तो व्यक्ति ता साहित्यकार पनि होइन ।

यस्ता मानिस अर्काको बाँझो बारी जोत्ने हली हुन् म भन्दै आएको छु जसको आफ्नो कमाइ केही छैन । अरूले बनाएको समालोचना सिद्धान्तको बिर्को खोलेर अरूले लेखिदिएका किताबमा दलिदिनेलाई साहित्यकार कसरी भन्नु ?